६८८ मेगावाट वेतन कर्णाली बनाउन जुट्यो संचय कोष, संचयकर्ताकाे नाफा आयोजना सेयरमा लगानी गर्दै

<p>काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्ताले पाउने नाफा रकम प्रस्तावित ६८८ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना बनाउन सेयरमा रुपान्तरण गर्न थालेको छ ।६ लाख भन्दा बढी संचकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत रकम वेतन कर्णालीमा सेयरको रुपमा लगानी गर्न लागेको हो । कोषले आयोजनामा लगानी नगर्ने संचयकर्तालाई निवेदन दिन भनेको छ । सेयर लगानी नगर्ने [&hellip;]</p>

काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्ताले पाउने नाफा रकम प्रस्तावित ६८८ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना बनाउन सेयरमा रुपान्तरण गर्न थालेको छ ।६ लाख भन्दा बढी संचकर्ताले पाउने नाफा रकमको ०.७५ प्रतिशत रकम वेतन कर्णालीमा सेयरको रुपमा लगानी गर्न लागेको हो ।

कोषले आयोजनामा लगानी नगर्ने संचयकर्तालाई निवेदन दिन भनेको छ । सेयर लगानी नगर्ने संचयकर्ताको नाफा रकम खातामा जम्मा गरिदिने कोषले जनाएको छ । तोकिएका समयमा पनि निवेदन नदिने संचयकर्ताका रकम अनुमति दिएको मानेर सेयरमा रुपान्तरण हुने कोषले स्पष्ट पारेको छ । सेयर कोषमा जम्मा भएको रकम फिर्ता नहुने कोषले जानकारी दिएको छ ।

कोषले गत वर्ष नै सो आयोजना बनाउनका लागि संचयकर्ताबाट २ अर्ब ८२ करोड रुपैयाँ जुटाइ सकेको छ । संचय कोषले गत आर्थिक वर्षमा गरेको नाफाको ८१ प्रतिशत रकम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा सेयरको रुपमा लगानी भएको छ । गत आवमा कोषले १ अर्ब ८९ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।

अघिल्लो आवमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । कोषले आयोजनामा लगानी जुटाउन सञ्चयकर्ताको नाफालाई जलविद्युतको सेयरमा लगानी गर्ने तयारी थालेको हो ।आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । प्रत्येक वर्ष कोषको नाफा बढ्दै गएकाले स्वपूँजीका लागि समस्या नभएको कोषले जानकारी दिएको छ ।

वेतन कर्णालीले आवश्यक ५० अर्ब रुपैयाँ ऋणको व्यवस्थापन गर्न कोषलाई अनुरोध गरेको छ । हाल नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारी थालेको छ ।
कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्नेछ ।

कम्पनीका सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली लागु गरेको छ । यस्तै कोष, नेपाल विद्युत प्राधिकरणको पनि लगानी हुनेछ । गत आर्थिक वर्ष ०७३/०७४ देखिको नाफालाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरेको हो ।

अर्धजलासययुक्त ( पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना बनाउन ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब २६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भीक अध्ययनले देखाएको छ । जसअनुसार हिउँदमा १ अर्ब ४९ करोड २० लाख र वर्षादमा २ अर्ब ७७ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भीक अध्ययनले देखाएको छ ।

कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी जुट्ने अनुमान गरिएको छ । ५० अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । कोषका सञ्चयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् । वर्षेनी नाफा बढ्दै गएकाले रकम थपिने छ ।
ऊर्जा मन्त्रालयले वेतन कर्णालीलाई अध्ययन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ ।

काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न हुने छ । आयोजना सुर्खेत र आछम जिल्लामा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ ।

Share News