सरकारको खर्च गर्ने क्षमता बढाउन कर्मचारीको तलब बढाउनुपर्छ-भुवन दाहाल
भुवन दाहाल, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक लिमिटेड अर्थतन्त्रमा भूकम्पको असर तत्कालिक र दीर्घकालिन रुपमा कस्तो पर्ला ? नेपाल बोईङ इकोनोमि नभएर बाईसाइकल इकोनोमी हो । बोईङ इकोनोमी उडेको हुन्छ र दुर्घटना भयो भने सिधै जमिनमा खसेर चकनाचुर हुन्छ । बाईसाईकल इकोनोमी गुड्ने मात्रै भएकाले दुर्घटनामा लड्छ मात्रै । यो तत्काल उडेर धुलो टकटक्याएर पुनः हिँड्न, गुड्न र दौडन पनि सक्छ । हाम्रो अर्थतन्त्र पनि बाईसाईकलबाट लडेको मात्रै हो । यो तुरुन्तै उठेर धूलो टकटक्याएर पुनः गुड्न सक्छ । राष्ट्रिय योजना आयोगले पाँच/छ सय अर्ब रुपैयाँ बराबरको क्षति भनेको छ । हाम्रा लागि ठूलो क्षति हो तथापी विश्व समुदायको सहयोगी हात र हाम्रो लगनशिलताका अगाडि यो ठूलोे रकम होइन । संसारभर फैलिएका एनआरएनहरुले सहयोग गरिरहेका छन् । दाताहरुले पनि दाता सम्मेलन मार्फत ठुलो रकम सहयोग गर्ने प्रतिवद्धता जनाईसकेका छन । त्यसकारण पैसाको समस्या हुँदैन । हामी आफैं पनि यो रकम उठाएर काम गर्न सक्ने हौसियतमा छौं । यति ठुलो सहयोगको प्रतिवद्धता प्राप्त भैसकेपछि हामीले पुनःरुत्थानका लागि अब कुनै समस्या छैन । विदेशी सहयोगको उचित व्यवस्थापन गर्न सकिएन भने समस्या आउँछ भन्ने उदाहरण हाईटीमा छ । नेपालले कसरी व्यवस्थापन गर्नुपर्छ ? भूकम्पनपछि हाइटीले १४ सय अर्ब डलर जुटायो । तर त्यसको सहि सदुपयोग गर्न सकेन । कतै हामीले हाइटीकै नियति भोग्नु पर्ने हो कि भन्ने डर छ । नेपालमा पनि इमानदारीताको खाँचो छ । सहि नियतका साथ काम गर्ने दीर्घकालिन सोच भएको नेतृत्वको अभाव छ । तीब्र गतिमा काम गर्ने क्षमता भएको कर्मचारीतन्त्रको खाँचो छ । साढे चार खर्बको सहयोग प्रतिवद्धता आएको छ । अब यसको सहि सदुपयोग गर्न सकिएन भने त हाइटीको नियती यहाँ पनि आउन सक्छ तर त्यस्तो दुर्दिन नआउला भन्ने कामना गरौं । नेपालमा हाइटीकै जस्तो अवस्था देखिएको छैन । यद्यपी हामी पनि समस्यै समस्याले जेलिएका भने छौं नै । यी समस्याको व्यवस्थापन कसरी गर्न सकिन्छ त ? समस्या आर्थिक स्रोतको होइन, समस्या व्यवस्थापन गर्न नसक्नु नै हो । अहिले पनि सरकारी कोषमा एक सय अर्ब रकम फ्रिज भएर बसेको छ । स्थायी सरकारका रुपमा परिभाषित कर्मचारीहरु काम गर्न तयार देखिँदैनन । जबसम्म कर्मचारीहरुले उत्साहका साथ काम गर्दैनन् र काम गर्ने वातावरण पनि बन्दैन तबसम्म देशको उन्नति÷प्रगतिको हुनै सक्दैन । राजनीतिक नेतृत्वले त दिशानिर्देश मात्रै गर्ने हो । काम त सबै कर्मचारीले गर्ने हुन् । तपाईको बुझाईमा कर्मचारीतन्त्रले किन काम गरेन ? अख्तियारको डर देखाएर काम नगर्ने प्रवृति छ । कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको संस्कृति विकास गर्नु पर्यो । हाम्रो कर्मचारीतन्त्रमा राजनीतिकरण भएको छ र उनीहरु प्यारालाईज्ड भएका छन् । कर्मचारीहरुलाई खान लाउन पुग्ने तलब समेत दिईएको छैन । मुख्य सचिवको तलब ४५ हजार रुपैयाँ छ । जब कर्मचारीले आफ्नो तलबबाट आफ्नो न्यूनतम आवश्यकता समेत पूरा गर्ने अवस्था आउँदैन भने उसले राम्रोसँग कार्यसम्पादन गर्न सक्दैन । मुख्य सचिवको तलब दुई लाख किन नबनाउने ? छ/सात सय अर्बको बजेट बन्छ । एउटा सचिवको भागमा ४०/५० अर्ब खर्च गर्ने अख्तियारी हुन्छ । अनि सचिवको तलब ४५ हजार दिएर हुन्छ ? म राती आठ/नौ बजेसम्म अफिसमै हुन्छु । ३६५ दिन नै अफिसकै बारेमा सोच्छु । किन भने मलाई मेरो अफिसले यथेष्ट पैसा दिएको छ । मैले मेरा सन्तानलाई कसरी पढाउने ? घर खर्च कसरी टार्ने ? भनेर सोच्नु परेको छैन । त्यसका लागि पुग्ने पैसा अफिसले दिएको छ । अफिसलाई कसरी सफल बनाउने, राम्रो बनाउने भन्ने सोच्ने बाहेक कुनै अर्काे योजनै छैन मेरो । गृह सचिवले यस्ता विपत्तिका समयमा यसरी काम गर्नु पर्छ भनेर उपयुक्त रोडम्याप पहिल्यै बनाएको थियो भने राहत वितरण कति चुस्त हुन्थ्यो होला । तर हेर्नाेस त कतै राहतै राहत पुग्यो अनि कतैका पीडितले राहत देख्नै पनि पाएनन् । जहाँ जहाँ सडक सञ्जाल थियो त्यहाँ राहत पुग्यो अन्त निकै पछि मात्रै गयो । सरकारले शिक्षा र स्वास्थ्यमा ठूलोे लगानी गरेको छ र जनताको कमाईको पनि ठूलोे हिस्सा त्यसमै खर्च भैरहेको छ । नेता र कर्मचारीका सन्तानलाई सरकारी स्कूल कलेजमा पढाउने र उनीहरुलाई सञ्चालक समितिमा राखिदिने हो भने शिक्षाको समस्या आफैं सुल्झिन्छ । केन्द्रदेखि जिल्लासम्मका अस्पतालहरुमा सरकारी कर्मचारीहरुलाई उपचार निशुल्क गरियो भने त्यहाँको गुणस्तर पनि अभिवृद्धि हुन्छ र कर्मचारीले काम पनि राम्रोसँग गर्न सक्छन । अब त्यो कर्मचारीले देश बनाउने बाहेक केहि सोच्दैन । प्रधानमन्त्री भनेको त देशको प्रमुख कार्यकारी अधिकृत हो । यहाँ त शासन गर्ने होइन, व्यवस्थापन गर्ने हो । शासकिय स्वरुपको बहस भैरहेको छ त्यो वाहियात कुरा हो । शासकिय स्वरुप होइन व्यवस्थापकिय स्वरुपको पुनःसंरचना गर्ने हो । अहिलेको समयमा शासन होइन व्यवस्थापन, प्रबन्धन गर्ने हो । देश त कम्पनी चलाएको जसरी चलाउनु पर्छ अनि मात्रै विकास हुन्छ । तर हामी त अझै पनि शासन गर्ने मानसिकताबाट गुज्रिरहेका छौं । प्रधानमन्त्री शासक होइन व्यवस्थापक हो । अन्तराष्ट्रिय अभ्यासमा भूकम्प लगायतका ठूलो प्राकृतिक विपत्ति पछि बजारमा तरलता अभाव हुने र ब्याजदर बढ्ने गरेको देखिन्छ तर नेपालमा उल्टो किन भयो ? भूकम्पपछि विकास निर्माणका लागि धेरै चाहिन्छ । नेपालमा खास ठूलोे क्षति भएको छैन । वर्षमा छ सय अर्बको हाराहारीमा राजश्व उठ्छ, हाम्रो क्षति त त्यति पनि भएको छैन । हाम्रा सहयोगी छिमेकी छन्, सरकारसँग पनि यथेष्ठ रकम छ, त्यसले गर्दा खास समस्या छैन । तरलता बढ्नुको कारण भनेको भूकम्पले आर्थिक गतिबिधि बढेकाले हो । भवन निर्माण, किनमेल, लगायतको बजार अत्यन्तै न्युन छ, त्यसकारण कर्जाको माग भएन । तर नेपालीहरु संसार भर छरिएर बसेका छन् । उनीहरुले भूकम्पपछि धमाधम रेमिट्यान्स पठाएका छन् । मानिसका घरमा भएका पैसाहरु पनि बैंकिङ च्यानलमा आयो । त्यसले गर्दा बैंकमा निक्षेप बढ्यो अनि त्यसले तरलता बढाएको हो । जब पुननिर्माणको काम आरम्भ हुन्छ तब तरलताको पनि अभाव श्रृजना हुन्छ । तर नेपालका लागि सहयोगी हातहरु धेरै भएकाले तरलताको ठूलोे अभाव भने हुँदैन । अहिलेकै जस्तो तरलताको अवस्था पनि रहदैन । घर जग्गामा गरिएको लगानीका कारण बैंकिङ क्षेत्रमा कस्तो असर पर्ला ? यसले केहि न केही असर त गरिहाल्छ । अहिले तत्कालका लागि रियलस्टेटका प्रोजेक्टहरु बिक्री हुँदैनन् । त्यसले गर्दा बैंकको ऋणको किस्ता, ब्याज र सावाँ तिर्ने क्रम रोकिएको छ । यसले बैंकलाई केहि असर गर्छ नैं । तर काठमाडौंमा अब झन व्यवस्थीत भवनहरु बन्नेछन । जग्गाको भाउ बढ्ने छ । त्यसले गर्दा थोरै पैसामा जग्गा किन्न सकिन्न । केहि समय भित्रै भूकम्प प्रतिरोधी घर बन्छन र साना घरहरुको साटो अपार्टमेन्टमा जानैपर्ने हुन्छ । अपार्टमेन्ट बिना एउटा एउटा घर बनाउन निकै महंगो पर्छ । त्यसैले दीर्घकालिन सोँचका आधारमा हेर्ने हो भने बैंकिङ क्षेत्रमा यसले नयाँ अवसर ल्याउँछ र फाइदा नै हुन्छ । होम लोनमा गरिएको अन्डर इन्स्योरेन्सका कारण बैंकहरुलाई नोक्सानी पर्दैन ? घर भत्किएको छ भने इन्स्योरेन्सबाट पैसा आउँँछ । तर अलिअलि चर्किएको छ भने इन्स्योरेन्सले दिँदैन । मासिक ५० हजार कमाउनेले बैंकको २० हजार किस्ता तिर्दै आएको थियो भने घर चर्किएपछि त्यो किस्तामा समस्या आउँछ । उसले केहि महिनासम्म किस्ता तिर्न सक्दैन तर फेरि पनि बजार विस्तारै ठिक भैहाल्छ । केहि केहिले होमलोनमा गरेको अण्डर इन्स्योरेन्सका कारण समस्या आउन सक्छ । दुई करोडको स्टकमा एक करोडको लोन दिएको छ भने ५० लाख मात्रै पाउँछन । भूकम्पले नेपालका बैंकहरुमा केहि न केहि नोक्सानी त गरेकै छ तर पनि यो सबै रिकभर भैहाल्छ । आत्तिनु पर्दैन । बैंकको शेयर मूल्य घट्ने र बैंक नै बन्द गर्नु पर्नेसम्मको खतरा भने आउँदैन । भूकम्पपछि शेयर बजारमा अप्रत्याशित उतार चढावका श्रृंखलाहरु देखिए नि ? दुई सय अंकले शेयर बजार घट्ने अनुमान गरिएको थियो तर त्यति घटेन । केहि प्लेयरहरुले खेलेको पनि हुनसक्छ । दुईचार अंकको तलमाथी हुनु स्वभाविक हो । तरलता ह्वात्तै बढेको छ, लगानी गर्ने उपयुक्त क्षेत्र नभेटिएको हो ? लगानीको उपयुक्त क्षेत्र नभेटिएको एकदमै हो । १० प्रतिशत ब्याजमा लगानी गर्ने ठाउँ थियो भने ३ प्रतिशत ब्याजदरमा विकास ऋण पत्र कस्ले किन्थ्यो र ? अरु ठाउँ नभएर नै ३ प्रतिशत ब्याजमै भएपनि विकास ऋणपत्र किनिएको हो । अर्काे तिर केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि कुल निक्षेपको २० प्रतिशत लगानी गर्नै पर्ने नियम पनि बनाएको छ । त्यस कारण पनि अन्त ठाँउ नभेटिएपछि विकास ऋण पत्रमा लगानी बढेको हो । सानिमा बैंकको वित्तिय अवस्था कस्तो छ ? सानिमा बैंक दुई बर्ष पहिले २४ नम्बरमा थियो । अहिले १६ नम्बरमा आईसकेको छ । बैंकको वित्तिय अवस्था मापनमा खराब कर्जा सबै भन्दा कम छ, क्यापिटल एडेक्वेसी उच्च छ, कमाई हेर्ने हो भनेर २० प्रतिशत रिटर्न गर्न सक्ने हैसियतमा छौं । निक्षेप पनि उच्च दरमा बढिरहेको छ । बैंकको अवस्था कस्तो छ भनेर मापन गर्ने अर्काे क्षेत्र भनेको त्यसका प्रमोटेरहरु पनि हुन । व्यवसायीक छबि बनाएका एनआरएनहरु हाम्रा प्रमोटर छन्, त्यसैले पनि सानिमा अब्बल बैंकका रुपमा स्थापित छ । आगामी बर्ष लगानीकर्तालाई कति लाभांश दिन सकिएला ? अहिले नै यत्ति लाभांश दिन्छौं भनेर घोषणा गरियो भने त्यो अलि आलोकाँचो हुन्छ । तैपनि हामीले यस बर्ष जति मुनाफा गरेका छौं, अर्काे बर्षपनि त्यति नाफा कमाउन सक्छौं । शोकलाई शक्तिमा बदल्ने हो । अब पुननिर्माणका कामहरु शुरु हुनेछन् । त्यसले बजारमा अवसरै अवसर श्रृजना गर्नेछ अनि हाम्रो नाफामा पनि सुधार आईहाल्छ नि । पुनर्निर्माणमा ल्याइएको पुनःकर्जाको कार्यान्वयन कस्तो रहला ? यो सरकारले ल्याएको राम्रो अवसर हो । कार्यान्वयनका क्रममा लोनको ग्यारेन्टी हुनुपर्छ । धितो गतिलो हुनुपर्छ, तिर्न सक्नेहरुलाई ऋण दिन आपक्ति हुन्न । त्यति धेरै ऋणको डिमाण्ड नहोला तर पनि सरकारले ल्याएको योजना राम्रो छ जनताले सहि सदुपयोग गर्न सक्नु पर्छ ।
महासंघको अध्यक्ष पदका लागि राणा, मुरारका र राजकर्णिकारको उम्मेदवारी दर्ता
