कर्णालीकाे जिल्ला अस्पताललाई काेराेना नियन्त्रण गर्न १० करोड बजेट विनियोजन

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक/एक करोड उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा पनि एक/एक करोड बजेट पठाइने केसीले बताइन् । उनका अनुसार मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख पठाइनेछ । दोस्रो लहरको कोरोना महामारीबाट यहाँका नागरिकहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न एकसाता अघि एक अर्ब बजेट विकास बजेटबाट रकमान्तर गर्ने कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको थियो । यसमा ५० करोड प्रदेश विपद् कोषमा जम्मा गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले पाँच जिल्लामा अक्सिजनसहित १०० बेड तयार गर्नेगरी काम थालेको छ । सरकारका प्रवक्ता केसीका अनुसार कालीकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित १०० बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयारी गरिनेछ । प्रदेश अस्पतालमा अक्सिजनसहित ५०० बेडको तयार गर्ने लक्ष्य अनुसार अघि बढेको र तत्काल १०० बेड थप्ने काममा तीव्रता दिईएको प्रदे सरकारले जनाएको छ । रासस  

बजेटमा एनएमबीएको सुझावः गाभ्ने तथा गाभिने संस्थालाई सुविधा दिऊँ, लघुवित्तबीच अन्तर बैंक कारोबार गराऊँ

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) ले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न सुझावहरु पेश गरेको छ । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि संघले राष्ट्र बैंक समक्ष विभिन्न १० बुँदे सुझावहरु पेश गरेको हो । संघले आगामी बजेटमा लक्षितवर्गलाई आवश्यकता अनुसार सस्तो ब्याजदरमा कर्जा लगानी गर्न लघुवित्त कोष स्थापना गर्ने, गाभ्ने तथा गाभिने संस्थालाई प्राेत्साहन गर्ने लगायत लघुवित्तबीच अन्तर बैंक कारोबार गराउने व्यवस्था सहितका विभिन्न १० बुँदे सुझावहरु पेश गरेको हो । यस्ताे छ एनएमबीएकाे सुझाव लघुवित्त कोष स्थापना गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई लगानी विस्तार गर्न आवश्यक वित्तीय स्रोत हालसम्म बैंक तथा वित्तीय संस्थाहरु (थोक कर्जा प्रवाह गर्ने लघुवित्त संस्था समेत) ले उपलब्ध गराउने थोक कर्जा रहेको छ । यस्तो कर्जाको ठूलो हिस्सा नियमन ब्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरु (क, ख र ग वर्गका) ले उपलब्ध गराउने विपन्न वर्ग कर्जा (डीएसएल) को रहेको छ । कोरोना भाइरसको कारण सुस्त भएको अर्थतन्त्रलाई चलायमान बनाउन ग्रामीण क्षेत्रमा उद्यम प्रवर्द्धनका लागि आगामी दिनमा लघुवित्त संस्थाहरुले थप लघुकर्जा विस्तार गर्नुपर्ने देखिएको छ । यस सन्दर्भमा लघुवित्त संस्थाहरुका लागि एउटा लघुवित्त विशेष कोषको व्यवस्था गर्न उपयुक्त हुने छ । यस प्रकारको कोषको व्यवस्था विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहुलियतपूर्ण ऋणबाट समेत गर्न सकिने देखिएको छ । यस्तो ब्यवस्था हुनसकेमा लघुवित्त संस्थाहरुले लक्षित वर्गलाई आवश्यकता अनुसार सस्तो ब्याजदरमा कर्जा लगानी गर्न मद्दत मिल्ने विश्वास समेत गरिएको छ । लघुवित्तको लागि छुट्टै कोषको व्यवस्था होस्ः बसन्तराज लम्साल लगानीयोग्य वैकल्पिक स्रोत सम्बन्धमा लघुवित्त वित्तीय संस्थाहरुलाई लगानी विस्तार गर्न सीमित स्रोतमा निर्भर हुनु परेको कारण यी संस्थाहरुमा बेलाबखत लगानी योग्य स्रोतको अपर्याप्तता तथा कोषको उच्च लागत प्रमुख समस्याका रुपमा देखा परिरहेको छ । लगानीयोग्य स्रोतको अन्य विकल्पको रुपमा नेपाल सरकारको स्वामित्वमा रहेका नागरिक लगानी कोष तथा कर्मचारी संचय कोष लगायतका गैर बैंकिङ्ग संस्थाहरुबाट सहुलियतपूर्ण ऋण तथा अन्य लगानीको व्यवस्था हुन सकेमा यी संस्थाहरुले लक्षित वर्गलाई आवश्यकता अनुसार सस्तो ब्याजदरमा कर्जा लगानी गर्न मद्दत मिल्नेछ । यस व्यवस्थाबाट सम्बन्धित संस्थाहरुलाई पनि लगानीका थप अवसरहरु सिर्जना हुनेछ । सहुलियतपूर्ण कर्जा उपभोग गर्ने नेपाल सरकारले त्यस बैंक मार्फत विभिन्न किसिमका ग्राहकहरुलाई उपलब्ध गराईएको सहुलियतपूर्ण कर्जा सुबिधाका प्रावधान र लघुवित्त वित्तीय संस्थाका लागि जारी निर्देशनका केही बुँदाहरुमा (स्थायी लेखा नम्बर तथा समूहको अनिवार्यता, कर्जा लगानी रकमको सिमा, आधार दर लगायत) रहेको भिन्नताका कारण यी संस्थाहरु सहुलियतपूर्ण कर्जा सुबिधामा सहभागी हुन सकिरहको छैनन् । तसर्थ, उल्लेखित प्रावधानहरुमा आवश्यक परिमार्जन गरी यी संस्थाका सदस्य ग्राहकलाई पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था गरिदिन उपयुक्त हुनेछ । विपन्न वर्ग कर्जा तथा ब्याजदर सम्बन्धमा लघुवित्त वित्तीय संस्थाहरुले प्राप्त गरिरहको कर्जा कोषको ब्याज दर वाणिज्य तथा विकाश बैंकहरुले आगामी असार मसान्त पश्चात आधार दर भन्दा कम गर्न नपाउने ब्यवस्था पुनरावलोकन गरि बजार दरमा आधारित हुनुपर्ने साथै लघुवित्त वित्तीय संस्थाहरुले विपन्न वर्गलाई वित्तीय पहुँच पुर्याईरहेको परिप्रेक्षमा कर्जा कोषको लागत कम गरि सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्न अधिविकर्ष कर्जा पाउने ब्यवस्था यथावत कायम गर्न उपयुक्त हनेछ । अन्तर बैंक कर्जा कारोबार सुविधा अन्य बंकै तथा वित्तीय संस्थाहरुले एक-आपसमा अन्तर बैंक कारोबार गर्ने गरे झैं लघुवित्त वित्तीय संस्थाहरु बिच कर्जा कोषको प्रभावकारी परिचालन एवं बिपन्न वर्ग अन्तर्गतको कर्जा कोषको पूर्ण सदुपयोग गर्न/गराउन निश्चित ब्याज दर कायम गरि लघुवित्त वित्तीय संस्थाहरुले समेत अन्तर बैंक कारोबार गर्ने ब्यवस्था गर्न उपयुक्त हनेछ । लघुबीमा प्रव्याजमा सहुलियत सम्बन्धमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको लघुबीमा कार्यक्रमको प्रव्याज (प्रिमियम)मा सरकारी अनुदान तथा सहुलियतको व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ । दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तारलाई प्रवर्द्धन गर्ने  बैंकिङ्ग पहुँच नपुगेका दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई शाखा विस्तार गर्न उत्प्रेरित/प्रोत्साहन गर्न सरकारी स्तरबाट कम्तीमा ३ वर्षको लागि प्रति शाखा १ करोडको दरले शून्य ब्याजदरमा कर्जा सापट उपलब्ध गराउन उपयुक्त हुने देखिन्छ । लघुवित्त संस्थालाई संस्थागत करको दायरा कम गर्ने  अन्य बैंक तथा वित्तीय संस्थाभन्दा पृथक उद्देश्य र परिवेशमा स्थापित भएका लघुवित्त वित्तीय संस्थाहरुले मुलतः ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई उनीहरुको घरदैलोमा गई सेवा पुर्याउँदै आएकाले यी संस्थाहरुलाई संस्थागत करको दायरा अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा कम गर्न उपयुक्त हुने देखिन्छ । यसरी प्राप्त हुने कर सहुलियत रकम ग्रामीण क्षेत्रमा लघुउद्यम प्रवर्द्धन गर्ने कार्यमा खर्च गर्ने व्यवस्था मिलाउन उपयुक्त हुने देखिन्छ ।  गाभ्ने तथा गाभिने संस्थालाई सुविधा लघुवित्त क्षेत्रको दीर्घकालिन स्थायित्वका लागि यस क्षेत्रलाई सुदृढीकरण (कन्सोलिडेशन) गर्न आवश्यक महसुस गरी लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने कार्यलाई प्रोत्साहन दिईएको छ । यस कार्यलाई थप प्रभावकारी बनाउन केहि समय नाफा करमा सहुलियत दिई प्रोत्साहन गर्न उपयुक्त हुने देखिन्छ । कर्मचारीको कर्जा सुबिधामा कर गणना गर्ने लघुवित्त वित्तीय संस्थाहरुले बिपन्न परिवारहरुमा घरदैलोमा गई सेवा प्रदान गर्ने भएकोले लघुवित्तका ऋणीहरुको अप्रत्यक्ष खर्च कटौती हुने र लघुवित्त वित्तीय संस्थाहरुको संचालन खर्च भने अधिक हुने भएकोले लघुवित्तमा कार्यरत कर्मचारीहरुले प्राप्त गर्ने कर्जा सुबिधा अन्तर्गत कर गणना गर्दा संस्थाले ऋणी सदस्यसंग लिने उच्च ब्याजदरका आधारको अनुपातमा हुने फरक रकम करयोग्य आयमा जोडी कर निर्धारण हनुे विद्यमान ब्यवस्थालाई परिमार्जन गरि/गराई कर्मचारीहरुले सञ्चयकोष तथा नागरिक लगानी कोषको ब्याजदरलाई उच्च ब्याजदर मानि गणना हुने व्यवस्था कायम गर्नु/गराउनु उपयुक्त हनेछ ।

