सेयर बजारमा छायो हरियाली, नबिलपछि प्राइम बैंकको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा करिब एक सातापछि हरियाली छाएको छ । गत चैत १६ गतेदेखि निरन्तर घटेर राताम्मे भएको बजार आज(चैत २४ गते) भने उकालो लागेर हरियाली भएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४७ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबारको बजारमा २ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य ४ रुपैयाँले बढेर प्रतिकित्ता ९६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा प्राइम कमर्शियल बैंक छ । बैंकको एकैदिन ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ४ रुपैयाँले बढेर प्रतिकित्ता ३०२ रुपैयाँ पुगेको छ । बजारमा परिसूचकसँगै कारोबारमा आएका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी (अर्थात २५८.५७ अंक) ले बढेको छ । त्यस्तै, दोहोरो अंकले बढेको बजारमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर क्रमशः ४६२ र १७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ पछिल्लो समयदेखि निरन्तर घट्दै आएको बजार बुधबार पनि २३.३२ बिन्दुले घटेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.९५ प्रतिशतले घटेर २४२८.७५ बिन्दुमा झरेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ । सो दिन बढी कारोबार गर्नेको अग्रस्थानमा हिमालयन डिष्टिलरी अग्रस्थानमा छ । कम्पनीको एकैदिन ९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी इमर्जिङ नेपालको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतले घटेर प्रतिकित्ता ११९०.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, सेयर मूल्य बढी घट्को दोश्रो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४७ प्रतिशतले घटेर प्रतिकित्ता १६६० रुपैयाँमा झरेको छ । घटेको बजारमा पनि नेष्ठो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ । त्यस्तै, कारोबारमा आएका १३ समूहमध्ये तीन वटा समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । होटल्स, म्युचुअल फण्ड र अन्य समूह सामान्य अंकले उकालो लागेका हुन् ।

दिन प्रतिदिन सुस्ताउँदै सेयर बजार, डेढ अर्बको पनि भएन कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२१ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकमले पनि साथ दिन सकेन । दिनभर खुलेको बजारमा करिब डेढ अर्बको सेयर कारोबार भएको छ । २२५ वटा स्क्रिप्सको १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बाहेक सबै बीमा कम्पनीहरु छन् । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, चौथो र पाँचौ स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन छन् । नेपाल लाइफको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्सको ३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता बढी कारोबार गर्नेको तेश्रो स्थानमा रहेको नबिल बैंकको भने ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको १०, इमर्जिङ नेपालको ९.९९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ९.९९ प्रतिशतले बढेर क्रमशः १४५१, १३४१ र ११६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बढी कारोबार भएको सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने घटेको छ । इन्स्योरेन्सको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१६ अंकले घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

चितवनमा सेयर बजार तालिम सम्पन्न

चितवन । सनि सेक्यूरिटिजद्वारा आयोजित सेयर तालिम सम्पन्न भएको छ । साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वय चितवनको तारा पुञ्ज रिसोर्टमा आधारभूत सेयर तालिम सम्पन्न भएको हो । उक्त तालिममा १४४ जनाको सहभागिता रहेको थियो। कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे । साथै साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले युवाहरूको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने र युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्ने बताए । सेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने उनले बताए ।

