सन्दर्भः अन्तराष्ट्रिय नारी दिवस


क्लास टपर बैंकर सिवाकोटीको बैंकिङ यात्रा…

काठमाडौं । जीवन के हो ? मैले यो प्रश्न ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीलाई सोधेँ । उनले जवाफमा भनिन्, ‘जीवन व्यक्तिको च्वाइस हो,’ उनले अझ प्रष्ट पार्न खोजिन्, ‘जीवन जन्म र मृत्यु बीचको च्वाइस नै हो, यसलाई कसरी अगाडि बढाउने भन्ने मुख्य हात स्वयम् व्यक्तिको नै हुन्छ । तपाईंलाई थाहा हुँदैन कि तपाईं कसरी जन्मनु भयो र कसरी मृत्यु हुन्छ । त्यो बीचमा हामीसँग जति समय छ, त्यो समयमा आफूलाई खुसी भएर कसरी अगाडि बढाउने भन्ने नै जीवन हो जस्तो लाग्छ ।’ मैले फेरि जिज्ञासा गरेँ, जीवनमा दुःख हुँदैन ? उनले हाँस्दै मैतिर प्रश्न तेर्स्याइन्, कसैको जीवनमा दुःख नहुने पनि हुन्छ र ? जीवनमा सुख दुःख अवश्य नै हुन्छ । तर, व्यक्तिले त्यसलाई कुन रुपमा लिन्छ र कसरी ग्रहण गर्छ भन्ने विषय मुख्य हो । उनले आफ्नै उदाहरण दिइन्, जस्तै म कहिल्यै पनि कामलाई ड्युटीका रुपमा लिन्न । मैले मेरो कामलाई सर्वोपरी ठान्छु । कामलाई मनोरञ्जनका रुपमा लिन्छु । जब व्यक्तिले कामलाई मनोरञ्जन र त्यसलाई आफ्नो प्यासनको रुपमा लिन्छ नि खुसी आफुसँगै दौडिन्छ ।’ प्यासन…? म अडिएँ ‘हो, खुसी हुन प्यासन चाहिन्छ,’ उनले भनिन्-‘व्यक्तिमा प्यासनप्रतिको लगाव, झुकाव र इमान्दारिता चाहिन्छ, अनि मात्र व्यक्ति सफल हुन्छ । मेरो पनि बैंकर बन्ने सानैदेखिको प्यासन थियो । त्यो सपना मैले पछ्याइरहेँ, आफूले सकेसम्म मेहनत गर्दै गएँ, त्यसैले त अहिले म यो स्थानमा छु, बैंकमै काम गरेको २० वर्ष पुग्यो, सायद दुःखका दिनहरु त सकिए होलान्, पहिले दुःख गरेकै कारण २० वर्षसम्म काम गरेर मार्केटिङको नेतृत्वदायी भूमिकामा छु, अझै यात्रा लामो छ, सपना राती होइन दिउँसो देख्नुपर्छ र ती सपना पुरा नहुञ्जेल पछ्याइरहनुपर्छ ।’ सन् २००० बाट बैंकिङ करियर सुरु ग्लोवल आईएमई बैंकमा चिफ मार्केटिङ म्यानेजर पदमा कार्यरत शान्ता सिवाकोटीले बैंकिङ क्षेत्रमा काम गरेको २० वर्ष पुग्यो । सन् २००० को सेप्टेम्बर महिनाबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी सिवाकोटी नेपाली बैंकिङ क्षेत्रमा काम गर्ने महिलाहरुमध्ये एक परिचित नाम हो । आजभन्दा २० वर्ष अगाडि एनआईसी (हालको एनआइसी एशिया) बैंकबाट बैंकिङ करियर सुरु गरेकी उनले ६ वर्ष सो बैंकमा काम गरेर त्यसपछि हालको ग्लोबल आईएमई बैंकमा प्रवेश गरिन् । ग्लोबल आईएमई बैंकको स्थापनाकालदेखि कार्यरत उनी सो बैंकको विभिन्न विभागमा नेतृत्व गरेर सफल भूमिका निर्वाह गर्दै आएकी छिन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘२० वर्षे बैंकिङ करियरमा थुप्रै उतार चढावको सामना गर्नु पर्यो तर समस्याहरुलाई मैले कहिल्यै समस्याको रुपमा लिइन, हिँड्दै जाँदा लाग्ने ठक्करका रुपमा लिएँ, त्यसले झन् मलाई अनुभव र ज्ञान हासिल गर्न मद्दत पुर्यायो ।’ महिला भएकै कारण कहिल्यै आफूलाई कमजोर महशुस गर्नु नपरेको उनी बताउँछिन् । आफ्नो परिवार कार्यालयका सहकर्मीहरुको साथ र सहयोगले पनि आफ्नो बैंकर बन्ने ठूलो इच्छा पूरा गर्न पाएको उनको भनाई छ । एनआईसी एसिया बैंकमा एसिस्टेन्ट तहबाट बैङ्किङ यात्रा सुरु गरेकी उनले हालसम्म विभिन्न डिपार्टमेन्टमा रहेर काम गरिसकेकी छिन् । एनआइसी एशिया बैंकको फाइनान्स र ट्रेजरी विभागमा ६ वर्षसम्म काम गर्दा आफूले बैंक सम्बन्धि थुप्रै विषयहरु बुझ्ने अवसर पाएको बताउँछिन् । त्यससँगै ग्लोबल आईएमई बैंकमा आफूले ट्रेजरी, अपरेसन, मार्केटिङ, विजनेस प्रमोसन, ब्रान्डिङ, ब्रान्च म्यानेजरदेखि सरकारको अल्टरनेटिभ प्रोमोसन सेन्टर (एपीसी) फन्ड लगानी सम्बन्धी प्रोजेक्टको नेतृत्व सम्हालिसकेको उनी बताउँछिन् । हाल उनी बैंकको चिफ मार्केटिङ म्यानेजरको रुपमा कार्यरत छिन् । बैंकर बन्ने धोको सिवाकोटीका बुवा पनि बैंकर नै हुन् । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्ने उनका बुवा कहिलेकाहिँ उनलाई पनि आफूसँगै बैंकमा लिएर जान्थे । उनी आफ्नो विगत सम्झिँदै सुनाउँछिन्, ‘एकदिन बुवाले मलाई आफूसँगै बैंकमा लैजानु भयो, बुवाको बस्ने कोठा चिटिक्क परेको थियो, छेउमा धेरै बक्स थिए। मलाई ती सबै पैसा राखेको ब्याग (झोला) हो वा पत्र राखेको ब्याग हो जस्तो लाग्थ्यो । त्यहाँको इन्भाइरोन्मेन्ट (वातावरण) एकदमै रमाइलो लाग्यो । ओहो ! बैं‍क कति रमाइलो हुँदो रहेछ । त्यहाँको माहोल हेर्दा मलाई पनि बुवा जस्तै बैंकर बन्ने इच्छा लाग्यो । बैंकप्रतिको पहिलाे इम्प्रेसन नै मेरो त्यही हो ।’ बैंकर बन्ने चाहनाकै कारण सानै उमेरमा बैंकमा खाता खोलेको उनको भनाई छ । ‘मैले बैंकमा खाता खोलेको पनि थाहा छ । पैसा जम्मा गर्ने भनेको पनि थाहा छ । अनि मैले त्यहाँ पैसा राखेर कसरी नाफा गरेर मलाई बढी पैसा अर्थात ब्याज आउँछ भन्ने काैतुहलता थियो । तर, विस्तारै ऋण लगानी हुँदो रहेछ, ऋण इल्ड हुँदो रहेछ भन्ने बुझेँ,’ उनले आफ्नो विगत सम्झिँदै अनुभवहरु पनि सुनाइन् । २ हजारमा १३ जना छनोट सिवाकोटीलाई बैंकमा काम गर्नु पर्छ भन्ने उत्सुकताले निकै स्थान लिइसकेको थियो । एकदिन उनले एउटा पत्रिकामा बैंकमा काम गर्नको लागि विज्ञापन आएको देखिन् । विज्ञापन थियो हालको एनआईसी एशिया बैंकको । उनले पनि सो बैंकमा आवेदन दिने मनसाय बनाइन् । ‘म त्यो समयमा आफै शारिरीक रुपमा अस्वस्थ थिएँ, प्रेगनेन्टको समय भएकोले पनि म शारिरीक रुपमा असहज फिल गरिरहेकी थिएँ । तर, त्यो समय मैले आफैलाई परीक्षण गर्ने खालको थियो, शारिरीक रुपमा गाह्रो भए पनि मैले आवेदन दिएँ, २ हजार जनाले आवेदन दिएका थिए तर पछि १३ जना मात्र छनोट भए । त्यतिखेर पनि मैले आफूलाई जज गर्ने अवसर पाएँ,’ उनले भनिन् । त्यतिखेर पनि आफ्नो नाम १/२ नम्बरमा निस्केको उनले खुसी हुँदै सुनाइन् । ‘मलाई अहिले अचम्म लाग्छ, १० क्लास पनि पास नहुँदा ९ क्लास पढाउँथे, अहिले आफैलाई आएर ओहो लाग्छ, त्यतिखेर मेहेनत गरेकै कारण अहिले छोरीहरुलाई गाइड गर्न पनि सजिलो हुन्छ,’ उनले थपिन् । जहिल्यै क्लास टपर वि.