नेरूडे मिर्मिरेका कार्यालय सहयोगीको तलब घट्यो, १० हजारमै आयकर कट्टी

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेलको पहिलो निर्णयप्रति कर्मचारीहरू असन्तुष्ट बनेका छन् । आइतबार कार्यभार सम्हाल्दै उनले कार्यालय सहयोगी तथा सरसफाइकर्मीको नियुक्ति अधिकार कटौती गर्नुका साथै उनीहरूले पाउँदै आएको सेवासुविधा घटाउने निर्णय गरेका हुन् । संस्थाले यसअघि करार तथा बाह्य स्रोतबाट कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०८१ बमोजिम कार्यालय सहयोगी तथा सरसफाइकर्मीलाई बाह्य स्रोतबाट नियुक्त गरी काममा लगाउँदै आएको थियो । तर नवनियुक्त सीईओ पौडेलले उनीहरूको काम गर्ने समय, पारिश्रमिक तथा नियुक्तिसम्बन्धी अधिकारमा कटौती गरेका छन् । सीईओ पौडेलले सबै शाखा कार्यालयलाई पत्र जारी गर्दै करार अवधि समाप्त भएपछि पुनः नियुक्ति गर्दा घाटामा रहेका शाखा कार्यालयहरूले करारमा नभई दैनिक आधारमा बिहान २ देखि ३ घण्टामात्र काममा लगाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । यस्ता शाखाले कारोबारको आकार र कार्यबोझको आधारमा अधिकतम १० हजार रुपैयाँसम्मको पारिश्रमिकमा सरसफाइकर्मी नियुक्त गर्नुपर्नेछ । त्यसैगरी, नाफामा रहेका शाखा कार्यालयहरूले आंशिक समय कार्य गर्ने गरी कार्यालय सहयोगी नियुक्त गर्न सक्नेछन्, जसको अधिकतम पारिश्रमिक १४ हजार रुपैयाँ तोकिएको छ । ‘सरसफाइको लागि नियुक्त भएका व्यक्ति कर्मचारीको रुपमा नभई सरसफाइकर्मीको रुपमा नियुक्त गरिने हुँदा सरसफाइ बापत भएको खर्चलाई सरसफाइ शीर्षकमा शाखा कार्यालयबाट खर्च जनाउनुपर्नेछ,’ सीईओ पौडेलले जारी गरेको निर्देशनमा उल्लेख छ, ‘कार्यालय सहयोगीको रुपमा नियुक्त भएका कार्यालय सहयोगीहरुको तलब नियमानुसार केन्द्रीय कार्यालयबाट भुक्तानी हुनेछ । सरसफाइ खर्च शीर्षकमा भुक्तानी भएको रकम निजको आम्दानी भएकोले सो बापतको आयकर नियमानुसार कट्टा गरि मासिक रुपमा लेखा तथा वित्त व्यवस्थापन विभागमा पठाउनु पर्नेछ ।’ नियुक्ति गर्दा हाल कार्यरत कार्यालय सहयोगीलाई प्राथमिकतामा राख्न शाखा कार्यालयलाई निर्देशन दिइए पनि उक्त निर्णयले सयौं कर्मचारीको रोजगारी जोखिममा परेको लघुवित्त स्रोतको दाबी छ । हाल संस्थामा कार्यरत कार्यालय सहयोगी तथा सरसफाइकर्मीहरूले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक साढे १८ हजार रुपैयाँ र अन्य सुविधा गरी २० हजारको हाराहारीमा तलब सुविधा पाउँदै आएका छन् । संस्थाका अनुसार लघुवित्तका २२५ शाखा, ७ प्रादेशिक कार्यालय र एक केन्द्रीय कार्यालय गरी करिब २३५ जना कार्यालय सहयोगी कार्यरत छन् । न्यून पारिश्रमिकमा आजको समयमा काम गर्न सम्भव नरहेको संस्थाका कर्मचारीहरू नै बताउँछन् । पहिलो निर्णयबाटै सयौं कर्मचारीको रोजीरोटी खोस्ने काम भएको लघुवित्त स्रोतले बतायो । ‘आजको दिनमा यति थोरै रकममा कोही पनि काम गर्दैनन् । लघुवित्तमा कुल २३५ जना कार्यालय सहयोगी रहेका छन् । तर, पहिलो निर्णयले उहाँहरूको रोजीरोटी खोस्ने काम गरिएको छ,’ लघुवित्त स्रोतले भन्यो ।  उनका अनुसार कार्यालय सहयोगीको खर्च कटौती गरेर संस्थाको लागत उल्लेख्य रूपमा घट्दैन । बरु अन्य ठूला प्रशासनिक खर्चमा ध्यान दिनुपर्ने उनको सुझाव छ । शाखा कार्यालयमा कार्यालय सहयोगी अनिवार्य हुने व्यवस्था रहेको र अन्य कर्मचारी सरुवा भइरहे पनि कार्यालय सहयोगी दीर्घकालसम्म कार्यरत रहने भएकाले शाखासम्बन्धी सम्पूर्ण जानकारी उनीहरूसँग रहने उनको भनाइ छ ।