काठमाडौं, १२ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । महासंघको कार्यवहाक अध्यक्ष पशुपति मुरारका, पूर्व उपाध्यक्षहरु भवानी राणा र भाष्करराज राजकर्णिकारले उम्मेदवारी दिएका छन् । शनिबार मनोनयन दर्ता गर्ने अन्तिम म्याद हो । सबैभन्दा पहिला सवा एक बजे भवानी राणाले उम्मेदवारी दर्ता गरेकी थिइन । बर्दिया उद्योग वाणिज्य संघले उनलाई प्रस्ताव गरेको हो । भवानीको उम्मेदवारी दर्ता गर्न जाँदा महासंघको दुई वर्तमान उपाध्यक्षहरु किशोर प्रधान र उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व अध्यक्ष चण्डिराज ढकाल, कार्यसमिति सदस्यहरु केशव पाण्डे, चोप नारायण श्रेष्ठ, पूर्वा कास विप्लपमान डंगोल उपस्थित थिए । पौने तीन बजे महासंघको कार्यवहक अध्यक्षको जिम्मेवारी समालिरहको बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले उम्मेदवारी दर्ता गराएका थिए । लाहान उद्योग वाणिज्य महासंघको प्रस्तवमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ता गर्न जाँदा महासंघका उपाध्यक्ष शेखर गोल्छा उपस्थित थिए । मुरारकाले उम्मेदवारी दर्ता गरे लगत्तै महासंघको पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कराज राजकर्णिकारले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल विज्ञापन संघ (आन)ले उनलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको हो । भाष्करले उम्मेदवारी दर्ता गर्दा आनका अध्यक्ष सन्तोष श्रेष्ठ र महासंघको कार्यसमिति सदस्य राजकुमार भट्टराई उपस्थित थिए । महासंघको अध्यक्षको उम्मेदवारी दर्ता गर्ने हरेक उम्मेदवारले तीन लाख रुपैयाँ दस्तुर बुझाएका छन् । तीन जनाको उम्मेदवारी दर्तासँगै महासंघको पूर्वअध्यक्षहरुले सर्ब सहमतिको लागि गरेको प्रयास असफल भएको सन्देश गएको छ । यद्यपी असार १६ गते साँझसम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । अध्यक्ष पदका लागि असार १८ गते निर्वाचन हुँदैछ ।
राहात रकममा २५ प्रतिशत कर लाग्ने, २५ करोड राहात दिने टेलिकमले सवा ६ करोड कर बुझाउनु पर्ने
१ असार । सरकारले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न ब्यक्ति, संस्था तथा कम्पनीहरुलाई आग्रह गरिरहेको भएपनि यस्तो कोषमा जम्मा पारेको रकमको कर पनि तिर्नुपर्ने भएको छ । आयकर ऐनले १ लाख रुपैयाँभन्दा बढी चन्दा वा दान दिदा त्यस्तो रकमलाई आम्दानी देखाइ आयकर तिर्नुपर्ने ब्यवस्था गरेकोले राहत दिनेले दोहोरो मार खेप्नु परेको हो । कोषमा रकम जम्मा गर्नेले त्यस्तो रकमलाई आम्दानी शिर्षकमा देखाउनु पर्ने हुन्छ । खर्च शिर्षकमा लेख्न पाउने अवस्था भएमा त्यस्तो रकमको कर तिर्नुपर्ने थिएन । कोषका रकम जम्मा गर्नेले पनि त्यस्तो रकमको आयकर तिर्नुपर्ने अर्थमन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले बताए । ‘नेपाल सरकारले निर्णय नगरिकन कुनै पनि प्रकारका राजस्व छुट दिन सकिदैन,’ सचिव भण्डारीले भने– अहिलेको कानुनी ब्यवस्था अनुसार कोषमा जम्मा गरेको रकमको पनि कर लाग्छ । रकम जम्मा गर्नेहरुले आयकर छुट दिनुप¥यो भन्ने प्रश्ताव लिखित रुपमा नराखेको उनले जानकारी दिए । bikashnews.com कोषमा रकम जम्मा पार्नेहरुले भने यस्तो रकममा आयकर तिर्नु नपर्ने अर्थमा बुझेका छन् । ९० प्रतिशतभन्दा बढी सेयर हिस्सा सरकारकै भएको कम्पनी नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले यस्तो रकमका कर नलाग्ने अर्थमा आफूले बुझेको बताए । ‘सरकारले तोकेको ठाउमा दिएको रकममा कर लाग्दैन,’ आचार्यले भने– सरकारले भनेको ठाउमा रकम दिने र त्यस्तो रकमको कर पनि तिर्नुपर्ने हो भने त हामीलाई दोहोरो मार पर्छ । उनले आफूले एक महिनाको तलब बराबरको रकम कोषमा जम्मा गरेको र त्यस्तो रकमको पनि कर तिर्नुेपर्ने भए थप भार पर्ने बताए । टेलिकमले कोषमा २५ करोड रुपैयाँ जम्मा पारेको छ । यस्तो रकमको २५ प्रतिशतका दरले ६ करोड २५ लाख रुपैयाँ आयकर तिनुपर्ने हुन्छ ।
१९ इन्स्योरेन्स कम्पनीले भूकम्प पीडितलाई दुई करोड २५ लाख सघाए
२५ जेठ । बिभिन्न १९ वटा इन्स्योरेन्स कम्पनीले भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा दुई करोड २५ लाख रुपैंयाँ उपलब्ध गराएका छन । प्रधानमन्त्री उद्धार कोषको पछिल्लो विवरण अनुसार लाईफ र नन लाईफ गरि कुल १९ वटा कम्पनीले कोषमा दुई करोड २५ लाख बराबरको सहयोग रकम उपलब्ध गराएका हुन । । सबै भन्दा धेरै सहयोग गर्ने इन्स्योरेन्स कम्पनीका रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ५१ लाख रकम उपलब्ध गराएको छ भने अधिकांश कम्पनीले पाँच लाख रुपैंयाँ सहयोग गरेका छन । सबै भन्दा न्युन रकम सहयोग गर्ने इन्स्यारेन्स कम्पनी भने एसियन लाईफ इन्स्योरेन्स कम्पनी हो । उसले जम्मा तीन लाख ११ हजार रुपैंयाँ दिएको छ । ११ वटा कम्पनीले पाँच पाँच लाख सहयोग गरेका छन । ती कम्पनीहरुमा फ्रुडेन्सियल यन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स, सिदार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, एनबि इन्स्योरेक्स, अमेरिक लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेका छन । यी बाहेक प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले १५ लाख सघाएको छ भने युनाइटेड इन्स्योरेन्सले पाँच लाख १० हजार सहयोग गरेको छ । सगरमाथा इन्स्योरेन्सले १० लाख सघाउँदा लाईफ इन्स्योरेन्स कम्पनी नेपालले १५ लाख उपलब्ध गराएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १२ लाख ५० हजार उपलब्ध गराएको छ भने एनएलजी इन्स्योरेन्सले सात लाख ५१ हजार उपलब्ध गराएको छ । नेपालमा आठ वटा लाइफ र १६ वटा नन लाईफ गरि कुल २४ वटा इन्स्योरेन्स कम्पनीहरु रहेका छन ।
शेष घले बने अष्ट्रेलिया ९९ औं धनाढ्य, कुल सम्पति ५३ अर्ब ८६ करोड रुपैंयाँ
१५ जेठ । गैर आवासिय नेपाली संघ(एनआरएन)का अध्यक्ष शेष घले अष्ट्रेलियाको ९९ औं धनाढ्य बनेका छन । ५३ अर्ब ८६ करोड ८६ लाख नेपाली रुपैंयाँ सहित उनी अष्ट्रेलियाको ९९ औं धनाढ्य बनेका हुन । सन २०१५ को दुई सय जना अष्ट्रेलियन धनाढ्यहरुको सुचि सार्वजनिक गरेको विजनेश विक्ली रिभ्युका अनुसार घलेले एक बर्षमा एक सय ८३ मिलियन डलर अर्थात एक अर्ब ८९ अर्ब सम्पति वृद्धि गरेका छन् । सन २०१४ मा घलेको सम्पति ३५ अर्ब ९१ करोड मात्रै थियो । उनी अघिल्लो बर्ष अष्ट्रेलियन धनाढ्यको सुचिमा एक सय ५० औं नम्बरमा थिए । यसैबिच घलेकी श्रीमति जमुना घले पनि अष्ट्रेलियन धनाढ्य महिलाहरुको सूचिमा एक सय नम्बरमा परेकी छिन । गत बर्ष उनी एक सय ५१ औं स्थानमा थिईन ।
सहुलियत ब्याजदरको कर्जाः बैंकर्सका माग समेटिए, सर्वसाधारणका अटाएनन्
काठमाडौं, १४ जेठ । भूकम्पले भत्किएका घर बनाउन सहुलियत ब्याजदरमा प्रदान गरिने कर्जाको कार्यविधिमा बैंक तथा वित्तीय संस्थाको माग मात्रै सम्बोधन गरिएको छ । बैंकर्सले राखेका एक बर्ष अवधि कर्जाको किस्ता तिर्नु नपर्ने, कर्जा दिदा लाग्ने अन्य शुल्क लिन पाउनु पर्ने जस्ता माग सम्बोधन गरिए पनि पिडितले सहज रुपमा कर्जा पाउने ब्यवस्था भने गरिएको छैन । राष्ट्र बैंकले भूकम्पको कारण क्षति भएको घर बनाउन २ प्रतिशत ब्याजमा कर्जा दिने कार्यविधि तयार गरी लागू गरेको छ । यस्तो कर्जा लिदा बीमा, धितो मूल्यांकन, कर्जा सुचना केन्द्र र कर्जा सुरक्षण गरेवापत लाग्ने शुल्क ऋणी आफैले तिर्नुपर्ने ब्यवस्था गरिएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको कार्यविधिको मस्यौदामा २ प्रतिशत ब्याज वाहेक अन्य कुनै पनि प्रकारका शुल्क नलाग्ने भनेको थियो । यस्तो कर्जा प्रदान गर्नको लागि राष्ट्र बैंकले शुन्य ब्याजदरमा रकम उपलब्ध गराउने र बैंक वित्तीय संस्थाले २ प्रतिशत ब्याजमा कर्जा लगानी गरिने भनिएको थियो । बैंक वित्तीय संस्थाका अधिकारीले घटिमा पनि ३ प्रतिशत ब्याज लिन नपाउने हो भने कर्जा लगानी गर्न नसकिने बताउदै आएका थिए । अहिले थप गरिएका शुल्क समावेश गर्दा यस्तो कर्जाको ब्याजदर ३ प्रतिशत नै पुग्ने देखिन्छ । राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जाको अधिकतम सीमा काठमाण्डौ उपत्यकामा प्रति घरपरिवार २५ लाख र उपत्यका बाहेकका प्रभावित जिल्लामा १५ लाख रुपैयाँसम्मको ऋण सुविधाको आवासीय घर पुनर्निर्माण प्रयोजनका लागि प्रदान गर्न सकिने ब्यवस्था गरिएको छ । यो सुविधा ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने भनिएको छ । ब्याज दर परिवर्तन गर्न नपाइने यस्तो कर्जामा ब्याज तथा तेश्रो पक्षलाई भुक्तानी गर्नु पर्ने (बीमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षण शुल्क) लागत बराबरको शुल्क भने ऋणीले नै तिर्नुपर्ने उल्लेख गरिएको छ । शुरुको एक वर्ष ग्रेस अवधि हुने गरी यस्तो कर्जाको न्युनतम अवधि ५ वर्ष र अधिकतम १० बर्षसम्मको हुनेछ । कुनै ऋणीले अग्रीम भुक्तानी गर्न चाहेमा कुनै पनि प्रकारको अग्रीम भुक्तानी शुल्क लाग्ने छैन । यस्तो पुनरकर्जा सुविधा एक पटक को लागि बढीमा १ बर्षको लागि मात्र प्रदान गरिनेछ र विद्यमान कानूनी व्यवस्थाको अधिनमा रही निरन्तरता हुने व्यवस्था मिलाइने राष्ट्र बैंकको भनाइ छ ।तर, बैंक तथा वित्तीय संस्थाबाट घर कर्जा उपभोग गरिरहेका ऋणीहरुको सोही घर क्षतिग्रस्त भई पुनः कर्जा लिनु परेको अवस्थामा कर्जाको अवधि बढीमा पन्ध्र बर्ष सम्म हुनेछ । बैंक वा वित्तीय संस्थाले आवासीय घर पूनर्निर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार चरणमा भुक्तानी हुने गरी प्रवाह गर्नुपर्नेछ । आवासीय घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रति रोधात्मक मापदण्डको पालना गरेको हुनु पर्ने छ । बैंक वा वित्तीय संस्थाले नेपाल सरकारको सम्वन्धित निकाय वा स्थानीय निकाय (नगरपालिका/ उपमहानगरपालिका /महानगरपालिका /वडा कार्यालय /गा.वि.स.) को भूकम्प पीडित भई आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवारमा अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा लिनु पर्नेछ । यस्तो कर्जा सामान्यतः वीमा गरेको हुनु पर्नेछ । कर्जाको बीमा गरेको अवस्थामा कर्जा वर्गीकरणका आधारमा हरेक वर्गमा कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थाको २५ प्रतिशतका दरले मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ । यस्तो कर्जा प्रवाह गर्दा बैंक वा वित्तीय संस्थाले सम्बन्धित संस्थाको विद्यमान घरकर्जा सम्बन्धी नीतिगत व्यवस्थाको अधिनमा रही ग्राहकको कर्जा तिर्न सक्ने क्षमता लगायत सुरक्षणका स्पष्ट आधार लिई कर्जा स्वीकृत तथा प्रवाह गर्नुपर्ने भनिएको छ । यस्तो ब्यवस्थाको कारण ग्रामीण क्षेत्रका सर्वसाधारणलाई कर्जा लिन कठिनाइ हुने छ । केहि दिन अगाडि नेपाल बैंकर्स एसोसिएसनले यस्तो कर्जामा सरकारी जमानत प्राप्त हुने हो भने लक्षित बर्गले फाइदा लिन सक्ने धारणा सार्वजनिक गरेको थियो ।
सानिमा बैंकको खराब कर्जा सबैभन्दा कम, प्रभु र कृषि विकास बैंकले नाघे सिमा
