कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने
काठमाडौँ, ६ भदौ । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ । उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
रेवतीले टन्न पैसा कमाइ, मलाई सेयर ब्रोकरले ढुबायो
दृश्य १ “यी ब्रोकरहरु सबै फटाहा हुन्” डिस्पेले कक्षमा बसेका एक लक्का जवानले कुरा निकाले । “हो त नि सस्तोमा माल किन्न लाई बजार घटाएका ” खैनि ओठमा चेप्दै एकजना अधवैसे उमेरकाले कुरा तन्काए । “जम्मा ५० वटा को सिन्डिकेट भएपछि बजार यिनको हातमा नभएर कसको हातमा हुन्छ त ” अगाडि सिटमा बसेकि महिलाले सहि थपिन् । “के गर्नु ! रेवतीले पोहर साल टन्न पैसा कमाको देखेर शेयर बजारमा लगानी गरेको । ब्रोकरसंग राम्रो चिनजान नभएर किनोकी नोक्सान भाछ मलाई त” अर्का बोलक्कड पाकाले निचोड निकाले । यस्तै घनिभुत छलफल चलिरहन्छ । बजार घट्नुको साख कारण केही नभएको र ठूला ब्रोकरको चलखेलको कारण बजार घटेको हो भन्ने निष्कर्ष निस्कन्छ । दृश्य २ लक्का जवान सुटुक्क उठेर कारोवार कक्षमा पस्छन् र आफूसंग भएको शेयर बजार रेटमा बिक्री गर्छन । यति बेलासम्म बजार २० अंकले घटिसकेको हुन्छ । उछिना उछिन गरी क्रमश अधवैसे उमेरको मान्छे, महिला र पाका उमेरको व्यक्तिहरुले शेयर बेच्दै जान्छन । बजार ३३ अंकले घटिसकेको हुन्छ । दृश्य ३ डिस्पेले कक्ष सुनसान हुन्छ । कोही एक आपसमा बोल्दैनन् , सबैको अनुहार मलिन हुन्छ । बजार ३५ अंकको गिरावटमा बन्द हुन्छ । दृश्य ४ साझ ७ बजे सामाजिक संजालमा निमायक निकायका प्रमुख र आधिकारीहरुको उछितो काटिन्छ । बजार घटाउन चलखेल गर्नेलाई कारबाहीको माग गरिन्छ । व्यक्ति बिषेशलाई पनि दोष लगाउन बाकि राखिदैन । लक्का जवान दवाव समूहको संयोजक बन्छन् । पाका मान्छे सल्लाहकार बन्छन्। भोलिपल्ट समाचार आउछ । सर्वसाधारण लगानिकर्ताको हितमा समर्पित दवाव समूह गठनसहित आन्दोलनका कार्यक्रम घोषणा ।
तराई डुबानः दुई बीमा कम्पनीमा पर्यो ६ करोड ६५ लाख दावी, सर्भेयर पुगे डुबान क्षेत्रमा
काठमाडौं । तराई–मधेशमा आएको बाढी र डुबानपछि बीमा दावी गर्ने क्रम सुरु भएको छ । दुई वटा बीमा कम्पनीमा मात्रै ६ करोड ६५ लाखको दावी परेको छ । बीमा समितिका अनुसार हालसम्म प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रारम्भिक दावीको विवरण बुझाएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीमा ३ करोड ८३ लाख १६ हजार ४ सय १० रुपैंयाँको दावी परेको छ । ६ वटा अग्नि, ७ वटा मोटर, १ पशुपंक्षि र २ वटा माछा गरी कुल २३ वटा बीमा दावी परेको छ । त्यस्तै, प्रीमियर इन्स्योरेन्समा ३ वटा अग्नी, १३ वटा मोटर र ४ वटा इञ्जिनियरिङ गरी २३ वटा बीमा दावी परेको हो । सो वापत २ करोड ८२ लाख ५० हजार रुपैंयाँ दावी गरिएको छ । बीमा समिति भन्छः यो बीमकका लागि अवसर हो बीमा समितिले साउन २९ गते नै सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर सर्भेयर खटाउन निर्देशन दिएको थियो ।‘हामीले साउन २९ गते नै सबै बीमा कम्पनीका प्रमुखलाई बोलाएर सर्भेयर खटाउन निर्देशन दिएका थियौं, सोही अनुसार यतिबेला सबै कम्पनीहरुले सर्भेयर पठाएका छन्’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने । समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीे बीमा कम्पनीहरुले बीमा बजार विस्तारका लागि राम्रो अवसर पाएको बताउँछन् ।‘भूकम्पपछि राम्रो गर्ने बीमा कम्पनीले यतिबेला मालामाल भैसकेका छन, बाढी र डुबान पनि बीमा कम्पनीहरुका लागि राम्रो अवसर हो ।’, कार्यकारी निर्देशक कार्कीले भने । यतिबेला बीमा कम्पनीले आफ्ना सर्भेयरलाई बाढी र डुबान प्रभावित क्षेत्रमा खटाईरहेका छन् । सगरमाथा इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले सूचना प्रकाशित गरेरै क्षतिको दावी गर्न आव्हान गरेका छन् । बीमा दावीलाई जति सहज ढंगले भुक्तानी गर्यो बीमा कम्पनीको बजार बढाउन त्यति नै सहज हुने कार्की बताउँछन् । ‘सहजै दावी भुक्तानी गर्ने कम्पनी प्रति विश्वास बढ्छ, उनीहरुको बजार बढाउन पनि सहजता थपिन्छ, अहिले कम्पनीहरु आफ्नो गुडविल बढाउन लागिपरेका छन् ।’, कार्कीले भने । एक हप्ताभित्रै सबै क्षतिहरुको पुर्ण विवरण आइसक्ने पनि उनले बताए ।
एनएमबि बैंकको लकर सुबिधामा विशेष छुट
