कर्पोरेट हाउसको सहकार्यले बलियो बन्दै नेपाली क्रिकेट अर्थतन्त्र

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चम्किलो फ्लडलाइटको उज्यालो । दर्शकको कानै खाने हुटिङ र खेलाडीहरूको रौनक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले घरेलु क्रिकेटलाई नयाँ उचाइमा मात्र पुर्‍याएन, खेलकुद र कर्पोरेटबीचको साझेदारी कति शक्तिशाली हुन सक्छ भन्ने ज्वलन्त उदाहरण पनि बन्यो। यो सफलतामा जति खेलाडीको पसिना र आयोजकको मिहिनेत छ, त्यति नै ठूलो हिस्सा विभिन्न ब्रान्डहरूको पनि छ । जसले पर्दा पछाडि बसेर एनपीएललाई व्यावसायिक स्थायित्वको लागि निकै बल दिए । तीमध्ये पनि अटोमोबाइल क्षेत्रका दुई प्रमुख ब्रान्ड- पल्सर र ओमोडा एनपीएलको पर्याय बनेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा बताउँछन् । ‘अहिले ओमोडा, पल्सर र एनपीएल एउटा पर्यायवाची जस्तो भएको छ,’ उनले भने । एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको थियो भने अटो क्षेत्रबाट ओमोडा र पल्सरको उपस्थिति रहेको थियो । यस्तै, प्रायोजकमा सिद्धार्थ इन्स्योरेन्स, प्रेसिडेन्ट कलेज, केएफसी, खल्तीलगायत १७ वटा प्रतिष्ठित कम्पनीहरू जोडिएका थिए ।  यी कम्पनीको सहकार्य केवल लोगो टाँस्ने र ब्यानर झुन्ड्याउनेमा मात्र सीमित थिएन । क्यानले एनपीएलको ट्रफीलाई ७ वटै प्रदेशमा पुर्‍याउँदा ओमोडा ट्रफी टुर आयोजना भयो जसले ओमोडा गाडीलाई देशको कुना–कुनामा चिनायो ।  प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्ने क्रममा पनि अटो क्षेत्रको उपस्थिति विशेष रह्यो । प्लेयर अफ द टुर्नामेन्ट बनेका नेपाली खेलाडीले ओमोडाको आकर्षक कार गाडी पाए भने इमर्जिङ प्लेयर बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले पल्सर बाइक पाए ।  क्यानका प्रवक्ता लामाले  भने, ‘जुन ब्रान्डहरू हामीसँग असोसिएट भए, उनीहरू धेरै खुसी छन् । एनपीएलको ब्रान्ड जति बढेको छ, त्यत्तिकै टु–ह्वीलर्स र फोर–ह्वीलर्सको ब्रान्ड पनि बढेको छ ।’  यसले समग्रमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन समेत मद्दत पुर्‍याएको उनको विश्लेषण छ ।  क्यानले गत वर्ष अर्थात् पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेको थियो । जसमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको थियो भने पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा गरेको थियो ।  यसपटकको एनपीएलबाट भने ३० देखि करिब ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गरिएको छ ।  प्रवक्ता लामाका अनुसार एनपीएलको दोस्रो संस्करणमा खर्च र आम्दानीबारे पत्रकार सम्मलेनमार्फत् जानकारी गराइनेछ ।  विज्ञापन मात्र होइन, खेलकुद विकासको दीर्घकालीन लगानी पनि प्रायोजकहरूले खेलकुदमा लगानी गर्नुलाई केवल आफ्नो उत्पादनको विज्ञापन गर्ने माध्यमका रूपमा मात्र हेर्छन् भन्ने आम बुझाइ छ । तर पल्सर बाइक र ओमोडाको सोच त्योभन्दा फरक छ ।  ‘ब्रान्डिङ त आफ्नै ठाउँमा छ । तर हाम्रो मुख्य सोच नेपाली स्पोट्र्समा केही गरौं भन्ने हो,’ पल्सर बाइकको आधिकारिक विक्रेता बजाजका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले भने ।  उनका अनुसार खेलकुदले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँछ र राष्ट्रिय एकताको भावना जगाउँछ । यस्तो महत्त्वपूर्ण क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ । पूर्वाधार, तालिम र खेलाडीको विकासमा लगानी गर्नु निजी क्षेत्रको जिम्मेवारी रहेको उनी बताउँछन् । गोल्छा एनपीएलको सफलताबाट निकै उत्साहित छन् ।  ‘जुन स्तरमा एनपीएलले फ्यान बेस बनाएको छ । त्यो अरू कुनै लिगले गर्न सकेको छैन,’ उनी भन्छन् ।  यही सफलताले गर्दा एनपीएल अब सबै ब्रान्डका लागि एउटा आकर्षक प्रपोजिसन बनेको उनको ठहर छ । क्यान र व्यवसायी दुवैलाई फाइदा साझेदारीले दुवै पक्षका लागि जितको अवस्था सिर्जना गरेको छ । साझेदारीले ठूलो बजेट व्यवस्थापन गर्न र लिगलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत पुगेको क्यान र व्यवसायीहरूले बताइरहेका छन् । खेलाडीलाई गाडी र बाइक जस्ता महँगा पुरस्कार दिँदा लिगको स्तर र आकर्षण बढ्को क्यानको भनाइ छ ।  पहिलो संस्करणका कमी–कमजोरी सुधार्दै फ्लडलाइट, विदेशी खेलाडी र कमेन्टेटरजस्ता पक्षमा लगानी गर्न सम्भव भएको क्यानका प्रवक्ता लामाको भनाइ छ ।  यसैगरी, लाखौं दर्शकमाझ आफ्नो उत्पादनको प्रत्यक्ष प्रचार भएको ओमोडाको जेको जे फाइभ गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ हेड रूपेश श्रेष्ठ बताउँछन् ।  उनका अनुसार खेलकुद र युवा विकासमा योगदान दिने कम्पनीका रूपमा सकारात्मक छवि निर्माण भएको छ ।  आफ्नो लक्षित समूह (युवा) सँग भावनात्मक रूपमा जोडिने अवसर प्राप्त भएको दाबी ओमोडाले गरेको छ ।  एनपीएलको दोस्रो संस्करणको सफलताले घरेलु लिगमा बहुराष्ट्रिय ब्राण्डहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने प्रमाणित गरेको व्यवसायीहरूको भनाइ छ ।  अटो क्षेत्रको यो सहभागिताले अन्य कर्पोरेट घरानालाई पनि नेपाली खेलकुदमा लगानी गर्न प्रेरित गर्ने निश्चित गरेको क्यानले जनाएको छ ।   ६६ लाखको पुरस्कार जित्दा १६ लाख कर तिर्नुपर्ने एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई जिताउँदै ऐतिहासिक सफलता हात पारेका कप्तान रोहित पौडेलका लागि खुसीसँगै आर्थिक दायित्व पनि छ । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै लाखौंको गाडी र बाइक पुरस्कार पाएका रोहितले राज्यलाई बुझाउनुपर्ने मोटो रकमको कर यतिबेला चर्चाको विषय बनेको छ । प्रतियोगितामा सानदार प्रदर्शन गरेका रोहितले पुरस्कार स्वरूप ५७ लाख रुपैयाँ बराबरको आमोडा जेको जे–फाइभ कार प्राप्त गरेका छन् । यसका साथै उनले ४ लाख २० हजार रुपैयाँ पर्ने बजाज पल्सर बाइक पनि जितेका छन् । यसरी उनले जितेको कार, बाइक र अन्यसहितको कुल पुरस्कारको मूल्यांकन ६६ लाख १९ हजार रुपैयाँ रहेको छ । रोहितले जितेको यो पुरस्कार आयकर ऐनअनुसार आकस्मिक लाभ अन्तर्गत पर्दछ । आयकर ऐनको दफा ८८ ‘क’ अनुसार यस्तो पुरस्कारमा २५ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ८८ ‘क’ को उपदफा १ मा खेलकुद लगायतका क्षेत्रमा योगदान पुर्‍याएबापत प्राप्त हुने ५ लाख रुपैयाँसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारमा कर छुटको व्यवस्था छ । यदि रोहितले चालु आर्थिक वर्षमा ५ लाखसम्मको कर छुट सुविधा लिइसकेका छन् भने उनले ६६ लाख १९ हजारको २५ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । यदि ५ लाखको सुविधा लिएका छैनन् भने ५ लाख घटाएर बाँकी रकमको २५ प्रतिशत अर्थात् १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । रोहितले यातायात कार्यालयमा गएर जितेको कार र बाइक आफ्नो नाममा नामसारी गर्नका लागि कर चुक्ता गरेको प्रमाण पेस गर्नुपर्नेछ । कर नतिरेसम्म वा सरकारले छुट नदिएसम्म गाडी उनको नाममा पास हुने छैन । एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै रोहितजस्तै बाइक पुरस्कार पाएका सन्दीप लामिछाने र शेर मल्लको हकमा पनि यही नियम लागू हुन्छ । यदि उनीहरूले ५ लाखको छुट सुविधा प्रयोग गरिसकेका छन् भने ४ लाख २० हजारको बाइकमा उनीहरूले जनही करिब १ लाख रुपैयाँ राज्यलाई बुझाउनुपर्ने देखिन्छ । गत वर्ष सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेको कारको कर कम्पनी आफैले तिरिदिएको थियो । उसो त दीपेन्द्र सोही कम्पनीका ब्रान्ड एम्बेसडरसमेत हुन् । अहिले पुरस्कार दिने कम्पनीहरू (ओमोडा र बजाज) बीच कर कसले तिर्ने विजेता खेलाडीले वा स्वयम् कम्पनीले भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । अर्कोतर्फ मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाल सरकारले खेलाडीलाई प्रोत्साहन स्वरूप कर छुट दिन सक्ने कानुनी बाटो पनि खुला छ । 

गत वर्षभन्दा राजस्व बढ्यो, भद्रपुर कार्यालयले मङ्सिरसम्म उठायो १ अर्ब १४ करोड

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा १ अर्ब १४ करोड ९९ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो ।  आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । ‘चालु आवको पहिलो पाँच महिनामा एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो’ उनले भने । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार रुपैयाँ अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा १ अर्ब ८ करोड ८५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए । 

बजेट प्रणाली सुधारका लागि नेपाललाई एडिबीको १० करोड डलर ऋण सहयोग

काठमाडौं । नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ ।  सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो ।  अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका नेपालस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । एडिबीले नीतिमा आधारित ऋणका रूपमा प्रदान गर्ने उक्त रकम बजेटरी सपोर्टका रूपमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ । सम्झौताअनुसार ऋणको भुक्तानी अवधि २४ वर्षको हुनेछ भने आठ वर्षको ग्रेस अवधि रहनेछ । सन् २०३४ फेब्रुअरी १ तारिखसम्म ग्रेस अवधिमा ब्याजदर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहने व्यवस्था गरिएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमलाई सङ्घीयतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै अर्थसचिव डा. उपाध्यायले बलियो वित्तीय व्यवस्थापन प्रणाली निर्माण सरकारको मुख्य लक्ष्य रहेको बताए ।  उनले भने, ‘यो कार्यक्रम सङ्घीय संरचनाअनुसार तीनवटै तहका सरकारको बजेट निर्माण, कार्यान्वयन र नतिजामूलक व्यवस्थापन सुधारमा केन्द्रित छ । यसबाट समग्र बजेट प्रक्रिया सुधार भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्नेछ ।’  उक्त कार्यक्रममार्फत सार्वजनिक खरिद प्रणाली सुधार, वित्तीय अनुशासन प्रवर्द्धन, राजस्व सकलन, क्षमता अभिवृद्धि तथा स्थानीय तहलाई थप सक्षम बनाउँदै समावेशी र नतिजामुखी विकासलाई अघि बढाउने अपेक्षा गरिएको छ । कार्यक्रमबारे जानकारी दिँदै एडिबीका देशीय निर्देशक कोस्वाले यो सहुलियतपूर्ण ऋण नेपालको वित्तीय शासन सुधारमा केन्द्रित रहने बताए । उनका अनुसार सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित कानुनी, संस्थागत तथा प्राविधिक सुधारमा सहकार्य गर्दै सबै तहका सरकारका लागि स्रोत योजना प्रणाली, सार्वजनिक संस्थान सूचना व्यवस्थापन प्रणाली निर्माण, मध्यमकालीन खर्च संरचना विकास तथा प्रविधिमैत्री कर प्रणाली निर्माणमा ऋण रकम प्रयोग गरिनेछ । उनले भने, ‘यो कार्यक्रममार्फत वित्तीय दिगोपना सुनिश्चित गर्नुका साथै राजस्व प्रणालीलाई थप प्रभावकारी बनाइनेछ । साथै सम्भावित वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुग्नेछ । यसले नेपालको समग्र अर्थतन्त्र सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।’ सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका कर्मचारी तथा अधिकारीका साथै एसियाली विकास बैंकका अधिकारीहरूको उपस्थिति थियो । 

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरूबापत २ हजार ४ सय शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।  यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीहरूले कुल ६०७ वटा चौका प्रहार गरेका थिए जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ ।  पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ । यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । साथै पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए । गत वर्ष एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २,६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ। यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।  

सुन फेरि उकालो, चाँदीले तोड्यो सबै रेकर्ड

काठमाडौं । नेपाली बजारमा उतारचढावबीच सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्दै २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज पुनः महँगिएको हो। हिजो भने सुनको मूल्य एकैदिन १७ सय रुपैयाँले घटेको थियो ।  चाँदीले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज चाँदीको भाउ प्रतितोला १७० रुपैयाँले उकालो लाग्दै ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।  अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलर विनिमय दर र लगानीकर्ताको बढ्दो चासोका कारण सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ । 

शिखर इन्स्योरेन्सको ६.३१ लाभांश घोषणा, साढे १८ करोड रुपैयाँ सेयरधनीलाई बाँड्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले ६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँको ६ प्रतिशतका दरले १७ करोड ५३ लाख ८५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशतका दरले ९२ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ६.३१ प्रतिशत अर्थात् १८ करोड ४६ लाख १७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव सुरज राजबाहकले बताए ।  

बुटवल औद्योगिक प्रदर्शनी: २० करोडको कारोबार र ८ लाख दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं । १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ नाराका साथ आयोजना हुन लागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरू प्रदर्शनीका लागि राखिने सङ्घले जनाएको छ ।  बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन् । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।  ‘स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ । हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिइएको छ,’ अध्यक्ष पराजुलीले भने ।  देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वर्द्धन र विकासमा यो महोत्सवले टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन् । प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सकिने अनलाइन कर्जा ट्र्याकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकहरूले अब आवेदनको अवस्था बुझ्न बैंकको शाखामा धाउनुपर्ने वा पटक–पटक फोन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । बैंकले डिजिटल माध्यमबाट कर्जा प्रक्रिया थप पारदर्शी, सहज र छरितो बनाउने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकलाई एक ‘ट्र्याकिङ नम्बर’ प्रदान गरिनेछ । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटको डिजिटल बैंकिङ खण्डमा गई ‘अनलाइन कर्जा ट्र्याकिङ’ सेवा चयन गरेर वा सिधै https://digi.nmb.com.np/loan-tracker मार्फत आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछन् । बैंकले यस सेवाले ग्राहक अनुभव सुधार गर्नुका साथै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ ।

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने

काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।     सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ । बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपछी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।      यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरूवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवम्  नेपाल सरकारका प्रवक्ता खरेलले जानकारी दिए । 

सिद्धार्थ प्रिमियरले गर्‍यो २ अर्ब ६८ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (श्रावणदेखि मंसिरसम्म) कुल २ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदङ्गा, तोडफोड र आगजनीबाट राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्र १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यो रकम जेनजी आन्दोलनका कारण हालसम्म सबै बीमा कम्पनीबाट फर्छ्यौट भएका कुल दाबीमध्ये करिब ४० प्रतिशत बराबर रहेको जनाइएको छ । कम्पनीले यस अवधिमा जेनजी आन्दोलन बाहेक अन्य भइपरी आएका बीमित जोखिमसम्बन्धी दाबीबापत पनि ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीहरूमा समेत सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा अग्रणी भूमिका खेलेको जनाएको छ । राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत आफूसँग बीमित सम्पत्तिको क्षतिपूर्ति छिटोछरितो रूपमा फर्छ्यौट गरी बीमितहरूको संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी दावीकर्ताहरूलाई आवश्यक कागजात शीघ्र पेश गरी दाबी फर्छ्यौट प्रक्रियामा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

उच्च कर तिर्ने १६ करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । सरकारद्वारा उच्च करदाता घोषित १६ जना संस्था तथा व्यक्तिलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट उत्कृष्ट कर योगदान गर्ने करदाताहरूलाई सम्मान गरेको थियो । सोही सम्मानित करदाताहरूलाई परिसंघले पनि कदरस्वरूप सम्मान प्रदान गरेको जनाएको छ। वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि तथा ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसंघले सम्मान गरेको छ। यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल प्रालि, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, बैंक, वित्तीय संस्था तथा बीमातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन्। रेमिटेन्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड, निकायमध्ये नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्मतर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा ५० करोड रुपैयाँसम्म कारोबारतर्फ भीएफ सर्भिसेज (मोरिसस) प्रालि पनि सम्मानित भएका छन्। विसं २०७६ श्रावणदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण दाखिला गरी सबैभन्दा बढी भ्याट तिरेकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् । मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मान प्रदान गर्दै सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत तथा संस्थागत उपलब्धिमात्र नभई राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए। उच्च करदाताको योगदानको कदर गर्दै परिसंघले सम्मान गरेको उनले उल्लेख गरे ।  कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा। घनश्याम ओझालगायतको उपस्थिति थियो ।

कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कृषिमा लगानी गर्ने

काठमाडौं । कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्ने रणनीति अघि सारेको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रवाह गरिने कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि कर्जामा लगानी गर्ने रणनीति लिएको अध्यक्ष डिमप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसायमा उत्पादन तथा व्यावसायिक कर्जा लगानीलाई प्राथमिकता दिइएको छ । उत्पादनमूलक, प्राथमिकता प्राप्त क्षेत्र तथा कृषिसँग सम्बन्धित ठूला र व्यावसायिक परियोजनाहरूमा कर्जा लगानी वृद्धि गरिएको उनले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा आकर्षित गर्न कर्जा विस्तार गरिएको अध्यक्ष पौडेलको भनाइ छ । व्यावसायिक तथा परियोजनामूलक कर्जामा लगानी बढाउँदै उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणका लागि फरवार्ड तथा ब्याकवार्ड लिंकेज कायम हुने गरी कृषि मूल्य शृंखलामा कर्जा प्रवाह गरिएको छ । यसैगरी वन तथा वनपैदावारसम्बन्धी व्यवसाय गर्ने उद्यमीहरूका लागि वन परियोजना अन्तर्गत कर्जा विस्तार गरिएको छ । आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमा टेवा पुग्ने परियोजनाहरू, निर्माण तथा ऊर्जा क्षेत्र, पर्यटन क्षेत्र लगायतलाई पनि उच्च प्राथमिकतामा राखेर कर्जा कार्यक्रम सञ्चालन गरिँदै आएको बैंकले जनाएको छ । कृषि रूपान्तरणका लागि समावेशी मूल्य शृंखला कार्यक्रम अन्तर्गत अनुदान सहयोगमा किसान कार्ड तथा किसान मोबाइल एपमार्फत डिजिटल वित्तीय सेवा विस्तार गरिएको छ । यसका साथै किसानहरूलाई आवश्यक कृषि ज्ञान, परामर्श, कृषि प्रसार तथा कृषि बजारसम्मको पहुँच विस्तार गरिँदै आएको बैंकले जनाएको छ । चालु आर्थिक वर्षदेखि कर्जा व्यवसायमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कर्जा स्वीकृति केन्द्रीय कार्यालयबाट गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ । केन्द्रीय कर्जा प्रणाली लागू भएपछि कर्जा सम्पत्तिको गुणस्तरमा सुधार आउने अपेक्षा बैंकले गरेको छ । बैंकको वित्तीय स्थिति बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप रकम २०.६४ प्रतिशत वृद्धि भई २ खर्ब ९४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटीमा ४.५२ प्रतिशत वृद्धि भई २ अर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत वर्ष बैंकको लगानी रकममा ४० प्रतिशत वृद्धि भई ९७ अर्ब ८२ करोड रुपैयाँ कायम रहेको बैंकले जनाएको छ ।  गत वर्ष कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपातमा ३.९१ प्रतिशतमा कमी आई ३.४४ प्रतिशतमा झरेको छ । साथै गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको सेयरधनी (अग्राधिकार सेयर पुँजी बाहेक) कोषमा ८.०७ प्रतिशतले वृद्धि भई ३३ अर्ब १८ करोड रुपैयाँ कायम छ । यस्तै, गत वर्ष बैंकको ब्याज आम्दानी ६.९० प्रतिशत घटेर ९ अर्ब ८२ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।  बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा निक्षेप संकलन १६ अर्ब २६ करोड रुपैयाँ बढेर ३ खर्ब १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यस्तै, पहिलो त्रैमासमा कर्जा लगानी ०.१७ प्रतिशत अर्थात् ३५ करोड ९८ लाख रुपैयाँ बढेर २ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । असोजसम्म बैंकको कुल सम्पत्ति ३७ अर्ब ७३ करोड ७ लाख रुपैयाँ पुगेको छ ।  पुँजी, कर र लाभांश बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको आयकर दायित्व फर्छ्याैट भइसकेको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरण आयकर ऐनले तोकेको समयभित्र नै कर कार्यालयमा पेश गरिने र आयकर बापत १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।  बैंकको हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ रहेको छ । जसमध्ये नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ र साधारण सेयर पुँजी १३ अर्ब ८५ करोड ५२ लाख २४ हजार रुपैयाँ रहेको छ । साधारण सेयर पुँजीमध्ये सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ६ करोड ६१ लाख ६४ हजार रुपैयाँ ३ सय ९३ र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत अर्थात् ६ अर्ब ७८ करोड ९० लाख ५९ हजार रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको छ ।  कृषि विकास बैंकको सहायक कम्पनी कोष व्यवस्थापनमा ९३.४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कोष व्यवस्थापन कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ६० लाख ७३ हजार रुपैयाँ नाफा र सेयरधनी कोषमा २६ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम गरेको छ । सो कम्पनीमा बैंकले २ करोड ९० लाख १३ हजार रुपैयाँ लगानी गरेर २५ करोड २१ लाख खुद सम्पत्ति नियन्त्रण गरेको छ भने १ करोड ७७ लाख बराबरको गैर नियन्त्रण सम्पत्ति रहेको छ । साथै ८३.९६ प्रतिशत स्वामित्व रहेको गोबर ग्यास कम्पनीमा लगानी भएको ३२ लाख ५१ हजार रुपैयाँको सतप्रतिशत नोक्सानी व्यवस्था गरिएको बैंकले जनाएको छ । ‘सबै नेपालीको घर-आँगनसम्म सहज बैंकिङ पहुँच’ अभियानलाई तीव्रता दिँदै बैंकले आईपीएस, कनेक्ट आईपीएस, भिजा डेबिट तथा क्रेडिट कार्ड, किसान कार्ड तथा एप, इन्टरनेट बैंकिङ, ई-कमर्स, क्यूआर पेमेन्ट, मोबाइल पीओएस, मोबाइल बैंकिङ, ई-सेवा, फोनपे, सी-आश्वा, मेरो सेयर र डिम्याट सेवा जस्ता डिजिटल माध्यम विस्तार गरेको छ । बैंकले २७४ शाखा, एक मुख्य कार्यालय, १० वटा प्रादेशिक कार्यालय, २२ वटा एक्स्टेन्सन काउण्टर र १२९ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  देशको समग्र आर्थिक उतार–चढाव, महामारीजस्ता आकस्मिक संकट, ब्याजदरको अस्थिरता, विदेशी विनिमय दरमा हुने परिवर्तन तथा साइबर अपराधबाट प्रविधि सुरक्षामा बढ्दो जोखिम बैंकका प्रमुख चुनौतीका रूपमा रहेका छन् । साथै निक्षेप वृद्धिको अनुपातमा कर्जाको माग नहुनु, समयमा कर्जा असुली नहुनु, नियामक नीतिमा हुने परिवर्तन, अन्तर्राष्ट्रिय बजारको मन्दी तथा प्राकृतिक प्रकोपबाट हुने क्षतिले बैंकको व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति बैंकरहरूको आपत्ति

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण गर्ने सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका संचालकलाई कारबाही गर्न चार बैंकिङ संघहरूले संयुक्त रूपमा माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । संयुक्त विज्ञप्तिमा चारै संघले कर्जाको किस्ता नियमित गर्न छलफलका लागि बोलाइएका बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार र आक्रमण गरेको घटनालाई 'अमानवीय' र 'गम्भीर अपराध' भनेका छन् ।  ‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ । साथै संघहरूले कानुनको पालना नगरी आफ्नै हातमा शक्ति प्रयोग गरी बैंक कर्मचारीमाथि आक्रमण भएको घटनाको घोर निन्दा गर्दै अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्न जोड दिएका छन् । घटना भएको दिन सूचना दिइए पनि तत्काल सम्बोधन नभएको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । ‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गरी कर्मचारीहरूको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नु पर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ । साथै सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडि बढाउनु पर्नेमा जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भीर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरूलाई कानुनी दायरमा ल्याउन संघहरूले ध्यानाकर्षण गराएका छन्र ।  भविष्यमा यस्ता अपराध दोहरिन नदिने वातावरण सुनिश्चित गर्न, सूचना नआए पनि सम्बन्धित सरकारी निकायले स्वतः अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाप्रति हुने अराजक गतिविधिहरू रोक्न सर्वसाधारणलाई सजग र जिम्मेवार रहन आग्रह गरिएको छ ।

दोस्रो किस्ता नतिर्ने उद्योगको लाइन जुनसुकै बेला काटिन सक्ने, प्राधिकरणले फेरि पठायो पत्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद फेरि सतहमा आएको छ । प्राधिकरणले बक्यौता रकमको दोस्रो किस्ता नबुझाउने उद्योगी–व्यवसायीहरूलाई पत्र काट्दै बक्यौता नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने चेतावनी दिएको छ ।  लाइन काटिएपछि पहिलो किस्ता बुझाएर विद्युत् उपभोग गरिरहेका उद्योगहरूले नियमित किस्ता नतिरेपछि प्राधिकरणले पुनः ताकेता गरेको हो । प्राधिकरणका अनुसार बक्यौता तिर्न २८ किस्ताको सुविधा दिइएको छ । तर, पहिलो किस्ता तिरेर लाइन जोडाएका उद्योगहरूले दोस्रो किस्ता बुझाउन आनाकानी गरेपछि प्राधिकरणले एक्सन लिने तयारी गरेको हो । प्राधिकरणका अनुसार गत मंसिरको पहिलो साता नै विद्युत् वितरण केन्द्रहरूमार्फत उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन पत्राचार गरिएको थियो । तर, तोकिएको समयमा केही उद्योगले मात्र रकम बुझाए ।  आइतबार पुनः बाँकी रहेका सबै उद्योगलाई पत्र पठाउँदै तत्काल रकम बुझाउन ताकेता गरिएको हो । पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगर्ने र भुक्तानीको म्याद सकिएका उद्योगहरूलाई लक्षित गरी गत हप्तादेखि लाइन काट्ने अभियान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यो कुनै नयाँ निर्णय नभई पुरानै नियम र प्रक्रियाअनुसार कार्यान्वयन गरिएको हो ।  ‘जस–जसको भुक्तानी गर्ने म्याद सकिँदै गयो, हामीले क्रमशः लाइन काट्दै गएका छौं,’ प्रवक्ता ढकालले भने, ‘यो गत हप्तादेखि नै सुरु भएको हो । हामीले विचार गरेरै म्याद सकिएकाहरूको लाइन काट्न थालेका हौं ।’ लाइन काट्न थालेपछि बक्यौता रकम उठ्न थालेको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार केही उद्योगीहरू सम्पर्कमा आएका छन् भने धेरैले आफ्नो बाँकी बक्यौता तिर्न थालेका छन् ।  ‘लाइन काट्ने प्रक्रिया सुरु भएपछि धेरैले तिर्नुभएको छ । भुक्तानीको अपडेटहरू आइरहेको छ,’ उनले विकासन्युजसँग भने ।  प्राधिकरणले बक्यौता रकम असुलीलाई कडाइका साथ अघि बढाउने नीति लिएको देखिन्छ । म्याद सकिएका सबै उपभोक्तालाई क्रमशः कारबाहीको दायरामा ल्याइने र नियमअनुसार लाइन काटिने प्रक्रिया जारी रहने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार बक्यौता विवादमा लाइन काटिएपछि पहिलो किस्ता बुझाएर लाइन जोडाउने उद्योगको संख्या २२ थियो । तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले अदालतबाट अन्तरिम आदेश पाएकाले हाललाई उक्त उद्योग बाहेक अन्य २१ उद्योगलाई प्राधिकरणले ताकेता गरेको छ । मंसिर पहिलो हप्ता नै पत्र पठाए पनि हालसम्म ६ वटा उद्योगले मात्रै दोस्रो किस्ता बुझाएका छन् । बाँकी १५ उद्योगले अझै रकम बुझाएका छैनन् । यसअघि गत कात्तिक ४ गते प्राधिकरणले बक्यौता नतिर्ने २५ ठूला उद्योगको लाइन काटेको थियो ।  लाइन काटिएपछि करिब एक महिनाको अवधिमा उद्योगहरूले पहिलो किस्ता बुझाउँदै लाइन जोडाएका थिए ।

क्रिप्टो बजारमा भूकम्प : बिटकोइन ८६ हजार डलरभन्दा तल, बजार पूँजीकरण ३ ट्रिलियनमुनि