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ ।           मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारीचालकको पास नवीकरण प्रक्रिया आइतबारबाट सुरु भएको हो ।      निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक जनाको नयाँ पास जारी गरिएको र बसाइ सरी रसुवा जिल्ला बाहिरबाट आएका व्यक्तिको भने सरोहारवाला पक्षको सहमतिका आधारमा पछि गरिने छ ।      बसाइ सरी आएका मानिसको नवीकरण नर्गन जनदबाब आइरहेकाले नयाँ कार्यालय प्रमुखसमेत आएपछि सो सम्बन्धमा आवश्यक निर्णय हुने उनले जानकारी दिए ।      मितेरी पुल सञ्चालनका विषयमा चिनियाँ पक्षबाट एकीन जवाफ प्राप्त भएपछि मात्र आधिकारिक जवाफ दिन सकिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले स्पष्ट गरे । अन्तरराष्ट्रिय नाका भएकाले सम्बद्ध दुई देशका अधिकारीबीचको बैठकपछि मात्र रसुवागणी नाका सञ्चालन हुने दिन तोक्न सकिने उनले बताए ।   

छुनुमुनुले गर्‍यो  वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान

काठमाडौं । बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ ।  छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो ।  छुनुमुनुका अध्यक्ष युवा रंगकर्मी राजन भुजेलले आ(आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु संस्था नै गौरवान्वित भएको बताए । यस्तै, छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रंगकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए । सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सवैप्रति कृतज्ञता ज्ञापन गरे । अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रंगकर्मी शर्माले उन्नत समाजमा सधैं कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे ।  नेपालमा पनि विद्यालय तहमा रङ्गकर्ममा वालवालिकाको आकर्षण बढ्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे । कार्यक्रममा छुनुमुनुको १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले जुठो शीर्षकको नाटक प्रस्तुत गरेका थिए । उनीहरूलाई कोर्ष पुरा गरेको अवसरमा दीक्षान्त प्रमाण पत्र प्रदान गरिएको थियो ।

१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण शुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । ४२ कोठा सहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए । नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष छन् । सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पाएकपर्ने नगर प्रमुख अधिकारीले बताए । पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए । यसै महिनादेखि एमडिजिपीसहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने बताए । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । शल्यक्रिया सहितको आँखा उपचार सेवा सुरु गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने उनले बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरुपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगर प्रमुख अधिकारीले बताए । ‘सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन सहज हुने छ,’ नगर प्रमुख अधिकारीले भने । मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिक रुपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख शाहले बताए । पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए । रासस

जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमिता गर्ने ११ परीक्षार्थीलाई प्राधिकरणले गर्‍यो कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी भएका ११ जना परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षामा अनियमिता गरेको भन्दै प्राधिरकणले कारबाही गरी परीक्षा रद्द गरेको हो । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपाली छन् । शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए । यसैगरी, संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना कारबाहीमा परेका छन् । तीनै जना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै, कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन् । थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए ।  त्यस्तै, भक्तपुर सूर्यविनायकका विवेक विष्ट र कास्की रूपाका मन्दीप सुवेदीलाई कारबाही गरेको छ । दुवैजना एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए । 

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । यसका लागि बैंक र  फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो ।  साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।  यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।  बैंक र एसोसिएशन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । 