बजेट अभावका कारण चालु आवमा कोटेश्वर–कलङ्की खण्डमा ‘फ्लाइओभर’ निर्माण अघि नबढ्ने

काठमाडाै । सडक विभागले कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालु आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने भनिए पनि अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको छैन । तीनवटै चोकमा निर्माण योजना बनाइएको भए पनि चालु आवमा ग्वार्को चोकमा निर्माण शुरु गर्ने गरी अध्ययन गरिएको सडक विभागले जनाएको छ । यसका लागि आवश्यक रकम विभागले अर्थ मन्त्रालयसँग माग गरेको विभागका प्रवक्ता शिव नेपालले बताए । उनले भने, ‘अर्थ मन्त्रालयमा भएको छलफलअनुसार चालु आवमा ठेक्का शुरु गर्न सकिने देखिएको छैन ।’ बजेट अभावका कारणले अर्थ मन्त्रालयले सहमति नदिएको हुनसक्ने प्रवक्ता नेपालले बताए । चालु आवमा डिजाइनका लागि रकम छुट्याइएको भए पनि निर्माणका लागि बजेट छुट्याइएको थिएन । अर्थ मन्त्रालयसँग निर्माणका लागि रकम मागेर बहुवर्षीय ठेक्का गर्न खोजिएको भए पनि मन्त्रालयले दिनसकेको छैन । कतिपय ठेक्कामा काम सम्पन्न भइसकेको भए पनि भुक्तानी दिन नसकेकामा थप दायित्व किन गर्ने भन्ने मन्त्रालयले सोचेको हुनसक्ने उनले बताए । उनले भने, ‘निर्माण व्यवसायीले भने जति नभए पनि विभागले कतिपय ठेक्का सम्पन्न भएकामा भुक्तानी गर्न बाँकी छ ।’ आगामी आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई छुट्याएको बजेटबाट पनि यसको निर्माण गर्न सकिने हुनसक्ने प्रवक्ता नेपालले बताए । अर्थ मन्त्रालयले सहमति दिएमा चालु आवमा सूचनासम्म निकालेर अर्को वर्षमा गर्ने गरी काम अघि बढाउन सकिने देखिएको छ । यससम्बन्धी फाइल अहिले अर्थ मन्त्रालयमा छ । केही समय पहिले मात्रै मन्त्रालयले विभागसँग ‘फ्लाइओभर’ निर्माणका बारेमा चासो देखाएर छलफल गरेको थियो । विभागले आफूसँग कागजात तयार रहेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन सहमति मागेको थियो । उनले भने, ‘ठूलो लगानी भएकाले उहाँहरुले थप छलफल गर्नुपर्छ भन्नुभएको छ ।’ चालु आवमा ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी विभागले योजना बनाएको थियो । चीन सरकारले केही वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएको छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ । ती स्थानमा ‘फ्लाइओभर’ बनाउन आकाशेपुल भत्काउन नपर्ने विभागले जनाउँदै आएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यो नै पहिलो फ्लाइओभर हुनेछ । निर्माण सुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ । नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने विभागले जनाउँदै आएको छ । विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीले नै ‘फ्लाइओभर’ निर्माण गर्न सक्ने विभागले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा योजनामा भए पनि अहिलेसम्म सतुङ्गलमा मात्रै निर्माण सुरु गरिएको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले सुरुङसँगै ‘फ्लाइओभर’ निर्माण गरिरहेको छ । तोकिएको अवधि (निर्माण सुरु भएको ४२ महिना)मा सम्पन्न भएमा यो नै नेपालको पहिलो ‘फ्लाइओभर’ बन्ने प्रवक्ता नेपालले बताए । विगतमा चक्रपथकै अर्को खण्डमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा ‘फ्लाइओभर’ निर्माण गर्ने छलफल भएको थियो । यी सबै ‘फ्लाइओभर’ निर्माण भएमा अबका केही वर्षपछि उपत्यकामा फ्लाइओभरको सङ्ख्या झण्डै आठ पुग्नेछ । उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थानमा बानेश्वर र जडीबुटीचोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ । बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ । विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण गरिने भएको छ । चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अण्डरपास’ निर्माण गरेको थियो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा जाम हुँदा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ को विकल्प खोज्न थालिएको हो । रासस

आगामी वर्षको बजेट कस्तो बनाउने ? शेखर गोल्छाको विचार

पहिले कहिल्लै नभोगेको महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक बर्ष पुरा भएको छ । हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौं । गत आर्थिक बर्ष र चालु बर्षको पहिलो त्रैमासमा पनि अर्थतन्त्र ऋणात्मक रह्यो । नेपाल उद्योग बाणिज्य महासंघले तयार पारेको राष्टिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०) ले चालु आर्थिक बर्षमा २.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोनाको दोस्रो लहरले अर्थतन्त्र पुरै ठप्प नभए यो वृद्धि सम्भव छ । आर्थिक बर्ष २०७८/७९ मा अर्थतन्त्र पूर्णयता लयमा फर्किने आंकलन छ । दुइ बर्षको न्युन वृद्धिपछि आगामी आर्थिक बर्षमा १०.४ प्रतिशतको वृद्धि हुने प्रक्षेपण नेट २०३० को छ । जसले ठूलो रोजगारीको माग गर्नेछ । नेट २०३० ले आगामी १० बर्षमा २३ लाख थप रोजगारी हुने प्रक्षेपण गरेको छ । आगामी १० बर्षको विश्लेषण गर्दा सबैभन्दा धेरै सन २०२२ र सन २०२५ मा सबैभन्दा बढि वृद्धि र रोजगारीको माग हुने देखिन्छ । तर नेट २०३० को कार्यान्वयन तत्काल शुरु गर्नुपर्नेछ । कोभिड पछिको पुनरोत्थान सहित १० प्राथमिकताप्राप्त क्षेत्र नेट २०३० मा समेटिएका छन । जसमा हामीले सजिलै कार्यान्वयन गर्न सक्ने सय योजना छन । सय मध्ये ४० योजनाको कार्यान्वयन तत्काल शुरु गर्न सकिन्छ । महासंघले आगामी आर्थिक बर्षको बजेट सुझाव तयार पार्दा नेट २०३० लाइ आधार बनाएको छ । सिमित स्रोत भएको मुलुकका असिमित आवश्यकता पुरा गर्नुपर्ने चुनौति बजेटमा रहन्छ । त्यसैले यसपटकको बजेट मुख्यगरि निम्न क्षेत्रमा बढि केन्द्रित हुनुपर्ने देखिन्छ । – महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार – प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रम – कृषि इकोसिस्टमको पुर्नसंरचना – सार्वजनिक सेवामा प्रविधि र सुशासन – पूर्वाधार विकास – निजी क्षेत्र प्रोत्साहन विशेष कार्यक्रम अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई फैलिन लिन नदिनु हो । पहिचान परिक्षण र उपचार गर्न बर्षको भन्दा बढि आवश्यक छ । स्थानीय तहमा शिलान्यास भएका अस्पताल र अन्य संरचनाको पनि सिघ्र संचालन आवश्यक छ । स्थानिय तहले न्युनतम सुविधा सहितको अस्थायी आइसोलेसन, क्वारिन्टीन र अस्थायी अस्पताल निर्माण गर्नुपर्नेछ । अक्सिजनको पर्याप्त आपूर्तिको सुनिश्चितता गरिनुपर्छ । काम नभएर गाउतिर हिडेका व्यक्तिहरुको व्यवस्थापन फेरि आवश्यक हुनसक्छ । नगद अनुदानको सट्टा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनासंग जोडेर कामसंगै राहत उपलब्ध गराउनु उपयुक्त हुन्छ । कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन लगायतका व्यवसायमा सरकारद्धारा गत बर्ष घोषणा भएका बैंकिग लगायतसबै सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने छ । केहि थप गर्नुपर्ने आवश्यकता पनि छ । कृषिको व्यवसायीकरण वा आधुनिककणका लागि विभिन्न प्रयास दशकौ देखि भइरहेका छन । तर यसको उल्लेखनीय उपलब्धि हासिल हुन सकेको छैन । त्यसैले अब कृषि इकोसिस्टमकै पुर्नसंरचना आवश्यक छ । खेत देखि चुलोसम्मकै प्रणाली पुर्नबिचार नगरि लाभ लिन नसकिने देखिएको छ । नाफामूलक कृषिमा नगइ हुदैन । इ– हाटबजार जस्ता नया योजनाले सुधार ल्याउछ । उद्योग र कृषिमा रहेको भूमि सम्बन्धि हदवन्दी हटाउनुपर्छ । सर्वसाधारण र व्यवसायीले सरकारबाट पाउने सेवाको गुणस्तरका बिषयमा बारम्बार गुनासो गरिरहेको हुन्छ । अब प्रविधिको उच्चतम प्रयोगबाट शुसासन कायम गर्ने तर्फ बजेटले विशेष पहल गर्नु आवश्यक छ । यसका लागि हरेक पालिकामा तिब्र गतिको इन्टरनेट सेवाको पहुँच आवश्यक छ । शिक्षामा सबैको पहुच बढाउन गरिव परिवारका बालबच्चालाई निशुल्क कम्प्युटर र इन्टरनेट स्थानीय सरकार मार्पmत उपलब्ध गराउनु पर्नेछ । बजार अनुगमन प्रक्रिया मर्यादित हुनुपर्यो र एकद्धार अनुगमन हुनुपर्ने देखिन्छ । कालाबजारी ऐन जस्ता पुराना कानुन खारेज हुनुपर्ने हाम्रो माग छ । यसैगरि निजी क्षेत्रसंग प्रत्यक्ष सरोकार भएका नीति ऐन नियम बनाउदा अनिवार्य रुपमा निजी क्षेत्रसंग छलफल गरेर मात्रै बनाउनुपर्छ । दोस्रो लहर आएपनि रोजगारी अभिवृद्धि गर्न सक्ने र आर्थिक महत्व बोकेका आयोजनाको निर्माण अवरुद्ध हुन दिनु हुदैन । जसमा राष्ट्रिय गौरबका आयोजनाको पुर्नसंरचना गरि काम अघि बढाउनुपर्छ । औद्योगिक पूर्वाधार तर्फ विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, निर्यात प्रसोधन जोन, आइटी पार्क समेतको प्रवद्र्धन गर्ने गरि शक्तिसम्पन्न स्वतन्त्र नियमन एवं प्रवद्र्धन निकाय स्थापना गर्नुपर्नेछ । पूर्व पश्चिम रेलमार्ग प्राथमिकतामा रहनुपर्छ । कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा १४ प्रतिशत हाराहारी छ । जसमा उत्पादनमूलक क्षेत्रको मात्र हेर्ने हो भने करिब साढे पाच प्रतिशत छ । नेट २०३० मा उल्लेखित कार्यक्रम कार्यान्वयन हुन सके १० बर्षमा समग्र उद्योग (उत्पादनमूलक, निर्माण लगायत) को अर्थतन्त्रमा हिस्सा २३ प्रतिशत पुर्याउन सकिन्छ । नेट २०३० मा धेरै अन्तरसम्बन्धित बिषय छन । यसमा विस्तृत अबको प्रस्तुतिमा रहने नै छ । तर पनि केहि बिषय जस्तो कि निजी विद्युत आयोजनाबाट उत्पादित बिजुली व्हीलिग चार्ज तिरेर सिधै उद्योगलाई बेच्न पाउने व्यवस्था हुनुपर्नेछ । तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार महसुलमा दुइ तहको फरक हुनुपर्छ । नेपाल उद्योग बाणिज्य महासंघले ५० लगानीकर्ता ५० उद्यमी कार्यक्रम शुरु गरेको छ । यो निजी क्षेत्रबाट थालिएको विशेष र पृथक योजना हो । तर स्टार्ट अपको बिकासका लागि सरकारले विशेष र पृथक नै योजना बनाउन आवश्यक हुन्छ । पछिल्लो दशकमा विशेष गरि जलविद्युत उत्पादन प्रसारण र वितरणमा संसारभर नै धेरै परिवर्तन आएको छ । नेपालमा पनि लोडसेडिग हटेको छ तर सुक्खा मौसममा आधा भन्दा बढि बिजुली भारतबाट आयात भइरहेको छ । आयात प्रतिष्थापन गर्न सक्ने वस्तुको नै आयात बढिरहेको छ । भारतमा बिजुलीको भाउ घटदै गइरहेको छ भने बंगलादेशबाट माग आइरहेको छ । यस्तो अवस्थामा जलविद्युत उत्पादन एवं प्रसारण रणनीति बनाउन आवश्यक छ । महासंघ उक्त रणनीति बनाउने कार्यको नेतृत्व लिन तयार छ । संयुक्त राष्टसंघले पनि ५ बर्षको संक्रमणकाल पछि नेपाल अतिकम बिकसित मुलुकबाट माथि उक्लिने गरि एक प्रकारको सहमति दिइसकेको छ । तर यसले के असर गर्छ भन्ने कुरामा न पहिले धेरै गृहकार्य भयो न अहिले हुदैछ । यो निक्कै चुनौतिपुर्ण रहेको कुरा आगामी दिनले देखाउने नै छ । आजको मितिमा हेर्दा कम्तीमा २० प्रतिशत निर्यात प्रभावित हुनेछ । विज्ञहरुले सबै प्रभावित हुदैन, केहि सहुलियत त पाइहालिन्छ नि भन्नु भएको छ । तर भोली त्यसको ग्यारेन्टी के ? पाइने नै हो भने कसरी पाइन्छ भनेर अहिले देखि नै कम भन्दा कम क्ष्ँति हुने गरि काम गरौ । अब हामीले रणनीति बनाउनुपर्छ । हामी उद्योग बाणिज्य महासंघमा यसको तयारी थालि सकेका छौ । हाम्रो राष्टिय आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) को एक प्रमुख इनिसिएटिभ्समा स्तरोन्नति पछिको निर्यात रणनीति छ । हाम्रो निर्यात प्रवद्र्धन समितिले यसमा काम गर्नेछ । सरकारले पनि विश्व व्यापार संगठनमा १२ बर्षको संक्रमणकालीन अवधिका लागि पहल गर्नुपर्छ । बंगलादेश यसमा तयार देखिन्छ । यस्तै मुलुक मिलेर काम गर्न सकिन्छ । महामारी केहि समय रहने र तत्पश्चात पनि प्राकृतिक स्थानमा उच्च मुल्य अभिवृद्धि सहितको पर्यटन गन्तव्यको माग हुने देखिन्छ । माइस लगायतका पर्यटनमा विशेष पहल आवश्यक छ । विज्ञान सूचना प्रविधि तर्फ ग्लोबल इनोभेसन इन्डेक्स २०२० अनुसार नेपाल संसारका १ सय ३१ मुलुकमध्ये ९५ औ स्थानमा छ । यसमा सुधारका लागि विशेष पहल आवश्यक छ । साना मझौला उद्यममा परेको समस्याबारे विभिन्न अध्ययन भएका छन । पूजी र माग अभावमा कम्तीमा ४० प्रतिशत यस्ता उद्यम समस्यामा रहेको हाम्रो आंकलन छ । त्यसैले विशेष साना तथा मझौला उद्यम बिकास कार्यक्रम आवश्यक छ । महिला उद्यमशीलता बिकासका लागि सातैवटा प्रदेशमा महिला उद्यमीहरुका लागि औद्योगिक ग्रामका साथै उत्पादित वस्तुहरुको विक्री कक्ष स्थापना गर्नु आवश्यक छ । मुलुकमा उदारीकरण शुरु भएको तीन दशक भएको छ । अब दोस्रो चरणको सुधार आवश्यक छ । जसले विश्वमा भएको परिवर्तनलाई समेत आत्मसात गरि उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्नेछ । अन्तराष्टिय बजारको गतिशीलतालाई मध्यनजर गरि सेवा एवं वस्तु निर्यातको सम्भाव्यता पहिल्याउनेछ । वौद्धिक सम्पत्तिका बिषयमा बढदै गएका चुनौति सामाना गर्ने छ । सबैभन्दा पहिले सम्पत्ति अभिलेखीकरणको अवसर सरकारले प्रदान गर्नुपर्छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ लागु हुदा अहिले जस्तो प्रभावकारी लेखा राख्ने व्यवस्था नभएको र धेरैजसो क्षेत्र राजस्वको दायरामा नसमेटिएको वा तत्कालीन अवस्थामा छुट पाइरहेको हुदा हालसम्म उक्त ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । ऐनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक बर्ष २०७८/७९ मा एक पटक सम्पत्ति अभिलेखीकरणको अवसर प्रदान गर्नुपर्ने आवश्यकता छ । नीतिगत सुधारले राजश्व प्रसासन र संकलनमा पनि सुधार हुनेछ । राजश्व सम्बन्धि विभिन्न कानुनी व्यवस्थाहरु कार्यान्वयनका क्रममा उद्यमी व्यवसायीले प्रक्रियागत समस्या भोग्नु परिरहेको छ । यस्तो अवस्थामा एकिकृत कानुन निर्माणसंगै कर प्रशासनको पुर्नसंरचना, प्रविधिको प्रयोग र दर समायोजन आवश्यक छ । धेरै मुलुकले लगानी आकर्षित गर्न संस्थागत आयकरको दर घटाइसकेको सन्दर्भमा प्रतिष्पर्धी व्यवसायिक वातावरणका लागि नेपालमा पनि दर घटाउन आवश्यक छ । यसैगरि द्धन्दका बेला बढाइएको मुल्य अभिवृद्धिकरको दरलाई अहिलेसम्म समायोजन गरिएको छैन । हाम्रो माग १३ प्रतिशतको दरलाई १० प्रतिशतमा झार्नुपर्छ । यो व्यवसायीको हितका लागि मात्र होइन । यसले उपभोक्ताको क्रयशक्ति बढछ र समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्नेछ ।

