घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान
काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो । फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ । ती चुनौती समाभान गर्दै फेस्टले ती कमी–कमजोरीलाई सम्बोधन गर्ने जनाइएको छ । प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्याउन सक्ने अपेक्षा राखिएको छ । चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजित पक्षले व्यक्त गरेको छ । आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो । आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी भएको जनाएको छ। हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर थियो । दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ । घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ । तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ । नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ । फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ ।
आज कर्णाली र काठमाडौं भिड्दै, प्लेअफको यात्रामा पुग्न जित्नै पर्ने बाध्यता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपरान्ह ३:३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नै पर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौं तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
साढे ४ करोडको लागतमा गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो
गुल्मी । गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा चार करोड ५० लाखको लागतमा १६ कोठाको दुईतले भवन निर्माण थालिएको छ । आगामी २०८४ वैशाख १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा पालिकालाई कठिनाइ भएको थियो । स्थानीय म्यालपोखरी माध्यमिक विद्यालयसँग समन्वय गरी पालिकाको नाममा जग्गा व्यवस्थापन भएपछि भवन निर्माण थालिएको हो ।
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र कान्ति आरोग्य अस्पताल, नेपालगञ्जबीच सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई कान्ति आरोग्य अस्पतालमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको कम्पनीले जनाएको छ । अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्याब टेस्ट तथा एक्सरेमा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, अपरेसन, भिडियो एक्सरे र औषधिमा १० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् । कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने नेपालगञ्ज क्षेत्रको अस्पताल हो । बिरामी–केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेर अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ । नेपालगञ्जको मुटुमा अवस्थित यस अस्पतालमा अत्याधुनिक सुविधा र स्पेशलिस्ट चिकित्सकहरूको टोलीमार्फत उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
कर्णालीले दियो विराटनगरलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य
काठमाडौं । प्रियांक पञ्चाल र विलियम बोसिस्टोको ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किंग्सलाई १६१ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रबार भइरहेको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको हो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै, अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे । गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
१५ वर्ष पूरानो सपना पूरा : २० करोड लगानीमा आईआईएमएस कलेजको आफ्नै भवन सञ्चालनमा
काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित आईआईएमएस कलेज अब नयाँ रूप–रंग र सुविधासहित अत्याधुनिक भवनमा प्रवेश गरेको छ । जुन भवनको नाम ‘आइआइएमएस २.०’ राखिएको छ । नक्सालस्थित भगवती मन्दिर नजिकै साढे १० रोपनी जग्गामा २० करोडभन्दा बढी लगानीमा संरचना निर्माण गरिएको छ । सोही भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरियो । नयाँ कलेजको उद्घाटन टेलर्स युनिभर्सिटी मलेसियाका उपकुलपति प्रोफेसर ब्यारी विनले गरेका थिए । कार्यक्रममा बोल्दै उनले आजको दिन अन्तराष्ट्रिय शिक्षामा एक महत्त्वपूर्ण माइलस्टोन स्थापित भएको दिन रहेको बताए । उनले भने, आईआईएमएससँगको सहकार्यले नेपालका भावी विश्व नागरिकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ ।’ विनले यो संरचना कलेजको पहिलो ठूलो सपना– आफ्नै क्याम्पस—साकार भएको क्षण भएको बताए । उनले टेलर्स युनिभर्सिटी र आइआइएमएस बीचको सहकार्यले अन्तर्राष्ट्रिय शिक्षामा नयाँ माइलस्टोन स्थापित गरेको जानकारी दिए । ‘आईआईएमएससँगको सहकार्यले नेपालका भावी विश्व नागरिकलाई सशक्त बनाउने हाम्रो साझा प्रतिवद्धतालाई मजबुत बनाएको छ,’ उनले भने, ‘हामी भौगोलिक सीमाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा उपलब्ध गराउन तयार छौं ।’ उपकुलपति प्रोफेसर ब्यारी विन र सवीन्द्र महर्जन आईआईएमसी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सवीन्द्र महर्जनले जग्गा लिजमै लिएर पनि आफ्नै भवन निर्माण गर्नुले पहिलो सपना पुरा भएको बताए । सवीन्द्र महर्जन उनी भन्छन्, ‘आईआईएमएस२.