१३ जेठ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका २४ वटा बाणिज्य बैंकहरुमध्ये प्रभु बैंक र कृषि विकास बैंकको खराब कर्जा उच्च देखिएको छ । यी दुबै बैंकको खराब कर्जा बैंक तथा वित्तिय सस्था सम्बन्धी ऐनले तोकेको भन्दा बढि छ । देवी प्रकाशभट्टचन अध्यक्ष रहेको प्रभु बैंकको खराब कर्जा १० दशमलब ७८ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही समयमा २३ दशमलब ७२ प्रतिशत खराब कर्जा रहेको बैंकले सुधार गरिररहेको देखिन्छ । प्रभु बैंकल खराब कर्जाको जोखिम वापत ६५ करोड ८५ लाख रुपैंयाँ प्रोभिजन गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको पनि खराब कर्जा वाफिया ऐनले तोकेको भन्दा बढि छ । चैत मसान्तसम्ममा यो बैंकको खराब कर्जा ५ दशमलब ४१ प्रतिशत रहेको छ । गत बर्षको सोही अवधीमा कृषि विकास बैंकको खराब कर्जा ६ दशमलब ४३ प्रतिशत रहेको थियो । बैंकले खराब कर्जाको जोखिम वापत एक अर्ब एक करोड रुपैंयाँ प्रोभिजन गरेको छ । वाफिया ऐनले खराब कर्जा ५ प्रतिशत भन्दा बढि भएमा वित्तिय संस्थाहरुको कारोबारमा केहि अंकुश लगाउने गरेको छ । केन्द्रिय बैंकले पाँच प्रतिशत भन्दा बढि खराब कर्जा भएका बैंकहरुलाई नयाँ कर्जा प्रवाह तथा निश्चित भन्दा बढि निक्षेप संकलनमा समेत रोक लगाउँछ । सानिमाको खराब कर्जा सबै भन्दा कम नौ महिनासम्ममा सबै भन्दा कम खराब कर्जा भएको बैंकका रुपमा सानिमा बैंक स्थापित भएको छ । यो बैंकको कुल खराब कर्जा शुन्य दलमलब १० प्रतिशत मात्रै रहेको छ । सानिमा बैंकले खराब कर्जाको जोखिम व्यवस्थापनका लागि १० करोड ५८ लाख मात्रै प्रोभिजन गरेको छ । त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल एसबिआइ बैंकको खराब कर्जा पनि न्युन रहेको छ । यी दुबै बैंकको खराब कर्जा शुन्य दशमलब १८ प्रतिशत मात्रै रहेको छ । नौ महिनाको अवधीमा अधिकांश बैंकले खराब कर्जा घटाउने प्रयास गरेको देखिन्छ । कुमारी बैंकले भने ३ दशमलब ६९ प्रतिशतबाट बढाएर खराब कर्जा ३ दशमलब ९८ पुर्याएको छ । राष्ट्रिय बाणिज्य बैंकको खराब कर्जा ४ दशमलब ७७ प्रतिशतबाट घटेर ३ दशमलब ५३ प्रतिशतमा आईपुगेको छ । अन्य सबै बैंकको खराब कर्जा तीन प्रतिशत भन्दा कम रहेको छ ।
राहत वितरणमा अर्थमन्त्रीको दादागिरी, नुवाकोटमा एक अर्ब चार करोड निकासा हुँदा सिन्धुपाल्चोकमा ५६ करोड मात्रै
१२ जेठ । बैशाख १२ गते गएको महाभूकम्पपछिको राहत वितरणमा सरकारले चरम विभेद गरेको देखिएको छ । सरकारले सबै भन्दा बढि धनजनको क्षति भएको सिन्धुलाल्चोकमा भन्दा नुवाकोटमा दुई गुणा बढि रकम निकासा गरेको सार्वजनिक भएपछि सरकारी विभेदको पर्दा खुलेको हो । अर्थमन्त्री डा.रामशरण महतको गृह जिल्ला नुवाकोटमा उद्धार तथा राहतका लागि एक महिनामा एक अर्ब चार करोड निकासा भएको छ । तर सबै भन्दा बढि मानिविय तथा भौतिक क्षति पुगेको सिन्धुलाल्चोकमा भने जम्मा ५६ करोड ७१ लाख मात्रै निकासा भएको छ । महाभूकम्पमा परि सिन्धुपाल्चोकमा तीन हजार चार सय २४ जनाको मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर पुर्णरुपले ध्वस्त भएका छन् । एक हजार ५८ जनाको मृत्य र ५७ हजार नौ सय ४३ घर नष्ट भएको नुवाकोटमा भने सरकारले सिन्धुपाल्चोकको भन्दा झण्डै दुई गुणा बढि अर्थात एक अर्ब चार करोड ५९ लाख निकासा गरेको हो । महाभूकम्पले पारेको क्षतिको आधारमा नुवाकोट तीन नम्बरमा पर्छ । दोश्रो धेरै क्षतिको भएको जिल्लाका रुपमा रहेको काठमाडौंमा एक हजार दुई सय १६ जनाले ज्यान गुमाएका छन् भने ३६ हजार नौ सय ७३ घर ध्वस्त भएका छन् । सरकारले काठमाडौंका लागि भने एक महिनामा ३१ करोड तीन लाख मात्रै निकासा गरेको देखिन्छ । सरकारले एक महिनाभित्र निकासा गरेको पाँच अर्ब ५३ करोड १५ लाख रुपैंयाँमध्ये भूकम्प प्रभावित बिभिन्न १६ जिल्लामा चार अर्ब ३५ करोड ६६ लाख उपलब्ध गराएको छ । अर्थमन्त्री डा.रामशरण महतले आफ्नो हात जगन्नाथकै शैलीमा नुवाकोटमा धेरै रकम निकासा गरेका हुन् । जिल्लागत रकम निकासा सरकारले हालसम्म रसुवामा १३ करोड आठ लाख, धादिङमा ३६ करोड ९७ लाख, काभ्रेमा २३ करोड ८७ लाख, सिन्धुलीमा १९ करोड ३४ लाख, ओखलढुङगामा १० करोड १८ लाख, रामेछापमा २२ करोड २४ लाख रुपैंयाँ निकासा गरेको देखिन्छ । त्यस्तै गोरखामा २८ करोड सात लाख, दोलखामा ३५ करोड, मकवानपुरमा नौ करोड, काठमाडौंमा ३१ करोड तीन लाख, ललितपुरमा ११ करोड ७१ लाख, भक्तपुरमा १४ करोड ६७ लाख, लमजुङमा पाँच करोड ५५ लाख र तनहुँमा चार करोड चार लाख रुपैंयाँ निकासा गरिसकेको छ । यस्तो छ विदेशीले दिएको राहत सहयोग
२४ बाणिज्य बैंकको नाफा १८ अर्ब २० करोड, चारवटा बैंकले कमाए २० वटाको बराबर नाफा
११ जेठ । २४ वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको नौ महिनामा १८ अर्ब २० करोड रुपैंयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ३० वटा बैंक मध्ये हालसम्म तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका २४ बैंकहरुले चैत मसान्तसम्ममा सो नाफा कमाएका हुन् । २० वटा बैंकको नाफा बराबर चार वटा बाणिज्य बैंकहरुले नै नाफा कमाएको पनि देखिएको छ । २० वटा बाणिज्य बैंकहरुको कुल नाफा ९ अर्ब ९७ करोड देखिएको छ भने अन्य चारवटा बैंकहरुले आठ अर्ब २३ करोड नाफा कमाएका छन् । चारवटा बैंकहरुले एक अर्ब भन्दा बढि नाफा कमाएका हुन् । यसरी अर्ब बढि कमाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक रहेका छन् । सबै भन्दा बढि नाफा कमाउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक देखिएको छ । यो बैंकले चैत मसान्तसम्ममा चार अर्ब ६ करोड नाफा कमाएको छ भने नविल बैंकले दोश्रो स्थानमा रहँदै एक अर्ब ६३ करोड नाफा कमाएको छ । यद्यपी नविलले गत बर्षको सोही अवधीको तुलनामा भने एक करोड नाफा घटाएको छ । बढि मुनाफा कमाउने तेश्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंकले नौ महिनामा एक अर्ब ५३ करोड नाफा गरेको छ । चौथो स्थानमा रहँदै कृषि विकास बैंकले एक अर्ब एक करोड नाफा आर्जन गरेको छ । थोरै नाफा कमाउने बैंकहरुको पहिलो नम्बरमा जनता बैंक परेको छ । यो बैंकले जम्मा १३ करोड ४६ लाख मात्रै नाफा कमाएको देखिन्छ । त्यस्तै सेन्चुरी बैंकले पनि नौ महिनामा जम्मा १६ करोड ३० लाख मात्रै कमाएको छ । सिभिल बैंकले पनि थोरै कमाउने बैंकहरुको सुचिमा पर्दै जम्मा १९ करोड पाँच लाख मात्रै नाफा आर्जन गरेको छ ।
पुनःनिर्माणमा बैंकर्सको नयाँ प्रस्ताव, मासिक छ सय किस्तामा तीन लाखका सुरक्षित घर
१० जेठ । नेपाल बैंकर्स संघले महाभूकम्पका कारण ध्वस्त भएका घरहरुको पुनःनिर्माणका लागि नयाँ प्रस्ताव अघि सारेको छ । संघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मासिक छ सय रुपैंयाँ किस्ता तिरेर तीन लाखको लागतमा भूकम्प प्रतिरोधी घर बनाउन सकिने प्रस्ताव अघि सारेको हो । सिई कन्सट्रक्सनले तयार पारेको नमुनाका आधारमा संघले नेपाल राष्ट्र बैंकले अघि सारेको दुई प्रतिशत ब्याजमा पुनःनिर्माण कर्जा उपलब्ध गराउने प्रस्तावको विकल्पका रुपमा यस्तो योजना अघि सारेको हो । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले कार्यपत्र प्रस्तुत गर्दै घरबार बिहिन भएका नेपालीलाई राज्यले उपलब्ध गराउने दुई लाख रुपैंयाँ बैंक एकाउन्टमा जम्मा गर्ने र राज्यको जमानीमा बैंकले थप एक लाख ऋण उपलब्ध गराउने प्रस्तावअघि सारेका हुन् । सरकारले दिएको दुई लाख र सरकार ग्यारेन्टी बसेर बैंकले एक लाख रुपैंयाँ पीडितको एकाउण्टमा राख्ने र बैंकले नै सो रकम बराबरको निर्माण सामग्री उपलब्ध गराउने पन्तको प्रस्तावमा उल्लेख गरिएको छ ।उनले २० बर्षे योजना अनुसार सरकार ग्यारेण्टी बसेर कर्जा लगानी गर्न सकिने स्पष्ट पारेका छन् । बैंकर्स संघका कार्यवाहक अध्यक्ष अनिलकेशरी शाहले बैंकहरुले आफ्नो कुल कर्जा क्षमताको १० प्रतिशत कर्जा महाभूकम्पका कारण क्षति पुगेका उद्योगधन्दामा प्रवाह गर्ने जानकारी दिए । उनका अनुसार त्यसरी प्रवाह हुने कर्जाको रकम एक खर्ब १० अर्ब हुनेछ ।बैंकिङ क्षेत्रमा सरकारले ३० प्रतिशत आयकर असुल्ने गरेको बताउँदै उनले बिषम परिस्थितीमा सो दरलाई घटाएर २५ प्रतिशत सिमित गर्नु पर्ने धारणा समेत राखेका थिए । बैंकरहरुले बजेटबाट बार्षिक पाँच अर्ब छुट्याएर २० बर्षका लागि पुनःनिर्माण कोष खडा गर्न सरकारलाई सुझाव समेत दिएका छन् । बैंकरहरुले सुरक्षा संयन्त्रलाई पुनःनिर्माणको काममा खटाउन सकिने समेत बताएका छन् । प्रधानमन्त्री उद्धार कोषमा जम्मा भएको रकमको सदुपयोग ग्यारेन्टी हुनु पर्ने बताउँदै उनीहरुले पुनःनिर्माणका लागि २० बर्षे कार्यकालको अधिकार सम्पन्न निकायको गठन समेत आवश्यक रहेको धारणा राखेका थिए ।
शून्य व्याजदरमा १४४ अर्ब पुर्नकर्जा दिन राष्ट्र बैंक तयार
९, जेठ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य व्याजदरमा १ खर्ब ४४ अर्ब रुपैयाँ पुर्नकर्जा दिने प्रस्ताव गरेको छ । तर राष्ट्र बैंकको प्रस्तावप्रति बैंकर्सहरु उदाशिन देखिएका छन् । bikashnews.com गत बैशाख १२ गते गएको भूकम्पका कारण घरविहीन भएका परिवारलाई सहुलियत पूर्ण कर्जा सुविधा दिने नीति राष्ट्र बैंकले अगाडि सारेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य व्याजमा पुर्नकर्जा दिने र बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत व्याजमा सुरक्षीत धितोका आधारमा कर्जा लगानी गर्ने नीति लिएको छ । तर बैंकहरुले २ प्रतिशत व्याजमा काम गर्न नसकिने जनाउँदै आएका छन् । राष्ट्र बैंकले प्रस्ताव गरेको ‘आवासीय घर पुनर्निमाणका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि, २०७२’ मा काठमाण्डौ उपत्यकामा प्रति घरपरिवार रु २५ लाख र उपत्यका बाहेकका प्रभावित जिल्लामा रु १५ लाखसम्मको ऋण सुविधा १० वर्षसम्मलाई उपलब्ध गराउने उल्लेख छ । बैंक वा वित्तीय संस्थाले नेपाल सरकारको सम्वन्धित निकाय वा स्थानीय निकाय (नगरपालिका/उपमहानगरपालिका/ महानगरपालिका/ वडा कार्यालय/गा.वि.स.) को भूकम्प पीडित भई आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवारमा अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा लिनुपर्नेछ । पुनरकर्जाको सीमा प्रत्येक बैंक वा वित्तीय संस्थाका लागि सो संस्थाको प्राथमिक पुँजीको ८० प्रतिशतसम्म मात्र तोकिएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुको कुल प्राथमिक पुँजी १ खर्ब ७९ अर्ब ६३ करोड छ । यसैका आधारमा राष्ट्र बैंकले १ खर्ब ४४ अर्ब रुपैयाँसम्म पुर्नकर्जा दिनेछ । यो रकम हाल वित्तीय क्षेत्रले प्रवाह गरेको कुल कर्जाको ११ प्रतिशत हो । फागुन मसान्तसम्ममा बैंकहरुले कुल १२ खर्ब ७८ अर्ब कर्जा लगानी गरेका छन् । फागुन मसान्तसम्ममा बैंकहरुले प्रवाह गरेका घर कर्जाको आधारमा सरकारले दिने भनेको १४४ अर्ब पुर्नकर्जा प्रयोग हुने सम्भावना छैन । फागुन मसान्तसम्ममा वित्तीय क्षेत्रले कुल १०९ अर्ब मात्र घर कर्जा प्रवाह गरेका छन् । यस कर्जामा बैंक वा वित्तीय संस्थाले ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन । सरकारले दिने भनेको सबै पुर्नकर्जा प्रयोगमा नआउने बैंकर्सहरु बताउँछन् । ‘शुन्य दशमलव ५ प्रतिशत प्रोभिजन गर्नु पर्छ । सेवा शुल्क पनि लिन पाईदैन । कर्जाको पूर्ण सुरक्षाको बैंकहरु आफैले लिनुपर्छ । यस्तो कर्जा प्रवाह गर्न बैंकहरु उदाशिन बन्न सक्छन्’ एक जना बैंकर्सले भने–‘राष्ट्रिय संकट परेको बेलामा समाजसेवा गरौं भनेर बैंकहरुले जोखिम लिए भने कर्जा प्रवाह हुन्छ, नत्र गाह्रो छ ।’ अर्थविद रामेश्वर खनाल पनि राष्ट्र बैंकले दिनसक्ने सबै पुर्नकर्जा उपभोग नहुने बताउँछन् । सहरी क्षेत्रमा ७२ हजार घर भत्केकोमा ३० हजार भन्दा बढी परिवारले बैंकबाट कर्जा लिन आयस्रोत देखाउने सम्भावना कम रहेको उनको विश्लेषण छ । बैंकहरुलाई कर्जा प्रवाह गर्न प्रेरित गर्न राष्ट्र बैंकले पुर्नकर्जा अगाडि नै दिनुपर्ने उनी बताउँछन् । कर्जा प्रवाह भईसकेपछि पुर्नकर्जा दिदाँ बैंकहरुलाई कर्जाको लागत झन महाँगो पर्ने उनी बताउँछन् । साथै, गुणस्तरीय घर कर्जा मार्गदर्शन पनि आवश्यक भएको उनले बताए । ३० हजार भन्दा बढीले आवास कर्जाको माग गर्ने सम्भावना आफूले पनि नदेखेको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल बताउँछन् । ‘बैंकहरुले प्रयाप्त धितो र आयस्रोत नभएकालाई कर्जा दिन सक्दैनन् । त्यसैले कर्जाको माग नै कम हुनसक्छ’–उनले भने । महाविपत्तीको बेलामा सरकारी प्रयासबाट प्रवाह भएको सहुलियत पूर्ण कर्जा पछि मिनाह हुने आसमा कर्जा भुक्तानी गर्न आनाकानी गर्ने प्रवृति देखिन सक्ने भएकाले यस्तो कर्जामा लगानी गर्नु बैंक तथा वित्तीय संस्थाहरुको लागि जोखिमपूर्ण हुने नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्य बताउँछन् । यसअघि सरकारले यस्तो घडीमा दिएको कर्जालाई अन्तिममा मिनाह गर्ने गरिएको उनले बताए ।
नेपाल पूनर्बीमा कम्पनीमा अराजकता, कार्यकारी प्रमुखले हटाएका कर्मचारीलाई अध्यक्षले हाजिर गराए
९ जेठ । नेपालको एक मात्र पुर्नबीमा कम्पनी अराजक शैलीमा चलिरहेको छ । चुक्ता पुँजीको आधारमा बीमा क्षेत्रको सबैभन्दा ठूलो यस कम्पनीमा सरकारले ४३ प्रतिशत सेयर लिने कबोल गरेको छ । तर कबोल गरेअनुसार सरकारले पैसा हालेको छैन । थोरै पुँजी लगानी गरे पनि सरकारी प्रतिनिधिले नै कम्पनीको अध्यक्षता गरिरहेका छन् । अध्यक्षले नै कम्पनी निरंकुश शैलीमा सञ्चालन गरिरहेका छन् । पाँच अर्ब सेयर पुँजी रहेको यस कम्पनीको न व्यापार योजना छ, न कर्मचारी नियमावली छ, न प्रशासनिक कार्यविधि बनेको छ । न कम्पनीको साधारणसभा भएको छ । नियम अनुसार सरकारले तीन जना सञ्चालक नियुक्त गर्नु पर्नेमा लामो समयदेखि एक जनालाई मात्र सञ्चालक बनाएर छाडेको छ । अहिले कम्पनी कार्यकारी प्रमुख विहीन छ । सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएको शोभाकान्त पौडेल यस कम्पनी अध्यक्ष छन् । उनले आफ्नो व्यक्तिगत इच्छा र चाहाना अनुसार कम्पनी चलाएका छन् । कम्पनी भित्रको अराजकताको एउटा उदाहरण हेरौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना प्रवद्र्धक १७ वटा कम्पनीहरुलाई जेठ २० गते एउटा परिपत्र जारी ग¥यो । त्यसमा कम्पनीका तीन जना कर्मचारीलाई हटाईएको उल्लेख छ । उत्तम पनेरु, प्रदीप अर्याल र माया चापागाईलाई हटाईएकोले उनीहरुसँग कुनै पनि काम कारोबार नगर्न अनुरोध गरिएको छ । कम्पनीको लेटरप्याड प्रयोग गरिएको छ । दर्ता र चलानी नम्बर राखिएको छ । कम्पनीको छाप लगाईएको छ । प्रमुख कार्यकारी अधिकृत रमेश लम्सालले हस्ताक्षर गरेका छन् । यस पत्रमा बीमा कम्पनीहरुले शंका गर्ने स्वीकार गर्ने ठाउँ नै छैन । तर अहिले तिनै कर्मचारीहरु पनेरु, अर्याल र चापागाई नेपाल पुनर्बीमा कम्पनीको कार्यलयबाट बीमा कम्पनीहरुमा फोन गर्छन् । कार्यलयको काम लिएर बीमा कम्पनीहरुमा पुग्छन् । ‘हामीले कसलाई विश्वास गर्ने ? पुनर्बीमा कम्पनीको पत्रलाई विश्वास गर्ने कि त्यही कम्पनीको कर्मचारी हुँ भनेर आउने पनेरु, अर्याल, चापागाईहरुलाई विश्वास गर्ने ?’ एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले पुर्नबीमा कम्पनी परिपत्र देखाउँदै प्रश्न गरे । स्रोतका अनुसार कार्यकारी प्रमुख रमेश लम्सालले हटाएका तीनै जना कर्मचारीलाई अध्यक्ष शोभकान्त पौडेलले काम लगाएका छन् । उनीहरुलाई नयाँ नियुक्ती पत्र वा करार नविकरण पत्र वा कारवाहीबाट सफाई दिएको लगायत कुनै पनि आधिकारिक पत्र दिईएको छैन । तर उनीहरुले नियमित कार्यलय जान्छन् । नियमित हाजिर गर्छन, नियमित काम गर्छन् । ‘अध्यक्षले निरन्तर रुपमा काम गर्न आदेश दिनुभएको छ । उहाँहरु आएर काम गरिरहनु भएको छ’–एक कर्मचारीले परिचय नखुलाउने सर्तमा भने । कर्मचारी नियुक्ती गर्ने, हटाउने, कारवाही फुकुवा गर्ने अधिकार अध्यक्षलाई छैन । स्रोतका सञ्चालक समितिमा उनले प्रस्ताव लगेका छैनन् । कार्यकारी प्रमुख नियुक्त सम्वन्धि प्रस्ताव पनि सञ्चालक समितिमा लगेका छैनन् । ‘कार्यकारी अध्यक्ष झै आफैले कम्पनी चलाउन खोजेको छन् । दैनिक जसो कार्यलय जान्छन्, कर्मचारीलाई आफै अराई पराई गर्छन’–स्रोतले भन्यो । bikashnews.com यस विषयमा अध्यक्ष पौडेलसँग सम्पर्क गर्दा उनी जंगिए । कर्मचारी नियमावली समेत नबनाई मनोमानी रुपमा कम्पनी सचिवसहित पाँच जना कर्मचारी नियुक्ती गरेको, मुख्य पदहरुमा अध्यक्षका आफन्तले नियुक्ती पाएको, स्याङ्जा स्थायी घर भएको उज्वलराज शर्मालाई कम्पनी सचिवमा नियुक्त गर्दा झुटो ठेगानामा नियुक्ती दिलाएको र कम्पनीलाई जोखिमपूर्ण तरिकाले सञ्चालन गरेको समाचार तीन साताअघि देशविकासमा प्रकाशित भएको थियो । सोही समाचारप्रति आक्रोश पोख्दै उनले भने–‘तपाई जे मन लाग्छ, त्यही लेख्नुहोस् । कम्पनी कसरी चलाउने मलाई थाहा छ ।’ स्रोतका अनुसार प्रदीप अर्याल र माया चापागाईको करार अवधि सकिएकोले कार्यकारी प्रमुख रमेश लम्सालले समय थप नगर्ने निर्णय लिएका थिए । अर्याल र चापागाई दुबैलाई अध्यक्ष पौडेलकै निर्देशनमा गत मंसिर १९ गते ६ महिनाका लागि भन्दै करारमा नियुक्त गरिएको थियो । उनीहरुको करार भ्याद २०७२ बैशाख १८ गते सकिएको थियो । करारमै काम गर्दै आएका पनेरुलाई भने अनुशासन हिन भएको, पदीय आचरण विपरित काम गरेको, अति गोप्य सूचना चुहाएको आरोपमा करार रद्द गएिको पत्रमा उल्लेख छ । तीनै जनालाई करार अवधि थप नगर्ने निर्णयको बोधार्थ बीमा समितिलाई समेत बीमा समितिका एक अधिकारीले जानकारी दिए ।
आवासीय घर पुर्ननिर्माण कर्जा मस्यौदा सार्वजनिक, २ प्रतिशत व्याजमा राजधानीमा २५, वाहिर १५ लाख कर्जा
७ जेठ । भूकम्प प्रभावित घरपरिवारलाई २ प्रतिशत व्याजमा सहुलियत ऋण उपलब्ध गराउने उदेश्यसहित नेपाल राष्ट्र बैंकले ‘आवासीय घर पुनर्निमाणका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि, २०७२’ को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदाबारे आफूलाई लागेको सुझाव जतिसक्दो छिटो पेश गर्न राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ । मस्यौदामा पुनरकर्जाको अधिकतम सीमा काठमाण्डौ उपत्यकामा प्रति घरपरिवार रु २५ लाख र उपत्यका बाहेकका प्रभावित जिल्लामा रु १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुनर्निर्माण कर्जा दिने उल्लेख गरिएको छ । यस्तो कर्जा “क”, “ख” र “ग” वर्गका अर्थात वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले प्रवाह गर्न सक्नेछन् । यो सुविधा ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा वित्तीय संस्थाले आवासीय घर पुनर्निर्माण प्रयोजनको लागि प्रदान गर्ने ऋणमा अधिकतम २ प्रतिशतसम्म मात्र ब्याजदर लिनु पर्नेछ । नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुनरकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले उपर्युक्त बमोजिमको कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन । यस्तो कर्जाको अवधि न्युनतम ५ वर्ष र अधिकतम १० बर्षसम्मको हुनेछ । कुनै ऋणीले अग्रीम भुक्तानी गर्न चाहेमा कुनै पनि प्रकारको अग्रीम भुक्तानी शुल्क लाग्ने छैन । यस्तो पुनरकर्जा सुविधा एक पटकको लागि बढीमा १ बर्षको (नेपाल सरकारको सहमतिमा) लागि मात्र प्रदान गरिने छ र विद्यमान कानूनी व्यवस्थाको अधिनमा रही निरन्तरता हुने व्यवस्था मिलाइने छ । बैंक वा वित्तीय संस्थाले आवासीय घर पूनर्निर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार चरणमा भुक्तानी हुने गरी प्रवाह गर्नुपर्नेछ । आवासीय घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डकोपालना गरेको हुनु पर्नेछ । बैंक वा वित्तीय संस्थाले नेपाल सरकारको सम्वन्धित निकाय वा स्थानीय निकाय (नगरपालिका÷ उपमहानगरपालिका÷ महानगरपालिका÷ वडा कार्यालय÷ गा.वि.स.) को भूकम्प पीडित भई आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवारमा अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा लिनुपर्नेछ । भूकम्प पीडितका लागि यस बैंकबाट प्रवाह गरिने कुल पुनरकर्जाको सीमा प्रत्येक बैंक वा वित्तीय संस्थाका लागि सो संस्थाको प्राथमिक पुँजीको ८० प्रतिशतसम्म मात्र हुनेछ । यस्तो कर्जा सामान्यतः वीमा गरेको हुनुपर्नेछ । कर्जाको बीमा गरेको अवस्थामा ०.२५ प्रतिशतका दरले मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ । तोकिएको सीमाभन्दा बढी प्रवाह भएको कर्जाको रकममा पुनरकर्जा सुविधा प्रदान गरिने छैन । यस्तो पुनरकर्जा सुविधा प्राप्त गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको मासिक विवरण महिनासमाप्त भएको मितिले १५ दिनभित्र यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ । पूँजीकोष गणना प्रयोजनका लागि यसरी प्रवाह गरिएको कर्जाको जोखिम भार आवासीय घर कर्जा सरह ६० प्रतिशत हुनेछ । यस्तो पुनरकर्जा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको धितोमा प्रदान गरिनेछ । “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको सिफारिशमा त्यस्ता संस्थाका ग्राहकहरुलाई रु. २ लाख सम्म “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरेको कर्जामा समेत यो पुनरकर्जा प्रदान गरिनेछ । यस्तो कर्जाको हकमा वा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको सिफारिश बिना “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक्ष रुपमा प्रवाह गरेको रु. २ लाख सम्मको कर्जाका हकमा राष्ट्रिय भवन संहिता सम्बन्धी व्यवस्था अनिवार्य हुने छैन । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिनेछ । यस्तो कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित संस्थाको विद्यमान घरकर्जा सम्बन्धी नीतिगत व्यवस्थाको अधिनमा रही ग्राहकको कर्जा तिर्न सक्ने क्षमता लगायत सुरक्षणका स्पष्ट आधार लिई कर्जा स्वीकृत तथा प्रवाह गर्नुपर्नेछ ।
जस्तापाता किन्न सात अर्ब ४१ करोड, चार अर्ब निकासा (कुन जिल्लामा कति ?)