काठमाडौं । एनएमबि बैंकले हिन्दु महिलाहरुको बिषेश पर्व तिजको अवसरमा लकर सुबिधा लिदाँमा ५० प्रतिशतको बिशेष छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुसँगको सम्बन्ध झनै प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता प्रदान होस् भन्ने उद्देश्यले उक्त सेवा प्रदान गरेको हो । यस सगैँ बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान-प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ । बैंकले नाफालाई मात्र केन्द्र नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।
बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, ७२ करोड माथिको सेयर कारोबार
काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । मंगलबार नेप्से २ दशमलब ४८ अंकले उकालो लागेर १६१४ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ७२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा जम्मा ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । मंगलबार उत्पादन र फाइनान्स समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ११ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४ करोड ७९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारका साथै यस कम्पनीको सेयर मूल्यमा पनि ७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको ४ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मन्त्री उद्योग खोल्नुपर्छ भन्छन्, तर कर्मचारी बन्द गराउन खोज्छन्- कृष्णप्रसाद दुलाल
कृष्णप्रसाद दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ) प्रालिका निर्देशक हुन् । विराटनगरबाट लूब्रिकेन्टस व्यवसाय सुरु गरेर सफल उद्योगीका रुपमा स्थापित भइसकेका छन् उनी । उनको कम्पनीले स्टार लूब्रिकेन्ट, स्टार ग्रीज, पिएलओ लूब्रिकेन्ट र हाइड्रोलिक आयल लगायतका वस्तु उत्पादन गरिरहेको छ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका (नाडा) का महासचिव समेत रहेका दुलालसँग लुब्रिकेन्ट व्यवसायको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको कुराकानी : कृष्णप्रसाद दुलाल, महासचिव नाडा विराटनगरबाट सुरु भएको पिएलओ लूब्रिकेन्ट अहिले ब्राण्डका रुपमा स्थापित भइसकेको छ । समग्र लूब्रिकेन्ट बजारमा तपाईंको उत्पादनले कसरी व्यवसाय बढाइरहेको छ ? मैले २०५८ सालमा यो उद्योग स्थापना गरेको हो । अहिलेसम्मको ट्रेन्ड हेर्दा प्रत्येक वर्ष औषत २५ प्रतिशतले लूब्रिकेन्टको व्यवसाय बढीरहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हाम्रो उत्पादनको बिक्री करिब ३५ प्रतिशतले बढेको छ । नेपालको उत्पादनले क्रमश विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै गएको छ । आयल निगमले जति पेट्रोलियम आयात गर्छ त्यसको दुई प्रतिशत लूब्रिकेन्टमा प्रयोग हुने अन्तराष्ट्रिय मापदण्ड छ । समग्र लूब्रिकेन्टको व्यवसाय पनि २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ । नेपाली उत्पादनको सवालमा लूब्रिकेन्टको बजार हिस्सा पाँच प्रतिशत बढेको छ । नेपाली उत्पादनको ३० प्रतिशत बजार हिस्सा रहेकोमा अहिले बढेर ३५ प्रतिशत पुगेको छ । अटोमोबाइल क्षेत्रमा आएको वृद्धिसँगै लूब्रिकेन्टको बिक्री बढ्नु स्वभाविक हो । जलविद्युत आयोजा निर्माणमा प्रयोग हुने हेबी ईक्विपमेन्ट तथा ठुला साधनमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । लूब्रिकेन्टमा वृद्धि भएको प्रस्ट हुने आधार हुन् । उदाहरणका लागि गत आवमा सर्भोले २ हजार ८०० केएल लूब्रिकेन्टको व्यापार गरेको छ । म्याक लूब्रिकेन्टले २ हजार केएल कारोबार गरेको थियो । २ हजार केएल भनेको झन्डै १ सय करोडको व्यापार हुनुपर्छ । हामी पनि झन्डै १ करोडको हाराहारीमा पुग्दै छौं । समग्र लूब्रिकेन्ट बजारमा पिएलओको बजार हिस्सा कति छ ? मलाई लाग्छ पिएलओले बजारको १० प्रतिशत हिस्सा छ । नेपालमा समग्र लूब्रिकेन्ट कारोबारमा वार्षिक रुपमा करिब २५ देखि २६ हजार केएल लूब्रिकेन्ट बिक्री भइरहेको छ । त्यसमध्ये २ हजार ८०० केएल हाम्रो बिक्री भइरहेको छ । स्वदेशी उत्पादनकै कुरा गर्दा हाम्रो उत्पादनको बजार हिस्सा करिब ३० प्रतिशत छ । बिक्रीको तथ्यांक हेर्ने हो भने उपभोक्ताले स्वदेशी भन्दा विदेशी लूब्रिकेन्ट नै रुचाएको देखिन्छ । नेपाली कम गुणस्तरका भएर हो ? उद्योग व्यवसायमा सुधार ल्याउन सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । विदेशमा सरकारी कर्मचारीमा आफ्नो देशको उत्पादन प्रयोग गर्नुपर्छ भन्ने नै ट्रेन्ड छ । जस्तै भारतीय पर्यटक