काठमाडौं । निजी लगानीमा स्थापना भएको काठमाडौं स्टील प्राइभेट लिमिटेडले उत्पादन दोब्बर बढाउने भएको छ । उद्योगले स्टील उत्पादन क्षमता दोब्बर बढाएर वार्षिक १ लाख ५० हजार टन पुर्याउने भएको हो । नवलपरासीको सरावल १ मा रहेको कारखानाको क्षमता विस्तार गरेर आगामी डेढ वर्षभित्र स्टील उत्पादन दोब्बर पार्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवराज पोखरेलले बताए । उत्पादन विस्तार गर्न उद्योगले ४० करोड रुपैयाँ थप लगानी गर्ने पोखरेलले जानकारी दिए ।

केशवराज पोखरेल, सीईओ-काठमाडौं स्टील
हाल उद्योगले वार्षिक ६० हजार टन स्टील उत्पादन गरिरहेको छ । स्टीलको माग बढ्दै गएकाले त्यसलाई पुरा गर्न उद्योगले उत्पादन क्षमतामा विस्तार गरेको उनले स्पष्टपारे । उद्योगले उत्पादन बढाउन वातावरणीय प्रभाव मूल्याँकन (ईआएए) को काम शुरु गरेको छ । नेपाल इन्भारोमेन्टल एन्ड साइनटिफिक सर्भिसेजले ईआईएको काम थालेको छ । वातावरण मन्त्रालयबाट ईआईए स्वीकृति हुनसाथ उद्योग विस्तारको काम थालिने उनले जानकारी दिए ।
उद्योगको क्षेत्रफल ३ विगाह रहेको छ । टीएमटी बार फलामे छठ उद्योगले उत्पादन गर्दै आएको छ । उद्योगको स्थिर पुँजी लगानी ९२ करोड २८ लाख रुपैयाँ छ । २०६८ सालमा स्थापना भएको उद्योगले २०७० सालदेखि स्टील उत्पादन गर्दै आएको छ । उद्योगले ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्दै आएको छ । यस्तो प्रविधि प्रयोगमा ल्याउने दक्षिण एशियामा काठमाडौं पहिलो स्टील कम्पनी हो । यसका उत्पादनलाई जहाँ काटेर पनि त्यसमा जोड्न सकिन्छ । जीआई पाइपमा सकेट राखेझै काठमाडौं स्टीलका रडहरु जोड्नको लागि सजिलो हुने पोखरेलले जानकारी दिए ।
यसरी जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो हुने उद्योगको भनाई छ । परम्परागत स्टीलहरु जोर्तीमा ओभरल्याप (एक रडमाथि अर्को रड) गरिन्छ । निर्माणलाई बलियो बनाउन रडहरु जोर्तीमा नखप्टी हुँदैन । त्यसो गर्दा धेरै रड खपत हुन्छ । निर्माताको खर्च बढी हुन जान्छ ।

एउटा पुल बनाउन १०० टन रड लाग्छ भने १० टन रड ज्वाइन्टमा मात्र खपत हुन्छ । २० प्रतिशत रड टुक्रा हुने गर्छ । त्यसको पनि ८० प्रतिशत अर्थात १६ टन रड टुक्रिनबाट जोगिने भएकाले काठमाडौं स्टीलको लागत कम हुने उनको भनाई छ ।
काठमाडौं स्टीलले रड उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि विकास गरेको छ । यस्तो प्रविधि पहिलो पटक नेपालमा विकास भएकोले यस प्रविधिमा आधारित मेसिन बनाएर विश्व बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।
यस प्रविधिमा आधारित मेसिनको प्रयोगसँगै दैनिक १३० जना मानिसले गर्ने काम ४ जनाले गर्न सक्ने उनले बताए । नेपालको १६ वटा स्टील उद्योगले यो मेसिन प्रयोग गर्दा ५ हजार मजदुर कटौति हुने उनले जानकारी दिए ।