विश्व अर्थतन्त्रमा चीनको दबदबा कायमै, अमेरिकी कर अवरोधका बाबजुद निर्यात २२ प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०२६ को जनवरी–फेब्रुअरी अवधिमा चीनको व्यापार अधिशेष (व्यापार अधिशेष- ट्रेड सरप्लस भन्नाले कुनै पनि देशको अर्थतन्त्रको यस्तो अवस्थालाई बुझाउँछ जहाँ उक्त देशले विदेशमा गर्ने निर्यातको कुल मूल्य, विदेशबाट गरिने आयातको कुल मूल्य भन्दा बढी हुन्छ ।) इतिहासकै उच्च स्तरमा पुगेको छ । यस अवधिमा चीनको निर्यातले अर्थशास्त्रीहरूको अनुमानभन्दा निकै राम्रो प्रदर्शन गरेको देखिएको छ, जसले अमेरिकासँगको व्यापार तनावका बाबजुद विश्वको दोस्रो ठूलो अर्थतन्त्रको लचकता अझै बलियो रहेको संकेत गर्दछ । चीनले प्रायः चन्द्र पात्रोअनुसार हुने नयाँ वर्ष (लुनार न्यु इयर) का कारण आउने तथ्यांकको उतार–चढावलाई सन्तुलित बनाउन जनवरी र फेब्रुअरीको व्यापार तथ्यांकलाई एउटै अवधिमा समेटेर सार्वजनिक गर्नेगर्छ । यस अवधिमा चीनको व्यापार सन्तुलन २१३.६२ अर्ब अमेरिकी डलर पुगेको छ, जुन १७९.६ अर्ब डलर हुने अनुमानभन्दा निकै बढी हो । जनवरी–फेब्रुअरी अवधिमा चीनको निर्यात वार्षिक आधारमा २१.८ प्रतिशतले बढेको छ, जुन रोयटर्सले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूले अनुमान गरेको ७.१ प्रतिशत वृद्धिभन्दा धेरै हो । त्यसैगरी, आयात पनि उल्लेख्य रूपमा बढेको छ । सीमा शुल्क विभागका अनुसार पहिलो दुई महिनामा आयात वार्षिक आधारमा १९.८ प्रतिशतले बढेको छ, जबकि अर्थशास्त्रीहरूले ६.३ प्रतिशत वृद्धिको मात्र अपेक्षा गरेका थिए । सरकारी तथ्यांकअनुसार अमेरिकासँगको व्यापार भने १६.९ प्रतिशतले घटेर ६०९.७१ अर्ब युआन (करिब ८८.२२ अर्ब डलर) मा झरेको छ । तर युरोपेली संघ (ईयू) सँगको व्यापार १९.९ प्रतिशतले बढेर ९९८.९४ अर्ब युआन पुगेको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (एएसईएएन) सँगको व्यापार पनि २०.३ प्रतिशतले बढ्दै १.२४ ट्रिलियन युआन पुगेको छ । यो व्यापार तथ्यांक चीनमा उपभोक्ता मुद्रास्फीतिमा तीन वर्षयताकै ठूलो वृद्धि देखिएको समयमा सार्वजनिक भएको हो । लामो बिदाका कारण बढेको खर्चले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बढ्न सहयोग गरेको बताइएको छ । पिनप्वाइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेइ झाङले तथ्यांक सार्वजनिक भएपछि जारी टिप्पणीमा भनेका छन् कि अपेक्षाभन्दा राम्रो देखिएको वृद्धि आंशिक रूपमा यस वर्ष लुनार नयाँ वर्ष ढिलो परेका कारण पनि हुन सक्छ । यसले गत वर्षको तुलनामा वार्षिक वृद्धिदर बढी देखिएको हुन सक्छ । तर उनले यो कारणले मात्र सबै आश्चर्यजनक नतिजा व्याख्या गर्न नसक्ने पनि बताएका छन् । झाङका अनुसार निर्यातको बलियो प्रदर्शन र बेइजिङको वार्षिक ‘टु सेसन्स’ नीति बैठकमा तोकिएको अपेक्षाकृत कम आर्थिक वृद्धिदर लक्ष्यले निकट भविष्यमा थप आर्थिक प्रोत्साहन कार्यक्रम ल्याइने सम्भावना कम रहेको संकेत गर्छ । उक्त ‘टु सेसन्स’ बैठकमा चीनका प्रधानमन्त्री ली छ्याङले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य ४.५ देखि ५ प्रतिशत राखेका छन्, जुन सन् १९९० को दशकको सुरुवातयताकै सबैभन्दा न्यून दायरा हो । चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) फेब्रुअरीमा वार्षिक आधारमा १.३ प्रतिशतले बढेको छ, जुन रोयटर्स सर्वेक्षणमा अर्थशास्त्रीहरूले अनुमान गरेको ०.८ प्रतिशतभन्दा बढी हो । जनवरीमा ०.२ प्रतिशतले बढेको सीपीआईपछि आएको यो वृद्धि जनवरी २०२३ पछिकै सबैभन्दा बलियो पुनरुत्थान मानिएको छ । यसैबीच ‘टु सेसन्स’ बैठकमा आर्थिक लक्ष्य प्रस्तुत गर्दै प्रधानमन्त्री ली छ्याङले अमेरिकी भन्सार शुल्क (ट्यारिफ) का प्रभावहरू पनि स्वीकार गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२५ जनवरीमा पुनः ह्वाइट हाउस फर्किएपछि चीन र अमेरिका फेरि व्यापार युद्धको अवस्थामा पुगेका थिए । २०२५ भरि दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क बढाउने र घटाउने क्रम जारी राखेका थिए । तर अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको एपीईसी शिखर सम्मेलनका क्रममा डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता भएपछि सम्बन्ध केही सुधारिएको थियो । हाल अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन अन्तर्गत लगाइएका ट्रम्पका केही ट्यारिफ खारेज गरेपछि चिनियाँ सामानमा अमेरिकी भन्सार शुल्क विश्वव्यापी १० प्रतिशत स्तरमा रहेको छ। यद्यपि सन् १९७४ को ट्रेड एक्टको धारा ३०१ र सन् १९६२ को ट्रेड एक्सपान्सन एक्टको धारा २३२ अन्तर्गत लगाइएका पुराना ट्यारिफहरू भने अझै केही वस्तुहरूमा लागू छन्, जसको दर कतिपयमा १०० प्रतिशतसम्म पुग्छ । व्यापार विश्लेषण संस्था चाइना ब्रीफिङका अनुसार विभिन्न प्रकारका करहरूका कारण अमेरिकामा पठाइने धेरै चिनियाँ सामानमा प्रभावकारी ट्यारिफ दर अझै पनि करिब ३० प्रतिशतको आसपास रहेको छ, जुन कुनै पनि देशको तुलनामा सबैभन्दा उच्च दरमध्ये एक हो ।

