काठमाडौं । २०७५ साल असार ३२ गते । आर्थिक वर्ष २०७४/७५ को अन्तिम दिन । बैकिङ, राजश्व र कर्पोरट क्षेत्र सर्वाधिक व्यस्त रहेको दिन । भुक्तानीमा सर्वाधिक चाप भएको दिन र रकमको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो कारोबार भएको दिन ।

असार ३२ गते मात्र एकाउन्ट पेई चेक र अन्तर बैंक विद्युतीय प्रणालीमार्फत एक खाताबाट अर्को खातामा ८२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपाल क्लियरिङ हाउस कम्पनीका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानका अनुसार सोमबार ७४ अर्ब ६५ करोड रुपैयाँ एकाउन्ट पेई चेकबाट भुक्तानी भएको छ । त्यस्तै, चेक नकाटी विद्युतीय प्रणालीबाट एक बैंकमा रहेको खाताबाट अर्को बैंकमा रहेको खातामा ८ अर्ब १ करोड रुपैयाँ भुक्तानी भएको छ ।
उच्चतम कारोबार
रकमको आधारमा सोमबारको कारोबार अहिलेसम्म कै उच्च भएको प्रधानले बताए । आर्थिक वर्ष २०७४/७५ मा दैनिक औषत चेक कारोबार रकम २७ अर्ब रुपैयाँ भएको छ भने चेक कारोबार संख्या सरदर ४० हजार ६०० वटा रहेको छ ।
औसत भन्दा सोमबारकाे कारोबारमा चेक संख्या दोब्बर भएको छ भने कारोबार रकम तीन गुणाभन्दा बढी हाे। प्रधानको अनुसार यसअघि क्लियरिङ हाउसबाट एकै दिन १ लाख ९३ हजार वटा चेक क्लियरिङ भएको थियो । चेक संख्या कम भए पनि अंकित रकम ठूला भएकोले रकमको आधारमा सोमबार नयाँ रेकर्ड बनेको उनले बताए ।
नेपाल क्लियरिङ हाउसले सोमबार ८१ हजार १०० वटा चेक क्लियरेन्स गरेको छ भने ८ हजार २७६ अन्तर बैंक विद्युतीय भुक्तानी गरेको छ । ‘अन्तर बैंक विद्युतीय भुक्तानीमा संख्या र कारोबार दुबै अहिलेसम्मको उच्चतम हो’ प्रधानले भने–‘चेक मार्फत भएकाे कारोबार रकम पनि अहिलेसम्मकाे उच्चतम हो ।’
बैंकहरुलाई भ्याईनभ्याई
प्रधानका अनुसार सोमबार बैंक तथा वित्तीय संस्थाहरुले पठाएका सबै चेक क्लियरिङ हाउसबाट क्लियर भएको छ । तर, धेरै बैंकहरुले ग्राहकको खातामा अंक चढाउन भ्याएका छैनन् । एक जना बैंकर्सले नाम नखुलाउने सर्तमा भने–‘हामीले राती अबेरसम्म पनि काम गरिरहेका छौं । एकै दिन उच्च कारोबार भएकोले केही डाटा अपटेड बाँकी रहन पनि सक्छ ।’
आर्थिक वर्षको अन्त्यमा बढी कारोबार हुने भएकोले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले शनिबार पनि सेवा प्रदान गरेको थिए ।
बधाई छ चेक काट्नेहरुलाई, जो अर्थतन्त्रका चालकहरु हुन् । साथमा, नयाँ अार्थिक वर्षकाे शुभकामना ।