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा मंगलबार ठूलो हलचल मच्चिएको छ । बिटकोइनदेखि अन्य प्रमुख क्रिप्टोकरेन्सीसम्म २४ घण्टामा ४ प्रतिशतभन्दा बढी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  यससँगै क्रिप्टोको विश्वव्यापी बजार पूँजीकरण (ग्लोबल मार्केट क्याप) पनि २४ घण्टामा ३.७५ प्रतिशतले घटेको छ । यस गिरावटपछि ग्लोबल मार्केट क्याप फेरि ३ ट्रिलियन डलरभन्दा तल झरेको छ ।  उता बिटकोइनको मूल्य पनि ४ प्रतिशतभन्दा बढी घट्दै ८६ हजार डलरभन्दा तल पुगेको छ । सोमबार बिहान ८:३० बजे क्रिप्टोकरेन्सीको ग्लोबल मार्केट क्याप ३.०५ ट्रिलियन डलर थियो । मंगलबार बिहान ८ः३० बजे यो घटेर २.९३ ट्रिलियन डलरमा सीमित भयो । यसरी ०.१२ ट्रिलियन डलर (करिब १७.६ लाख करोड रुपैयाँ) बराबरको गिरावट आएको छ । पछिल्ला दुई हप्तामा क्रिप्टोकरेन्सीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो ।  यस गिरावटका कारण क्रिप्टोकरेन्सीको ‘फियर एन्ड ग्रिड इन्डेक्स’ २१ मा पुगेको छ । यो सूचक १०० को तुलनामा जति कम हुन्छ, मानिसहरूमा क्रिप्टोप्रति त्यति नै डर बढी हुन्छ।  पछिल्लो समय बिटकोइनसहित प्रायः सबै क्रिप्टोकरेन्सीमा गिरावट देखिँदै आएको छ । पछिल्ला २४ घण्टामा बिटकोइनको मूल्य ४.४७ प्रतिशत घटेर करिब ८५ हजार ७०० डलरमा पुगेको छ । पछिल्ला ७ दिनमा बिटकोइन ५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । दुई महिनाअघि अक्टोबरमा बिटकोइनको मूल्य करिब १ लाख २५ हजार डलरसम्म पुगेको थियो । त्यसयता हालसम्म ठूलो गिरावट आएको छ । बिटकोइनबाहेक अन्य क्रिप्टोकरेन्सीमा पनि ठूलो गिरावट देखिएको छ । पछिल्ला २४ घण्टामा इथेरियम ४ प्रतिशतभन्दा बढी घट्दै ३ हजार डलरभन्दा तल झरेको छ । रिपलमा पनि उल्लेखनीय कमी आएको छ । २४ घण्टामा रिपलको मूल्य ६ प्रतिशतभन्दा बढी घटेर २ डलरभन्दा तल पुगेको छ । हाइपरलिक्विड क्रिप्टो पनि ८ प्रतिशतभन्दा बढी घटेर करिब १.५० डलरमा पुगेको छ । पाई नेटवर्कमा पनि करिब ५ प्रतिशतको गिरावट आएको छ । क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई फेडरल रिजर्भसँग जोडेर हेरिएको छ । केही विज्ञहरूका अनुसार क्रिप्टोकरेन्सीमा तीव्र विक्री र लिक्विडेसन बढेकाले मूल्यमा ठूलो गिरावट आएको हो । यसबाहेक केही जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले पनि क्रिप्टोकरेन्सी बजारमा असर पारिरहेको छ, जसका कारण मूल्य घटिरहेको छ ।

एमालेको केन्द्रीय सदस्यमा सङ्कर पोखरेलकी बहिनीसहित ४ जना निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा नरेश रोकाया निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी ११ औं महाधिवेशनमा । उनको एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । अनेरास्ववियुमा ३२ बर्षको उमेरहदले बहिर्गमनमा परेका रोकाया एमालेको केन्द्रीय कमिटीमा निर्विरोध हुने पहिलो केन्द्रीय सदस्य बनेका हुन् । रोकाया ४० बर्ष भन्दा तल्लो उमेर समूहको तर्फबाट निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अखिलका पूर्व महासचिव रोकाया विद्यार्थी माझ लोकप्रिय थिए । यस्तै, लुम्बिनी प्रदेशबाट महिलातर्फ केन्द्रीय सदस्यका लागि गुमादेवी आचार्य, मेनका कुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिलातर्फ तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकामा सोही सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । आचार्य बुटवल उप-महानगरपालिकाकी उपमेययर हुन् । उनी लगातार दुई कार्यकाल उपमेयर निर्वाचित भएकी हुन् । पोखरेल महासचिवका उमेदवार सङ्कर पोखरेलकी बहिनी हुन् । 

