राष्ट्रपतिद्वारा राष्ट्रिय सभासम्बन्धी अध्यादेश २०७४ प्रमाणिकरण, सरकार गठनको बाटो खुल्यो

काठमाडौं-  राष्ट्रपति विद्यादेविभण्डारीद्वारा राष्ट्रिय सभासम्बन्धी अध्यादेश २०७४ प्रमाणिाकरण भएको छ। शुक्रबार भण्डारीले उक्त अध्यादेशलाई प्रमाणिकरण गरेकी हुन् । अब राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणिय निर्वाचन प्रणालिद्वारा नै हुने निश्चित भएको छ। गत कात्तिकमा सरकारले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी गरेको थियो। सत्ता पक्ष कांग्रेस र प्रमुख विपक्षी एमालेबीच एकल संक्रमणीय मत प्रणाली राख्ने वा नराख्ने विवाद जारी रहँदा संसदको अन्तिम बैठकसम्म पनि राष्ट्रिय सभा निर्वाचन सम्वन्धी विधेयक कार्यसूचीमा राख्दै हटाईदै आएको थियो। संसदको अवधी सकिएपछि सरकारले सोमबार चिकित्सा शिक्षा अध्यादेश पारित गरेको  सार्वजनिक गरे पनि संगै पारित गरिएको राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेशको बारेमा जानकारी दिएको थिएन। दुवै विधेयक संसदबाट पारित हुन सकेका थिएनन । अहिले जारी गरिएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीकै प्रावधान राखिएको छ।

बल्ल ताते बैंकर, गभर्नरसँग छलफल सकेर अर्थमन्त्रालय पुग्दै

काठमाडौं । बजारमा लगानी योग्य पुँजीको चरम अभाव सृजना भएपछि बैंकरहरुको दौडधुप सुरु भएको छ । बिहिबार नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगाना र र पुर्व अध्यक्ष राजनसिंह भण्डारी लगायतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग छलफल गरेका छन् उनीहरू भाेली शुक्रबार अर्थ मन्त्रालय जाँदैछन् । ‘लगानी योग्य पुँजीको अभाव देखिन थालेपछि सम्भावित जोखिमको समाधान कसरी गर्ने भन्नेबारे गभर्नर सापसँग छलफल गरेका हौं, शुक्रबार अर्थमा छलफल गर्दैछौं’, बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विकासन्युजसँग भने । हाल बजारमा ३४ अर्बको मात्रै  लगानी गर्नका लागि थप तरलता छ । बाणिज्य बैंकहरुको पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो)  ७६ पुगिसकेकाले ८० पुग्ने जोखिम बढेको छ । ‘सिसिडी रेसियो औषतमा ७६ पुगेको छ, अब ८० पुग्ने जोखिम बढेको छ, त्यसले पनि हामीलाई सचेत हुन दबाव दिएको छ ।’, ढुंगानाले भने । भेटमा गभर्नर डा. नेपालले कर्जा लगानी अनावश्यक रुपमा बढाएकाले लगानी योग्य पुँजीको अभाव देखिएको भन्दै बैंकरहरुलाई सचेत बन्न भनेका थिए । हाल बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर १२.२५ प्रतिशत पुर्याईसकेका छन् । यसले पनि बजारमा लगानी योग्य पुँजी अभाव रहेको स्पष्ट पारिसकेको छ । चालु आवको पहिलो चार महिनामा बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रवाह ह्वात्तै बढाएको देखिन्छ । कात्तिकसम्ममा निक्षेप जम्मा १४.५ प्रतिशतले वृद्धि हुँदा बैंकहरुले कर्जा भने १७.५ प्रतिशतले वृद्धि गरेका थिए । सामान्यतया कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर केहि बढि हुनुपर्ने मान्यता रहिआएको छ । पुँजीगत खर्चको निकासा आरम्भ भएको र निर्वाचनमा खर्च गरिएको रकम वित्तिय प्रणालीमा आउने समय हुनै लागेकाले पनि लगानी योग्य पुँजीको अभाव चाँडै हट्ने विश्वासमा आफुहरु रहेको ढुंगानाले बताए । उता, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि बजारमा लगानी योग्य पुँजीको अभाव देखिएको बताउँदै त्यसको समाधानका लागि केन्द्रिय बैंकले उचित कदम चाल्ने बताए । ‘बैंकहरुले निक्षेप भन्दा कर्जा धेरै प्रवाह गरेको देखियो, सिसिडी रेसियो नाघ्ने अवस्था आईसकेको देखेका छौं, केन्द्रिय बैंक सम्भावित जोखिम न्युनिकरणका लागि सचेत भैसकेको छ’, सहायक प्रवक्ता पण्डितले भने । पुसभित्र सरकारले अर्बौ रुपैयाँ कर संकलन गर्दै छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब रुपैयाँ वचतमा छ । पुसको राजश्व थप हुदा ढुकुटीमा अझै अर्बौ रुपैयाँ थपिने र बैंकिङ प्रणालीमा लगानी गर्न थप पुँजीको अभाव चर्किने संभावना देखिएको छ । केही वाणिज्य बैंकसंग लगानीयोग्य पुँजी नभएपछि नेपाल राष्ट्र बैंकले बैंकको ऋणपत्र खरिद गरेर बजारमा पैसा पठाउने भएको छ । राष्ट्र बैंकले आउदो आइतबार बैंकसंग भएका विकास ऋणपत्र खरिद गरेर ५अर्ब रुपैयाँ बजारमा पैसा पठाउन लागेको हो । ऋणपत्र धितो राखेर लिने विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ ।

