ओलीको एक कदमले ब्युँझियो राजश्व अनुसन्धान: ५ अर्ब ४१ करोडको मुद्धा, सम्पति सुद्धिकरण कहिले ?

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एउटा निर्णयले बर्षाैदेखि चुपचाप बस्दै आएको राजश्व अनुसन्धान विभाग ब्युँझिएको छ । राजश्व छलीका घट्नाहरुको अध्ययनका लागि खडा भएको विभाग यतिबेला निद्राबाट ब्युँझिएको मात्रै छैन् त्यो एग्रेसिभ बनिरहेको छ । त्यसको ज्वलन्त उदाहरण हो पछिल्लो ३ महिनाका गतिबिधी । प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रहेको सह सचिव दिर्घराज [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एउटा निर्णयले बर्षाैदेखि चुपचाप बस्दै आएको राजश्व अनुसन्धान विभाग ब्युँझिएको छ । राजश्व छलीका घट्नाहरुको अध्ययनका लागि खडा भएको विभाग यतिबेला निद्राबाट ब्युँझिएको मात्रै छैन् त्यो एग्रेसिभ बनिरहेको छ ।
त्यसको ज्वलन्त उदाहरण हो पछिल्लो ३ महिनाका गतिबिधी ।

प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रहेको सह सचिव दिर्घराज मैनालीलाई जेठ ७ गते राजश्व अनुसन्धान विभागको कमाण्ड सुम्पिए । मैनालीले तीन महिनाकै अवधीमा ५ अर्ब ४१ करोड ७६ लाख रुपैंयाँको बिगो दावीसहित एक दर्जन मुद्धा दर्ता गराए । ओलीले महत्वपूर्ण निकायहरु प्रधानमन्त्री कार्यालयमा तानेको भनेर आलोचना भैरहेका बेला मैनालीको कामले त्यसको प्रतिउत्तर दियो ।

‘यतिबेला राजश्व अनुसन्धान विभागले भाईब्रेसन ल्याएको छ, हामी प्रत्यायोजित कानुनी अधिकार अनुसार आफ्नो गति तय गरिरहेका छौं, राजश्व छलीका घट्नालाई निस्तेज पार्नु हाम्रो उदेश्य हो’, मैनालीले विकासन्युजसँग भने । मैनालीको नेतृत्वमा हाल विभागमा ४ जना प्रशासनका उप सचिव र २ जना राजश्वका उपसचिव र एक जना कानुनका उप सचिवसहित ६५ जनाको दरबन्दी छ । शसस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा ७५ जना खटिएका छन् । यीनैलाई परिचालन गरेर मैनाली यतिबेला विभागलाई सक्रिय बनाईरहेका छन् ।

मैैनालीले राजश्व छलेको आरोपमा हिमालयन कार्गाे प्रालीका सञ्चालक बिनोद कुमार गुप्ता र उनकी श्रीमति मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैंयाँ विगो दावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरे । भदौ १ गते दायर गरिएको मुद्धामा अदालतले एक हप्ता नवित्दै आरोपितको धरौटी तिरेर निस्कने प्रयासलाई असफल पार्दै थुनामै राख्न आदेश दिईसकेको छ ।‘अहिलेसम्मकै सबै भन्दा ठूलो राजश्व छलीको मुद्धामा पुर्पपक्षमै राख्ने आदेश प्राप्त भएको छ’, मैनालीले भने ।

विभागले दुध तथा घ्युको नक्कली प्रज्ञापन पत्र बनाएर राजश्व छलेको आरोपमा रबिन्द्र गुप्ता, बिरेन्द्र गुप्ता, राहुल कुमार गुप्ता, मधुकुमारी चौधरी सहित भैरहवा भन्सारका ७ जना भन्सार कर्मचारी लगायत २२ जना विरुद्ध १ अर्ब २ करोडको बिगो दावीसहित मुद्धा दायर गरेको छ । सो मुद्धा पनि भदौ १ गते नै काठमाडौं जिल्ला अदालतमा दायर गरिएको हो ।

सुन तस्करीको आरोपमा बिनोद कुमार मौर्यसहित ६ जना विरुद्ध साउन २५ गते ४४ करोड ६५ लाख ४४ हजार विगो दावीसहित अर्काे मुद्धा दायर गरेको छ । त्यस्तै, ६ केजी सुन तस्करीको आरोपमा भदौ १ गते नै तेञ्जिङ तामाङ विरुद्ध ५ करोड ९० लाख विगो दावी गरेर अर्काे मुद्धा हालेको छ ।

कालो हिराको तस्करी गरेको आरोपमा रमेश रजकसहित ८ जना विरुद्ध ४४ करोड ६५ लाख ४४ हजार विगो दावीसहित साउन १५ गते अर्काे मुद्धा दायर गरेको देखिन्छ । मरिच निकासी पैठारीमा राजश्व छलेपछि संजय अग्रवाल, रामशंकर यादव, धर्मेन्द्र कुमार र राजकुमार गुप्ता विरुद्ध ६ करोड ७३ लाख २० हजार विगो दावी सहित मुद्धा हालेको छ । गाडीको भन्सार चाँजपासमा राजश्व छलेपछि चार वटा आयात कर्ता फर्म विरुद्ध १ करोड ८४ हजार ९ सय ९ रुपैंयाँ छानविन अघि बढाएको छ । हुण्डी कारोबारमा संलग्न ११ जनासँग २ करोड ४ लाख ६९ हजार २ सय ३७ रुपैंयाँ धरौटी असुलेको छ ।

पश्चिमाञ्चल क्षेत्रिय कार्यालयले एक अर्ब २३ करोड ४५ लाख ५८ हजार ७ सय २८ रुपैंयाँ विगो दावी गरेर नवराज नवराज प्रसाल उपाध्याय खनाल, शशांक खनाल, कमला रसाइली, राजकुमार गुप्ता विरुद्ध अर्काे मुद्धा दर्ता गरेको छ । शशांक खनाल र राजकुमार गुप्ता विरुद्ध ६ करोड ७९ लाख ४६ हजार ३ सय १९ रुपैंयाँ विगो दावीको अर्काे मुद्धा पनि दर्ता भएको छ ।

मध्यमाञ्चल क्षेत्रिय कार्यालयले १ करोड ९२ लाख ४ हजार विगो दावीसहित रामबाबु सिंह, सन्तोष कुमार शाह विरुद्ध पनि मुद्धा दर्ता गराएको छ । फोटो कपी मेसिनको आयातमा राजश्व छलेको भन्दै कृष्ण प्रसाद कानु र कमलेश प्रसाद कलवार विरुद्ध ५ करोड ६९ लाख ९१ हजार ७ सय ७ सय ७० रुपैंयाँ विगो दावीको मुद्धा दर्ता भएको छ ।
राजश्व अनुसन्धानमा मैनालीको आगमनले गरे के सम्भव छैन र भन्ने सन्देश दिएको छ । अब प्रश्न उठ्छ सम्पति सुद्धिकरण विभागले यसै गरि भटाभट काम गर्ने दिन कहिले आउँछ, प्रधानमन्त्रीज्यू ?

Share News