‘प्राप्त भएको बजेटको सिलिङ्गले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न पनि पुग्दैन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षका लागि प्राप्त भएको बजेटको सिलिङ्गले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न पनि नपुग्ने बताएको छ । प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले अर्थ मन्त्रालयबाट ७ अर्ब २८ करोड ५१ लाख रुपैयाँको बजेट सिलिङ्ग प्राप्त भएको तर मन्त्रालयको चालु खर्च ८ अर्ब २९ करोड १० लाख रुपैयाँ रहेको बताए । यस्तै पुँजीगत खर्च १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबर हुने पनि बताए । त्यसैले यसपटक पनि प्राप्त हुने सबै बजेट अनिवार्य दायित्वका लागि खर्च गर्नुपर्ने देखिएको उनले बताए । तरपनि अनिवार्य दायित्वमा खर्च गर्न रकम अपुग हुने बताए । मन्त्रालयको योजना अनुसारका कार्यक्रमका लागि बजेट विनियोजन गर्ने हो भने मन्त्रालयलाई प्राप्त भएको बजेट सिलिङ्ग भन्दा ५ अर्ब बढी रकम अपुग हुने पनि सचिव बस्यालले बताए । त्यसो त मन्त्रालयले हुलाक सेवाका लागि मात्रै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गर्नुपर्नेछ । यो रकम हुलाक सेवामा रहेका १८ हजार जनशक्तिको तलब भत्ताका लागि खर्च हुन्छ । यति धेरै खर्च हुने हुलाक सेवाबाट प्राप्त हुने राजस्व रकम भने बजेटको तुलनामा नगन्य हुने पनि उनले बताए । त्यसैले ठूलो रकम अनिवार्य दायित्व अन्तर्गत पर्ने तर बजेटको सिलिङ्गले नभ्याउने सचिव बस्यालले बताए । ‘हाम्रो मन्त्रालय अन्तर्गत यस वर्ष सिलिङ्ग प्राप्त भएको टोटल ७ अर्ब २८ करोड ५१ लाख छ । यसमा चालु वर्षमा जति छ त्यसमा १० लाख रुपैयाँ मात्रै बजेटको सिलिङ्ग बढेको छ । त्यस मध्ये हाम्रो मन्त्रालयलाई एक अर्ब ८४ करोड १४ लाख पुँजीगत खर्च छ । चालु खर्च आठ अर्ब २९ करोड १० लाख रुपैयाँ छ । सबै अनिवार्य दायित्वमा जान्छ मन्त्रालयको । दायित्व कस्तो छ भने ५ अर्ब २९ करोड चाहिं हाम्रो अनिवार्य दायित्व छ । ४ अर्ब त हाम्रो हुलाक क्षेत्रमै जान्छ । १८ हजार जनशक्ति हुलाक सेवामा परिचालित छन् । झण्डै ४ अर्ब तलब भत्ता, दैनिक खर्च टेलिफोन लगायतमा ४ अर्ब जति लाग्छ । त्यसमा पनि ७ अर्बको बजेट सिलिङ्ग हाम्रो मन्त्रालयमा छ । राजस्व बजेटको तुलनामा नगन्य छ । सर्भिस पनि प्रभावकारी छैन । राजस्व उठाएर आफै धानिन सक्ने अवस्थाको छैन् ।’, उनले भने । हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले प्राधिकरण मोडलमा जाने गरी विधेयक तयार गरी मन्त्रिपरिषद्मा पठाइसकेको छ । यस्तै मन्त्रालयले सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्काको प्रक्रियालाई पुरा गरिसकेको पनि सचिव बस्यालले बताए । हालको लागि अन्तशुल्कको स्टिकर, हुलाक टिकट, लालपुर्जा, सर्टिफिकेट लगायत छाप्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्का प्रक्रिया पुरा गरिसकेको बताए । यस्तै बनेपामा रहेको आइटी पार्कलाई सेक्यिुरिटी प्रिन्टिङ प्रेस बनाउने र खुमलटारमा रहेको जग्गमा आइटीपार्क बनाउने गरी तयारी गरिएको पनि जानकारी दिए । उनले भने ‘पोहोरसाल अलिकति विवादित रह्यो काम पनि हुन सकेन । डिस्टर्ब भएको अवस्था थियो । यो वर्षचाहिं हामीले सानो स्केलबाट जस्तै अन्तशुल्कको स्टिकर नेपालमै छाप्ने, त्यसैगरी हुलाक टिकट नेपाल भित्रै छाप्ने, लालपुर्जाहरु त्यसमै छाप्ने, र सर्टिफिकेटहरु छाप्ने हिसाबले र पेपर नोटको लागि पछि पूर्व तयारी भएपछि गर्नेगरी सानो स्केलले यो सेक्युरिटी प्रिन्टिङ प्रेसको काम अगाडि बढेको छ । अहिले ठेक्काको प्रक्रिया पुरा भएको छ त्यो अहिले भनेका सर्भिसहरु मात्रै दिने खालको छ । त्यसलाई अपग्रेड गर्दै लानुपर्ने हुन्छ ।’, उनले भने । छलफलमा सांसदहरुले नेपाल टेलिकमको सेवालाई सबैको पहुँचमा पुर्याउन र भरपर्दो सेवा दिनेगरी काम गर्न आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्न सुझाव दिएका छन् । त्यसबाहेक हुलाक सेवालाई आधुनिक प्रविधि मार्फत व्यवसायिक मोडलमा सञ्चालन गर्ने तर्फ कार्यक्रम बनाउन पनि सांसदहरुले सुझाव दिए ।

