३ वर्षमा प्रिमियर इन्स्योरेन्सको खुद नाफा ३ गुणा बढेर ५१ करोड पुग्ने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आउँदो ३ वर्षभित्र खुद नाफा ३ गुणा बढाउने भएको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले नाफा बढाएर ५१ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । गत आवमा प्रिमियरको नाफा १८ करोड १५ लाख रुपैयाँ थियो । कम्पनीले सार्वजनिक गरेको ३ वर्षको प्रक्षेपित विवरणअनुसार निर्जीवन बीमा कारोबार विस्तार गरेर नाफामा बढोत्तरी ल्याउने भएको हो । चालु आवमा कम्पनीको नाफा २४ करोड ५७ लाख, ०७५/०७६ मा ३४ करोड १८ लाख रुपैयाँ र ०७६/०७७ मा ५१ करोड ७ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । ३ वर्षमा प्रिमियर इन्स्योरेन्सका आम्दानी पनि ३ गुणा बढेर ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत आवमा कम्पनीले १ अर्ब २७ करोड ३० लाख रुपैयाँ गरेको थियो । प्रक्षेपणअनुसार चालु आवमा १ अर्ब ७६ करोड ६४ लाख, आगामी वर्षमा २ अर्ब ४३ करोड ३१ लाख र ०७६/०७७ मा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । कम्पनीले बीमा शुल्क, पुर्नबीमा कमिसन, लगानी तथा कर्जाको ब्याजबाट आम्दानी गर्नेछ । ३ वर्षमा प्रिमियरको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४४ रुपैयाँ ३५ पैसा पुग्ने छ । सेयर संख्या थप भएपनि नाफा बाँडिन गई ईपीएसमा खासै वृद्धि नुहुने कम्पनीले गरेको प्रक्षेपणले देखाएको छ । गत आवमा कम्पनीको ईपीएस ४० रुपैयाँ ४७ पैसा, चालु आवमा ४२ रुपैयाँ २५ पैसा, आगामी आवमा घटेर ३२ रुपैयाँ ६४ पैसा रहने छ । आउँदो ३ वर्षमा प्रिमियरले दावी भुक्तानी, पुर्नबीमा र व्यवस्थापकीय लगायत शिर्षकमा २ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ खर्च गर्नेछ । गत आवमा कम्पनीले १ अर्ब १९ करोड ८२ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै चालु आवमा कम्पनीले १ अर्ब ३५ करोड २२ लाख, आगामी आवमा १ अर्ब ८५ करोड ७३ लाख रुपैया खर्च गर्ने प्रक्षेपण गरेको छ । ३ वर्षमा कम्पनीको वचत ८२ करोड ३२ लाख रुपैयाँ पुग्ने देखिएको छ । चालु आवमा ४१ करोड ४१ लाख, आगामी आवमा ५७ करोड ५८ लाख रुपैयाँ हुने प्रक्षेपण प्रिमियरको छ ।
दुई कम्पनीको २ करोड ८६ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न दुई कम्पनीको २ करोड ८६ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेले मेगा बैंक नेपाल र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस गरी सो मात्राको सेयर सूचिकृत गराएको हो । बुधबार मेगा बैंकको २ करोड ७९ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सको ६ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
कालीगण्डकी करिडोरको पर्वतखण्डमा दुईवटा पुल निर्माण शुरु
पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो । प्रदेशसभा सदस्य विकास लम्सालले हिजो एकैदिन दुईवटै स्थानमा पुल शिलान्यास गर्नुभयो । उक्त करिडोरको पर्वत र स्याङ्जाखण्डमा चारवटा पुल निर्माण हुँदैछ् । कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुष्माबजार नजिकै मोदीवेणीमा रु नौ करोड १४ लाखको लागतमा पुल निर्माण हुन लागेको हो । साठी मिटर लामो तथा ११ मिटर चौडा हुने पुल २०७५ असारसम्ममा सम्पन्न हुनेगरी निर्माण शुरु गरिए पनि पुलको निर्माणस्थल परिवर्तन गर्नुपरेका