सं २०३५ सालमा दोलखामा जन्मिएकी शान्ता सिवाकोटीको बाल्यकाल भने काठमाडौंमै बित्यो । कक्षा एकदेखि बानेश्वरको शिशु विद्याश्रम (हालको एपेक्स लाइफ स्कूल) अध्ययन गरेकी उनी कक्षा १० सम्म क्लास टपर नै भइन् । एपेक्स लाइफ स्कूलबाट एसएलसी दिएकी उनी आफू भाग्यमानी भएको महसुस गर्छिन् । ‘म घरको पहिलो बच्चा हो, त्यसैले पनि मैले धेरै माया पाएँ , ग्राण्ड पारेन्टस् (हजुरआमा हजुरबुबा) पनि सँगै बस्नुहुन्थ्यो । मेरो बुवा पनि बैंकमा नै काम गर्नु हुन्थ्यो । घरमा विभेद कहिल्यै भोग्नु परेन । मेरो दुई जना भाई र एक जना बहिनी छन् । अरुको कुरा सुन्दा म भाग्यमानी छु जस्तो फिल हुन्छ।’ उनले आफ्नो बाल्यकालको अवस्था सुनाइन् । ‘बानेश्वरमै स्कुलिङ भयो । शिशु विद्याश्रम स्कूलको म पहिलो ब्याच थिएँ, उनले विद्यार्थीको जीवनको अनुभव सुनाउँदै भनिन्, ‘म जति ठूलो हुँदै गएँ, स्कूल पनि त्यति ठूलो हुँदै गयो । ४ क्लासबाट स्तरोन्नती हुँदै गएको सो स्कुुल म एसएलसी दिँदासम्म त्यतै पढ्न पाएँ, एसएलसी पढ्दासम्म क्लास टपर नै भएँ, तर टपर हुनेलाई अर्को वर्ष टपर भइन्छ कि भइन्नँ भन्ने प्रसेर चाहिँ हुँदो रहेछ ।’ पढेकै स्कुलमा अध्यापन शान्ता सिवाकोटीको जीवन सानैदेखि पढाईमा राम्रो भएकै कारण उनले एसएलसी परीक्षा दिएको पछिल्लो दिनमै आफू पढेको स्कूलमा पढाउने अवसर पाइन् । आफूमा क्षमता छ भने अवसरका ढोकाहरु सधैँ खुला हुने रहेछन् भन्ने कुरा पनि उनले थाहा पाइन् । ‘म क्लास टपर हुन्थे, प्राध्यानाध्यापक सरले पनि मलाई धेरै माया गर्नु हुन्थ्यो, मेरो पढाईकै कारण मैले परीक्षा दिएको पछिल्लो दिनमै उहाँले मलाई सोही स्कूलमा पढाउन आग्रह गर्नुभयाे । मैले पनि पढाएँ, आजकाल सम्झेर आफूलाई नै अचम्म लाग्छ,’ उनले भनिन् । उनले एसएलसीको नतिजा नआउँदासम्म सोही स्कूलमा पढाइन् । तर, पछि नतिजा आएपछि भने निरन्तर पढाउन नसकेको उनी सुनाउँछिन् । प्लस टु पढ्नु पर्ने भएको कारणले पनि नियमित पढाउन छोडेको उनको भनाई छ । तर, दिउँसो कलेज गए पनि बिहानको समयमा सोही स्कूलको होष्टेलमा बस्ने विद्यार्थीहरुलाई पढाउन भने उनले छोडिनन् । १६ वर्षको उमेरदेखि काम गर्न सुरु गरेको बताउने बैंकर सिवाकोटीले आफू पहिलेदेखि नै केही काम गर्नु पर्छ भन्ने मानसिकताको भएको बताउँछिन् । उनले एउटा रमाइलो घटना पनि सुनाइन् । ‘स्कूलमा पढाउँदै गर्दा प्रिन्सिपल सरले रुटिङ तयार पार्नु भएको थियो, मसँगै पढाउने अन्य साथीकाे रुटिङमा नाम थियो तर मेरो नाम रुटिङमा थिएन, मैले ओहो ! मेरो नाम त रहेनछ भनेर आफै झस्किएँ, पछि सरलाई सोध्न गएँ । उहाँहरुले मलाई ८/९/१० कक्षामा राखिदिनु भएछ । भर्खरै १० क्लासको परिक्षा दिएको मैले १० क्लासलाई पढाउन पाउँदा सरहरुले मलाई त्यतिसम्मको क्षमतावान सोचिदिँदा म धेरै खुसी भएकी थिएँ ।’ १९ वर्षको उमेरमा विवाह सिवाकोटीले भर्खर प्लस टु सकेर स्नातक ज्वोइन गरेकी थिइन् । त्यतिखेर उनी १९ वर्षकी थिइन् । उनको सोही समयमा विवाह भयो । ‘मैले प्लस टु मात्रै सकेको थिएँ, घरबाट विवाह गरिदिए, विवाह भएपनि पढाई छोड्नु हुन्न भन्ने मानसिकतामा म थिएँ, विवाहपछि पनि पढाईलाई निरन्तरता दिएँ, श्रीमानको सहयोगले पनि म अहिले यो स्थानमा छु जस्तो आफूलाई महसुस हुन्छ,’ उनले भनिन् । विवाहपछि नै स्नताक र स्नातकोत्तर पढाई गरेको उनले बताइन् । उनले प्लसटु, स्नातक र स्नातकोत्तर शंकरदेव कलेजबाट नै गरेकी हुन् । विज्नेस स्टडीमै स्नातकोत्तर गरेकी सिवाकाेटीलाई घर व्यवहारले काम र पढाई पनि म्यानेज गर्न सहयाेग मिल्याे । ‘मलाई पढ्नु पर्छ भन्ने सानैदेखिको इच्छा थियो, आमा हाउस वाइफ नै भएपनि पढ्नु पर्छ भनेर हामीलाई जहिल्यै भनिरहनुहुन्थ्यो, पढाईको महत्व के हो भनेर उहाँलाई राम्रोसँग थाहा थियो,’ उनले भनिन्,‘ धेरै जिम्मेवारी भएपछि पढ्न गाह्रो त अवश्य नै हुन्छ । तर, ती समस्याहरुको अगाडि आफ्ना सपना साकार गर्न कुनै समस्याले पनि छेक्ने रहेनछ, जसरी भएपनि मैले यो काम गर्नै पर्छ भन्ने लाग्थ्यो । केही गाह्रो हुँदो रहेछ तर नसकिने भन्ने हुँदो रहनेछ ।’ घरबाट यति धेरै सर्पोट नभएको भए यहाँसम्म आउन समस्या हुने उनको भनाई छ । ‘ढिलासम्म अफिसमा काम गर्नु पर्थ्यो तर घरबाट त्यस्तो कुनै समस्या नै भएन, महिलालाई मात्र होइन घरमा पुरुषको लागि सपोर्ट गर्ने महिला भइनन् भने पनि गाह्रो नै हुन्छ, घरमा श्रीमान र श्रीमती एक अर्काका सर्पोटिभ भएनन् भने सफलता नै हासिल गर्न सकिँदैन,’ उनले भनिन्,‘ श्रीमान शिक्षा फिल्डमा काम गर्नुहुन्छ । दुवै जनाले एक अर्कालाई साथ र सल्लाह दिन्छौं । आफ्नो क्षेत्रमा आफै यो गर्नु पर्छ भन्ने ज्ञान दुवैसँग छ । त्यही भएर पनि यो काम नै गर्नुपर्छ भनेर एक-अर्कालाई बाध्य पार्दैनौं ।’ सिवाकोटीको बुझाईमा बैंकिङ बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड नै हो । आज पनि बैंकको पहुँचमा नहुनेहरु धेरै जना हुनुहुन्छ । ४० प्रतिशत मानिसले बैंक बुझेका छैनन् । बैंकिङ क्षेत्रले नै अर्थतन्त्रलाई निर्धारण गर्न सक्छ । अर्थतन्त्रका लागि बैंकिङ एउटा महत्वपूर्ण क्षेत्र हो । ‘बैंकिङमा अन्य क्षेत्रभन्दा समय बढी दिनै पर्ने हुन्छ । काम पनि धेरै लामो समयसम्म गर्नु पर्ने नै हुन्छ । मार्केटिङमा हुँदा त दिउँसो बाहिर ग्राहकहरु सँग नै हामी हुन्छौं । बेलुका आएर काम पनि हुन्छ । यसले पनि धेरै जसो महिलाहरु ड्रप आउट हुने गरेका छन् । सबैले अफिसका लागि समय पनि दिन सक्दैनन्,’ उनले आफ्नो अनुभव सुनाइन् । उनले घरव्यवहार र काम सँगै व्यालेन्स गर्न गाह्रो हुने बताउँदै तर यसलाई सहज रुपमा लिएर काम गरे आफ्नो सपना अवश्य नै साकार हुने बताइन् । ‘समय व्यवस्थापन नै गर्न नसकेर धेरै महिलाहरु बैंकिङमा आएर पनि फेरि छोड्ने गरेको देखिन्छन्, यो सबै व्यवस्थापनकै कमजोरी हो, समय व्यवस्थापन गर्ने काम आफ्नो हो,’ उनले भनिन् । अहिले इन्ट्रिमा पुरुषभन्दा महिलाको सहभागिता बढी भएपनि विवाहपछि भने महिलाको सहभागिता बैंकमा कम हुने उनको भनाई छ । ‘घर व्यवहार चलाउन, कार्यालयको काम, आफ्नो व्यवस्थापन गर्न गाह्रो त सबैलाई हुन्छ, तर त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ, सुरुवाती चरणमा मलाई पनि एकदमै