
काठमाडौ । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र २ अर्ब रुपैयाँ भन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट २०८ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ ।
आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको हो । जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार आगलागीका कारण १ अर्ब ८९ करोड ३९ लाख, बाढीले ३ करोड १४ लाख, पहिरोले ७ करोड ९८ लाख ४१ हजार रुपैयाँको क्षति भएको छ ।
वर्षाले ३ करोड ८६ लाख, हावाहुरीले ३ करोड ५८ लाख, चट्याङले ४४ लाख ७७ हजार, असिनापानीले ४ लाख ५७ हजार र अन्य कारणबाट १० लाख १९ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको छ ।
विपद्का कारण ४ हजार ६९८ परिवार प्रभावित भएका छन् । एक हजार ६५७ जनावर मरेका छन् । यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये पुरुष ३७८ र महिला १८३ छन् । यस्तै ९५ हराइरहेका छन् भने २ हजार ३३१ घाइते भएका छन् । गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्दार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए। रासस