बजेट सिलिङप्रति कृषि मन्त्रालय असन्तुष्ट, कृषिलाई प्राथमिकता नदिएकाे आराेप

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गलाई लिएर संसदीय समिति सामु असन्तुष्टि पोखेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयका सचिवद्वय डा. योगेन्द्र कुमार कार्की र डा. पेम नारायण कँडेलले आगामी आर्थिक बर्षको बजेट सिलिङ्गलाई लिएर असन्तुष्टी पोखेका हुन्। बैठकमा कृषि विकास सचिव डा. कार्कीले आगामी आर्थिक बर्षका लागि कृषि क्षेत्रलाई छुट्याइएको बजेट सन्तोषजनक नरहको बताए । उनले आगामी आर्थिक बर्षका लागि अर्थमन्त्रालयले जम्मा ३२ अर्ब रुपैयाँ मात्रै छुट्याएको बताए । जुन रकम चालु आर्थिक बर्षको तुलनामा करिब १५ प्रतिशतले कम रहेको छ । सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा कुल ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । बजेटको सिलिङ्ग कम भएर आउँदा कार्यक्रम निर्माण गर्न कठिन भएपनि सिलिङ्ग भित्रै बसेर कार्यक्रमहरु तयार पारिएको उनले बताए । अहिले नेपालमा ७ अर्बको स्याउ, ३ अर्बको आलु, ४ अर्बको कागती, ५ अर्बको प्याज आयात भइरहेकोले आगामी वर्षको बजेट मार्फत तिनै क्षेत्रमा केन्द्रीत भएका कार्यक्रमहरु ल्याउन लागिएको पनि सचिव कार्कीले बताए । यस्तै निर्यात हुँदै आएका बस्तुहरु चिया, कफि, अलैची, बेसार, अदुवालाई थप प्रवद्र्धन गर्ने किसिमले पनि कार्यक्रमहरु ल्याइने बताए । बैठकमा पशुपन्छी विकास सचिव डा. कँडेलले सम्भावनाका साथै रोजगारी समेत उल्लेख्य भएको कृषि क्षेत्रमा राज्यको प्राथमिकता नदेखिएको बताए । उनले कृषि क्षेत्रमा राज्यको प्राथमिकता नदेखिएको भन्ने कुरालाई बजेटको आकारले नै पुष्टि गरेको बताए । कृषि क्षेत्रको विकासका लागि प्राथमिकता दिएर अगाडी बढ्न आवश्यक रहेको पनि सचिव कँडेलले बताए । बैठकमा समितिका सदस्यहरुले माछा मासुमा नेपाल आत्मनिर्भर रहेको भन्दै सरकारले घोषणा गर्दै हिडे पनि छिमेकी मुलुक भारतबाट खुला रुपमा आयात भइरहेको बताए । यस्तै, सांसदहरुले बर्षेनी मुलुकभित्र मलको अभाव हुदाँ किसानलाई सधै समस्या हुने गरेको भएपनि सरकारले चासो नदेखाएको आरोप समेत लगाएका छन् ।

काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित काभ्रे उपत्यका स्मार्ट सिटीका लागि थप बजेट विनियोजन गरेको हो । गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । काभ्रे उपत्यकासहित झापाको गौरीगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, भक्तपुरको गुण्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रुपन्देहीको लुम्बिनी, धनकुटा, दाङको तुलसीपुर, दैलेखको दुल्लू, कञ्चनपुरको भीमदत्त र डडेल्धुराको अमरगढीलाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको हो । प्रत्येक स्मार्ट सिटी विकासका लागि रु एक अर्ब बजेट विनियोजन भएको शहरी विकास मन्त्रालयले जनाएको छ । ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि हालै रु एक अर्ब बजेट विनियोजन भएकाले वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन भइसकेको पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार यसअघि २०७४ असारमा गरिएको निर्णयमा विशेष महत्वका साथ स्मार्ट सिटी बनाउने केही शहरलाई यसपटकको निर्णयमा हटाइएको छ । ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयवासीले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ’, नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने । उनले इ–गभर्नेन्स् स्मार्ट सिटीको महत्वपूर्ण आधार भएकाले सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुनसक्नेछ । राष्ट्रिय योजना आयोगले भने यसअघिको स्मार्ट सिटी योजनामा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको थियो । यसअघिको स्मार्ट सिटी योजनाअुसार काभ्रेपलाञ्चोकको तीन नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतकै नयाँ शहर आयोजनाअनुसार तीन नगर स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा थिए । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्तर्गत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार सुरु गरेको थियो । पनौती नगरले त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गर्दै पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गर्ने निर्णय गरेको छ । धुलिखेल नगरले भने ठूलीवनमा चार दशमलव पाँच किलोमिटर अपाङ्गमैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउन्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भारको काम गर्ने योजना बनाएको थियो । अघिल्लो योजनामा काभ्रे स्मार्ट सिटी योजनाका लािग एकमुष्ठ रु पाँच करोड बजेट विनियोजन भएको थियो । सोमध्ये बनेपालाई दुई करोड तथा धुलिखेल र पनौती नगरलाई एक करोड ५० लाखका दरले बजेट विनियोजन भएको हो । सुरक्षित खाना, सफा पानी यातायात र पर्याप्त ऊर्जा शहरका मुख्य समस्या हुने भएकाले शहरलाई स्मार्ट बनाउन थालिएको बताइन्छ । सन् २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको छ । रासस

आगामी बजेटमा सांसदका रायः जनताका आवश्यकतालाई सम्बोधन गर्न जोड

काठमाडाैं । प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल गरेको हो । बैठकमा उपस्थित सबै सासंदहरुले जनताका माग र समस्याहरुलाई सम्बाेधन गर्नकाे लागि जाेड दिनु पर्ने धारणा राखेका छन् । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको बैठकमा सांसदहरुले आगामी बजेटमा जनताका आवश्यकतालाई सम्बोधन गर्ने, बजेट कार्यक्रमलाई थप प्रभावकारी बनाउने, बेरुजु घटाउने, चालु आयोजनालाई समयमै सम्पन्न गर्नेलगायत विषयमा विभिन्न सुझाव दिएका छन् । बैठकमा मन्त्रालयको ऊर्जातर्फका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयको प्रगति विवरण र आगामी बजेटका प्राथमिकताबारे जानकारी गराए । उनले चालु आवमा ५७ मेगावाट जलविद्युत् जडान भएको र राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पहुँच प्राप्त जनसङ्ख्या तीन प्रतिशत थप भएको बताए । सचिव घिमिरेले आगामी आवमा जलाशयमा आधारित विद्युत् परियोजनाको निर्माण, प्रशारण लाइन विस्तार, विद्युत् उपभोग विस्तारलगायत कार्यक्रम प्राथमिकतामा रहने समेत अवगत गराए । त्यसैगरी मन्त्रालयको सिँचाइअन्तर्गतका सचिव मधुसुदन अधिकारीले चालु आवमा सिँचित क्षेत्र विस्तार करीब १५ हजार हेक्टरमा थप भएको, ठूला तथा मझौला नदीमा तटबन्ध निर्माण ३८ किमी उपलब्धि भएको, ११० मौसम मापन केन्द्रमध्ये छ वटालाई स्वचालित गर्ने काम भएको र १४१ जलमापन केन्द्रमध्ये यस आवमा आठ वटालाई स्वचालित गर्ने काम सम्पन्न भएको जानकारी दिए । आजै बैठकमा खानेपानी सचिव माधव बेल्वासेले मन्त्रालयका प्रगति र आगामी आवका मन्त्रालयका प्राथमिकताबारे जानकारी गराए ।  मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको लागि खरीद प्रक्रिया पूरा गरी निर्माण कार्य शुरु गर्ने, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना दोस्रो चरणको वितरण प्रणालीको काम शुरु गर्नेलगायत आगामी बजेटको प्राथमिकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । समितिले यसअघि अर्थ, भौतिक तथा यातायात, शहरी विकास मन्त्रालय तथा राष्ट्रिय योजना आयोग र महालेखा परीक्षकको कार्यालयसँग पनि चालु आवको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा छलफल गरिसकेको छ । समितिले आगामी बैठकमा बाँकी मन्त्रालयसँग पनि सो विषयमा छलफल गर्ने जनाएको छ ।

५ कराेड बजेट विनियाेजन गरिएकाे काभ्रे स्मार्ट सिटीमा धमाधम बन्दै

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा रहेको छ । सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी एक गौरवको योजना हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष ०७३/०७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटी पुनः आब ०७४/०७५ मा दश स्मार्ट सिटी थपेर १३ पु¥याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्तर्गत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरेको छ । नगर उपप्रमुख रेखा दाहालले दुई करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनःनिर्माणको काम थालिएको बताइन् । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुङ्गेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ । यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी) को पुनःनिर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनःनिर्माण गर्ने काम सुरु भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनःनिर्माण तथा मर्मतसम्भार सुरु गरिएका संरचना ऐतिहासिक महत्व झल्कने हिसाबले नै निर्माण गरिनेछ’, दाहालले भनिन् । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानको लागि सम्झौता गरेको जनाएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रमअन्तर्गत ठूलीवनमा चार दशमलब पाँच किलोमिटर अपाङ्गमैत्री इको–ट्रेल निर्माण, एक नंवर वडास्थित देवीटारमा माउण्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भारको काम गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुल्ला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुनसक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ठ पाँच करोड बजेट विनियोजन भएको छ । जसमध्ये बनेपालाई दुई करोड तथा धुलिखेल र पनौती नगरलाई एक करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । उनी भन्छन्, ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ ।’ उनका अुसार इ–गभर्नेस् पनि स्मार्ट सिटीको महत्वपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस

स्रोतको क्षमता र आवश्यकताको आधारमा आगामी बजेटको सिलिङ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेटको सिलिङ निर्धारण गरिएको बताएका हुन् । उनले बजेटको सिलिङ र मन्त्रालयहरुको माग बीचमा भिन्नता भएपनि त्यसलाई बढाउन सक्ने स्थिति नरहेको बताएका थिए । सिलिङ निर्धारण गर्दा १५ औं योजना, दिगो विकासका लक्ष्य र अतिकम विकशित मुलुकबाट माथि जाने कुराहरुलाई रणनीतिक रुपमा समावेस गरिएको उनको भनाई थियो । उनले बजेट कार्यान्वयनका लागि अनुगमन प्रणालीमा सुधार आवश्यक भएको र पूँजीगत खर्च कमजोर हुनुमा संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र अनुगमन नहुनु नै प्रमुख कारण देखिएको भन्दै त्यसलाई नीतिगत रुपमै समाधान गरेर जानुपर्नेमा जोड दिएका थिए । बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सिलिङ निर्धारणको सन्दर्भमा राष्ट्रिय योजना आयोग अर्थमन्त्रालयसँग निरिह देखिएको टिप्पणी गरेका थिए । अर्थतन्त्रमा उत्पादनशील क्षमता बढाउने गरी आयोजना छान्ने काम हुनुपर्नेमा मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै आयोजना पार्ने गरेको उनको भनाई थियो । बैठकमा सहभागि सांसदहरुले कोभिड–१९ पछिको आर्थिक पुनरउत्थानमा सरकार उदासिन देखिएको टिप्पणी गरेका थिए । चालु आर्थिक वर्षको ९ महिना वितिसक्दा पनि मुस्किलले २९ प्रतिशत मात्रै विकास खर्च हुनु बिडम्बनापूर्ण भएको पनि सांसदहरुले बताए ।

अनुशासित बजेट ल्याउने तयारी गरिरहेका छौं: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटको तयारीबारेको छलफलमा उपस्थित हुनुभएका अर्थ मन्त्री पौडेलले बजेट निर्माणको आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरी बजेट कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट निर्माण गरिने बताएका हुन् । यस्तै कोभिड–१९ ले सिर्जना गरेको चुनौति र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि जानकारी गराए । उनकाे अनुसार कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरउत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुनेछ । यस्तै अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने अर्थमन्त्री पौडेलले बताए । उनले बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरु नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने पनि स्पष्ट पारे । आर्थिक वर्षको अन्त्यसम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने उनले बताए ।

१० शैया बेडको अस्पतालका लागि ८५ लाख रुपैयाँ बजेट आएको छ – गाउँपालिका अध्यक्ष गुरुङ्गसँगको कुराकानी

