बैंकहरुले बोलाए सहुलियत कर्जा लिन, प्रमाणपत्र बोकेर बैंक जानुस्
काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिन बोलाएका छन् । बिहिबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा सुलियत कर्जा लिन आव्हान गरेका हुन् । कसरी लिने सहुलियत कर्जाको ऋण ? विस्तृत बुझ्न यहाँ थिच्नुहोस सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाका छाता संगठनहरुले ऋण लिन आव्हान गरेका हुन् । सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यबिधीलाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकले गत परिपत्र जारी गरेर सहुलियत पूर्ण कर्जा लिन बैंक तथा वित्तिय संस्थाहरुमा जानका लागि सर्वसाधारणलाई आव्हान गरेको थियो । प्रक्रिया पुर्याएर ऋण लिन जाँदा पनि नदिएमा उजुरी गर्न पनि केन्द्रिय बैंकले सर्वसाधारणलाई आग्रह गरेको थियो । अब शैक्षिक योग्यताको प्रमाणप धितो राखेर पाइने शिक्षित युवा स्वरोजगार कर्जा, व्यवसायीक कृषि तथा पशुपन्छि कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राबिधिक तथा व्यवसायीक शिक्षा कर्जा र भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा सहुलियत ब्याजदरमा पाइनेछ । यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया स्नातक तहसम्म उतिर्ण गरेकाहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म् ऋण पाउनेछन् । शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।
‘नाफाको निजीकरण र घाटाको सार्वजनिकीकरण गर्ने प्रवृत्ति सुध्रिए बैंकिङ क्षेत्र नैतिकवान बन्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रका सरोकारवालाहरुले घाटाजति संस्थालाई पन्छाउने र नाफा आफु राख्ने व्यक्तिगत प्रवृत्तिका कारण यो क्षेत्र नैतिकवान बन्न नसकेको बताएका छन् । नेशनल बैंकिङ इन्सिच्युटले आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा नैतिकता’ विषयको कार्यक्रममा क्षेत्रीले साथीभाइसँग बसेर खाएको खाजाको बिल बैंकलाई तिराउने तर पदीय हैसियतकै कारण प्राप्त भएको घरमा भित्र्याउने प्रवृत्ति बैंकिङ क्षेत्रको मूल समस्याको रुपमा रहेको औल्याएका हुन् ।यस्तो प्रवृत्ति बैंकिङ क्षेत्रका प्रवर्द्धक, बैंकर, कर्मचारी र नियामकमा समेत रहेको टिप्पणी गरे । उता ऋणीहरुमा पनि मसँग धितो छ त्यसैले मैले ऋण पाउनुपर्छ भन्ने भ्रम हट्न नसकेको क्षेत्रीको ठहर छ । ‘बैंकिङ क्षेत्रको सरोकारवालाहरुको हैसियतले उनीहरुको यस्तो भ्रम वित्तीय नैतिकता बाहिरको विषय हुन्छ ।’ नियामक निकायका अधिकारीहरुमा पनि बाहिर हुँदा विरोध गर्ने तर भित्र गएपछि सोही कार्य दोहोर्याउने प्रवृत्ति रहेको उनको टिप्पणी छ । नियामक निकायको पदीय हैसियतमा रहेर व्यवहार गर्दा पाइला पाइलामा सजग रहन क्षेत्रीले राष्ट्र बैंकका अधिकारीहरुलाई आग्रह गरेका छन् । आफूलाई पनि सो हैसियतमा रहँदा पटकपटक त्यस्ता प्रलोभन आउने गरेको बताउँदै उनले सकेसम्म त्यस्ता प्रलोभनहरुलाई टार्ने प्रयास गरेको जिकीर गरे । उता साना तहका कर्मचारीहरुमा भने जागिर जोगाउने प्रवृत्ति रहेको भन्दै कानूनभन्दा बाहिर गएर ‘सिनियर’को आज्ञा मान्ने प्रवृत्ति त्याग्न सुझाव दिए । नेशनल बैंकिङ इन्सिच्युडको हलमा आयोजित उक्त ‘टक प्रोग्राम’मा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले समेत वित्तीय क्षेत्रमा गर्न हुुने र गर्न नहुने कामको बारेका चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा ज्यादै प्रभावकारी भएको भन्दै राष्ट्रबैंक त्यसमा थप सुधार ल्याउन प्रयत्नशील रहेको बताएका थिए । कागज कम गर्ने पद्दति बैंकिङ क्षेत्रले अँगाल्नुपर्ने भन्दै त्यसो गर्दा वन फँडानी रोक्न सहयोग पुग्ने बताए । ‘यो विषय पनि बदलिँदो परिस्थितिमा वित्तीय नैतिकताको विषय हुन्छ ।’ उनले भने
मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो, निक्षेप बढेर ६६ अर्ब ११ करोड पुग्यो
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको नाफा ३९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ । अघिल्लो वर्षकाे सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ । बैंकले तीन महिनामा निक्षेप बढाएर ६६ अर्ब ११ करोड रुपैँया पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोड रुपैयाँ अर्थात ६६ प्रतिशत वृद्धि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ । मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको कम्पनीले जनाएको छ ।
एनएमबी बैंक लगायत अन्य दुई कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर र सेन्ट्रल फाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । एनएमबी बैंकको एक करोड १४ लाख ४ हजार ९३५ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता सेन्ट्रल फाइनान्सको भने २ लाख १६ हजार ५०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
एभरेष्ट बैंकको नाफा घटेर ४९ करोडमा सिमित
काठमाडौं । एभरेष्ट बैंकको नाफा घटेर ४९ करोडमा सिमित भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५३ करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ४९ करोड मात्रै कमाएको हो ।। एनएफआरएस लेखा प्रणाली अनुसार सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरणमा बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेको छ । गत असार मसान्त अवधीमा १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसन्त अवधीमा १२० अर्ब पुर्याएको हो । ४ अर्ब निक्षेप वृद्धि गर्दा कर्जा भने ९ अर्बले विस्तार गरेको छ । असार मसान्तमा ९४ अर्ब कर्जा प्रवाह गरेको एभरेष्टले असोज मसान्तमा १०३ अर्ब पुर्याएको हो । ८ अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । एभरेष्ट बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४६ पैसा रहेको छ । बैंकको स्प्रेड दर ४ दशमलब २३ प्रतिशत रहेको छ भने आधार ब्याजदर ८ दशमलब ८० प्रतिशत रहेको छ ।
विश्वमा ४५ करोड मधुमेहका बिरामी, विलासी जीवन राेगकाे मुख्य कारण
डा भोजराज अधिकारी चितवन । असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्षेनी थपिँदै गएका छन् । उनका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । डा. अधिकारी भन्छन्, “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उनकाे भनार्इ छ । विकासोन्मुख देशहरुका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरु ह्वात्तै बढ्ने गरेका छन् । विसं २०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार शुरु गरेको बताउने डा अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउछन् । उनी जस्ता अरू धेरै चिकित्सकले नेपालमा मधुमेहका बिरामी हेर्दै आएका छन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ । चितवनमा यो १० देखि १२ प्रतिशत रहेको डा. अधिकारीको भनाइ छ । जिल्लाको सौराहामा गरिएको एक सर्वेक्षणमा २४४ परिवारमध्ये ५० परिवारमा मधुमेह भेटिएको थियो । मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहारविहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको बताउँछन् । मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उनको सुझाव छ । यस्तै चुरोट, बिँडी सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिने सचिव देवकोटाले बताए । डा अधिकारीका अनुसार ३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पु¥याउने खतरा रहने उहाँले बताए । मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिनको पनि आवश्यकता पर्ने उनी बताउँछन् । मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण रहेको डा अधिकारीले बताए । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गाैला, दिमाग र रगत तथा स्नायुका नसामा असर पु¥याउन नसक्ने चिकित्सकको भनाइ छ । बीस वर्षदेखि मधुमेहका बिरामी उपचार गर्दै आउनुभएका वरिष्ठ फिजिसियन प्रा डा विजय पौडेल शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, स्वास्थ्यवद्र्धक ग्लुकोज, चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान सुझाव दिए । उचाइअनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उनकाे सल्लाह छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिने पनि उनकाे भनार्इ छ । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस। वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । रासस
आठ कम्पनीकाे ३ अर्ब ८३ करोडकाे हकप्रद अाउँदै
काठमाडौं । विभिन्न आठ कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको तीन करोड ८३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् । आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले ८९ करोड तीन लाख रुपैयाँ बराबरको ८९ लाख तीन हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद सेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाले ३ करोड ९८ लाख रुपैयाँ बराबरको तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर बिक्री गर्न काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ । माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो । त्यस्तै बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद शेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५०० कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो संस्थाले १६ करोड मूल्य बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । वित्त समूहको सिर्जना फाइनान्सले दश बराबर छ कित्ता हकप्रद शेयर बिक्रीको तयारी गरेको छ । सो कम्पनीले २४ करोड चार लाख रुपैयाँ बराबरको २४ लाख चार हजार ८० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बीमा कम्पनीतर्फ एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता शेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले १४ करोड तीन लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गर्दै आएको छ । सो कम्पनीले दुई अर्ब १० करोड रुपैयाँ बराबरको दुई करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर अपि पावरले हालसम्म कुनै पनि कागजात बोर्डमा भने बुझाएको छैन । माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । एक करोड १० लाख रुपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ । यस्तै बोर्डले विभिन्न तीन कम्पनीका १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको छ । चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । रासस
अर्थमन्त्री डा. युवराज खतिवडाले रोके महालक्ष्मी लाइफको लाइसेन्स, १४० करोड लगानी कैद
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाइसेन्स रोकेका छन् । अर्थमन्त्री डा. खतिवडाले मन्त्रिस्तरिय निर्णय गर्दै प्रस्तावित बीमा ऐनमा नयाँ बीमा कम्पनीबारे व्यवस्था अघि सारिएकाले तत्काललाई कुनै पनि बीमा कम्पनीलाई लाइसेन्स नदिनु भनि पत्र पठाएका हुन् । अर्थमन्त्रीको निर्णय उल्लेख गरिएको पत्र वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको चलानी नम्बर ४५६/२०७५।६।१० बाट पठाईएको छ । अर्थको पत्र प्राप्त भएसँगै बीमा समितिले महालक्ष्मी लाइफको लाइसेन्स दिने प्रक्रिया यथास्थितीमा राखेको छ । सर्वाेच्च अदालतले २०७५ साल असार १४ गते महालक्ष्मी इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन आदेश दिएको थियो । अर्थमन्त्रालय र बीमा समितिलाई विपक्षी बनाएर महालक्ष्मीले दायर गरेको मुद्धामा सर्वाेच्चले त्यस्तो आदेश दिएको थियो । अदालतको आदेश बमोजिम नै अर्थ मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख उदयराज सापकोटाले अदालतको फैसला कार्यान्वयन गर्नु भनि पत्र पठाएका थिए । सापकोटाले चलानी नम्बर ५६/२0७५/५/२८ बाट समितिलाई पत्र पठाएका थिए । कानुन महाशाखाले अदालतको फैसला कार्यान्वयन गर्नु भनेर पत्र पठाएको १३ दिनपछि मन्त्री खतिवडाले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ लाइसेन्स रोक्न पत्र पठाएका हुन् । अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० कम्पनी मध्ये बीमा समितिले तोकेको समयमा महालक्ष्मी लाइफले पुँजी पुर्याउन सकेको थिएन् । बीमा समितिले गत जेठ ८ गते १० वटै कम्पनीलाई पत्र लेख्दै ३ महिनाभित्र प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा जम्मा गर्न, समितिले तोकेका सबै प्रक्रिया पुरा गर्न निर्देशन दिएको थियो । समयमै पैसा जुटाउन नसकेपछि प्रक्रियाबाट आउट भएको महालक्ष्मीले अर्थमन्त्रालयबाट भदौ ७ गते पत्र लेखाएर ४५ दिन समय थपिदिन भनेको थियो । सो पत्र अनुसार समय थप्न बीमा समितिले नटेरेपछि महालक्ष्मी इन्स्योरेन्सले अदालतमा मुद्धा दायर गरेको थियो । सर्वाेच्चका न्यायधिश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले महालक्ष्मीलाई लाइसेन्स दिनु भन्ने आदेश दिएको थियो । अदालतको आदेश अनुसार बीमा समितिले महालक्ष्मीलाई लाइसेन्सका लागि आवश्यक प्रक्रिया पुरा गर्न पत्राचार पनि गरेको थियो । तर लाइसेन्स दिने समयमा अर्थमन्त्रीको पत्र आएपछि महालक्ष्मी लाईफका लगानीकर्ताहरुको १ अर्ब ४० करोड रुपैंया कैद भएको छ । यति बेला न कम्पनीले लाइसेन्स पाएको छ न त लगानी कर्ताले आफ्नो पैसा अन्यत्र लगानी गर्ने अवस्था नै बनेको छ ।
बुधबारदेखि मध्यभोटेकोशीले एक अर्ब ४४ करोडकाे आर्इपीअाे बिक्री गर्दै
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर(आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका एक करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको सेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मङ्सिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी मङ्सिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको सेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार २०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत सेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लगायत रहेका छन् । कम्पनीमा प्राधिकरणको दश प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एक/एक प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत सेयर रहने गरी छ्ट्याइएको छ । कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिल रहेको छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल छन् । रासस
हिल्सामा रेल खाेज्दै कर्णालीका मुख्यमन्त्री, चिनियाँ टोली सम्भाव्यता अध्ययनमा
हुम्ला । केरुङ काठमाडौं रेलमार्गपछि नेपाल चीन जोड्ने नयाँ रेलमार्गका लागि सम्भाव्यताको खोजी सुरु भएको छ । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि मंगलबार एक विशेष टोली हुम्ला पुगेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हुँदै सिमिकोट हिल्सा पुगेका छन् । नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना अगाडि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन सरकारको निमन्त्रणामा मुख्य गरी सडक, विद्युत्लगायतका विषयलाई लिएर चीन सरकारसँग छलफल गरेका थिए । बहुचर्चित कर्णाली करिडोर खुलालु हुम्लाको हिल्सा सिमिकोट सडकखण्ड लम्बाइ २८१ किलोमिटर रहेको हिल्सा सिमिकोट सडकखण्ड कार्यालयका प्रमुख शशांक मिश्रले बताए।रासस
सेयर बजार १३ अंकले बढ्यो, उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम ४ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा कुल १५० कम्पनीको १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार जम्मा १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबारको जस्तै मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन एक करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको मंगलबारको बजारमा उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । ४२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरमा आर्कषित भएका हुन् । जस कारण संस्थाको सेयर मूल्य एकैदिन १५७ रुपैयाँले बढेर प्रतिकित्ता १७३२ रुपैयाँ पुगेको छ । सो दिन फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले उकालो लागेको छ । अनलाइन प्रणाली शुरु भएपछि नेप्सेको साइटमा प्रविधिक समस्या देखिइरहेको छ । उक्त प्रणाली शुरु भएको चौथो दिन(आज) पनि साइटमा बेलाबेलामा समस्या देखिएको थियो ।
२३ दिनसम्म कर्णालीको एक्लो यात्रा गरेकी चेलीको कथा : भेँडाकाे बथान देख्दा बाँच्ने अाशा पलायाे
काठमाडौं । सडकले छुन नसकेको सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला डोल्पा । एउटै गल्तीले जीवन समाप्त हुनसक्ने पहाडी गोरेटोहरु र छ महिना लेक बस्नुपर्ने अनि अर्को छ महिना बेँसी झर्नुपर्ने विषम हावापानी । त्यही दुर्गमता र विषमताबीचको एक्लो यात्रा । यो कल्पनाले मात्रै पनि जोकोहीको आङ सिरिङ्ग हुन्छ । त्यसमाथि त्यस्तो एक्लो यात्रामा एउटी महिला । मानव श्रृष्टिमै सुकोमल देह र हृदय भएका महिलाका लागि यस्तो यात्रा झन् भयावह विषय हुनसक्छ । तर संसारमा यस्ता अभियानहरु छन्, जसले यस्तै कहालीलाग्दा कल्पनाहरुलाई साकार बनाइरहेका छन् । त्यस्तै मिसनकी एउटी सफल अनि सहासिक पात्र हुन् प्रास्ना डंगोल, जसलाई मैले करिब १ वर्षअघि एउटा भिडियोमार्फत् चिन्ने मौका पाएँ । मैले त्यसबेला उनलाई मात्र चिनिँन, उनीसँगै उनको अभियानलाई चिन्ने मौका पाएँ । उनीसँगकाे भेटले मलार्इ महिलाकाे शक्ति चिन्ने माैका मिल्याे । सोलो वुमन ट्राभलिङ च्यालेन्ज अभियान । जहाँ ‘सोलो’ शब्दले ‘एक्लै गरिने यात्रा’लाई जनाउँछ । अर्थात् त्यस्तो अभियान जहाँ एउटी नारी एक्लै एउटा साहसिक यात्रामा निस्कन्छिन् । यो यस्तो कार्यक्रम हो जसले फेसबुक भोटिङमार्फत् छानिएका १० महिलाहरुलाई एक्लो लामो यात्रामा पठाउँछ र त्यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिन्छ । यो अभियानमा बाली, फिजी, नेपाल, श्रीलंका, थाइल्याण्ड, घाना, जाम्बिया, कोलम्बिया, अर्जेन्टिना, पेरु लगायतका देशहरुमा यो अभियान सञ्चालित छ । २००७ देखि यता यो अभियानमा ८० हजार भन्दा बढी स्वयम्सेवकहरु छन् । सो अभियानले प्रत्येक वर्ष १० जना महिलालाई एक्लो भ्रमणमा पठाउँछ । त्यहीे अभियानकी एउटी नेपाली चेली जसले त्यस्तै साहसिक यात्राको सफल प्रयोग गरिन् उनले । प्रास्नाले २३ दिनसम्म डोल्पा जिल्लाको त्यस्तै विषम एक्लो यात्रा गरेकी थिइन् । नेपाली ट्राभलर्स नामको फेसबुक पेजमा राखिएको उनको साहसिक यात्राको उक्त भिडियो हेरेसँगै भेट्ने तीव्र इच्छा भए पनि ८ महिनापछि मात्र उनीसँग प्रत्यक्ष संवादको मौका मिल्यो । काठमाडौंको नेवार परिवारमा जन्मिएकी उनी ‘फिल्म मेकिङ’को विद्यार्थी रहिछन् । ‘फिल्म मेकिङ’ विषयमै बेलायतमा ४ वर्ष लामो अध्ययन गरी स्नातक तह उर्तीण गरेपछि ४ महिनाको लागि नेपाल फकिएकी उनलाई फेरि बेलायत फर्कन मन नै लागेन । चलचित्र निर्माणसम्बन्धी अध्ययनमा स्नातकोत्तर गर्न फेरि बेलायत फर्किने सोचलाई त्यागेर उनी नेपालमै बस्ने निधो लिइन् । उनी भन्छिन्– ‘डिग्रीमात्र सबै कुरा होइन, सीप र अनुभव आवश्यक छ भन्ने लाग्यो, त्यसैले म नेपालमै बसेँ ।’ काठमाडौंको सीमितताबाट माथि उठेर सूदूरकर्णालीको यात्रा गर्ने आँट गर्नुको पछाडी ग्रामीण नेपाली परिवेशलाई चिन्ने तीव्र इच्छा रहेको उनले सुनाइन् । त्यतिमात्र होइन तिब्बती संस्कृतिबाट प्रभावित उनी नेपाल चीन सीमा नजिक प्रचलनमा रहेको तिब्बती परिवेशलाई राम्रोसँग नियाल्न चाहन्थिन् । यसले उनको अध्ययनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास थियो । यात्राका लागि सुरुमा बुवाआमाले सहमति नजनाए पनि भोटिङमा भाग लिएर अन्तिम १० मा पर्दै गर्दासम्म उनका बुबाआमा उनको यात्राप्रति उत्साहित भइसकेका थिए । यात्राका सुरुका दिनहरुमा उनलाई निकै कठिन भयो । यस्तो यात्रामा निस्कनुनै दुर्भाग्य रहेछ भन्ने उनको सोचहरु यात्राका उत्तरार्द्धमा भने साहस र शक्तिमा रुपान्तरित भए । उनी भन्छिन् डोल्पा त्यस्तो ठाउँ हो जहाँ आफ्नो बाटो आफैें खोज्नुपर्छ । यात्राका क्रममा आफू हराएको अनुभव गर्दै कतिपटक उनी आफैंसँग रोइन्, बिलौना गरिन् । क्षितिजको डाँडामा देखिएका भेडाका बथानहरुले त्यतिबेला उनमा साहस भरिदियो । डोल्पाको डाँडामा भेडा गोठाल्नी ‘बजु’सँग अँगालो हालेर रुँदा आफूमा सञ्चा नेपालीपन भटेकी थिइन् उनले, साहसिक नारीभित्र लुकेको शलील हृदय सायद त्यही थियो । धेरै दिनअघि पकाएर झोलामा राखेका चिसा रोटी र पाउरोटीहरुमा जीवनका स्वादहरु भेटिएको थियो त्योबेला । मोत्से गुम्बामा मेला भर्न आएकाहरुसँग रोटी र अचारहरु बाँडेर खाएको र गुम्बामा ध्वजा बाँधेर फकिएको सम्झना उनको मस्तिष्कमा अझै ताजै छ । त्यही गुम्बाले दिएको उनमा आफैंमाथि विश्वास गर्ने आत्मबल थियो । हिमालका खोँचहरुमा मुस्काइरहेका बालसुलभ हाँसोहरुले उनलाई पाइला पाइलामा जीवनको परिभाषा दिइरहेको थियो । डोल्पाका स्थानीयहरुले पिएको जाँडका बटुकाहरुमा उनले जीवनको रस भेटेकी थिइन् । यात्राको अन्तिम समय जब तीन हप्तापछि आकाशतिर फर्किन्, रातमा आकाशका ताराहरुले उनलाई सफल यात्राको सफलताको बधाई दिइरहेजस्तो लाग्यो । जोकोहीसँग सजिलै नखुल्ने स्वभावको उनले यात्राको क्रममा भुगोल, प्रकृति, समाज र मानव समाज जुन साक्षात्कार गर्ने मौका पाइन्, त्यो नै थियो जीवनको प्रतिबिम्ब । सोलो ट्राभलिङको त्यही यात्राबाट अनुभव सँगालेकी उनले भनिन्,- ‘जो कोहीले जीवनमा घुम्नुपर्छ, पटक पटक घुम्नुपर्छ, अझ सम्भव छ भने एक्लै घुम्नुपर्छ, प्रकृति, संस्कृति र जनजीवनको गहिराईमा पुग्नको लागि ।’
देव गुरुङले बाँडे पूर्वाधार विकासको ४ करोड
काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् । उनले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरका हुन् । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड ६३ लाख, खेलमैदान निर्माणमा रु २९ लाख, भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन निर्माणमा रु एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा रु चार लाख विनियोजन गरिएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाँट गरेको हो । जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपाकिलाकाका प्रमुखको सहभागिता रहेको थियो । सोही सुझावलाई आधार मान्दै बसेको निर्देशक समितिले बजेट बाँडफाँटको टुङ्गो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान छ ।रासस
ग्लोबल आईएमइ बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, स्ट्याण्डर्ड चाटर्डले कमायो ५८ करोड
काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा ५२ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५२ दशमलब ४१ प्रतिशतले नाफा बढाएर ५१ करोड ७६ लाख पुर्याएको हो । जुन नाफा अघिल्लो आवको सोही अवधीमा कमाएको ३३ कराड ९६ लाख भन्दा १७ करोड ८० लाख रुपैंयाँले बढि हो । त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले पहिलो त्रैमासिकमा ५८ करोड ४५ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा ४७ करोड १२ लाख नाफा कमाउन सफल भएको थियो । दुबैं बैंकले एनएफआरएस लेखा प्रणाली अनुसार पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका हुन् । ग्लोबल आइएमई बैंकले पहिलो तीन महिनाको अन्त्यसम्म निक्षेपतर्फ ५ अर्ब ५ करोडले वृद्धि गर्दा कर्जा प्रवाहमा ८ अर्बले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जातर्फ तीन महिनाको अवधिमा बैंकले ०.६९ प्रतिशतले सुधार गरेको बैंकले आफ्नो रिजर्भ कोषको आकार ४ अर्ब ९० करोडबाट बढाएर ५ अर्ब ७३ करोड रुपैंया पुर्याएको छ । बैंकले पहिलो ३ महिनामा खुद ब्याज आम्दानी ५० प्रतिशत भन्दा बढीले वृद्धि गरी १ अर्ब २० करोड पुर्याएको छ । बैंकको कुल कोषको लागत ७.३२ प्रतिशत, आधार ब्याजदर १०.५९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.६४ प्रतिशत र पुँजी पर्याप्तता अनुपात ११.२७ प्रतिशत रहेको छ । उता स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप निरन्तर घट्दै गएको छ भने कर्जाको प्रवाहको आकार भने बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १७ अर्बले निक्षेप घट्दा कर्जा प्रवाह भने वृद्धि ८ अर्बले बढेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात २३.४४ प्रतिशत, निक्षेप कोषको लागत ४.८२ प्रतिशत र आधार ब्याजदर ८.१४ प्रतिशत रहेको छ ।
सेयर किनबेच गर्न ब्रोकर अफिस जानु नपर्ने, रकम राफसाफ पनि कम्यूटरबाटै हुने
काठमाडौं । सेयर कारोबार गर्नको लागि सेयर ब्रोकर कार्यालय जानु नपर्ने भएको छ । कारोबार रकम राफसाफ तथा फस्र्योटको काम पनि घरबाटै गर्न सकिने भएको छ । सेयर खरिदबिक्री आदेश अनलाइनबाट गर्न सकिने व्यवस्था भए लगत्तै सानिमा बैंकले कारोबार रकम राफसाफ पनि अनलाइनबाट नै गर्ने व्यवस्था गरेको हो । बैंकले थ्री इन वान एकाउन्टबाट यस्तो सेवा शुरु गरेको जनाएको छ । ‘ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइन मार्फत विना कुनै झन्झट सेयर कारोबार गर्न सक्ने छन् । साथै, सेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने छैन’ बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए । सानिमा बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा यो सेवा प्रदान गरेको र सानिमा क्यापिटलले सेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको बैंकले जनाएको छ । यस्तो सुविधा सम्पूर्ण व्यक्तिगत ग्राहकहरुले पाउने तर संस्थागत लगानीकर्ताले नपाउने बैंकले जनाएको छ ।
संस्थागत लगानीकर्ताले अनलाईनबाट सेयर कारोबार गर्न पाएनन्, किन चिनेन सिस्टमले ?
काठमाडौं । अनलाइनबाट सेयर किनबेच गर्ने नयाँ प्रणालीबाट संस्थागत लगानीकर्ता कारोबार गर्न नपाउँदा सेयर कारोबारमा कमी देखिएको छ । अनलाईनबाट सेयर कारोबार शुरु भएको पहिलो दिन ३ करोड रुपैयाँ बराबारको सेयर कारोबार भएको थियो भने दोस्रो दिन १० करोड र तेस्रो दिन करिव १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । व्यक्तिगत कारोबार आदेशलाई नयाँ प्रविधिले स्वीकार गरेको तर संस्थागत लगानीकर्ताको कारोबार आदेश (अडर) सिस्टमले स्वीकार नगरेको एक ब्रोकरले बताए । परिणाम बैंक, बीमा कम्पनी, म्यूचल फण्ड, इन्भेष्टमेन्ट कम्पनी लगायत संस्थागत लगानीकर्ता सेयर किनबेच गर्न पाएका छैनन् । ठूलो परिणाममा सेयर किनबेच गर्ने लगानीकर्ताले कारोबार गर्न नपाएपछि कारोबार रकम थोरै भएको बताएको छ । पुरानो सिस्टमबाट कारोबार बन्द गरिनु र नयाँ सिस्टमले काम नगर्नुले शुरुका दिनमा कारोबार जटिल र अन्यौलपूर्ण देखिएको छ । पुरानो सिस्टमको डाटा नयाँ सिस्टममा ट्रास्सफर गर्दा केही समस्या आएको तर त्यो ठूलो समस्या नभएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भनाई छ । ग्राहक पहिचाहन विवरण (केवाईसी)मा व्यक्तिलाई झै संस्थाको पनि तीन पुस्ते विवरण सिस्टमले मागेपछि समस्या आएको हो । सिस्टममा भएको उक्त त्रुटी सच्याउने काम भईरहेको र मंगलबारदेखि संस्थागत सेयर कारोबार पनि सुचारु हुन सक्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए । अनलाईन कारोबारको क्रममा शुरुमा देखिएका समस्यालाई समाधान गर्न नेप्से र सफ्टवेयर निर्माता वाईको गम्भिर भएको र धेरै समस्याहरु समाधान हुँदै गएको उनले बताए । ‘नेप्सेले लगानीकर्ता र ब्रोकरसँग समस्या र सुधारका क्षेत्रबारे जानकारी लिईरहेको छ । वाईकोले २२ जना इन्जिनियर खटार देखिएका समस्या समाधान गर्दै गएको छ’ उनले भने । दक्ष जनशक्तिको अभाव ब्रोकर कम्पनीहरुमा नयाँ सिस्टम चलाउन जान्ने जनशक्तिको कमी भएकोले पनि समस्या देखिएको बताइएको छ । ‘कम्प्यूटरमा विद्युत जोड्ने तार छुटेको छ भने पनि सिस्टमले काम गरेन भनेर ब्रोकरहरु नेप्सेमा आए’ नेप्सेका एक जना कर्मचारीले भने–‘नेप्सेले यसअघि नै हरेक ब्रोकरलाई कम्तिमा एक जना आईटीको दक्ष कर्मचारी राख्न परिपत्र गरेको थियो । धेरैले त्यसको पालना गरेको देखिएन ।’ नयाँ सिस्टम कसरी चलाउने भन्ने विषयमा ब्रोकर कम्पनीहरुलाई तालिम दिने, क्षमता विकास गराउने मामिलामा सरोकारवाला सबै निकाय चुकेका एक ब्रोकरले स्वीकार गरे । ‘हामीले पनि आफ्नो क्षमता विकास गर्न नसकेको हौ । नेप्से, सफ्टवयर निर्माता वाईको कम्पनीले पनि यस विषयमा समयमा ध्यान नदिएकोले नयाँ सिस्टम सञ्चालनमा केही समस्या देखियो’ उनले भने । संस्थगत लगानीकर्ताको डाटा राख्ने सिस्टम उपयुक्त ढंगले नबनाईनु, कारोबार आदेशलाई उचित रुपमा डिस्प्ले हुने सिस्टम नबनाईनु, अडर अनुसार किनबेच भयो कि भएन भनेर तत्काल कन्फर्म हुने सिस्टम नबनाईनु, बजार घटबढ भएको परिसूचकहरु संकेतमा, प्रतिशतमा, अंकमा प्रष्ट हुने गरी डिस्प्ले हुने सिस्टम नहुनु मुख्य समस्या भएको ब्रोकरहरु बताउँछन् । अनलाईन कारोबारमा देखिएको समस्याबारे छलफल गर्न सोमबार साँझ स्टक ब्रोकर एशोसोसिएशनको बैठक बसेको थियो । ‘नयाँ सिस्टमलाई कसरी प्रभावकारी बनाउने ? यसको कार्यन्वयनमा ब्रोकरहरुको तर्फबाट कसरी सहयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको र हाम्रो सुझावहरु नेप्से र वाईकोलाई दिन लागिएको एशोसिएशनका अध्यक्ष भरत रानाभाटले बताए ।
मुस्ताङमा ४ करोडको आधुनिक होटल, जापानको २८ वर्षे अनुभवले पर्यटक रिझाउँदै लालचन
काठमाडौं । काठमाडौं । मुंस्ताङको मार्फामा ४ करोड लागतमा आधुनिक होटल खुलेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापीत मुंस्तांङको मार्फामा होटल मार्फा प्यालेस खुलेको हो । २८ वर्ष जापान बसेर नेपाल फर्किएका मोहन लालचनले होटल खोलेका हुन् । होस्पीटालिटी म्यानेजमेन्टमा संसारभर छुट्टै पहिचान बनाएको जापानमा २८ वर्ष बसेर फर्किएका लालचनले जापानी प्रबिधिमै होटलको निर्माण गरेका छन् । सम्भवतः मार्फा क्षेत्रकै आधुनिक र उत्कृष्ट सेवा दिने दाबी गरिएको होटल निर्माणमा समेत जापानी प्राविधिकहरु ल्याइएका थिए । होटल साढे २ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा करिब १५० जना अट्ने क्षमताको रहेको छ । होटलमा मुस्ताङमै फलेका आलु स्याउ लगायतको अर्गानिक फलफूलको स्वाद लिन पाइन्छ । होटल सञ्चालक मोहन लालचन होटलले निर्माण गरेको जापानिज प्रविधिको काठ घरले होटललाई थप आकर्षक देखाएको छ । यो घर लालचनले जापानबाटै प्राविधिक ल्याएर निर्माण गरेका हुन् । दुर्इतले काठघर पूर्णतय काठबाट बनेको छ । होटलमा २४ कोठा रहेको छ भने एउटा बैठक कोठा पनि रहेको छ । मार्फामा पर्यटन विकास गर्नका लागि होटल सञ्चालन गरेको लालचनले बताए । पर्यटनका दृष्टिले मुस्ताङ धेरै सम्भावना भएको जिल्ला हो, विदेशी पर्यटकमात्र होइन, आन्तरिक पर्यटक पनि मुस्ताङ ल्याउन सकिन्छ। तर जति आउनुपर्ने हो, अहिले त्यति पर्यटक आएका छैनन् । धेरै फिल्मको सुटिङ पनि मुस्ताङमा नै हुने गरेको छ। यो ठाउँ धेरै सुन्दर छ, लालचनले भने । प्रकृतिले धेरै कुरा दिएको छ, अब पर्यटन विकासका लागि व्यक्ति आफैले पनि गर्नुपर्छ। पर्यटक आउने वातावरणको सिर्जना हामीले नै गर्ने हो। लालचनले मार्फाको ५ रोपनी जग्गामा स्याउ खेती गरेका छन् । यो सँगै उनले ओखर खेती पनि गरेका छन् । २८ वर्ष जापान बस्दाका अनुभवलाई मार्फामा उतारिरहेको लालचन बताउँछन् । उनले पोखरा लगायत जापानमा समेत होटल तथा रेस्टुरेन्टमा लगानी गरेका छन् । २८ वर्ष जापान बसेपनि उनले नेपाली नागरिकता त्यागेका छैनन् । आफु नेपालको मायाले मुस्ताङ फर्किएको बताए । नाफा भन्दा पनि पर्यटन विकास विस्तार गर्न मुस्ताङ फर्किएको लालचन बताउँछन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य गन्तव्य मुस्ताङ बनिरहेको छ । विशेषगरी यातायात सञ्जालमा सजिलै निजी सवारी लैजान पाउने भएपछि पर्यटकको चाप मुस्ताङमा बढेको हो । अहिले दैनिक सयौंको संख्यामा जिप मोटरसाइकल र हवाईमार्ग हुदैं मुस्ताङ घुम्ने पर्यटकको संख्या बृद्धि भएको छ । तर सुविधा सम्पन्न होटलको अभावमा यात्रुहरुले भने समस्या भोग्नु परेको छ ।
विभिन्न २१ कम्पनीले ३ अर्ब १२ करोडको आर्इपीओ बिक्री गर्दै
काठमाडौं । विभिन्न २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको साधारण सेयर (आर्इपीओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । ती मध्ये जोशी हाइड्रोपावरले साधारण सेयर बिक्रीको अनुमति पाइसकेको छ । बोर्डमा आवेदन दिएका जलविद्युतसँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । सयपत्री हाइड्रोपावरले ३ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । शुभम् पावरले पाँच करोड ८० लाख रुपैयाँ, रुरु जलविद्युत् परियोजनाले ४ करोड ७ लाख रुपैयाँ र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ । त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ तथा ग्रीनलाइफ हाइइड्रोपावरले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । सो कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ, युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख रुपैयाँ र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले दुई करोड, लघिङ बुद्ध पावरले नौ करोड ७८ लाख रुपैयाँ र युनियन हाइडेल कम्पनीले पाँच करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । साधारण सेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ । सो संस्थाले रु ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाको रु चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको दुई करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री स्वीकृतिको चरणमा छ । अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल लिमिटेड पनि छ । सो कम्पनीले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यस्तै स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि स्वीकृतिको चरणमा छ । बोर्डले चालु आवको हालसम्म एक अर्ब ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विभिन्न चार कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति लिएका छन् । अनुमति लिएकामध्ये कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरिसकेको छ । यस्तै चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच करोड ४० लाख रुपैयाँ र हिमालयन ऊर्जा विकास कम्पनीले स्थानीयवासीलाई ९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि एक अर्ब ४४ करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ । रासस
नेप्सेकाे विवादित सफ्टवेयरले काम गरेन, दाेष सेयर ब्रोकर र क्लियरिङ बैंकलार्इ
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले पूर्ण स्वाचालित अनलाईन कारोबार प्रणालीले काम नगर्नुमा सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकहरु दोषी भएको जनाएको छ । नेप्सेले प्रयोगमा ल्याएको सिस्टममा कुनै समस्या नभएको तर सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकले दिने सेवा कमजोर भएकोले लगानीकर्ताले समस्या भोग्नु परेको नेप्सेको दावी रहेको छ । साेमबार नेप्सेकाे वेवसाइटमा देखिएकाे गम्भिर समस्या पूर्ण स्वाचालिन नेप्से अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएको तेस्रो दिनसम्ममा पनि केही समस्या रहेको स्वीकार गर्दै नेप्सेले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–लगानीकर्ताले रियल टाइम कारोबार देख्न नसक्ने, एउटै कम्पनीको सेयर मूल्य एक ब्रोकर र अर्को ब्रोकर कम्पनीमा फरक देखिने, लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्यौट गर्न नसक्ने समस्या रहेको लगानीकर्ताले गुनासो गरेका छन् । ती समस्या क्रमशः हल गरिने छ । नेप्सेको कारोबार प्रणाली र नेप्सेको वेवसाइटमा डाटा एक्स्चेञ्जमा समस्या देखिएकोले लगानीकर्ताले रियल टाइम कारोबार हेर्न नपाएको नेप्सेको प्रष्टीकरणमा उल्लेख छ । एउटै कम्पनीको सेयर मूल्य एउटा ब्रोकर अफिसमा एउटा र अर्को ब्रोकर अफिसमा अर्को देखिनुको कारण ब्रोकरहरुले प्रयोग गरेको सिस्टममा खराबी भएको नेप्सेको दावी छ । ‘प्रत्येक ब्रोकरले कनेक्सन स्थापित गर्ने क्रममा अवविच्छन्न रुपमा कनेक्सन स्थापित गर्न नसकेको, अर्को ब्रोकर भन्दा फरक समयमा सम्पर्क स्थापित गरेको लगायतका कारणले फरक विवरण देखिएको हुन सक्छ’ नेप्सेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्लियरिङ बैंकले रकमको विद्युतीय स्थान्तरणलाई सहज नबनाएकोले लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्यौट गर्न नसकेको नेप्सेको भनाई छ । नेप्सेमा आवद्ध चार बैंक मध्ये एउटासँग मात्र तत्काल राफसाफ तथा फछ्र्यौट गर्न सक्ने सुविधा भएको, अरु तीन वटा बैंकले तत्काल राफसाफ तथा फछ्र्यौटको सेवा दिन नसकेको नेप्सेले जनाएको छ । पूर्ण स्वाचालिन नेप्से अनलाईन कारोबार प्रणालीसँग नेप्सेका परिसूचक गणना विधि परिवर्तन भएको हल्लाको पनि नेप्सेले खण्डन गरेको छ । ‘नेप्सेले शुरुदेखि नै संसारभर प्रचलित भ्यालु वेज्टेड इन्डेक्स विधि अनुसार परिसूचक गणना गर्दै आएको र त्यसमा कुनै परिवर्तन नभएको नेप्सेको भनाई छ । तिहारअघिबाट लागू गरिएको सेयर अनलाईन अनलाइन ट्रेडिङ सिस्टमले राम्रो काम नगरेपछि यसले सेयर बजारमा ठूलो चर्चा पाएको छ । नेप्सेले प्रयोगमा ल्याएको नयाँ प्रविधि भित्र्याउने क्रममा नै विवादमा तानिएको थियो । सस्तो प्रविधिलाई महँगो मूल्य तिरेको, खरिद प्रक्रिया अपारदर्शी रहेको, पुरानो प्रविधि भित्र्याएको भन्दै यसको शुरु देखिनै आलोचना भएको थियो । यसै विषयलाई लिएर नेप्से र पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबीच लामो विवाद समत भएको थियो ।
तनहुँको बन्दीपुरमा ‘बन्दीकापुर’ कृत्रिम ताल बन्ने, २ करोड ५० लाख खर्च गरिने
काठमाडौं । तनहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो । आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित पार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिका–२ र ४, गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ । तालको नाम ‘बन्दीकापुर ताल’ राखिनेछ । ताल निर्माण गर्न बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष हरेराम थापाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिका अध्यक्ष थापाले ताल निर्माणका सम्बन्धमा बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेकासँग छलफल गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार लमजुङको बेँसीशहरमा कात्तिक ३० र चितवनमा मङ्सिर १ गते बन्दीपुरेसँग छलफल कार्यक्रम राखिएको छ । समितिले ताल निर्माणका लागि बन्दीपुरेसँग शेयर आह्वान गर्ने तयारीसमेत गरेको थापाले बताए । करीब रु दुई करोड ५० लाखको लागतमा बन्ने तालका लागि विभिन्न निकायबाट स्रोत जुटाइनेछ । ताल बनाउन शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको छ । तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गर्नुभएको थियो । निर्माण शुरु भएको दुई वर्षभित्र ताल निर्माण सक्ने लक्ष्य लिइएको छ । सात रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा र आठ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गरी ताल निर्माण गर्न लागिएको समितिका पूर्वअध्यक्ष सुदर्शन प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा अधिग्रहण गर्ने कामसमेत शुरु भइसकेको छ । समितिले रु ११ लाखको लागतमा ५ आना जग्गा खरिद गरिसकेको छ । उक्त रकम पनि समितिका सदस्यहरुबाटै उठाइएको उनले बताए । उक्त ताल वरिपरि होटलसमेत खोल्ने योजना बनाइएको छ । साथै तालमा पौडी प्रशिक्षण, डुङ्गा व्यवसायलगायत सञ्चालन गरिनेछ । तालमा पानीको व्यवस्था गर्न रानीवन र गुरुङ्चे डाँडामा ठूला–ठूला ट्याङ्की बनाइनेछ । महोत्सव तयारी अन्तिम चरणमा यही कत्तिक ३० देखि दमौलीमा शुरु हुन गइरहेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी अघि बढाइएको छ । महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए । रमाइलो मेलाको सामग्री जडान, स्टलको छाना राख्ने काम तीव्रसाथ भइरहेको छ । ‘प्रचारप्रसारका व्यानर, पम्प्लेट टाँस्ने काम अन्तिम चरणमा पुगेको छ । उनले भने, “प्रवेशद्वार पूर्व मुग्लिन पुल र पश्चिम दुलेगौँडामा व्यानर टाँगिसकिएको छ । जिल्लाका भिन्न भागमा पनि व्यानर र गेट निर्माण भइसकेको छ ।” परिषद आयोजना तथा विभिन्न जातीय सङ्गठनको सहआयोजनामा हुने महोत्सवमा विभिन्न प्रतियोगिता हुने बताइएको छ । महोत्सवलाई पृथकता दिन महोत्सव अवधिमा दोहोरी गीत प्रतियोगिता, व्याडमिन्टन र कराँते प्रतियोगिता हुने भएको परिषद्का सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापामगरले बताए । महोत्सवबाट हुने मुनाफाले आदिवासी जनजातिको सङ्ग्राहलय बनाउने मुख्य उद्देश्यअनुरुप महोत्सवको आयोजना गरिएको हो । महोत्सवमार्फत् जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूनाग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको मिलाइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, आदिवासी जानकारीका स्टल, आदिवासी जनजाति सम्बन्धी पुस्तक प्रदर्शनी, कृषि उत्पादन बिक्री तथा प्रर्दशनका कक्ष, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री, कम्पयुटर, सञ्चार, शैक्षिक प्रदर्शनी र बिक्री कक्षलगायतका गरी २३० कक्ष रहनेछन् । रासस