ग्रीसमा पर्यटनको जीडीपीमा ३० प्रतिशत योगदान, सन् २०२५ मा उच्च रेकर्ड

काठमाडौं । ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैंक अफ ग्रीस’को तथ्याङ्क अनुसार सन् २०२५ जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा लामो समयदेखि घमाइलो टापु र सम्पन्न पुरातात्त्विक स्थलहरूको लागि पर्यटकहरूको प्रिय भू-मध्यसागरीय राष्ट्र (ग्रीस) मा सन् २०२५ मा ३ करोड १६ लाख आगन्तुकहरूलाई स्वागत गरेको छ । यो सन् २०२४ को सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी हो । ‘समग्रमा, सन् २०२५ मा हाम्रो देशमा पर्यटनको लागि अर्को रेकर्ड वर्ष हुनेछ,’ पर्यटन मन्त्री केफालोजियानीले ग्रीक समाचार एजेन्सी एएनएसँग भने ।  उनले सन् २०२६ अर्को उपहार लिएर आउने आशा पनि व्यक्त गरे । ‘सन् २०२६ का लागि सूचकहरु पहिले नै विशेष रूपमा उत्साहजनक छन् र हामीलाई आशावादी हुन अनुमति दिन्छ,’ उनले भने । कोभिड-१९ महामारीपछि ग्रीसले पर्यटन राजस्व र विदेशी पर्यटकको सङ्ख्यामा वार्षिक रेकर्ड तोड्दै आएको छ । सन् २०२४ मा ४ करोड ७० हजार मानिसहरूले ग्रीस भ्रमण गरेका थिए र यो सन् २०२३ को तुलनामा १२.८ प्रतिशतले बढी हो । यो वृद्धिले पर्यटनका लागि धेरै प्रसिद्ध स्थलहरूमा अनियन्त्रित निर्माणको चिन्ता जगाएको छ । एथेन्सका स्थानीयहरूले छोटो अवधिको विदा मनाउनका लागि सरकारले गरेको पर्यटनको प्रचारप्रसारले ग्रीसमा भाडा आकाशिएको छ । जलवायु परिवर्तनले निम्त्याएको उष्ण लहर र बढ्दो विनाशकारी जङ्गलको डढेलोले पनि यस क्षेत्रका लागि खतरा निम्त्याएको छ । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले वित्तीय सङ्कटपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयासमा सन् २०१९ मा पदभार ग्रहण गरेदेखि पर्यटनका लागि प्रचारप्रसारलाई व्यापकता दिए । इन्स्टिच्युट अफ द ग्रीक टुरिजम कन्फेडेरेसन (इनसेट) का अनुसार सन् २०२४ मा कुल गार्हस्थ उत्पादनमा पर्यटनले प्रत्यक्ष योगदान १३ प्रतिशत र अप्रत्यक्ष रूपमा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा ३० प्रतिशतभन्दा बढी योगदान पुर्याएको थियो ।

बैंकिङ क्षेत्रका चुनौती, लगानी गर्न डराइरहेका लगानीकर्ता

नेपालको आर्थिक अवस्था, यसले भोगिरहेका चुनौती र भविष्यमा गर्नुपर्ने सावधानीहरूबारे धेरै बहस तथा टीकाटिप्पणीहरू भइरहेका छन् । सबै क्षेत्रले आफ्नो आफ्नो क्षेत्रबाट देशको अर्थव्यवस्थामा टेवा पुर्याउन यथाशक्य योगदान दिइरहेका छन् । एउटा कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघको अध्यक्षको हैसियतमा कुरा गर्दा हाल नेपालको आर्थिक अवस्थामा लगानीको गति सुस्त देखिएको छ । यद्यपि नयाँ आर्थिक वर्षको मौद्रिक नीतिले केही आशा भने जगाउँदै लगेको छ जस्तो पनि देखिएको छ । एकातर्फ बैंक तथा वित्तीय संस्थाहरूसँग कर्जा दिन सक्ने क्षमता छ तर देशमा लगानी गरेको रकम र त्यसबाट सुरक्षित प्रतिफल आउँछ कि आउँदैन भन्ने विषय एकदमै गहन छ । लगानीकर्ताहरू आफैमा लगानी गर्न डराइरहेको अवस्था छ ।  पछिल्ला वर्षहरूमा उत्पादनशीलभन्दा अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित हुँदा त्यहाँबाट प्राप्त हुने तात्कालिक प्रतिफलले मात्र देशको अर्थतन्त्र धान्न नसकेको र दीर्घकालका लागि लगानी नगरिँदा प्रतिफल प्राप्त हुन नसकेको यथार्थ हामीसँग छँदैछ । घरजग्गा, गाडी गरगहना लगायतका अन्य विलासिताका क्षेत्रमा लगानी केन्द्रित हुँदा केही समय बजार चलायमान जस्तो नदेखिएको पनि होइन । तर, यसैबीचमा देखिएको कोरोना महामारीलगायतका अन्य प्राकृतिक प्रकोपको सामना गर्न यस्ता अल्पकालीन लगानीका क्षेत्रहरू समक्ष नहुँदा अहिले देशको अर्थव्यवस्थामा ठूलो धक्का पुगेको छ । पछिल्ला केही वर्ष नेपालमा केही उद्योगहरू जस्तै, सिमेन्ट, डण्डी, हाइड्रोपावर आदिमा अत्यधिक लगानी भइसकेको थियो र छ । जसका कारण ती क्षेत्रहरूमा अब थप लगानीको सम्भावना विस्तारै सीमित हुँदै गएको छ । नयाँ र नवीन क्षेत्रको पहिचान, अनुसन्धान तथा नवप्रवर्तनको अभावले पनि लगानी प्रवाहमा अवरोध सिर्जना गरेको छ । यसका साथै, बैंकहरूले सुरक्षित क्षेत्र (जस्तै, रियल इस्टेट वा व्यक्तिगत कर्जा) मा कर्जा केन्द्रित गर्नु, उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिन नसक्नु तथा प्रक्रियागत जटिलता पनि समस्याको कारण बनेका छन् । हाल नेपालका धेरै बैंकहरूमा खराब कर्जाको मात्रा बढी छ । कर्जा असुलीमा समस्या हुँदा बैंकहरूको वित्तीय स्थिति कमजोर हुन्छ र नयाँ ऋण दिन सक्ने क्षमता घटिरहेको छ । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह कम हुने दीर्घकालीन प्रतिफल स्वतः कम भइहाल्छ । जब दीर्घकालीन प्रतिफल कम हुन्छ, त्यसपछि देशको समग्र अर्थव्यवस्थामा समस्या देखिन्छ । अहिले देशमा देखिएको समस्या पनि यही नै हो । अब पनि हामीले दीर्घकालीन लगानीका क्षेत्र पहिचान गर्न सकेनौँ भने भोलिका पुस्तासम्मले यसको नकरात्मक प्रतिफल बेहोर्न तयार हुनुपर्दछ। कोभिड-१९ को महामारीपछि उत्पन्न आर्थिक मन्दीले ग्राहकको ऋण तिर्नसक्ने क्षमतामा पनि ठूलो असर गरेकाले व्यापार व्यवसायलगायत देशको अर्थव्यवस्थामा नै ठूलो ‘भ्याकुम’ पैदा भएको छ । जसको फलस्वरुप कतिपय व्यवसायीहरूले बैंकसँग लिएको ऋण चुक्ता गर्न नसक्दा धेरै नै समस्या उत्पन्न भएका छन् । बैंक र व्यवसायीको बीचमा जुन सुमधुर सम्बन्ध हुनुपर्ने हो, त्यो सम्बन्ध कायम हुन न सकिरहेको पनि हामीले देखेका छौँ । यसले बैंकहरूको लगानी चक्रमा नै पनि