सेयर बजार घट्दा पनि लगानीकर्ताको आकर्षण स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउने आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डको बिहीबारसम्म सेयर किन्नेले मात्र शतप्रतिशत बोनस सेयर पाउने भएपछि उसको सेयर कारोबार बढेको हो । आइतबारदेखि स्ट्याण्डर्डको सेयर किन्नेले बोनस सेयर पाउदैनन् । यस्तै ५५ प्रतिशत नगद लाभांश पाउने भएपछि नेपाल टेलिकमको पनि सेयर कारोबार बढेको छ । टेलिकमको सेयर आइतबारसम्म किन्नेले नगद लाभांश पाउने छन् । बिहीबार टेलिकमको प्रतिकित्ता ८४३ रुपैयाँमा १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेका बेलामा प्रभु बैंकको संस्थापक सेयर पनि कारोबार भएको छ । प्रतिकित्ता १७० रुपैयाँमा ३ करोड १८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सेयर बजार घटन थालेपछि लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्न थालेका छन् । संस्थापक सेयर आधा मूल्यामा किन्न पाइने र लाभांश उत्तिनै पाउने भएपछि बजार घटेका बेला संस्थापक सेयरको कारोबार हुने गरेको छ । स्ट्याण्डर्ड, टेलिकम र प्रभुका कारण बजार घटेपनि ८१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सेयर बजार १०.७३ अंक घट्ेको छ । बजार घटेर नेप्से परिसुचक १ हजार ४१४ अंकमा सीमित भएको छ । महुली सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशत बढेको छ । महुली लघुवित्तका लगानीकर्ताले बिहीबार प्रतिसेयर २९२ रुपैयाँ कमाएका छन् । महुलीको सेयर मूल्य बढेर प्रतिकित्ता ३ हजार २१२ रुपैयाँ पुगेको छ । बिहीबार व्यापार र होटल समूहको सेयर बढेको छ भने बैंक, वित्त कम्पनी, बीमा, जलविद्युत र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ ।  

बुधबारको सेयर कारोबार रद्द गर्न लगानीकर्ताको माग, आंशिक कारोबार रद्द गर्ने नेप्सेको तयारी

  काठमाडौं । बुधबार भएको नेपाल टेलिकमको सेयर कारोबार आंशिक रद्द हुने भएको छ । लगानीकर्ताले बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेर डुवाएको भन्दै उजुरी गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले टेलिकमको बुधबारको कारोबार रद्ध गर्ने भएको हो । सुचना सार्वजनिक हुनुअघि भएको कारोबार रद्द हुनुपर्ने देखिएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए । उनले बुधबारको आँशिक कारोबार रद्ध हुने जानकारी दिए । यता धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि नै प्रकाशित गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनेपछि टेलिकमले पुस १२ गते नेप्सेलाई पत्र लेखेर १६ गतेदेखि मात्रै बुक क्लोज गर्ने जानकारी गराएको थियो । १२ गते बुक क्लोज हुने भन्दै सेयर बेचेका लगानी कर्तालाई अन्याय भएको भन्दै बोर्डले टेलिकमलाई पत्र काट्न लागेको हो । ‘आजै टेलिकमलाई पत्र लेखेर खास के भएको हो, त्यसको विवरण माग्दैछौं, त्यसपछि थप अध्ययन हुन्छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