सेयर बजारबाट अरिंगालले गुँड बनाउने परिस्थिति आउन सक्छ

वस्तुवादी कुरा गर्न खोज्यो भने फरक हुँदो रहेछ । सेयर बजार भनेको त कम्पनीहरु सुचिकृत भएर आएका छन् । वर्षाैं वर्षदेखि उनीहरुले काम गरेका छन् । उनीहरुको तथ्य र तथ्यांकहरु सार्वजनिक भएको छ । यसमा केही अपवाद पनि रहेछन् । जस्तो कि राष्ट्रिय बीमा कम्पनीको पछिल्लो ४/५ वर्षको लेखापरीक्षण भएको रहेनछ । जस्तै बलबीर आएपनि त्यो अडिट चै गर्न मिल्दो रहेछ, कुन्नी किन हो । केही समय अघि राष्ट्र बैंकका अवकाश प्राप्त विशिष्ट श्रेणीको कर्मचारी त्यहाँ जानु भएको थियो । उहाँ इमान्दार र केही गर्न खोज्ने मान्छे पनि हुनुहुन्थ्यो । मैले उहाँलाई ल यो कम्पनी अडिट गरेर अद्यावधिक गरेर छोडिदेउ त भनेको, तर गर्न सक्नु भएन । अरु कसैले पनि गर्न सक्नु भएन । अब त्यो संस्थाको (राष्ट्रिय बीमा कम्पनीको) काम कारबाहीको, यसोत्यसोको मान्छेहरुले कति जानकारी पाए होलान् । त्यही कम्पनीको एउटा सेयरको मूल्य १६/१७ हजार रुपैयाँ छ । मैले यो उदाहरण मात्रै दिएको । यस्तो भने वापत मैले राष्ट्रिय बीमा संस्थानको संचालक समितिसँग माफी माग्नुपर्छ होला, त्यो आफ्नै ठाउँमा रह्यो । एकदमै डार्क (अध्यारो) मा रहेको हाइड्रोले सय रुपैयाँमा सुचिकृत भएर आउनु पर्नेमा प्रिमियम मूल्य राखेर २/३ सयमा राख्दा पनि छप्पर फाडेर दिन्छ भन्दै हारालुछ गरेर लिएको अवस्था पनि छ । लामो समयदेखि क्रेडिबल देखिएका, नेपाल राष्ट्र बैंकले एकदमै राम्रो भनेर प्रत्येक वर्ष सम्मान गरेका वाणिज्य बैंकहरुको अधिकतम सेयर मूल्य ८/९ सय पुग्ने, होइन भने ४/५ सय रुपैयाँ पुग्ने गरेको छ । अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य प्रतिकित्ता ३ सयदेखि ६ सय रुपैयाँको बीचमा छ जस्तो लाग्छ । तर, एउटा लघुवित्त (जसको लगानीको स्रोत अर्कै छ, आफ्नो छैन, किनभने लघुवित्तले निक्षेप लिन पाउँदैन) जो अर्काबाट बरो गरेर ल्याएको पैसा लगानी गर्नेको सेयर मूल्य ४ हजार, पैतालिस सय, पाँच हजार पुगेको छ । यो भनेको के हो त ? र्यासनल्ली बिचार गर्ने मानिसलाई कि त बौलाहा भन्नुपर्यो । मलाई एक पटक त्यसै भनेका पनि छन् । मैले जे कुरा भनेको छु, त्यो वस्तुमा आधारित रहेर भनेको छु । धेरैलाई पच्दो रहेनछ । तर, मैले यो कुरा भन्नछोडेको छैन । म के भनिरहेको छु भने कम्पनीको विषयमा राम्ररी बुझेर लगानी गर्न गएको छ भने समस्यमा परिदैन । कम्तिमा छ महिन पर्खन सक्ने गरी लगानी गर्नुपर्छ । छ महिनापछि त्यही कम्पनीले पनि राम्रो दिन सक्छ । पर्खन नसक्ने, आज ५ रुपैयाँ नाफा भयो भने हच्कियो, त्यसको डिफरेन्स बैंकबाट लियो, फेरि १० रुपैयाँ नाफा भयो र जाने बेलामा एकैचोटी २५ गयो भने त टाउको समात्नु पर्ने हुन सक्छ । किनभने बैंकको त्यो डिफरेन्स बुझाउनु पर्ने हुन्छ । सेयर बजारमा पर्खन सक्नेहरुले बाजी मार्दा रहेछन् । बेलाबेलामा उफ्रिरहनेहरु भने तावाबाट उफ्रिएर भुंग्रोमा पर्दा रहेछन् । ५० लाख मानिस सहभागी भएको बजार र्यासनल हुँदैन र ? दुई तिहाईको सरकार पुरै समय टिक्छ, यसले राम्रो काम गर्छ भनिएको होइन र ? हामीले त त्यो कुरा पनि भोग्यौं । कोभिडको समयमा मान्छेहरुको काम थिएन । एउटा ल्यापटप लियो, डिम्याट खाता खोल्यो, सेयर बजारमा संलग्न भयो । मैले एउटा अनुभव गरेको छु । एउटा फोटो लिनुपर्यो भनेर फोटोग्राफरकोमा गएँ । ऊ फोटो राखेको ल्यापटपमा सेयर हेरिरहेको थियो । मैले – ए भाइ, मलाई प्राथमिकता दिनुस् न मलाई फोटो चाहिएको थियो भनें । उसले– पर्खनुस् न, यहाँ सेयरमा यस्तो यस्तो भइरहेको छ, तपाई कहाँ फोटोको कुरा गर्नुहुन्छ भन्यो । मलाई लाग्यो यो भाइलाई निकै नसा लागेको रहेछ । एकछिन पर्खिएँ । त्यहाँबाट सेवा नपाउने देखेपछि निरास भएर फर्किएँ । अर्काे ठाउँमा गएको, बैंकको छेउमा थियो त्यो ठाउँ । त्यहाँ मान्छेहरु कुरा गरिरहेका थिए– हामीले एउटा भाइलाई १० लाखको कर्जाको सीमा तोकेर काम गर्न दिएको, एउटा हाइड्रोमा हालेको, करिब करिब १ करोड रुपैयाँ कमायो । हाम्रो पैसा फिर्ता गरिदियो । ऊ चाही ६०÷७० लाख रुपैयाँ लिएर अहिले पनि काम गरिरहेको छ भन्दै थिए । उसले आफ्नो व्यवसाय छोडेर नै सेयर बजारमा काम गरिहेको रहेछ । भनेपछि यसमा फाइदा त रहेछ । सिस्टमभित्रैबाट पनि केही गर्न सकिदो रहेछ । अधिकांश मानिसहरु यही देखेर त्यहाँ झुम्मिएका पनि छन् । कति सक्रिय छन् भन्ने म जान्दिनँ । तर, धेरैजसो साना लगानीकर्ताहरु रहेको परिस्थितिमा ठूला लगानीकर्ताहरुले ८÷१० वटा सेयर फालिदिन्छन् । त्यसपछि त्यसको भाउ बढ्यो भनेर गएपछि ठूलोले सेयर बेचिदिन्छन् । यस्तो बेलामा जसरी माहुरीहरु गुलियोमा अल्झेर बसेका हुन्छन्, त्यहीबेला अरिंगाल आएर माहुरी नै टिपेर लाने जस्तो अवस्था आउँछ । साना लगानीकर्ताहरु घानमा पर्ने र अरिंगालहरुले आफ्नो गुँड बनाउने परिस्थिति आउन सक्छ । कतिपय मानिसले भन्छन् कि अहिले अनलाइनबाट कारोबार गर्न सकिने भएपछि यस्तो किन होला र । मसँग त्यसको जवाफ पनि छ । सबै मानिस सबैकुरा बुझेर तर्क संगत ढंगले नै सेयर बजारमा लाग्नु भएको छ भने त समस्या भएन । तर, हाहाको भरमा, फलानोले यसो भनेको थियो भनेर जाने, यो कम्पनीले त पोहोर यति दिएको थियो भनेर जाने जस्तो नबुझेर जानेहरुको लागि बाटो अलि कठिन नै छ भन्ने मेरो भनाई हो । र, गरेर खानेहरुलाई मेरो शुभकामना छ । व्यक्तिगत कुरा मेरो छोराको नाममा सेयर छ कि क्या हो । मलाई थाहा पनि छैन । श्रीमतीको नाममा चाही स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १० कित्ता आईपीओ परेको थियो । त्यो बढ्दै बढ्दै आएर अहिले कति भयो । म चासो पनि राख्दिनँ । मसँग भने सुचिकृत कम्पनीको एक कित्ता पनि सेयर छैन । मलाई सेयर किन्न पनि बढो झन्झट लाग्छ । सिधै, सजिलोसँग गर्ने हो भने बेग्लै कुरा भयो । मेरो बैनीको २÷३ वटा कम्पनीको सेयर रहेछ । डिम्याट खोल्नुपर्ने भयो । म नविकरणको लागि गएँ । अहिले नविकरण भएको छैन जस्तो लाग्छ । किनभने गरिदिनु पर्ने मैले हो । मैले गरिदिएको छैन । त्यहाँ गएर काम गराउन मलाई धेरै झ्याउ लाग्छ । त्यहाँ जानु पर्यो, लाइनमा वस्नु पर्यो, एकदमै बेफुर्सदी भएको क्लर्कले गरेको यी सबै देख्दाखेरि वाक्क लाग्छ । म पनि राष्ट्र बैंकको एउटा तहमा बसेर काम गरिसकेकोले मेरो अनुहार धेरैले चिन्दा रहेछन् । मलाई देख्ने वित्तिकै पल्याक र पुलुक हेर्ने हुदो रहेछ । त्यसैले त्यहाँ उभिएर यी सबै गर्ने मेरो रहर नभएकोले मसँग सेयर छैन र भविष्यमा पनि होला जस्तो छैन । तर, मलाई सेयरका बारेमा यति धेरै गाली गर्ने भएपछि मैले पनि अनुभूति गर्नुपर्छ कि जस्तो लागेको छ । किनभने निर्वाचन आयोगले नेताहरुलाई भनेछ कि सरकारी बाँकी बक्यौता राख्नेहरु उम्मेदवार बन्न पाउदैनन् । मैले त्यसमा एउटा कुरा थपौं न भनेँ । थप्नु पर्ने कुरा के भने त्यो व्यक्ति इन्टरप्रिनर (उद्यमी) हो र गएको वर्ष अडिट (लेखापरीक्षण) गराएर पाँचवटा रुपैयाँ पनि कर तिरेको छैन भने त्यो पनि उम्मेदवार हुन पाउँदैन भनौं । त्यो भएपछि के हुन्छ भने काम गर्न कति दुःख रहेछ, कर तिर्ने भनेको के रहेछ, कर छलि गर्ने भनेको के रहेछ भन्ने कुरा बुझिसिध्याएपछि सरकारमा गएर हाम्रो अर्थतन्त्रको वास्तविकता उसले बुझ्छ । र, त्यहाँ (सरकारमा) गएर घोटला गर्ने, दुनियाभर गर्ने आँट गर्दैन भनेर मैले त्यसो गरौं न भनेको थिएँ । मैले भनेको त्यो कुरा कसलाई पच्छ र । राष्ट्र बैंकमा हुँदा पनि सेयर किन्न मन लागेन ? बैंक वित्तीय संस्थाको अनुमति लिन आउँदा नै कतिपयले त वार्गेन गरेर, कतिपयले छुट्टयाएका छन् भन्ने पनि सुन्छु म । एक जना वरिष्ठ पदाधिकारीलाई त्यो बेलाको अख्तियारका जल्दाबल्दा प्रमुख लोकमान सिंह कार्कीले बयानको लागि बोलाउनु भयो रे । अनि ती पदाधिकारीको ३ करोड रुपैयाँ जतिको सम्पत्ति देखिएको विषयमा उहाँले प्रश्न गर्नुभयो रे । तिमीहरु काम गर्ने कर्मचारीले यसो गर्न हुन्छ, यो त भ्रष्टाचार होइन भनेर सोध्नुभयो रे । जवाफमा ती पदाधिकारीले भन्नुभयो रे– सरल किसिमबाटै हुन्छ हजुर । ३/४ वर्षमा ३ करोड रुपैयाँ सेयरबाट कमाउन कुनै गाह्रो छैन भन्नुभयो रे । यस्तो सुनेपछि साथीभाइहरु त सेयरबाट करोडपति अरबपति भइसकेछन् भन्ने मलाई महसुस भयो । तर मलाई कहिल्यै पनि चाप्लुसी गर्ने र त्यसैबाट अनुचित लाभ लिन पर्छ भन्ने लागेन । बरु मैले त लाइसेन्स पाइसकेको एउटा बैंकको लाइसेन्स नै खारेज गरिदिएँ । सेयर बजारप्रति चासो राख्ने युवालाई सुझाव सेयर कारोबारमा संलग्न हुँदा खाल्डोमा पर्न पनि सकिन्छ । तर, लगानी गर्दा विचार पुर्याएर काम गरिने भएकोले नराम्रो होइन । खासगरी उत्पादनमुलक कम्पनीले रोजगारी सिर्जना गर्न, उत्पादन बृद्धि गर्न र सेवालाई राम्रोसँग परिचालन गर्नको लागि सहयोग पुग्ने हुन्छ । त्यसैले यस्ता कम्पनीहरुमा इन्भेष्टर (लगानीकर्ता) को रुपमा आउनुस् । ट्रेडर (कारोबारी) को रुपमा सकभर नजानुस् भन्ने मेरो सल्लाह हुन्छ । (राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित)

