काठमाडौं । राष्ट्रसेवक कर्मचारीको मासिक ४०० रुपैयाँ प्रिमियममा जीवन बीमा भएको छ । यसमा सरकारले ४०० रुपैयाँ प्रिमियम थप गरेको छ ।
सरकार कर्मचारीको समेत गरी मासिक ८०० रुपैयाँमा २ लाख रुपैयाँमा बीमा गरेको अर्थ मन्त्रालयका प्रवत्ता चन्द्रकला पौडेलले जानकारी दिइन् । मन्त्रिपरिषदले साउन १८ गते नै नयाँ बीमा योजना स्वीकृत गरेको उनले बताइन् ।
अर्थमन्त्रालयले निजामति, सेना, प्रहरी, शिक्षकको सावधिक जीवन बीमा बीमाङक दोब्बर वृद्धि गरी २ लाख रुपैयाँ पुर्याएको छ । सरकार र कर्मचारीको गरी वार्षिक ९ हजार ६०० रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुने छ । गत वर्षसम्म सरकारले र कर्मचारीले २/२ सय रुपैयाँको योगदान हुदै आएको थियो ।
गत आर्थिक वर्षमा सरकारले १ लाख रुपैयाँको मात्र जीवन बीमा गरेको थियो । चालु आर्थिक वर्षदेखि बढाएर दोब्बर पुर्याएको हो । कर्मचारीको सुरक्षाका लागि केही वर्षयता सरकारले जीवन बीमा गर्दै आएको छ । याे याेजना साउनदेखि लागु भएकाे छ ।