
काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकबाट २ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ भारु खरिद गरेको छ ।
केन्द्रीय बैंकले भारतीय रिजर्वलाई ४ अर्ब ५८ करोड अमेरिकी डलर बिक्री गरेर सो परिमाण भारु खरिद गरेको हो ।
भारतबाट वस्तु तथा सेवा खरिद गर्दा भारुमा भुक्तानी गर्ने व्यवस्थाअनुसार राष्ट्र बैंकले अर्बे डलर बेचेर खर्बौ रुपैयाँ भारु खरिद गरेको हो ।
गत आर्थिक वर्षमा केन्द्रीय बैंकले ४ अर्ब १२ करोड डलर भारतीय रिजर्वलाई बिक्री गरी २ खर्ब ७३ अर्ब ५८ करोड भारु खरिद गरेको थियो ।
गत आवको भन्दा चालु आवमा भारु खरिद बढेको छ । भारतबाट आयात बढेकाले भारु खरिद बढेको राष्ट्र बैंकले जनाएको छ । आयात बढेका कारण मुलुकको भुत्तानी संन्तुलन ऋणात्मक हुन पुगेको छ । व्यापार घाटा २४.६ प्रतिशत बढेर १० खर्ब ३३ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।