
काठमाडौं । लगानीकर्ता बोनस सेयरमा लोभिदा मंगलबार एनएमबी बैंकको सबै भन्दा बढी कारोबार भएको छ । एनएमबीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ ।
बिहीबारसम्म किन्ने मात्र बोनस सेयर पाउने भएपछि लगानीकर्ताले लोभिएका हुन् । बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । बिहीबारसम्म सेयर खरिद गर्नेले सो १५ प्रतिशत बोनस सेयर पाउने छन् ।
एनएमबीको प्रतिकित्ता ३६४ रुपैयाँमा ७८ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले पुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओमा लगानी गर्नेले प्रतिसेयर ३० रुपैयाँ बढी र थप बोनस पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् ।
सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले एफपीओ जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।