तीन कारणले देखियो सेयर बजारमा रौनक, परिसुचक १०१ अंकले बढ्यो

काठमाडौं । केही दिनयता सिथिल देखिएको सेयर बजारमा आज भने रौनक देखिएको छ । बजार मापक नेप्से परिसुचक १०१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेका अनुसार आज कारोबार बन्द हुने समयसम्ममा १८८ कम्पनीको सेयर मूल्य बढेर बन्द भएको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज एसिएन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किटन तह (१० प्रतिशतको हाराहारी) मा कारोबार भयो । आज बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरका सेयर खरिद विक्री भएका थिए । वाणिज्य बैंकहरुले चैत महिनाको लागि बैंकको व्याज नबढाउने निर्णय गरेका छन् । यस्तै, बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिएको तथा सरकारको पुँजीगत बजेट खर्च बढ्ने समय आएकोले बजारमा तरलता अभाव कम हुने अनुमानका आधारमा सेयर बजारमा उछाल देखिएको हो ।

५२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम बढेन

काठमाडौं । निरन्तर रुपमा घटेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार उछाल आएको छ । लगानीकर्ताको आकर्षण थपिदा सेयर बजार मापक नेप्से परिसुचक ५२ अंकले बढेको । बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसुचक ५२.२१ अंकले बढेर २५५६.७९ अंकमा आइपुगेको छ । परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा २.०८ प्रतिशतले सुधार आएको हो । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेतापनि अघिल्लो दिनको तुलनामा कारोबार रकम न्यून रहेको छ । आज २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५६ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएका १३ मध्ये १२ समूहमा सुधार आएको छ । आज जीवन बीमा समूहको सूचक ३७१, निर्जीवन बीमा समूहको सेयर मूल्य २४८, विकास बैंक समूह २०२ र जलविद्युत समूह १२३ अंकले बढेको छ ।

लघुवित्तहरुको सेयर बजारमा पौने १२ करोड लगानी

काठमाडौं । लघुवित्त संस्थाहरुले सेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको सेयर कर्जा घटेर ११ करोड ८४ लाख रुपैयाँमा सीमित भएको हो । गत असारसम्म लघुवित्तहरुको सेयरमा १३ करोड २६ लाख रुपैयाँ लगानी थियो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४१२ करोड रुपैयाँको सीमा तोकेपछि लगानी १०.६७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तहरुले सेयरमा १३ करोड २० लाख रुपैयाँ लगानी गरेका थिए । लघुवित्तहरुको कुल लगानी भने ९ अर्ब ९१ करोड छ । लघुवित्त संस्थाले सरकारी सुरक्षेण पत्रमा ७७ करोड ३ लाख, मुद्धती निक्षेपमा ८ अर्ब २७ करोड ३८ लाख र अन्यमा ७५ करोड १७ लाख लगानी गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म ८ अर्व २७ करोड राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको हो । २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी गत असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।

सेयर बजारबारे जानकारी दिन मल्पी इन्टरनेशनल कलेजले सुरु गर्यो बुटक्याम्प

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता सम्बन्धि बुटक्याम्प सुरु भएको छ । फागुन २७ गतेसम्म संचालन हुने उक्त बुटक्याम्प कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आयोजना गरेको हो । बुटक्याम्पमा नेपाल स्टक एक्सचेन्जमा लगानी गर्न जान्न आवश्यक पर्ने सबै आधारभूत कुराहरु सिकाइने कलेजले जानकारी दिएको छ । लगानी साक्षरता बुटक्याम्पको अवधिभरि एनआइबिएल एस क्यापिटल लिमिटेड, अनलाइन सेक्युरिटिज, एसएमटीएम क्यापिटलका विशेषज्ञका साथै लगानीकर्ता दिलिप कुमार मुन्नाकर्मी पनि हुने बताइएको छ । लगानी साक्षरता बुटक्याम्प सबैका लागि निस्शुल्क रहेको र बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेपछि उपस्थित हुने सबैलाई प्रमाणपत्र वितरण गरिने कलेजले जनाएको छ ।

अर्थमन्त्रीले दिए सेयर बजारका नेतृत्वलाई विदेश भ्रमणको बम्पर उपहार !