अवरोध ल्याएको छ । यस्तो अवस्थामा उच्च ब्याजदर, तरलताको अभाव र विदेशी मुद्रा सञ्चितिमा दबाबले अर्थतन्त्र थप संकटतर्फ अग्रसर भइरहेको देखिन्छ । एफएटीएफको ग्रे लिस्टमा नेपाल परेकाले पनि नेपालको वित्तीय पारदर्शितामाथि प्रश्न उठाएको छ । यी सबै चुनौतीहरूको दीर्घकालीन समाधानका लागि सशक्त वित्तीय नीति, सहकारी क्षेत्रमा कडा नियमन र उत्पादनशील क्षेत्रमा लगानी प्रवाह बढाउनु अत्यावश्यक छ । यति भन्दै गर्दा फेरि सबै कुरा नकारात्मक मात्रै छ भन्ने चाहिँ पक्कै होइन, गर्नसक्ने धेरै ठाउँ र क्षेत्रहरू छन् । लगानीका नयाँ नयाँ भइरहेका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर काम गर्नसक्ने हो भने सम्भावना धेरै छन् । पर्यटन क्षेत्रले नेपाललाई दीर्घकालसम्म राम्रो प्रतिफल दिन सक्छ । हाइड्रोपावर क्षेत्र, सूचना प्रविधिलगायतका क्षेत्रमा धेरै गर्नसक्ने ठाउँहरू छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले पनि धेरै सकारात्मक बन्न र बनाउन मद्दत गर्ने लागेको छ । नेपाल राष्ट्र बैंकले लिएको ब्याजदर नियन्त्रण र तरलता व्यवस्थापनका नीतिले कर्जा लिने लागत बढाएसँगै बजार केही हदसम्म चलायमान हुने अपेक्षा गर्न सकिन्छ भने बैंकहरूको कर्जा प्रवाहलाई सन्तुलित बनाउने प्रयत्न गर्नुपर्दछ । यस्तै सरकारले सार्वजनिक गरेको बजेटमा बैंकिङ क्षेत्रमा कर व्यवस्था र वित्तीय प्रोत्साहनहरूका कुरा समावेश छन् जसले बैंकहरूको लगानी क्षमता र क्रेडिट प्रवाहमा सकारात्मक प्रभाव पार्न सक्छ भन्नेमा मेरो विश्वास छ । बजेटले वित्तीय समावेशितालाई जोड दिएको छ जसले ग्रामीण क्षेत्रसम्म बैंकिङ पहुँच बढाउने अपेक्षा गर्न सकिन्छ । यस्तै सार्वजनिक पूर्वाधार र उद्योगमा लगानी बढ्दा बैंकहरूको कर्जा मागमा वृद्धि हुन सक्छ भने मुद्रा आपूर्तिमा नियन्त्रणले मुद्रास्फीति कम गर्ने लक्ष्य राखेकाले दीर्घकालीन रूपमा वित्तीय स्थिरता ल्याउनेमा पनि केही आशा राख्न सकिन्छ । लगानी सँगसँगै पछिल्लो समय डिजिटल बैंकिङ कारोबारमा देखिएका साइबर सुरक्षा जोखिम, डेटा चोरी र अनधिकृत पहुँचजस्ता समस्याहरूले पनि ग्राहकको विश्वासमा असर पारेको देख्न सकिन्छ । यसतर्फ पनि बैंकहरूले विशेष ध्यान दिन जरुरी छ । एकातिर बढिरहेको साइबर सुरक्षा जोखिम अर्कातर्फ बजारमा फिनटेक कम्पनीहरूको बढ्दो प्रतिस्पर्धाले बैंकहरूलाई नयाँ प्रविधि र सेवा सुधार गर्न दिने दबाब यी दुवै कुरालाई एकसाथ मिलाएर लैजान बैंकहरूलाई ठूलो चुनौती छ । प्रविधिको आत्मसात नगर्दा हुने बेफाइदासँगै प्रविधिको प्रयोगमा अपनाउनुपर्ने सजगता अहिलेको सबैभन्दा ठूलो चुनौती देखिन्छ ।  यस्तै, शाखा कार्यालय स्थापना र बन्द गर्ने सम्बन्धमा नियमनकारी निकायले लागू गरेको व्यवस्थामा प्रश्न खडा गर्नुभन्दा पनि अहिलेको व्यवस्थालाई अलिकति मात्र भए पनि परिमार्जन गरी लचिलो बनाउन सकियो भने यसले नियमनकारी निकायको डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन नीतिप्रति ग्राहक प्रोत्साहित गर्न मद्दत पुग्छ जस्तो लाग्छ । शाखा कार्यालयहरूको स्थानान्तरण गर्न केही हदसम्म लचिलो व्यवस्था भएमा वित्तीय संस्थाहरूले बजार अनुकूल निर्णय लिन सक्छन् र वित्तीय पहुँच तथा दक्षता दुवैमा सुधार हुन्छ । (कोइराला नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् / नाफिज जर्नल अर्थचित्रबाट)

