काठमाडौं । सरकारले उच्च हिमाली क्षेत्रमा १० वटा नयाँ शहर निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले उच्च हिमाली क्षेत्रमा ट्रान्स हिमालयन ट्रायललाई समेटेर स्मार्ट टाउन मार्केट सेन्टरको अवधारणमा एकिकृत शहरहरुको निर्माण गर्न लागेको हो । सम्भाव्यता अध्ययन सम्पन्न भैसकेका ती अधिकांश शहरहरु चीनियाँ नाका जोड्ने उत्तर दक्षिण सडकको किनारामा पर्छन् ।
शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका अनुसार सोलुखुम्बुको लुक्ला, संखुवाभाको नुम भ्याली तथा हेदाङना, किमाथाङका र फुङलिङ, ताप्लेजुङको घुन्सा तथा ओलाङचोङगोला, रसुवाको स्याफ्रुबेसी र दोलखाको जिरीमा हिमाली शहर निर्माण गरिनेछ । त्यस्तै, मुस्ताङको जोमसोम र कागेबनी तथा मनाङको चामे र मनांङ बजारमा एकिकृत शहर निर्माण गरिनेछ ।

त्यस्तै, हुम्लाको सिमीकोट, मुगुको गमगढी र डोल्पाको दुनैमा नयाँ शहर निर्माण हुनेछन् । सात नम्बर प्रदेशमा भने बाजुराको मार्तडी र कोल्टीमा नयाँ शहर बसाईनेछ । यी शहरहरुको अध्ययनका लागि शहरी विकास मन्त्रालयले ३० लाख रुपैंयाँ बजेट समेत विनियोजन गरिसकेको छ । ‘चीनसँगको नाका जोड्ने सडकहरुका आसपासमा हिमाली स्मार्ट सीटी बनाउन लागेका हौं, यसले पर्यटन प्रवद्र्धन तथा चीनसँगको व्यापारमा सहजता ल्याउँछ’, शहरी विकास मन्त्री राईले भने ।
उनले ४०० वटासम्म घरहरुलाई एकिकृत बस्ती निर्माण गरिने बताए । सार्वजनिक निजी साँझेदारीको अवधारणामा शहर निर्माण गर्ने तयारी भैरहेको उनले जानकारी दिए । हिमली क्षेत्रमा छरिएर रहेका स–साना बस्तीहरुलाई एकिकृत तथा आधुनिक बस्ती विकास गर्न लागिएको पनि उनले जानकारी दिए ।