७ जेठ । महाभूकम्पमा घर ध्वस्त भएका पीडितहरुलाई जस्तापाता खरिद गर्न सात अर्ब ४१ करोड रुपैंयाँ लाग्ने भएको छ । महाभूकम्पका कारण कुल चार लाख ९४ हजार चार सय ४३ वटा घर पूर्णरुपले ध्वस्त भएका छन् । गत शनिबार बसेको मन्त्रिपरिषद बैंठकले घर ध्वस्त भएका प्रति पीडित परिवारलाई १५ हजारका दरले जस्तापाता किन्ने रकम उपलब्ध गराउने निर्णय गरे अनुसार सात अर्ब ४१ करोड रुपैंयाँ लाग्ने देखिएको हो । गृहमन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार महाभूकम्पका कारण चार लाख ९४ हजार चार सय ३७ वटा घर ध्वस्त भएका छन् । ती पीडितहरुलाई प्रतिपरिवार १५ हजारका दरले रकम उपलब्ध गराउँदा सात अर्ब ४१ करोड ६५ लाख ५० हजार रुपैंयाँ हुन आउँछ । अन्य सरकारी निकायबाट नगद राहत नलिएका परिवारलाई जस्तापाता किन्नका लागि प्रति परिवार १५ हजार रुपैंयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको हो । सहयोग रकमको दुरुपयोग नहोस भनेर सरकारले अन्य सरकारी निकायहरुसँगको सहकार्यमा पीडितलाई परिचय पत्र उपलब्ध गराउने र सोही आधारमा गाबिस सचिवहरु मार्फत नगद उपलब्ध गराउने बताएको छ । चार अर्ब निकासा महाभूकम्पमा घरबार बिहिन भएकाहरुलाई अस्थायी पुनःवार्सका लागि जस्तापाता किन्नका लागि अर्थ मन्त्रालयले चार अर्ब रुपैंयाँ निकासा गरेको छ । मन्त्रालयले प्रधानमन्त्री उद्धार कोषबाट जस्तापाता खरिदका लागि बुधबार मात्रै चार अर्ब निकासा गरेको हो । कुन जिल्लामा कति रकम चाहिन्छ ? महाभूकम्पका कारण सबै भन्दा बढि सिन्धुपाल्चोकमा क्षति भएको छ । तीन हजार चार सय २४ जनाले ज्यान गुमाएको सिन्धुपाल्चोकमा ६३ हजार आठ सय ८५ घर ध्वस्त भएका छन् । सरकारले सिन्धुपाल्चोकका लागि ९५ करोड ८२ लाख रुपैंयाँ आवश्यक पर्नेछ । त्यस्तै, ५७ हजार नौ सय ४३ वटा घर ध्वस्त भएको नुवाकोटमा जस्तापाता खरिदका लागि ८६ करोड ९१ लाख रुपैंयाँ आवश्यक पर्नेछ । ४९ हजार नौ सय ३३ वटा ध्वस्त भएको काभ्रे जिल्लाले ७४ करोड ८९ लाख रुपैंयाँ पाउनेछ भने ४८ हजार आठ सय ८० घर ध्वस्त भएको दोलखा जिल्लाले ७३ करोड ३२ लाख प्राप्त गर्नेछ । गोरखामा ४४ हजार छ सय ५० वटा घर बनाउन जस्तापाता किन्न ६६ करोड ९७ लाख आवश्यक पर्छ । ४३ हजार सात सय ४१ वटा घर ध्वस्त भएको धादिङले जस्तापाता किन्न ६५ करोड ६१ लाख पाउनेछ । काठमाडौंमा ३६ हजार नौ सय ७३ वटा घर ध्वस्त भएका छन् । यहाँका लागि ५५ लाख ४५ हजार रुपैंयाँ आवश्यक पर्नेछ । रामेछापमा १५ हजार १२, सिन्धुलीमा १२ हजार सात सय ८४ र ओलढुङगामा १० हजार घर ध्वस्त भएका छन् । यी जिल्लाहरुमा जस्तापाता किन्न क्रमशः रामेछापले २२ करोड ५१ लाख, सिन्धुलीले १९ करोड १७ लाख र ओखलढुङगाले १५ करोड ९० लाख पाउँनेछन् । सरकारले ठुलो मात्रामा जस्तापाताको आवश्यकता पर्ने भन्दै त्यसको निकासीमा रोक लगाई सकेको छ । औद्योगीक नगरी बिराटनगरमा हुलास, आरती र आरएमसी उद्योगहरुले जस्तापाता उत्पादन गर्दै आएका छन् ।
जस्तापाता किन्न सात अर्ब ३३ करोड
३ जेठ । सरकारले महाभूकम्पमा घर ध्वस्त भएका पीडितहरुलाई जस्तापाता खरिद गर्न भन्दै सात अर्ब ३३ करोड रुपैंयाँ उपलब्ध गराउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैंठकले घर ध्वस्त भएका प्रति पीडित परिवारलाई १५ हजारका दरले सो रकम प्रदान गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार महाभूकम्पका कारण चार लाख ८८ हजार सात सय ८८ घर ध्वस्त भएका छन् । ती पीडितहरुलाई प्रतिपरिवार १५ हजारका दरले रकम उपलब्ध गराउँदा सात अर्ब ३३ करोड १८ लाख २० हजार रुपैंयाँ हुन आउँछ । अन्य सरकारी निकायबाट नगद राहत नलिएका परिवारलाई जस्तापाता किन्नका लागि प्रति परिवार १५ हजार रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको हो । सहयोग रकमको दुरुपयोग नहोस भनेर सरकारले अन्य सरकारी निकायहरुसँगको सहकार्यमा पीडितलाई परिचय पत्र उपलब्ध गराउने र सोही आधारमा गाबिस सचिवहरु मार्फत नगद उपलब्ध गराउनेछ । सरकारले ठुलो मात्रामा जस्तापाताको आवश्यकता पर्ने भन्दै त्यसको निकासीमा रोक लगाई सकेको छ । औद्योगीक नगरी बिराटनगरमा हुलास, आरती र आरएमसी उद्योगहरुले जस्तापाता उत्पादन गर्दै आएका छन् ।
प्रधानमन्त्री उद्धार कोषमा एक अर्ब ३६ करोड, एसियाली विकास बैंकले दियो ३० करोड
२९ बैशाख । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ३६ करोड ७५ लाख २३ हजार ३९ रुपैंयाँ जम्मा भएको छ । बैशाख १२ गते महाभूकम्प गएपछि बैशाख २८ गतेसम्म सो कोषमा त्यति रकम रकम जम्मा भएको हो । सोमबार कोषमा बिभिन्न १९ वटा संघ संस्थाहरुले सहयोग रकम जम्मा गरेका हुन् । आइतबारसम्म ९७ करोड ६७ लाख ५३ लाख ७५ हजार रुपैंयाँ मात्रै रहेको कोषमा सोमबार ३९ करोड २१ लाख ४७ हजार तीन सय ३० रुपैंयाँ थपिएको हो । यसैबिच सोमबारै एसियाली विकास बैंक, सूर्य नेपाल, एभरेस्ट बैंक र सिल्भर हेरिटेजले सहयोग रकम प्रदान गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एसियाली विकास बैकका देशीय निर्देशक केनिची योकोयामाले बैंकका तर्फबाट दिइएको ३० लाख डलर(३० करोड रुपैंयाँ) सहयोग प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएका नेपालीलाई सहयोग गरेकामा बैंकलाई धन्यवाद दिएका थिए । नेपालका लागि एडिबीका आवासीय राष्ट्रिय प्रतिनिधि योकोयामाले बैंकका अध्यक्ष ताकेहिको नाकाओले नेपालमा आएको भूकम्पमा परी मृत्युवरण गरेका नेपाली र भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति सहानुभूति र स्वजन गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको समवेदना सन्देश पनि हस्तान्तरण गरेका थिए । उनले भूकम्पको क्षतिको विवरण लिएपछिका राहत, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । सूर्य नेपालको रु १० करोड सोमबारै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सूर्य नेपालले १० करोड प्रदान गरेका छ । कम्पनीका कार्यकारी अधिकृत रवि केसीले १० करोडको चेक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन। एभरेस्ट बैंकले पनि दियो ५० लाख त्यस्तै, एभरेस्ट बैंकले राहत कोषमा ५० लाख प्रदान गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलगायतले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् । त्यसैगरि, कोषमा सिल्भर हेरिटेज प्रालिले प्रधानमन्त्री राहत कोषमा २२ लाख प्रदान गरेको छ । कम्पनीका ह्युह होल्मले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अपेक्षाकृत रकम जम्मा हुन नसकेकोमा सरकारको आलोचना भैरहँदा महाभूकम्पको १६ दिनसम्ममा एक अर्ब ३६ करोड रुपैंयाँ जम्मा भएको हो । क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि १० खर्ब रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले दुई खर्बको पुनःनिर्माण कोष खडा गर्ने घोषणा गरिसकेको छ ।
भूकम्प पीडितलाई घर बनाउन २ लाख अनुदान, २ प्रतिशत व्याजमा थप कर्जा
सम्माननीय सभामुख महोदय, २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा अकल्पनीय विनास निम्त्याएको छ । इण्डोनेशियाको जाकर्ता र बाङ्गडुङ्गमा सम्पन्न एशियाली–अफ्रिकी सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी फर्कने क्रममा भूकम्पले गरेको विनासको जानकारी पाउने बित्तिकै मलाई देश र जनताको चिन्ताले विह्वल बनायो । देशको स्वास्थ्यका अगाडि मेरो व्यक्तिगत स्वास्थ्य गौण थियो । तत्कालै मैले आफ्नो स्वास्थ्य परीक्षण सहित सम्पूर्ण कार्यक्रमहरू रद्द गरी स्वदेश फर्कने निर्णय लिए । वैशाख १३ गते ६.९ रेक्टर स्केलको अर्को विनाशकारी भूकम्प आउँदा म स्वदेश फर्किएर काममा लागिसकेको थिए । त्यसपछि निरन्तर सयौंको सङ्ख्यामा आएका भूकम्पका भययुक्त धक्का र तिनले ल्याएकोे विपत्तिको पीडा भोग्न हामी सबै विवश छौँ । भूकम्पका साना धक्का आउने क्रम आजसम्म रोकिएको छैन सभामुख महोदय, यो भूकम्पले देशका १४ वटा जिल्लामा गम्भीर र व्यापक रूपमा तथा अन्य जिल्लामा समेत जनधन, घर र महत्वपूर्ण भौतिक संरचनाहरूको अपूरणीय क्षति पु¥याएको छ । भूकम्पले सिर्जना गरेको यो राष्ट्रिय विपत्तिको सामना सिंङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर आपसी सहकार्य, सहमति र मेलमिलापका माध्यमबाट गर्न सकिन्छ भन्ने विश्वासले सत्तापक्ष र प्रतिपक्षमा रहेका सबै दलहरूसंगको परामर्शमा सरकारले यो व्यवस्थापिका–संसद्को आकस्मिक अधिवेशन बोलाउने निर्णय गरेको हो । सरकार र संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकजुट भई साझा संकल्प पारित गर्न आज हामी व्यवस्थापिका–संसद्को यो अधिवेशनमा उपस्थित भएका छौ । यो अधिवेशनमा सर्वप्रथम भूकम्पमा परी जीवन गुमाउनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । यसका साथै सम्पूर्ण शोक सन्तप्त परिवारलाई हार्दिक समवेदना प्रकट गर्दछु । ठूलो सङ्ख्यामा घाइते हुनुभएका दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु । जस्तोसुकै विपद् आइपर्दा पनि धैर्य र साहसका साथ एक भएर विपद् सामना गर्न सक्ने नेपाली शक्तिलाई यसै घडीदेखि एकत्रित गर्दै अझ सुदृढ बनाएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछु । विपद्को यस समयमा हामीबीच देखिएको उच्चस्तरको समझदारी र एकताले आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलाप नै नेपाली राजनीतिको मूल चरित्र बन्दै गएको यथार्थलाई पुष्टि गरेको छ । सभामुख महोदय, यो सार्वभौम संसद्बाट हामी समस्त नेपालीलाई एकताबद्ध भई राहत ,पुनस्थापना र नवनिर्माणको अभियानमा लाग्न आह्वान गर्दछौं । भूकम्प पीडित नेपाली जनताको लागि