
एजेन्सी । भारतले कालोधनलाई निस्तेज पार्नका लागि गरेको विमुद्रिकरण (डिमनिटाइजेसन) अभियान अन्र्तगत २ वर्षको अवधिमा ९९ प्रतिशत पुराना नोट फिर्ता आएका छन् ।
भारतीय रिजर्व बैंकले प्रतिवन्ध लागेका ५०० र १ हजार दरका पुराना नोटको प्रमाणिकरण समाप्त पारेको छ । जसअनुसार ९९ प्रतिशत प्रतिवन्धित नोट बैंकिङ प्रणालीमा फिर्ता आएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । केन्द्रीय बैंकले प्रतिवन्धित नोटको प्रमाणिकरणको कार्यभार समाप्त पारेको जानकारी दिएको छ ।
नोभेम्बर ८, सन् २०१६ मा भारत सरकारले कालोधन र जाली कारोबार नियन्त्रण गर्न ५०० र १ हजार दरका भारुमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धपछि १५ खर्ब ४० अर्ब मध्ये १५ खर्ब ३० अर्ब भारु नोट फिर्ता आएको रिजर्व बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । गत मार्चसम्म १८ खर्ब भारु नोट बाहिर रहेको रिजर्व बैंकले जनाएको छ । गत मार्चमा बैंक नोट सर्कुलेसन ३७.७ प्रतिशत बढेर १८० खर्ब भारु पुगेको छ ।