युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५ करोड ४९ लाख

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो । युनाइटेडको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिन थालेको छ । कम्पनीले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ । यस्तै साढे १० मेगावाटको मोदी आयोजना पनि बनाउदै छ ।

चाँगुनारायणका २३ डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम

काठमाडौं । चाँगुनारायण नगरपालिकाका २३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । इकोको सहयोगमा डीसीए, भिएसओ, एफएससिएन र एनडिआरएसीको आयोजना तथा चाँगुनारायण नगरपालिकाको समन्वयमा तालिम प्रदान गरिएको हो । सहरी बिकास तथा भवन निर्माण बिभागको पाठ्यक्रम अनुसार एक हप्ता तालिम सञ्चालन गरिएको थियो । खरिपाटी स्थीत कृष्ण माध्यमिक विद्यालयमा चाँगुनारायण नगरका सबै वडाका पहिलेदेखि डकर्मी काम गर्ने तर भूकम्प प्रतिरोधी भवन बनाउने तालिम हासिल नगरेका २३ डकर्मी सहभागी थिए । तालिमको समापन समारोहमाबोल्दै तालिममा सहभागी नवराज लामिछानेले भूकम्पले पहिला बनाएको घर भत्किदा आफुले अपराध गरेको महसुस भएको तर अब त्यस्तो गल्ती नदोर्याउने र तालिममा सिकेका कुराहरु पूर्णरुपमा लागु गर्ने बताए । अर्का सहभागी तुलसी माया सुवालले आफुले नजान्दा ठेकेदारले आफ्नै घरमा पनि कमजोरी गरेको तर अहिले तालिम पाएपछी मात्र बुझेको बताउँदै अब घरको काम आफै गर्न सक्ने बताइन् । समापन समारोहमा चांगुनारायण नगर प्रमुख सोम मिश्र, सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय भक्तपुरका प्रमुख मिलन आचार्य लगायतले भूकम्प प्रतिरोधी भवन निर्माणबारे आफ्नो धारणा राखेका थिए । त्यस्तै, एफएससिएनका कार्यकारी अध्यक्ष सूर्यबहादुर थापा , प्रगति परियोजना अर्वान डीआरआर. सल्लाहकार चन्द्रा हाडा र प्रगति परियोजना संयोजक शक्ति गुरुङ र प्रशिक्षक नरेश सिंह धामीले तालिमबाट दक्ष डकर्मी तयार भएको बताएका थिए ।

नेसनल ट्रेडिङको खारेजीले भारतमा रहेको करोडौंको जग्गा गुम्ने

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेसनल ट्रेडिङ लिमिटेड खारेजी हुदै गर्दा भारतको कोलकोतामा उसको नाममा रहेको करोडौं मूल्यको जग्गा गुम्ने भएको छ । भारतमा जग्गा भाडामा लिएवापत नेसनलले मोहियानी हक पाउँछ । कम्पनीनै खारेज भएपछि मोहियानी हकवापत पाउने करोडौ मूल्य पर्ने जग्गा गुमाउने अवस्था आएको आपूर्ति मन्त्रालयले जनाएको छ । कोलकोताको सरकारी अड्डाहरु रहेको सो स्थानमा वि.सं. २०२६ सालमा ट्रेडिङले आफ्नो शाखा खोलेर हालसम्म सोही शाखामार्फत ट्रेडिङले भारतसँगको व्यापारअघि बढाउदै आएको आपूर्ति मन्त्रालयको  उपसचिव लवराज जोशीले बताए । उनका अनुसार जग्गा भोगचलन गरेवापत नेसनलले मोहियानी हक वापत जग्गा पाउने छ । पश्चिम बंगालको कानुन अनुसार कुनै पनि एकै स्वामित्वको व्यक्ति वा सस्था एकै स्थानमा १० बर्षभन्दाबढी बसे मोहियानी हक लाग्छ । जसअनुसार ट्रेडिङले पनि जग्गावालाबाट निश्चित जमिन पाउने उनको भनाइ छ । ‘१० वर्षभन्दा बढी एकै ठाँउमा एकै स्वामित्वको कम्पनी हालसम्म रहेको हुनाले मोहियानी हक अन्तर्गत ट्रेडिङको जग्गा कोलकोता रहेको स्थानमा कम्पनीले जमिन पाउने भएको हो,’ उनले भने ‘जसमा सामान्य (१२/१२ को) आठदेखि १० कोठा हुने गरिको जमिन पाउने देखिएको छ ।’ जमिनको मूल्य करौडौं रुपैयाँ पर्छ । सामान्यतया त्यहाँ जग्गा खरिद गर्नै नसकिने उनको बुझाइ छ । उनका अनुसार पछिल्लो समय त्यहाँ ट्रेडिङ रहेको पुरानो घरलाई भत्काएर जग्गाधनीले सिटी सेन्टर बनाउने योजना अघि सारेको छ । ‘यदि सिटी सेन्टर बनाए पनि ट्रेडिङले मोहियानी  हक अनुसारको १००० स्क्वायर बराबरको जमिन पाउने भएको छ,’ उनले थपे ‘जसमा उल्लेखित करिब १० कोठा निस्कनेछ ।’ ट्रेडिङ खारेज भएपछि सो जग्गा नेपाल सरकारको स्वामित्वमा आउछ आउदैन त्यो भन्न नसकिने उनको भनाइ छ । सम्झौता अनुसार स्वामित्व (मोही) परिवर्तन भएको खण्डमा मोहियानी हक नपाउने कानुन रहेको उनले बताए । त्यस्तै आपूर्ति मन्त्रालयका प्रवत्ता मुकुन्दप्रसाद पौड्यालले अहिले कलकत्तामा एक तलाको फ्लाट भएको ट्रेडिङको विल्डीङ रहेको बताए । ‘कोलकोता स्थित नेपालको महावाणिज्य दुतावसा नजिकै छ,’ उनले भने ‘अब ट्रेडिङ नै खारेजी हुने भएपछि उक्त जग्गा सम्बन्धमा अन्योले देखिएको छ ।’ मन्त्रालयका अनुसार उक्त जग्गा कोलकोताको केन्द्र भएको तथा नजिकै भारतीय सरकारी अड्डाहरु, समुद्रीक बन्दरगाहा लगायत रहेको कारणले पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण छ । सरकारले व्यापार गर्नका लागि वि.सं. २०१८ सालमा नेसनलको स्थापना गरेको हो । कम्पनी स्थापना गर्न चीनको सहयोग थियो । ट्रेडिङले चामल, चिनी, मल, कृषि उपकरण, विद्युतिय यन्त्र, सिमेन्ट, छड, मदिरा र ड्युटी फ्रिका वस्तुको खरिद बिक्री गर्दै आएको थियो । सोही क्रममा कम्पनीले पाँच दशकअघि भारत र नेपालको व्यापारलाई सहज बनाउन भारत स्थित कोलकोताको हारबोर्ड रोडमा आफ्नो शाखा स्थापना गरेको थियो ।  

जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का, एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० कि २१० रुपैयाँ ?

काठमाडौं । एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ (एनबी समूह)लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम तोकेरे सोही बैंकको संस्थापक सेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीले लिलामीको सूचना प्रकाशित गरेपछि श्रेष्ठ दाजुभाईलाई २८ करोड घाटाको जोखिम देखिएको छ । एनबी समूहले एनसीसी बैंकको संस्थापक सेयर प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य राखेर ७० लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । एनबी समूहका लक्ष्मी, जेन र जीतबहादुर श्रेष्ठ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ मूल्य पाउने सम्भावनालाई कमजोर बनाएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटललिनले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो ।  एउटै कम्पनीकाे संस्थापक सेयर मूल्य देखिएकाे यति ठूलाे अन्तर संयाेग मात्र हाे वा कपाेर्रेट वार हाे ? भविष्यमा खुल्दै जाने छ ।

स्थानीय तहमा ३ हजार कर्मचारी अपुग

काठमाडौ । स्थानीय तहमा अझै करिब ३ हजार कर्मचारीको अभाव भएको छ । ७५३ स्थानीय तहका लागि सहसचिव, उपसचिव शाखा अधिकृत र सुब्बासहित करिब ३ हजार कर्मचारी अभाव भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाले जानकारी दिए । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृततर्फ १४४ जना र वडाका सचिवतर्फ १ हजार ५८ पद रिक्त रहेका छन् । अहिले ती ठाउँमा निमित्तले काम गरिरहेको उनले बताए । सबै स्थानीय तहमा करिब ६ हजार १०० वडा कार्यालय रहेका छन् । पहिलेका कार्यकारी प्रमुखलाई अहिले प्रमुख प्रशासकीय अधिकृत भनिन थालेको हो । उहाँका अनुसार विराटनगर र वीरगञ्जमा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै नभएको बताए । त्यहाँ सहसचिवको दरबन्दी भए पनि उपसचिवले काम चलाइरहेका छन् । यसैगरी १३ वटा उपमहानगरमा भने प्रमुख प्रशासकीय अधिकृत पुगेका छन् । यस्तै २७६ नगरपालिकामध्ये २१ वटामा प्रमुख प्रशासकीय अधिकृत रहेका छैनन् भने ६९ मा शाखा अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सञ्चालन गरेका छन् । नगरपालिकामा उपसचिव रहने व्यवस्था गरिएको छ । यस्तै ४६० गाउँपालिकामध्ये ५२ स्थानमा प्रमुख प्रशासकीय रिक्त रहेका छन् । गाउँपालिकामा भने शाखा अधिकृत रहने व्यवस्था गरिएको छ । कर्मचारी अभाव भएपछि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग हजार १४६ कर्मचारीमा माग गरेको उनले जानकारी दिए । करिब २ महिनाअघि कर्मचारी अपुग भएपछि सुब्बा र खरदार माग गरिएको छ । तर अहिलेसम्म सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाएको उनले बताए । स्थानीय तह शासन आदेश २०७४ ले नयाँ गाउँपालिका र नगरपालिकामा नौ जना कर्मचारी र वडामा तीन जनाका दरले कर्मचारी व्यवस्था गरिएको छ । रासस

आइएमई लाइफ इन्स्योरेन्सको अभिमूखीकरण तालिम सम्पन्न

चितवन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा शाखा तथा अभिर्कताहरुको लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यही माघ १५ देखी १७ गतेसम्म आयोजित उक्त कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वरकुमार कार्कीले उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गरेका छन् । साथै उक्त कार्यक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ती गर्न एक्यवद्धता समेत जनाएका छन् । कार्यक्रममा अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।

नेपाल बैंकको ६ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, ४ करोड २७ लाखको सेयर कारोबार

काठमाडौं । सेयर बजार ७ अंकले बढ्दा लगानीकर्ता नेपाल बैंकमा झम्मिएका छन् । बिहीबार मात्रै  यस बैंकको ४ करोड २७ लाख ८० हजार रूपैयाँ सेयर कारोबार भएको छ । जुन रकम उक्त दिनको कारोबारका हिसावले सबैभन्दा बढी हाे । चालु आर्थिक वर्षको ६ महिनामा राम्रो नाफा गरेपछि लगानीकर्ताको आकर्षण नेपाल बैंकमा परेको हो । चालु आवको पुससम्म बैंकले १ अर्ब ६७ करोड रुपैयाँ खुदनाफा गरेको छ । नाफाको हिसावमा नेपाल बैंक चाथौ स्थानमा छ । बिहीबार नेपाल बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६५ रुपैयाँमा कारोबार भएको छ । साे दिन बैंकको १ लाख १७ हजार ३३८ कित्ता सेयर किनबेच भएको छ । बैंकको सेयर सस्तो हुनुका साथै राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताको आर्कषण बढेको एक ब्रोकरले बताए । “नाफा बाहेक बैंकको सेयर कारोबार बढ्नु अन्य कुनै कारण देखिएको छैन” उनले भने । एक महिनाको सेयर कारोबार हेर्दा नेपाल बैंकको सेयर मूल्य बढ्दै गएकाे देखिन्छ । यस्तै लक्ष्मी बैंकको पनि प्रतिकित्ता २७९ मा ३ करोड ३४ लाख २२ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । यस्तै तेस्रो स्थानमा सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेड छ । सानिमाको प्रतिकित्ता ३१९ रुपैयाँमा २ करोड ८५ लाख ६८ रुपैयाँको सेयर किनबेच भएको छ । सानिमाईको सेयर मूल्य घटेका छ । संस्थापक सेयर सबै साधारण भएपछि एक महिनादेखि सानिमामाईको बढी सेयर कारोबार भएको छ । समग्रमा बिहीबारको बजार ७ दशमलब ०३ अंकले बढेर १४११ .५२ अंकमा पुगेको छ । सो दिनको बजारमा कुल १५७ कम्पनीका ४१ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, साेही दिन जलविद्युत बाहेक बैंक, वित्त, होटल, बीमा, लघुवित्त र उत्पादन सबै समूहको परिसूचक उकालाे लागेका छन् । सबैभन्दा बढी बीमा समूहकाे सूचक १६ अंकले उकालाे लागेका छ भने जलविद्युत समूह १.४९ अंकले घटेको छ ।

नाडेप लघुवित्तले ४ करोड ८० लाखको आइपीओ जारी गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँका दरले ४ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले गर्ने छ । यस संस्थाले चुक्ता पुँजी वृद्धि गर्ने क्रममा सो मात्राको साधारण सेयर जारी गर्न लागेको हो ।

कुवेर मर्चेन्टको नाफा २ करोड ८२ लाख, इपीएस ३७.७१ रुपैयाँ

काठमाडौं । समस्याग्रस्त अवस्थाबाट हालै मुक्त भएको कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । फाइनान्सले गत पुससम्म २ करोड ८२ लाख रुपैयाँ खुदनाफा गरेको छ । चाल आवको दोस्रो त्रैमासिक अवधिमा १ करोड ४१ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको फाइनान्सले ४ करोड खराब कर्जा असुलीबाट नाफा गरेको हो । फाइनान्सको चुक्तापुँजी २८ करोड २ लाख रुपैयाँ छ । फाइनान्स २२ करोड ४६ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ । नेपाल राष्ट्र बैंकले कुबेर मर्चेन्टलाई मंसिर २४ गतेदेखि समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको हो । हाल फाइनान्सले निक्षेप फिर्ता भुक्तानी तथा पुरानो कर्जा असुलीलाई जोड दिएको छ । व्यवसाय वृद्धिको काम नभएको र आगामी त्रैमाशबाट सुरु गर्ने फाइनान्सले जनाएको छ । हाल निक्षेप संकलन तथा कर्जा प्रबाहको काम बन्द रहेको फाइनान्सले जनाएको छ । फाइनान्सको निष्कृय कर्जा शतप्रतिशत छ । प्रतिसेयर नेटवर्थ घटेर ३७ रुपैयाँमा झरेको छ ।

राष्ट्र बैंकले १० अर्ब पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड मात्र लिए, अन्तर बैंक ब्याजदर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बजारमा पठाउदा ३ वटा बैंकले १ अर्ब ६० करोड रुपैयाँ मात्र लिएका छन् । केन्द्रीय बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा अधिकाँश बैंकले पैसा लिएनन् । बुधबारसम्म बैंकिङ प्रणालीमा १९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ पठाएको हो । यता अन्तर बैंक ब्याजदर घटेर ४.८ प्रतिशतमा झरेको छ । अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाएर नियन्त्रण गर्दै आएको छ । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ८ पटक रिपो गरी बजारमा ५४ अर्ब रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मात्र सहज अवस्थामा छ । राष्ट्रिय वाणिज्यको कर्जा, निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ६९.१२ प्रतिशत छ । सीसीडीअनुसार राष्ट्रिय वाणिज्यसंग अधिक लगानीयोग्य पुँजी रहेको छ ।

कृषि तथा पशुपंक्षी कर्जा महंगियो, बैंकले आधार दरका आधारमा ब्याज लिन पाउने

काठमाडौं । व्यसायिक कृषि तथा पशुपंक्षी कर्जा अब महंगो हुने भएको छ । अधिकाँश बैंकको आधार ब्याजदर महंगो भएपछि यसको असर कृषि तथा पशुपंक्षी कर्जाको ब्याजदर महंगिएको हो । सरकारले यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिदै आएको छ । यस्तो कर्जामा बैंकले आधार दरका आधार ब्याज तोक्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरी आधार दरका आधारमा कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपछि महंगो हुने भएको हो । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी छ । ब्याजदरको सीमा खुला गरेपछि आधार दरका आधारमा बैंकले यस क्षेत्रमा कर्जा प्रवाह गर्न सक्ने छन् ।    

नेप्से सामान्य अंकले उकालो लाग्दा ३१ करोडको कारोबार, सबैभन्दा बढी बुटवल पावरको

काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सो दिनको परिसूचक नेप्से परिसूचक २.२६ अंकले बढेर १४०४.४९ अंकमा पुगेको छ । सामान्य वृद्धि भएको बजारमा ३१ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कुल १५६ कम्पनीको ७ लाख ४९ हजार कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमका आधारमा बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर किनबेच भएका छन् । सो दिन यस कम्पनीको २ करोड ४२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस कम्पनीले गत माङ १५ गतेदेखि प्रतिकित्ता ५०१ रुपैयाँका दरले एफपीओ जारी गरिरहेको छ । सोही कारणले कम्पनीको सेयर कारोबार वृद्धि भएको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ रहेको छ । बजारमा विकास बैंक, अन्य र उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक ३५ अंकले उकालो लागेको छ ।

१४ वर्षसम्म चर्चा र विवादसँगै अनिल शाहकाे वहिर्गमन, अवसरकाे खाेजी गर्ने बैंकर्सकाे सूचि लामाे

काठमाडौं । बुधबार दुर्इ वाणिज्य बैंकले एउटै सूचना प्रकाशित गरे । नबिल बैंक र सेञ्चुरी कमशिर्यल बैंकले चर्चित बैंकर्स अनिल केशरी शाहलार्इ प्रमुख कार्यकारी पदबाट हटाएकाे निर्णय गरे, भलै भाषा फरक र सभ्य थियाे । दुबै बैंककाे सूचना जस्ताकाे तस्तै फाेटाेकाे रूपमा देख्न सकिन्छ । नेपालको बैंकिङ क्षेत्रमा सुपरिचित नाम हो अनिलकेशरी शाह । लामा जुँगा, लोभ लाग्दो व्यक्तित्व, सन्तुलित प्रस्तुति, उच्चस्तरकाे पारिवारिक पृष्ठभूमिका कारण शाहको छुट्टै छवि स्थापित छ । ८ वर्षअघि नविल बैंकको प्रमुख कार्यकारी अधिकृत पद छाडेर उनले मेगा बैंक खोल्ने कामको अगुवाई गरेका थिए । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने स्लोगनसहित आएको मेगा बैंकले शाहकै नेतृत्वमा आफ्ना समकक्षी बैंकहरुलाई उछिन्न सफल भएको छ । तर दुई कार्यकालको बाध्यकारी व्यवस्थाका कारण शाहले मेगा छाड्नु पर्यो । कात्तिक १६ गते सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समिति बैठकले पुस १७ गतेदेखि लागु हुने गरि शाहलाई सिइओ नियुक्त गर्यो । तर पुस १३ गते नै अनिलले सेञ्चुरी छाडेर नविल बैंक जाने निधो गरे र नविलले उनलाई ४ वर्षका लागि सिइओ नियुक्त गरिदियो । सेञ्चुरीमा जाने निधो गरेर सञ्चालक समितिबाटै निर्णय गराईसकेका शाह एकाएक नविल जाने निर्णयले वित्तीय क्षेत्र तरङगीत भयो । नेपाल राष्ट्र बैंकले तत्काल नै ‘कुलिङ पिरियड’ लगाएर शाहलाई नविल जानबाट रोक्यो । कुलिङ पिरियडबारे केन्द्रिय बैंकले निरन्तर छलफल गर्दै आएको थियो । तर शाहले थोरै तलबलाई कारण देखाएर सेञ्चुरी बैंकलाई धोका दिएपछि राष्ट्र बैंकले सोही दिन कुलिङ पिरियड लागू गरेको हो । कुलिङ पिरियडको बाध्यकारी नियमका कारण नविल बैंकको पुस १५ गते बसेको सञ्चालक समिति बैठकलाई शाहलाई सिइओ बनाउने पूर्व निर्णय खारेज गर्न बाध्य भयो । बैंकले तीन महिना भन्दा बढि अवधिसम्म सिइओ खाली राख्न नपाउने अनि ६ महिना अघि शाहले सिइओ बन्न नपाउने भएपछि नविलले पूर्व निर्णय खारेज गरेको हो । अब चार वर्षका लागि शाहको नविल यात्रा समाप्त भएको छ । नबिलमा मात्रै होइन, अब अनिल केशरी शाह कुन बैंकमा जालान् ? धेरैकाे मनमा खुल्दुली चलेकाे छ । नविलमै ६ वर्ष सिइओ भएर मेगा गएका उनले त्यहाँ २ कार्यकाल अर्थात ८ वर्ष बिताए । शाहले २ वटा बाणिज्य बैंकमा १४ वर्ष सिइओ भएर काम गरिसकेका छन् । तर अब चाँही उनी के गर्छन् ? हामीले सम्पर्कको प्रयास गर्दा उनले फोन रिसिभ गरेनन् । वित्तीय क्षेत्रमा शाहले धेरै विम्ब पाएका छन् । उनलाई महंगा सिइओ, ग्ल्यामर र विषम परिस्थितिमा पनि सकारात्मक सोँच भएका बैंकरका रुपमा हेरिन्छ । संस्था परिवर्तन गर्दा टिमलार्इ सँगै लैजाने, ठूला ग्राहकलार्इ पनि सँगै लैजाने गरेकाे अाराेप पनि उनीमाथि लागेकाे छ । शाहकै कार्यशैलीका कारण अन्त कही नभएकाे तर बैंकका सिइओहरुका लागि कुलिङ पिरियडकाे कसिलाे नीति अाएकाे बैंकर्सहरू बताउँछन् । शाह कै कारण संस्था परिवर्तन गर्दा सीर्इअाेहरू ६ महिना बेराेजगार बस्नु परेकाे छ । शाहले नविल बैंक छाेड्नु पूर्व मेघा बैंकमा नियुक्ती पत्र लिएका थिए । मेगामा कार्यकाल सकिनु भन्दा अघि नै सेन्चुरी बैंकमा नियुक्तिपत्र लिएका थिए । सेन्चुरीमा हाजिर हुनुपूर्व नै नबिल बैंकमा नियुक्ती पत्र लिएर वित्तीय क्षेत्रलार्इ छक्क पारेका थिए । शाहकै कारण तलब सविधामा सीमा अनिल केशरी शाह बैंकिङ्ग क्षेत्रकाे ग्ल्यामर मात्र मात्र भएनन्, उनकै कारण बैंकिङ्ग क्षेत्रमा केही नयाँ नियम थपिए । शाहका कारण तत्कालिन गभर्नर डा. युवराज खतिवडाकाे पालामा राष्ट्र बैंकले सिइओहरुको तलब सुबिधा सम्बन्धी मार्गदर्शन  जारी गरेकाे  चर्चा पनि बैंकरहरुबीच हुने गरेको छ । उनले एउटा सार्वजनिक कार्यक्रममा जाँदा चढेको गाडी र देखाएको रवाफका कारण डा. खतिवडाले तलबमान तोकेको बताइन्छ । त्यतिबेला उनले चढ्ने गाडीदेखि उनले लगाउने घढीकाे मूल्यकाे बारेमा बजारमा खुबै चर्चा भयाे । नबिल बैंकमा हुँदा हाेस् वा मेघा बैंकमा जहाँ हुँदा पनि उनी सबैभन्दा महँगाे सीइअाेकाे रूपमा ख्याती पाए । उनले मेघा बैंकमा मासिक १७ लाख रूपैयाँ तलब भत्ता बुझ्ने गरेका थिए । मेघामा शाहकाे रवाफले निम्त्याएकाे तलब सुबिधा सम्बन्धी मार्गदर्शनले सबैभन्दा पहिला उनलार्इ नै समात्याे सेन्चुरी बैंकमा नियुक्ती पाएपछि । बैंकले मासिक १२ लाख रूपैयाँ दिनेगरी नियुक्ती गरेकाे थियाे । तलब सुबिधा सम्बन्धी मार्गदर्शनका अाधारमा शाहले ९ लाख भन्दा कममा सम्झाैता गर्नु पर्ने भएपछि उनी सेन्चुरी छाेड्ने निर्णयमा पुगेका थिए । अबकाे बाटाे धेरै चर्चा र केही विवादस्पद भए पनि अनिल शाहकाे व्यस्थापकिय क्षमता र काैसलतामा प्रश्न उठेकाे छैन । उनले कुनै पनि संस्था विगारेका छैनन्, बरू सपारेकै छन् । उनकै नेतृत्वमा नविल सबैभन्दा बढी नाफा गर्ने बैंकमा उक्लिएकाे थयाे । मेघा पनि समकालिन बैंकहरूमा अगाडि नै रह्याे । उनले मेगा बैंकलार्इ पाँच तारे बैंक बनाउँछु भने तर पाँच तारेकाे अनुभव दिलाउन चाही असफल भए। ८ वर्ष नेतृत्व गरेर उनले मेघा बैंकलार्इ अरू भन्दा धेरै फरक बनाउन सकेनन् । १४ वर्षसम्म वाणिज्य बैंककाे सीर्इअाे भएका शाह अब बैंकिङ्ग क्षेत्रबाट बाहिरीने हुन् वा अर्काे कुनै बैंकमा अाउने हुन्, भविष्यकाे गर्भमा छ । तर तत्काल उनी कुनै पनि बैंक नियुक्ती हुने सम्भावना कम देखिन्छ । एकातिर बैंकभित्र बाटै दाेस्राे तहमा रहेका व्याक्तिहरूले सीर्इअाे बन्ने माैका पाएका छन् भने राम्राे क्षमता प्रदर्शन गरेका पुराना सीर्इअाेहरू कृष्णप्रसाद शर्मा, किशाेर महर्जन, अनिल ज्ञवाली, अनल भट्टरार्इ उचित अबसरकाे खाेजीमा रहेकाे बेला शाह नयाँ पात्र थपिएका छन् । एकातिर नयाँ बैंककाे लागि लाइसेन्स बन्द छ भने अर्काेतिर मर्जरले पुराना बैंकहरूकाे संख्या पनि ३२ बाट २८मा झरिसकेकाे छ । नेपाल राष्ट्र बैंक याे संख्यालार्इ कसरी १५ भन्दा कम बनाउने भनेर साेचिरहेकाे छ । यस्ताे अवस्थामा सीर्इअाेकाे अवसर पाउन मिहेनतले मात्र हाेइन, भाग्यमा पनि भराेसा गर्नुपर्ने भएकाे छ ।

मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना

काठमाडौं । मर्चेण्ट बैंकर्स एसोसियसनको अध्यक्षमा ध्रुव तिमिल्सिना चयन भएका छन् । उनलाई बुधबार बसेको एसोसियसनको कार्य समिति बैठकले अध्यक्ष चयन गरेको हो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रहेका तिमिल्सिनाले नियामक निकायसँगको समन्वयमा नेपालको मर्चेण्ट बैंकिङलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘नियामक निकायसँगको समन्वयमा अनुशासनको दायरा भित्र रहेर नेपालको मर्चेण्ट बैंकिङ क्षेत्रलाई अन्तराष्ट्रियस्तरको बनाउन मेरो भूमिका केद्रित हुनेछ’, नव नियुक्त अध्यक्ष तिमिल्सिनाले भने । एसोसियनका अध्यक्ष प्रविण रमण पराजुलीले मर्चेण्ट बैंकिङ क्षेत्र छाडेर रिलायन्स इन्स्योरेन्सको सिइओ बन्न गएपछि अध्यक्ष पद खाली थियो । सोही पदमा कार्य समितिको बैठकले तिमिल्सिनालाई चयन गरेको हो ।

बीमा समितिको कर्मचारी विनियमावली अर्थ मन्त्रालयमा, कति बढ्ला तलब ?

काठमाडौं । नियामक बीमा समितिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ । समितिले कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०६८ संसोधनको प्रस्ताव अर्थमा पठाएको हो । ‘कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ, नयाँ सरकार आएसँगै स्वीकृत भएर कार्यान्वयनमा आउँछ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने । बीमा समितिका कर्मचारीहरुको सेवा सुबिधा तथा कार्य क्षमता अभिवृद्धिका लागि महत्वपुर्ण योगदान पुग्ने गरी तयार पारिएको संसोधित विनियमावलीले कर्मचारीको मनोबल बढाउने अध्यक्ष चापागाइँले बताए । ‘तलब मान त लोकसेवाको गाइडलाइन अनुसार नै छ, तर पनि संसोधित विनियमावलीले कर्मचारीको मनोबल र कार्य क्षमता बढाउन सहयोग गर्छ’, अध्यक्ष चापागार्इँले भने । पछिल्लो समय बीमा समितिमा कर्मचारीको आकर्षण घट्न थालेको आरोप लागिरहेको छ । एक बर्षको अन्तरालमा करिब आधा दर्जन उच्च तहका कर्मचारीले बीमा समितिका जागिर छाडेर निजी कम्पनी रोजेका छन् । कात्तिक महिनामा उप निर्देशकको जागिर छाडेर राजकुमार अर्यालले सनलाईफ इन्स्योरेन्स कम्पनीको सिइओ रोजे । त्यस्तै, साउनमा चाटर्ड एकाउण्टेन्ट सन्तोष प्रसाईँ पनि नेपाल लाइफको डेपुटी सिइओ बन्न गए । अर्का चाटर्ड एकाउण्टेन्ट लक्ष्मण ज्ञवालीले पनि बीमा समितिको जागिर छाडेर प्राइम लाइफमा चिफ अपरेशन अफिसर रोजे । जेठमा कानुन अधिकृत बिनोद भट्टले पनि नेपाल लाइफको कानुन अधिकृत पदलाई रोजेर बीमा समिति छाडेका थिए । अधिकृत स्तरका केहि कर्मचारीले समितिको जागिर छाडेर निजी कम्पनी जाने तयारी गरेको चर्चा समितिमा चलिरहेको छ । समितिले भर्खरै आव्हान गरेको नयाँ कर्मचारी भर्ना प्रक्रियामा पनि उत्साहजनक आवेदन नपरेको बताइन्छ । हाल करिब ४० वटा भन्दा बढि संस्थाहरुको नियमन गर्न समितिमा ६५ जना कर्मचारी छन् । ती संस्थाहरुको १३ सयका हाराहारीमा शाखा सञ्जाल रहेको छ । कर्मचारी सेवा शर्त विनियमावलीले तलब भत्ताका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्ने आशमा समितिका कर्मचारी छन् ।

लगानीकर्तालाई प्रतिफल दिन नेसनल हाइड्रोपावरले २७ मेगावाटका दुई आयोजना बनाउदै

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लगानीकर्ताको सुरक्षा र प्रतिफल दिनका लागि १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको माद्मेखोला जलविद्युत आयोजना बनाउन लागेको हो । नयाँ आयोजना बनाएर लगानीकर्तालाई प्रतिफल दिनका लागि काम सुरु भएको नेसनलका अध्यक्ष कुमार पाण्डेले बताए । हाल सञ्चालनमा रहेको नेसनलबाट लगानीकर्ताले प्रतिफल पाउने संभावना नभएका कारण नयाँ आयोजना निर्माण गर्न लागेको पाण्डेको भनाई छ । इर्खुवाको बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग मस्र्यौदा विद्युत खदिबिक्री सम्झौता (पीपीए) भएको उनले जानकारी दिए । औपचारिक रुपमा पीपीएमा हस्ताक्षर भएपछि आयोजनाको काम सुरु हुने उनले जानकारी दिए । आयोजना निर्माण गर्नका लागि लोअर इर्खुवा हाइड्रोपावर कम्पनी गठन भइसकेको छ । आयोजना भोजपुर जिल्लामा पर्छ । आयोजनामा नेसनलको ६७ प्रतिशत र बाँकी अन्य लगानीकर्ताको स्वामित्व हुने उनले बताए । आयोजनामा लगानी जुटाउन विभिन्न बैंकसंग छलफल भइरहेको उनले सुनाए । पीपीए भएपछि आयोजनाका लागि लगानी जुट्ने उनको भनाई छ । आयोजना आर्थिक रुपमा आकर्षक देखिएको अध्ययनले देखाएको छ । यस्तै कम्पनीले कास्कीमा ररहेको माथिल्लो माद्मेखोला आयोजनाको संभाव्यता अध्ययन गर्न विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । नेसनलले आयोजनाको अध्ययन सुरु गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो । १० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको हो । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।

पुरानो कर दायित्व ४ करोड तिर्दा नेसनल हाइड्रोपावर नोक्सानमा

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड नोक्सानमा गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो । १० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको अध्यक्ष कुमार पाण्डेले बताए । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।

गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख

काठमाडौं गुडविल फाइनान्सको नाफा ३ करोड ८ लाख पुगेको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा आफ्नो नाफा ११ लाखले बढाएको हो । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ९७ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैंयाँ रहेको छ । गुडविलले ४ अर्ब ७९ करोड निक्षेप संकलन गरेर ४ अर्ब ७ करोड कर्जा लगानी गरेको छ । कम्पनीले ब्याज आम्दानी २८ करोड गरेको छ भने ब्याज खर्च २२ करोड रहेको छ । कम्पनीले २.२१ प्रतिशत खराब कर्जा रहेको कम्पनीले २४ लाख प्रोभिजन गरेको छ । कम्पनीको सिडी रेसियो ७२.७८ प्रतिशत रहेको छ । ७.७२ रुपैँया प्रति सेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ११८.५९ रुपैंयाँ रहेको छ ।

एनबीआइले ‘हुम्यान क्यापिटल कन्फिरेन्स’ आयोजना गर्ने, सबै कर्मचारीलाई उपयुक्त हुने

काठमाडौं । नेशनल बैंकिंग इन्सटिच्यूट(एनबीआई)ले आगामी माघ २३ गते काठमाडौँमा “हुम्यान क्यापिटल कन्फिरेन्स” आयोजना गर्ने भएको छ । अहिलेको बदलिँदो परिस्थितिमा मानव स्रोतलाई महत्वपूर्ण संसाधनको रुपमा रुपान्तरित गरी उत्पादत्वमा वृद्धि गर्ने उद्देश्य सहित एनबीआईले यस कन्फिरेन्सको आयोजना गर्न लागेको हो । हुम्यान क्यापिटल एउटा सबल संस्थाको लागि महत्वपूर्ण हुनुका साथै बहुआयामी, रणनितिक एवं दुरगामी प्रभाव पार्ने पक्ष हो । संस्थाले अगिंकार गर्ने संस्कृतिको पहिचान गर्ने प्रवर्दन, बिकास गर्नु मानव संसाधन व्यवस्थापनको चुनौति हुँदै गएको छ । त्यसैगरी नै सिकाई र क्षमता वृद्धिमा प्रविधिले क्रान्ति ल्याएको छ, जसलाई समय सापेक्ष कार्यान्वयन गर्न महत्वपूर्ण देखिएको छ । यस सम्मेलनमा मानव संसाधन विकास सम्बन्धि विभिन्न अन्तराष्ट्रिय जगतमा ख्याति प्राप्त वक्ता र विज्ञहरुद्धारा सम्बोधन हुनेछ । यी विज्ञहरुमध्ये आईडीएफसी बैंक कि सिनियर एक्स्कियूटीभ भाइस प्रिसिडेन्ट एचआर हार्लिना सोधी, पार्टनर एण्ड हेड केपीएमजी एकेडेमीका निश्चय सुरी र हेड अफ ट्रेनिङ एण्ड डेभलपमेन्ट साउथ एसिया, जोनसोन एण्ड जोनसोन भिजन केएर, इन्कका सदन के भट्टचार्य रहने छन् । यस सम्मेलन सबै संघ संस्थाका कर्मचारीहरुलाई उपयुक्त हुने छ ।

२८ वटा बाणिज्य बैंकको ६ महिनाको कमाई २२ अर्ब ८१ करोड(सूचिसहित)

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुको कमाई ६ महिनामा २२ अर्ब ८१ करोड पुगेको छ । बाणिज्य बैंकहरुले २०७४ पुस मसान्तसम्ममा आफ्नो नाफा २२ अर्ब ८१ करोड पुर्याएका हुन् । यो नाफा तिनै बैंकहरुले २०७३ पुसमा कमाएको भन्दा २ अर्ब १० करोड अर्थात १०.१४ प्रतिशतले बढि हो । २०७३ पुससम्ममा २८ वटा बाणिज्य बैंकहरुले २० अर्ब ७१ करोड नाफा कमाएका थिए । २८ वटा बाणिज्य बैंकमध्ये २० वटाले नाफा बढाउन सफल भएका छन् भने बाँकी ८ वटा बैंकको नाफा घटेको देखिन्छ । सबैभन्दा धेरै नाफा नविल बैंकले गरेको छ भने कम कमाउने बैंकको सूचिमा सिभिल परेको छ । नविलले एक अर्ब ८३ करोड नाफा कमाएको छ भने सिभिलले जम्मा २१ करोड कमाएको छ । नविलले एक अर्ब ८३ करोड ७७ लाख नाफा गरेर पहिलो नम्बरमा परेको छ भने छ नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १ अर्ब ८३ करोड नै नाफा गरेर दोश्रो नम्बरमा परेको छ । २८ मध्ये ९ वटा बाणिज्य बैंकहरुले भने ६ महिनामै एक अर्ब नाफा कमाउन सफल भएको देखिन्छ ।