नेपालको प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ जिल्लामा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं रमणिय गाउँपालिका हो सिरीजङ्घा गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ४ सय ८१ दशमलब ९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा ८ वटा वडा रहेका छन् । २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १५ हजार ८ सय ६ जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठूला आयोजना तथा परियोजनाहरु के कस्ता छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । हामी अहिले आर्थिक वर्षको अन्तिम चरणमा पुगिसकेका छौं । गाउँपालिकामा ७२ ओटा टोल विकास संस्थाहरु गठन भएका छन् । साविकको गाविसमा ९ ओटा वडा रहेका थिए जसलाई टोल विकासको रूपमा रूपान्तरण गरेर ७२ ओटा टोल विकास संस्थाको गठन गरेका छौं । १ लाख रुपैयाँको दरले प्रत्येक टोलमा बजेट छुट्याएका छौं । कृषि समुह गठन भएका टोलमा कृषि विकास र कृषि कार्यक्रमको लागि ठाउँ अनुसारको तरकारी उत्पादन गर्ने कार्यविधि बनाएका छौं । जस्तै एउटा टोलमा १ लाख रुपैयाँ बजेट भयो भने त्यो टोलमा ६० देखी ७० घरधुरी हुन सक्छन् । दलित परिवारलाई लक्षित गरी हामीले कार्यविधि बनाएका छौं । एउटा किसानलाई बढिमा १५ हजार र घटिमा ५ हजार रुपैयाँसम्म नगद अनुदान दिने व्यवस्था मिलाएका छौं । गाउँपालिकामा किवी, आलु, टमाटर, आदि उत्पादन हुने गरेको छ । हाम्रो गाउँपालिका भित्र कृषिका कार्यक्रमहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । हाल कृषकलाई दिने कृषि सम्बन्धी तालिम तथा कार्यक्रमहरू ८० प्रतिशत सकिएको छ । गाउँपालिकामा हामीले पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ५ र २ मा प्रशस्त किवी खेति हुने भएकाले किवी पकेट क्षेत्र रुपमा छुुट्याएका छौं । गत वर्ष हामीले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्«याक्टर पनि वितरण गरेका थियौं । गाउँपालिकामा जमिन धेरै भिरालो भएको कारण यो प्रभावकारी हुन सकेन । विउ विजन र मल पनि कृषकलाई हामीले वितरण गर्दै आएका छौं । कृषिलाई आधुनिकीकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । बेमौसमी तरकार खेतिको लागि टनेल पनि वितरण गर्दै आएका छौं । जडिबुटी पनि हाम्रो गाउँपालिको मुख्य आयस्रोत हो । गाउँपालिकामा अलैँची र चिराइतो खेति पनि हुने गरेको छ । हिमाली भेगमा पाँच औंले, विखुमा, कुट्कि, सर्मागुरु, पदमचाल, पाखनबेद, टिमुर जस्ता जडिबुटी पनि पाइने गरेका छन् । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकाको ठुलो योजनाको रूपमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । लागत अनुदान ६ करोड ८७ लाख रुपैयाँ रहेको थियो भने ५ करोड ३१ लाख रुपैयाँमा ठेक्का लगाएर हाल गाउँपालिकाको भवन निर्माण गर्ने काम पनि भइरहेको छ । मंसिरको २९ गते शिलान्यास गरेर पुषको पहिलो हप्ता बाट भवन निर्माणको काम सुरु भएको हो । गाउँपालिकाको भवन नभएको कारण हाल हामीले भाडामा बसेर नागरिकलाई सेवा प्रवाह गरिरहेका छौं । गाउँपालिकाको २ ओटा वडा भवन निर्माण भइसकेको छ भने ३ ओटा वडाको वडा भवन पनि निर्माण भइरहेका छन् । बाँकी रहेका ३ ओटा वडामा पनि यो आर्थिक वर्ष भित्र बनाइसक्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । त्रिशूलेबर देखि हपु खोला हँुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक स्तरोन्नती गर्ने काम पनि भइरहेको छ । प्रदेश सरकारको ७० लाख रुपैयाँ अनुदान र गाउँपालिकाबाट ८० लाख रुपैयाँ गरी जम्मा १ करोड ५३ लाख रुपैयाँ नगद ठेक्का स्टिमेटमा ६७ लाख रुपैयाँमा ठेकेदारले ठेक्का आह्वान गरेर सडक निर्माणको काम अगाडि बढिरहको छ । ७ नं. वडामा रहेको एकचना भञ्ज्याङ देखि राते खोलासम्मको सडक स्तरोन्नतीको लागि १ करोड ४३ लाख रुपैयाँको ठेक्का आह्वान गरेका थियौं जसमा ठेक्का प्रक्रियाबाट सडकको स्तरोन्नती गरी हाल सडक निर्माणको काम पनि करिब करिब अन्तिम चरणमा पुगेको छ । खानेपानी योजना पनि हाम्रो गाउँपालिकामा रहेको छ । वडा नं ८ को वडा कार्यालयको ४१ लाख रुपैयाँ बजेट र गाउँपालिकाको स्विकृत आयोजनामध्ये समपुरक कोषबाट ९४ लाख रुपैयाँको बजेटमा १ सय ३६ घरधुरीका नागरिककालागि स्वस्थ खानेपानी पुर्याउने र धारा जडान गर्ने काम पनि भइरहेको छ । यो योजना गाउँपालिकाकै ठुलो योजनाको रुपमा रहेको छ । गत सालको केन्द्र सरकारको विशेष अनुदान रु. १ करोड रुपैयाँमा गाउँपालिकाले ३० लाख रुपैयाँ थपेर ५ नं. वडामा खानेपानी पुर्याएका छौं । वडा नं २ मा सिँचाई र खानेपानी पाइपलाइनको लागि ३२ लाख रुपैयाँ बराबरको लागतमा ठेक्का प्रक्रियाबाट यस काम अगाडि बढेको छ । अन्य वडाहरूमा ५ देखी १० लाख रुपैयाँसम्मको खानेपानी आयोजनाको कामहरू रहेका छन् । गाउँपालिकामा ‘कञ्चनजङ्घाको पानी हाम्रो आम्दानी’ भन्ने कार्यक्रम पनि राखेका छौं । जस अन्तर्गत प्रि–फिजिविलिटी स्टडी भनेर ५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेका थियौं । त्यो मध्येबाट हालै मात्र प्रि–फिजिविलिटी क्षेत्रका विज्ञहरू जुन मिनिरल वाटरका एक्सपर्ट, सामाजिक विकासका विज्ञ, भूगोल शास्त्रीको टिम लगायतले आएर ३ ओटा पानीको मुहानहरूबाट पानी लगेर ल्याब परीक्षण पनि गरेका थिए । अहिले नेपालमा प्रोमोट भइरहेको रसुवा धुन्चेको हिमालयन ग्लब्स् जुन कोरियन कम्पनीले उत्पादन गरी अन्तर्राष्ट्रिय रूपमा मिनिरल वाटर सप्लाई गरिरहेको छ । काठमाडौंमा पनि प्रति लिटर ३ सय रुपैयाँको दरले हिमालयन ग्लब्स् नामको मिनिरल किन्न सकिन्छ । त्यही अनुसारको पानी हाम्रो गाउँपालिकाको ५ नं वडामा भेटिएको कारण यो वर्ष पानीको मुहानको डीपीआर गराउँदै छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर छ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल पनि हाम्रो गाउँपालिकाकै वडा नं ८ मा रहेको छ । कञ्चनजङ्घा हिमालको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ । पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन पूर्वाधार साझेदारी कार्यक्रम मार्फत् स्थानीय सरकारको ३० प्रतिशत र केन्द्र सरकारको ७० प्रतिशतको लागत साझेदारीमा कञ्चनजङ्घा पदमार्ग अगाडि बढिरहेको छ । यो ३ वर्षको बहु योजना हो । वैशाखको पहिलो हप्ताबाट हामीले पदमार्गको पनि ठेक्का खुलाउँछौं । ३ करोड ५० लाख रुपैयाँ पर्यटन मन्त्रालयले उपलब्ध गराउँछ भने गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँ गरी जम्मा ५ करोड रुपैयाँ बराबरको बजेट कञ्चनजङ्घा पदमार्गको आयोजना रहेको छ । आम्दी खोला, नयाँ झेरनी, डुनडु डाँडा नर्वष, चैराङ हुँदै कञ्चनजङ्घाको बेश क्याम्पसम्म जाने पदमार्गको डीपीआरको काम अन्तिम चरणमा पुगेको छ । देशभरका २ सय आयोजनामध्येको एउटा ठुलोे आयोजना यो पनि हो । गाउँपालिकाको वडा नं ८ मा सडक पुगिसकेको छ । गाउँपालिकाको ठाउँ ठाउँमा होमस्टे पनि सञ्चालनमा छन् । अब आउने वर्षमा चाहिँ पर्वतारोहण गराउने गाइडहरूलाई तालिम दिने कार्यक्रम पनि राखेका छौं । गाउँपालिका भित्र कञ्चनजङ्घा संरक्षण क्षेत्र, कञ्चनजङ्घा हिमाल र पदमार्ग, पर्वतारोहण तथा साहसिक यात्रा, पाथिभरा पैदल मार्ग, सिरीजङ्घा मन्दिर, डाँडागाउँको शिवालय मन्दिर, किराँतेश्वर मन्दिर (राष्ट्रिय विभुती श्री फाल्गुनन्दद्वारा होम होमादी गरेको स्थान), प्रभु थुम्का, काबेली नदीमा संभावित र्याफ्टिङ तथा कायोकिङ, बारुले पोखरी, लिम्बु सङ्ग्रहालय मांमखे, तातोपानी ( सिरीजङ्घाद्वारा स्नान गरेको), साना पाथिभराहरु, राँके ओखलढुङ्गा तावाटार, खुर्पे ढुङ्गा आदि गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुका रुपमा रहेका छन् । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरूलाई सिप विकासको लागि विभिन्न तालिम दिँदै आएका छौं । युवाहरूलाई लक्षित गर्दै १ महिने इलेक्ट्रीशियन तालिम पनि दिँदै आएका छौं । इलेक्ट्रीशियनको तालिम पनि हाल निरन्तर चलिरहेको छ । एकल महिलाहरूले स्यानिटरी प्याड स्थानीय स्तरमै उत्पादन गरुन् भनेर प्याड बनाउने तालिम पनि दिँदै आएका छौं । १६ जना महिलाले प्याड बनाउने तालिम लिइरहेका छन् । प्याड बनाउने महिलाले उत्पादन गरेको प्याड गाउँपालिकाले खरिद गरेर विपन्न दलित महिलाहरुलाई लक्षित गरेर निःशुल्क रुपमै वितरण गर्ने सोच पनि बनाएका छौं । प्रत्येक वडाका २ जना व्यक्तिलाई फर्निचर सम्बन्धी तालिम पनि दिँदै आएका छौं । ढाका टोपी बुनाइमा पनि युवाहरू लागि परेका छन् । केही महिलाहरूले ढाका टोपी बनाउने तालिम पनि लिइरहेका छन् । छालाका जुत्ता बनाउने तालिम पनि सञ्चालन भइरहेको छ । केही युवाहरूलाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । गत साल हामीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरेका थियौं । यो वर्ष अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेका थियौं । खेलकुद विकासको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रमहरु कसरी अगाडि बढाउने भनेर निरन्तर छलफल पनि गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कर्मचारी समायोजनको कारणले गर्दा गाउँपालिकामा एउटा मात्र प्राथमिक स्वास्थ्यचौकी बनाएका छौं । केन्द्रबाट आएको तसर्थ बजेटले करारमा स्वास्थ्यकर्मीहरू भर्ना गरेका छौं । धेरै दुर्गम भएको क्षेत्र अथवा वडाहरूमा सरकारी कोटामा नआएको र सरकारले पनि पठाउन नसकेको अवस्थामा हामीले स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको सेवामा भन्दा ५० हजार रुपैयाँ थप गरी राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । यो वर्ष मात्रै औषधी खरिद प्रक्रियामा ठेक्का प्रक्रिया लागिसकेको छ भने संझौता भएर औषधी पनि आउँदै नै छ । औषधी खरिदका लागि ६४ लाख रुपैयाँ बजेट रहेको थियो भने एकजना व्यवसायीले २८ लाख रुपैयाँमै ठेक्का पारेर सम्झौता बराबरको औषधी पनि गाउँपालिकामा पठाइ सकेका छन् । हामीले प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । वडा नं. ३ मा रहेको हुवनहट संस्थाको तर्फबाट १० लाख रुपैयाँ र गाउँपालिकाको तर्फबाट १५ लाख रुपैयाँ गरेर जम्मा २५ लाख रुपैयाँको लागतमा प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । प्रत्येक वर्ष हामीले एउटा प्रजनन् केन्द्र स्थापना गर्ने गरेका छौं । संघीय सरकारको कार्यक्रम अनुसार हाम्रो गाउँपालिकामा १० शैया बेडको अस्पताल पनि परेको छ । डीपीआर गरेर ठेक्का लगाउनु पर्ने तर जग्गा नपुगेको कारणले गर्दा हामीले जग्गा अतिक्रमण पनि गरेका थियौं तर मन्त्रालयले प्राविधिक रूपमा भवन बनाउन उपयुक्त छैन भन्यो । हामीले बैठकमा निःशुल्क रुपमै जग्गाको आह्वान गरेका थियौं । ११ जना जग्गा दाताहरूले जग्गा उपलब्ध गराउने भनेर निवेदन परेको अवस्थामा हामीले जग्गाको स्थलगत अनुगमन गरेर कार्यपालिकाको बैठक आह्वान गरेका छौं । १० शैया वेडको अस्पतालका लागि ८५ लाख रुपैयाँ बजेट आएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरु रहेका छन् । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क रुपमै दिने गरेका छौं ।

