
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकरको दर्ता (लाइसेन्स) बन्द गरेको छ । बोर्डले निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिष्ट्रारको लाइसेन्सका लागि नयाँ आवेदन दर्ता स्थगन गरिएको जानकारी दिएको छ ।
धितोपत्र बजारको विकास सँगै मर्चेन्ट बैंकरको संख्या बढ्दै गईरहेको भन्दै तत्कालका लागि नयाँ निवेदन लिने काम बन्द भएको बोर्डले जानकारी दिएको छ ।
हाल २५ मर्चेन्ट बैंकरले धितोपत्र व्यवसाय गरिरहेका छन् । बैंक तथा बीमाको लाइसेन्स बन्द हुदँ सेयर निष्कासन तथा बिक्री प्रवन्धकको भुमिका खुम्चिएको भन्दै मर्चेन्ट बैंकरको लाइसेन्स तत्कालका लागि स्थगन गरेको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।
निष्काशन तथा बिक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा जस्ता सम्पुर्ण मर्चेन्ट बैंकरको सेवा प्रदान गर्ने संस्था ६ रहेको बोर्डले जानकारी दिएको छ । यस्तै संस्थागत परामर्श सेवा बाहेक ४ वटा व्यवसाय गर्ने संस्था १०, तीन वटा निष्काशन तथा बिक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेशनको मात्र व्यवसाय गर्ने १, सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गने १, लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने ७ संस्थाले व्यवसाय गरिरहेको छन् ।
मर्चेन्ट बैंकरले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पूँजी बजार र अर्थतन्त्रको अवस्थाको आयतन हेरी सोही आधारमा वोर्डले २०७४ सालमा नियमावलीमा संशोधन गरी मर्चेन्ट वैंकरको चुक्ता पूँजीमा चार गुणासम्म वृद्धि तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।
प्रोत्साहनमूलक कार्यक्रम अन्र्तगत केही उत्पादनशील कम्पनीहरु सार्वजनिक निष्काशन गर्ने क्रममा रहे पनि नेपाल राष्ट्र बैंक तथा बीमा समितिले क्रमशः बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको अनुमति प्रदान गर्ने कार्य स्थगन गरेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको लाइसेन्स बन्द भएपछि सार्वजनिक निष्काशन कार्य सीमित भएको बोर्डले जनाएको छ ।
हाल वोर्डवाट अनुमतिपत्र प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या प्रतिस्पर्धात्मक रुपमा व्यवसाय संचालनको लागि पर्याप्त रहेको तथा बजारको अवस्था र आवश्यकता भन्दा निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या वढी हँुदा अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको उनले जानकारी दिए ।
धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू भए पश्चात लाईन लाग्ने स्थिति नरहेको तथा आवेदन प्रशोधन कार्य अत्यन्त सहज हुन गई निष्काशन तथा बिक्री प्रवन्धकको भूमिका न्यूनिकरण भएको बोर्डको भनाई छ । यस्तै डिम्याट सेयरको मात्र कारोबार हुने व्यवस्थावाट सेयर रजिष्ट्रारको कार्य समेत केही कम हुन गएको छ ।
विद्यमान बजारको अवस्था तथा आकार, मर्चेन्ट बैंकरहरु खास गरी निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिष्ट्रारले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, व्यवसायको क्षेत्र तथा यसमा रहेको उच्च प्रतिस्पर्धा समेतलाई दृष्टिगत गर्दा हाललाई थप निष्काशन तथा बिक्री प्रवन्धक र सेयर रजिष्ट्रार आवश्यकता नरहेको गिरीले जानकारी दिए ।