महालक्ष्मी विकास बैंकले सेयर कर्जा लिन बोलायो, ११.९९ प्रतिशतमा ३ दिनभित्र दिने

  काठमाडौं । वाणिज्य बैंकहरुले भन्दा महालक्ष्मी विकास बैंकले सस्तो दरमा सेयर कर्जा दिने भएको छ । वाणिज्य बैंकहरुले न्युनतम १२ देखि १५ प्रतिशतसम्म सेयर कर्जा दिने योजना ल्याइरहेका बेला महालक्ष्मीले ११.९९ प्रतिशत ब्याजमा सेयर कर्जा दिने भएको छ । काम सुरु गरेको ३ दिनभित्र कर्जा पाइने महालक्ष्मीले जनाएको छ । १ वर्षका लागि बैंकले महालक्ष्मी सेयर कर्जा योजना ल्याएको हो । व्यक्ति तथा संस्थालाई कर्जा दिने बैंकले जानकारी दिएको छ । यसअघि सिभिल बैंकले १२ प्रतिशत ब्याजमा सेयरधितो कर्जा ल्याएको थियो । सानिमा बैंकले १५ प्रतिशत घटी सेयर कर्जा नदिने जानकारी दिएको छ । पछिल्लो समयमा सेयर बजार घट्न थालेपछि यसलाई बढाउन बैंकहरुले योजनाका साथ सेयर कर्जा योजना ल्याएका हुन् ।

लगानीकर्ताको ध्यान प्रमोटर सेयरमा, एकै दिन नेपाल लाइफको ११ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला लगानीकर्ताका ध्यान संस्थापक (प्रमोटर) सेयर खरिदतर्फ गएको छ ।  बुधबार २१ अंकले सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा १ लाख कित्ता सेयर प्रमोटर सेयर किनबेच भएको छ । नेपाल लाइफको प्रोमटर सेयर किनबेचले बुधबारको सेयर कारोबार बढाएको हो । नेपाल लाइफको सेयर मूल्य १ हजार ७५२ रुपैयाँ छ । आधा मूल्यमा सेयर प्रमोटर सेयर किनबेच हुने गरेकोमा नेपाल लाइफको साधारण भन्दा २२४ रुपैयाँमा भन्दा बढी मूल्यमा किनबेच भएको छ । नेपाल लाइफको प्रमोटर सेयर मात्रै १० करोड ९९ लाख ५८ हजार रुपैयाँ रहेको छ । कुल ८ वटा कारोबारमा २८ नम्बर ब्रोकरले सेयर बेचेको र १७ नम्बरले सेयर खरिद गरेको देखाएको छ । दुबै कम्पनी मारवाडी समुदायको हो । बुधबार ७६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार बढेका बेला प्रमोटर सेयरको किनबेच हुने गरेको एक ब्रोकरले बताए । साधारण सेयरको आधा मूल्यमा किन्न पाइने र प्रतिफल उतिनै पाइने भएपछि बजार घटेका बेला लगानीकर्ताको आर्कषण प्रमोटर सेयरमा हुने ती ब्रोकरको भनाई छ । मारवाडी व्यवसायीले नेपाल लाइफको प्रमोटर सेयर खरिद गरेको स्रोतको भनाई छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको प्रतिकित्ता १ हजार ९५५ रुपैयाँमा १० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डले चुक्तापुँजी बढाउन सत्प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि कारोबार बढेको छ ।

सेयर बजार २१.५३ अंकले ओरालो, कारोबार ७६ करोड

काठमाडौं । बुधबार पनि सेयर बजार २१.५३ अंकले आरोलो लागेको छ । बुधबार बजार खुल्ने वित्तिकै ओरालो लागेर १४२२.३२ अंकमा झरेको बजार १२ः३० बजे फेरी बढेर १४४३.३० अंकमा पुगेको थियो । तर त्यसपछि निरन्तर ओरालो लागेको सेयर बजार अन्ततः २१.५३ अंकले घटेर १४२५.५१ अंकमा आईपुगेको हो । बजार घटेको भएपनि बुधबार ७६ करोड ५७ लाख रुपैंयाँ मूल्यमा १५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भएको थियो । दोहोरो अंकले बजार घट्दा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटेर सेयर र स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर १० करोड भन्दा बढि मूल्यको कारोबार भएको छ ।