ज्योति विकास बैंक कर्मचारीमाथि आक्रमण, कानुनी कारबाही अघि बढाइयो

काठमाडौं । ज्योति विकास बैंकको रुपनी शाखाका दुई कर्मचारीहरूलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक, उनका परिवार सदस्य र सहयोगीहरूले नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको घटनाप्रति बैंकले घोर भर्त्सना जनाएको छ । बैंकका अनुसार कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि ऋणीसँग टेलीफोनमार्फत पूर्व संवाद भएपश्चात क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरू फर्म पुगेका थिए । त्यहाँ कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखी धम्की दिइएको र धितो लिलामी स्थगनसम्बन्धी पत्र उपलब्ध नगराएमा ज्यान लिने चेतावनी दिएको बैंकले जनाएको छ । बैंकले यस क्रममा सुरक्षा निकायबाट कुनै सहयोग नपाएको पनि जनाएको छ । ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरू राष्ट्रिय स्तरको विकास बैंकमा कार्यरत व्यवसायिक साधक भएको र नीति तथा निर्देशनको पालना गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, यस्ता आपराधिक गतिविधि प्रति घोर निन्दा व्यक्त गरेको छ । बैंकले अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइएको र भविष्यमा पनि यस्ता घटनाविरुद्ध सदैव कडा उभिने प्रतिबद्धता जनाएको छ ।

ज्योति विकास बैंकका कर्मचारीमाथि अमानवीय दुर्व्यवहार प्रति सिबिफिनको आपत्ति

काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा अमानवीय दुर्व्यवहारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले कडा आपत्ति गरेको छ । सिबिफिनका अनुसार लामो समयदेखि कर्जाको किस्ता नियमित हुन नसकेपछि सो विषयको समाधानका लागि स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको समूहले नियोजित रूपमा घण्टौँसम्म नियन्त्रणमा राखी पशुवत व्यवहार तथा हिंस्रक आक्रमण गरेका थिए । प्रेस विज्ञप्तिमा सिबिफिनले घटनापछि स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत कडा आपत्ति जनाएको छ । यस्ता गतिविधिले कर्तव्यनिष्ठ बैंक कर्मचारीको मनोबल र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख गरिएको छ । सिबिफिनले निहित स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील र अत्यावश्यक क्षेत्रमा गरिएको ज्यादतीलाई गम्भीर अपराधको संज्ञा दिँदै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसँग जोडदार माग गरेको छ । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिमा शान्ति–सुरक्षा, सुशासन र आर्थिक गतिविधि पुनर्जीवनमा सरकार केन्द्रित रहेको समयमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीमाथि गरिएको यस्तो आक्रमणलाई सिबिफिनले बैंकिङ क्षेत्रमाथि मात्र नभई स्वयं नेपाल सरकारमाथिको आक्रमणका रूपमा समेत व्याख्या गरेको छ । सिबिफिनले बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र विश्वसनीयतामा आघात पुर्‍याउने, बैंकिङ कारोबार अवरुद्ध गर्ने, अफवाह फैलाउने, कर्जाको साँवा–ब्याज नतिर्न दुरुत्साहन गर्ने तथा कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने जस्ता गतिविधि प्रचलित कानुनले निषेध गरेको स्मरण गराएको छ । यस्ता क्रियाकलापलाई प्रश्रय दिइँदै जानु गम्भीर चिन्ताको विषय भएको संघको भनाइ छ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै गुनासो भए माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकअन्तर्गतको गुनासो सुनुवाइ इकाइमा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर गरिने यस्ता निन्दनीय कार्यले समग्र मुलुकको भविष्यसमेत अन्धकारतर्फ धकेल्न सक्ने सिबिफिनले चेतावनी दिएको छ । संघले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा बैंकिङ सेवा निर्वाध रूपमा सञ्चालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, गृह मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

कर्मचारीमाथि भएको आक्रमणले सुरक्षा र मनोबलमा असर पुर्यायो : एनआईसी एशिया बैंक कर्मचारी संघ

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारी कर्जा असुलीको क्रममा सार्वजनिक स्थलमा ऋणीबाट अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका घटनाप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले गम्भीर आपत्ति जनाएको छ । कानुनी दायराभित्र कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने हिंसा र सार्वजनिक अपमान सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण भएको संघले जनाएको छ ।  ‘बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएकाले कर्जा असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । कानुनी प्रक्रिया अन्तर्गत हुने कर्जा असुली कार्यलाई डर, धम्की, दुर्व्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु दण्डनीय अपराध हो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  यस्ता घटनामा मौन रहनु वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु सरह हुने संघले जनाएको छ । बैंकका कर्मचारीमाथि आक्रमण भएको घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर असर पुर्‍याउने र सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको संघको टिप्पणी छ । विगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै, समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नभए बैंकिङ सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन सक्ने संघले चेतावनी दिएको छ । एनआईसी एशिया बैंक कर्मचारी संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल तथा बैंक तथा वित्तीय संस्था परिसंघ लगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ । साथै संघले कर्मचारी सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फिल्डमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्न माग गरेको छ । दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन शून्य सहनशीलताको नीति अपनाउन संघले आग्रह गरेको छ । संघका अध्यक्ष सुमन थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ सेवामाथि हुने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार वा हिंसा अस्वीकार्य छ। बैंक कर्मचारीहरू श्रमिक हुन् र उनीहरू कुनै अपराधी होइनन् । कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण सबैको साझा दायित्व हो ।

सामान्य बढ्यो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो ।   सोमबार नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । सोमबार दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक सेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।