रिलायन्स स्पिनिङ मिल्सले ५ सय प्रतिशत बढायो कर्मचारी बोनस, नेटवर्थ ४९०.५४ रुपैयाँ पुगेको दाबी

काठमाडौं । तीन दशक लामो यात्रामा मजदुरद्वारा न बन्द-हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोडभन्दा बढी रकम बोनस बाँडेर खुसी थपेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षमा कर्मचारीलाई ६९ दिन बराबरको ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरिएको छ । कम्पनीले खुद नाफामा बढोत्तरी भएसँगै कर्मचारीलाई दिने बोनस पनि करिब ५ सय प्रतिशतले बढाएको हो । वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ बोनस वितरण गरिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीमा कार्यरत जनशक्तिको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ लाख १९८ रुपैयाँ खर्च भएको छ । यो रकम अघिल्लो वर्षको भन्दा ५५ लाख ८० हजार ९१४ रुपैयाँले बढी हो । रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ । उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ । रिलायन्सले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ रहेको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८४५ प्रतिशतले वृद्धि भएको देखिन्छ । कम्पनीको कूल नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल नाफा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो । एक महिनाअघि मात्र आईपीओ निष्काशन प्रक्रिया सम्पन्न गरी धितोपत्र बजारमा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय निरन्तर नाफामा गइरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । माघ अन्तिम साता सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर नेटवर्थ पनि बढेर ४९० रुपैयाँ ५४ पैसा पुगेको छ ।  २०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्यान समूहको अभिन्न अंगको रुपमा रहेको छ । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । रिलायन्सको नेतृत्व हाल गोल्यान समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्यानले गरिरहेका छन् । यस उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८२४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुइवटा धागो कारखाना रहेका छन् । 