सानिमा इक्विटी फन्ड अावेदन गर्ने सबैलार्इ बाँडफाँड, लगानीकर्ताले १०० प्रतिशत पाए

काठमाडौं ।  सानिमा क्यापिटलले निष्काशन गरेकाे सानिमा इक्विटी फन्ड बाँडफाँड भएको छ । फन्डको इकाई कुल २१ हजार १३५ जना लगानीकर्ताले पाएका छन् । सानिमा इक्विटी फन्डले मंसिर १२ देखि २२ गतेसम्म १२ करोड इकाई बिक्री खुला गरेको थियो । यसमा माग भन्दा बढी आवेदन परेपछि इकाई थप गरी २१ हजार १३५ जना लगानीकर्तालाई बाँडफाँट गरिएको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यी लगानीकर्ताले माग गरे बमोजिम शतप्रतिशत इकाई हात पारेका छन् । सानिमाले सामूहिक लगानी कोष नियमावली २०६७ ले गरेको २५% सम्म इकाई थप गर्न पाउने व्यवस्था बमोजिम कुल जारी इकाईमा १ करोड इकाई थप गरेको हो । सानिमा क्यापिटलको कोष व्यवस्थापनमा सञ्चालित यो पहिलो म्युचुअल फन्ड हो ।

पाँचौं हाकिम खोज्दै पुननिर्माण प्राधिकरणः ६ लाख ८८ हजार भूकम्प पीडित अझै त्रिपालमा

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको २ बर्ष पुरा भएको छ । पाँच बर्षभित्र पुननिर्माणको काम सक्ने लक्ष्यसहित स्थापना भएको प्राधिकरणमा २ बर्षभित्र ४ जना प्रमुख कार्यकारी अधिकृतले जागिर खाएका छन् र यतिबेला पाँचौं हाकिमको खोजी पनि सुरु भैसकेको छ । तर अझै पनि ६ लाख ८८ हजार १ सय ९१ भूकम्प पीडित त्रिपालमै बस्न बाध्य छन् । सुरुमा तत्कालिन योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्राधिकरण प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए । तर पछि केपी ओली सरकारले सुशिल ज्ञवालीलाई प्राधिकरण्को सिइओ बनायो । ओली सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री बनेपछि ज्ञवालीलाई हटाएर पुनः  पोखरेललाई नै सिइओ नियुक्त गर्यो । तर प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बन्न पोखरेलले राजीनामा दिए । पोखरेलले दोश्रो इनिङ त्यागेपछि अहिले युवराज भुषालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । बामपन्थी नेतृत्वमा नयाँ सरकार गठन भएमा प्राधिकरणबाट भुषाललाई पनि निकालिने छ र पाँचौं प्रमुखका रुपमा नयाँ व्यक्ति नियुक्त हुनेछन् । प्राधिकरणले पाँचौं हाकिम पाउनै लाग्दा पनि भूकम्प पीडितहरुले भने अझै पनि घरको बास पाएका छैनन् ।

सरकारले सेयर लगानीकर्तालाई करको दायरामा ल्याउने, प्यान अनिवार्य गरिदै

काठमाडौं । सरकारले सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउने भएको छ । साना ठुला सबै लगानीकर्तालाई करको दायरामा ल्याउन अर्थ मन्त्रालयले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । हाल सेयर किनबेच गर्दा व्यक्तिगत ५ र संस्थागत १० प्रतिशत पुँजीगत लाभकर मात्र तिरे पुग्ने व्यवस्था छ । अब लगानीकर्ताले पुँजीगत लाभकरको अतिरित्त सेयर कारोबारबाट भएको कमाईको आफैले मूल्याँकन गरेर सोही अनुसार वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो । सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन प्यान लिनुपर्ने व्यवस्था गर्न लागेको अर्थ मन्त्रालयका राजश्वसचिव शिशीर ढुङानाले बताए । सेयर लगानीकर्तालाई प्यान अनिवार्य लिने व्यवस्था कार्यान्वयनका लागि आन्तरिक तयारी भइरहेको उनले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमार्फत प्यान अनिवार्य गरिने उनको भनाई छ । कर कार्यलयले ब्रोकर कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) निर्धारण गरी तिर्नलाई धमाधम पत्राचार गरिरहेका बेला सेयर कारोबार गर्ने लगानीकर्तालाई पनि करको दायरामा ल्याउन लागेको हो । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेलाई प्यान अनिवार्य गर्ने योजना ल्याएपछि लगानीकर्ताले विरोध गरेका थिए । लगानीकर्ताको विरोध भएपछि पछि बोर्ड पछि हटेको थियो । यता अर्थले नै प्रक्रिया थालेपछि प्यान अनिवार्य हुन लागेको हो । सेयर बजारमा १४ लाख बढी लगानीकर्ता भएको अनुमान गरिएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारले करको दर भन्दा पनि प्रणालीलाई सुधार गरेर दायरामा ल्याउन प्रयासअन्र्तगत लगानीकर्तालाई पनि कर तिराउन लागेको हो । चालु आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व उठाउदै छ ।

