काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले आउदो २ वर्षमा नाफा दोब्बर बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा दोब्बर बढेर १ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ पुग्ने अनुमान गरेको हो । बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा दोब्बर बढाउने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष ०७४/ ०७५ मा बैंकले ९० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक वर्षमा बढाएर १ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुग्ने अनुमान छ ।

नाफामा भएको वृद्धिसंगै प्रति सेयर आम्दानी (ईपीएस) पनि बढ्ने भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २२ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा बैंकको ईपीएस १९ रुपैयाँ ३२ पैसा, चालु आर्थिक वर्षमा १९ रुपैयाँ ४६ पैसा पुग्नेछ । यस्तै प्रतिसेयर नेटवर्थ पनि बढेर १७६ रुपैया पुग्ने छ । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा घटेर १५० रुपैयाँ कायम भएको छ ।
बैंकले निक्रिय कर्जा अनुपात घटाएर १ प्रतिशतमा झार्ने भएको छ । गत वर्ष बैंकको यस्तो कर्जा ३.१९ र चालु आर्थिक वर्षमा १.९४ प्रतिशतमा झर्ने बैकको प्रक्षेपण छ । यस्तै पुँजी कोषको आकार १४.५१ प्रतिशत हुने अनुमान छ । गत आवमा बैंकको पुँजीकोष १३.७९ र चालु वर्षमा १७.२१ प्रतिशत पुग्ने अनुमान छ ।
आर्थिक वर्ष ०७६/०७७ मा बैंकको ब्याज आम्दानी २ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ गर्ने भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ८० लाख, चालु वर्षमा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी हुने बैंकको प्रक्षेपण गरिएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन २५ प्रतिशत बढेर ९५ अर्ब ६४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । चालु अर्थिक वर्षमा बैंकको निक्षेप बढेर ७६ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । कर्जा लगानी ३०.७६ प्रतिशत बढ्ने अनुमान छ । आगामी २ वर्षमा बैंकको कर्जा लगानी बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । यस्तै चालु आर्थिक वर्षमा ६४ अर्ब १० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
जगेडा कोषको आकार पनि बढेर ५ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ पुग्ने अनुमान बैंकको छ । गत आर्थिक वर्षमा बैंकको जगेडा कोष ३ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आवमा बढेर ४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुग्ने छ ।
२ वर्षमा पनि निक्षेपको ब्याजदर १०.६१ प्रतिशत नै हुने अनुमान बैंकको छ । गत वर्ष औसत ९.१२ र चालु आर्थिक वर्षमा ९.६९ प्रतिशत पुग्ने छ । यस्तै कर्जाको औसत ब्याजदर १४.३० प्रतिशत पुग्ने छ । गत वर्ष १३.४६ र यो वर्ष अझ बढेर १३.९९ प्रतिशत पुग्ने अनुमान छ ।
बैंकले भदौ ४ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ ।