वोमी माइक्रोफाइनान्सद्वारा बेकरी तालिम
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बेनीघाट शाखा, धादिङमा एक दिने ब्यवसायिक बेकरी बनाउने तालिम दिएको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्य क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त गरेपछि शनिबार संस्थाले तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमका प्रशिक्षक हरीमाया शाही ठकुरीले बेकरीका विविध उत्पादनहरु बनाएर शाखाका २३ जना सदस्यहरुलाई तालिम दिएको थियो । त्यस्तै तालिम कार्यक्रममा शाखा प्रमुख चुडामणी ढुङगानाले तालिमको पुर्ण सदुपयोग गरी आफ्नो आयस्तर बृद्धि गर्न सकिने विषयमा सदस्यहरुलाई उत्प्रेरित गरेका थिए । संस्थाले शाखा कार्यालयहरुमा समय सापेक्ष विभिन्न शिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म फुलमाला बनाउने, दालमोठ बनाउने, कृषि तथा पशुपालन, स्थास्थ्य लगायतका तालिमहरु प्रदान गर्दै आएको जनाएको छ । अहिलेसम्म संस्थाका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । उक्त शाखाहरुबाट २४ हजार ५ सय सदस्यमा उठाउन बाँकी लघु कर्जा रु १ अरब १८ करोड तथा बचत परिचालन रु ४२ करोड रहेको जनाएको छ । संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना अघि बढाएको छ ।
हिमालयन डिष्टिलरीको नाफा २७८ प्रतिशत बढ्यो, ९ महिनामा १९ करोड ३२ लाख
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले नाफा २७८ प्रतिशत बढाएको छ । कम्पनीले गत चैतसम्म १९ करोड ३२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । मदिरा बिक्रीबाट आम्दानी बढेपछि यसको सकरात्मक असर नाफामा परेको हो । गोल्डेन ओक ब्राण्डको मदिराको बिक्री बढेपछि नाफा पनि वृद्धि भएको हो । गोल्डेन ब्लाक ब्राण्डको मदिरा बिक्री वितरण थालेको हिमालयनले जनाएको छ । रोयल ट्रेजर ब्राण्डको मदिराको बिक्री अपेक्षाकृत बढन् नसकेको कम्पनीले जानकारी दिएको छ । नाफा बढेपछि प्रतिसेयर आम्दानी ५० रुपैयाँ कटेको छ । समीक्षा अवधिमा कम्पनीले ७६ करोड २७ लाख रुपैयाँ खुदआम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ५० करोड ६८ लाख रुपैयाँ मात्र थियो ।
कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद बिक्री सोमबारदेखि
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद सेयर सोमबारदेखि बिक्री खुला भएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी १७ लाख ६२ हजार १८८ कित्ता हकप्रद सेयर लिलामी सोमबारदेखि बिक्री खुला हुन लागेको हो । संस्थापकतर्फ १४ लाख ६१ हजार २७० र सर्वसाधारणको ३ लाख ९१८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । प्रतिसेयर १०० रुपैयाँ भन्दा बढी प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता खरिदका लागि बोलपत्र पेश गर्नुपर्ने प्रभुले जनाएको छ ।
शिखर इन्स्योरेन्सको नाफा ३१ करोड, ईपीएस ३९ रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा शिखरको नाफा २६ करोड ६३ लाख रुपैयाँ थियो । ९ महिनामा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४३ करोड ७५ लाख रुपैयाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आम्दानी २३ प्रतिशत बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब रुपैयाँ थियो । कम्पनीको जोखिम जगेडा कोष बढेर ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ । तराई बाढी र डुवानका कारण ३० करोड रुपैयाँको दावी भुक्तानी परेको छ । सो दावी मध्य कम्पनीको हिस्सा १ करोड रुपैयाँ मात्र रहेको छ ।
बीपीसीको नाफा ४ प्रतिशत घट्यो, ९ महिनामा ६५ करोड ७७ लाख
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा ४ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । सञ्चालन आम्दानीमा भएको गिरावटले यसको असर नाफामा परेको हो । नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानीमा कमी आई ३६ रुपैयाँ ३३ पैसामा झरेको छ । गत वर्षको सोही अवधिमा ३७ रुपैयाँ ७५ पैसा थियो । कम्पनीले थप निष्सकासन (एफपीओ) जारी गरेका कारण संचित कोष ९९ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा संचित कोषमा २ अर्ब ३३ करोड रुपैयाँ थियो । कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश पाएको छ । बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अागामी ५ वर्षमा २ अर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ । संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ ।
जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ६२ करोड ५५ लाख
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । कम्पनीले बैंकमा राखेको निक्षेपबाट ८८ करोड ९१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ३४ पैसा पुगेको छ ।
नेपाल टेलिकमको नाफा ११ अर्ब ८५ करोड, ईपीएस १०५ रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल दृुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नाफा बढाएको छ । गत चैतसम्म टेलिकमले ११ अर्ब ८५ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका ११ अर्ब ३२ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १०० रुपैयाँ थियो । समीक्षा अवधिमा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा आम्दानी ३२ अर्ब ८६ करोड रुपैयाँ थियो । डलरको भाउ उतारचढाव हुँदा ७ करोड १२ लाख रुपैयाँ नोक्सान भएको टेलिकमले जनाएको छ । संचित कोषको आकार बढेर ७९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
तराईका बाढी पीडितलाई कतार च्यारिटीले दियाे १ करोडको राहत सामग्री
काठमाडौं । तराईका बाढी पिडित सयौं परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ । अरब मुलुकको गैह्र सरकारी संस्था कतार च्यारिटीको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको बताइएको छ । गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पीडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पीडित परिवारहरुलाई अस्थायीबासबाट स्थायीतर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई एक किलो छाप्रा वाल किलाका साथमा जस्तापाता वितरण गरेको छ जानकारी गराएको छ । त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि २ हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको कतार च्यारेटीको भनाइ छ । गत साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउदा हजारौ परिवारहरु विस्थापित भएका थिए । कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको बताइएको छ ।
पल्सर स्पोर्टस् अवार्डको लागि डिस होमसँग सम्झौता, ७ लाखमा नवीकरण
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ ।सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस होमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्यले हस्ताक्षर गरेका छन् । मञ्चले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ । डिस होम विगत ८ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ । सम्झौतासँगै अवार्डको नाम अनुसार डिस होमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ हुनेछ । सम्झौतापछि डिस होमका सिइओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुशीको कुरा रहेको बताए । यस्तै मत्तचका अध्यक्ष महेश आचार्यले अवार्ड ग्रो हुदै गएको अवस्थामा डिस होमसँगको सहकार्य पनि ग्रो हुदै गएको बताए । यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङकबो लक्की ५ विजेता गरी ३३ जनाले डिस होमको सेटप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले २ हजारको रिचार्ज कार्ड र सेटप बक्स प्रखान गरिनेछ । यसवर्षको अवार्ड आगामी बिहिबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य ४ विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ । विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।
लगानी आकर्षित गर्न सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न चौधरीकाे आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बिहीबार संसदमा आर्थिक बर्ष २०७५/०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धी छलफलमा भाग लिदै सांसद चौधरीले आन्तरिक एवं बाह्य लगानी अभिवृद्धिबाट मात्रै आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सम्भव हुने भएकाले यसतर्फ बजेटले बिशेष ध्यान पु¥याउनु पर्नेमा जोड थिए । ‘सिद्धान्तका कुरा मात्रै गरेर अर्थतन्त्रमा सुधार ल्याउन सकिदैन । सिद्धान्तका कुरा धेरै भए अब व्यवहारमा काम गरेर देखाउनुपर्ने समय आएको छ’, सांसद चौधरीले सरकारलाई सुझाव दिदै भने, ‘बजेट कार्यान्वयन हुने प्रत्याभूतीका साथ ल्याइनुपर्छ । विगतमा जस्तो पुँजीगत खर्च नै नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।’ तीनै तहको निर्वाचन सम्पन्न भएको र आर्थिक समृद्धिको अभियान अगाडि बढाउने जिम्मेवारीमा अर्थमन्त्री रहेको भन्दै सांसद चौधरीले भने, ‘अर्थमन्त्रीज्यू नयाँ सोंच र दृष्टिकोणका साथ बजेट तर्जुमा गर्नुस् । तपाईको सफलतासँग हाम्रो भविष्य गाँसिएको छ ।’ नेपालमा लगानी अभिवृद्धि गर्न विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन पनि उनले आग्रह गरे । ‘चिन र भारतले सेजकै माध्यमद्धारा विश्वका लगानीकर्तालाई आकर्षित गर्न सम्भव छ भने नेपालले किन यसो गर्न सक्दैन ?’ सांसद चौधरीले भने, ‘सेजको नाम दिएर मात्रै हुदैन । सेजको मर्म अनुसार कार्यान्वयनमा ल्याउनुपर्छ ।’ नेपालको एक्लो बहुराष्ट्रिय उद्यमी समेत रहेका सांसद चौधरीले सेजमा स्थापना हुने उद्योगलाई निश्चित रोजगारी उपलब्ध गराउने शर्तमा टयाक्स रिमिसनको सुविधा दिनुपर्नेमा जोड दिए । लगानी आकर्षित गर्न भारत, चीन र युरोपियन राष्ट्रहरूले समेत अहिले लगानीकर्तालाई यो सुविधा दिइरहेका छन् । ‘यसो गर्दा कर छुट दिइरहनु पर्दैन । लगानीकर्तालाई निश्चित अवधीसम्म क्यापिटल फर्मेसनमा सुविधा दिए हुन्छ । लगानीकर्ताले पुँजी परिचालन गर्न पनि सहज हुने र सरकारले कर पनि पाउने यो व्यवस्था अहिले विश्वभर लोकप्रिय छ ।’ सरकारले आफै उद्योग धन्धा चलाउने नभई लगानीका लागि वातावरण बनाइदिने काम गर्नुपर्छ । सरकारले आफै उद्योग चलाउदा के अवस्था हुन्छ भन्ने कुरा जनकपुर चुरोट कारखाना, बुटवट धागो कारखाना र हाल चलिरहेका नेपाल आयल निगम लगायतका सस्थानलाई हेर्दा प्रष्ट हुन्छ- सांसद चौधरीले भने, ‘बजेट बनाईरहदा स्पष्ट सोंचका आधारमा अगाडि बढ्न आवश्यक छ ।’सांसद चौधरीले नेपालको निजी क्षेत्रका पनि कमजोरी छन् भन्दै यसको अनुगमन र उनीहरूलाई सहि बाटोमा ल्याउने जिम्मेवारी सरकारको रहेको बताए । लगानी प्रधर्वन गर्न लगानी बोर्डको भूमिका प्रभावकारी बन्न आवस्यक रहेकोमा सांसद चौधरीले जोड दिए । लगानी आकर्षित गर्न नीति बनाउने, लगानी जुटाउने र यहाँ लगानी भइसकेकाहरूको समस्या सम्बोधन गर्ने जिम्मेवारीलाई लगानी बोर्डले प्रभावकारी रूपका कार्यान्वयन गर्न सक्नुपर्छ । मन्त्रालयहरूसँग क्षेत्राधिकारको विवादमा रुमलिएर बस्न लगानी बोर्ड स्थापना गरिएको होइन, सांसद चौधरीले भने । आर्थिक समृद्धि हासिल गर्न घडीको सूईको रफ्तारमा काम गर्न आवस्यक भएको भन्दै सांसद चौधरीले यसका लागि शासकीय सुधार गर्नैपर्नेमा जोड दिए । ‘आर्थिक समृद्धिका लागि सुशासनको दयनीय अवस्था चुनौतीका रुपमा रहेको छ । नीति, योजना र कार्यक्रमसँगै कर्मचारीतन्त्रको काम गर्ने शैलीमा परिवर्तन ल्याउन पनि उत्तिकै जरूरी छ ।’
सीजी इलेक्ट्रोनिक्सले युनाइेटड इन्स्योरेन्सलाई २४ करोड तिर्नै पर्ने
काठमाडौं । चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सको २४ करोड रुपैंयाँ फिर्ता गर्नै पर्ने भएको छ । सिजी इलेक्ट्रोनिक्स आगलागीमा युनाइटेड इन्स्योरेन्ससँग अतिरिक्त २४ करोड भुक्तानी लिएको थियो । अधिक भुक्तानी लिएको २४ करोड रुपैंया फिर्ता गराउने बीमा समितिको निर्णय विरुद्ध सीजी इलेक्ट्रोनिक्सले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको छ । सर्वाेच्च अदालतले बैशाख २३ गते सीजीले दायर गरेको रिट माथी सुनुवाई गर्दै २४ करोड असुली प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । ‘२४ करोड फिर्ता गर्न बीमा समितिले लेखेके पत्र र सोही अनुसार युनाइेटडले लेखेको पत्रलाई कार्यान्वयन गर्न अन्तरिम आदेश मागिएको रिटमा सर्वाेच्चले त्यस्तो आदेश दिएन, अब २४ करोड असुलीको प्रक्रिया अघि बढ्छ’, बीमा समिति श्रोतले भन्यो । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स गोदाममा आगलागी भएपछि चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सबाट ५८ करोड भुक्तानी लिएको थियो । तर बीमा समितिमा उजुरी परेपछि समितिले छानविन गर्दा ३४ करोड मात्रै क्षति भएको देखिएको थियो । समितिको प्रतिवेदन विरुद्ध चौधरी समुहले तत्कालिन पुनरावेदन अदालत पाटनमा मुद्दा हालेको थियो । अदालतले बीमा समितिकै निर्णयलाई सदर गरिदिएको थियो । अदालतले समितिको निर्णयलाई सदर गर्दै ३४ करोड मात्रै भुक्तानी दिन भनेपनि फैसालको पूर्ण पाठ भने पठाएको थिएन् । चैत १३ गते अदालतले फैसलाको पूर्ण पाठ समितिमा पठाएर २४ करोड फिर्ता गर्न भनेको थियो । चौधरी ग्रुपको सीजी इलोक्ट्रोनिक्सले एक पटक ३६ करोड र एक पटक २२ करोेड गरि ५८ करोड भुक्तानी लिएको थियो । तर अदालतले बीमा समितिको प्रतिवेदन अनुसार ३४ करोड मात्रै क्षति भएको निर्णय सदर गरिदिएपछि चौधरी ग्रुपले २४ करोड रुपैंयाँ युनाइटेड इन्स्योरेन्सलाई फिर्ता गर्नुपर्नेछ । यस्तो थियो नालीबेली सीजीले आगलागीबाट ८४ करोडको क्षति भएको दावी गरेको थियो । युनाइेटडका सर्भेयरले भने ५४ करोड क्षति भएको प्रतिवेदन तयार पारेका थिए । तर ५४ करोड क्षति पनि नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएपछि समितिले आफ्ना सर्भेयर खटाएको थियो । समितिको सर्भेयरले ३४ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । समितिको प्रतिवेदन विरुद्ध सीजी उच्च अदालत पाटनमा पुगेको थियो । अदालतले अण्डर राइटर र सर्भेयरलाई समेत ३।३ हजार जरिवाना गर्न आदेश दिएको थियो ।
सिजीको फ्रिजहरुमा ५ वर्षको वारेण्टी, खरिदमा आकर्षक उपहार
काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्यनजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार योजनाहरु ल्याएको छ । उक्त फ्रिजहरुमा अब बत्ती गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाई राख्ने कम्पनीले जनाएको छ ।
सेयर बजार घट्दा जीबन बीमा कम्पनीको नाफामा गिरावट, नेपाल लाइफले गर्यो २० करोड नोक्सानी व्यवस्था
काठमाडौं । सेयर बजार घटेपछि अधिकांश जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाफामा गिरावट आएको छ । पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएपछि जीवन बीमा व्यवसाय गर्ने अधिकांश कम्पनीको असर नाफामा परेको हो । जीवन बीमा कम्पनीले १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । बजार घटेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २० करोड ३८ लाख रुपैयाँ नोक्सानीको व्यवस्था गरेको छ । ठुलो रकम कर्जा नोक्सानीमा राख्नु पर्दा नेपाल लाइफको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत मात्र बढेको छ । गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । नोक्सानी व्यवस्था नगरेको भए २० करोड ३८ लाख रुपैयाँ नाफामा बढ्ने थियो । सेयर बजार घट्दै गएपछि बुक भ्यालुमा नोक्सान देखिएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा बताउछन् । कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ । अधिकांश बीमा कम्पनीले सेयरमा लगानी गरेका छन् । “१० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था हुँदाहुँदै हामीले ४ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्दा २० करोड बढी नेक्सानीको व्यवस्था गर्नुपरेको छ” उनले भने “२ वर्षअघि सेयर बजार बढ्दा ५० करोड रुपैयाँ कमाएका थियौ अहिले घटेको छ ।” सेयर बजार बढेपछि यसको कर्जा नोक्सानीबाट सो रकम नाफामा फिर्ता हुने उनको भनाई छ । १ हजार ८८१ अंक पुगेको सेयर बजार अहिले घटेर १ हजार ३५० अंकमा छ ।
आरएसडिसी लघुवित्तले २१ करोड ५९ लाखको हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले २१ करोड ५९ लाख ७० हजार रुपैयाँको हकप्रद जारी गर्ने भएको छ । संस्थाले सो मात्राको सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम अनुमति पाईसकेको छ । बोर्डको अनुमति अनुसार कम्पनीले ६० प्रतिशत (अर्थात २१ लाख ५९ हजार ७०० कित्ता) सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर जारी गर्न कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५७ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ रहेको थियो ।
डिजिटल बन्दै कर्णाली प्रदेश, महशुल तिर्न कार्यालय धाउन नपर्ने
काठमाडौं । पछिल्लो समय समृद्ध कर्णालीको नारा लिएर अगाडी बढिरहेको प्रदेश नं ६ मा अवस्थित सुर्खेतबासीले पनि इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने भएका छन् । १६ हजार ग्राहक रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्त संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने सेवा दिएको हो । कम्पनीले आफ्ना सबै क्रियाकलाप अटोमेशनमा लगेको जानकारी दिएको छ । त्यस्तै विरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महशुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ । दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको हो । यो सफट्वेयरले बिलिङ, लेखा पद्धती, जिन्सी व्यवस्थापनदेखि मिटर रिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्ने कम्पनीको भनाइ छ । संस्थाका अध्यक्ष कुलमणी देवकोटाले भने ‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह्राे भइरहेको थियो । ग्राहक धेरै हुँदा ३/४ घण्टा लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो ।’ इसेवासँगको सहकार्यले अब लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ उनकाे भनाइ छ । यसअघि सुनसरीकोे इटहरी खानेपानी, भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, पर्वतको कुश्मा खानेपानी लगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका जानकारी दिइएको छ । कम्पनीकोअनुसार प्रविधिमार्फत खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेशनबाट गर्न सकिन्छ । आफ्नो मोबाइल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सकिन्छ । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ । सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ ।
९३ कम्पनीको ३० अर्बको बोनस सेयर कारोबारका लागि सुचिकरण, कसको कति ?(विवरणसहित)
काठमाडौं । साउनयता विभिन्न ९३ कम्पनीको ३० अर्ब रुपैयाँ बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र उत्पादनमुलक कम्पनीको सेयर कारोबारका लागि सुचिकृत भएको हो । यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई यी कम्पनीले अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी पुगिसकेकाले आउँदो आर्थिक वर्षदेखि नगद लाभांश बढी हुने छ ।(विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
राष्ट्रिय प्रसारण ग्रीडले २ अर्ब ८३ करोड सेयर रकम माग्यो
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले सरकारसंग सेयर वापतको रकम मागेको छ । कम्पनीले २ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ सेयर वापतको रकम मागेको हो । कम्पनीले अर्थ मन्त्रालय, ऊर्जा, जस्रोत तथा सिंचाई, रक्षा, गृह, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, कृषि भुमिसुधार तथा व्यवस्था, कृषि भुमि व्यवस्था, नेपाल विद्युत प्राधिकरणलाई सो रकम जम्मा गर्नलाई अनुरोध गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले लिन कवुल गरेको सेयर वातपतको रकम जम्मा गर्न सरकारको ध्यानकर्षण गराएको हो । राष्ट्रिय प्रसारणमा सबैभन्दा बढी लगानी नेपाल विद्युत प्राधिकरणको रहेको छ । विद्युत प्राधिकरणले कम्पनीमा १ अर्ब ८३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ७३ हजार ३३३ कित्ता सेयर लिने छ । यस्तै ऊर्जा तथा जलस्रोतले ४६ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ९२ लाख ८६ हजार ६६८, अर्थको २१ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको ४२ लाख ४५ हजार कित्ता सेयर लिने कबोल गरेका छन् । बाँकी मन्त्रालयले ५ करोड ३३ लाख ३३ हजार कित्ता सेयर लिन भनेको छ ।
अब दराजको स्वामित्व अलिबाबालाई, एकैपटक ५ मुलुककाे ४६ करोड जनसंख्यामा बजार विस्तार
काठमाडौं । पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कर्मश कम्पनी दराज गु्रप अलिबाबाले प्राप्त(एक्विजिशन) गरेको र अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरिएको छ । दराजले अलिबाबाको प्रविधि, अनलाइन कर्मश सञ्चलानमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनासङ्ख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाई विस्तार गर्न प्रयोग गर्ने भएको छ । दराज सन् २०१२ मा संस्थापना भइ–कर्मश प्लाटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ । दराज हाल पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालमा सञ्चालनमा छ । अलिबाबा गु्रप अन्तर्गत पनि दराज आफ्नै ब्रान्ड ‘दराज’ सहित सञ्चालन हुनेछ । दराजका सह–प्रमुख कार्यकारी अधिकृत, बिर्याके मिकेल्सनले भनेका छन्, ‘यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी जहाँ पनि व्यापार गर्न सहज यस अभियानमा सहभागी हुन पाउँदा गर्ववान्वित भएका छौँ,’ उनले थपेका छन् ‘हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा शुरु ग¥या,ैँ यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाँकी नै छ ।’ दराजका सह–प्रमुख कार्यकारी अधिकृत डा.जोनाथन डोअरले भनेका छन् ‘हामी अलिबाबासँगको सहकार्यमा यस क्षेत्रका उद्यमीहरुको सशक्तिकरणमा सहयोग पु¥याउन र ग्राहकलाई सरलताका साथ गुणस्तरिय उत्पादनहरु उपलब्ध गराउन गरेको प्रतिज्ञा पुरा गर्न तत्पर छौँ । यसलाई उच्चस्तरको प्रविधि, बलियो सञ्चालन सञ्जाल र जोसिला स्थानीय समुदायको साथले सर्मथन गर्ने आश गरेका छौं ।’ दराज ग्रुपकाले आवश्यकता अनुसारको प्रवद्धन, डाटा र सर्भिस सलुसनले दक्षिण एसियाको अग्रणी इ–कर्मश प्लाटफर्मसँग हाल ३०,००० विक्रता, ५०० ब्रान्ड र ५० लाख ग्राहक रहेका छन् । २० लाख उत्पादनहरुका साथ, दराजले इलेक्टोनिक्सदेखि घरायसी सामग्रीहरु, सौन्र्दय, खेल समग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएको छ । अहिले अलिबाबा गु्रप होल्डिङ लिमिटेडले दराजको पुर्ण स्वामित्व ग्रहण गरेको छ ।
सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव: ‘नाफा घाटा ब्यहोर्नुस्, सरकारलाई धारे हात नलगाउनुस्’
काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् । उनले ब्याङग्य गर्दै भने ‘लगानी गर्ने तपाइहरुले हो यसमा सरकारले कुनै जिम्मा लिन सक्दैन, नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे हात नलगाउनुहोस् ।’ उनीले पुँजी बजारको विकासमा सरकारले कुनै कन्जुस्याँई नगर्ने बताउँदै पुँजी बजारको विकासमा आफुलाई नसिकाउन समेत चेतावनी दिए । बजारका विद्धानहरु पुँजीबजारको ‘क’ ‘ख’ सिक्दै गर्दा आफु पुँजिबजारको किताब लेख्ने भैसकेको बताउदै यस विषयमा कुनै कुरा सिकाउनु नपर्ने उनले बताए । मन्त्रीले अहिले बजारको म्युचुअल फन्ट कमजोर हुँदै गएकोले सेयर बजारमा जोखिम बढ्दै गएको बताए । जोखिम कम हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिदैं नाफा भएनी मलाई दिनु पर्दैन घाटा भएनी सरकारले बेहोर्न सक्दैन कमजोर मुटु हनेले सेयरमा लगानी नै नगर्न मन्त्री खतिवाडाले सुझाव दिए । जलविद्युतमा सबै नेपालीको लागानी हास् भन्ने सरकारको चाहाना रहेको पनि खतिवाडाले बताए ।
उद्योग मन्त्रालयकाे प्रथमिकतामा एग्रो इन्डस्ट्रीज, स्थायी कर्मचरी नराखिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले एग्रो इन्डस्ट्रीज सञ्चालनलाई प्रथमिकतामा राखेको बताए । उनले त्यसको लागि सरकारले आवश्यक ऐन कानूनहरु निर्माण तथा परिमार्जन गरिरहेको जानकारी दिए । उनकाअनुसार सरकारले रासायनिक मलको उद्योग सञ्चालन गर्ने तयारी भइरहेकाे छ । ‘वढी उपभोग गरिने वस्तुहरुको उत्पादन बढाउने एग्रो इन्डस्ट्रीजलाई जोड दिएका छौं,’ उनले भने ‘जसबाट वस्तुकाे उत्पादन बढ्नेछ आयात घट्नेछ ।’ पहिलो चरणमा कपडा, चिनी, जुट लगायतको उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहको छ । त्यसले कपास, धागाे लगायतको उत्पादन वृद्धिमा सहयोग गर्नेछ। उद्योग सञ्चालनका लागि विदेशी लगानी सम्बधमा समेत छलफल भइरहेको मन्त्रलयको भनाइ छ । साथै मन्त्रालयले सम्बन्धित स्थानिय निकायका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिरहेको जानकारी दिएको छ । यद्यपि अब सञ्चालन हुने उद्योगहरुमा स्थायी कर्मचारी नराखिने मन्त्री यादवको प्रष्ट भनाइ छ । उनले उद्योगको कर्मचारीहरु अस्थायी हुने बताए । उनको अनुसार उद्योगहरु सार्वजनिक निजी सामुदायिक साझेदारी ‘पीपीपीपी’ मोडलमा सञ्चालन हुनेछन् । जसमा मजदुरहरुलाई समेत शेयर दिइनेछ । सबैको हिस्सा हुने त्यस्ता उद्योगमा सबैभन्दा बढी सरकारी स्वामित्व रहने उनले मंगलबार मन्त्रालयमा भएको पत्रकारहरुसँगको भेटमा बताए । यसैबीच उनले अहिले मुलुकमा हरेक क्षेत्रमा सिन्डिकेट भएको जानकारी दिदै केही दिनभित्रै अनुगमन गरी सार्वजनिक गर्न थालिने जानकारी दिए । ‘अहिले शिक्षा, उद्योग लगायतमा सिन्डिकेट देखिरहेका छौं,’ उनले भने ‘केही दिनभित्रै रिजल्ट देख्न सक्नुहुनेछ ।’ अबको मन्त्रिपरिषद बैठकमा समेत यो विषयलाई उठान गर्ने उनले बताए ।