कारण थप एक वर्ष ढिला हुन सक्ने आयोजना प्रमुख भण्डारीले बताए । अहिले निर्माण शुरु भएको स्थलभन्दा २०० मिटर तल पुल निर्माण गर्दा मोदीवेणी दिव्यधामका संरचना हटाउनुपर्ने भन्दै विरोध भएपछि स्थान परिवर्तन गरिएको थियो । मोदीखोलामा पक्की पुल निर्माणपछि पर्वतको सदरमुकाम कुष्माबजारदेखि क्षेत्र नं २ का फलेवास नगरपालिका, बिहादी, महाशिला र पैञ्यु गाउँपालिका तथा बागलुङका जैमुनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । यसैगरी लमायखोलामा पनि पाँच करोड १३ लाख दुई हजार रुपैयाँको लागतमा पुल निर्माण हुने उक्त आयोजनाले जनाएको छ । पुल २५ मिटर लामो र ११ मिटर चौडाइको हुने आयोजना प्रमुख भण्डारीले बताउनुभयो । यो पुल पनि २०७६ साल असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाहेक पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको कृष्णगण्डकी गाउँपालिकाको बीचमा पर्ने सेतीवेणी र स्याङ्जाको मिर्मीमा आँधीखोलामा पनि पुल निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । चारवटै पुल निर्माण पछि स्याङ्जाको मिर्मीदेखि पर्वतको मालढुंगासम्मको ५५ किमीमा बाह्रै महिना सावरी साधन चल्नेछ । करिडोरको पर्वतखण्डमा दुई किमीमात्रै मार्ग खोल्न बाँकी छ । प्रदेशसभा सदस्य लम्सालले यस खण्डमा चारवटै पुल निर्माण भएपछि मुस्ताङबाट सोझै गैँडाकोटसम्म सवारीसाधन चल्ने हुँदा पर्वतको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताए । रासस
स्वीडेनको टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड कर तिर्न ठूला करदाता कार्यालयकाे अल्टिमेटम,नतिरे कार्वाही गर्ने
काठमाडौं । सरकारले स्वीडेनको टेलिया सोनेरा कम्पनीलाई पुँजीगत लाभकर तिर्न ताकेता गरेको छ । ठुला करदाता कार्यलयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार रुपैयाँ पुँजीगत लाभकर चुक्ता गर्न सूचना जारी गरेको हो । मेलेसियाको आजियाटा ग्रुप ब्राड मेलेसियालाई ८० प्रतिशत स्वामित्व बिक्री गर्दाको पुँजीगत लाभकर ६० अर्ब ७१ करोड २४ लाख र समयमा कर नतिरेकाले सोमा लागेकाे ब्याज र हर्जना शुल्क थप ५ अर्ब गरी ६५ अर्ब ४० करोड रुपैयाँ तिर्न कार्यालयले टेलियाको नाममा पत्राचार गरेको छ । १५ दिनको सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुल उपर गर्ने चेतावनी कार्यालयले दिएको छ । यसअघि गत जेठ १३ मा कर कार्यालयले टेलियालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो । ०७२ साल चैत्रमा टेलिया सोनेरालाले आजियाटालाई एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गरी नेपालबाट बाहिरिएको थियो । एनसेलको स्वामित्व आजियाटालाई बिक्री गरेपछि ठुला करदाता कार्यलयले टेलियालाई ६० अर्ब ७१ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरी तिर्न ताकेता गरेको थियो । पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि कार्यलयले बुधबार सार्वजनिक सुचना जारी गरी कर तिर्न आउन बोलाएको हो । अघिल्लो साता सर्वोच्च अदालतले एनसेललाई नेपालमा कमाएको लाभांश विदेश लैजान बाटो खुला गरेको थियो । सर्वोच्चले बाटो खुला गरेपछि कार्यलयले कर असुली गर्न ताकेता गरेको हो । टेलियाले लाभकर तिर्नुनपर्ने जिकिर गर्दै अटेर गर्दै आएको छ ।
बजार सामान्य अंकले बढ्दा ६३ करोडको सेयर कारोबार, सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्डको
काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ । मंगलबारको बजारमा कुल ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) बजारमा ४९ करोडको सेयर किनबेच भएको थियो । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याडार्ण्ड चार्टर्ड बैंकको साँढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८० रुपैयाँ रहेको छ । सोमबार पनि यस कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, बैंकिङ १०, अन्य ४ र ट्रेडिङ समूह ०.०८ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१ अंकले राताम्मे भएको छ । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता एभरेष्ट बैंकको प्रमोटर सेयरको मूल्य भने ६.६ प्रतिशतले ओरालो लागेको छ ।
बार्षिक खुदनाफा १९.२३ प्रतिशत बढाउने प्रभु बैंकको लक्ष्य, ३ वर्षमा २ अर्ब ७६ करोड खुदनाफा गर्ने
काठमाडौं । प्रभु बैंकले बार्षिक १९.२३ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको छ । गत आवमा १ अर्ब ७६ करोड नाफा कमाउन सफल बैंकले आगामी ३ बर्षमा नाफा १ अर्ब १ करोड रुपैयाँ बढाएर २ अर्ब ७६ करोड रुपैयाँ पुर्याउने योजना बनाएको हो । बैंकले आगामी ३ बर्षमा खुदनाफा ५७.७१ प्रतिशतले बढाउने योजना मंगलबार हकप्रद सेयर निष्काशनको आव्हानपत्र ३ वर्षको व्यवसायीक योजना सार्वजनिक गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा १ अर्ब ८९ करोड, ०७५/०७६ मा २ अर्ब १० करोड ६८ लाख र ०७६/०७७ मा २ अर्ब ७६ करोड रुपैयाँ खुदनाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाउने लक्ष्य अघि सारेको छ । हाल २९.७८ रुपैंयाँ रहेको प्रतिसेयर आम्दानी रहेको बैंकले आगामी ३ बर्षपछि बढाएर ३३ रुपैयाँ ५२ पैसा पुर्याउने लक्ष्य लिएको छ । चालु आवमा बैंकले २३ रुपैंयाँ, आगामी वर्ष २५.५९ र ३ वर्षमा ३३ रुपैयाँ ५२ पैसा पुर्याउने बैंकको लक्ष्य छ । नाफाको लक्ष्य पुरा गर्न बैंकले ३ वर्षमा बैंकले निक्षेप बढाएर १ खर्ब २५ अर्ब रुपैयाँ र कर्जा लगानी ९५ अर्ब ४९ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । चालु आवमा ९५ अर्ब, आगामी आवमा १ खर्ब १० अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ८ अर्ब २३ करोड पुग्ने छ ।
महिनामा २ पटक मूल्य बढाउँदा पनि निगमको दैनिक घाटा पौने एक करोड
काठमाडौं । नेपला आयल निगमले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित विधिद्धारा निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य बढेको छ । बढेर ती इन्धनको मूल्य क्रमशः १०२, ७९, ७९ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेर रू. १३७५ पुगेको छ । आन्तरीक हवाई इन्धनमा ३ रुपैयाँ बढेर रू. ९० भने, बाह्रय हवाई इन्धनमा हजार लिटरमा ५० डलर बढेर ९ सय डलर पुगेको छ । मुल्य समायोजन गरेपनि निगमलाई दैनिक करिब ८८ लाख रुपैयाँ घाटा भइरहेको जनाएको छ । निगमका प्रवत्ता विरेन्द्र गोइतले बताए अनुसार अहिले निगमलाई मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । त्यसको आधारमा दैनिक निगमलाई ८८ लाख रुपैयाँ घाटा भएको देखिएको हो । “भारतले तय गरेको मूल्य अनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ । यद्यपि केही समयअघिको चाडपर्व, स्थानिय, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लगायतको कारणले बीचमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकिएन,” उनले भने “त्यसको प्रभाव अझैसम्म निगमलाई परेको छ ।” उनका अनुसार स्वचालित विधिबाट पनि निश्चि मापदण्डसम्म मात्र मूल्य बढाउन सकिन्छ । जसकारण घाटै खाएर भएपनि अहिले निगमले मूल्य समायोजन गरिरहेको हो । “अहिले डिजलमा प्रतिलिटर २ रुपैया ७१ पैसा भने, एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २०८ रुपैया २ पैसा घाटा छ,” प्रवक्ता गोइतले भने ।
एनआईसी एसियाको ऋण पत्रमा उच्च ब्याजदरको प्रभाव, २ अर्ब १७ करोडको मात्रै आवेदन
काठमाडौं । एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ मा उच्च ब्याजदरको प्रभाव देखिएको छ । बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपमा उच्च ब्याजदर अफर गरेपछि एनआईसी एसिया बैंकको दीर्घकालिन ऋण पत्रमा लगानीकर्ता अनिच्छुक देखिएका हुन् । बैंकले ९ प्रतिशत ब्याजदरमा ७ बर्षका लागि ३ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । प्रति कित्ता १ हजार दरका ३० लाख कित्त ऋण पत्रका लागि चाँडोमा पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था थियो । तर सो अवधीमा जम्मा २ अर्ब १७ करोड मूल्य बराबरको ऋणपत्रका लागि मात्रै आवेदन परेको छ । ‘चाँडोमा आवेदन गर्न भनिएको मितिमा २ अर्ब १७ करोडको आवेदन परेको छ, अब ढिलोमा आवेदन गर्न सकिने दिनसम्म कुर्नुपर्ने भएको छ’, नविल इन्भेष्टमेन्टका मर्चेण्ट बैंकिङ प्रमुख अनोज थापाले भने । अब बैंकले ढिलो गरि आवेदन दिन सकिने मिति अर्थात पुस २७ गतेसम्म आवेदक पर्खनुपर्ने भएको छ । बाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपामा १३ प्रतिशतसम्म पुर्याएपछि एनआईसी एसियाको ऋणपत्रमा कम आवेदन परेको हो । थप सामाचार एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा
सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश २ करोड ३२ लाख
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ३२ लाख रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको छ । बैंकले माघ १३ गतेको पाँचौं साधारण सभाबाट पारित गरेर लगानीकर्तालाई आफ्नो चुक्ता पुँजीको ४.७८ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड ५३ लाख रहेको छ ।
प्रभु बैंकको २ अर्ब ३५ करोडको हकप्रद माघ ७ गतेदेखि निष्कासन हुने
काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन फागुन १३ गते बन्द हुने बैंकले जनाएको छ । सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।
स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेसँगै लगानीकर्ताले आकर्षण दुई वाणिज्य बैंकमा देखिएको छ । सोमबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । स्ट्याण्डर्डको प्रतिकित्ता १ हजार ३३ रुपैयाँमा २ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सोमबार २८ हजार ७११ कित्ता कारोबार भएको छ । आइतबार स्ट्याण्डर्डको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५० रुपैयाँ कायम भएकोमा सोमबार बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ । एक दिनको अन्तरालमा स्ट्याडर्ड चार्टर्ड बैंकका लगानीकर्ताले प्रतिकित्ता ८३ रुपैयाँ फाइदा गरेका छन् । स्ट्याण्डर्ड चाटर्डको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान लगानीकर्ताकाे छ । राम्रो बैंक र प्रतिफल पनि आर्कषक भएकाले