२० मेगावाटको लाङ्टाङ जलविद्युत्मा ४ बैंकको २ अर्ब ७३ करोड लगानी, २ वर्षमा बिजुली उत्पादन हुने

<p>काठमाडौ । आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङ्टाङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । २० मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंकको अगुवाइमा अन्य ४ वटा बैंकले लगानी गर्ने सम्बन्धमा बुधबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श [&hellip;]</p>

काठमाडौ । आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङ्टाङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।

२० मेगावाट क्षमताको उक्त आयोजनाका लागि सनराइज बैंकको अगुवाइमा अन्य ४ वटा बैंकले लगानी गर्ने सम्बन्धमा बुधबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक छन् ।

कार्यक्रममा मल्टी इनर्जीका अध्यक्ष कृष्ण आचार्य र नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्झौताप्रति आदानप्रदान गरे । आयोजनाको कूल लगानी ४ अर्ब ५ करोड रुपैयाँ प्रक्षेपण गरिएकामा छ । सेयरधनीबाट १ अर्ब ३२ करोड र बैंकले २ अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए ।

इपिसिएफ मोडलमा निर्माण हुन लागेको उक्त जलविद्युत आयोजनासँगको सम्झौताअनुसार सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले ७६ करोड ९० लाख, एनसिसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छन् ।

आयोजनाको सम्भाव्यता अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता, वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कनलगायतका काम सम्पन्न भएपछि वित्तीय व्यवस्थापन सम्झौता भएको हो । साविकमा १० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनका क्रममा पछि १० मेगावाट क्षमता थप गरिएको थियो ।

आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, ट्रान्समिसन लाइनलगायत मुख्य संरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स (सिडब्लुटीडब्लु) सँग ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार ठेकेदार कम्पनीलाई शुरुमा कूल लागतको १० प्रतिशत र आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको ७०० दिनपछि बाँकी रकम उपलब्ध गराइनेछ । आयोजनाको काम सम्पन्न भएपछि मात्र रकम भुक्तानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता गरिएको लाङ्टाङ खोला नेपालकै पहिलो आयोजना भएको अध्यक्ष आचार्यको दाबी छ । आगामी विसं २०७७ पुस महिनाभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

Share News