अमेरिकाले भेनेजुएलाको तट नजिकै अर्को तेल ट्याङ्कर नियन्त्रणमा लियो

काठमाडौं । भेनेजुएलाबाट हालै प्रस्थान गरेको तेल ट्याङ्करलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले जानकारी दिएको छ । यो यसै महिनामा दोस्रो पटक हो, जब अमेरिकाले भेनेजुएलाको तट नजिक तेल बोकेर गइरहेको जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा आउने–जाने प्रतिबन्धित तेल ट्याङ्करहरूविरुद्ध ‘नाकाबन्दी’ गर्ने आदेश दिएको बताएका थिए । भेनेजुएलाले अमेरिकाको यो पछिल्लो कदमको निन्दा गर्दै यसलाई ‘चोरी र अपहरण’ भनेको छ । यसअघि पनि भेनेजुएलाले आफ्ना स्रोतहरू चोर्न खोजेको आरोप अमेरिकामाथि लगाउँदै आएको छ । भेनेजुएला सरकारले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्र सुरक्षा परिषद् तथा ‘अन्य बहुपक्षीय निकाय र विश्वभरका सरकारहरू’ समक्ष उजुरी दर्ता गराउने योजना रहेको जनाएको छ ।

१९ अंकले घट्यो नेप्से, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा कायम भएको छ । आइतबार कारोबार रकमको आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज एसवाई प्यानल लिमिटेड र १०.२५ प्रतिशत सिटिजन्स बैंक डिवेञ्चरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । १३ उपसमूहमध्ये म्युचल फण्ड बढेको छ भने बाँकी रताम्मे देखिएका छन् । म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ । 

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे । काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।  यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक  शालिकराम अधिकारीले बताए । 

सेयर र घरजग्गा कारोबार सुध्रिँदा पुँजीगत लाभकर संकलन ४० अर्ब नाघ्यो

काठमाडौं । पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब संकलन भएकोमा चालु वर्षमा ४० अर्ब ११ करोड संकलन भएको छ । यो वृद्धि गत वर्षको तुलनामा उल्लेख्य भएकाले अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा लिइएको छ । आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आ.व. २०७७/०७८ मा यस शीर्षकमा २९ अर्ब ३१ करोड संकलन भएको थियो । आ.व. २०७८/०७९ मा यो केही बढेर  ३० अर्ब पुगेको देखिन्छ । तर आ.व. २०७९/०८० मा भने झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा सीमित भएको थियो । आन्तरीक राजस्व विभागका वार्षिक प्रतिवेदन अनुसार  त्यस अवधिमा पुँजीगत लाभकर संकलनमा ठूलो गिरावट आउनुका प्रमुख कारणमा रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा आएको दबाब रहेका छन् । विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको थियो, जसले पुँजीगत लाभकर संकलनमा नकारात्मक असर पारेको विश्लेषण गरिएको छ ।  वार्षिक प्रतिवेदनमा भनिएको छ– ‘आ.व. २०७७/०७८ मा यस शीर्षकमा संकलन २९ अर्ब ३१ करोड रहेकोमा आ.व. २०७८/०७९ मा केही बढेर ३० अर्ब भएको देखिन्छ भने आ.व. २०७९/०८० मा झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा पुगेको देखिन्छ । यसरी भारी गिरावट देखिनुमा रुस युक्रेन युद्ध, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय संचितिमा देखिएको संकुचनलाई अस्थायी रुपमा सम्बोधन गर्न सरकारले अपनाएका आयात नियन्त्रणका नीतिगत औजरका कारण आर्थिक गतिविधिमा आएको शिथिलताले सेयर कारोबार र घरजग्गा कारोबारमा गिरावट प्रमुख कारणका रुपमा लिन सकिन्छ ।’ हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै सेयर तथा घरजग्गा कारोबारमा सुधार आएको र यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिने प्रतिवेदनमा उल्लेख छ । 

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।  यस पुनर्जागरण अभियान पौष ६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमा बीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ । साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्ष भन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।   संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई  व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा  लिन कम्पनीले अनुरोध गरेको छ ।  हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक  पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६ ८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् । 

विश्व बैंक र एडीबीसँग सहकार्यमा आरओएससी मूल्यांकन, आइक्यान बन्यो राष्ट्रिय नेतृत्वकर्ता