गाह्रो भएको थियो, त्यतिखेर दुःख गरेकै कारण म यहाँसम्म पुगेँ, मेरो सपना साकार पारेँ,’ उनले भनिन् । समाजको नजर कसैले पनि महिलाको क्षमतामाथि प्रश्न गर्न नहुने उनको तर्क छ । ‘महिलाको क्षमताको विषयमा प्रश्न उठाउनै मिल्दैन, महिला कुनै पनि कोणबाट पुरुषभन्दा कम छैनन्, क्षमताको हिसावले अपार छ , हामी हाम्रो सोचाइकै कारणले पछाडि परेका छौं, अर्को महत्वपूर्ण विषय म सक्दैन कि भन्ने मानसिकता गर्ने र शिक्षामा कम पहुँच भएकै कारण महिलाको सहभागिता कम देखिन्छ,’ उनले भनिन् । महिलालाई हेर्ने समाजको नजर पनि परिवर्तन गर्नु पर्ने उनको भनाई छ । महिला सक्षम हुनको लागि सर्वप्रथम वित्तीय रुपमा शसक्त हुनु पर्ने उनको धारणा छ । ‘घर व्यवस्थापन गर्न पनि धेरै ठूलो क्षमताको आवश्यकता पर्छ, महिलामा एक किसिमको म्यानेजमेन्ट स्किल इनबर्न (जन्मजात) नै छ, खालि सही शिक्षाको अभाव छ, समाजको सोचाईले थिचेको छ, महिलाले गर्न नसक्ने कुनै काम नै छैन, अहिले विद्यालय कलेजमा टपमा महिला नै आएको देखिन्छन्,’ उनले भनिन्,‘पुरुषमा प्राथमिकता दिने मानसिकता हटाउनु पर्छ ।’ नव प्रवेशिकालाई सुझाव बैङ्किङमा अहिले थुप्रै अवसरहरु छन् । विगतको तुलनामा बैङ्कमा प्रवेश गर्ने महिलाहरुको संख्या पनि बढी हुँदै गएको छ । अब केही वर्षभित्रै नेपाली महिलाहरुको बैंकिङमा राम्रै उपस्थिती देखिने उनको भनाई छ । ‘अहिले नेपाली बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा औंलामा गन्न मिल्ने महिलाहरु मात्रै छन्, तर अहिले तल्लो तहमा महिलाहरु थुप्रै भइसकेका छन्, अब कुनै दिनमा लिडिङ पोष्टमा पनि महिलाको सहभागिता देखिन्छ,’ उनले भनिन् । महिला पछाडि पर्नुमा पारिवारिक र कार्यालय अनि व्यवस्थापनको असहयोग कारक तत्व रहेको उनको भनाई छ । ‘विवाह पश्चात बच्चा हुने र बच्चा हुर्काउनका लागि जागिर नै त्याग्नु परेको अवस्था छ, उनले भनिन्, यसलाई व्यवस्थापन गरेर अगाडि बढे गर्न नसकिने भन्ने केही छैन ।’ बैंकमा प्रवेश गर्न चाहनेले सशक्त रुपमा आफ्नो प्यासनलाई आत्मसाथ गर्दै अगाडि बढाउनु पर्ने उनको भनाई छ । ‘विश्वबारे जानकारी राखौँ, नयाँ नयाँ टेक्नोलोजीबारे जानी राखौं, आफ्नो लक्ष्यलाई पछ्याइ रहौं, रातमा होइन दिनमा सपना देखौं, पक्कै पनि एकदिन सपना साकार पार्न सकिन्छ,’ उनी सुझाव दिन्छिन् । उनले आफुले बच्चा जन्माएको डेढ महिनामै काममा फर्केको अनुभव सुनाइन् । कामलाई सर्वोपरी ठानेर लागे सपना साकार गर्न समय नै नलाग्ने उनको भनाई छ । उनले सपना साकार गर्नको लागि हार्ड वर्कर, कमिटमेन्ट र काममा डेडिकेसन राख्नु पर्ने उनको भनाई छ । ग्लोवल आईएमई बैंकमा योगदान चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटी ग्लोवल आईएमई बैंक स्थापनाकालदेखि बैंकमा कार्यरत छिन् । बैंकले गर्ने काम र ल्याउने हरेक कार्यक्रमहरुमा सिवाकोटीको ठूलो हात छ । विभिन्न समयमा विभिन्न डिपार्टमेन्टको नेतृत्व गर्दै आएकी सिवाकोटी कार्यकौशलता र सफल नेतृत्वदायी भूमिकाले नै उनले महत्वपूर्ण डिपार्टमेन्टहरुमा