काठमाडौं । नागरिक लगानी कोषले अवकास कोषबाट भएको नाफाको ८० प्रतिशत दामासाही रुपमा सहभागी कर्मचारीलाई बाँड्ने भएको छ ।कोषले चालु आर्थिक वर्ष ०७५/०७६ देखि कोषमा रकम जम्मा गर्ने संगठित संस्थाका कर्मचारीलाई नाफा दामासाही लाभांशको रुपमा वितरण गर्ने लागेको हो ।
यो वर्षदेखि वचत जम्मा गर्ने कर्मचारीले ब्याजका अतिरित्त थप लाभांश पाउने व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । उनले अवकास कोषबाट भएको नाफाको ८० प्रतिशत दामासाही रुपमा लाभांश बाँड्ने र २० प्रतिशत जगेडा कोषमा राखिने सुनाए । उनकाअनुसार यसबाट २ लाख २५ हजार कर्मचारी लाभांन्वित हुने छन् ।
यो आर्थिक वर्षदेखि कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको जानकारी दिदै कार्यकारी निर्देशक पोखरेलले भने “यस बाहेक अवकास कोषबाट हुने नाफाबाट दामासाही रुपमा संगठित संस्थाका कर्मचारीले पाउने भएका छन् ।” थप सुविधा दिने कोष नेपालको पहिलो संस्था भएको उनले दावी गरे । कर्मचारीले अहिले यति नै लाभांश पाउने भन्न नसकिने बताउदै न्युनतम १ प्रतिशत पाउने संभावना रहेको पोखरेलले जानकारी दिए ।
“कोषमा जम्मा हुने वचतको साढे ७ प्रतिशत न्युनतम प्रतिफलको प्रत्याभूति गरेका छौं । यो बाहेक थप लाभांश पाउने भएका छन्” उनले भने । कर्मचारीले कोषमा वचत रकमको ३ लाख रुपैयाँसम्म कर छुट पाउने गरेका छन् । नागरिक लगानीमा विभिन्न प्रकारका ११ कोष सञ्चालनमा छन् । प्रत्येक कोषको भिन्नै हिसावकिताव हुने गरेको छ । कोषले लाभांश वितरण गर्न लागेको कर्मचारी अवकास कोषबाट हुने नाफाको ८० प्रतिशत हो ।
कोषले साउन १ गतेदेखि लागु हुने गरी वचत वृद्धि र कर्जा सापटीको ब्याजदर बढाएको छ । कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको छ । गत असारसम्म कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिदै आएको थियो ।
कर्मचारीलाई दिने ८० प्रतिशत सहभागी कर्जा सापटीको ब्याजदर १ प्रतिशत बढाएर ९ प्रतिशत पुर्याएको छ । गत असारसम्म सहभागी कर्जा सापटीको ब्याजदर ८ प्रतिशत थियो । यस्तै कर्मचारीलाई दिने आवास कर्जा ०.५ प्रतिशत बढाएर ९.५ प्रतिशत बढाएको छ । गत असारमा ९ प्रतिशत थियो । सरल कर्जाको ब्याज पनि ०.५ प्रतिशत बढाएर १० प्रतिशत कायम गरेको कोषले जनाएको छ । यस्तै गत वर्षको ब्याज लिन कोषले कर्मचारीलाई बोलाएको छ ।