कपनमा खुल्यो ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट

काठमाडौं । यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा बलियो उपस्थितिसहित परिचित करेन्ट नुडल्सका उत्पादक यशोदा फुड्सले बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलतापछि ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरेको जनाएको छ । नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’मा उपलब्ध सम्पूर्ण उत्पादन खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आउटलेटको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कपनस्थित नयाँ ‘करेन्ट मार्ट’मा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर्स उपलब्ध छन् । साथै करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा, धनिया र रातो खुर्सानी पाउडरलगायतका मसला पनि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर शाहले बानेश्वर शाखामा उपभोक्ताबाट प्राप्त माया र विश्वासले काठमाडौंका अन्य स्थानमा समेत सेवा विस्तार गर्न प्रेरणा मिलेको बताए । कपन तथा आसपासका उपभोक्ताले अब आफ्नै क्षेत्रबाट कम्पनीका ताजा तथा गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उनले बताए ।

फर्स्ट माइक्रोफाइनान्सको सवा ५ करोडको सेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब सवा ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आज फागुन २६ गतेदेखि १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । लघुवित्तका अनुसार उक्त सेयर फागुन २६ गतेदेखि चैत १० गतेसम्म बिक्रीमा रहनेछ ।  अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बिक्रीका लागि प्रतिकित्ता २८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सो मूल्यका आधारमा करिब ५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त संस्थापक सेयरको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

समानुपातिकतर्फ १ करोड २ लाख मतगणना, ४९ लाख २९ हजारमतसहित रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले) ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार २२ मत प्राप्त गरेको छ । 

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

बाजुरा । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।       मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे । यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।    

जेनजी आन्दोलन छानबिनको प्रतिवेदनको निश्कर्ष सार्वजनिक गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन बुझ्दै निचोड भए पनि सार्वजनिक गर्ने बताएकी छन् ।  उनले स्रोत र साधनको सिमितताले आयोगको म्याद पटक पटक थप्नुपरे पनि यसले दुधको दुध पानीको पानी छुट्याएको विश्वास व्यक्त गर्दै पूरै प्रतिवेदन सार्वजनिक नगरे पनि निचोड भए पनि सार्वजनिक गर्ने बताएकी हुन् ।  पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।  गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।

सञ्चारकर्मबाट संसदमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१  मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६  प्राप्त गरेका छन् । कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर-२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए । अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा चार महिना काम गरेका खरेल पूर्वसञ्चारकर्मी हुन् । जेन–जी आन्दोलनपछिको सरकारमा उनको भूमिका प्रशंसनीय थियो । पूराना दललाई चुनावमा सहभागी गराउन पनि उनले सक्रिय भूमिका खेलेका थिए ।  उनले करिब साढे दुई दशक नेपाली सञ्चार क्षेत्रमा काम गरेको अनुभव छ । विशेष गरेर उनले टेलिभिजन प्रस्तोत्ता भएर काम गरे । २०५६ सालमा केएटिएच एफएम र इमेज च्यानल टेलिभिजनबाट सुरु भएको खरेलको पत्रकारिता यात्रा २५ वर्षभन्दा लामो छ ।  २०५९ असार २९ गतेदेखि निरन्तर एउटै संस्थामा आबद्ध रहे । एउटा संस्थामा लामो समय काम गरेर राम्रो प्रभाव पारेको उनको यो एउटा राम्रो विशेषता हो । उनले टेलिभिजन कार्यक्रम हटसिट सञ्चालन गरेर चर्चामा आएका थिए । मन्त्री बनेपछि पनि पत्रकार सुरेश रजकलाई सहिद घोषणा, पत्रकारिता क्षेत्रसँग सम्बन्धित नीतिगत पहल गरे ।  उनले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।  दोलखाको कालिञ्चोक गाउँपालिका-सुनखानी भदौरेमा २०३९ साल साउन २२ गते जन्मिएका जगदीश खरेलले कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए । खरेलले आरआर क्याम्पसबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे ।  औपचारिक अध्ययनमै सीमित नरही हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि अध्ययनरत छन् । 