लगानीकर्ताको आकर्षण स्ट्याण्डर्डमा बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौड्याल बताउछन् । गत वर्षको गरेको आम्दानीबाट सेयरधनीलाई सतप्रतिशत बोनस सेयर दिएपछि बिहीबार स्ट्याण्डर्डको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । शत्प्रतिशत बोनस सेयर वितरण गरेर स्ट्याण्डर्डले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै प्रभु बैंकको बुक क्लोजको समय आएकाले सेयर किनबेच बढेको हो । सोमबार प्रभुको प्रतिकित्ता ३२५ मा ८२ हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । प्रभुको २ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । आइतबार प्रभुको प्रतिकित्ता १६० रुपैयाँमा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको थियो ।
काठमाडौंका चर्चित अस्पतालबाट १३ प्रतिशतभन्दा बढी स्वास्थ्य सेवा कर असुली
काठमाडौं । सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा सेवाशुल्क लिँदै आएका छन् । निजीस्तरमा सञ्चालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानूनीरुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो । दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसँग अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो शय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्कजस्ता शीर्षक गैरकानूनीरुपमा १० प्रतिशतभन्दा सेवा शुल्क असुली गरेको पाइएको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यसरी बिरामीसँग अनावश्यकरुपमा बढी रकम असुल गर्ने अस्पताललाई सम्पूर्ण प्रमाणसहित मुद्दा चलाउन आजै महानगरीय प्रहरी परिसर हनुमानढोकामा नामावली पठाइएको जानकारी दिए । “बिरामीले रु एक लाख बराबरको उपचार गराएको छ भने उसले अस्पताललाई अतिरिक्त रु २५ हजार सेवा शुल्क बुझाएको छ, अस्पतालले बिरामीलाई ठग्ने काम गरेका छन्, उनीहरुका विषयमा सम्बन्धित निकायले पनि आवाज उठाउन आवश्यक छ”, महानिर्देशक दाहालले भने। विभागले प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउन बिएण्डबी अस्पताल, न्यूरो अस्पताल बाँसबारी र इशान बाल तथा महिला अस्पताल प्रालि वसुन्धारालाई अनुगमनका क्रममा भेटिएका प्रमाण, बिरामी र अस्पतालको बयानसहितको पत्र प्रहरीकहाँ पठाएको हो । विभागका महानिर्देशक दाहालले भने, “हामी आज तिनै वटा अस्पतालले गैरकानूनीरुपमा बिरामीसँग अतिरिक्त सेवा शुल्क लिइएको पाएपछि कारबाही प्रक्रियाका लागि प्रहरीकामा पठाएका छौँ, स्वास्थ्यमा हामीले कारबाहीका लागि पहिलोपल्ट पठाएका हौँ, अरु अस्पताल पनि छन् ती भोलि पठाउँछौँ ।” सरकारले व्यवस्था गरेको पाँच प्रतिशत स्वास्थ्य सेवा करबाहेक अस्पतालले बिरामीसँग थप १० विभिन्न सेवा शुल्कका नाममा अनावश्यक रकम असुल्ने अस्पतालमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताललगायतको नाम पनि कारबाहीको सूचीमा छ । “धेरै अस्पतालले बिरामीसँग १३ प्रतिशत स्वास्थ्यकर पनि लिएर अरु शीर्षकमा थप रकम पनि उठाएका छन् भने केही अस्पतालले पाँच प्रतिशत स्वास्थ्य कर पनि नलिएको देखिएको छ त्यो थप शंकाको विषय छ ।” प्रदर्शनीमार्गमा रहेको काठमाडौं मोडल अस्पतालले बिरामीसँगै कुनै सेवा शुल्क नलिएको पाइएको छ । सरकारले अनिवार्य गरेको पाँच प्रतिशत स्वास्थ्य कर पनि किन नलिएको भन्ने अर्को अनुसन्धानको विषय भएको विभागको भनाइ छ । विभागले आजै चौधरी गु्रपको लगानी रहेको अरुण इन्टर कन्टिनेन्टल ट्रेडर्सलाई पनि गाडीको बिक्रीमा गैरकानूनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको छ । अरुण इन्टर कन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित नौ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानूनी कर जोडेर रु १५ लाख ३२ हजारसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ । अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर बिक्री गर्न पाइने भए पनि सो कम्पनीले विज्ञापन खर्च, दुई फरक शीर्षकमा पेट्रोल खर्चलगायत लिइएको पाइएको विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त कम्पनीले एक हजार ३०० गाडी बिक्री गर्दा रु ४३ करोडभन्दा बढी लिएको अनुगमनका क्रममा फेला परेको छ । रासस
क्रिकेट हेर्दै ‘आत्म हत्याको कथा’ सुन्छन् सेयर बजारका लगानीकर्ता
काठमाडौं । ‘कोहिले फाइनान्स(सहकारी)को पैसा जग्गामा हाल्ने, जग्गा बेचेर सेयरमा पैसा हाल्ने रहेछन, अनि सेयर बजार ओरालो लागेपछि सेयर बजार जिन्दावाद भनेर धरहराबाट हाम फाल्दा रहेछन्, अहिले पो धरहरा छैन्’, यो कथा सुनाउने पात्र हुन लगानी कर्ता रामप्रसाद अमगाईँ । उनले अर्काे कथा पनि सुनाए–‘भक्तपुरका एक जना पासाले सेयरबाट करोड कमाए, अब अर्ब कमाउँछु भन्दै सेयर धितो राखेर ऋण लिए अनि फेरी सेयर किने । तर बजार ओरालो लागेपछि बैंकले मार्जिन कल गर्यो अनि पुरै सेयर बेचिदियो, अहिले पासा पुर्पुरोमा हात लगाएर बसेका छन् ।’ आइतबार कालिका सेक्युरीटीजमा करिब २० जना लगानी कर्ता देखिन्थे । उनीहरुका आँखा नेप्से इण्डेक्स र नजिकैको टेलिभिजनमा बराबर घुमिरहेको हुन्थ्यो । अर्का एक लगानीकर्ताले सोधे–यहाँ आउने एक जना विद्यार्थी कता हराए ? एक जना लगानीकर्ताले जवाफ फर्काए–विद्यार्थीले २८ सयमा साना किसानको सेयर किनेको रे, घटेर १४ सयमा आएछ, अहिले उमेरमै दारी पालेर हिडेका छन रे । अर्का लगानीकर्ता बोले–सेयर बजार ओरालो लाग्दा देशमा धेरै विद्धान मान्छेहरु बिग्रन्छन । उनको भनाईको आसय थिायो, सेयर बजार घट्दा धेरै मान्छे पागल हुन्छन् । निर्मल प्रधानले सेयर बजारमा गर्ने चलखेलको किस्सा पनि कालिका सेक्युरीटीजमा सुन्न पाइन्थ्यो । प्रधानले एक दिन कसरी बजार घटाएर सेयर किन्थे र अर्काे दिन कसरी मूल्य बढाएर बेच्थे भन्ने कथा सुनाईरहेका थिए । त्यहिबिचमा एक जनाले भने–अधिकांश ब्रोकरहरुमा महिला लगानी कर्ताहरुको संख्या घटेको देखिन्छ । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको क्रिष्टल सेक्युरीटिज पुग्दा पनि एक दर्जन भन्दा बढि लगानी कर्ता नेप्से इण्डेक्स हेरिरहेका थिए । उनीहरुले भने आइतबार सेयर बजार घट्नुमा नेपाल टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई दोष दिए । ‘टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकले गर्दा आज सेयर बजार घट्यो’, क्रिष्टल सेक्युरीटिजमा भेटिएका लगानी कर्ताहरुले भनिरहेका थिए । सेयर बजारका लगानी कर्ताहरुलाई सरकार कहिले बन्छ भन्ने प्रश्नले पनि सताएको देखियो । उनीहरु भन्दै थिए–नयाँ सरकार फागुन दोश्रो साता मात्रै आउँछ रे, त्यतिञ्जेल यस्तै हो ।’ हाँसो र पिँडा मिश्रित हल्लाखल्लाका बिच लगानीकर्ताहरु बजार सुधारिनेमा भने आशावादी नै देखिएका छन् ।
एनसीसी र प्रभु बैंकको प्रमोटर सेयरमा किन तानिए लगानीकर्ता ?
