काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथको पाइलट प्रोजेक्टको अलाइनमेन्ट परिवर्तन हुने भएको छ । प्रस्तावित पाइलट प्रोजेक्टको चोभार सतुंगल खण्डमा भू माफियाहरुले चलखेल गरेपछि शहरी विकास मन्त्रालयले अलाइनमेन्ट नै बदल्न लागेको हो ।

‘बाहिरी चक्रपथ अत्यावश्यक परियोजना हो, तर चोभार सतुंगल खण्डमा भू माफियाहरुले चलखेल गरेर साना साना टुक्रामा जमिन कित्ता काट गरेका छन, अध्ययन गर्दा अलाइनमेन्ट बदल्नुपर्ने निष्कर्षमा पुगेका छौं’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने । मन्त्री राईले अहिले निर्माण गर्ने तय गरिएको खण्डबाट केहि सय मिटर दायाँ वा बायाँ सारेर बाहिरी चक्रपथको काम अघि बढाउन लागिएको स्पष्ट पारे ।
बाहिरी चक्रपथ आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन लागेको छ । तर सो खण्डमा भू माफियाहरुले ३ आनामा व्यापक जमिनको कित्ता काट गराएका छन् ।
जहाँ ७६ वटा घरहरु पर्छन् । ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने पाइलट प्रोजेक्टमा भू माफियाहरुले स साना कित्तामा जग्गा विभाजन गरेर आयोजनाको भविष्य नै अन्यौलमा पारिदिएका हुन् । २ हजार ९५३ कित्ता जमिन ३ आना भन्दा सानो आकारमा कित्ताकाट गरिएका छन् । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड रूपैयाँ अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपुर्तिका लागि उपलब्ध गराउनुपर्ने अवस्था छ ।
२०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्वीकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्नेछ ।
भाइकाजीलाई स्पष्टीकरण
मन्त्रालयले समयमै जग्गा कित्ताकाट रोक नगरेर भू माफियाहरुलाई चलखेलको वातावरण बनाईदिएको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण सोधेको छ । तर आयुक्त तिवारीले भने आफुसँग स्पष्टीकरण नसोधिएको बताए । उनले जग्गा कित्ताकाट गर्न किन ढिलाई भएको भनेर मात्रै सोधिएको बताए । ‘जग्गा कित्ता काट रोक्का गर्न किन ढिलाई भएको भन्ने कारण मागिएको हो, स्पष्टीकरण सोधिएको होइन’, तिवारीले भने ।