० केवल एउटा भवन होइन, यो नेपालको भविष्यप्रति गरिएको प्रतिवद्धता हो, हामी नेपालमै विश्वस्तरीय शैक्षिक वातावरण सिर्जना गर्दैछौं, जहाँ विद्यार्थीहरूले विदेश नै न जान विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।’ पहिले साँघुरो भवनमा रहेको कलेज अब फराकिलो ठाउँमा रहेकाले विद्यार्थीलाई प्रोजेक्टमा छलफल गर्न सहज हुने अपेक्षा कलेजले गरेको छ । नयाँ भवन निर्माणसँगै नयाँ ठाउँमा सरेको कलेजले पहिलो सपना सफल रहेको प्रतिक्रिया दिएको छ । कस्तो छ संरचना ? १५ वर्षदेखि शैक्षिक सेवा दिँदै आएको आईआईएमएसले नक्सालमा उद्घाटन गरेको भवनलाई आइआईएमएस २.० राखेको छ । विश्वविद्यालयको मान्यताअनुसार यो नाम राखिएको कलेजले जनाएको छ । कलेजमा इनोभेसन र एभरेष्ट दुईवटा ब्लक छन् । दुई भवनको २० वटा कक्षा कोठा गरी करिब ३० वटा कोठा छन् । सबै कोठा अत्याधुनिक छन् भने तीनवटा कम्प्युटर ल्याब, बीएचएमको लागि दुईवटा किचन र एउटा बेकरी छ । कलेजमा कम्प्युटर ल्याब प्रयोगशाला, आधुनिक पूर्वाधार विद्यार्थी केन्द्रित छन् । कलेजमा विद्यार्थीलाई पढाउन कोठामात्र बनाएको छैन, उनीहरू खेल्नको लागि सहज होस भनेर फराकिलो ठाउँ पनि राखिएको छ । त्यहाँ बास्केटबल, फुटसल पनि निर्माण गरिने योजना कलेजले बनाइएको छ । विद्यार्थीलाई आफ्नो प्रोजेक्टमा छलफल गर्नको लागि ओपन स्पेस छोडिएको छ । कलेजले हाल स्नातक तहको कार्यक्रममात्र सञ्चालन गरिरहेको छ । स्नातकोत्तरको कार्यक्रम सञ्चालन गर्ने तयारी पनि कलेज लागेको छ । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै उपलब्ध गराउने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको हो । मलेसियाको शीर्षस्थानमा रहेको टेली युनिभर्सिटीसँग सहकार्य गर्दै काठमाडौंबाटै अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको छ । यो कलेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईटी कोर्स, व्यवसाय, व्यवस्थापन कोर्ष र हस्पिटालिटीसम्बन्धी तालिम दिँदै आएको छ । स्कुल अफ बिजनेस एण्ड हस्पिटालिटी एकेडेमिक प्रमुख बृहतसिंह बोस्वा आईआईएमएसले आफ्नै भवन बनाएर बस्ने सपना धेरै पहिले देखेको अहिले आएर बल्ल पुरा भएको बताउँछन् । बृहतसिंह बोस्वा ‘विद्यार्थीलाई अन्तराष्ट्रिय विश्वविद्यालय कस्तो हुन्छ भनेर अनुभव दिने सपना हो । त्यही सपनाको पहिलो चरण आज सुरु भयो,’ बोस्वाले भने । कलेजमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।
४३ करोड नयाँ नोट छाप्न २ अर्ब ४३ करोड रुपैयाँ लागत
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । पौडेलले राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहण गर्दै गत जेठ ७ गते ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णय गरेका थिए । पौडेलको पहिलो निर्णय बमोजिम राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४३ करोड थान र २१ अर्ब रुपैयाँ बराबरको ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको हो । दुबै दरका नयाँ नोटमा हालका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् पछिल्लो विनिमय दर अनुसार २ अर्ब ४३ करोड रुपैयाँ लागत लाग्नेछ । उक्त लागतका आधारमा एउटा १ हजार रुपैयाँको एउटा नोट छाप्न ५.६५ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ लागत लाग्ने विभागले जनाएको छ । सो लागतका आधारमा एउटा ५० रुपैयाँको नोट छाप्न ३.५२ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता भएको छ । ५० रुपैयाँ दरका नयाँ नोट छाप्न गत कात्तिक २५ गते र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न मंसिर ११ गते चाइना बैंकनोट प्रिन्टिङसँग सम्झौता भएको विभागले जनाएको छ । विभागका अनुसार ५० रुपैयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत साउन ९ गते र १ हजार रुपैयाँका नोटका लागि भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।
१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का
काठमाडौं । केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनौट गरेको हो । मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो, चीनका ठूला कम्पनीले गरे करोडौं सहयोगको घोषणा
काठमाडौं । हङकङमा सन् १९४८ यताकै सबैभन्दा भीषण आगलागीमा कम्तीमा ९४ जनाको मृत्यु र सयौं बेपत्ता भएपछि चीनका निजी क्षेत्रका ठूला कम्पनीहरूले उद्धार तथा राहतका लागि दर्जनौं करोड रुपैयाँ बराबरको सहयोग प्रतिवद्धता जनाएका छन् । अलिबाबा ग्रुप र यसको सहायक एण्ट ग्रुपले आगलागीपीडितका लागि ३ करोड हङकङ डलर सहायता दिने घोषणा गरेका छन् । चीनका चर्चित उद्यमी अलिबाबाका संस्थापक ज्याक माले पनि आफ्नो च्यारिटी फाउन्डेसनमार्फत ३ करोड हङकङ डलर आपतकालीन राहतका लागि प्रतिवद्धता जनाए । ज्याक वुल्फस्किन र फिला जस्ता ब्रान्ड भएको स्पोर्टसवेयर निर्माता एन्टाले नगद तथा सामाग्री गरी ३ करोड हङकङ डलर सहयोग गर्ने बताएको छ । शाओमी कर्प र बाइटडान्सले आ–आफ्नो तर्फबाट १–१ करोड हङकङ डलर सहयोग गर्ने घोषणा गरेका छन् । टेन्सेन्टले सुरुमा १ करोड हङकङ डलर दिने