काठमाडौं । यो वर्ष सेयर बजारमा गिरावट आउँदा लगानीकर्ताले २४.४४ देखि ३९.४४ प्रतिशतसम्म गुमाएका छन् । चालु आर्थिक वर्ष ०७४/०७५ सेयर लगानीकर्ताका लागि पीडादायी बन्यो । लगानीको मनोवल पनि गिर्यो ।

२०७४ साउनमा सेयर बजार १ हजार ६०४ अंकमा रहेकोमा लगातार घटेर साउन ३२ गते १ हजार २१२ अंकमा सीमित भएको छ । सकरात्मक सोच तथा स्थीर सरकार हुँदाहुँदै यो वर्ष सेयर बजार निराशाजनक रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । लगानीकर्ताले १५ प्रतिशत ब्याजमा कर्जा लिन बाध्य भएको भन्दै ऋण लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले ३९.४४ प्रतिशतसम्म गुमाएको उनले तथ्यांक प्रस्तुत गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मंगलबारदेखि अनलाईन सेयर कारोबार शुरु गर्दै छ । यस्तै, बैंकलाई पनि ब्रोकरको लाइसेन्स, जोखिम भार मूल्यांकन १०० मा ल्याइ प्राथमिक पुँजीको १०० प्रतिशत व्यक्तिगत कर्जाको सीमा पुर्ववति गर्न उनले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि मार्जिन कलमा केही सहुलियत दिएपनि बजार विस्तारमा खासै सम्बोधन नगरेको लगानीकर्ताको गुनासो रहेको छ । सेयरकर्जा सीमा ५० बाट बढाउनु पर्ने लगानीकर्ताले मागलाई मौद्रिक नीतिले सम्बोधन गरेन । बजेटमा सेयर कारोबारमा पुँजीगत लाभकर ५० प्रतिशत बढेको छ । यस्तै बोनस सेयरको आधार मूल्यमा कर लगानी सरकारी नीतिले पनि बजारलाई धेरै हदसम्म घटाउन सहयोग पुर्याएको लगानीकर्ताको ठम्याई छ ।
मूल्य अभिवृद्धि करको हल्ला, कर विवाद र अर्थमन्त्री डा. युवराज खतिवडाका सेयर बजार प्रति नकरात्मक अभिव्यक्तिले बजार घटाउन सहयोग गरेको छ । २०७३ साउन २२ गते सेयर बजार १ हजार ८८१ अंकको उच्च विन्दुमा पुगेको सेयर बजार पछिल्ला वर्ष निरन्तर गिरावट आई १ हजार २ सय अंकमा झरेको छ । स्थिर सरकार गठन भएपछि गत चैत १२ गत घटेर १ हजार १६८ अंकमा सीमित भएको थियो । स्थिर सरकार आएपछि बजार बढ्ने धेरैले अपेक्षा गरेका थिए । तर ती अपेक्षामा तुषारापात भएको छ । सेयर बजार घट्नुमा अर्को कारण बैंकिङ तरलता पनि हो । लगातार २ वर्षदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट देखिएको छ । जसले गर्दा बैंकको प्राथमिकता सेयर बजार भन्दा पनि अन्य क्षेत्र परेको छ । चालु आर्थिक वर्षको १० महिनामा सेयर कर्जा ७२ अर्ब रुपैयाँ मात्र प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंककाअनुसार बैंकले हालसम्म कुल ४१ अर्ब १९ करोड रुपैयाँ मात्र सेयरकर्जा प्रवाह गरेका छन् ।
आन्तरिक राजस्व विभागले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभ कर लगाउने निर्णय गरेपछि लगानीकर्ता आन्दोलित भएका थिए । लगानीकर्ताले सेयर कारोबार समेत ठप्प पारेका थिए । बजेटमा सरकारले १ अर्ब रुपैयाँभन्दा ठुला लगानीमा स्थापना भएका कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने, ५० करोड रुपैयाँ माथिका कम्पनीले आईपीओ निष्कासन गरेमा सहुलियत प्रदान गर्ने व्यवस्था बजेटमा समेटिएको छ । यसले आगामी वर्ष सेयर बजार बढाउन केही राहत दिने देखिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको विकासका लागि प्राइभेट इक्विटी, भेन्चर फण्ड, हेज फण्डलगायतका वित्तीय उपकरण भित्र्याउन र नयाँ संस्थाहरुलाई प्रवेश गराउने भनेका छन् ।