खाद्यान्न,त्रिपाल,लत्ताकपडा,औषधी जस्ता अत्यावश्यक राहत सामग्रीको खाँचो छ । क्षतिग्रस्त घर पुनर्निर्माण तथा भत्किएका सडक, पुल, विद्युत, सञ्चार, विद्यालय ,अस्पताल , खानेपानी सहित सबै पूर्वाधारका संरचना र नेपालका ऐतिहासिक, धार्मिक, पुरातात्विक र सांस्कृतिक सम्पदाहरूको शीघ्र पुनर्निमार्णको आवश्यकता छ । यसका लागि उदार हृदयले सहयोग गर्न समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ, संघ–संस्था, हाम्रा सबै मित्र राष्ट्र ,अन्तराष्ट्रिय दातृ संस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई समेत यो सार्वभौम र एकताबद्ध संसद्का माध्यमबाट आह्वान गर्दछु । यसका साथै प्रवासमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आफ्नो जन्मभूमिलाई यस विपद्बाट मुक्त गर्न संसारभरी फैलिएका नेपालका मित्र र शुभेच्छुक संस्थाहरूको सहयोग जुटाउन अपिल गर्दछु । सभामुख महोदय, भूकम्पका कारण मुलुकको ठूलो भूभाग संकटग्रस्त भएको यस घडीमा नेपाल सरकार राहत, पुनःस्थापना र पुनर्निर्माणका सबै कार्यक्रमलाई विभेदरहित र प्रभावकारी बनाउने अठोट व्यक्त गर्दछ । यस प्रयोजनका लागि सर्वदलीय सहभागिताको तीन तहगत संरचना यो सम्मानित सदनमा प्रस्तुत गर्न चाहन्छु ः ड्ड पहिलो, केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू सहितको सर्वदलीय सहयोग एवं अनुगमन समितिको गठन नेपाल सरकारले गरिसकेको छ । ड्ड दोस्रो, जिल्ला स्तरीय एवं गाउँ÷नगर स्तरीय दैवी प्रकोप राहत एवं उद्धार समितिका संयोजकले सर्वदलीय संयन्त्रको माध्यमबाट राहत उद्धार र पुनस्र्थापना कार्यक्रममा सर्वदलीय सहभागिता सुनिश्चित गर्ने छन । ड्ड तेस्रो संरचनाको रूपमा यस सम्मानित सदनले राहत उद्धार र पुनस्र्थापनाको कार्यक्रमलाई अनुगमन गर्न एउटा सर्वदलीय अनुगमन समिति बनाओस् भन्ने प्रस्ताव गर्न चाहन्छु । सभामुख महोदय, भूकम्प आएको केही समय पछि नै माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आह्वानमा यसका सम्पूर्ण तहगत संरचना, नेपाली जनता,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल र सामाजिक संघ संस्थाहरू खोजी र उद्धार कार्यमा संलग्न भए । खोजी र उद्धार कार्यका निमित्त अन्तराष्ट्रिय सहयोग टोली परिचालित भए । हालसम्म खोजी, उद्धार र राहत कार्यमा दिन–रात केही नभनी आफ्नो घर परिवार गौण संझेर देश र जनतामा समर्पित हुँदै प्रशंसनीय र उदाहरणीय सेवा गर्ने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । महाविपत्तिको यस घडीमा उद्धार र राहतमा प्रशंसनीय काम गर्ने निजामती कर्मचारी, नेपाली सेना,सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकहरूलाई सरकारले उचित ढंगले पुरस्कृत गर्नेछ । अहिलेसम्मको प्राप्त विवरणलाई हेर्दा भूकम्पमा परी ७ हजार ८ सय ८५ जना स्वदेशी र विदेशी नागरिकहरूको अमूल्य जीवन गुमेको छ । १५ हजार ९ सय ४४व्यक्ति घाइते भएका छन । अहिले पनि ६ हजार ८६ जना घाइतेहरू अस्पताल र स्वास्थ्यकेन्द्रमा उपचार गराइरहेका छन । हालसम्मको सूचना अनुसार झण्डै २ लाख ८९ हजार ९ सय ९५ घरहरू पूर्ण रूपमा क्षतिग्रस्त छन र झण्डै २ लाख ५१ हजार ८ सय ७२ घरहरू आंशिक रूपमा भत्केका छन । थुप्रै स्थानमा बाटो, पुल, विद्युत, सञ्चार,खानेपानी,अस्पताल,विद्यालय, कलेज, धार्मिक,सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाका साथै रंगशाला,कभर्ड हल जस्ता खेल संरचना र सरकारी कार्यालयहरूका संरचना ध्वस्त भएका छन् । सभामुख महोदय, भूकम्पले पु¥याएको जनधनको क्षति, हामीले प्रारम्भ गरेको राहत र उद्धारका प्रयासहरू, उद्धार र राहत कार्यमा जुटेका स्वदेशी तथा विदेशी जनशक्ति, विपद् व्यवस्थापनका संरचनाहरूले गरेका कामको विस्तृत विवरण माननीय उपप्रधान एवम् गृहमन्त्रीले सम्मानित सदनसमक्ष प्रस्तुत गर्नुहुनेछ । सभामुख महोदय, विनासको यो भयङ्कर त्रासदी र पीडालाई मैले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका दिदीबहिनी र दाजुभाइहरूसंग भेटेर अनुभव गरे । पानी र भोजन व्यवस्थित भैनसकेको बेला शिविरहरूमा स्थलगत निरीक्षण गरेर अनुभव गरे । भूकम्पले ध्वस्त भएका गोरखाको वारपाक र लाप्राक जस्ता ऐतिहासिक गाँउहरूमा जनताको दुःख र पीडा देखे । जीवन र जीविकाले गतिशील सिन्धुपाल्चोक जिल्लाको चौतारा र लिस्तीकोटमा भूकम्पको विनास लिलापछि उत्पन्न व्यापक छटपटी देखे । धादिङ्गको दुर्गम गाँउ लापादेखि सदरमुकामसम्म, नुवाकोटको विदुर होस वा भाल्चे, रसुवाको धुञ्चेदेखि क्षतिग्रस्त भएको लाङ्टाङ्को स्थलगत अवलोकन भ्रमणमा मैले देखेको ग्रामीण जीवनको क्षति र जनताको दुःख वर्णन गर्न नसकिने हृदय विदारक छ । भूकम्पले घाइते बनाएको आफ्नो देश र जनताको पीडा देख्दा हामी सबैको मन रुन्छ । यस बीचमा सत्तापक्ष र प्रतिपक्षका नेताले कतिपय जिल्लाको संगै स्थलगत निरीक्षण गरेर जनताको दुःख र पीडालाई एकसाथ अनुभव गरेका छांै । सभामुख महोदय, भूकम्प पछिको पहिलो राष्ट्रिय दायित्व भग्नावशेष र पहिरो आदिमा पुरिएका व्यक्तिहरूको खोजी र उद्धार गर्नु हो । यस प्रयोजनको लागि सरकारले तत्काल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल संगै निजामती कर्मचारी, स्थानीय प्रशासन र स्थानीय निकाय तथा विपद् व्यवस्थापनको जिम्मेवारी पाएका सबै व्यक्ति र संस्थालाई परिचालन गर्नुका साथै अन्तराष्ट्रिय सहयोगको आह्वान ग¥यो । सरकारको आह्वान अनुरूप राष्ट्रिय र झण्डै दुइ दर्जन बढी अन्तराष्ट्रिय संस्थाहरू खोजी र उद्धार कार्यमा क्रियाशील भए । अहिले खोजी र उद्धारका चरणमा संलग्न अन्तर्राष्ट्रिय टोली प्रचलन अनुरूप फर्कने प्रक्रियामा छन् । सरकार र जनताका तर्फबाट उद्धार कार्यमा संलग्न भएका सबै अन्तराष्ट्रिय टोलीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । हाम्रा राष्ट्रिय टोली भने निरन्तर यस अभियानमा सक्रिय रहनेछन् । उनीहरूलाई साधन र स्रोत सम्पन्न बनाउन सरकार कटिबद्ध छ । सभामुख महोदय, आफ्ना स्वजन गुमाएका परिवारलाई नेपाल सरकारले तात्कालिन राहत स्वरूप मृतकहरूको अन्तिम संस्कार गर्न प्रति मृतक ४० हजार रुपैया दिने निर्णय गरेको छ । र यो रकम वितरण भैरहेको छ । यसका साथै मृतकका परिवारलाई प्रति परिवार राहत स्वरूप १ लाख रुपैया सहयोग उपलब्ध गराउने निर्णय भएको छ । भूकम्पका सबै घाईतेहरूलाई सरकारी र गैर सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने नेपाल सरकारको निर्णय अनुरूप उपचारको व्यवस्था भैरहेको छ । सरकारी एवं गैरसरकारी निकायहरूबाट भूकम्प पीडित प्रत्येक परिवारसम्म पुग्ने गरी त्रिपाल÷जस्तापाता ÷खाद्यान्न÷लत्ताकपडा÷ औषधी÷नून ÷पानी÷भाँडाकुँडाको एकीकृत राहत वितरण प्रक्रियाले विस्तारै गति लिदै गएकोे छ । स्थानीय निकायलाई प्रभावकारी रूपमा परिचालन गरी यो प्रक्रियालाई अझ तीव्र बनाइने छ । अहिले भूकम्प प्रभावित भनी घोषणा गरिएका १४ जिल्ला बाहेक भूकम्पले अन्य थुप्रै जिल्लामा क्षति पुगेको छ । यी सबै जिल्लाको हकमा पनि राहत र पुनःस्थापना सुविधा एकैनासले वितरण गरिने छ । सभामुख महोदय, ग्रामीण र शहरी क्षेत्रमा भत्किएका घर र संरचनाहरूको भग्नावशेषहरूको व्यवस्थापन थालिएको छ । पहिरोले अवरुद्ध सडकहरू खोल्ने कार्य तदारुकतासाथ भैरहेको छ । दुर्गम क्षेत्रमा भत्किएका गोरेटो र घोडेटोको पुनर्निर्माणलाई समेत सरकारले प्राथमिकता दिनेछ । भूकम्पको विनासपछि कुनै पनि किसिमको रोगव्याधि फैलन नदिन आवश्यक जनस्वास्थ्य सेवा, सरसफाईको बन्दोबस्त तयारी अवस्थामा छन । पानी र खाद्य सामग्रीको उपभोग गर्दा सतर्कता अपनाउन सचेतना कार्यक्रम तीव्र बनाइएको छ । भग्नावशेषमा पुरिएर मरेका पशुपंछीको स्थानीय तहमा नै सुरक्षित व्यवस्थापन गरिने छ । सभामुख महोदय, भूकम्प पछि सिर्जना भएको अस्तव्यस्तताको मौका छोपी पसल बन्द राखी जम्माखोरी र कालोबजारी गर्नेलाई कारबाही गरिएको छ । त्यस्तो कारबाही निरन्तर जारी रहनेछ । यसका लागि बजारको निरन्तर अनुगमन कार्यलाई सरकारले प्रभावकारी बनाउने छ । भूकम्प प्रभावित क्षेत्रहरूका खाद्यान्न र अत्यावश्यक बस्तुहरूको आपूर्ति सुनिश्चित गर्न सुपथ मूल्यका पसल खोल्ने र सहकारी संस्थाहरूलाई समेत यस कार्यमा परिचालन गरिने छ । चोरी लुटपाट र हिंसात्मक क्रियाकलापलाई कडाईका साथ नियन्त्रण गरी जनतालाई यस्तो विपद्को बेलामा सुरक्षाको प्रत्याभूति गर्न विशेष सुरक्षा व्यवस्था लागू गरिने छ । यो महाविपत्तिको बेलामा कुनै पनि किसिमको अफवाह,अराजकता र सामाजिक विद्वेष फैलाउने व्यक्ति र प्रवृत्तिलाई सरकारले कडाइका साथ कारबाही गर्नेछ । राहत सामग्रीे र रकमको दुरूपयोग गरी पीडित जनतासमक्ष पुग्न नदिने, पक्षपात र हिनामिना गर्ने जो कोहीलाई पनि सरकारले तत्काल दण्डित गर्नेछ । सभामुख महोदय, भूकम्पग्रस्त जिल्लाका अभिभावक गुमाएका र आश्रय विहिन बालबालिकाको लागि आश्रय र निःशुल्क शिक्षाको व्यवस्था राज्यले गर्ने घोषणा यस सम्मानित सदनमा गर्न चाहन्छु । सभामुख महोदय, भूकम्पबाट घाईते भई उपचाररत् व्यक्तिहरू, परिवारका सदस्य गुमाई आश्रयहीन बनेका वृद्ध, बालबालिका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा र सरसफाईको उचित प्रबन्ध गरिनेछ । आफ्नो घरमा सुरक्षित रूपमा बस्न सक्ने परिस्थिति नभएका र यस्तो जोखिममा रहेका भूकम्प पिडितहरूलाई आवश्यकता अनुरूप सुविधा सहित जिल्लाका सुरक्षित स्थानहरूमा अस्थायी शिविरमा राख्ने प्रबन्ध गरिनेछ । आफ्नो घर मर्मत संभार गरी घरमा बस्न चाहनेहरूलाई सरकारले तत्कालका लागि प्रति परिवार रु. २५ हजार अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । वर्षे बालीका