रानीपोखरी पुनःनिर्माण विवादबारे महानगरले पुरातत्व र प्राधिकरणसँग समन्वय गर्ने

  काठमाडौँ । आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कायम गर्दै पर्यटकीय आकर्षण कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि सम्बन्धित निकायसँग समन्वय गर्न लागिएको हो । निर्माणाधीन रानीपोखरीमा आज बिहान उपप्रमुख खड्गी अवलोकन गर्न गएको समयमा केही संस्कृतिकर्मीले पोखरीभित्र जाने मूल ढोकामा ताला लगाइएपछि निर्माण कार्यमा अवरोध पुगेको थियो । दिउँसो प्रमुख शाक्यसहित महानगरको टोली पुगी ताला तोडिएको थियो । प्रमुख र उपप्रमुख एकैसाथ अवलोकनमा जाने र समस्या समाधानबारे निकासमा पुग्ने तयारी भए पनि उहाँहरु अलगअलग पुग्दा थप समस्या देखिएको हो । पहिलेको भन्दा पोखरी सानो बन्न नहुने तथा त्यहाँस्थित बालगोपालेश्वर मन्दिर निर्माण कंक्रिट प्रयोग गर्न नहुने आवाज संस्कृतिकर्मीले उठाउँदै आएका छन् तर प्रमुख शाक्यले आफू पनि त्यही पक्षमा रहेको दाबी गरे । प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्र्देशन दिनुभएको छ भने उपप्रमुख खड्कीले निर्माणको काम नियमविरीत भएकाले स्थगन गर्न आग्रह गरे । “सम्पदा सबैको हो । यसको पुनःनिर्माण चाँडै सकाउन हामी लागिपरेका छौँ । आज उपप्रमुख पनि सँगै जान पाएको भए विवाद हुने थिएन, पछि मैले छलफलका लागि बोलाउँदा उहाँ आउनुभएन”–प्रमुख शाक्यले भने, “यस विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढिनेछ ।” विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो । सम्झौताअनुसार कुल करिब रु सात करोड लागतमा पहिलो चरणको लागि गत कात्तिक मसान्तसम्ममा सकाइक्नुपर्ने सो निर्माण कार्य महानगर र ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीबीच आन्तारिक विवादका कारण ढिलाइ भएको हो । विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन स्थापना गरिएको इतिहासमा उल्लेख छ । रासस

समुदायीक लघुवित्तले ३ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले मंगलबार सामुदायिकलाई ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । साउनयता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सर्पोट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, पञ्चकन्य हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । यस्तै बुटबल पावर कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल ग्रामीण विकास बैंकले थप निष्कासन (एफपीओ)  बजारमा ल्याउन बोर्डबाट अनुमति पाएका छन् ।

नेप्से २० अंकले घट्यो, लगानीकर्ता झुम्मिए नेपाल टेलिकम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा

काठमाडौं । मंगलबार नेप्से २० अंकले घटेको छ । दुई सातासम्म निरन्तर ओरालो लागेको नेप्से १५२० बाट ७३ अंक गिरेर मंगलबार १४४७ अंकमा झरेको छ । बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर ८५७ रुपैयाँ पुगेको छ । माहुली सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २४१ रुपैयाँले बढेर २६५५ रुपैयाँ पुगेको छ । नेप्से १.४१ प्रतिशतले घट्दा महुलीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । बीमा समूहको परिसूचक १३८ अंकले घट्दा बैक समूहको परिसूचक १८ अंकले घटेको छ । बुधबार ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम र कारोबार भएको सेयर संख्या दुबैको आधारमा स्टयाण्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । टेलिकमको सेयर मूल्य ७ रुपैयाँँले बढेको छ भने स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ६७ रुपैयाँले घटेको छ । मूल्य घटे पनि बढे पनि लगानीकर्ता यी दुई कम्पनीको सेयरमा झुम्मिएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिँदैछ भने नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । सेयरको आपूर्तिमा वृद्धिका साथै व्याजदरमा आएको वृद्धिले सेयर बजार निरन्तर घटिरहेको देखिएको छ । वाम गठबन्धनले निर्वाचन जितेपछिको राजनीतिक तरङ्क र सरकार गठनमा भएको विवादले पनि बजारलाई नकारात्मक असर परेको लगानीकर्ताहरु बताउँछन् ।

सेयर कर्जाको ब्याज १५ प्रतिशत पुग्यो, सेयर ब्रोकर भन्छन – ७ प्रतिशत घाटामा कसले लगानी गर्छ ?