काठमाडौं । जनार्दन शर्मा ‘प्रभाकर’ ले २०७८ असारदेखि अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिकै पुँजी बजारको समस्या हल गर्न प्राथमिकता दिएर कम गरेको उनको दावी छ । यो करिब ८ महिनाको अवधिमा उनले पुँजी बजारमा हुँदै आएका विकृत कारोबारको बारेमा आवाज उठाउन सफल भएको बताएका छन् । उनले भनेका छन्– ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङ जस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन, म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ ।’ यसका साथै, पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षा गर्ने उद्देश्यले नै बजारका दुबै नियामक निकाय (नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज) मा नयाँ नेतृत्व छनौट गरेको उनले बताएका छन् । उक्त दुबै नयाँ नेतृत्व (धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की) लाई मन्त्री शर्माले पुँजी बजार सुधारको लागि ११ बुँदे निर्देशन दिएका छन् । मन्त्री शर्माले गत फागुन १८ गते एक कार्यक्रम आयोजना गरी स्वागत तथा बधाई दिँदै अध्यक्ष हमाल र सीईओ कार्कीलाई ११ बुँदै निर्देशन दिए । र, कसैको दबाब वा प्रभावमा परेर काम नगर्न आग्रह गरेका छन् । उनले साना लगानीकर्तालाई पुँजी बजारमा प्रवेश गराई उनीहरुको लगानी सुरक्षित गराउनेदेखि बजारको विकृत कारोबारलाई रोक्नेसम्मको निर्देशन दिएका हुन् । तर, उनले पुँजी बजार विकासको लागि भन्दै दिएको ११ बुँदे निर्देशनमा केही बुँदा मात्रै जायज रहेको अधिकांशको बुझाई छ । बजारका जानकारमध्ये केहीले त सरकार तथा अर्थमन्त्रीको ध्यान बजारको नीतिनियम, प्रविधि तथा पूर्वाधारमा नभई लगानीकर्तालाई तर्साउने मात्रै रहेको समेत टिप्पणी गरेका छन् । धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले समेत अर्थमन्त्री जस्तो गरिमामय पदबाट त्यस्तो निर्देशन आउँदा आफू आश्चर्यचकित भएको बताएका छन् । ‘अर्थमन्त्रीको निर्देशन पढ्दा कताकता च्वास्स भयो, पुँजी बजारसँग सम्बन्धित नीतिगत निर्देशन दिनुपर्ने मन्त्रालयबाट त्यस्तो खालको निर्देशन दिइन्छ भन्ने कल्पना समेत गरेको थिइनँ,’ अर्थविद् समेत रहेका डा. कार्कीले विकासन्युजसँग भने । ‘विदेशी बजार कसरी सञ्चालन भएको छ, त्यसबाट शिक्षा लिने लगायत बजारमा सर्कुलर तथा इन्साइडर ट्रेडिङ् जस्ता कारोबार भएको स्वीकारिएको छ, जुन अर्थमन्त्रीको हैसियतले जायज होइन,’ उनले भने । पुँजी बजारसँग सम्बन्धित निर्देशन वृहत खालको हुनुपर्ने भन्दै उनले अर्थमन्त्रीबाट बजार विकासको लागि यस्तो यस्तो कार्यमा प्रोत्साहन गर्छु भन्ने नीतिगत व्यवस्था आउनु पर्ने बताए । अर्थमन्त्री शर्माले दिएका ११ बुँदे निर्देशनमध्ये दुई चार वटा बुँदा भने जायज रहेको बताउँदै डा. कार्कीले अतिआवश्यक रहेको महत्वपूर्ण बुँदा नै छुटेको बताएका छन् । ‘अर्थमन्त्रीले दिनुभएको निर्देशनमध्ये केही बुँदा जायज छन्, तर बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, नयाँ स्टक एक्स्चेञ्ज ल्याउनुपर्ने जस्ता महत्वपूर्ण बुँदा नै छुटेको छ, मार्जिन ट्रेडिङ्को लागि ब्रोकर र लगानीकर्ताले व्याजदर तोक्नसक्ने जस्ता निर्णय मेरो कार्यकालमै गरिएको थियो, जुन अहिलेसम्म सञ्चालनमा आउन नसक्नु विडम्बना हो,’ डा. कार्कीले भने । ‘अर्थमन्त्रीबाट हल्का किसिमको निर्देशन आउँनु हुँदैन थियो, किनभने अर्थमन्त्रीको अभिव्यक्तिबाट के बुझिन्छ भने बजारमा गोलमाल भइरहेको थाहाँ पाइपाइ पनि अर्थमन्त्री चुपचाप रहेका छन् र बजारका विकृत कारोबारलाई स्वीकृत गरिरहेका छन्, यस्तो अर्थ लाग्नेगरी अर्थमन्त्री बोल्नै हुँदैन,’ डा. कार्कीले भने । डा. कार्कीले पुँजी बजारको नीति निर्माणको लागि सेबोन र नेप्से नेतृत्वलाई ११ वटा बुँदाहरु समेत दिएका छन् । जसमा बजारको बलियो सुशासन कायम गर्नेदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिनेसम्मका बुँदाहरु छन् । ‘कोभिड–१९ को महामारीबीच पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजी बजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजी बजार संचालन भएको छ भन्ने अध्ययन गर्ने,’ पहिलो बुँदामा उल्लेख छ । यो बुँदाले आफ्नै देशको पुँजी बजार बुझ्न कठिन भइरहेको दुई नेतृत्वलाई अन्य मुलुकमा पुँजी बजारको बारेमा बुझ्न निर्देश गरिएको छ । यसको मतलब उनीहरुलाई पुँजी बजारको बारेमा बुझ्न तथा अध्ययन गर्न भन्दै विदेश भ्रमण गर्ने मौका दिएको सहजै बुझ्न सकिन्छ । सम्बन्धित सामग्री अर्थमन्त्रालयमा जनार्दन शर्माको तमासा

लगानीकर्ता साक्षर नहुँदा सेयर बजार स्वभाविक भएनः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् । बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन । ‘सेयर लगानीकर्तामा साक्षरता कमी देखियो, साक्षरता र अनुभवमा कमी हुँदा बजार बढ्न नपर्ने समयमा पनि बढ्यो’, उनले भने । यस्तै उनले कमोडिटी बजार चलाउनका लागि वयर हाउस, ब्रोकर र सेटलमेन्ट नियमावली बनाउन बाँकी रहेको बताए ।

५८.९९ अंकले घट्यो सेयर बजार, बुधबारकाे तुलनामा काराेबार रकममा वृद्धि

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेकाे छ । बिहीबार नेप्से परिसूचक ५८.९९ अंक घटेको हो । नेप्से ५८.९९ अंकले घटेर २६६१.२४ अंक कायम भएकाे हाे । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो । बिहीबार १५८ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने बढेको छ । जसमा सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । यस्तैगरी, युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । बजारमा नेश्नल हाइड्रो पावर कम्पनीको सेयर कारोबारमा वृद्धि भएको छ । आज २६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबारको बजारमा युनिर्भल पाबर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५ दशमलब ७० प्रतिशतले घटेर प्रतिकित्ता ३६४ रुपैयाँमा झरेको हो ।