लागि भूकम्प पीडित क्षेत्रका किसानहरूलाई सरकारले बीउ–बीजन निशुल्क उपलब्ध गराउने तथा मलखाद सहुलियतपूर्ण ढंगले उपलब्ध गराउने छ । भूकम्प पीडित र मध्यपश्चिमको बाढीग्रस्त क्षेत्रमा मालपोत मिनाहा गरी राहत दिइने छ । ऋणको सीमा र ऋणीको आर्थिक अवस्था हेरी भूकम्पबाट पीडित क्षेत्रका बैंकका ऋणीहरूको ब्याज र ऋणमा तत्काल राहत दिई भुक्तानीको तालिकामा समेत पुनरसंरचना गरिने छ । ऋणीको आर्थिक अवस्था र क्षति हेरी भूकम्पग्रस्त क्षेत्रका ऋणीको रु ५० हजारसम्मको साँबा र ब्याज मिनाहा गरिने छ । यसका साथै भूकम्प पीडित परिवारका विदेशमा रहेका सदस्यले नेपाल फर्कन चाहेमा सम्बन्धित दूतावासले आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइने छ । सभामुख महोदय, विद्यालय, अस्पताल र स्वास्थ्य केन्द्रहरूको संरचना क्षतिग्रस्त भएपनि अस्थायी बन्दोबस्त गरी विद्यालय र अस्पताल लगायतका सेवालाई यथाशीघ्र सञ्चालनमा ल्याइने छ । सरकारले समग्र राहत कार्यक्रम र खर्चको पारदर्शिता हुने गरी विवरण सार्वजनिक गर्ने पद्धति अबलम्बन गर्नेछ । सभामुख महोदय, विपद्को यस घडीमा सरकारले राज्यका सबै अङ्गमा मितब्ययितालाई कडाइका साथ पालना गर्नेछ । अत्यावश्यक काममा बाहेक मन्त्री एवं सरकारी अधिकारीहरूको विदेश भ्रमण नियन्त्रित गरिने छ । भूकम्पग्रस्त क्षेत्रमा राहत र पुनस्थापनको कार्यलाई तीव्रता प्रदान गर्न प्राविधिक सहित निजामती र सुरक्षाकर्मीको टोली गाउँ तहसम्म परिचालित हुनेछन । सभामुख महोदय राहत वितरण गर्ने कामलाई अघि बढाउदै गर्दा सरकारले स्थानीय प्रशासन र जिल्ला विकास समिति,नगरपालिका एवं गाउँ विकास समितिहरूलाई परिचालन गरी भूकम्पबाट भएको धनजनको यथार्थ विवरण संकलन र अद्यावधिक गर्ने कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेछ । यस प्रयोजनका लागि गैरसरकारी संस्थाहरूले संकलन गरेका सूचना र तथ्याङ्कहरूलाई समेत लिएर यथार्थपरक विवरण संकलन गरिनेछ । सभामुख महोदय, हामी बर्षायामको मुखमा छौ । बर्षायाममा आउन सक्ने विपद् सामना गर्न सक्ने गरी भूकम्पले क्षतिग्रस्त जिल्लाहरूमा आवश्यक तयारी गरिनेछ । यस प्रयोजनका लागि खाद्यान्न, आश्रयका साधन र अत्यावश्यक बस्तुहरूको भण्डारण र आपूर्तिका साथै नेपाली सेनाको हवाई सेवा क्षमता र विपद् व्यवस्थापनको क्षेत्रमा हाम्रा सुरक्षा निकाय र संरचनाहरूलाई समेत तयारी हालतमा राखिने छ । सभामुख महोदय, विनासकारी भूकम्प पछि हाम्रो देश अहिले सामान्य अवस्थामा छैन । विपत्तिको यो असामान्य अवस्थामा विपत्तिसंग लड्ने उपाय हिजो अस्तिकै जस्तो सामान्य हुन सक्दैन । नयाँ जोश, हौसला र संकल्पबाट मात्रै यो विपत्तिबाट पार पाउन सकिन्छ । म यो सम्मानित सदनमा उभिएर सिङ्गो देशलाई आह्वान गर्न चाहन्छु , हामी सबैले दिनरात केही नभनी नयाँ ढंगबाट काम गर्ने र राष्ट्र पुनर्निर्माणको लागि एक एक पैसा र एक एक मिनेटको सदुपयोग गर्ने बेला आएको छ । हजारौं नेपालीको मृत्यु, हजारौं जनता घाइते र खर्बौको राष्ट्रिय सम्पदा नष्ट भएको यस्तो बेलामा हामी परम्परागत सोंच र काम गर्ने शैलीको बन्दी हुन सक्दैनौ । भूकम्पको पीडालाई अब ऊर्जामा परिणत गरी यो विपत्तिलाई पनि परिवर्तन र नवनिर्माणको अवसरको रूपमा उपयोग गरी काम गरौं भन्ने आग्रह गर्दछु । सभामुख महोदय, उद्धार र राहतको चरण पार गरेपश्चात हाम्रो ध्यान पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित हुनेछ । त्यसका लागि राष्ट्रिय योजना आयोगको संयोजनमा विस्तृत कार्यक्रम तयार पारिनेछ । भूकम्पमा परी घरबार विहिन भएका हजारौं व्यक्ति÷परिवार र गाउँका लागि सुरक्षित बस्ती निर्माण कार्यलाई छोटो अवधि मै योजनाबद्ध तबरले पूरा गर्ने गम्भीर चुनौति हाम्रा सामु छ । त्यसैले सरकारले व्यवस्थित ढंगले भू–उपयोग नीति एवम् भवन संहिता पुनरावलोकन गरीे कडाइका साथ कार्यान्वयन गर्दै घरबार विहिन भएका परिवारका लागि सुरक्षित आवास तथा बस्ती विकास कार्यक्रमलाई प्राथमिकताका साथ तत्काल अघि बढाउने छ । भूकम्पबाट ध्वस्त भएका र छरिएर रहेका ग्रामीण बस्तीलाई व्यवस्थित र सुरक्षित आवास तथा वस्ती विकास कार्यक्रम मार्फत शिक्षा,स्वास्थ्य,सरकारी सेवा कार्र्यालय र यातायात लगायतका पूर्वाधार विकासको एकीकृत योजना तर्जुमा गरी शहरी र ग्रामीण जनजीवन बीचको अन्तर कम गरिनेछ । ग्रामीण र सहरी दुवै क्षेत्रमा पूर्ण रूपमा ध्वस्त भएका घरहरूको यथार्थ तथ्याङ्क लिइनेछ । र सरकारले तोकेको निश्चित मापदण्डको आधारमा आफैले घर निर्माण गर्न चाहनेहरूका लागि कार्यविधिको आधारमा सरकारले रु २ लाख सम्मको सहायता व्यवस्था गर्नेछ । सभामुख महोदय, क्षतिग्रस्त घर पुनर्निर्माण गर्न चाहने पीडित परिवारले ऋण लिन चाहेमा २ प्रतिशतको सहुलियत व्याजदरमा उपत्यकाभित्र २५ लाख रुपैयासम्म र उपत्यका बाहिर १५ लाख रुपैया सम्म भूकम्प पीडित विशेष घरकर्जा उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंक मार्फत मिलाइएको छ । भूकम्पले भत्किएका कलकारखाना, व्यावसायिक भवन आदि पुनर्निर्माण गर्न चाहने व्यक्ति वा संस्थाहरूलाई स्वीकृत कार्यविधि अनुरूप निश्चित सीमासम्मको ऋण लिंदा सहुलियत ब्याजदरमा भूकम्प पुनर्निर्माण कर्जा सुविधा उपलब्ध गराइने छ । यो विपत्तिबाट देशलाई मुक्त गर्ने महाअभियानमा देशभित्र र बाहिर रहेका सबै नेपालीले योगदान गर्न सकून भनेर सरकारले एक राष्ट्रिय पुनर्निर्माण ऋणपत्र जारी गर्नेछ । जनता कै श्रम र पसिनाले आर्जेको स–सानो रकमबाट जम्मा हुने यो पूँजी नेपाली जनताको ऐक्यबद्धताको प्रतीक र राष्ट्र पुनर्निर्माणको लागि प्रमुख आधारशीला बन्नेछ । सभामुख महोदय, भत्किएका स्कूल, स्वास्थ्य संस्था, खानेपानी, सिंचाई, विद्युत,ऊर्जा लगायतका क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ आगामी २ बर्षभित्र पुनर्निर्माण गरिनेछ । यसै गरी आगामी २ वर्ष भित्र सम्पूर्ण क्षतिग्रस्त सरकारी कार्यालयहरूको पुनर्निर्माण सम्पन्न गरिनेछ । अबरुद्ध र क्षतिग्रस्त बाटो, पुल, पुलेसा तत्काल पुनर्निर्माण गरी यातायात एवम् ढुवानी सेवा अबिलम्ब व्यवस्थित गर्दै लगिनेछ । भूकम्पबाट भत्किएका ऐतिहासिक,धार्मिक,पुरातात्विक र सांस्कृतिक सम्पदाको मौलिकताको संरक्षणको गरी बढीमा ५ वर्षभित्र पुनर्निर्माण गरी सक्ने हामी सबैको साझा संकल्प र प्रतिबद्धता यस सम्मानित सदनमा व्यक्त गर्दछु । यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय पुरातात्विक र सांस्कृतिक सम्पदा विज्ञहरूबाट सहयोग र सुझावका लागि आह्वान गर्दछु । सभामुख महोदय, सरकारले अबिलम्ब भूकम्प पीडित व्यक्ति र परिवारको पहिचान हुने गरी परिचय–पत्र वितरण गर्नेछ तथा भूकम्प पीडित परिवारका सदस्यहरूलाई रोजगारीमा प्राथमिकता दिनेगरी भूकम्पग्रस्त क्षेत्रमा पुनर्निर्माणको कार्य थालिने छ । पुनर्निर्माणको कामलाई गति प्रदान गर्न तत्काल पहिलो चरणमा सरकारले रु.२०० अर्बको राष्ट्रिय पुनर्निर्माण कोषको स्थापना गर्ने निर्णय गरेको छ । प्राप्त प्रारम्भिक तथ्याङ्कले कोषको यो रकम सीमा अपर्याप्त हुने र खर्बौ रकम आवश्यक हुने देखिन्छ । त्यसैले भूकम्पबाट पुगेको क्षतिको यथार्थ विवरण आएपछि तथा पुनस्र्थापना र पुनर्निर्माणको वास्तविक आवश्यकता अद्यावधिक भएपछि कोषको सीमा आवश्यकता अनुसार बढाइने छ । राष्ट्रिय पुनर्निर्माण कोषमा अन्तराष्ट्रिय सहयोग जुटाउनका लागि नेपाल सरकारले अबिलम्ब एक अन्तराष्ट्रिय दातृ सम्मेलनको आयोजना गर्नेछ । प्रभावकारी रूपमा बाह्य सहयोग जुटाउनका लागि विदेशस्थित नेपालका सबै कुटनीतिक नियोगहरूलाई निर्देशन दिइएको छ सभामुख महोदय, हाललाई नेपाल सरकारले यस कोषमा रु. २० अर्ब राख्ने निर्णय गरेको छ । यस कोषमा सहयोग गर्न सबै नेपाली नागरिक र संघ संस्था, अन्तर्राष्ट्रिय दातृ निकाय, मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्था र नेपालका मित्रहरूलाई म हार्दिक आव्हान गर्दछु । विपद्को यस घडीमा सरकारले निर्धारण गरेको राष्ट्रिय प्राथमिकता र संरचनासंग आबद्ध हुने गरी मित्र राष्ट्र तथा दातृ संस्थाहरूको सहयोगलाई समन्वय र परिचालन गर्न सबै दातृ निकायको ध्यानाकर्षण गराउँछु । सभामुख महोदय, विपद् व्यवस्थापन प्रतिकार्य एवम् पुनर्निर्माणलाई निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्षसँगको परामर्शमा एउटा उपयुक्त संरचना बनाइने छ । कुनै गाउँ बस्ती वा महत्वपूर्ण संरचनाको पुनर्निर्माण गर्न चाहने व्यक्ति वा संस्थालाई नेपाल सरकारले तोकेको कार्यविधि अनुसार पुनर्निर्माणको अभियानमा संलग्न हुन म यस सम्मानित सदनबाट हार्दिक आह्वान गर्दछु । सभामुख महोदय, यसै आर्थिक बर्षमा मध्यपश्चिमाञ्चलका बाँके,बर्दिया,सुर्खेत र दाङ्ग र मध्यमाञ्चलको सिन्धुपाल्चोकका सयौं नागरिकले जीवन गुमाए र हजारौं घर–परिवार विनासकारी पहिरो र बाढीका कारण घरबार विहिन भए । सरकारले भूकम्प प्रभावित जिल्लाका लागि घोषणा गरिएका सबै सुविधा,आर्थिक अनुदान र राहत बाढीग्रस्त जिल्लामा पनि प्रदान गर्नेछ । सरकारले आर्थिक वर्ष २०७१।