काठमाडौं । अर्थमन्त्री विष्णु पोडेलले विभिन्न मन्त्रालयहरुलाई नयाँ ठूला योजना प्रस्ताव पेश नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि प्रस्ताव पठाउँदा त्यसमा ठूला नयाँ आयोजनाहरुका लागि प्रस्ताव नपठाउन विभिन्न मन्त्रालयहरुलाई परिपत्र गरेका हुन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी कायमै रहेको र बजेटलाई व्यवस्थित ढंगले विनियोजन गर्नु पर्ने भएकोले धेरै आवश्यक नभएका, तत्काल प्रथामिकतामा नपर्ने नयाँ ठूलो परियोजनाका लागि बजेट प्रस्ताव नगर्न आग्रह गरेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले अहिले योजना अयोगबाट नै बजेटको सिलिङ घटेको, बजेट कोरोना भाइरसको पुनरुत्थानमा जोड दिनु पर्ने भएकोले धेरै खर्च हुने नयाँ परियोजनाका लागि बजेट प्रस्ताव नगर्न भनेका हुन् ।
‘आगामी वर्षको बजेटको सिलिङ गत आर्थिक वर्षको भन्दा कमको छ, प्रस्ताव गरिसकेपछि त्यसमा विनियोजन हुने रकम रकमान्तर नहुने, बजेट सोही आयोजनामा खर्च हनु पर्ने र कोरोना भाइरसकै पुनरुत्थानमा बजेट विनियोजन बढी गर्नु पर्ने भएकोले त्यसमा ध्यान दिन अर्थमन्त्रालयबाट परिपत्र आएको छ,’ स्रोतले भन्यो ।
पर्यटन मन्त्रालयका सह–प्रवक्ता प्रेम सुवेदीले पर्यटन मन्त्रालयबाट नयाँ कार्यक्रमहरु खासै प्रस्ताव नभएको पनि बताएका छन् । ‘हालसम्म नयाँ कार्यक्रम तथा परियोजना प्रस्ताव गरिसकेका छैनौं, हामी अझै पनि छलफलमै छौं, पुरानै कार्यक्रमलाई दोहोर्याएर प्रभावकारी ढंगले काम गर्ने सोच हामीले बनाएका छौं,’ उनले भने ।
उनका अनुसार विभिन्न ठाउँहरुमा हिल स्टेसन निर्माण, एक प्रदेश एक साँस्कृतिक गाउँ, एक प्रदेश एक साँस्कृतिक महोत्सव जस्ता कार्यक्रमलाई नै प्राथमिकता दिई कार्यक्रमको प्रस्ताव गर्ने तयारी भइरहेको छ ।
आगामी आर्थिक वर्षको बजेट नतिजामुखी ल्याउने तयारीमा अर्थ मन्त्रालय देखिएको छ । मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट विनियोजन मात्रै भन्दा पनि त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै बजेट ल्याइने बताए ।
‘अंकमा धेरै बजेटभन्दा पनि त्यसको प्रभावकारिता र नतिजामा आगामी वर्षको बजेटले ध्यान दिन्छ, त्यही किसिमले अर्थमन्त्रालयबाट नै परिपत्र भएको छ, परियोजनाको पूर्व तयारी भएपछि मात्रै त्यसमा बजेट विनियोजन हुन्छ,’ उनले भने ।
आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महत्वपूर्ण प्राथमिकताका क्षेत्र र परियोजनाहरु तय गरेर मात्र बजेट विनियोजन गर्ने उनको भनाई छ । उनका अनुसार सबैभन्दा महत्वपूर्ण तथा प्राथमिकताको क्षेत्र पुनरुत्थानका लागि हुनेछ ।