भनी जनाएकोमा पछि सहयोग बढाएर ३ करोड बनायो । शाङ्हाइ सरकारसम्बद्ध द पेपरको अनुमान अनुसार बुधबारसम्म ४० भन्दा बढी निजी उद्यमहरूले जम्मा ६० करोड हङकङ डलरभन्दा माथिको सहयोग प्रतिवद्धता जनाइसकेका छन् । चीनको निजी इक्विटी कम्पनी हङशान क्यापिटल ग्रुप (पहिले सेकोइया क्यापिटल चाइना) ले पनि उद्धार कार्यका लागि १ करोड हङकङ डलर प्रदान गर्ने भएको छ। रकम पीडित परिवारलाई आर्थिक राहत, विस्थापित बालबालिकाका लागि शैक्षिक सामग्री, मनोसामाजिक सहयोग र अन्य आवश्यक सेवाका लागि उपयोग गरिनेछ । यी सहयोग घोषणाहरू राष्ट्रपति सी जिनपिङले क्षमता अनुसार सबै सहयोग जुटाउन तथा आवश्यक सहारा प्रदान गर्न सम्बद्ध निकाय र पक्षहरूलाई आह्वान गरेपछि सार्वजनिक भएका हुन्। शाओमीका सह–संस्थापक लेइ जुनले २०१९ मा आफ्नो परोपकारी फाउन्डेसन स्थापना गरेदेखि अत्याधुनिक प्रविधि विकास तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्न १.७ अर्ब युआन (२.४ अर्ब रुपैयाँभन्दा बढी) दान गरिसकेका छन् । २०२१ मा मेइटुआनका संस्थापक वाङ सिङले आफ्नो फाउन्डेसनलाई शिक्षा तथा वैज्ञानिक अनुसन्धान प्रवर्द्धनका लागि करिब २.३ अर्ब डलर बराबरको सेयर प्रदान गरे। बाइटडान्सका संस्थापक झाङ यिमिङले पनि आफ्नो सम्पत्तिको ठूलो हिस्सा सामाजिक कार्यमा लगानी गरेका छन् । १९४८ यताको सबैभन्दा भीषण आगलागी चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार बिहान उद्धृत गरेको हङकङ फायर विभागको तथ्यांकअनुसार मृत्यु संख्या ९४ पुगेको छ । १९४८ मा गोदाममा लागेको आगलागीमा १७६ जनाको मृत्यु भएपछि यो सबैभन्दा धेरै मानवीय क्षति भएको आगलागी हो । रायटर्सका अनुसार, नवीनतम आगलागी वाङ फुक कोर्ट नामक उत्तरी हङकङमा रहेको आठ टावर भएको सार्वजनिक आवासीय कम्प्लेक्समा फैलिएको थियो, जहाँ २ हजार अपार्टमेन्टमा करिब ४ हजार ६०० मानिस बस्छन् । अधिकारीहरूलाई उद्धृत गर्दै रायटर्सले लेखेअनुसार सातमध्ये चार ब्लकमा लागेको आगलागी सुरु भएको करिब एक दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । बाँकी क्षेत्रमा भने आगो नियन्त्रणमा लिन दमकलकर्मीहरू निरन्तर संघर्ष गरिरहेका थिए । अधिकारीहरूले आगो आवासीय टावरलाई घेरेर राखिएको बाँसको स्क्याफोल्डिङबाट सुरु भएर काठका डाँठ र सुरक्षा जालमार्फत अन्य भवनमा फैलिएको हुनसक्ने बताएका छन् । हङकङ प्रहरीले अत्यन्तै ज्वलनशील फोम, प्लास्टिक र सुरक्षा मेस प्रयोग गरिएको आलोचना गर्दै यसलाई ‘गम्भीर लापरवाही’ का रूपमा वर्णन गरेको छ । आगलागीसँग सम्बन्धित अभियोगमा एक निर्माण कम्पनीका तीन जनालाई ‘मानवहत्या’ आरोपमा पक्राउ गरिएको छ ।
सिटिजन्स बैंक : सरकारलाई डेढ अर्ब, सेयरधनीलाई ७७.७३ करोड रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा (एजीएम) आज बस्दैछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै संस्थापक समूहबाट १ र सर्वसाधारण समूहबाट ३ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । मजबुत वित्तीय स्थिति गत वर्ष बैंकको कुल सम्पत्ति १०.१९ प्रतिशतले वृद्धि भएर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षको २ अर्ब २२ अर्ब ८६ करोड रुपैयाँ कुल सम्पत्ति थियो । समीक्षा वर्षमा बैंकको निक्षेप संकलन ११.७९ प्रतिशत बढेर २ खर्ब १४ अर्ब ८ करोढ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको तथ्याङ्क अनुसार कुल निक्षेपमा सर्वसाधारण ग्राहकको २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाको २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस्तै, कुल निक्षेपमा चल्तीतर्फको ५.३२ प्रतिशत, बचतको ३४.२६ प्रतिशत, मुद्दतीको ५१.८३ प्रतिशत, मागेको बखत तिर्नुपर्ने ८.०५ प्रतिशत र बाँकी अन्य निक्षेप रहेको बैंकले जनाएको छ । बैंकका अनुसार गत वर्ष कुल कर्जा १.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवमा बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमध्ये १ खर्ब ७३ अर्ब ८९ करोड रुपैयाँ सर्वसाधारणलाई र १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ । २०८२ असारसम्ममा कुल कर्जामध्ये रियल स्टेटमा २.७७ प्रतिशत, हाउजिङ्गमा ६.३८ प्रतिशत, मार्जिन लेन्डिङ्गमा ४.०१ प्रतिशत, अधिविकर्ष कर्जामा ३.१३ प्रतिशत, आवधिक कर्जामा ४४.४६ प्रतिशत, डिमाण्ड तथा चालु पुँजी कर्जामा ९.८७ प्रतिशत, हायर पर्चेजमा २.५७ प्रतिशत, विपन्न वर्ग लक्षितमा ६.८१ प्रतिशत र अन्य कर्जामा १९.७० प्रतिशत लगानी रहेको बैंकले जनाएको छ । साथै, प्राथमिकता प्राप्त क्षेत्रमा ३३.६ प्रतिशत लगानी गरेको छ, जसमध्ये कृषि क्षेत्रमा ११.७७ प्रतिशत छ । यस्तै, हाइड्रोपावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा ४३ अर्ब ८ करोड रुपैयाँमध्ये २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पु¥याएको बैंकले जनाएको छ । करिब १ हजार २२७.