काठमाडौं । नेपाल बैंकको बिक्री नभएको थप सेयर निष्कासन (एफपीओ) संस्थापकलाई खुला गरिएको छ । भोली मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई खुला गरिएको हो । सोमबारसम्म बैंकको २ अर्ब ७५ करोड रुपैयाँ एफपीओ बिक्री भएको छ ।

संस्थापक लगानीकर्तामा सरकार र केही सर्वसाधारणको मात्र स्वामित्व रहेकाले एफपीओ बिक्री हुने संभावना न्युनछ । सरकारले आफनो स्वामित्व ६२.२१ प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा ल्याउन एफपीओ निष्कासन गरेकाले खरिद गर्ने संभावना नदेखिएको हो । एफपीओ बाँडफाँडपछि बैंकमा सर्वसाधारणको ३७.७९ बाट ४९ प्रतिशत हिस्सा रहने छ ।
संस्थापकको निष्कासनपछि एफपीओ बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रवन्धक धु्रब तिमल्सिनाले बताए । बाँडफाँडबाट बाँकी रहेको एफपीओ ८ वटा अण्डरराइटरले खरिद गर्नेछन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् ।
कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ बैंकको एफपीओमा लगानी गरेको छ । संगठित संस्थाबाट सबैभन्दा बढी एफपीओ किन्नेमा संचय कोष भएको छ।
बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।