काठमाडौं । आज आइतबार दुई वाणिज्य बैंकको संस्थापक सेयर प्रमोटर) सबै भन्दा बढी कारोबार भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र प्रभु बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो । दुई बैंकको संस्थापक सेयर किनबेचले सेयर कारोबार रकम बढाएका छन् । आइतबार ५८ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनसीसीको संस्थापक सेयर एनबी ग्रुपले बिक्री गरेको अनुमान गरिएको छ । एनसीसीको प्रतिकित्ता २ सय रुपैयाँमा ९ करोड ६९ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभुको प्रतिकित्ता १६० मा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । बजार निरन्तर ओरालो लागेका बेला संस्थापक सेयरको कारोबार बढेको छ । एनसीसीको २५, ३८, ४९ र ५७ नम्बर ब्रोकरबाट कारोबार भएको छ । यस्तै प्रभुको ४९, ५८, १९, २९, ५२ र २९ नम्बर ब्रोकरबाट कारोबार भएको छ ।
औद्योगीक प्रदर्शनीमा फेसन शो, करिब एक लाखले अवलोकन गर्नेे अपेक्षा
काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् । उक्त फेसन शो मलाको प्रदर्शनीस्थलमा नै आयोजना गरिएको हो । सो अवसरमा मेलामा आएका हजारौ आगन्तुकहरुले अभिरुची पुर्वक फेसन शो अवलोकन गरेका छन् । यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यो प्रदर्शनी पौष १३ गते देखि शूरु भएको हो । प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ । हालसम्म प्रदर्शनीमा करिब ४५ हजारले अवलोकन गरिसकेका छन् । प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् । यसै सिलसिलामा मेलामा आज पुर्वमन्त्री तथा सांसद विष्णु पौडेल, पम्फा भुसाल, आनन्द पोखरेल, भानुभक्त ढकाल, एलपी साँवा लिम्बु लगायतको उपस्थीती रहेको थियो । त्यसै गरी काठमाडौ जील्लाका प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्माका साथै नेपाल प्रहरीका पुर्व आईजीपी कुवेर सिंह रानाले समेत मेला अवलोकन गरेका छन् । मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला/पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एक लाख जनाले अवलोकन गर्नेे आयोजकको अपेक्षा रहेको छ । यो मेला पुस १८ गतेसम्म चल्नेछ ।
राष्ट्र बैंकले २ अर्ब ३१ करोड लिन बोलायो
काठमाडौं । बजारमा लगानीयोग्य पुँजीको संकट भइरहेका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुद्धति निक्षेप लिन बोलाएको छ । बैंकले प्रतिस्पर्धाबाट २ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ मुद्दती निक्षेमा राख्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकका लागि १ अर्ब ८५ करोड ४१ लाख, विकास बैंकलाई ३४ करोड ७६ लाख र वित्त कम्पनीलाई ११ करोड ५९ लाख रुपैयाँ बोलकबोलबाट मुद्दती निक्षेमा राख्न लागेको हो । बैंकले आउदो मंगलबार बोलपत्र पेश गर्न भनेको छ । निक्षेप आगामी वर्ष पुस अन्तिमम परिपक्व हुनेछ । सो निक्षेप रकम लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुपर्ने छ । बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका बैंकले मात्र निक्षेप पाउने छन् । यस्तै कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ ।
जलविद्युत कम्पनीको आईपीओ आउदै, संचय कोषले संचयकर्तालाई डीम्याट खाता खोल्न भन्यो
काठमाडौं । कर्मचारी संचय कोषले साधारण सेयर (आईपीओ) भर्न संचयकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । कोषले ऋण लगानी गरेका जलविद्युत आयोजना सम्बद्ध कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्न लागेपछि संचयकर्तालाई डीम्याट खाता खोल्न भनेको हो । कोषले ऋण लगानी गरेको १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन जलविद्युत आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले आइपीओ निष्कासनको तयारी गरेका छन् । यी मध्ये रसुवागढी र सान्जेनको आईपीओ तत्काल आउन लागेको छ । कोषले ऋण लगानी गरेको आयोजनामा संचयकर्तालाई पनि निश्चित प्रतिशत सेयरको व्यवस्था भएकाले डीम्याट खाता खोल्न भनेको हो । पछिल्लो समयमा कोषले जलविद्युतमा लगानी बढाएो छ ।