अर्थले बजेट निर्माणका लागि अर्थविदहरुसँगको परामर्श थाल्यो, सातै प्रदेशका अर्थमन्त्रीसँग पनि छलफल हुँदै

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि निर्माण हुने बजेटका लागि अर्थविदहरुसँग परामर्श गर्न थालेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको कार्य तालिका अनुसार नै अर्थ मन्त्रालयले अर्थ विदहरुसँग बजेटको लागि परामर्श गर्न थालेको बताएको हो । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमा कार्यकातिका अनुसार अर्थ मन्त्रालयले बजेटका लागि सुझाव संकलन गर्न अर्थविदहरुसँगै पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्व अर्थ सचिव राजनीतिक दलका प्रतिनिधिहरुसँग परामर्श सुरु गरेको हो । अर्थमन्त्रालयका प्रवक्ता सुमन दाहालले बजेट तर्जुमा कार्यतालिका अनुसार बजेट निर्माणका लागि सुझाव संकलनको काम भइरहेको बताए । उनका अनुसार बजेट निर्माणका लागि विभिन्न अर्थशास्त्री तथा अर्थविदहरुको सुझाव संकलन गर्ने समय चैत २६ गतेदेखि बैशाख २५ गतेसम्म तोकिएको छ । यो सँगै अर्थमन्त्रालयले चैत २१ गतेदेखि सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रालयसँग बसेर बजेटका लागि छलफल पनि गरिरेहेको छ । प्रवक्ता दाहालले अर्थ मन्त्रालयले हालसम्म १७ वटा मन्त्रालयसँग बजेटका लागि छलफल तथा बजेट सम्बन्धि सुझावहरु लिइसकेको छ । यो सँगै बजेट निर्माणका लागि बनाइएका विभिन्न समिति उप समितिहरुले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु राखेर बजेटको लागि सुझाव संकलन गरिरहेको बताए । उनका अनुसार बजेट तयारी सम्बन्धी छलफललाई तिव्रता दिएको छ । बजेट तर्जुमा कार्यतालिकाका अनुसार २०७८ बैशाख २ गतेदेखि २५ गतेसम्म मन्त्रालयहरुसँग बजेट कार्यक्रम र खर्च शिर्षकगत छलफल, बैशाख २५ गतेभित्रै नै विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने, बैशाख २० गते विनियोजन विधेयकका सिद्धान्तहरु र प्राथमिकताका संघीय संसदका दुबै सदनमा पेश गर्ने, बैशाख २५ गतेसम्म प्राविधिक सहायता तथा अन्य गैर सहकारी संस्थामार्फत परिचालन हुने सहायता यकिन गर्ने लगायतका कार्यक्रमहरुको कार्यतालिका रहेको छ । अर्थमन्त्रालयले विभिन्न समयमा खर्च गर्न सकिने र कार्यान्वयन हुन सक्ने कार्यक्रम तथा आयोजनजाहरु मात्रै बजेटमा प्रस्ताव गर्न आग्रह गर्दै आएको छ ।

अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिँदैन- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् । बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सिमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताए । उनले बजेटमा समावेस गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भएपनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको बताए । कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधि भित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रष्ट पारे । त्यसैले यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभई खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थमन्त्री पौडेलले बताए । अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै सरकारी सेवा सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।

पर्यटन गुरुयोजना तयार गर्नको लागि १० लाख रुपैयाँ बजेट छुट्याएका छौं – अध्यक्ष तामाङ

नेपालको उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएकोे बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो खनियाबास गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाको पूर्वतर्फ नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुवीभ्याली गाउँपालिका र त्यसैगरी दक्षिणमा नेत्रावती गाउँपालिका रहेका छन् । सदरमुकाम धादिङबेसीदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरी कच्ची सडकको निर्माण भइसकेको छ । धादिङबेसी सदरमुकामबाट २ देखि ३ घण्टामा गाउँपालिका कार्यालय पुग्न सकिन्छ । १ सय २० दशमलब ८ वर्ग किलोमिटरसम्म फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको कुल क्षेत्रफलको जम्मा ५ दशमलब ५२ प्रतिशत भूभाग ओगटेको छ । २०७५ सालको तथ्याङ्क अनुसार यस गाउँपालिकाको जनसंख्या १३ हजार ९ सय २२ जना रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् ? ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम नै रहेको छ । गाउँपालिकामा सडक निर्माणको स्तरोन्नतीको काम पनि भइरहेको छ । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । गाउँपालिकामा ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिएको छ । यस अभियान अनुसार मिटर जडान गरेर नागरिकको घरमा खानेपानी पुर्याउने काम भइरहेको छ । वडा नं.२ मा सडक पुर्याउन बाँकी रहेको छ भने अरु वडामा सडक पुगिसकेको छ । २ नं वडामा पनि सडक निर्माणको लागि टेन्डर प्रक्रियाबाट काम अगाडि बढिरहेको छ । यस सडक निर्माणको लागि पालिकाबाट ५० लाख र प्रदेशबाट २५ लाख रुपैयाँ बजेट बिनियोजना भई जम्मा ७५ लाख रुपैयाँमा सडक निर्माणको काम अगाडि बढिरहेको छ । हाम्रो गाउँपालिकामा कुनैपनि सडक पिच हुन सकेको छैन । यो वर्ष सडक पिच गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकाको सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । अधिकांश नागरिकहरू कृषि पेशामा नै आधारित छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । भेटेरीनरी र कृषि शाखामा २ जना कर्मचारीहरू रहेका छन् । तरकारी तथा फलफूल किनेर खान नपरोस् भन्ने अभियानमा हामी लागिपरेका छौं । व्यवसायिक रूपमा कृषि खेतीको पनि सुरुवात भएको छ । सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । कृषि सम्बन्धी १५ वर्षे गुरुयोजना पनि हामीले तयार पारेका छौं । कृषकलाई कृषि तालिम पनि दिँदै आएका छौं । फलफूल तथा तरकारी नर्सरीको तालिम पनि कृषकहरुलाई दिँदै आएका छौं । वडा नं २ र ३ लाई आलु ब्लक क्षेत्रको रूपमा छुट्याएका छौं । बाख्रा पकेट क्षेत्रको रूपमा वडा नं ४ र ५ लाई छुट्याएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको नागरिकहरू वैदेशिक रोजगारीको लागि पनि गएका छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । हामीले गोरु जोत्ने मानिसलाई पनि नगद ५ हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था मिलाएका छौं । अनुदानको रूपमा कृषकलाई नगद पुरस्कार दिने व्यवस्था पनि मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । सिचेत पोखरी तथा बिजुली युङ्वा पनि पर्यटकीयस्थलको रूपमा निक्कै चर्चित छन् । पर्यटन गुरुयोजना तयार गर्नको लागि हामीले १० लाख रुपैयाँ बजेट छुट्याएका छौं । वडा नं ५ मा घले दरबारको अवशेष रहेको छ । हाम्रो गाउँपालिका धार्मिक हिसाबले पनि एकदमै महत्वपुर्ण रहेको छ । होमस्टे पनि गाउँपालिकामा सञ्चालन भएको छ । हामीले पर्यटन पूर्वाधारमा पनि विशेष जोड दिएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हाम्रो गाउँपालिकामा जम्मा २७ ओटा विद्यालयहरु तथा ६ ओटा माध्यमिक विद्यालयहरू रहेका छन् । गाउँपालिकाका धेरै विद्यार्थीहरु नेपालकै अन्य शहर तिर पढ्न जाने भएकाले बाहिर जानु नपरोस् भनेर सबै वडाका विद्यालयमा बोर्डिङस्तरको कक्षा पनि सञ्चालन गरेका छौं । यो वर्ष बाट प्रत्येक वडामा नयाँ ईसीजी कक्षा सञ्चालन गरी बजेट विनियोजन गरेर पढाउने कामको पनि सुरुवात भएको छ । विद्यालयका भवनहरू निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । पहिलो प्राथमिकताको रुपमा गाउँपालिकामा शैक्षिक क्षेत्रलाई नै राखेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक तथा समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? धेरै युवाहरूले रोजगारी पाउन् भनेर रोजगार सम्बन्धी कार्यक्रम र तालिम पनि सञ्चालन गरेका छौं । उद्यम विकासको लागि तालिम तथा गोस्ठीजस्ता कार्यक्रमहरु गर्नका लागि २५ लाख रुपैयाँ बजेट पनि छुट्याएका छौं । उद्यम बन्ने युवाहरुका लागि निःशुल्क व्याज अनुदानमा दिने भनेर ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाले विना धितो ऋण लिएर काम गर्छन् भने २ वर्षसम्मको व्याज गाउँपालिकाले मिनाहा पनि गरिदिन्छ । गाउँपालिकामा युवाहरूले साना तथा घरेलु उद्योगहरु पनि सञ्चालन गरेका छन् । युवालाई ३ महिने इलेक्ट्रिशियन तालिम पनि दिएका थियौं । जसमा ५० जना युवाहरूको सहभागिता रहेको थियो । हाल ५० जनामध्ये २० जनाले व्यवसायिक काम पनि गरिरहनुभएको छ । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । हाल कस्ता किसिमको योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले सडकलाई नै प्राथमिकता दिएका छांै । शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा नै राखेका छौं । गाँउपालिकामा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ कि भन्ने बारेमा पनि ध्यान दिएका छौं । विशेष गरी शिक्षाको विकास विना कुनैपनि प्रकारको चेतनाको विकास हुँदैन भनेर शिक्षालाई विशेष जोड दिएका छौं । खानेपानी र विद्युतलाई पनि प्राथमिकतामा राखेका छौं । गाउँपालिकाको स्रोत साधनको परिचालन गरी कसरी विकास निर्माणको काम अगाडि बढाउने भनेर पनि ध्यान दिएका छौं । हाम्रो पालिकामा ६४ प्रतिशत भुभाग वनजङ्गलले ओगटेको छ । पालिकामा ६४ प्रतिशत वनजङ्गललाई बढाएर ८० प्रतिशत बनाउने हाम्रो लक्ष रहेको छ । वन नर्सरी तालिम पनि पालिकामा सञ्चालन हँुदै आएको छ । १ सय ३४ थरीको जडीबुटी पनि हाम्रो पालिकामा पाइन्छन् । स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकाको सबै वडामा स्वास्थ्यचौकीहरू छन् । गाउँपालिकामा आवश्यकतानुसार स्वास्थ्य भवनहरू रहेका छन् । स्वास्थ्यसम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहनुभएको छ । गाउँपालिकामा ईसीजी र ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो पालिकामा स्वास्थ्यचौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्य युनिटबाट बेलाबेलामा आँखाको उपचार पनि हुने गरेको छ । गाउँपालिकामा विकास निर्माणका कामहरू कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । जनप्रतिनिधिको रूपमा गाउँपालिकामा आइसकेपछि हामीले गरेका विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी छन् । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? ठुलो उद्योग त हाम्रो पालिकामा छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेतीकिसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा केही हाइड्रोपावरहरु पनि सञ्चालनमा आएका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । क्रसर उद्योग पनि गाउँपालिकामा रहेको छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सामान्य ढुङ्गा, गिट्टी, बालुवाजस्ता व्यवसायहरूबाट कर सङ्कलन हुने गरेको छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? अबको ५ वर्ष भित्रमा गाउँपालिकाको ८० प्रतिशत भूभाग जङ्गलले घेरेको तथा हरियाली भएको बनाउने योजना रहेको छ । सकेसम्म गाउँपालिकामा सबै सडकलाई ग्राबेल गर्ने हो । स्वास्थ्य तथा शिक्षालाई राम्रो बनाउने हो । कृषिलाई आधुनिकीकरण गर्ने पनि मेरो योजना छ । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिएका छौं । जनताको इच्छा र चाहना पुरा गर्ने योजना पनि मैले बनाएको छु । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ? व्यक्ति अनुसारको समस्या आउने गरेको छ । धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? पार्टी अनुसारको केन्द्र र प्रदेश सरकारबाट बजेट आउने गर्छ । प्रदेश र केन्द्रबाट ठुलो योजना त पालिकामा पर्न सकेको छैन । तर पनि सामान्य विकास निर्माणको काममा भने हाम्रो समन्वय भइरहेकै छ ।

