
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ नेपाल बैंकको नाफा ९ प्रतिशत मात्र बढेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ११ करोड ७८ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैकको नाफा २८ करोड रुपैयाँ मात्र बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
गत आवमा बैंकले ब्याज आम्दानी बढाएर ६ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ५ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकले ४८ करोड १६ लाख रुपैयाँ निष्क्रिय कर्जा असुल गरेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ४२ रुपैयाँ २७ पैसा पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा २.९० प्रतिशत छ । गत वर्षको तेस्रो त्रैमाशमा यस्तो कर्जा २.९१ प्रतिशत थियो । यस्तै निक्षेप लागत बढेर २.९९ प्रतिशत पुगेको छ । गत वर्षको तेस्रो त्रैमाशमा निक्षेप लागत २.९७ प्रतिशत थियो । बैंकको सीसीडी रेसियो ६९.६३ र आधार दर ७ प्रतिशत रहेको छ ।
बैंकको संचित कोषको आकार ८ अर्ब ४ करोड रुपैयाँ छ । गत वर्ष बैंकले ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।