काम गर्ने अवसर पनि पाएकी छिन् । ‘व्यक्तिको योगदानभन्दा पनि टिमवर्कको समन्वयले नै ग्लोबल आईएमई बैंक अहिले यो अवस्थामा छ, हामीले नागरिकहरुमा वित्तीय साक्षरता बढाउनदेखि बचत गर्ने बानी बसाल्नको लागि ठूलो पहल गरेका छौं, अहिले एक क्याम्पियनकै रुपमा ‘मेरी उनीलाई’ भन्ने कार्यक्रम ल्याएका छौं । जुन महिला लक्षित प्रडक्ट हो, यस प्रडक्ट मार्फत महिलाहरुलाई वित्तीय साक्षरता प्रदान गर्न महत्वपूर्ण योगदान पुग्नेछ, भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । ‘हामीले मेरी उनीलाई प्रडक्ट मात्र होइन यो एउटा अभियानका रुपमा सञ्चालन गरेका छौं, महिलामा क्षमता छ तर अवसर पाइरहेका छैनन्, हामी यसलाई अभियानका रुपमा अगाडि बढाउँछौं, यस मार्फत उनीहरुलाई वित्तीय रुपमा अगाडि बढ्न सजिलो हुन्छ, पहिले उनीहरुको खाता हुन्छ । खाता भएपछि उनीहरु बैंकसँग सम्पर्कमा हुन्छन् । बचत गर्ने बानी बस्छ । विस्तारै बैंकसँग उनीहरुको सम्पर्क हुन्छ । उनीहरु आर्थिक रुपले सुरक्षित भएको पनि महसुस गर्छन् । फिक्स डिपोजिट मार्फत उनीहरु खुसी प्राप्त गर्छन् । आउने दिनमा अगाडि बढ्नको लागि धेरै सहयोग पुग्छ । विस्तारै आर्थिक चलायमान गर्ने बानी बस्छ । त्यसबाट उद्यमशिलताको विकास हुन्छ,’ उनले भनिन् । ‘झण्डा बाकेर नारा लगाएर कहिले पनि महिलाको हक अधिकार पुरा हुन सक्दैन । जबसम्म महिला आर्थिक रुपले सम्पन्न हुन सक्दैनन् तव शसक्तिकरण भन्ने कुरा व्यवहारमा देख्न सकिँदैन । यसमा हामीले लिएको लक्ष्य भन्दा राम्रो सहभागिता छ,’ उनले भनिन् । यी विभिन्न कार्यक्रमहरु ल्याउन आफ्नो र टिमको ठूलो हात रहेको उनको भनाई छ । अबको गन्तब्य आफ्नो बैंकर बन्ने इच्छा पुरा भएपनि डेस्टिनेसन (गन्तब्य) भने पुरा नभएको उनी बताउँछिन् । ‘अब यो भन्दा अगाडि कसरी अगाडि बढ्ने भन्ने हो, अझै यो संस्थालाई कसरी अगाडि बढाउने, सक्षम र सवल संस्था कसरी बनाउने भन्नेतर्फ मेरो र हाम्रो टिमको ध्यान जान्छ,’ उनले भनिन्, ‘म बैंकिङमै हुन्छु, नेतृत्वदायी भूमिकामै हुने सबैको उद्देश्य हुन्छ, काम गर्दै जाऔं, गन्तव्यमा त किन नपुगिएला ।’

मेगा बैंकको ग्रोथ अरुको भन्दा डब्बल छः अनुपमा खुञ्जेलीसँगको अन्तर्वार्ता

काठमाडौं । मार्च ८, अन्तराष्ट्रिय नारी दिवस, महिलाहरुको विशेष दिन । यसदिन विश्वभर नै महिला शसक्तीकरणका विषयमा वहस केन्द्रीत हुन्छ । महिलालाई अवसर, महिलालाई आरक्षण, महिलाको सुरक्षा लगायत धेरै विषय उठाउँछन्, महिलाबादीहरु । तर, सफल महिलाहरुको अनुभव फरक छ । सफलताको लागि आरक्षणभन्दा क्षमता विकास, समान अवसर र निरन्तर मेहेनत जरुरी हुने बताउँछन् सफल महिलाहरु । त्यसमध्ये एक हुनहुन्छ अनुपमा खुञ्जेली । मिहेनत र उच्च कार्यसम्पादन नतिजाको आधारमा मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको खुञ्जेली सफल बैंकर्सको रुपमा स्थापित भईसक्नु भएको छ । बार्षिक एक करोड ७० लाख रुपैयाँभन्दा बढी तलब सुविधा लिने खुञ्जेलीले मेगा बैंकलाई बैंक अफ दी एयरबाट सम्मानित गराउनुको साथै आफै पनि