०८ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनामा कर्जा लगानी गरेको दाबी सिटिजन्स बैंकको छ । २०८२ असार मसान्तसम्ममा ६ हजार ६७१ वटा साना तथा मझौला कर्जा शीर्षक अन्तर्गत कुल १५ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । कृषि तथा साना व्यवसायलाई लक्षित ९ हवार २९७ वटा फास्ट ट्रयाक लोन शीर्षक अन्तर्गत कुल कर्जा ६ अर्ब ५० करोड रुपैयाँ र कृषि तथा उद्यम कर्जामा १८ अर्ब ९६ करोड रपैयाँ तथा कृषि ऋणपत्र तर्फ ६६ करोड ९० लाख रुपैयाँ सहित बैंकले कृषि क्षेत्रमा कुल १९ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । कृषिलाई थप योगदान पु¥याउने उद्देश्यले ‘एक क्षेत्र एक उत्पादन/एक जिल्ला एक उत्पादन’ को रणनीति तयार पारी १ हजार ९२२ वटा ऋणीलाई २ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७६ अन्तर्गतका विभिन्न क्षेत्रमा कुल २ हजार ५४८ ऋणीलाई १ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ५.७२ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको गत वर्ष १२.०८ प्रतिशत बढेर ६.४१ अर्ब रुपैयाँ गरेको जनाएको छ । अघिल्लो वर्ष गैह्र ब्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत वर्ष २८.१८ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । कुल सञ्चालन खर्च अघिल्लो वर्ष ३ अर्ब ४३ करोड रुपैयाँ थियो भने गत वर्ष शाखा सञ्जाल वृद्धि, घर भाडा, बीमा शुल्क, स्टेशनरी, पोशाक खर्च, सुरक्षा खर्च, इन्टरनेट जडान जस्ता खर्चले कुल सञ्चालन खर्च ६.८४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा पुँजी कोष अनुपात १२.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष पुँजी कोष अनुपात १३.०६ प्रतिशत थियो । बैंकको उपस्थिति नभएको स्थानमा व्यवसाय विस्तार गर्न गत वर्ष बैंकले काठमाडौंको पानीपोखरी, ललितपुरको हरिसिद्धि र खोटाङको दिक्तेलमा नयाँ शाखा विस्तार गरी २ सय शाखा पुर्याएको छ । यस्तै, बैंकले थप ६ वटा एटीएम सञ्चालनमा ल्याएसँगै कुल एटीएमको संख्या १६८ वटा र पीओएसको संख्या ५१६ वटा पुगेको जनाएको छ । बैंकका अनुसार डेबिट कार्डको संख्या ४ लाख २ हजार २ सय वटा, क्रेडिट कार्डको संख्या ५ हजार १३४ वटा र प्रिपेड कार्डको संख्या ५ हजार २६६ वटा रहेको छ । सेवा सुविधालाई सरल, सहज र सुरक्षित रुपमा ग्राहक समक्ष पु¥याउन बैंकले नविन प्रविधिको प्रयोगमा जोड दिइरहेको छ । बैंकले आफ्नो डाटा सेन्टरलाई थप सबल भौतिक पूर्वाधार भएको स्थानमा स्थानान्तरण गरेको छ । जसले गर्दा डाटा सेन्टरमा हुने विद्युतीय तथा अन्य भौतिक जोखिमहरु पनि न्यूनीकरणमा सहयोग भई बैंकको आन्तरिक तथा ग्राहक केन्द्रित सेवाहरुलाई सदैब सुचारु अवस्थामा राख्न थप टेवा मिल्ने बैंकले जनाएको छ । बैंकिङ्ग सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनको लागि इन्फोसिसले विकास गरेको विश्वकै उत्कृष्ट बैंकिङ्ग सफ्टवेयरमा पर्ने फिनाकल कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आएको छ र साथै फिनाकल भर्जन तथा फिचरलाई अद्यावधिक गर्ने कार्य भइरहेको बैंकले जनाएको छ । विदेशमा रहेका नागरिकलाई सेवा प्रदान गर्न उद्देश्यका साथ बैंकको सिटिजन्स रेमिट सेवा सञ्चालनमा छ । उक्त सेवामार्फत बैंकले विप्रेषण कारोबार सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले गत वर्ष कुल ३ करोड २६ लाख २० हजार ५ सय ६६ अमेरिकी डलर बराबरको विप्रेषण भित्र्याएको छ । जसबाट बैंकलाई २ करोड ६५ लाख ६८ हजार १९१ रुपैयाँ आम्दानी भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही बमोजिम गत वर्ष बैंकले स्वास्थ्यमा २१ लाख ४३ हजार रुपैयाँ, शैक्षिक क्षेत्रमा २८ लाख ८४ हजार रुपैयाँ, वातावरण संरक्षणमा ६ लाख ३९ हजार रुपैयाँ, वित्तीय साक्षरताका निम्ति २६ लाख रुपैयाँ, मानवीय सहयोग तथा राहतमा ४८ लाख ८ हजार रुपैयाँ, दिगो विकासका लक्ष्यमा ६ लाख २५ हजार रुपैयाँ गरी विभिन्न संघ संस्थालाई १ करोड ४७ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको तथ्याङ्क अनुसार २०८२ असारसम्म कुल १ हजार ८०७ जना कर्मचारी कार्यरत छन् । गत वर्ष १६८ जना नयाँ कर्मचारी थपिएका छन् भने १४५ जना कर्मचारी नै बैंकबाट बाहिरिएका छन् । कुल कर्मचारीमध्ये ७७२ जना (४२.७२ प्रतिशत) महिला रहेको बैंकको दाबी छ । गत वर्ष कर्मचारीको दक्षता अभिवृद्धि गर्न २ करोड ६८ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । गत आव २०८१/८२ मा बैंकले अग्रिम आयकर बापत ५० करोड रुपैयाँ, विभिन्न भुक्तानीमा कर कट्टी गरेबापत ९१ करोड ९८ लाख १६ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा र २ करोड ३५ लाख ९८ हजार रुपैयाँ अन्य आन्तरिक राजस्व कार्यालयमा गरी कुल १ अर्ब ४४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ । बैंकमा चुनौती सिटिजन्स बैंकले बैंकिङ क्षेत्रका लागि जेनजी आन्दोलनदेखि साइबर सुरक्षासम्मको खतरा देखाएको छ । नेपालको बैंकिङ क्षेत्र अहिले जटिल र बहुआयामिक चुनौतीको घेरामा परेको बैंकले जनाएको छ । जसले आगामी दिनमा बैंकिङ सञ्चालन थप कठिन बन्न सक्ने बैंकको निष्कर्श छ । परम्परागत आर्थिक तथा वित्तीय जोखिम मात्र नभई सामाजिक, राजनीतिक र प्राविधिक पक्षबाट उत्पन्न हुने नयाँ र गम्भीर खतराहरू बैंकले समावेश गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमहरूलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बन्दै गएको छ । आर्थिक, मौद्रिक तथा वित्तीय नीतिमा हुने आकस्मिक