काठमाडौं । नेपाल टेलिकमकाे प्रबन्ध निर्देशककाे नियुक्ती प्रकृया ३ महिना लम्बिएको छ । सर्वोच्च अदालतमा मुद्दाकाे टुंगाे नलगाएपछि नियुक्ति प्रक्रिया लम्बिएको हो ।
गत असार २० मा सरकारले कामिनीराज भण्डारीलाई ‘कार्यसम्पादन राम्राे नभएकाे’ भन्दै बर्खास्त गरेपछि उनले सर्वोच्च अदालतमा सरकार विरुद्ध मुद्दा दायर गरेकी थिइन्। अदालतले उक्त मुद्दाकाे टुंगाे नलगाएपछि नियुक्ति प्रकृया अन्याैलमा परेकाे छ ।
भण्डारीले सरकारलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा टुङगिएपछि मात्र प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढ्ने सञ्चार मन्त्रालयका अधिकारीहरू बताउछन् ।
भण्डारीलाई सरकारले प्रक्रिया पुरा गरेरै बर्खास्त गरेकोले उनको पद बहाली नहुने सञ्चार मन्त्रालयका स्वकिय सचिव राजाराम बिडारीले बताए । भण्डारीको मुद्दा सर्वोच्चले टुङग्याएपछि मात्रै नयाँ निर्देशक छनोटको लागि सरकालाई बाटो खुल्नेछ । निर्देशक नियुक्ति गर्नका लागि सञ्चार मन्त्रालयले ३ जनाको समिति निर्माण गर्नेछ । समितिले ४५ दिन भित्रमा आवेदन दिएका मध्येबाट उत्कृष्ट ३ जनालाई छनोट गरी मन्त्रिपरिषद्मा पेस गर्नेछ ।
निवेदकहरुले आफ्नो योग्यता र भावी कार्य योजना सहित प्रवन्ध निर्देशक पदका लागि आवेदन दिनुपर्ने मन्त्रालयका सहसचिव रामप्रसाद ढकालले बताए । ढकालका अनुसार समितिले उम्मेद्धवारहरुको शैक्षिक योग्यता, कार्यअनुभव, योजना लगायतलाई आधार मानी मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफरिस गर्नेछ । अहिले टेलिकममा निमित्त प्रबन्ध निर्देशकका रुपमा सुर्यभट्ट पोखरेल रहेका छन् ।
प्रधिकरण अध्यक्ष असोज ७ गतेभित्रै नियुक्ती हुने
नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्ष असोज ७ गतेभित्र नियुक्त हुने सञ्चार मन्त्रालयले जनाएको छ । प्राधिकरणको अध्यक्ष्य पदका लागि १५ जनाले आवेदन दिएका छन् । १५ जना मध्ये मन्त्रालयले निर्माण गरेको ३ सदस्यीय समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । समितिमा मन्त्रालयको सचिव, सहसचिव र एक जना कानूनविद् रहेका छन् ।
अध्यक्ष्य नियुक्ति गर्ने समयावधी साउन २५ गतेदेखि ४५ दिनका हुने भएकोले तोकिएकै मितीसम्म अध्यक्ष नियुक्ति भइसक्ने प्रवक्ता ढकालले बताए । अध्यक्ष्य पदको लागि दिगम्बर झा, बुद्धिप्रसाद आचार्य, अनिल झा, चुडामणि चौलागाईं, देवनारायण यादव, रवीन्द्र झा, शिवभूषण लाल, उज्वल प्रधानांग, रोहित रौनियार, भूपेन्द्र भण्डारी, मधुसूदन कर्माचार्य, खड्ग बस्नेत, शुसिल घिमिरे, आनन्दराज खनाल र पुरुषोतम खनाल रहेका छन् ।