बेष्ट वुमन म्यानेजर अवार्ड लिन सफल हुनुभएको छ । यो सफलता कसरी मिल्यो त ? प्रस्तुत छ खुञ्जेलीसँग गरिएको विकास वहस । पैसा, पद र प्रतिष्ठा सबै भएको वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हुनुहुन्छ, बार्षिक १ करोड ७० लाख ३२ हजार तलब लिँदा कस्तो अनुभव हुन्छ ? अहिले मैले पाउने तलव सुविधा धेरै भयो जस्तो मलाई लाग्दैन । २७ वटा वाणिज्य बैंकका सीईओमध्ये मैले पाउने तलवभन्दा बढी तलव अरु २४÷२५ जनाको छ । म त कम तलव पाउने सीईओमध्ये तेस्रो चौथोमा पर्छु । अन्तराष्ट्रिय बजारसँग पनि तुलना गरेर हेर्दा पनि नेपाली सीईओहरुले पाउने तलव सुविधा कम नै छ । अझै कम भयो तलव ? मैले त्यसो भन्न खोजेको होइन । तुलनात्मक रुपमा हेर्नुपर्छ भनेको मात्र हो । बैंकमा पहिलो पटक जागिर खाँदा मासिक ८ सय रुपैयाँ तलव थियो । त्यति बेला पनि यत्रो पैसा के गरौं जस्तो भएको थियो । अहिले मैले जति तलव पाएको छु, त्यो तुलनात्मक रुपमा अरुको भन्दा धेरै छैन । तलव भनेको मिहेनतको प्रतिफल पनि हो । कस्तो काम गर्छ, संस्था कसरी चलाएको छ ? बैंकको सीईओ छोडेर घरमा बसेको मान्छे जेलमा परेका छन् । मरेपछि पनि मुद्दा लाग्छ । उसको इन्ट्रिग्रीटी कस्तो छ ? जिम्मेवारी पनि हेर्नुपर्छ । कति जोखिम लिएको छ त्यो पनि हेनुपर्छ । १४ अर्ब ६५ करोड रुपैयाँ लगानी भएको बैंक, १३० अर्ब रुपैयाँ निक्षेप, १२४ अर्ब कर्जा लगानी भएको, १६४ अर्ब रुपैयाँ वासलात भएको, २ लाख सेयरधनी भएको, १८ सय भन्दा बढी कर्मचारी भएको बैंकलाई सुरक्षित ढंगले चलाउन पनि सजिलो छैन । विजनेश गर्नेलाई छोडेर हेर्दा तपाईको कमाई नेपाली महिलामध्ये सबैभन्दा बढी नै होला नि ? सही छ । त्यसैले त बैंकिङ क्षेत्रप्रति आकर्षण बढेको छ । नयाँ पुस्ता पनि बैंकमा जागिर खान निकै प्रतिस्पर्धा गरिरहेको छ । यहाँ मिहेनत गर्यो भने फल राम्रो पाइन्छ । बैंकिङ क्षेत्रमा महिलाहरुको लागि पनि राम्रो अवसर छ । यो त इस्टार्टिङ मात्र हो, भविष्य झनै राम्रो देख्छु म । आफूले आफ्नै बारेमा समीक्षा गर्दा तपाई सफल महिला हो ? सफलता भनेको एकपछि अर्को हुन्छ । मैले बैंकमा जुनियरदेखि सिनियर पदमा रहेर काम गरें । एउटा प्रमोशनपछि अर्को प्रमोशनको अपेक्षा सबैलाई हुन्छ । म सीईओ भए, तर अरुले भन्दा राम्रो काम कसरी गर्ने ? पद र पैसा मात्र सबै कुरा होइन । हामीले बैकिङ सेवा विस्तारमा धेरै काम गर्नुछ । मेगा बैंकमा अनुपमा खुञ्जेलीको योगदान के हो ? संस्था एउटा व्यक्तिले बनाउने होइन । सबै कर्मचारीको बराबर योगदान छ । लिडरले लिड गर्ने मात्र हो । नतिजा सबैको मिहेनतको परिणाम हो । यो बैंकमा स्थापनादेखि नै म कार्यरत छु । अहिले १८४० जना कर्मचारी छन् । प्रमोटर ३ हजार जनाभन्दा बढी छन् । २ लाखभन्दा बढी सेयरधनी छन् । ५८ जिल्लामा २०४ वटा शाखाबाट बैकिङ सेवा दिइरहेका छौं । ७७ जिल्लामा पुग्ने योजना छ । बैकिङ साक्षरता देशभर पुर्याउने भिजन छ । हलोदेखि हाइड्रोसम्म, सबै नेपालीको बैंक बन्ने, विश्वास जित्दै अघि बढ्दै भन्ने नारा अघि सारेका छौं । म