एफएनसीसीआई र सीएनआईलाई उद्योगकोभन्दा बढी चिन्ता सेयर बजारको

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देशको अर्थतन्त्र संकटग्रस्थ छ । उद्योगधन्दा तथा व्यापार व्यवसाय चौपट छ । दर्जनौं उद्योग व्यवसायहरु कोरोनाकै कारण बन्द भएका छन् । चलेका भनिएका उद्योग पनि बाच्न सक्ने कि नसक्ने दोधारमा घिसिपिटी गर्दै छन् । कोरोना महामारी कै कारण अर्थतन्त्रमा नकारात्मक असर परेर हजारौं कामदारले रोजगारी गुमाएका तथ्यांकहरु विभिन्न प्रतिवेदनले देखाइसकेका छन् । कोरोना महामारीको कारण समस्यामा परेका उद्योग व्यवसायको राहत र व्यवसाय पुनरुत्थानका लागि भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न समयमा विविध राहतका सुविधा तथा पुनरुत्थानका कार्यक्रमहरु पनि ल्यायो । उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाई पनि गर्यो । तर, राष्ट्र बैंकको त्यो नीति उद्योगी व्यवसायीलाई त्यति रुचिकर नलागे जस्तो देखिन्छ । समस्याग्रस्त अवस्थामा रहेका उद्योग व्यवसायमा लगानी बढोस्, अनुत्पादक क्षेत्रमा लगानी केन्द्रीत भएर उद्योग व्यवसायले लगानीको अभाव महसुस गर्नु नपरोस् भनेर ल्याएको राष्ट्र बैंकको नीतिलाई व्यवसायीले खासै महत्व दिएनन् । उद्योगी व्यवसायीहरु घरजग्गा, सेयर बजार जस्ता क्षेत्रमा जाने कर्जामा अझै सहजीकरण होस् भन्ने आशय व्यक्त गर्न थालेका छन् । किनभने उद्योगी व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेका नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) का पछिल्ला औपचारिक धारणाहरु हेर्दा यी दुबै संस्था उद्योगभन्दा सेयर बजारप्रति बढी चिन्तित रहेकाे देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमाप्रति यी दुबै संस्थाले आपत्ति जनाएका छन् । एफएनसीसीआई र सीएनआईको पछिल्लो धारणाको विश्लेषण गर्ने हो भने उद्योगी व्यवसायीहरुको टाउको दुखाईको सबैभन्दा ठूलो विषय भने ४/१२ करोड रुपैयाँको सीमा नै हो भन्ने निष्कर्ष निस्कन्छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा सेयर धितो कर्जाको ४/१२ करोडको सीमाको व्यवस्थामा बोल्न नसकेका उद्योगी व्यवसायीहरुले दोस्रो त्रैमासको समीक्षा भने खुलेर सुझाव दिए । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाइएको सीमा हटाउनु पर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव दिँदै भन्यो, ‘सेयर बजारमा करिब ४९ लाख मानिस जोडिएका छन्, कोभिड–१९ महामारीको समयमा पनि सेयर बजारबाट आम्दानी गर्ने लाखौं व्यक्तिहरु छन्, कर्जा महँगो हुने र निक्षेपमा बढी व्याज पाइने अवस्था भएमा सेयर बजारमा नकारात्मक असर पर्न सक्छ, मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लाग्दै आएको सीमा हटाउनु पर्दछ ।’ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत महासंघले दिएको यो सुझावको वेवास्ता गर्दै उल्टै सेयर धितो कर्जामा पुनः कडाई गर्ने संकेत देखायो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिप्ट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भन्यो । यो भनेको राष्ट्र बैंकले कडाई गर्दैछ भन्ने नै हो । राष्ट्र बैंकको यो व्यवस्थाप्रति महासंघले असन्तुष्टी जनायो । महासंघले गत शनिबार विज्ञप्ति जारी गर्दै भन्यो, ‘राष्ट्र बैंकको यो नीतिको रुझान हेर्दा यी प्रकृतिका कर्जामा कडाई गर्नेगरि व्याजदर वृद्धि लगायतका उपाय अवलम्बन हुने देखिएको छ, राष्ट्र बैंक आफ्नो नीतिबाट व्याक होस ।’ महासंघ मात्रै होइन, नेपाल उद्योग परिसंघ पनि राष्ट्र बैंकको सो व्यवस्थाप्रति असन्तुष्ट देखिन्छ । मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै परिसंघले नेपाली मूलका विदेशीलाई नेपालको सेयर बजारमा लगानीको सहजीकरण गरिनुपर्ने माग राख्यो । उद्योग व्यवसायमा विदेशी लगानी भित्र्याउनु पर्ने सुझाव दिनुपर्नेमा सेयर बजारमा विदेशी लगानी भित्र्याउन सहजीकरण गर्नु पर्ने परिसंघको माग आफैमा आश्चर्यजनक छ । हुन त परिसंघले मेकइन नेपाल अभियान जस्ता कार्यक्रम संचालन गरेर नेपालमा उद्योग व्यवसायको विकास गर्ने अभियान नै संचालन गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेका नयाँ व्यवस्थाहरु उद्योग व्यवसायमैत्री वातावरण निर्माणका लागि पहल गरेको देखिन्छ । राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई कम व्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषय आफैमा स्वागतयोग्य छ । तर, उद्योगी व्यवसायीहरुले यो व्यवस्थाको खुलेर स्वागत गरेको देखिँदैन । उल्टै अब उद्योगी व्यवसायीहरु राष्ट्र बैंकले गरेका विभिन्न नयाँ व्यवस्थाको प्रतिवादमा उत्रिन छलफल गरिरहेका छन् । उद्योग व्यवसायीहरुले देशमा उद्योग तथा व्यवसायमैत्री वातावरण सिर्जनाका विभिन्न विरोध तथा छलफलमा उत्रिनु स्वभाविक हो । तर, उनीहरु नै खुलेआम सेयर बजारप्रति लचक बन्दा अर्थात सेयर बजारप्रति नियामकले गर्ने नीतिको प्रतिवादमा उत्रिदा उनीहरुको नियत के हो भन्ने विषयले प्राथमिकता पाउन सक्छ । सेयर बजारको विषयमा गरिएका नीति नियम तथा व्यवस्थाहरुको बारेमा बोल्ने संघ संस्थाहरु हुँदाहुँदै उद्योगी व्यवसायीहरुकै छाता संस्थाहरु महासंघ र परिसंघले खुलेआम विज्ञप्ति नै सार्वजनिक गरेर विरोधमा उत्रिनु र उद्योग व्यवसायको भन्दा बढी चिन्ता सेयर बजारको गर्नु आफैमा नयाँ विषय भएको छ ।

‘सेयर बजार बढोस् भन्ने चाहना सबैको छ, नियामकलाई नियामक जस्तै बनाउँछु’

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नियामकलाई नियामक जस्तै बनाएर देखाउने बताएका छन् । आइतबार बोर्डको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै उनले यसअघि जे जस्ता घटनाहरु भएपनि अब आफु बोर्डलाई नियामक जस्तै बनाएर देखाउने प्रतिवद्धता गरे । अध्यक्ष हमालले आफु साना लगानीकर्ताको हकहितका लागि काम गर्नकै लागि बोर्डमा आएको बताए । आफ्नो मुख्य प्राथमिकता साना लगानीकर्ता हुने बताउँदै उनीहरुको हकहितका लागि काम गर्ने उनको भनाई छ । यस्तो छ उनको संक्षिप्त धारणाः हामी सबैकोउद्देश्य एउटै छ । हामी सबैले स्वस्थ र पारदर्शी बजारका लागि अगाडि बढ्ने हो । सबै लगानीकर्ताको ‘कन्सर्न’ बजार बढोस् भन्नेछ । बजारमा पारदर्शी र र सबैलाई एकै किसिमको व्यवहार होस् भन्ने सबैको अपेक्षा छ । नियामक निकाय नियामक जस्तै होस् भन्ने अपेक्षा छ । साना लगानीकर्तालाई कसरी बचाउन सकिन्छ । कसरी अगाडि जान्ने भन्ने मेरो उद्देश्य हुनेछ । लगानी जोखिममा पर्न नदिनका लागि पनि काम गर्नु पर्नेछ ।

विदेशीले सेयर बजारमा लगानी गर्न पाउनु पर्ने परिसंघको माग, अपार्टमेन्ट खरिदमा पनि सहजीकरण गर्नुपर्ने