काठमाडौं । बैंकहरुले सेयर कर्जाको ब्याज दर बढाएर १५ प्रतिशतसम्म पुर्याएका छन् । पछिल्लो समयमा बजारमा लगानीयोग्य पुँजी कम हुदै गएपछि बैंकले सेयर कर्जा १५ प्रतिशतसम्म लिन थालेका छन् । बैंकले १२० दिनका लागि १२ प्रतिशत ब्याजमा मुद्धति निक्षेप उठाउन थालेपछि यसको असर कर्जामा परेको हो । अहिल अधिकाँश बैंकले ब्याजदर बढाइसकेका छन् । सबै बैंकले पुँजी पुर्याइसकेको, बैंकको ब्याजदर बढेको र राजनीतिक अस्थितरता पनि देखिदा यसले बजारमा असर गरेको लगानीकर्ताको भनाई छ । पछिल्लो २ सातायता सेयर बजार निरन्तर घट्दै गएको छ । बजार घटेर नेप्से परिसुचक साढे १४ सयको हारहारीमा आइसकेको छ । सानिमा बैंकले सेयर कर्जाको ब्याजदर बढाएर १५ प्रतिशत पुर्याएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । “१५ प्रतिशत ब्याज तोक्नु लगानीकर्तालाई सेयर कर्जा लिन नआउनु भनेको हो” उनले भने । सानिमाले ४० करोड रुपैयाँ हारहारीमा सेयरकर्जा लगानी गरेको उनले जानकारी दिए । यता सिभिल बैंकले १२ प्रतिशत ब्याज दरमा सेयरकर्जा लिन लगानीकर्तालाई बोलाएको छ । बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो । सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले सजिलै कर्जा दिन्छु भनेर बिज्ञापन निकाले पनि ब्याज दरले महंगो लिने गरेको लगानीकर्ताको भनाई छ । सेयर बजार नबढ्नुमा बैंकको ब्याजदर बढी मुल कारण भएको एक स्टक ब्रोकरल बताए । “बैंकको ब्याजदर कम नभएसम्म बजार बढ्ने संभावना छैन” ती ब्रोकरले भने “अहिले त्यो संभव देखिएको पनि छैन् ।” अहिले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्दा ७ प्रतिशत भन्दा बढी नोक्सान हुने ती ब्रोकरको भनाई छ । बैंकको ब्याजदर बढेपछि मारवाडी समुदायले सेयरमा लगानी नगर्दा बजार नबढेको ब्रोकरको निश्कर्ष छ । ब्याज दर बढेपछि त्यो समुदायले सेयर बजारबाट हात झिकेको हो । चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । ४ महिनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयरमा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

साञ्जेन जलविद्युतको आईपीओ निष्कासनको तयारी, डीम्याट खाता खोल्न लगानीकर्तालाई अनुरोध

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लगानीकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । पुसभित्र ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको सान्जेनले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई डीम्याट खाता खोल्न अनुरोध गरेको हो । कम्पनीले सेयर किन्न योग्य र इच्छुक आवेदकलाई तत्काल डीम्याट खाता खोल्न भनेको हो । संस्थापक कर्मचारीतर्फ नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवाका तत्काललिन जिविस र गाउँ विकास समिति, ऋणदाता अन्र्तगत संचय कोषमा रकम जम्मा गर्ने रहेका छन् । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीका लागि छुट्ट्याएको ८७ करोड रुपैयाँ बराबरको ८७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । बोर्डबाट स्वीकृत भइसकेकाले पुसभित्रै आईपीओ निष्कासन गरिसक्ने साञ्जेनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए । कम्पनीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ । कम्पनीले रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजना आगामी वर्ष सम्पन्न हुने उनले जानकारी दिए । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी लगानी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।  