नेपाल आयो भने ईण्डियन प्रडक्ट नै खोज्छन। विदेशीले नि आफ्नै देशको उत्पादन खोज्छन । तर हाम्रोमा आफनै उत्पादनमा त्यति विश्वास भएको देखिदैन, यो मात्रै हाम्रो समस्या हो । नत्र खासै परिवर्तन गर्नुपर्ने देखिदैन । सरकारले आफ्नो देशको उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने नीति लियो भने पुग्छ । हाम्रो संस्कार नै अरु देशको राम्रो भन्ने बसिसक्यो । बनाउदै जाने हो भने हाम्रो उत्पादन पनि राम्रो हुन्छ । अहिले होटल रेस्टुरेन्टहरुमा स्वदेशी ब्राण्ड बनाउने गरेको पाइन्छ । हामीले लूब्रिकेन्टमा पिएलओ एउटा छाप बसाउने प्रयास गरिरहेका छौं । एउटा साधारण उद्योगले १० प्रतिशत बजार ओगट्नु भनेको सानो कुरा होइन । बिडम्बना के छ भने हामीलाई सरकारी तवरबाट असहयोग भइरहेको छ । राजश्वले विभिन्न बाहनामा दुःख दिइरहेको हुन्छ । उद्योगलाई बन्द गराउनुपर्छ भन्ने कर्मचारीको मानसिकता छ । मन्त्रीले उद्योग खोल्नुपर्छ भनेर भाषण गर्ने तर कर्मचारीले त्यसलाई बन्द गराउन अनेक षडयन्त्र गर्ने प्रवृत्ती छ । उनिहरुको भारतीय उत्पादन नेपालमा ल्याएर बेच्नुपर्छ भन्ने मानसिकता छ । गूणस्तरको सवालमा विदेशी र नेपाली उत्पादनका लूब्रिकेन्टलाई कसरी तुलना गर्न सकिन्छ ? विदेशबाट आयात हुने ग्रीज भन्दा नेपालको ग्रीज सस्तो र गूणस्तरीय पनि छ । नेपाली बजारमा स्वदेशी उत्पादनकै ग्रीजको एकलौटी छ । ९० प्रतिशत हिस्सा ग्रीजको छ भने बाकी १० प्रतिशत आयात गरिन्छ । मोबिलको कुरा गर्ने हो भने पुराना गाडी तथा ट्याक्टरमा स्वदेशी उत्पादन नै प्रयोग हुन्छ । नयाँ गाडीहरुका लागि भने छ वर्षको ग्यारेन्टी दिएर आफ्नै मोबिल प्रयोग गर्नुपर्छ भनेर बिक्री गर्छन् । लूब्रिकेन्टको गुणस्तरको सन्दर्भमा अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट (एपिआई) ले मार्गनिर्देशन दिएको छ । गाडीको प्रकार अनुसार निश्चित फरक फरक सामग्री छुट्याइएको छ। जस्तो चिया बनाउन चियापत्ती, चिनी लगायतका कुराहरु छुट्याइएको हुन्छ त्यस्तै लूब्रिकेन्टका लागि पनि ट्रयाक्टरको लागि छुट्टै मापदण्ड छ भने बाइक तथा ठुला गाडीका लागि फरक फरक सामग्री राखिएको छ । चिप्लोपनालाई बाक्लो बनाइन्छ । जसका कारण बाह्रै महिनासम्म लूब्रिकेन्ट टिकाउ रहनसक्छ । त्यसमध्ये बढी मिहिनेत ग्रीज बनाउँदा लाग्छ । ग्रीज चाँही अन्तराष्ट्रिय मापदण्ड अनुसार कै छ । विदेशी उत्पादनका साथै स्वदेशी उद्योग पनि छन । यस्तो अवस्थामा पीएलओले कसरी प्रतिस्पर्धा गरिरहेको छ ? यो व्यवसाय सर्भिस डेलिभरीमा आधारित छ । तपाईंकोमा जो पुग्छ त्यहि बिक्री हुन्छ । प्रतिस्पर्धाको कुरा गर्दा लूब्रिकेन्टमा धेरै ठुलो छैन । हुन त प्रतिस्पर्धा बिनाको बजार नै हुँदैन । लूब्रिकेन्टको मार्केट सिस्टमअनुसार चल्छ छ । यो बिल्कुलै स्लो मुबिङ आइटम हो । यो उपभोग्य वस्तु जस्तो तुरुन्तै बिक्री हुने वस्तु होइन । विदेशी उत्पादनसँगको प्रतिस्पर्धा कस्तो छ ? नेपाली लूब्रिकेन्टका लागि आयात हुने कच्चा पदार्थमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । तयारी वस्तुमा ३० प्रतिशतको कर लाग्छ । कच्चा पदार्थ र तयारी लूब्रिकेन्टान जम्मा १५ प्रतिशतको फरक छ । यसले सम्पूर्ण उद्योगलाई समेट्न सकेको छैन । भारतले त्यहाँका उद्योगलाई अनुदान दिने चलन छ । भारतबाट आयात हुने लूब्रिकेन्टको मूल्य निकै कम छ । नेपाली लूब्रिकेन्ट र भारतिय लूब्रिकेन्टमा मूल्यको अन्तर खासै छैन । सरकारबाट हामीलाई सहयोग नै छैन । त्यसले गर्दा भारतसँगको प्रतिस्पर्धा अलि कडा भइरहेको छ । ०६२/०६३ साल अगाडी उद्योगलाई पाँच प्रतिशत लाग्थ्यो भने तयारी वस्तुमा ३० प्रतिशत लाग्थ्यो । २५ प्रतिशतको फरक थियो । त्यतिबेला एउटा मात्र लूब्रिकेन्ट उद्योगका रुपमा नेपालमा गल्फ उद्योग थियो । गल्फ त्यतिबेलाको एक नम्बर ब्राण्ड थियो । सरकारले नेपालमा उद्योग खोल्नुपर्छ भनेपनि फस्टाएको देख्ननसक्ने प्रवृत्तिको छ । अहिले आठवटा उद्योग हुन् तर त्यसरी एकछत्र राज गर्न सकेका छैनन् । अहिले काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा सडकको अवस्था खराब छ । यसले लूब्रिकेन्ट उद्योगलाई प्रभाव पारेको छैन ? लूब्रिकेन्ट चल्ने भनेको गाडीले यात्रा गर्ने किलोमिटरको हिसाबले हो । अहिले सडकको खराब अवस्थाका कारण लूब्रिकेन्ट उद्योगले खासै व्यापार गर्न सकेको छैन । आवश्यकता अनुसार सडकमा गाडी नचलेपछि लूब्रिकेन्टको जति हुनेपर्ने हो त्यसको आधा पनि