विद्युत प्राधिकरण डुवाउने हिमाल पावरको ७ रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव, नयाँ पीपीए हुदै

<p>काठमाडौ । ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडले नेपाली रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव गरेको छ । आगामी २ वर्षपछि अमेरिकी डलरमा भएको  खरिदबिक्री (पीपीए ) सकिने भएपछि हिमाल पावरले नेपाल विद्युत प्राधिकरणसंग नयाँ दर प्रस्ताव गरेको हो । हिमालले नेपाली रुपैयाँमा पीपीए गर्न निवेदन दिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । पीपीएपछि [&hellip;]</p>

काठमाडौ । ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडले नेपाली रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव गरेको छ । आगामी २ वर्षपछि अमेरिकी डलरमा भएको  खरिदबिक्री (पीपीए ) सकिने भएपछि हिमाल पावरले नेपाल विद्युत प्राधिकरणसंग नयाँ दर प्रस्ताव गरेको हो ।

हिमालले नेपाली रुपैयाँमा पीपीए गर्न निवेदन दिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । पीपीएपछि आधि स्वामित्व प्राधिकरणको हुने भएकाले संयुक्त कम्पनी गठन हुने उनले जानकारी दिए । पीपीएका लागि छलफल थालिने अधिकारीले बताए । उनले हिमालसंग सस्तोमा पीपीए हुने जानकारी दिए ।

हिमाल पावरले हाल चलनमा रहेको दर वर्षादमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा प्रस्ताव गरेको हो । औसत प्रतियुनिट ७ रुपैयाँ ३० पैसा हुने छ ।पीपीए अनुसार सन् २०२० को जुलाईको मध्यदेखि खिम्ती आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा आउने छ । सन् २००० जुनलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो ।

आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिक डलरमा भएको पीपीए पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ ।

विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट औसत ९ रुपैयाँ पाउदै आएकोमा खिम्तीको बिजुली खरिदमा झण्डै प्रतियुनिट ३ रुपैयाँ नोक्सान व्योर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ ।

विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ ।

खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधारआधा बाँडिने छ । खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।

हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । बीपीसीले हिमालबाट ५० करोड रुपैयाँ लाभांश पाउदै आएको छ ।

विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर ११० रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।

Share News