संस्थापकले समेत नेपाल बैंकको एफपीओलाई पत्याएनन्, अब ८ वटा अण्डरराइटरले २३२ करोड सकार्ने

<p>काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) लाई संस्थापकले पनि पत्याएनन् । गत मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई एफपीओ खरिदका लागि खुला गरिएकोमा आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । सोमबारसम्म २३ हजार ६२२ आवेदकबाट २ अर्ब ६२ करोड ३६ लाख ७० हजार रुपैयाँ बराबरको एफपीओ मात्र बिक्री भएको [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) लाई संस्थापकले पनि पत्याएनन् । गत मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई एफपीओ खरिदका लागि खुला गरिएकोमा आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

सोमबारसम्म २३ हजार ६२२ आवेदकबाट २ अर्ब ६२ करोड ३६ लाख ७० हजार रुपैयाँ बराबरको एफपीओ मात्र बिक्री भएको सिद्धार्थका मर्चेन्ट बैंक प्रमुख सुजन अधिकारीले बताए । उनले एफपीओ बाँडफाँडपछि बाँकी ८ अण्डरराइटरले सकार्ने जानकारी दिए । “आस्वा प्रणालीमार्फत परेको भए आजसम्म विवरण बुझाउन भनेका छौं” उनले भने “अहिलेसम्म संस्थापकले एफपीओ खरिद गरेको देखिएन् ।” अझै २ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ बराबरको एफपीओ बिक्री हुन बाँकी छ ।

सरकारले आफनो स्वामित्व ६२.२१ प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा ल्याउन एफपीओ निष्कासन गरेकाले खरिद गरेन । एफपीओ बाँडफाँडपछि बैंकमा सर्वसाधारणको ३७.७९ बाट ४९ प्रतिशत हिस्सा रहने छ । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ बैंकको एफपीओमा लगानी गरेको छ । संगठित संस्थाबाट सबैभन्दा बढी एफपीओ किन्नेमा संचय कोष भएको छ।

बाँडफाँडबाट बाँकी रहेको एफपीओ ८ वटा अण्डरराइटरले खरिद गर्नेछन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड , एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् ।

बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।

Share News