काठमाडौंको पूर्वाधार विकासलाई व्यवस्थित पार्न प्राधिकरणले कार्ययोजना बनाउँदै, बजेट दुरुपयोग राेकिने

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको अव्यवस्थित भौतिक पूर्वाधार विकासलाई व्यवस्थित गर्नको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले कार्ययोजना बनाउने तयारी गरेको छ । अहिले भइरहेको अव्यवस्थित भौतिक संरचना निर्माणलाई व्यवस्थित र दीर्घकालिन बनाउनको लागि प्राधिकरणले यस्तो कार्ययोजनाको तयारीमा लागेको हो । प्राधिकरणले ‘काठमाडौं उपत्यका एकीकृत भौतिक विकास योजना’ नाम दिएर कार्ययोजना अगाडि बढाएको हो । प्राधिकरणका शहरी योजनाकार भागवत खोखालीले काठमाडौं उपत्यकामा भइरहेको ‘सर्टटम’ विकासका योजनालाई दीर्घकालिन र अव्यवस्थित कामलाई व्यवस्थित गरेर अगाडि बढ्नको लागि प्राधिकरणले यस्तो कार्ययोजनाको तयारी गरिरहेको बताए । उनका अनुसार यस एकीकृत भौतिक विकास योजनाले शरहको व्यवस्थित काम मात्र होइन शहरको सुन्दरता बढाउन पनि धेरै भूमीका खेल्नेछ । ‘उपत्यकाको विकास कसरी गर्न सकिन्छ ?, कहाँ, के काम ? कुन समयमा ? कसरी ? र कसले गरिरहेको छ भन्ने सबै जानकारी हामीले लिन्छौं, त्यो काम एउटै ठाउँमा बन्ने छ भने ती दुवै निर्माण आयोजनालाई हामीले जानकारी गराएर सँगै काम गर्ने वातावरण सिर्जना गर्छौं, उनीहरु हामीले उपलब्ध गराएको तथ्यांकमा हेरेर पनि आफुले गर्न लागेको कामको मिल्दोजुल्दो आयोजना वा ठाउँको पहिचान गर्न सक्छन्, यसले काम पनि एकै पटक र लागत पनि कम लाग्छ, त्यस ठाउँका सर्वसाधारणले बेला-बेला निर्माणाधीन कार्यको समस्या झेल्नु पर्दैन,’ उनले भने । उनले यसले बजेट दुरुपयोग रोक्न पनि धेरै भूमीका खल्ने बताए । यो योजना न्यूनतम ५ वर्ष अवधिको एउटा फेज हुने भएपनि निरन्तर रुपमा अगाडि बढाउँदै लैजाने उनको भनाई छ । ‘अहिले विभिन्न निकायले आ–आफ्नो काम गर्ने भनेर काठमाडौंमा एउटै सडक एक वर्ष ४/५ पटक भत्काइन्छ फेरि बनाइन्छ, एक महिना अगाडि सकड विभागले सडक बनाउँछ, त्यसको दुई महिनापछि बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने भनेर विद्युत प्राधिकरणले भत्काउँछ, फेरि अर्को पटक खानेपानीको पाइप गाड्ने भनेर अर्को आयाेजना आउँछ, यसले गर्दा सर्वसाधारणलाई मात्र सास्ती हुन्छ, सरकारको खर्च पनि बढी हुन्छ, अब याे कार्ययाेजनाले लागत घट्छ, सरकारको पुँजी बचत हुन्छ, यी सबै काम मिलाएर एकै पटक गर्ने योजना हाम्रो हो, यसका लागि यी सबै निकायहरु सकारात्मक हुन जरुरी छ,’ नागरिकले पनि पटक–पटक सास्ती भोग्नु पर्दैन,’ उनले भने । यो कार्ययोजना अगाडि बढाउनको लागि अहिले परामर्शदाता छनोटको काम भइरहेको उनले बताए । उनका अनुसार हालसम्म ५ परामर्शदाताले आवेदन दिएका छन् । ती मध्ये एउटा परामर्शदाता छनोट हुनेछ । त्यसको समयावधि १८ महिनाको हुनेछ । उनका अनुसार यो कार्ययोजना तयार पार्नको लागि ८ करोड रुपैयाँ खर्च लाग्नेछ । ‘प्राविधिक प्रस्ताव भइसकेको छ, आर्थिक मूल्याकंन गर्नु पर्नेछ, यो कार्ययोजनाले बजेट दुरुपयोग रोक्ने मात्र होइन काम दीगाे पनि हुन्छ,’ उनले भने,‘ तर सबै निकाय यसमा सहमत र सकारात्मक हुनु पर्छ ।’ यो कार्ययोजना अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेटमा पनि पर्ने उनको भनाई छ । यो कार्ययोजनालाई व्यवस्थित ढंगले अगाडि बढाएमा दीगो विकास सम्भव हुने उनको भनाई छ ।

खर्च गर्न सक्ने बजेट मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीकाे आग्रह, संघीयताको मर्म बुझ्ने कार्यक्रम ल्याउन जाेड

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु  र खर्च गर्न सक्ने बजेट मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् । खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नु पर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षिय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गरेका हुन् । सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए । प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औल्याएँ । उनले कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड-१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे । आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिए ।  अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरेको छ ।  

बजेट निर्माणमा अर्थका उच्च अधिकारी संलग्न ५ टोली, कसले के गर्दैछन् ?

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तिब्रता दिएको छ । अर्थमन्त्री विष्णु पौडेल सहभागी भएको समेत गरेर ५ टोलीले बेग्लाबेग्लै काम गरिरहेका छन् । अर्थमन्त्रालयका अनुसार मन्त्रालयका विभिन्न ५ महाशाखा प्रमुख संलग्न रहेको बजेट लेखन टोली बनाइएको छ । सो टोलीको संयोजक आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव डा. रामप्रसाद घिमिरे छन् । सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका सहसचिव धनिराम शर्मा, वैदेशिक सहायता महाशाखाका प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव श्रीकृष्ण नेपाल, राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव रामेश्वर दंगाल र योजना, मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव सुमन दाहाल छन् । बजेटमा राजस्वको विषयमा उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजिबी, नागरिक लगायत सबै सरोकारवालासँग परामर्श गर्नको लागि नेपाल राजस्व परामर्श समिति गठन गरिएको छ । सो समितिको सभापति महेश दाहाल छन् । दाहाल नेतृत्वको समितिले देशका विभिन्न स्थानमा सार्वजनिक कार्यक्रम तथा अन्य सबै विकल्पबाट राजस्व सम्बन्धी सुझाव संकलन गरिरहेको छ । बजेट निर्माणका लागि अर्थसचिव शिशिर ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीले पनि सक्रियता जनाइरहेका छन् । दुवै सचिवले सबै मन्त्रालय, आयोग, निकाय जस्ता सरोकारवालाबाट बजेटमा समावेश गरिनु पर्ने कार्यक्रम र बजेट रकमबारे छलफल र समन्वय गरिरहेका छन् । यस्तै, बजेटमा समावेश गरिनु पर्ने कार्यक्रम र योजना बारे विभिन्न सरोकारवालाले ल्याएका सुझाव र योजनाहरुलाई पनि सचिवद्वयले संकलन गरिरहेका मन्त्रालय स्रोतले जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यमा अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ पनि सक्रिय भएका छन् । डा. श्रेष्ठले नीतिगत सुझाव संकलन गरी आवश्यक विश्लेषण सहित बजेट निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । उनले नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने, कोभिड-१९ महामारी लगायतका कारणले समस्यामा परेका उद्योगी, व्यवसायी, श्रमिक तथा अन्य सरोकारवालाको माग कसरी सम्बोधन गर्ने भन्ने जस्ता नीतिगत विषयमा काम गरिरहेका मन्त्रालयले स्रोतले जानकारी दियो । बजेट निर्माणका लागि अर्थमन्त्री पौडेल बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मन्त्रालयमै आएका काम गरिरहेका छन् । केही दिनअघि सम्पन्न सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठकमा अर्थमन्त्री पौडेलले सबै सांसदहरुलाई आफ्नो क्षेत्रमा संचालन गर्नुपर्ने योजना र बजेटका बारेमा लिखित सुझाव दिन आग्रह गरेका थिए । मन्त्री पौडेलको सो आग्रह अनुसार सांसदहरुबाट प्राप्त सुझाव, योजना तथा बजेटका बारेमा उनले समन्वय गरिरहेका छन् । यस्तै, मन्त्री पौडल बाम घोषणापत्रमा उल्लेख गरिएका विषय तथा गत वर्षहरुका बजेटमा समावेश गरिएका राष्ट्रिय महत्वका, राम्रा र लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिनको लागि थप गृहकार्य गरिरहेका छन् ।