परिवर्तन, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दी, विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा आउने उतार चढाव र विदेशी विनिमय दरमा हुने परिवर्तनले बैंकको कारोबारमा सीधा असर पार्ने देखिएको छ । यस्तै, तरलतामा हुने उतार चढावका कारण निक्षेप तथा कर्जाको ब्याजदरमा हुने परिवर्तन र लगानीयोग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमले बैंकहरूलाई दबाब दिएको छ । यसको विपरीत, अत्यधिक तरलताका कारण बढेको तीव्र बैंकिङ्ग प्रतिस्पर्धाले नाफामा असर पारेको देखिन्छ । समयमै कर्जा असुली नभई उत्पन्न हुने जोखिम र गैरकोषीय सेवा (प्रतीतपत्र/जमानतपत्र) जारी गर्दा हुन सक्ने जोखिम प्रमुख छन् । पुँजी बजारमा आउन सक्ने उतारचढाव र वैकल्पिक लगानी क्षेत्रको अभावले बैंकको लगानी पोर्टफोलियोलाई जोखिममा राखेको बैंकले जनाएको छ । आम्दानीको स्रोत साँघुरिएको बेला पनि लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने चुनौतीले बैंकको व्यवस्थापनमा ठूलो दबाब सिर्जना गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बनेको छ । सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्याङ्क र पर्याप्त प्रविधिहरूको अभावले नेपाललाई अन्तर्राष्ट्रिय अनुपालनको चुनौतीमा पारेको छ । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जोखिमलाई समेत प्रमुख खतराको सूचीमा राखिएको छ, जसले बैंकिङ क्षेत्रमा उदीयमान जोखिमको आयामलाई स्पष्ट पारेको छ । कुन कोषमा कति छुट्यायो ? बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त नाफाको २० प्रतिशत अर्थात् २५ करोड ७४ लाख १५ हजार रुपैयाँ साधारण जगेडा कोषमा छुट्याइएको छ । यस्तै, नाफाको २५ प्रतिशत अर्थात् १४ लाख १५ हजार रुपैयाँ सटही समीकरण कोष, १ प्रतिशत अर्थात १ करोड २८ लाख ७० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको छ । यस्तै, कर्मचारी क्षमता अभिवृद्धि कोष अन्तर्गत १ करोड २४ लाख ५ हजार छुट्याइएको छ भने २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गरिएको छ । गैह्रबैंकिङ्ग सम्पत्तिको निमित्त जम्मा गरिएको नियमनकारी कोष रकममा समेत यस वर्षको समायोजन अनुसार १० करोड ९९ लाख ६७ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ भने बिमाङ्किक लाभको निमित्त नियमनकारी कोषमा ३९ लाख २ हजार रुपैयाँ र स्थगन कर सम्पत्ति बापत ३ करोड २ लाख ६१ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । यसैगरी, नाफा नोक्सान मार्फत उचित मोलमा मापन गरिएका व्यापारिक सम्पत्तिको प्राप्त भइ नसकेको यस वर्षको नाफा रकमको निमित्त २ करोड ६ लाख ११ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । साथै, पुँजीकृत ब्याज आम्दानीको निमित्त जम्मा गरिएको नियमनकारी कोषबाट चालु आ.व. को समायोजन पश्चात् सञ्चित मुनाफामा ६१ लाख ३९ हजार रुपैयाँ फिर्ता गरिएको छ । बैंक अफ द इयर २०२४ को अवार्ड पाएको सिटिजन्स बैंकका सिटिजन्स क्यापिटल र सिटिजन्स सेयर ब्रोकर गरी २ वटा सहायक कम्पनी छन् । २० करोड रुपैयाँ पुँजी रहेको सिटिजन्स क्यापिटलमा बैंकको ५८.६० प्रतिशत अर्थात् ११ करोड ७२ लाख रुपैयाँ लगानी रहेको छ । क्यापिटलले गत वर्ष ३ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा गर्दा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सतप्रतिशत लगानी रहेको ब्रोकरको पुँजी २० करोड रुपैयाँ छ । गत वर्ष २ करोड १० लाख रुपैयाँ नाफा गर्दा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
पूर्वीनाकाबाट १ अर्ब ३७ करोडको चिया निर्यात
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।
१९ करोड ८१ लाखको क्रिप्टो कारोबार गर्ने मोहम्मद सेफ पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ को अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एनपीएल क्रिकेटः आज २ खेल हुँदै, कर्णालीलाई जित्नैपर्ने दबाब
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि २ खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपरान्ह ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन ४ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा २ अङ्क मात्र बटुलेको छ । ३ खेलबाट २ अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेलबाट ६ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।
नबिल बैंक र ग्रोथ अड्भाइजर्सबीच साझेदारी, ८४ करोड अनुदान दिने
काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश - ग्रोथ अड्भाइजर्स (एनआइबी-जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ । नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने बताए । 'यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ', उनले भने, 'परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।' एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । 'यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ', उनले भने । साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ । एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।