बिक्री भएको छैन । अहिले विश्वबजारमा नै विद्युतिय सवारी साधनले राम्रो स्थान लिइरहेका छन । भोली पेट्रोलियमबाट चल्ने गाडी विस्थापित हुँदा लूब्रिकेन्ट उद्योगमा के प्रभाव पर्न देख्नुहुन्छ ? विद्युतीय सवारी आउदाँ लूब्रिकेन्ट उद्योगलाई प्रभाव त पर्छ नै । तर यो एकैचोटीमा विस्थापित हुने विषय होइन । अन्तर्राष्ट्रिय बजारमा त विस्थापित हुनसकेको छैन भने नेपालमा विस्थापित हुने परिकल्पना समेत गर्न सक्ने अवस्था छैन । सधै भरी एउटै चिज चल्छ भन्ने पनि हुँदैन । हेबी इक्विपमेन्ट विद्युतबाट नचल्ने भएकाले लूब्रिकेन्ट विस्थापित हुन्छ भन्ने छैन । नेपालको सन्दर्भ हेर्ने हो भने हाम्रो लूब्रिकेन्ट बढी खपत हुने साधन भनेको ट्रयाक्टर हो । अब ट्रयाक्टर विद्युतबाट चल्ने कुरा त भएन । हाम्रो उत्पादनको सबैभन्दा बढी बिक्री ग्रीजको हुन्छ । ग्रीज त इलेक्ट्रिक सवारीसाधनमा पनि प्रयोग हुन्छ । त्यसपछि खेतमा प्रयोग हुने पम्पिङ सेटमा जाने हो । त्यसपछि वैकल्पिक उपकरणमा प्रयोग हुन्छ । हाम्रो उत्पादन कमर्शियल भेहिकल भन्दा बढी खपत प्राइभेट भेहिकलमा हुन्छ । देशभरी तराईका विभिन्न स्थानमा आएको बाढीले विभिन्न उद्योग समस्यामा छन् । तपाईंको उद्योग पनि तराईंमा भएकाले यसको प्रभाव कतिको छ ? बाढीले सम्पूर्ण तराई क्षेत्रलाई ध्वस्त नै बनाएको छ । मेरो उद्योगमा प्रत्यक्षरुपमा असर नपरेपनि अप्रत्यक्षरुपमा परेको छ । तराईका अन्य उद्योगका गोदाममा पानी छिरेका छन्। यसको असर आर्थिक वर्षको अन्त्यमा थाहा हुन्छ । यो महिनामा त कारोबार सुरु भएकै छैन भन्दा हुन्छ । नाडा अटो शो २०१७ लाई लक्षित यहाँहरुको नयाँ प्रस्तुती के हुनेछ ? यसपाली नाडा अटो शोमा हामी मेगा लूब्रिकेन्टलाई नै प्रचार गर्छौं । हाम्रो उत्पादन बजारमा ल्याइसकेका छौं (पिएलओ) स्टार र मेगा । हाम्रो उत्पादनलाई व्यापक प्रचार गरेर स्वदेशमा पनि हाम्रो उत्पादन छ है भन्ने चिनाउने हाम्रो उद्देश्य हो ।
विद्युत् प्राधिकरणमा १०३ कर्मचारीको एकैपटक सरुवा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक १०३ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रवन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरिएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सुरुवा गराएका हुन् । कर्मचारी सरुवामा शिफारिश र दवाव आएको भन्दै माथिबाट भनसुन गर्न लगाउने कर्मचारीलाई दुर्गममा सरुवा गर्ने चेतावी दिएका थिए ।
कलंकी-नागढुंगा सडकमा ११ हजार भोल्टको करेण्ट
काठमाडौं । राजधानीको सडक विस्तारमा सैयौं मुद्धा परेका छन भन्ने कुरा सबैलाई जानकारी नै छ । तर त्यहि सडकमा ११ हजार भोल्टको करेण्ट पनि बगिरहेको छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । हो कलंकीबाट नागढुंगा तर्फ ४ सय मिटर अघि बढेपछि बाटो किनारमै ११ हजार भोल्ट करेण्ट प्रवाह हुने अण्डरग्राउण्ड तार भेटिन्छ । जसले सडक विस्तारलाई ठुलै अवरोध सृजना गरिरहेको छ । ‘११ हजार भोल्टको करेण्ट प्रवाह हुने विद्युतको लाइन अण्डर ग्राउण्ड गरिएको छ, जसका कारण कलंकीदेखि ढुंगा अड्डाको ५ सय मिटर सडक कालोपत्रे गर्न पाईएको छैन’, काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीले भन्छन् । सो तारले ६ महिनादेखि सडक विस्तारमा अवरोध गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गर्दा पनि तार हटाउन ठोस पहल गरेको छैन् ।‘कलंकी चोकदेखि अगाडी ५ सय मिटरसम्म सडक पिच गर्न सकिन्थ्यो तर ६ महिनादेखि त्यहि तारले काम रोकेको छ, विद्युत प्राधिकरणलाई हटाउन आग्रह गर्दा आश्वासन मात्रै पाईरहेका छौं’, केसीले गुनासो पोखे । उता, प्राधिकरण बलम्बु केन्द्रका प्रमुख जनार्दन पराजुलीले भने तार हटाउने प्रक्रिया अघि बढेको बताए । ‘हामीले तार व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भएको छ, अब माथीबाट तार टाँगेर विद्युत प्रसारण गराउँछौं र अण्डर ग्राउण्ड तारलाई निकाल्छौं’, पराजुलीले भने । त्यहाँ १.५ मिटर गहिराईमा ४० मिटरसम्म तार अण्डरग्राउण्ड गरिएको छ । अण्डर ग्राउण्ड तार हटाउने वित्तिकै सो ५ सय मिटर खण्डमा कालोपत्रे गर्ने तयारी सडक विस्तार आयोजनाले गरिरहेको छ । अन्यत्र भने अदालतमा मुद्धा परेकाले त्यसको छिनोफानो नहुञ्जेलसम्म सडक विस्तारको काम अघि बढाउन पाइने छैन् । सडक विस्तारका काम सुरु भएपछि सर्वोच्च अदालतले ३९ वटा स्टे अर्डर दिएको छ । सडक विस्तारका विरुद्ध अदालतमा परेका केहि मुद्धाहरुको पेसी भदौ २१ गतेका लागि तोकिएको छ । विद्युत प्राधिकरणले राजधानीको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका बिजुली तार भुमिगत गर्न लागेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बिजुलीको तार भुमिगत गर्न ग्लोबल टेण्डरको पनि आब्हान भएको छ ।
