
काठमाडौं । सरकारले सञ्चालन गरेको नागरिक लगानी कोषले कर्मचारीलाई वचत वृद्धि कोषमा दिने र कर्जा सापटीमा लिने दुबैको ब्याजदर बढाएको छ ।
कोषले साउन १ गतेदेखि लागु हुने गरी वचत वृद्धि र कर्जा सापटीको ब्याजदर बढाएको हो । कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको छ । गत असारसम्म कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिदै आएको थियो ।
कर्मचारीलाई दिने ८० प्रतिशत सहभागी कर्जा सापटीको ब्याजदर १ प्रतिशत बढाएर ९ प्रतिशत पुर्याएको छ । गत असारसम्म सहभागी कर्जा सापटीको ब्याजदर ८ प्रतिशत थियो । यस्तै कर्मचारीलाई दिने आवास कर्जा ०.५ प्रतिशत बढाएर ९.५ प्रतिशत बढाएको छ । गत असारमा ९ प्रतिशत थियो । सरल कर्जाको ब्याज पनि ०.५ प्रतिशत बढाएर १० प्रतिशत कायम गरेको कोषले जनाएको छ ।

कोषले वार्षिक कर्मचारीलाई दिने र लिने ब्याजदरमा पुनरावलोकन गर्दै आएको कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउछन् । कोषले यो वर्षदेखि वचतमा सहभागीलाई २० प्रतिशत संचित कोषमा राखेको नाफा बाँड्ने जानकारी दिए । “हामी वचतमा र कर्जा सापटीमा ब्याज लिने र दिने मात्र गर्दैनौ” उनले भने “अब आर्थिक वर्षमा गरेको नाफाबाट संचित कोषमा जम्मा भएको २० प्रतिशत लाभांशको रुपमा पनि वितरण गर्ने छौ ।”