७२ को बजेटलाई विपद् कार्यमा लक्षित हुनेगरी पुनर्संरचना गर्नेछ । आगामी आर्थिक वर्षको बजेटलाई समेत भूकम्प पीडित क्षेत्र, यसै वर्ष मध्यपश्चिमाञ्चल लगायत मुलुकका बाढीपहिरो पीडित जिल्लाहरूका पुनःस्थापना कार्य र आगलागी तथा स्वाइनफ्लुले प्रभावित जिल्लाहरूको आवश्यकताले प्राथमिकता पाउने गरी लक्षित गरिनेछ । राष्ट्रिय योजना आयोगले यस दिशामा काम थालिसकेको छ । सभामुख महोदय, राजनीतिक पार्टी र यसका कार्यकर्ता पङ्तिको विशाल शक्तिलाई यो विपद्को घडीमा निष्ठाका साथ क्रियाशील गर्ने बेला आएको छ । लाखौंको संख्यामा र गाउँ गाउँमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्ता साथीहरूलाई सरकार र प्रतिपक्षमा रहेका हामी सबै राजनीतिक दलहरू यो सम्मानित सदनबाट भूकम्प ग्रस्त क्षेत्रमा राहत तथा पुनर्निर्माणको कार्यमा परिचालित हुन संयुक्त रूपमा आव्हान गर्दछौं । यसका साथै म सबै सामाजिक संघ संस्था तथा विभिन्न पेशाका नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र विशेष गरी युवाशक्तिलाई यो विपद्को घडीमा राष्ट्रिय विपद् एवम् पुनर्निर्माण स्वयंसेवक भएर काम गर्न समेत आव्हान गर्दछु । सभामुख महोदय, भुकम्प जस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहने सजगताको प्रतीकको रूपमा भूकम्पमा मृत्यु भएकाहरूको सम्झनालाई चीर स्थायी राख्न मृतकहरूको अभिलेख रहने गरी एक श्रद्धाञ्जली स्थल सहितको भूकम्प स्मृति स्तम्भ निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्दछु । यो विनासकारी भूकम्पपछि स्वतस्फूर्त ढंगले उद्धार र राहतका कार्यमा जुटेका लाखौं नेपाली नागरिक,टोल टोलका सामाजिक संघ÷संस्थाहरू, छर–छिमेकी र आफन्तहरू तथा अहोरात्र खटिएका नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली सञ्चारकर्मी मित्रहरू तथा विभिन्न पेशागत संगठनका साथीहरूलाई यस सम्मानित सदनबाट धन्यबाद दिन चाहन्छु । नेपालका स्वास्थ्यकर्मीहरूद्वारा यो विपद्को घडीमा गरिएको अतुलनीय सेवा र योगदानको म हृदयदेखि प्रशंसा गर्न चाहन्छु । हाम्रो विपदामा सहयोग गर्न विदेशबाट उद्धार र राहतका लागि आएका मेडिकल टिम, उद्धारकर्मी, सामाजिक संघ संस्था,पत्रकार र गैरसरकारी संस्थाहरूको सहयोगका निम्ति हार्दिक धन्यवाद दिन चाहान्छु । कर्तब्यपालनका सिलसिलामा कतिपय निजामती कर्मचारी, शिक्षक,नेपाली सेना र सुरक्षा निकायमा कार्यरत राष्ट्र सेवकहरूले जीवन गुमाउनु भएको छ , उहाँहरूको कर्तव्य परायणता र योगदान सधै हाम्रो संझनामा रहनेछ । विदेशमा बसेका नेपालीहरूले आफ्नो जन्मभूमिप्रति देखाउनुभएको कर्तब्यबोधको उच्च प्रशंसा गर्दछु । यो राष्ट्रिय विपदामा भूकम्प पीडितहरूका लागि आर्थिक,भौतिक सहयोग र प्रार्थना गर्ने तथा समवेदना दिने देश र विदेशका सबै दाता, उद्यमी, व्यवसायी, धार्मिक संस्था र नेपालका शुभेच्छुक मित्रहरूलाई म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । सभामुख महोदय, यतिखेर हामी कोही पनि पक्ष र विपक्षमा विभाजित छैनौं । आज सिंङ्गो देश र सम्पूर्ण नेपालीहरू केवल भूकम्पबाट पीडित पक्ष बनेका छौ. । एक साथ यो विपद्लाई सामना गर्ने राष्ट्रको प्रतिनिधि शक्ति बनेका छौ । म सबैको साथ र सहयोग लिएर विश्वास पूर्वक यो घोषणा गर्न सक्छु – भूकम्पग्रस्त क्षेत्रमा कुनै पनि नेपाली घरबार विहिन हुने छैनन् । कुनै पनि नेपालीलाई खाद्यान्नको अभाव र कुपोषणको शिकार हुन दिने छैनौ । आश्रय गुमाएका प्रत्येक असहाय नागरिकलाई आश्रयको सुरक्षा र बालबालिकाको शिक्षाको बन्दोबस्त गर्छाै । हाम्रो लोकतान्त्रिक संरचनाले सिर्जना गरेको राष्ट्रिय शक्ति परिचालनको असंख्य संभावनाबाट हामी यो राष्ट्रिय प्रतिबद्धता पूरा गर्नेछौ । आज हामी सबै राजनीतिक दलहरू यो संकटलाई नयाँ शक्तिको स्रोतमा बदल्ने साझा संकल्प गर्दै आपसी संवाद,सहकार्य, एकता र मेलमिलापका माध्यमबाट नेपाललाई समृद्धिको बाटोमा लैजाने वाचा गर्दछौं । सभामुख महोदय, यो महाविपत्तिसंग लडिरहेको बेलामा नै हामीले संविधान निर्माण गर्ने जिम्मेवारी पनि अब चाँडै पूरा गर्नुपर्छ । विपत्ति पछि राष्ट्रिय पुनर्निर्माणको बाटोमा अघि बढ्न संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान सबैभन्दा बलियो आधार हुनेछ । धन्यवाद ! जय नेपाल !
आइएमई र ग्लोबल आइएमईले प्रधानमन्त्रीलाई बुझाए दुई करोड ५० लाख
२५ वैशाख । आइएमई र ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई करोड ५० लाख प्रदान गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालालाई आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गरेका हुन् । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भएको क्षतिको उद्धारका साथै पीडितलाई सहायता उपलब्ध गराउन र पुनःनिर्माणका लागि सो रकम उपलब्ध गराइएको आइएमईले जनाएको छ । भूकम्पपीडितका लागि आइएमई लि र ग्लोबल आइएमई बैंकले यसअघि पनि सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप, रसुवा, ललितपुर, काठमाडौँ र मकवानपुरमा खाद्यान्नलगायत राहत सामग्री पनि वितरण गरिसकेका छन् । रासस
भुकम्पमा क्षति भएका घर बनाउन २ प्रतिशत ब्याजमै कर्जा, राष्ट्र बैंकले दिन सक्ला त ८ खर्ब ?
विकासन्युज/काठमाडौं २४ बैशाख । विनासकारी भुकम्पमा परी क्षति पुगेको घर पुननिर्माणको लागि २ प्रतिशत ब्याजमै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले यति सस्तो ब्याजमा कर्जा पाइने ब्यवस्था मिलाएको हो । विनासकारी भुकम्पको कारण क्षति भएका घर पुननिर्माण गर्नको लागि काठमाडौं उपत्यकामा २५ लाख र अन्य क्षेत्रमा १५ लाख रुपैयाँसम्म २ प्रतिशत ब्याजमा कर्जा पाइने भएको हो । यस्तो रकम राष्ट्र बैंकले शुन्य ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने र उनीहरुले २ प्रतिशत प्रसाशनिक खर्च राखेर सर्वसाधारणलाई उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ । गृहमन्त्रालयले दिएको विहिवार विहानसम्म दिएको तथ्यांक अनुसार बिनासकारी भुकम्पको कारण मुलकभरमा २ लाख ८८ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने २ लाख ५४ हजार घरमा आशिंक क्षति पुगेको छ । भुकम्पको कारण क्षति पुगेका घर पुननिर्माण गर्नको लागि यस्तो कर्जा पाइने राष्ट्र बैंकका प्रवक्ता डा. मिनवहादुर श्रेष्ठले जानकारी दिए । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका करिब ५० हजार घर भुकम्पको कारण क्षतिग्रस्त भएका छन् । यस्ता घर पुन निर्माण गर्नको लागि प्रतिघर २५ लाख रुपैयाँको दरले कर्जा प्रदान गर्दा पनि १ खर्ब २५ अर्ब रुपैयाँ लाग्छ । यस्तै काठमाडौं वाहिरका करिब ४ लाख ५० हजार घर क्षतिग्रस्त भएका छन् । यी सवै घरको लागि प्रतिघर १५ लाख रुपैयाँको दरले कर्जा दिदा ६ खर्ब ७५ अर्ब रुपैयाँ लाग्छ । दुबै संख्या जोड्दा भुकम्पको कारण क्षति भएका घरको पुननिर्माण गर्नको लागि मात्रै ८ खर्ब रुपैयाँ खर्च लाग्ने देखिन्छ । राष्ट्र बैंकका प्रवक्ता डा. श्रेष्ठ भने यति ठूलो मात्रामा कर्जाको माग नहुने दाबी गर्छन । बैंक वित्तीय संस्थावाट कर्जा लिएर घर बनाएका सर्वसाधारणको लागि लक्षित गरेर यस्तो कार्यक्रम ल्याइएकोले यति धेरै कर्जाको माग नहुने उनको बुझाइ छ । ‘अहिले ल्याइएको योजना ब्याज सस्तो मात्रै हो, बैंकवाट कर्जा लिने र कर्जाको किस्ता तिर्ने ब्यवस्था पहिलाको जस्तै हो,’ डा. श्रेष्ठले भने– नियमित कर्जा तिर्न सक्ने आम्दानी भएका र कर्जा लिनको लागि धितो भएका ब्यक्तिहरु मात्रै यसमा सहभागी हुन पाउने भएकोले त्यति धेरै कर्जाको माग होला भन्ने अनुमान गरेका छैनौं । सरकारले ग्रामीण क्षेत्रमा र गरिबको लागि करिब ३ लाख घर बनाएर निशुल्क दिने योजना बनाएको छ । सरकारको यस्तो योजनाले पनि कर्जाको माग कम हुने राष्ट्र बैंकको भनाइ छ । तर पनि करिब ४ देखि ५ खर्ब रुपैयाँ पुन कर्जामा जान सक्ने आकलन गरिएको छ । यति रकम नै चाहिने भएपनि राष्ट्र बैंकका विभिन्न कोषमा भएको रकम परिचालन डा. श्रेष्ठको भनाइ छ । नेपाल राष्ट्र बैंकले शुन्य ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुलाई पुनकर्जा उपलब्ध गराउने र बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत प्रशासनिक खर्च राखेर सर्वसाधारणलाई कर्जा दिने ब्यवस्था मिलाउन लागेका हुन् । यसरी कर्जा प्रदान गर्ने नीतिगत निर्णय भएपनि राष्ट्र बैंकले कार्यविधि बनाए पछि कार्यान्वयन हुने छ ।
भूकम्प पीडितका लागि एनआरएनले ३५ करोड खर्चेर हजार घर बनाईदिने
२३ बैशाख । गैर आवासिय नेपाली संघ(एनआरएन)ले महाभूकम्पमा घरबारबिहिन भएका नेपालीहरुका लागि ३५ करोड खर्चेर एक हजार घर निर्माण गरिदिने भएको छ । पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तिम चरणमा पुर्याएको एनआरएनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भूकम्प पीडितको पुनःबासका लागि वातावरण मैत्री एक हजार घर निर्माण गर्ने घोषणा गरेको हो । सरकारसँग समन्वय गरि स्थानिय कला संस्कृति र विनाश पुर्वको संरचना झल्कने गरि भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने संघका अध्यक्ष शेष घलेले बताए । कुन कुन जिल्लाका कहाँ कहाँ घर निर्माण गर्ने भन्नेबारे भने विस्तृत अध्ययन बाँकी नै रहेको उनले जानकारी दिए । ‘देश भूकम्पले आहत बनेको छ, हामीले सानो सहयोग स्वरुप भूकम्प प्रतिरोधी र वातावरण मैत्री एक हजार घर बनाउने निर्णय गरेका छौं ।’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष घलेले भने । उनले बिभिन्न दातृ निकायहरुले समेत आफुहरुसँग सहकार्य गर्ने इच्छा देखाएकाले हौसिँदै एक हजार घर निर्माण गर्ने योजना बनाएको पनि बताए । संघले भूकम्प पिडितका लागि करिब १० करोड मुल्य बराबरका राहत सामग्री वितरण गरिसकेको जानकारी समेत अध्यक्ष घलेले दिए । १० करोडको राहत वितरण गर्ने घोषणा अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको र बाँकी २० प्रतिशत राहत पनि वितरणका लागि पठाईरहेको घलेको भनाई थियो । उनले सरकारले भूकम्प पीडितको उद्धार तथा राहतमा महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै दातृ निकायहरुले भने सहज ठाउँमा मात्रै राहत बाँडेको आरोप समेत लगाए ।