काठमाडौं । चालु आर्थिक वर्ष ०७४/०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत विभिन्न क्षेत्रका १०९ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब २ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् । ती कम्पनीले लगानीकर्तालाई ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर दिएका छन् ।
कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकरण भई कारोबार समेत भइसकेको छ । अधिकाँश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । बोनस सेयर वितरण गर्नेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यस्तै जलविद्युत, होटल र उत्पादनमुलक कम्पनीले पनि लगानीकर्तालाई बोनस सेयर दिएको बोर्डले जानकारी दिएको छ ।
(विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस)
यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई कम्पनीले बोनसका अतिरित्त अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चुत्तापुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् । बैंकले न्युनतम चुत्तापुँजी पुर्याएकाले आगामी वर्षदेखि लगानीकर्ताले बोनस सेयर पाउने संभावना न्युन छ । आगाामी वर्ष लगानीकर्तालाई बोनस भन्दा पनि नगद लाभांश वितरणको संभावना बढी छ ।
सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ ।
यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् ।नेपाल क्रेडिट एन्ड कमर्श(एनसीसी) बैंक, एनएमबी बैंकको बोनस सेयर सुचिकृत हुन बाँकी छ ।