काठमाडौं । उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघले नेपाली मुलका विदेशी नागरिकहरुलाई पनि नेपाली पूँजी बजारमा लगानी गर्न पाउनु पर्ने माग राखेका छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत गरेको व्यवस्थमा आफ्नो धारणा राख्दै परिसंघले यस्तो माग गरेको हो । परिसंघले देशको आर्थिक तथा वित्तीय अवस्था नाजुक रहेको वर्तमान परिवेशमा नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत भएका व्यवस्थाले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा राखेको छ । ‘संस्थागत तथा व्यक्तिगत विदेशी लगानीकर्ताहरूलाई प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने कार्यक्रम सहित नेपाली मूलका विदेशी नागरिकहरूलाई अपार्टमेन्ट खरिद र पुँजी बजारमा लगानीमा सहजीकरण गरिनुपर्छ, साथै गैरआवासीय नेपाली र नेपाली मूलका विदेशी नागरिकलाई विदेशी लगानीको न्यूनतम सीमा हटाउन समेत हामी आग्रह गर्दछौँ, विदेशी लगानी हुन सक्ने अन्य क्षेत्रहरू पहिचान तथा अध्ययन गरी खुला गर्ने तर्फ समेत हामी सरोकारवाला सवैको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा  उल्लेख छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरू व्यवसाय विस्तार र विविधीकरणमा नियन्त्रणमुखी हुनु हुँदैन भन्ने परिसंघको धारणा छ । समीक्षामार्फत उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा भन्दा कम ब्याजदर कायम गर्ने गरी अध्ययन गर्ने र आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमुनाका रूपमा कार्यान्वयन गर्ने निर्णयले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने परिसंघको माग सम्बोधन हुने क्रममा रहेको परिसंघको बुझाई छ । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत अवलम्बन गरेका मौद्रिक तथा वित्तीय उपायहरूले बजारमा तरलताको समस्या समाधान हुन कठिन देखिन्छ। एकैपटक २ अंकले बैंकदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने निश्चित रहेको परिसंघको बुझाई छ । यस्तै, राष्ट्र बैंकले हाल प्रवाह गरिरहेको पुनरकर्जाको सुविधा पुनरावलोकन गर्दै अति प्रभावित क्षेत्र र पुनरोत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ केन्द्रित गर्ने कार्यदिशा तय गरेबाट पुनरकर्जालाई नियन्त्रित गर्न खोजेको देखिन्छ । कोभिडको प्रभाव अर्थतन्त्रमा अझै पनि कायम रहेको अवस्थामा पुनरकर्जा नियन्त्रण गर्दै त्यको ब्याजसमेत बढाइनुले उद्योग व्यवसायमा प्रतिकूल असर पुग्ने परिसंघको बुझाइ छ। साथै मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी उत्पादनशील क्षेत्रका साथै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन र निर्यातमुखी उद्योगहरूको क्षेत्रमा यो सुविधा पुर्ववत कायम गर्न परिसंघले माग गरेकाे छ। केन्द्रीय बैंकले विगत केही समययता अवलम्बन गरेका नीतिहरूले आयात संकुचित हुने देखिन्छ। वस्तुको आपूर्ति श्रृङ्खलामा अवरोध सिर्जना हुँदा त्यसले अर्थतन्त्रको विस्तार अवरुद्ध पार्ने परिसंघकाे विज्ञप्तिमा उल्लेख छ। यसले नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने र राजस्व संकलन समेत अपेक्षाकृत नहुने अवस्थाको सिर्जना गर्ने हाम्रो बुझाइ छ। दीर्घकालमा यसले राजस्व संरचनामा नै नकारात्मक असर गर्न सक्नेतर्फ सचेत हुनु पर्ने जनाएकाे छ। मुलुकको खस्कँदो विदेशी विनिमय संचिति बढाइ बाह्य वित्तीय स्थितिलाई सन्तुलनमा राख्न गैर आवासीय नेपालीलाई विदेशी मुद्रामा बैंक खाता खोल्न सहज वातावरण बनाउने व्यवस्थाले विदेशी मुद्रा संचितिमा सकारात्मक योगदान गर्ने परिसंघकाे बुझाइ छ।

सेयर बजारमा छायो हरियाली, १० प्रतिशतले बढ्यो न्यादी हाइड्रोको सेयर मूल्य

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । गत सातादेखि निरन्तर घटेर राताम्मे भएको बजारमा फागुन ३ गते भने हरियाली छाएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशतले बढी हो । परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६८ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार ३ अर्ब २३ करोडको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएका मध्ये हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ भने केहीको घटेको छ । कारोबारमा आएकामध्ये न्यादी हाइड्रो पावरको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८९.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४४.५० रुपैयाँले बढी हो । यता कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १८७.०३ अंकले बढेको छ ।

सेवोन अध्यक्षका ३ प्रत्यासीः घरजग्गा, सेयर बजारदेखि बैंकसम्मका विज्ञ, कसको सम्भावना बलियो ?

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गरेको हो । समितिले डा. गोपाल प्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, डा. रमेश हमाल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र निरज गिरी परेका थिए । गिरी र कटुवाल प्रतिस्पर्धाको रिङ्गबाट बाहिरिसकेका छन् । अब यी तीन जनामध्ये सरकारले कसलाई बोर्डको अध्यक्ष बनाउँछ भन्ने चासो र चर्चा हुन थालेको छ । स्रोतका अनुसार यी तीनै जना नेपाली काँग्रेस निकट मानिन्छन् । कसको सम्भावना बलियो ? नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट बोर्डको अध्यक्षका लागि बलियो उम्मेदवारका रुपमा लिइएको छ । डा. भट्टले नेपाली बैंकिङ क्षेत्रमा तीन दशक लामो समयसम्म काम गरिसकेका छन् । उनी पूँजी बजार विज्ञ भनेर पनि परिचित छन् । बैंकरसँगै विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेको पनि उनीसँग अनुभव छ । त्यसैले पनि उनलाई धेरैले बलियो उम्मेदवारको रुपमा लिएका छन् । यस्तै, बोर्डको अध्यक्षका लागि सिफारिस भएका अर्का उम्मेदवार हुन् डा. रमेशकुमार हमाल । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पनि पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् । ग्रिन हेरिटेज ग्रुपका चिफ अपरेटिङ्ग अफिसरका रुपमा कार्यरत उनीसँग एसिया क्षेत्रकाे रियलस्टेट र हस्पिटालिटीमा काम गरेको लामो अनुभव छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमाललाई बोर्डको अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा नै लागिपरेको चर्चा पनि बजारमा छ । त्यस कारण पनि उनलाई बोर्डको अध्यक्षका लागि सम्भावित पात्रको रुपमा धेरैले लिएका छन् । हाल धितोपत्र बोर्डको कानुन महाशाखाका उप–कार्यकारी निर्देशक समेत रहेका कृष्णराज पोखरेल पनि बोर्डको अध्यक्षका लागि सिफारिस भएका छन् । पोखरेलले ९ वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काम गरिसकेका छन् । नेप्सेमा सन् २००७ मा सिनियर अफिसरबाट काम सुरु गरेका उनी सन् २०१४ देखि २०१६सम्म एक्टिङ डेपुटी म्यानेजरका रुपमा काम गरेको अनुभव छ । वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका उनी कानुनको पनि विद्यार्थी हुन् । उनी लेखक पनि हुन् । उनले वाणिजयशास्त्रका स्नातक र स्नातकोत्तरका विद्यार्थीका लागि ‘फाइनानसियल इन्सिच्युट र मार्केटस्’ नामक पुस्तक पनि लेखेका छन् । बोर्डको अध्यक्षका लागि दौडमा रहेका कार्यकारी निर्देशक निरज गिरीलाई ‘आउट’ गरेर बरियतामा छैठौं नम्बरमा रहेका पोखरेललाई प्रतिस्पर्धाको रिङ्गमै राख्नुलाई पनि धेरैले रोचक विषयका रुपमा लिएका छन् । २६ वर्षसम्म बोर्डमै काम गरेका गिरीलाई पछार्दै पोखरेललाई अगाडि बढाएकोले पनि कतै पोखरेल नै अध्यक्षमा नियुक्त हुने हुन् की भन्ने कौतुहलता धेरैमा छ । धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