नेप्से १०.४३ अंकले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार वृद्धि भएर बन्द भएको छ । आइतबारदेखि लगातार बढ्दै आएको बजारले बिहीबार पनि उकालो यात्रा कायम राख्दै नेप्से परिसूचक १०.४३ अंकले उक्लिएर २,६७६ विन्दुमा पुगेको हाे । बजारमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ, जसको कारोबार ४० करोड १७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा सागर डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
गोल्यान ग्रुपले शहीद परिवारलाई अध्ययनका लागि वार्षिक डेढ करोड खर्च गर्ने
काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारलाई वार्षिक डेढ करोड खर्च गर्ने भएको छ । ग्रुपले सहिदका बालबालिकालाई अध्ययनको लागि खर्च गर्ने भएको हो । शहीद परिवारका बालबालिकालाई अध्ययनको लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ । गोल्याणले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो । पहिलो चरणमा मंगलबार गोल्याण टावरमा आयोजित कार्यक्रममा ६ जना सहिदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । ‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजक बमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’ गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत व्यहोर्नेछ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सो वापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ । सहिद अनिष पराजुलीका दुई छोरामध्ये जेठो छोरा नर्थ पोल एकाडेमी, मनमैजु (कक्षा ८) र कान्छो छोरा काठमाडौं यूरो स्कुल बानियाटार (प्ले ग्रुप) मा अध्ययन गर्ने गरी सम्झौता भएको छ । त्यसैगरी सहिद अभिषेक चौलागाइँकी बहिनी जागृती विद्या सदन इंलिस स्कुल भक्तपुर (कक्षा १०), सहिद बुद्धिबहादुर तामाङका छोरा कश्यप एकाडेमी कलंकी (कक्षा ८), सहिद सौरन किशोर श्रेष्ठका छोरा यूरो स्कुल छाउनी (कक्षा १), सहिद सन्तोष विश्वकर्माका छोरा र छोरी क्याम्ब्रिज पब्लिक हाइस्कुल वानेश्वर (क्रमशः कक्षा ३ र २) तथा सहिद साजनकुमार राईका दुई छोरा त्रि–ज्योती सेकेन्डरी स्कुल कपन (कक्षा ७ र यूकेजी) मा अध्ययनन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर व्यहोरिनेछ । सम्झौतापत्रमा गोल्याण ग्रुपको तर्फबाट कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) ले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाहरुको शिक्षाको दायित्व लिने प्रतिवद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको बताए । जेनजी आन्दोलनका सहिदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनको भनाइ थियो । ‘हामीले व्यवसायलाई प्रवद्र्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन–मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं,’ उनले भने, ‘यो सम्झौताले प्रत्येक बच्चाले गुणस्तरीय शिक्षा पाउने मात्र नभई कक्षाकोठाभन्दा बाहिर उनीहरूको प्रतिभा र क्षमता विकास हुने अवसरको पनि सुनिश्चित गर्दछ ।’ बालबालिकाले गुणस्तरीय शिक्षा र असल संस्कार पाउँदा त्यसबाट सिंगो देशको भविष्यमा सकारात्मक प्रभाव पार्ने उनले बताए । बालबालिकाको शिक्षा र उनीहरुको उज्वल भविष्यको लागि गोल्याण ग्रुप सधैं साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गरिने जानकारी दिइन । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको हो । अन्य बालबालिकाहरुको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् । उनका अनुसार गोल्याण ग्रुपले शैक्षिक वृत्तिको लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शैक्षिक वृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ,’ उनले भनिन्, ‘हरेक सहिद परिवार शिक्षा वा स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वित हुनुहनेछ ।’
ममता मिश्रको कथा, शिक्षकदेखि सफल बीमा अभिकर्ता
चितवन खैरेनीटारकी ममता मिश्र पेशाले शिक्षक हुन् । स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी स्कूलमा वर्षौँ शिक्षण गरिन् । शिक्षणप्रति गहिरो रुचि भएकी ममताको निजी स्कूलमा पढाउँदा खासै आकर्षक पारिश्रमिक भने थिएन । यसै क्रममा दिदी कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ मोड लियो, बीमा अभिकर्ताको रूपमा । कविताले 'तिम्रो स्कूलमा विद्यार्थीका अभिभावकसँग राम्रो सम्बन्ध हुन्छ, अभिकर्ता पेशा तिम्रो लागि एकदमै उपयुक्त हुन्छ' भनेर दिएको सल्लाहले उनलाई निकै छोयो । दिदीको मार्गदर्शनअनुसार उनले तत्कालीन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट अभिकर्ता लाइसेन्स लिइन् र अभिभावकका घर–घर धाउन थालिन् । विद्यार्थीको भविष्य सुरक्षित गर्न चाहने अभिभावकहरूलाई प्रत्यक्ष भेटेर बुझाउँदा उनका प्रस्ताव अस्वीकार हुने प्रश्न नै आएन । यसै सक्रियताले उनी सानिमा रिलायन्समा सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गर्ने अभिकर्तामध्ये पर्न सफल भइन् । काम सुरु गरेको पहिलो महिनामै उनी एजेन्सी म्यानेजरमा नियुक्त भइन् । स्नातक तहसम्म अध्ययन पूरा गरेकी ममता निजी विद्यालयमा लामो समय काम गरिन् । अहिले भने उनी एउटा सरकारी स्कूलमा पढाउँदै आइरहेकी छिन् । २०७७ देखि निरन्तर सफलताको यात्रा अभिकर्ता बनेको पहिलो वर्षमै २०७७ मा उनी कम्पनीबाट विभिन्न अवार्ड जित्न सफल भइन् । 