मोरङ – सुनसरी औद्योगिक करिडोरमा तीन अर्ब ५० करोड रुपैयाँ क्षति
मोरङ। सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब तीन अर्ब ५० करोड रुपैयाँको नोक्सानी भएको छ । मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी क्षेत्रका त सबै उद्योग ठप्प छन् । कटहरीमा सानाठूला गरी ३० उद्योग सञ्चालित छन् । “क्षतिको पूर्ण विवरण आउन अझै एक हप्ता लाग्छ”, अध्यक्ष शारडाले भने, “कतिपय उद्योगमा त भर्खर पानी सुक्दैछ, त्यहाँभित्र पस्न सक्ने अवस्था छैन । त्यसैले पूर्ण विवरण प्राप्त गर्न एक हप्ता पर्खनुपर्छ । अहिले त हिलो र फोहर पन्छाउँदै फुर्सद छैन ।” सबै उद्योग पूर्ववत् सञ्चालन हुन अझै एक हप्ता लाग्ने उनले बताए । उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ र उद्योग संगठनमा उद्यमी-व्यवसायीले क्षतिको विवरण पेश गर्न थालेका छन् । अहिलेसम्म प्राप्त सूचनानुसार अन्नपूर्ण निटिङ इण्डष्ट्रीमा १६ करोड ५४ लाख रुपैयाँको क्षति भएको छ । सोमध्ये यन्त्रतर्फ पाँच करोड ५० लाख रुपैयाँ, कच्चा सामग्री तीन करोड ५० लाख रुपैयाँ र तयारी कपडा रु चार करोड ४९ लाख रुपैयाँको क्षति भएको छ । त्यस्तै विशाल ग्रुपको सञ्चालनमा रहेको मैनावती स्टिलमा छ करोड रुपैयाँको क्षति भएको छ । मैनावतीको मिलमेसिनरीतर्फ एक करोड ५५ लाख रुपैयाँ, कच्चा पदार्थ एक करोड ७५ लाख रुपैयाँ र उत्पादित वस्तु दुई करोड १६ लाख रुपैयाँको क्षति भएको छ । इटहरीस्थित रिजाल टासीमा पनि २२ करोड रुपैयाँको क्षति भएको छ । सेन्चुरी फुड एन्ड स्पाइसेज उद्योगका सञ्चालक एवम् पूर्वसांसद् मोती दुगड पछुताउँदै भन्छन्, “आँधी, हुरी, भूकम्प, आगजनीजस्ता दैवीप्रकोपको बीमा त गरियो तर बाढीको गरिएन । ”बाढीको बीमा नगर्दा उनका दुई उद्योगमा दुई करोड रुपैयाँको क्षति भएको छ । बाढीबाट मोरङको बूढीगंगा गाउँपालिकास्थित उनको सेन्चुरी परिसरमा रहेको मसला र स्न्याक्स उद्योगमा त्यति क्षति भएको हो । “सबै क्षतिको विवरण संकलन गर्न एक हप्ता लाग्छ”, दुगडले भने , “दुई वटा उद्योगको क्षतिले रु दुई करोड नाघ्ने अनुमान गरिएको छ । ” उनले उद्योगमा भएको कच्चा सामग्री, तयारी सामान, प्याकेजिङ कच्चा पदार्थ केही बाँकी नरहेको बताए । दुगडले भने, “कारखानामा बाढीको पानीसँगसँगै दुर्गन्धित हिलो पनि पस्यो । पानी त बग्यो तर हिलो छाडेर गयो । अहिले मेसिन सफा गराउने काम गरिरहेका छौँ । दुर्गन्धले कारखानाभित्र पसिसक्नु छैन ।” करिडोर क्षेत्रका ठूला उद्योगीमध्येका दुगड एक हुनुहुन्छ । उनको कुर्ररमकुरा, सेञ्चुरी मसला लगायत उद्योग सञ्चालनमा छन् । नेपाल इन्स्युरेन्सका विराटनगरस्थित प्रमुख मदन खतिवडाका अनुसार ठूला उद्योगी ९५ प्रतिशतले बाढीको बीमा गरेका छन् तर साना तथा मझौला उद्योगी ९५ प्रतिशतले गरेका छैनन् । बाढीको विनाशबाट अहिले सबैभन्दा बढी थिचिने र मिचिनेमा साना तथा मझौला उद्योगी छन् । कटहरी गाउँपालिकामा प्लाष्टिकका चप्पल र ग्लास उत्पादन गर्ने विजय तोदीले पनि बाढीको बीमा गरेका थिएनन् । उनले भने, “दुवै युनिटको गरेर क्षति एक करोड ५० लाख रुपैयाँ नाघ्छ होला ।” विराटनगरमा गुटखा उद्योग रहेका गोविन्द खतिवडाको हालत पनि त्यस्तै छ । उनका अनुसार कच्चा पदार्थ र यन्त्र सबै काम नलाग्ने भएको छ । उनले आफ्नो रु तीन करोड बराबरको क्षति भएको जिकिर गरेका छन् । रासस
बैंकको कर्जा लगानी १८ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब
काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कर्जा प्रवाह १८.२ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.७ प्रतिशत बढेर १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३ खर्ब ४ अर्ब ३७ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकको कर्जा प्रवाह २५ प्रतिशत बढेको छ । विकास बैंकको १३.७ र वित्त कम्पनीको १३.३ प्रतिशत घटेको छ । समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.४, निर्माण क्षेत्रतर्फ कर्जा १६, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१, सेवा क्षेत्रका उद्योगतर्फ २३.३ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशत बढेको छ । ०७४ मा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ र १५.२ प्रतिशत थियो । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.५ प्रतिशत अर्थात ४८ अर्ब ८८ करोड रुपैयाँ छ । समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ११.२ प्रतिशतले घटी ६४ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३१.८ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा हायर पर्चेज कर्जा ३५.६ र ओभरड्राफ्ट कर्जा २२.१ प्रतिशत बढेको छ । यसैगरी १ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा १७.५ प्रतिशत र रियल स्टेट कर्जा १६.५ प्रतिशत बढेको छ । पुनरकर्जा उपयोग साढे १४ अर्ब उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा वर्षमा बढेको छ । गत आवमा साधारण पुनरकर्जा १३ अर्ब ७८ करोड र निर्यात कर्जा ८३ करोड गरी कुल १४ अर्ब ६१ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षमा साधारण पुनरकर्जा ७ अर्ब ६० करोड र निर्यात पुनरकर्जा. १ अर्ब ३० करोड गरी ८ अर्ब ९० करोड रुपैयाँ उपयोग भएको थियो । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत आवमा ७९ करोड ९० लाख स्वीकृत भएको छ । वाणिज्य बैंकले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा गत आवमा बैंकको यस्तो कर्जा अनुपात १८.२ प्रतिशत छ ।
युनिभर्सल पावरले आईपीओ निश्कासन गर्ने, अग्राधिकरण सेयर साधारणमा परिणत हुदै
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई २५ प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन प्रस्ताव पारित गर्न भदौ २९ गते साधारणसभा बोलाएको छ । १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ । साधारणसभाबाट पारित भएपछि सेयर निश्कासनको प्रक्रिया अघि बढ्ने भएको छ । कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९५ करोड रुपैयाँ साधारण सेयरमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।
रेमिट्यान्स आप्रवाह ७ खर्ब ९५ अर्ब ४५ करोड
काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.६ प्रतिशत मात्र बढेको छ । गत आवमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ७.७ प्रतिशत वृद्धि भएको थियो । गत आवमा ६ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ रहेकोमा समीक्षा वर्षमा घटेर २६.८ प्रतिशतमा सीमित भएको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशत वृद्धि भई ८ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशत बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्या पुनः श्रम स्वीकृति बाहेकमा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आवमा अघिल्लो आवको तुलनामा ४.७ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.४ प्रतिशत घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा कमी आएको छ । यस्तै विदेशबाट नेपालीले पाउने पेन्समा २ प्रतिशत घटेको छ । गत आवमा ४५ अर्ब ५९ करोड रुपैयाँ पेन्सन प्राप्त भएको थियो । अघिल्लो आवमा ४६ अर्ब ५१ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।
नेप्से परिसूचक ६ अंकले झर्यो, ५२ करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको नेप्से परिसूचक ६ दशमलब ४० अंकले घटेर १६११ अंकमा झरेको छ । सो दिन परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बजारमा जम्मा ५२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन आइतबार बजारमा ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार १५४ कम्पनीको २६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । १६० प्रतिशत हकप्रद निष्काशन घोषणा सँगै सोमबार कम्पनीको बढी मात्रामा सेयर कारोबार भएको हो । बजारमा अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७५ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ भन् बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक सामान्य ०.५७ अंकले उकालो लागेको छ ।
कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति, बाढी पीडित किसानद्धारा राहतको माग