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ ।  नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंक (एडीबी) ले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।  विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकनको उद्देश्य नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरणको मूल्यांकन गर्नु, विद्यमान कमीकमजोरी र चुनौतीहरू पहिचान गर्नु तथा पारदर्शिता, जवाफदेहिता र लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक सुधारसम्बन्धी सुझाव सिफारिश गर्नु हो ।  नेपालले वित्तीय सुशासन सुदृढ गर्ने, निजीक्षेत्रको दिगो लगानी आकर्षित गर्ने र सबै आकारका व्यवसायका लागि वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने प्रयास गरिरहेको बेला यो पहल अत्यन्तै महत्वपूर्ण समयमा अघि बढेको छ । रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनले लागू हुने लेखांकन तथा लेखापरीक्षणका मापदण्डहरू, नियामक तथा संस्थागत संरचना, व्यावसायिक शिक्षा तथा तालिम प्रणाली, अनुपालना र कार्यान्वयन संयन्त्रहरू तथा वास्तविक अभ्यासहरूको समीक्षा गर्नेछ । अन्तर्राष्ट्रिय उत्तम अभ्याससँग मेल खाने यसका निष्कर्ष र सिफारिशहरूले नेपाललाई संस्थागत क्षमता र वित्तीय प्रतिवेदन प्रणालीलाई अझ सुदृढ गर्न सहयोग पुर्‍याउनेछन् । नेपालका लागि यसअघिको आरओएससी ए एन्ड ए मूल्यांकन सन् २०१५ मा सम्पन्न भएको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाने किसिमको अभ्यासमा उल्लेखनीय प्रगति गरेको छ । प्रमुख सुधारहरूमा सूचीकृत कम्पनी, बैंक, बीमा कम्पनी तथा सरकारी स्वामित्वका संस्थानहरूमा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) कार्यान्वयनमार्फत अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आइएफआरएस) सँग पूर्ण मेल खाने किसिमको अभ्यास; नेपाल लेखापरीक्षण मापदण्ड (एनएफआरएस) जारी गरी अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड (आइएफआरएस) अवलम्बन; लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि नेपाल गुणस्तर नियन्त्रण मापदण्ड (एनएसक्युसी १) र विद्वत् समीक्षा संयन्त्रको कार्यान्वयन; तथा अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आइइएस) र आइएफएसीका कर्तव्यअनुरूप व्यावसायिक शिक्षा र निरन्तर व्यावसायिक विकासको सुदृढीकरण समावेश छन् । यी सुधारहरूले नेपालको वित्तीय प्रतिवेदन संरचनामा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता उल्लेखनीय रूपमा बढाएका छन् । आरओएससी ए एन्ड ए मूल्यांकनले अन्तर्राष्ट्रिय मापदण्डहरूको परिपालनाको अवस्था मूल्यांकन गर्ने, नेपालको प्रगति उजागर गर्ने र बजारको विश्वास थप बलियो बनाउन तथा दिगो आर्थिक वृद्धिलाई समर्थन गर्न रणनीतिक सिफारिशहरू गर्नेछ ।  ‘यो मूल्यांकन नेपालको वित्तीय क्षेत्रका लागि एउटा कोसेढुंगा हो । यसले एक दशकको सुधारहरूलाई मान्यता दिएको छ र नेपाललाई विश्वव्यापी लगानीका लागि विश्वसनीय एवं भरोसायोग्य गन्तव्यका रूपमा स्थापित गर्छ । आइक्यान अन्तर्राष्ट्रिय मापदण्डअनुरूप लेखांकन तथा लेखापरीक्षण अभ्यासमा उत्कृष्टता प्रवर्द्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ संस्थाका अध्यक्ष नीलबहादुर सारु मगरले भने । आइक्यानले यो राष्ट्रिय प्राथमिकताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै नियामक निकायहरू, व्यावसायिक संस्थाहरू, शैक्षिक तथा निजी क्षेत्रलगायत सबै सरोकारवालालाई सफल मूल्यांकनका लागि सक्रिय सहकार्य गर्न र नेपालको वित्तीय सुशासन संरचनालाई थप सुदृढ गर्न आह्वान गरेको छ । 

एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले 'विश्व लगानीकर्ता सप्ताह, २०२५' को अवसरमा सोलुखुम्बु र पाल्पाका तीन स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पुस १–२ गते सम्पन्न कार्यक्रमहरुमा सेजोङ कोरियन भाषा इन्स्टीच्युट (सोलुखुम्बु), सोलुखुम्बु बहुमुखी क्याम्पस, र सहिद बहुमुखी क्याम्पस (पाल्पा) मा ३५० भन्दा बढी विद्यार्थी, क्याम्पस कर्मचारी तथा आम सर्वसाधारणहरुले सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत धितोपत्र बजारको विकास, डिम्याट खाता र ब्रोकर खाता खोल्ने प्रक्रिया, प्राथमिक सेयर निष्काशन, दोश्रो बजारमा लगानी, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष (एसआइपी) र लगानी सम्बन्धी निर्णय गर्दा ध्यान दिनुपर्ने बुँदाहरुमा विस्तृत जानकारी प्रदान गरिएको थियो । सहभागीहरुसँग छलफल तथा अन्तरक्रियाको माध्यमबाट पूँजी बजार सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने अवसर समेत सिर्जना गरिएको संस्थाले जनाएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र यस प्रकारका कार्यक्रमहरु जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

२१.०५ प्रतिशत लाभांश बाँड्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो । शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो । जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए । ‘प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो’, उनले भने, ‘स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छौं ।’ लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ । कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए । यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका–३ को भूगोलमा पर्छ । मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ । सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताउनुभयो । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । सोह्र किलोमिटर दूरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । १० अर्ब ५७ करोड अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा आठ अर्ब २० करोड खर्च भइसकेको बताए । रासस

कर्जा सूचना केन्द्रले ८ प्रतिशत लाभांश बाँड्ने, लेखापरीक्षकलाई ३ लाख रुपैयाँ

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ८ प्रतिशतका दरले  ३ करोड ४९ लाख ३०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते बिहान पौने १२ बजे होटल याक एण्ड यति काठमाडौंमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व हुने वाणिज्य बैंक समूहको तर्फबाट ३ जना, विकास बैंक समूहको तर्फबाट १ जना र वित्त कम्पनी समूहका तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक बीआरएस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गर्ने र वार्षिक ३ लाख रुपैयाँ पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सर्वाधिक व्यापार गर्ने सूचीको चौथो स्थानमा परान, कमायो १७.५५ करोड रुपैयाँ

काठमाडौं । नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले आज काठमाडौं उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो । ‘हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आम दर्शकसम्म पुर्याएका छौँ । यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौं,’ निर्देशक आचार्यले भने । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा-२ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार उक्त चलचित्रले देशव्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० रुपैयाँ कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौथो स्थानमा छ । ‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ४६ करोड ८७ लाख रुपैयाँको कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो स्थानमा, २१ करोड ४० लाख रुपैयाँको कमाइ गर्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ दोस्रो स्थान, १९ करोड ९२ लाख रुपैयाँ कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ ।  साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औँ पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ ले उक्त सफलता पाएका थिए ।

कर्णालीबाट विदेश जानेको सङ्ख्या बढ्दै, वार्षिक ३० हजारले लिन्छन् श्रम स्वीकृति

काठमाडौं । कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजारले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जस अन्तर्गत सबैभन्दा धेरै सल्यानबाट ६ हजार ९६७ पुरुष र ६२० महिला गरी ७ हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन् ।  त्यसैगरी, सुर्खेतका ५ हजार ८९ पुरुष र ५६८ महिलासहित ६ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ । दैलेखका ३ हजार ९६५ पुरुष र ३२३ महिला गरी ४ हजार २८८, रुकुमपश्चिमका २ हजार ८५९, जाजरकोटका २ हजार ५१८, कालिकोटका १ हजार २५, जुम्लाका १ हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन् । मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ । पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिक वैदेशिक रोजगारीमा जाने चलन बढेको सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाको जोड छ । सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमल बहादुर रोकायाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको उनले जानकारी दिए ।  वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने उनको सुझाव छ । पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढिरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।  सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले देशमा रोजगारीको अवसर नहुँदा विदेश जानुपर्ने अवस्था रहेको बताए । साथै उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिले सबै कुरा थाहा पाएर मात्र जानुपर्ने उनको सुझाव छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजित कुमार कर्णले सरकारले श्रम सम्झौता गरेका देशबाहेक अन्य देशमा जान नहुने विषयमा सबै गाउँमा चेतना फैलाउनुपर्नेमा जोड दिए ।