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश शाहले तीन ४२८ मत पाए ।

गुगलका पिचाईको तलब ६९ करोड डलर, विश्वकै धेरै पारिश्रमिक पाउने सीईओ

काठमाडौं । गुगल र यसको मातृ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले नयाँ क्षतिपूर्ति योजना अन्तर्गत आगामी तीन वर्षमा अधिकतम ६९ करोड २० लाख डलरसम्म पारिश्रमिक प्राप्त गर्न सक्ने भएका छन् । अमेरिकी प्रत्याभूति तथा विनिमय आयोग (युएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन) मा शुक्रबार सार्वजनिक गरिएको विवरणले यस्तो जानकारी दिएको हो । नयाँ योजनाले पिचाईलाई विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने सीईओमध्ये एक बनाउने अनुमान गरिएको छ । पिचाई सन् २०१५ देखि गुगलका सीईओ रहेका छन् भने सन् २०१९ देखि अल्फाबेटको नेतृत्व सम्हाल्दै आएका छन् ।  योजनाअनुसार पिचाईको आधारभूत तलबमा भने परिवर्तन गरिएको छैन । उनको तीन वर्षका लागि कुल ६० लाख डलर अर्थात् वार्षिक २० लाख डलरको तलब यथावत् रहनेछ । तर उनले पाउने अधिकांश पारिश्रमिक भने कम्पनीको सेयर र प्रदर्शनसँग जोडिएको प्रोत्साहन योजनामार्फत प्रदान गरिनेछ । क्षतिपूर्तिको ठूलो हिस्सा अल्फाबेट कम्पनीको सेयरका रूपमा उपलब्ध गराइनेछ । साथै कम्पनी अन्तर्गत रहेका दुई सहायक कम्पनी-स्वायत्त सवारी साधन विकास गर्ने वायमो र ड्रोनमार्फत सामान ढुवानी सेवा प्रदान गर्ने विङका सेयर पनि यस योजनामा समावेश गरिएको छ । एसइसीमा गरिएको फाइलिङअनुसार पिचाईले वायमोबाट करिब १३ करोड डलर र विङबाट करिब ४ करोड ५० लाख डलरसम्म प्राप्त गर्न सक्ने सम्भावना देखाइएको छ । तर अन्तिम रकम भने कम्पनीको सेयरको प्रदर्शन तथा अल्फाबेटले सेयरधारकलाई दिने लाभांशको अवस्थामाथि निर्भर रहने बताइएको छ । कागजातअनुसार यदि कुनै कारणले पिचाई पदबाट हटाइएमा अझै प्रयोग गर्न बाँकी रहेका सबै स्टक विकल्पहरू उनले गुमाउनु पर्ने व्यवस्था गरिएको छ । कम्पनीले सार्वजनिक गरेको फाइलिङमा पिचाईको नेतृत्वमा कम्पनीले राम्रो प्रगति हासिल गरेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार उनलाई दिइएको वर्तमान तथा अघिल्ला प्रोत्साहन योजनाले अल्फाबेट र यसका सेयरधारकलाई उल्लेखनीय लाभ पुर्‍याएको छ ।

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी  नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ ।        सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न अनुरोध गरेका हुन् ।  'निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय धैर्य गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा पार्टीका सम्पूर्ण जिम्मेवार सदस्यलाई धैर्यपूर्वक अन्तिम परिणामको प्रतीक्षा गर्न आयोग हार्दिक अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनको यस घडीमा त्यस्ता गतिविधि भए गरेको कहीँकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा कारबाही हुनेतर्फ आयोग सबैलाई सचेत गराउँदछ ।'        पार्टीको निर्देशनविपरीत कुनै किसिमका गतिविधि नगर्न पार्टीपङ्तिलगायत सम्पूर्णमा अनुरोध गरिएको छ ।      

कैलाली–१ : रास्वपाकी कोमल ज्ञवाली विजयी, कांग्रेसका जनकराज पराजित

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । निर्वाचन परिणाम अनुसार ज्ञवालीले १७,८६२ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले १२,८६७ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ८,३९२ मत पाएका छन् भने नेकपा एमालेका द्वारिकलाल न्यौपाने चौथो स्थानमा रहे र उनका पक्षमा ४,४९३ मत परेको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।

चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जीत, ५४ हजार ४०२ मतसहित आफ्नै पुराना रेकर्ड तोडे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक भारी मतसहित निर्वाचित भएका छन् । उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् । लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्। तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए ।   

काठमाडौंको सुरक्षा कमाण्डपछि संसदीय यात्रामा, कुलमानलाई हराएर राखे रेकर्ड

काठमाडौं । काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर दोस्रो बने ।  यो क्षेत्रमा कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए । नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए । उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । उनले करिब डेढ दशकभन्दा बढी समय सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा सेवा दिएका छन् । उनको कार्यशैली कडा अनुशासन, निर्णय क्षमता र प्रशासनिक नेतृत्वका कारण चर्चित छ ।  पाण्डे काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख बनेपछि उनी सार्वजनिक रूपमा धेरै चर्चामा आए । विशेष गरेर उनी बालेनसँग नजिक भएपछि चर्चामा आएका थिए ।  उनले सार्वजनिक स्थानमा अतिक्रमण नियन्त्रण, सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण, महानगरका नियम कार्यान्वयन जस्ता कामहरूको नेतृत्व गरेका थिए । सामाखुसी घर भएका उनले शैक्षिक योग्यता स्नातकोत्तर पास रहेको छ । 

सबै प्रहरी कर्मचारीहरूले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरुरी छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आइरहेको भूमिका उत्कृष्ट रहेको चर्चा गर्दै आगामी दिनमा समेत सबै प्रहरी कर्मचारीहरूले निष्ठावान, इमानदार भई अझ उच्च अनुशासन एवं व्यावसायिकता प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवं जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।  सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ निर्वाचनको समयमा प्राप्त आ(आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको समेत उनले उल्लेख गरे ।  प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीति सहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिए ।  मतगणनास्थल, मतगणनाको परिणाम एवं विजयी दलको र्याली, जुलुस लगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्न समेत उनले जोड दिए । सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने उनले बताए । प्रहरी महानिरीक्षक कार्कीले कुनै पनि अवाञ्छित गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरू थप क्रियाशील हुन निर्देशन दिए । साथै सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवं प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।  निर्वाचन प्रहरीप्रति सबै प्रहरी कर्मचारीहरूले अझ उत्कृष्ट आचरण एवं व्यवहार प्रस्तुत गर्नुपर्ने बताउँदै उनीहरूको उचित व्यवस्थापन तथा प्राप्त गर्ने सेवा सुविधामा कुनै पनि कमी/कमजोरी नहुने गरी कार्य गर्न समेत उनले आग्रह गरे ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयसम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

उपत्यकामा कांग्रेसलाई उदय शमशेरको आशा, करिब दोब्बर मतले अगाडि

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। बागमती गाउँपालिकाको मतगणना जारी रहँदा राणाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् । पछिल्लो प्राप्त विवरण अनुसार राणाको मत परिणाम उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा झन्डै दोब्बर देखिएको छ । राणाले ३ हजार १४४ मत प्राप्त गरेका छन् भने एमालेका चेतनाथ सञ्जेलले १ हजार ७५३ मत प्राप्त गरेका छन् ।  त्यस्तै, रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६५२ मत पाएका छन् ।