'मैले २०७७ सालमै पहिलो एजेन्सी म्यानेजर अवार्ड पाएँ,' उनी गौरवका साथ सम्झिन्छिन् । ममताको दिनचर्या व्यस्त छ । उनी महिनामा कम्तीमा ६–७ जनाको बीमा गराउँछिन् । शिक्षक भएकै कारण उनी प्रति अभिभावकको विश्वास बलियो छ । उनी कहिल्यै पनि ठूला ठूला बीमा गराएर कम्पनीले दिने ठूला ठूला टार्गेट पूरा गर्ने महत्वकांक्षा पलाएनन् । १० हजार नै प्रिमियम किन नहोस्, पछ्याउन छाड्दिनन् । अभिकर्ता पेशाबाट हुने सानो सानो आम्दानीले पनि उनलाई सन्तुष्ट बनाउँछ । उनको ध्यान प्रिमियम बढाउनभन्दा पनि 'कसरी धेरै परिवारले बीमा सुरक्षामा जोड दिने' भन्नेमा हुन्छ। विद्यार्थीलाई केन्द्रमा राख्ने भएकाले उनका धेरै पोलिसी साना–साना प्रिमियमका हुन्छन् । तर संख्यामा भने उनी कहिल्यै पछाडि परिनन् । उनका कुनै वर्षमा पनि ५० भन्दा कम पोलिसी जारी भएको अनुभव छैन । यसले गर्दा सानिमा रिलायन्स लाइफको टाडी शाखामा उनी सधैं दोस्रो शीर्ष बीमा अभिकर्तामा पर्छिन् । पहिलो स्थानमा हुने कल्पना विष्ट जस्तै, ममता पनि कम्पनी भित्र पुरै नेपालकै अग्र अभिकर्ताभित्र पर्छिन् । विद्यार्थीमार्फत अभिभावकलाई जोड्ने अनौठो तरिका ममताको काम गर्ने शैली अरूभन्दा केही फरक छ । धेरै अभिकर्ताले साथी–भाइ वा आफन्तलाई लक्षित गर्छन् । तर ममता भने विद्यार्थीमार्फत उनीहरूको अभिभावकलाई भेट्छिन् । अभिभावकमा पनि आमा–बुबा दुवैलाई एकैसाथ बीमाको महत्व बुझाउँछिन् । उनी बीमालाई 'बचत' को रूपमा प्रस्तुत गर्छिन् । 'बीमा भनेको बचत हो,' उनी भन्छिन्, 'पोलिसी परिपक्व हुँदा भविष्यमा छोराछोरीको उच्च शिक्षा तथा सामाजिक कार्य, विवाह लगायतका अनिवार्य खर्चमा ठूलो सहयोग पुग्छ ।' यसरी बीमाबाट प्राप्त हुने बचत मात्र होइन, भविष्यमा हुनसक्ने दुर्घटना तथा घातक रोगको कभरेजबारे पनि उनी अभिभावकलाई विस्तृतमा बताउँछिन् । ‘मेरो मुटु जीवन बीमा’ उनको मनपर्ने पोलिसी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘मेरो मुटु जीवन बीमा’ योजना उनी अभिभावकलाई सबैभन्दा धेरै सुझाउँछिन् । अघिल्लो ग्राहकहरूसँग कहिलेकाहीँ सम्पर्क टुट्ने अन्य अभिकर्ताभन्दा फरक, ममता भने आफ्ना विद्यार्थीमार्फत निरन्तर सम्पर्कमा रहन्छिन् । त्यसैले उनी अभिकर्ता क्षेत्रमा ‘सदावहार सक्रिय’ मानिन्छिन् । उनको सफलताको सूत्र सरल छस् 'सबैभन्दा पहिले म मेरा विद्यार्थीको घरमा जान्छु, आर्थिक अवस्था बुझ्छु, अनि मात्र बीमालाई बचतका रूपमा बुझाउँछु ।' विद्यार्थी र अभिभावकसँगको विश्वासकै कारण ममताले अभिकर्ता पेशालाई केवल अतिरिक्त आम्दानीका रूपमा होइन, भविष्य सुरक्षित गर्न सहयोग पुर्याउने सेवाको रूपमा बुझेकी छिन् । आज ममता मिश्र केवल एक शिक्षक वा अभिकर्ता मात्र होइनन्, उनी त्यस्ता व्यक्तिमध्ये एक हुन् जसले आफ्नो समुदायमा वित्तीय सचेतना फैलाउँदै, एक–एक परिवारको भविष्य सुरक्षित गर्ने उद्यम जारी राखेकी छिन् । 'अहिले अलिअलि गरेर गरिएको बचत भोलि गएर धेरै हुन्छ, जसले तपाईंको बच्चाको भविष्यमा ठूलो सहारा बन्छ,' ममता बताउँछिन् । अभिभावकलाई उच्च शिक्षा, विवाह तथा अन्य महत्वपूर्ण खर्चका लागि ऋण नखोज्नु पर्ने यथार्थ उदाहरणसहित बुझाएपछि धेरै परिवारहरू सजिलै कन्भिन्स हुने उनको अनुभव छ । विशेषतः उनी स्कुलमै अभिभावक भेट्न सफल नहुँदा घरघरमै पुगेर बीमा सिकाउने गर्छिन्, जसले उनको दैनिकी अत्यन्त व्यस्त तर फलदायी बनाएको छ । उनी भन्छिन्, 'म कसैको घरमा एक जना मात्र हुनुहुन्छ भने बीमा गराउँदिनँ, श्रीमान–श्रीमती दुवैलाई बुझाएर मात्र प्रक्रिया अगाडि बढाउँछु ।' आर्थिक विषय संवेदनशील हुने भएकाले परिवारभित्र पैसाकै कारण मनमुटाव नहोस् भन्ने उनको सोच हो । त्यही कारणले उनी स्कुल समय बाहेक पूरै समय बीमामा नै समर्पित हुन्छिन् । स्कुल सकिएपछि उनी बीमित परिवारको घरमै पुगेर बीमा पढाउँछिन् र दिनमा दुई–तीन परिवार भेट्ने लक्ष्य पूरा नगरी घर फर्किंदिनन् । उनको सफलताको सबभन्दा ठूलो आधार भने परिवारकै साथ रहेको उनी भन्छिन् । सासु–ससुरा र श्रीमानको सहयोगले उनलाई हरेक चुनौती पार गर्न सजिलो भएको उनको अनुभव छ । श्रीमान केही वर्ष जापान बसेर अहिले नेपालमै मौरी पालन व्यवसायमा छन् । बीमासम्बन्धी कुनै असहज परिस्थिति आयो भने श्रीमानले नै सहज बनाइदिने, बैठकमा लैजाने–ल्याउनेदेखि लिएर आवश्यक समाधान खोजिदिँदा उनको जीवन शैली निकै सहज भएको छ । उनी कहिल्यै पनि एमडिआरटी बन्ने वा ठूलो रकमको पोलिसी भित्र्याउने महत्वकांक्षा बनाइनन् । उनी सामान्य आय भएका घरपरिवारमै बढी पुग्छिन् । यही कारणले जारी पोलिसी संख्यामा उनी सधैं अग्रस्थानमा रहन्छिन् । बीमा शुल्क आर्जनमा धेरै अगाडि नहुँदासमेत यही नै आफ्नो विशेषता भएको बताउँदै उनी भन्छिन्, 'म धेरैभन्दा धेरै घर–परिवारमा पुगेर विद्यार्थीहरूको बीमा गराउन चाहन्छु ।' उनको लक्ष्य एक हजारभन्दा धेरै बालबालिकालाई बीमाको दायरामा ल्याउने छ, र अन्ततः जीवनकै अन्तिम पेशा नै बीमा बनाउने सोच उनले बनाइसकेकी छिन् । उनी विगत केही वर्षमा धेरै स्कूल र समुदायका बालबालिकाको बीमा गराइसकेकी छन् । यसक्रममा उनलाई विश्वास गर्ने, सम्मान गर्ने र घरमा बोलाएर चिया खान आग्रह गर्ने व्यक्तिहरूको कमि छैन । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीले उनलाई उत्कृष्ट अभिकर्ताका रूपमा दिने अवार्ड तथा प्रोत्साहनले अझै अभिप्रेरित गर्ने गरेको छ । उनको बुझाइमा अभिकर्ता भनेको केवल मध्यस्थकर्ता मात्र हो तर बीमा सबै व्यक्तिका लागि अत्यावश्यक छ। 'बीमाले नियमित बचत गराउँछ, र भविष्यमा पार्नुपर्ने आर्थिक भारलाई निकै सहज बनाउँछ,' उनी भन्छिन् । बीमितहरू प्रायः कम्पनीभन्दा अभिकर्तालाई विश्वास गरेर बीमा गर्ने भएकाले आफूले गरेको बीमालाई देखाउँदा उनीहरू ढुक्क हुने बताउँछिन् । उनी जुन परिवारमा जान्छिन्, बीमा गराएरै फर्किने भएकाले आफूलाई अत्यन्त भाग्यमानी ठान्छिन् । आयस्रोत कमजोर हुने घरमा पनि न्यूनतम एक लाख रुपैयाँको बीमा गराउन कन्भिन्स गर्न सकिने उनको अनुभव छ । 'हाम्रो समाजमा वार्षिक पाँच–सात हजार तिर्न नसक्ने कोही हुँदैन । त्यसैले म उहाँहरूको आयस्रोत बुझेर बचतकै लागि भए पनि यति बराबरको बीमा गर्नुपर्छ भनेर सुझाउने गर्छु ।' अहिलेसम्म कसैमाथि अपेक्षा राख्नुपरेको छैन, यही कारण पनि उनी यस क्षेत्रमा सफल भएको बताउँछिन् । उनको अर्को विशेषता भनेको जारी पोलिसीहरू अन्तिमसम्म कायम राखिनु हो । उनका कुनै पनि पोलिसी ल्याप्स वा सरेण्डर भएको छैन । बीमा गरिसकेपछि पनि उनी बीमितसँग नियमित सम्पर्कमा रहन्छिन्, भेटघाट गर्छिन्, नवीकरणको मिति सम्झाइदिन्छिन् । यस्तै सकारात्मक व्यवहारका कारण उनीसँग बीमा गराउन आउनेहरूको संख्या बढ्दो छ । 'एक हजारभन्दा धेरैको बीमा गरेपछि पूर्ण रूपमा बीमा पेशामा समर्पित हुने छु,' उनी भन्छिन् । आर्थिक रूपमा स्वावलम्बी भइसकेकी उनी साधारण जीवनशैलीमा रमाउँछिन्, जसलाई सामान्य परिवारले सजिलै आत्मसात् गर्न सक्छन् । शाखाको पूर्ण सहयोग रहेको बताउँदै उनी भन्छिन्, 'फुर्सद मिल्यो भने म घरदैलोमै पुगेर बीमा गराउँछु । यस यात्रामा धेरै अभिभावकहरूलाई बीमित बनाउन सकेकी छु, यही नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।'
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो, १.७१ करोड रुपैयाँ जमानत पनि जफत
काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँच पटक म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फ समेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत बापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापजाँच गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी उक्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो । साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन । पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।
वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात, १७ अर्ब ३२ करोडको भटमासको तेल
काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरको उत्पादन निर्यात भएका छन् । गत आवको सोही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए । वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार १७ अर्ब ३२ करोड रुपैयाँको भटमासको तेल र २ अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको छ ।
ग्रीसले जनसङ्ख्या मुद्दाका लागि करिब २ अर्ब डलर खर्च गर्ने
काठमाडौं । एथेन्सले सन् २०२६ मा जनसांख्यिकीय मुद्दाहरूको लागि १.७६ अर्ब युरो (२ अर्ब डलर) विनियोजन गर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रतिहजार बासिन्दामा जन्मदरको आधारमा गणना गरिएको ग्रीस युरोपेली सङ्घको सबैभन्दा कम जन्मदर भएको राष्ट्रमध्ये एक हो । प्रति हजार स्पेनको ६.९ र इटाली ६.७ जनाभन्दा सामान्य बढी ग्रीसको जन्मदर ७.३ जना रहेको छ। दक्षिणपन्थी दैनिक इलेफ्थेरोस टाइपोसले आयोजना गरेको एक गोष्ठीमा बोल्दै मित्सोटाकिसले परिवारको सुरक्षाको महत्त्वमा जोड दिँदै र बालबालिका भएका परिवारलाई फाइदा पुर्याउने सरकारले गरेको कर सुधारको बारेमा प्रकाश पारे । ‘हाम्रो देशमा पहिलो पटक, हामीसँग जनसाङ्ख्यिकीय मुद्दाहरूमा एक विस्तृत रणनीति छ । जति धेरै बच्चाहरू जन्मायो करहरूमा त्यति नै धेरै छुट दिइने छ,’ उनले भने । प्रधानमन्त्रीले मित्सोटाकिसले भने, ‘अन्य कारणहरू औंल्याउँदै यदि हामी तिनीहरूलाई समाधान गर्न चाहन्छौं भने हामीले अझ गहिरो विश्लेषण गर्न आवश्यक छ। जनसाङ्ख्यिकीय मुद्दाहरू केवल आर्थिक रूपमा मात्र होइनन् ।’ श्रम बजार र जनसाङ्ख्यिकीय मुद्दाहरूलाई सम्बोधन गर्न आप्रवासी र शरणार्थीहरूलाई प्रयोग गर्ने बारेमा सोधिएको प्रश्नमा, मित्सोटाकिसले आफ्नो सरकारको ‘कठोर’ आप्रवासन नीतिको बचाउ गरे । ‘हाम्रो देशमा गैरकानुनी रूपमा प्रवेश गर्नबाट कसैलाई रोक्नका लागि हामी आफ्नो शक्तिले भ्याएसम्म सबै गर्नेछौँ । ग्रीसलाई नियमित रूपमा आउने आप्रवासीहरूबाट डराउनु पर्दैन, देश रोजगारीको आवश्यकतालाई सम्बोधन गर्न र नियमित आप्रवासीलाई ग्रीक समाजमा एकीकृत गर्न सक्षम छ,’ उनले भने । ग्रीसमा हालसालै सीमित सङ्ख्यामा सुडानी शरणार्थीहरू आएका छन् जो कृषिमा काम गर्न तयार छन् ।