सिभिल बैंकले सेयर कर्जा लिन बोलायो, तुरुन्त पाइने

काठमाडौं । सिभिल बैंकले लगानीकर्तालाई सेयर धितो कर्जा लिन बोलाएको छ । सेयर बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो । सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ ।बैंकले सेयरको मूल्याँकन गरेर ५० प्रतिशत मात्र कर्जा दिने भएको छ । कर्जाको ब्याजदर न्युनतम साढे ११ देखि १२ प्रतिशतसम्म हुने बैंकले जनाएको छ । निक्षेपको ब्याज दर बढी रहेको बेला बैंकले आकर्षक ब्याज दरमा सेयर कर्जा निदे भनेका छ । सेयर ब्रोकरलाई सेयर किन्नका लागि मार्जिन ट्रेडिङ लागु हुन लागेका बेला बैंकले सेयर कर्जा योजना ल्याएको हो । चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगको छ । ४ महिनामा मात्रै २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नुवाकोटका भूकम्प पीडितलाई अाएकाे पाँच करोडको राहत सामाग्री कुहियो, ३२ महिनापछि विसर्जन हुँदै

नुवाकोट । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको करिब पाँच करोड रुपैयाँ मूल्य बराबरको राहत सामग्री कुहिएको छ । कुहिएको राहात सामाग्रीको व्यवस्थापन लामो समयपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले व्यवस्थापन गर्न शुरु गरेको छ । पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबारदेखि सुरक्षित व्यवस्थापन शुरु गरेको हो । भण्डारण गरिएको राहत विसं २०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो । तत्कालीन समयमा प्रशासक र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो । भूकम्पपीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । “भूकम्पलगत्तै प्राप्त भएको पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समयसम्म परीक्षण नहँुदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ,” शर्माले भने, “बन्दोबस्तीका सामग्रीसमेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेको पाइएकाले छनोट गर्न शुरु गरिएको छ ।” लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् । भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधिलगायत रहेका छन् । राहत सामग्री छनोटको काम पूरा हुन एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिए । रासस

प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौँ  ।  सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । “मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्ताव गरेका छौँ”, उहाँले भने , “मन्त्रालयको काम हेरेर कुन मन्त्रालयमा कति रहने हो भनेर पछि यकिन हुन्छ ।” प्रदेशमा सरकारले प्रदेश मन्त्रिपरिषद्, प्रदेश आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश गृह मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा समाजिक विकास मन्त्रालयको नाम राखिएको छ । कर्मचारी समायोजन नियमावली नआएकाले मन्त्रालयले अहिले उनीहरुलाई आन्तरिक रुपमा अस्थायी तवरबाट पठाउने उहाँले बताए। प्रदेश मन्त्रिपरिषद्मा सचिवस्तरको विशिष्ट श्रेणीका र प्रदेश मन्त्रालयमा सहसचिवस्तरका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी खटाइने तयारी गरिएको पनि प्रवक्ता न्यौपानले जानकारी दिए। रासस

सन्तपुरको नमुना बस्ती बनाउन २ करोड अपुग

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकार द्धय सिताराम कट्टेल‘ धुर्मुस र कुन्जना घिमिरे‘ सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट बिधिबत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ । बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक सौचलय, भ्यु टावर, प्राईमरी बिद्यालय, बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएपनि त्यो भन्दा कममै बस्ती सम्पन्न गर्ने प्रयास गरिरहेको धुर्मुसले जानकारी दिएका छन् । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् । तर पनि बस्ती निर्माणका लागि फाउण्डेशनलाई २ करोड अपुग छ । सहयोगीहरु बस्तीमै पुगेर सहयोग हस्तान्तरण गरिरहँदा हस्तान्तरण सम्ममा सहयोग संकलन हुने कुरामा उनि आशावादी पनि छन् । बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिरहेका छन् । निर्माणको काम बिहान ६ बजेदेखी सुरु र बेलुकी साँझ सम्म निरन्तर चलिरहन्छ ।

