काठमाडौं । संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउन १२ अर्ब डलर बराबरको योजना सार्वजनिक गरेको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरेको हो।
किसानहरूलाई सहुलियत दिने र बिक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा समेटिएका छन्।आफ्नो समर्थनको एउटा मजबुत आधारका रुपमा रहेका किसानहरूबाट चर्को आलोचना खेपेपछि राष्ट्रपति ट्रम्पले सहायता उपलब्ध गराउने वाचा गरेका थिए। ट्रम्पले आफूले लगाएका करहरू अरू मुलुकको अमेरिकाप्रतिको नीति परिवर्तनका लागि दबाब सिर्जना गर्नका लागि भएको बताएका छन्।
‘मंगलवार दिएको एउटा भाषणमा ट्रम्पले अरू देशहरूले अमेरिकासँग नयाँ सम्झौताहरू गरेपछि त्यसको ुसबैभन्दा ठूलो फाइदा किसानलाई हुनेु बताए।तर निर्यातबाट करिब २० प्रतिशत आम्दानी भित्र्याउने कृषि उद्योगले राष्ट्रपतिको कदमबाट आफ्ना उत्पादनहरूको मागलाई असर पार्नुका साथै खरिदकर्ताहरूसँगको सम्बन्धमा दीर्घकालीन असर पार्ने जनाएको छ।
ट्रम्पको करको जवाफमा एउटा प्रमुख खरिदकर्ता चीनले कर लगाएपछि गत अप्रिलयता भटमासको मूल्यमा १५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। अमेरिकी कृषि मन्त्रालयले व्यापारसम्बन्धी विवादका कारण करिब ११ अर्ब डलर बराबरको घाटा हुने अपेक्षा गरेको छ।
अधिकारीहरूका अनुसार आपत्कालीन सहायताको १२ अर्ब डलरमध्ये अधिकांश रकम भटमास, गहुँ लगायत उत्पादन गर्ने किसानहरूलाई सीधै जानेछ।केही रकम निर्यात बढाउनका लागि खर्चिनेछ। सहायता कार्यक्रम अन्तर्गत पहिलो किस्ताको रकम सेप्टेम्बरबाट बाँड्न शुरू गरिने अपेक्षा गरिएको छ। स्रोतः बीबीसी