वीरगञ्ज । हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बालीनाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १० हजार १०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा २८ करोड ८७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । साथै, एक करोड रुपैयाँ मूल्य बराबरको ५० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली तथा १५ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको २२५ हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा क्षति भएको छ । पर्सा जिल्लामा बाढी र वर्षाका कारण जिल्लामा ४५ करोड ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धानबाली, तरकारी, माछा र पोखरी नष्ट भएको प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । यसैगरी सो अविरल वर्षा र बाढीबाट बारा जिल्लामा एक अर्ब ३८ करोड १६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको बालीनाली क्षति भएको छ । पर्सा जिल्ला कृषि विकास कार्यालयका अनुसार सो बाढीबाट तीन हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली, एक हजार हेक्टर क्षेत्रफलमा रहेको तरकारीबाली र ५०० हेक्टर क्षेत्रफलमा रहेको माछा नष्ट भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए। बाढीबाट पीडित किसानले सरकारसँग अविलम्ब राहतको व्यवस्था गर्न माग गरेका छन् । रासस
करको दायरा बढाउँदा २ लाख नयाँ करदाता थपिए
काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि एक वर्षमा झण्डै २ लाख नयाँ करदाता थपिएका छन् । गत आर्थिक वर्ष ०७३/०७४ मा १ लाख ९२ हजार ७८६ नयाँ करदाता थप भएका छन् । यो समेत गरी मुलुकभर करको दायरामा आउनेको संख्या १६ लाख २३ हजार २३१ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो आवमा १४ लाख ३० हजार ४४५ करको दायरामा थिए । कुल जनसंख्याको झण्डै ६ प्रतिशत हारहारीमा मात्र करको दायरामा आएको सरकारी तथ्याँक छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको हो । पछिल्लो समय प्रशासनमा सुधार र दायरा विस्तारले कर असुली लक्ष्य भन्दा बढी हुन थालेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा सरकारले लक्ष्य ४७ अर्ब रुपैयाँ बढी कर असुली गरेको छ । गत आवमा सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कर असुलीको लक्ष्य निर्धारण गरेकोमा आव अन्त्यसम्म ६ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ असुली भएको छ । चाल आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समयमा करधारको विस्तार र कर प्रणाली सुध्रिढीकरण हुदै गएको छ । करको दायरा विस्तार, कर परिपालनाको स्तरमा अभिवृद्धि, राजश्व प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । ५ वर्षयता राजश्व प्रशासनमा भएकाले सुधारले वार्षिक राजश्व दर २७ प्रतिशतसम्म वृद्धि भएको छ ।
नियमन शुल्क नतिरेपछि नेप्सेले ७ ब्रोकरको कारोबार रोक्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सोमबार ७ वटा ब्रोकर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएपछि नेप्सेले उनीहरुको कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुने ब्रोकर कम्पनीमा अग्रवाल सेक्युरिटिज, आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्रियटिभ सेक्युरिटिज, डाइनमिक मनी म्यानेजर सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र साउथ एसियन बुल्स प्रालिलाई कारोबार गर्न बन्देज लगाएको नेप्सेले जनाएको छ । गत वर्षको नियमन शुल्क नबुझाएपछि बोर्डको निर्देशनमा कारोबार रोक्का गरेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । बोर्डलाई शुल्क तिरेपछि कारेबार खुला हुने उनको भनाई छ । कुल कारोबारको ०.६ प्रतिशत सेवा शुल्क बुझाउनु पर्ने छ ।
कमला सिँचाइ आयोजनामा १३ करोडको क्षति, सिँचाइ प्रभावित
सिरहा । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड रूपैयाँ बराबरको क्षति भएको छ । कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ ५ करोड र कमला नहर पश्चिमी नहर प्रणालीतर्फ ७ करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ १ करोड रूपैयाँ बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सिरहाको १२ हजार ५०० हेक्टर जमिन र धनुषाको १२ हजार ५०० हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हुदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताए । विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गरेकाे कमला सिँचाइ आयोजना विगत ३ वर्षदेखि पूर्णरुपमा निर्माण भएपछि सिरहा र धनुषाको धान, गहँ खेतीमा सिँचाइ सुविधा पु¥याउँदै आएको थियो । कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासेको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले राससलाई भने । साथै सो नहर क्षतिग्रस्त हुँदा सिरहा एवं धनुषाको धानखेतीसमेत बालुवा र माटोले पुरिएर नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कमला नहरको निर्माणले विगत दुई वर्षदेखि कृषि उत्पादन वृद्धि हुनुका साथै कमला नदीलाई समेत नियत्रण गर्दै आएको शारसर गाउँका रतिस यादवले भने । गत वर्ष २०७३र०७४ मा कमला नहर सिँचाइका लागि १७ करोड र समृद्ध तराई कार्यक्रमतर्फ र ५ करोड रूपैयाँ खर्च गरी सो नहरको संरचनाका साथै सिँचाइका कार्य गरिएको सो कार्यालयले जनाएको छ ।
सेञ्चुरी बैंकको नाफा ४४ करोड, जगेडा कोषमा एक अर्ब १८ करोड
काठमाडौं । सेञ्चुरी बैंकले ४४ करोड नाफा कमाएको छ । गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले आफ्नो नाफा ३ करोडले वृद्धि गरेर ४४ करोड पुर्याएको हो । सेञ्चुरीले आव २०७२/७३ मा ४१ करोड नाफा कमाएको थियो । बैंकले ४२ अर्ब निक्षेप संकलन गरेर ३९ अर्ब कर्जा लगानी प्रवाह गर्दा ३ अर्ब ११ करोेड ब्याज आम्दानी र १ अर्ब ९८ करोड ब्याज खर्च गरेको छ । ५ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा भने शुन्य दशमलब २२ प्रतिशतबाट बढेर १ दशमलब १५ पुगेको देखिन्छ । सेञ्चुरी बैंकको प्रति सेयर आम्दानी ८ रुपैंयाँ २० पैसा छ भने प्रति सेयर नेटवर्थ १२१ रुपैंयाँ ७५ पैसा रहेको छ ।
बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ
गौशाला । बैंकिङ कसूर गरी सेवाग्राहीका ४० लाख रूपैयाँ निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए । पक्राउ परेका टेक्निसियन साह रावा बैंक जलेश्वर शाखामा टेक्निसियनका रुपमा कम्प्युटरमा सेवाग्राहीको हस्ताक्षर व्यवस्थापन तथा सबै शाखामा हस्ताक्षर पठाउने काम गर्दै आएकाबेला जिल्लाको बर्दिबास शाखाबाट नक्कली हस्ताक्षर प्रयोग गरी त्यहाँ कार्यरत दुई जना कर्मचारीले एक सेवाग्राहीको २० लाख रूपैयाँ झिकेर हिनामिना गरेको आरोपमा उनी पनि दोषी रहेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कठायतले बताए । प्रहरी उपरीक्षक कठायतका अनुसार यसअघि साउनको अन्तिम साता रावा बैंक बर्दिवासमा कार्यरत वरिष्ठ सहायकद्वय बर्दिवास नपा–८ बस्ने ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोकको धुलिखेल नपा– ११ बस्ने ३५ वर्षीय अम्बिका पौडेललाई बैंकिङ कसूरमा पक्राउ गरिएको थियो । यसअघि पक्राउ परेका रावा बैंकका कर्मचारीद्वयले बर्दिवास शाखामा महोत्तरीको साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा रहेको वचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी रु २० लाख झिकेर हिनामिना गरेको आरोप रहेको छ । त्यस्तै उनीहरुले नक्कली चेककै प्रयोग गरी सर्लाही जिल्लाको लालबन्दीस्थित रावा बैंकबाट ५ लाख र सिरहाको मिर्चैयास्थित रावा बैंकबाट १५ लाख रूपैयाँ निकालेको प्रहरीले जनाएको छ । उनीहरुले बद्नियतपूर्वक तरिकाबाट आफ्नो खाताबाट रकम झिकेको भन्दै इन्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो भने यसै घटनामा दोषी रहेको आरोपमा रावा बैंक जलेश्वरका टेक्निसियन साह पनि पक्राउ परेका हुन् । साउन अन्तिम साता पक्राउ परेका दुवै जना कर्मचारीले आफूसहित यस कार्यमा अन्य पाँच जना कर्मचारी पनि संलग्न रहेको बयान दिएका थिए । ती दुवै जनामाथि बैंकिक कसूर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएकै बेला थप एक जना टेक्निसियन पक्राउ परेको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीन कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सूचिकृत, सबैभन्दा बढी एसबिआई बैंकको
काठमाडौं । आइतबार मात्रै तीन कम्पनीको दुई करोड सात लाख बढी कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । एकै दिन एसबिआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबार सूचिकृत मध्ये सबैभन्दा बढी एसबिआई बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । सो बैंकको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सूचिकृत भएको हो । त्यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एक लाख ७ हजार ९४९ कित्ता र ज्योति विकास बैंकको ७ लाख ७२ हजार ०४७ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।