नागरिक उड्डयन प्राधिकरण भन्छ- एयरलाइन्ससँग टिकट बुकिङ कन्फर्म गरेर मात्र विमानस्थल जानू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई नजान अनुरोध गरेको छ । यात्रुलाई एयरलाइन्ससँग समन्वय गरेर मात्र विमानस्थलमा जान प्राधिकरणले आग्रह गरेको हो। मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द तथा रद्द भइरहेका छन् ।  केही वायुसेवाहरूले त्यस क्षेत्रमा अलपत्र परेका तेस्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरूका लागि विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही मुलुकको विमानस्थलसम्म लैजाने गरेको छ । ‘मध्यपूर्वका देशबाट केही उडान सञ्चालन हुने जानकारी प्राप्त भएको हुँदा र सोही देशबाट तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरुले सम्वन्धित वायुसेवाहरुसँग समन्वय गरी आफ्नो बुकिङ गरेपश्चात मात्र विमानस्थलमा आउनका लागि सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मतदानमा बैंकरको पनि उत्साहपूर्ण सहभागिता, कुन सीईओले कहाँबाट खसाले मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) देशभर मतदान भइरहेको छ । ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ । प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दलका उम्मेदवारले ६१ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन् । यस प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। आयोगका अनुसार देशभर उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसैबीच विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले मतदान गरिसकेको जानकारी दिए । कोइराला झापा क्षेत्र नम्बर-१ भद्रपुरका मतदाता हुन् । उनले भद्रपुर नगरपालिकास्थित भगवती प्रावि मतदान स्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । नबिल बैंकका सीईओ मनोज ज्ञवालीले काठमाडौंको क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले टोखा नगरपालिकास्थित फैमालचुली मतदानस्थलबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा शान्तपूर्ण वातावरणमा मतदान भइरहेको उनको भनाइ छ ।  ‘सबै अनुशासित भएर लाइन लागेर मतदान गरिरहनु भएको छ । चुनावमा तिक्तताको वातावरण केही छैन । फरक-फरक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सौहार्द रूपमा मत मागिराख्नु भएको देखिन्छ । अहिले पनि मतदानस्थलमै छु,’ उनले भने ।  एनएमबि बैंकका सीईओ गोविन्द घिमिरे भक्तपुर क्षेत्र नम्बर-२ का मतदाता हुन् । उनले मध्यपुर ठिमी नगरपालिकास्थित युनिक स्कुलमा रहेको मतदानस्थलबाट मत खसालेको जानकारी दिए । उत्साहपूर्ण माहोलमा मतदान भइरहेको उनको भनाइ छ ।  नेपाल बैंकका सीईओ तीलकराज पाण्डेय काठमाडौं क्षेत्र नम्बर-१ का मतदाता हुन् । उनले नेपाल दूरसञ्चार कम्पनीको तालिम केन्द्र बबरमहलस्थित मतदान स्थलबाट आफ्नो मताधिकार प्रयोग गरेको बताए । मतदानस्थलमा शान्त भएर मतदाताहरूले मतदान गरिरहनु भएको उनले बताए । उनले भने, ‘सबै मतदाताहरू परिवक्क भएर हो कि अत्यन्तै सिभिलाइजेन देखिनु हुन्छ ।’ कुमारी बैंकका सीईओ रामचन्द्र खनाल काठमाडौं क्षेत्र नम्बर-७ का मतदाता हुन् । उनले नागार्जुन नगरपालिका-१ स्थित बालविकास मावि मतदानस्थलबाट मतदान गरेको जानकारी दिए ।  एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले बिहानै बुढानीलकण्ठ नगरपालिकास्थित भद्रकाली प्राथमिक विद्यालयको मतदान स्थलमा पुगेर मतदान गरेको जानकारी दिए । यस्तै, प्रभु बैंकका सीईओ सुनम शर्माले काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुन् । उनले पनि आफूले मतदान गरिसकेको जानकारी दिए । सानिमा बैंकका सीईओ पवनकुमार आचार्यले ललितपुर क्षेत्र नम्बर-३ मतदाता हुन् । उनले लगनखेलस्थित महालक्ष्मी मन्दिर मतदानस्थलबाट मतदान गरेको बताए ।  ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी काठमाडौं क्षेत्र नम्बर-५ का मतदाता हुन् । उनले पनि मतदान गरिसकेको जानकारी दिए ।

कास्कीमा ४ बजेसम्म खस्यो करिब ५२ प्रतिशत मत

काठमाडौं । कास्कीमा ४ बजेसम्म ५१.७४ प्रतिशत खसेको छ । बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदा कास्कीमा कुल मतदाताको ५१. ७४ प्रतिशत मत खसेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कास्कीमा कुल मतदाता १ लाख ५९ हजार ६६६ जना रहेका छन् । महिला ८४ हजार ६४५ र पुरुष ७५ हजार २० जना तथा अन्यमा १ जना मतदाता रहेका छन् ।

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ः०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंकाअनुसार प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत मत खसेको छ । त्यसैगरीमा मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईले जानकारी दिए । उनका अनुसार सुर्खेत क्षेत्र नं १ मा ४८ दशमलव २५, क्षेत्र नं २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं १ मा ३७ दशमलव ३३ र क्षेत्र नं २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ । कुल १० लाख ३७ हजार २५० मतदातामा कर्णाली प्रदेशमा अहिलेसम्म चार लाख ६८ हजार ४२५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।