
काठमाडौं । नेपाल बैंकको प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) खुलेको पहिलो दिन शुक्रबार कम आवेदन परेको छ ।
शुक्रबार २ करोड ८० रुपैयाँको १ लाख कित्ता मात्र एफपीओलाई आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुब तिमल्सिनाले बताए । शुक्रबार भएकाले एफपीओ कम गएको उनको भनाई छ । निर्धारित समयमा एफपीओ बिक्री हुने उनले दावी गरे ।
बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । पहिलो दिन लगानीकर्ताले खासै चासो नदिएको पाइएको छ ।
एफपीओ निष्कासन बन्द छिटोमा असार १९ गते र ढिलोमा साउन १३ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थले जनाएको छ । एफपीओ खुलेको दिनदेखि संगठित संस्थाले आवेदन दिन पाउने छन् । न्युनतम ५० कित्ता र अधिकम १० ले भाग जाने गरी विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरी अधिकतमका लागि आवेदन दिन सकिने छ ।
एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । ८ वटा मर्चेन्टले बैंकले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् ।