स्थानीय तहको निर्वाचनलाई सेयर बजारको स्वागत, निरन्तर घटिरहेको बजारमा हरियाली

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले स्थानीय तहको निर्वाचन जेठमै गर्ने निर्णय गरेसँगै सो निर्णयलाई सेयर बजारले पनि स्वागत गरेको छ । यसअघि निरन्तर घटिरहेको सेयर बजारमा आइतबार भने हरियाली छाएकाे छ । बजार खुलेदेखि बढ्न थालेको सेयर बजार यो समाचार तयार पार्दासम्म ७४ अंकले बढेको छ । अहिलेसम्म सेयर बजार ७४ अंकले बढेर नेप्से २८५३.९८ अंक कायम भएको छ । अहिलेसम्म सेयर बजारमा २ अर्ब ४९ करोड ३३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल ४८ लाख २२ हजार सेयर खरिद बिक्री भएको छ । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि सेयर लगानीकर्तामा उत्साह बढेको हो ।

बीमा कम्पनीहरूले नगद लाभांश नदिँदा सेयर बजारमा कस्तो असर पर्ला ? यसो भन्छन् लगानीकर्ता

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमा कम्पनीहरुले यो वर्ष नगद लाभांश नदिने भएका छन् । सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले कर प्रयोजनको लागि बाहेक दिँदै आएका नगद लाभांश वितरण नगर्ने भएका हुन् । नियामक निकाय बीमा समितिको निर्देशनसँगै उनीहरु यो वर्ष सेयरधनीलाई लाभांश खुवाउन असमर्थ भएका हुन् । समितिले कम्पनीहरुको पुँजी वृद्धिलाई ध्यानमा राख्दै र कम्पनीहरुलाई थप बलियो बनाउनको लागि पनि सञ्चालित सबै कम्पनीहरुको नगद लाभांशमा रोक लगाएको हो । बीमा कम्पनीको नगद लाभांशमा अंकुश लगाएसँगै दोश्रो बजारमा यसको कस्तो असर पर्छ ? सेयर मूल्यमा कत्तिको प्रभाव पार्छ, लगानीकर्ताहरु के भन्छन् र उनीहरुले समितिको यो निर्देशनलाई कसरी हेरेका छन् ? भन्ने विषयमा हामीले विभिन्न समूहका लगानीकर्ताको भनाईलाई समेट्ने प्रयास गरेका छौं । हरि ढकाल-अध्यक्ष, सेयर लगानीकर्ता दवाव समूह सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकालले दुई कारणले बीमा समितिको नगद लाभांश कडाई ठीक रहेको बताएका छन् । र, यसमा चुनौति समेत रहेको उनी बताउँछन् । ‘नेपालको स्टक मार्केट बोनसमा आकर्षित छ । लगानीकर्ताहरु बोनसप्रति बढी आकर्षित हुने भएपछि यो निर्देशन बजारको मूल्य, लगानीकर्ताहरु सबैको लागि ठीक छ, अर्कोतिर, कम्पनीहरुको चुक्ता पुँजी बढाउनु पर्ने अवस्था छ, उनीहरुले हकप्रदमार्फत पुँजी बढाउन पाएका छैनन्, यो अवस्थामा बोनसमार्फत क्यापिटल बढाउँदै लैजानको लागि पनि यो निर्देशन ठीक छ,’ अध्यक्ष ढकाले विकासन्युजसँग बोल्दै भने । यससँगै कम्पनीहरुले बिजनेस बढाउन नसकेर नाफा घट्न सक्ने चुनौति देखिएको उनले बताए । ‘मूल्यको लागि बजारमा बोनस नै प्राथमिकता छ । लाभांश कडाईमा चुनौति पनि देखिएको छ, के हो भने, बोनस सेयर मात्रै दिइरहेर कम्पनीले बिजनेस बढाउन सकेन भने कम्पनीको नाफा घट्छ की भन्ने डर छ,’ अध्यक्ष ढकालले जनाएका छन् । तर, मूल्यको लागि बजारमा बोनस नै प्राथमिकतामा छ, त्यसैले समग्रमा यो पोलिसी नकारात्मक नभई सकारात्मक रहेको ढकालको भनाई छ । संरक्षणा चौधरी- अध्यक्ष, नेपाल पुँजीबजार संघ अन्तर्राष्ट्रिय बजारमा बोनस सेयरलाई भन्दा पनि नगद लाभांशलाई बढी प्राथमिकता दिने गरेको तर हाम्रो नेपालमा भने बोनसलाई बढी प्राथमिकता दिएको पाइने लगानीकर्ता तथा नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी बताउँछिन् । पहिला उच्च बोनस सेयर दिएका कम्पनीको अवस्थाहरु अहिले नाजुक रहेको जानकारी गराउँदै उनले बोनसलाई भन्दा नगदलाई बढी प्राथमिकता दिए कम्पनीलाई प्लस लगानीकर्तालाई पनि राम्रो हुने उनको भनाई छ । त्यस्तै, उनका अनुसार समितिले बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा रोक लगाएपनि त्यस्तो असर पर्दैन । ‘हुन त बीमा कम्पनीहरुले खासै नगद लाभांश दिएका त छैनन्, अधिकांशले कर प्रयोजनको लागि भनेर मात्र घोषणा गर्छन्, कर बाहेक दिनेले पनि ५/१० प्रतिशतको हाराहारीमा दिने गरेका छन्, पछिल्लो समयको बजारमा इन्भेष्टर्स भन्दा पनि ट्रेडरहरुको हाबी भएको छ । उनीहरुले नगदलाई भन्दा पनि बोनसलाई फोकस गर्ने भएर त्यस्तो खासै फरक पर्दैन,’ लगानीकर्ता चौधरीले भनिन् । बजारमा ठूला लगानीकर्ताको रुपमा चिनिने दिपेन्द्र अग्रवालले पनि बीमा समितिको पछिल्लो निर्णयले सेयर बजारमा सकारात्मक नै प्रभाव पर्ने बताएका छन् । सिर्जना सुबेदी- लगानीकर्ता लगानीकर्ता सिर्जना सुबेदीले नेपालका लगानीकर्तालाई बोनस सेयर दिँदा नै फाइदा हुने बताउँछिन् । र, बीमा समितिको पछिल्लो निर्णयले कम्पनीहरुलाई बलियो बनाउन मद्दत पुग्ने उनको भनाई छ । ‘लगानीकर्तालाई बोनस नै दिँदा फाइदा हो, नगद लाभांश त कति नै दिने होर, त्यहि नि अहिले नदिए पनि पछि दिइहाल्छन्, एउटा समय आएपछि दिनै पर्छ, त्यसैले यसले बजारलाई राम्रो हो, खासै असर पर्दैन, हाल रोकिरहेको हकप्रद सेयर पनि जारी गर्न दिने हो की होइन, बीमा समितिको यो निर्देशनले भविष्यमा कम्पनीहरु बलिया हुन्छन्, भविष्यको लागि समितिको यो कडाई स्वागतयोग्य नै छ,’ उनले विकासन्युजसँग भनिन् । कता जाला अबको मार्केट ? अबको सेयर मार्केटले राम्रो गति लिने लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय सबै तिरबाट सकारात्मक कुरा आएको, मार्केट बुलिस ट्रेडमै रहेको र अधिकांशको सेयर मूल्य जस्टिफाई नरहेकोले बजार थप उचाईमा पुग्ने बजारका जानकारीहरुको भनाई छ । ठूला लगानीकर्ता अग्रवालले मार्केट बुलिस ट्रेण्डमै रहेको बताएका छन् । पछिल्लो समय कोरोना बढीरहेको र लकडाउन हुने अवस्था देखिएकोले पनि बजार उकालोतर्फ नै लाग्ने बताएका छन् । ‘मार्केट बुलिस ट्रेण्डमै छ, बढ्दो कोरोनाले लकडाउनको अवस्था सिर्जना गर्न सक्ने भएकाले पनि मार्केट पोजेटिभ नै देखिएको छ,’ उनले भने । साथै, उनले हालै अर्थमन्त्रीसँग भेट गरेको र उनी बजारप्रति सकारात्मक रहेका समेत बताए । ‘हालै अर्थमन्त्रीज्यूसँग भेट भएको थियो, भेटमा उहाँले २/४ दिनमा नेप्सेको प्रमुख र १५/२० दिनमा धितोपत्र बोर्डको प्रमुख नियुक्ति गर्ने गरी प्रकृया अघि बढाएको बताउनु भएको छ, साथै, अहिले रोकिरहेका विकासका कामहरु गराउँछौं, र, बजारलाई राम्रो बनाएपछि मात्रै म बोल्छु भन्नुभएको छ,’ उनले विकासन्युजसँग भने । साथै, उनले बजार थप बढ्ने क्रममा रहेकाले पनि अहिले लगानी गर्ने बेला रहेको समेत जानकारी गराएका छन् । त्यसैगरी, सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष ढकालले पनि कोरोना महामारीको उग्र रुप र यो साइकलको बुल सकि नसकेकोले यो समय लगानी गर्ने समय रहेको बताउँछन् । ‘पछिल्लो समय बढ्दो कोरोनाले लकडाउन हुने स्थिति छ, यसले अन्य क्षेत्र खुम्चिने भएकाले बजारमा आकर्षण बढ्ने निश्चित छ, प्लस यो साइकलको बुल सकिएकै छैन, ३२०० को इन्डेक्स हुँदै होइन, त्यसैले म बजारप्रति कन्फिडेन्ट छु, किनकी अबको एक डेढ बर्षभित्र बजारले राम्रै फड्को मार्ने देखिन्छ,’ उनले भने । लगानीकर्ता सिर्जना सुबेदी हालसम्म खासै मार्केट नबढेको र थप बढ्नु पर्ने बताउँछिन् । साथै, उनले नेपालको पुँजीबजार लगानीकर्ताको सेन्टिमेन्टमा चलेकोले दुःख व्यक्त गरेकी छिन् । ‘हाल बजार बढीरहेको छ, पछिल्लो सयम तरलताको एकदमै अभाव भएको थियो, अहिले विस्तारै सहज हुँदै गइरहेको छ, नेताको बोलीले असर गरेको थियो, तर एउटा व्यक्तिले बोलेको भरमा मार्केट टिक्नु भन्ने त राम्रो होइन, तर नेपाली बजारमा त्यही भइरहेको छ, मात्रै सेन्टिमेन्टको आधारमा मार्केट चलेको छ, अहिले सबैको सेन्टिमेन्ट पोजेटिभ देखिएको छ, कारोबार पनि राम्रो छ, बजार थप बढ्छ नै,’ सुबेदीले बताइन् । साथै, नेपालको मार्केट धेरै बढेको पनि छैन, कमर्शियल बैंकहरु २०० रुपैयाँको हाराहारीमा रहेको, इन्डेक्स बढेपनि कतिपय कम्पनीको सेयर मूल्य जस्टिफाई नै नरहेको, बैंकहरु जो डुब्दैनन्, लाभांश पनि राम्रै दिइरहेका हुन्छन्, ती कम्पनीहरु नबढेको उनी बताउँछिन् । तर, पहिला घटेको जसरी अबको मार्केट घट्दैन र घटेपछि चाडैं पिकअप लिने उनको भनाई छ । यता लगानीकर्ता संरक्षणा चौधरीले पनि अबको बजारले राम्रै गति लिने बताएकी छिन् । साथै, अब पुनः लकडाउन भयो नयाँ लगानीकर्तालाई सिकाइ समेत हुने उनी बताउँछिन् । ‘मार्केट सबै मनोवैज्ञानिक हो, नयाँ भेरियन्टसँगै कोरोना महामारीको बढ्दो रुपले लकडाउनको पनि एकदम हल्ला चलिराछ, त्यसले गर्दा मार्केट बढ्छ है भन्ने भएको छ, तर पहिलाको जस्तो कन्डिसन भने छैन, पहिला लगानीकर्ता भनेको जम्मा ९/१० लाख थिए, अहिले बढेर झण्डै ४७/४८ लाख पुगिसकेका छन्, पछिल्लो समय जसरी मार्केट डाउन भयो, अधिकांश नयाँ लगानीकर्ताहरु बाहिरी सकेका छन्, कति सर्ट ट्रम गेन खाएर निस्किए भने कति जना घाटा खाएर निस्किएका छन्, अब पुनः लकडाउन भइहाल्यो भने ती लगानकर्तालाई सिकाइ हुनेछ,’ लगानीकर्ता चौधरीले विकासन्युजसँग भनिन् । सम्बन्धित समाचार निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश नदिने जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश नदिने