न्यून बजेटको कारण विकासका धेरै काम गर्न सकेका छैनौं – गाउँपालिका अध्यक्ष घले

नासोँ गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ९ ओटा वडा रहेको यो गाउँपालिका ९ सय ५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ को जनगणना अनुसार गाउँपालिकाको जनसंख्या १९ हजार ३८ रहेको छ । गाउँपालिकाको सिमानामा पूर्वतर्फ गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत रहको छ भने दक्षिणमा लमजुङ जिल्ला रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । गाउँपालिकामा कोदो र धान उत्पादन हुँदैन भने मकै, गहुँ, आलु बढी उत्पादन हुने गरेको छ । गाउँपालिकामा स्याउ जोन क्षेत्र पनि छुट्याएका छौं । स्याउ फार्मको अवधारण अगाडि सारेका छौं । २ वर्ष पछि यसको नतिजा राम्रो आउँछ भन्ने हाम्रो आशा रहेको छ । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण कृषि उपज उत्पादन ज्यादै न्यून भएता पनि पशुपालन व्यवसायलाई पनि हामीले जोड दिएका छौं । उन्नत जातका बाख्रा पनि कृषकलाई वितरण गर्दै आएका छौं । यो वर्ष चौँरीका बाछा वितरण गर्ने पनि हाम्रो लक्ष्य रहेको छ । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । बजेटको अभावको कारण हामीले गाउँपालिकाका वडाहरूलाई पकेट क्षेत्रका रूपमा छुट्याउन सकेका छैनौं । पकेट र ब्लक क्षेत्र छुट्याउने भनेर कृषि ज्ञान केन्द्रले प्रपोजल तयार पनि गरेको छ । आलु तथा फापर आदिको पकेट क्षेत्र छुट्याउने हाम्रो लक्ष रहेको छ । रासायनिक मल अन्त्य गरी प्राङ्गारिक मलको प्रयोग गर्न कृषकलाई आग्रह गरेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? गाउँपालिका भित्रका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको मुख्य पेशा खेति किसानी नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ९० प्रतिशत मानिसहरू कृषि पेसामा आवद्ध छन् भन्न सकिन्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र विकासको लागि कसरी काम गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हाम्रो गाउँपालिका पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । वर्षेनी हजारौंको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकहरू मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रूपमा हाम्रै गाउँपालिकालाई लिन सकिन्छ । हाम्रो गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर गर्दै विभिन्न सुविधा सम्पन्न होटल, लज, होमस्टे तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गाउँपालिकाको पर्यटकीय क्षेत्रमा पनि ठुलो असर पुर्यायो । गाउँपालिकामा पहिलो प्राथमिकताको रूपमा पर्यटक क्षेत्रलाई नै राखेका छौं । चक्रे पदमार्ग निर्माण गर्ने हाम्रो लक्ष पनि रहेको छ । यसको काम अगाडि बढेर १ करोड ५० लाख रुपैयाँ खर्च पनि भएको छ । पदमार्गको लागि हामीले प्रदेश र केन्द्रलाई अनुरोध पनि गरिरहेका छौं । डोना तथा पुङ्कर ताल पर्यटकीय स्थलको रूपमा चर्चित रहेको छ । यसका साथै धार्मिकस्थलहरू पनि गाउँपालिकामा प्रशस्त रहेका छन् । गाउँपालिकामा दक्षिण एसियाकै सबैभन्दा अग्लो झोलुङ्गे पुल पनि रहेको छ । ग्रामीण भेग भएका कारण हाम्रो गाउँपालिका शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृति प्रेमिकालागि अनुपम गन्तव्य हो । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि पनि धेरै काम गर्दै आइरहेको छ । शिक्षा क्षेत्रलाई गुणस्तर बनाउने भनेर आवासिय अवधारण पनि अघि सारेका छौं । प्रदेश र केन्द्र सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ५ मा रहेको प्रकाशज्योती मा.वि. को भवन निर्माणको काम पनि सुरु भएको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको प्रत्येक वडामा अस्पताल रहेको छ । आधारभुत स्वास्थ्य चौकि गाउँपालिकामा ३ ओटा रहेको छन् । नेपाल सरकारको लक्ष्य अनुसारको ५ बेडको अस्पतालको पनि डीपीआर भइसकेको छ । सरकारले दिएका औषधीहरु गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको उपचार गाउँपालिकामा हुन चाहिँ सकेको छैन । गाउँपालिकामा रहेका सबै नागरिकको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? धेरै ठुलो योजना हाम्रो गाउँपालिकामा रहेको छैन । गाउँपालिकामा प्रदेश र केन्द्रको सहयोगमा हुन लागेका योजनाहरु केही मात्रामा छन् । गाउँपालिकामा ३ ओटा हाइड्रोपावर निर्माणको कामहरु भइरहेको छ । सडक विकासका कामहरु पनि भइरहेको छ । बजेटको आकार सानो भएको कारण सडक विकासको लागि धेरै बजेट छुट्याउन सकेका छैनौं । बर्खामा यातायातको सञ्चालन हुन सक्दैन । सडकको स्तर उन्नती तथा ट्र्याक खोल्ने काम पनि भइरहेको छ । बजेटको आकार सानो भएको कारण गाउँपालिकामा धेरै विकास निर्माणको काम गर्न सकेका छैनौं । ‘एक घर एक धारा’ अभियान पनि चलाइरहेका छौं । हाम्रो गाउँपालिकाको सबै वडामा बिजुली पुगेको छ । राष्ट्रिय प्रसारण लाइनको काम पनि भइरहेको छ । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? नेपाल सरकारले बनाएको ‘एक वडा एक खेल मैदान’ भन्ने जुन खालको नीति रहेको छ त्यो अनुसारको नै वडा नं. १ मा खेल मैदान निर्माण सुरु गरेका छौं । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, फुटबल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी दिनको लागि गाउँपालिकामा ठुलो उद्योगहरु रहेका छैनन् । यहाँका धेरै युवाहरु कृषि पेशामा आवद्ध भएर स्वरोजगार पनि बनेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । युवाहरुले स–साना कृषि उद्योग पनि स्थापना गरेका छन् । प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि भएका छन् । भौतिक संरचनाहरूको निर्माण पनि भएका छन् । सडक पिच हुन नसके पनि सडकको विकास भएका छन् । खानेपानीको व्यवस्था हुन थालेको छ । वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरुका भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं । गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ? खानेपानी, बिजुली, सडक पुगेन भन्ने जस्ता समस्याहरु लिएर आउने गरेका छन् । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिलेसम्मको काम गराईबाट म सन्तुष्टनै छु । तरपनि गाउँपालिकामा बजेटको आकार न्यून रहेको छ । न्यून बजेट रहेको कारण धेरै विकास निर्माणको कामहरु गर्न सकेका छैनौं । विकास बजेट भनेर १ करोड ५० लाख रुपैयाँ मात्र बजेट विनियोजन हुने गरेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउन योजना छ ? हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने योजना छ । बनिरहेका सडक संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । मेरो अबको बाँकी रहेको कार्यकालमा गाउँपालिकाको भवन निर्माण गर्नेछु । भौगोलिक हिसावले विकट भएपनि जग्गा खरिदको सम्बन्धमा केन्द्र सरकारसँग समन्वय गरेर मन्त्रिरिषदबाट पनि पास भइसकेको छ । यो वर्षबाट भवन निर्माणको काम सुरु गर्ने लक्ष्य लिएको छु । देखिने खालका योजनाहरूतर्फ काम गर्ने योजना समेत बनाएको छु ।

अर्थमन्त्रीको पत्राचारः बजेटको सिलिङ कम छ, नयाँ ठूला योजना प्रस्ताव नगर्नु

काठमाडौं । अर्थमन्त्री विष्णु पोडेलले विभिन्न मन्त्रालयहरुलाई नयाँ ठूला योजना प्रस्ताव पेश नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि प्रस्ताव पठाउँदा त्यसमा ठूला नयाँ आयोजनाहरुका लागि प्रस्ताव नपठाउन विभिन्न मन्त्रालयहरुलाई परिपत्र गरेका हुन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी कायमै रहेको र बजेटलाई व्यवस्थित ढंगले विनियोजन गर्नु पर्ने भएकोले धेरै आवश्यक नभएका, तत्काल प्रथामिकतामा नपर्ने नयाँ ठूलो परियोजनाका लागि बजेट प्रस्ताव नगर्न आग्रह गरेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले अहिले योजना अयोगबाट नै बजेटको सिलिङ घटेको, बजेट कोरोना भाइरसको पुनरुत्थानमा जोड दिनु पर्ने भएकोले धेरै खर्च हुने नयाँ परियोजनाका लागि बजेट प्रस्ताव नगर्न भनेका हुन् । ‘आगामी वर्षको बजेटको सिलिङ गत आर्थिक वर्षको भन्दा कमको छ, प्रस्ताव गरिसकेपछि त्यसमा विनियोजन हुने रकम रकमान्तर नहुने, बजेट सोही आयोजनामा खर्च हनु पर्ने र कोरोना भाइरसकै पुनरुत्थानमा बजेट विनियोजन बढी गर्नु पर्ने भएकोले त्यसमा ध्यान दिन अर्थमन्त्रालयबाट परिपत्र आएको छ,’ स्रोतले भन्यो । पर्यटन मन्त्रालयका सह–प्रवक्ता प्रेम सुवेदीले पर्यटन मन्त्रालयबाट नयाँ कार्यक्रमहरु खासै प्रस्ताव नभएको पनि बताएका छन् । ‘हालसम्म नयाँ कार्यक्रम तथा परियोजना प्रस्ताव गरिसकेका छैनौं, हामी अझै पनि छलफलमै छौं, पुरानै कार्यक्रमलाई दोहोर्याएर प्रभावकारी ढंगले काम गर्ने सोच हामीले बनाएका छौं,’ उनले भने । उनका अनुसार विभिन्न ठाउँहरुमा हिल स्टेसन निर्माण, एक प्रदेश एक साँस्कृतिक गाउँ, एक प्रदेश एक साँस्कृतिक महोत्सव जस्ता कार्यक्रमलाई नै प्राथमिकता दिई कार्यक्रमको प्रस्ताव गर्ने तयारी भइरहेको छ । आगामी आर्थिक वर्षको बजेट नतिजामुखी ल्याउने तयारीमा अर्थ मन्त्रालय देखिएको छ । मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट विनियोजन मात्रै भन्दा पनि त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै बजेट ल्याइने बताए । ‘अंकमा धेरै बजेटभन्दा पनि त्यसको प्रभावकारिता र नतिजामा आगामी वर्षको बजेटले ध्यान दिन्छ, त्यही किसिमले अर्थमन्त्रालयबाट नै परिपत्र भएको छ, परियोजनाको पूर्व तयारी भएपछि मात्रै त्यसमा बजेट विनियोजन हुन्छ,’ उनले भने । आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महत्वपूर्ण प्राथमिकताका क्षेत्र र परियोजनाहरु तय गरेर मात्र बजेट विनियोजन गर्ने उनको भनाई छ । उनका अनुसार सबैभन्दा महत्वपूर्ण तथा प्राथमिकताको क्षेत्र पुनरुत्थानका लागि हुनेछ ।