गोर्खाज फाइनान्सको साधारणसभा पुस २५ मा, लगानीकर्ताको रित्तो हात
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । साधारणसभाको छलफलको विषयमा लगानीकर्तालाई लाभांशको दिने प्रस्ताव उल्लेख गरिएको छैन् । गत वर्ष गरेको नाफाबाट १ प्रतिशत नाफा संस्थाको सामाजिक उतरदाइत्व वहन गर्ने खर्च गर्ने प्रस्ताव बाहेक लाभांशको उल्लेख नभएकाले लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
गभर्नर र अर्थ सचिव भेटेपछि उत्साहित हुँदै फर्किए बैंकर
काठमाडौं । लगानी योग्य पुँजीको चरम अभाव खेपिरहेका बैंकरहरु गभर्नर र अर्थ सचिवलाई भेटेपछि उत्साहित भएका छन् । बिहीबार राष्ट्र बैंकका गभर्नरलाई भेटेका उनीहरुले शुक्रबार अर्थ सचिव शंकर प्रसाद अधिकारीलाई भेटेका हुन् । ‘गभर्नर साव र अर्थ सचिव दुबै जना लगानी योग्य पुँजीको अभाव हटाउन सकारात्मक हुनुहुन्छ, हामी उत्साहित भएर फर्किएका छौं’, नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विकासन्युजसँग भने । लगानी योग्य पुँजीको अभावले सरकारको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यमा समेत प्रभाव पार्ने तथा समग्र मुलुकुको वित्तिय परिसूचक नकारात्मक हुने भन्दै अर्थ सचिव अधिकारीले समस्या समाधानका लागि उचित विकल्प खोज्ने आश्वासन दिएको पनि उनले बताए । ‘यो अर्थतन्त्रको समस्या भनेको राष्ट्रिय समस्या हो, समाधानका लागि हामी सबैले सचेत प्रयत्न गर्नुपर्छ भन्नु भएको छ’, ढुंगानाले भने । हाल बजारमा ३२ अर्बको मात्रै तरलता छ । बाणिज्य बैंकहरुको पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो) ७७ पुगिसकेकाले ८० पुग्ने जोखिम बढेको छ ।बिहिबारको भेटमा गभर्नर डा. नेपालले कर्जा लगानी अनावश्यक रुपमा बढाएकाले लगानी योग्य पुँजीको अभाव देखिएको भन्दै बैंकरहरुलाई सचेत बन्न भनेका थिए । शुक्रबार अर्थ सचिव अधिकारीले भने लगानी योग्य पुँजी अभावको अवस्थालाई निकास दिन सहयोग गर्ने आश्वासन दिएका हुन् । अर्थ सचिव अधिकारीले राष्ट्र बैंक, बैंकर र मन्त्रालयबिच सहकार्य गरेर समस्याको उचित समाधान निकाल्ने आश्वासन दिएपछि बैंकरहरु उत्साहित भएका हुन् । बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर १२.२५ प्रतिशत पुर्याईसकेका छन् । यसले पनि बजारमा लगानी योग्य पुँजी अभाव रहेको स्पष्ट पारिसकेको छ । चालु आवको पहिलो चार महिनामा बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रवाह ह्वात्तै बढाएको देखिन्छ । कात्तिकसम्ममा निक्षेप जम्मा १४.५ प्रतिशतले वृद्धि हुँदा बैंकहरुले कर्जा भने १७.५ प्रतिशतले वृद्धि गरेका थिए । सामान्यतया कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर केहि बढि हुनुपर्ने मान्यता रहिआएको छ ।
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ :राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी िछन। प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवा शीतल निवास जानुभएको थियो । उहाँहरुका बीचमा सो अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश आज नै प्रमाणीकरण गर्नुभएको थियो । सरकारले गत कात्तिकको पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको सो अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रहेको थियो । सो अध्यादेशको अभावमा रााष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । निर्वाचन आयोगलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो परेको थियो । संविधानमा रााष्ट्रियसभा निर्वाचनका लागि स्थानीय निकायअन्तर्गतका नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डलको व्यवस्था रहेको छ । राष्ट्रपति भण्डारीले सो अध्यादेशमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफलसमेत गर्नुभएको थियो । रासस