सरकारी ढुकुटीमा देखिएको संकट, व्याजदरमा उच्च वृद्धि र बैंकर्समा देखिएको डर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी ढुकुटी असन्तुलित हुँदै गएको, बैंकहरुले दिनदिनै उच्च दरले व्याज बढाउन थालेको, तरलता संकट आउँदै छ भनेर बैंकर्सहरु डराउँदा बजारमा धेरै आशंका उत्पन्न भएको भन्दै बैकर्सहरुलाई संयमित हुन आग्रह गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकहरुलाई नै वित्तीय साक्षरता आवश्यक देखिएको बताए । ‘एक हप्ताअघि बैंकहरुले १० प्रतिशत व्याजदरको विज्ञापन छापे, ५ दिनअघि साढे १० प्रतिशत व्याजको विज्ञापन छापे, तीन दिन अघि ११ प्रतिशत व्याजदरको विज्ञापन छापे, आज साढे ११ प्रतिशत व्याजदरको विज्ञापन छापियो’ आइतबार साँझ गुडविल फाइनान्स कम्पनीले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले भने–‘यो राम्रो अभ्यास होइन । बैंकको नेतृत्वमा बसेका जिम्मेवार व्यक्तिहरुले पनि बैकिङ नबुझेको जस्तो देखियो । बैंङ्कर्सहरु आफैले मार्केटलाई प्यानिक बनाईरहेका छन् ।’ बैकिङ बजारमा तरलताको समस्या नभएको उनको दावी छ । बैंकिङ क्षेत्रमा अहिले पनि ३२ अर्ब रुपैयाँ अधिक तरलता रहेको उनले भनाई छ । तर सरकारी ढुकुटीमा भने असन्तुलन देखिएको उनले बताए । चालु आर्थिक वर्षमा राजश्व आम्दानीले सरकारी खर्च धान्न नपुगेको भन्दै उनले भने-‘यो राम्रो संकेत होइन ।’ ‘संघीयता कार्यान्वयन गर्नु पर्ने, स्थानीय निकायलाई बजेट निकासा गर्नु पर्ने अवस्थाले राजश्व आम्दानीले सरकारी खर्च धान्न पुगेको छैन’ उनले भने–‘यस्तो संवेदनशील अवस्थामा बैंकका निक्षेपकर्ता, ऋणी सबैलाई ढुक्क हुने वातावरण बनाउनुपर्छ । ठूलै संकट आउन लागे झै दिन दिनै कर्जा र निक्षेपको व्याज बढाउने र सर्वसाधारणमा के के न हुन लागे जस्तो सन्देश प्रवाह गर्ने काम गर्नु भएन ।’ पुस मसन्तमा सरकारी राजश्वमा पैसा धेरै जम्मा हुन जान्छ, एक वर्षअघि उच्च दरमा लिएको निक्षेप फिर्ता हुन सक्छ, त्यसले सीसीडी रेसियो असन्तुलिन हुन सक्छ भन्ने आँकनसहित बैकर्सहरु डराएको उनले बताए । ‘राष्ट्र बैंकले विकल्पहरुको बारेमा सोचिरहेको छ, तपाईहरु डराउनु पर्दैन’ उनले भने । सरकारको खातामा ३४८ अर्ब रुपैयाँ संचित रहेकोले सरकारलाई खर्च गर्न समस्या नभएको पनि उनले बताए । ‘विगत तीन वर्षदेखि सरकारले सबै आम्दानी खर्च गर्न नसकेर संचित हुँदै गएको रकम ३४८ अर्ब रुपैयाँ अझै खर्च भएको छैन । यो रकम खर्च बढ्दै गएको छ । बजारमा तरलता आउँछ’ उनले भने । तरलता अभाव सम्बन्धी डर वित्त कम्पनी तथा विकास बैंकहरु भन्दा केही वाणिज्य बैंकहरुमा धेरै देखिएको उनले बताए । ‘वाणिज्य बैंकहरुको भूमिकाले विकास बैंक र वित्त कम्पनीलाई पनि तर्साउने अवस्था सिर्जना भईराखेको छ’ उनले भने–‘नेपाल बैंकस संघ, विकास बैंकर्स संघ, वित्त कम्पनी संघ लगायतका संस्थाहरुबीच समन्वय गरी स्थायीत्व कायम गर्न सहयोग आवश्यक छ ।’ उनले बैंकहरुलाई रोजगारी सिर्जना गर्ने, उद्यमशिलता विकास गर्ने क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे । उनले १८ प्रतिशत वयस्कले बैकिङ सेवा प्रयोग गर्न नजानेको बताएका छन् । ‘उनीहरुले कुनै पनि प्रकारको वित्तीय संस्था सेवा लिएका छैनन्, उनीहरुको पहँुचमा वित्तीय सेवा पुगेको नै छैन’ डेपुटी गभर्नर श्रेष्ठले भने । ‘आई एम एमबीए एप’ सार्वजनिक गुडविल फाइनान्सले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम सार्वजनिक गरेको छ । झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र पहुँच वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । स्कूल तहदेखि विद्यार्थीलाई ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि आई एम एमबीएको एप र पुस्तक तयार गरी सार्वजनिक गरिएको उनले बताए । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरेका छन् । साथै सामाजिक दाहित्वको रुपमा फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्रमा राखिने मेयर विद्यासुन्दर शाक्यले बताए ।