निरन्तर बढ्दै सेयर बजार, परिसूचक र कारोबार भदौ यताकै उच्च, हाइड्रोमा झुम्मिए लगानीकर्ता

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि निरन्तर सुधार देखिएको छ । आइतबारको बजारमा ९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन भदौ यताकै उच्च कारोबार हो । भदौ २१ गतेको बजारमा ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबारको बजारमा लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । सो दिन कारोबारमा आएकामध्ये अरुण भ्याली हाइड्रोपापवर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३० करोड ४४ लाख, अप्पर तामाकोशी हाइड्रोपावरको २९ करोड ७४ लाख र शिवम् सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचकले पार गर्यो २९०० को बिन्दु, डेढ घण्टामै पौने ४ अर्बको कारोबार बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढेको छ । जुन भदौ २९ गतेदेखि यताकै उच्च बिन्दु हो । उक्त दिनको कारोबारमा नेप्से परिसूचक २९२९.२८ बिन्दुमा थियो । त्यसयताको कारोबारमा भने परिसूचकले २९०० को बिन्दु पार गर्न सकेको थिएन । त्यस्तै, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ । त्यस्तै, मध्य भोटेकाशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशतले बढेर ४१७.१० रुपैयाँ र किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १६८१ रुपैयाँ पुगेको छ । आइतबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात ४०९.८२ अंकले बढेको छ । यसकारण बढ्दै छ सेयर बजार कोरोना संक्रमणमा उच्च बढोत्तरीसँग सेयर बजारमा उछाल देखिएको छ । बैंकमा व्याजदर वृद्धिपछि ओरालो लागेको सेयर बजार अहिले बैंक व्याजदर स्थीर हुँदा पनि सेयरको मूल्य बढेको छ । फरक यत्ति छ त कोरोना महामारी बढ्दैछ । यसअघि पनि कोरोना महामारी र बन्दाबन्दीको बेलामा सेयर बजारमा उछाल आएको थियो । अहिले पनि लकडाउनको सम्भावना छ । दैनिक ५ हजार भन्दा बढी नेपालीको कोरोना संक्रमण छ । लकडाउन भयो भने मानिसहरु फेरि घर भित्र थुनिन्छन् । फुर्सदिला हुन्छन् र सेयर बजारमा झुमिन्छन् ।