सीईओ हुँदा मेगा बैंक २५औं नम्बरमा थियो २७ वटा वाणिज्य बैंकमा । अहिले हामी निक्षेपमा १४ औं नम्बरमा छौं । कर्जा लगानीमा १० औं नम्बरमा र नाफाको हिसावले ११ औं नम्बरमा छौं । तपाई भन्दै हुनुन्छ कि अनिल शाहले छोड्दा भन्दा अहिले बैंक धेरै राम्रो भयो ? उहाँले हालेको जगमा उभिएर हामी अगाडि बढेको हौं । जग बलियो थियो र त हामी अगाडि बढ्न सकेका छौं । शुरुवातमा गाह्रो हुन्छ । अब पनि अगाडि बढ्न झन् गाह्रो छ । किनकि टप टेनमा धेरै बलिया र पुराना बैंक छन् । अरुभन्दा फरक र बलियो बनाउन अझै प्रयास गर्छौ । फेरि तपाईको निजी विषयमा जाऔं । तपाई शिक्षित र राज्यमा पहुँच भएको परिवारमा जन्मेहुर्केको मान्छे । शिक्षा र प्रेरणा त्यहि ढंगले पाउनुभयो । तपाईको जस्तै परिवारमा जन्मेहुर्केका राणा शाहका धेरै छोरीहरु अहिले केवल गृहणी मात्र छन् । तपाई यो ठाउँमा हुनुहुन्छ । पद, पैसा र प्रख्याती पाइरहनु भएको छ । फरक केले पार्दोरहेछ ? सबैभन्दा ठूलो कुरा आफूले आफूलाई चिन्न सक्नुपर्छ । आफ्ना चाहना अनुसार काम गर्नुपर्छ । मेरो बुबाले मलाई छोरालाई जस्तै व्यवहार गर्नुभयो । विवाह गर्नुपूर्व नै जागिर खान पुगेँ । हामी सबै जना करिअर ओरेन्ट हुनैपर्छ । त्यहाँ मिहेनत गर्नैपर्छ । त्यहाँ सफलता, असफलता भोग्नै पर्छ । लड्दै, पढ्दै, भोग्दै अगाडि बढ्नुपर्छ । अवसरहरु पहिल्याउन सक्नुपर्छ । म स्ट्याण्डर्ड चार्टर्ड बैंक छोडेर नविलमा आए । नविल छोडेर जन्मदैको अवस्थामा मेगा बैंकमा आए । एउटा स्थापित बैंकका मान्छे, अर्को नयाँ बैंक चलाउन जाने कि नजाने ? शुन्यबाट काम थाल्ने जोखिम लिने कि नलिने ? यस्ता कुराहरु आउँछन् करिअर बनाउने बेलामा । अरु पेशाकर्मीहरु सानो संस्था वा ब्राण्ड छोडेर ठूलोमा जान्छन् । तपाई ठूलो छोडेर सानोमा जानुभयो । स्ट्याण्डर्ड चार्टर्ड नम्बरवान ब्राण्ड छोडेर नविल आउनुभयो । नविल नम्बर वान ब्राण्ड भएपछि फेरि मेगामा आउनुभयो । अरुको भन्दा उल्टो बाटो रोज्नुको कारण के थियो ? सुरक्षित क्षेत्र छोडेर जोखिमपूर्ण क्षेत्रमा काम थाल्नुपर्छ भनेर हामीले पढेका पनि हौं । अवसरको लागि जोखिम लिनै पर्छ । नम्बरवान ब्राण्ड नछोडि बसेको भए म आज सीईओ बन्ने पनि थिइनँ होला । फर्केर हेर्दा, मैले जे निर्णय लिएको थिए, त्यो सही थियो । तपाईले जुन बाटो रोज्नुभयो, अरुले पनि त्यसै गरे भने हुन्छ वा तपाईलाई भाग्यको साथ थियो ? ‘लक’ त चाहिन्छ । सफलताको लागि अवसर, कडा परिश्रम त चाहिन्छ नै, साथै ‘लक’ पनि चाहिन्छ । ‘लक फ्याक्टर अल्सो भेरी इम्पोर्टेन्ट’ । तपाई भाग्यले यो ठाउँमा आउनु भयो कि मिहेनतले ? भाग्य छ भन्दैमा डाेकोमा दुध दोहेर हुँदैन । महिनत गर्नैपर्छ । जतिबेला म असिस्टेन्ट लेवलमा थिए, त्यतिबेला मेरो सहकर्मीहरु धेरै थिए । हामी धेरै जना थियौं । सबैले समान मौका पाएका हौ । एउटै वातावरण थियो । अफिसर लेवलमा पनि त्यहि बातावरण थियो । काम गर्ने शैली त उस्तै हो । जो अरुभन्दा बढी मिहेनत गर्छ, सबैको विश्वास जितेर काम गर्छ, उसैले नयाँ अवसर पाउँछ । जे काम गर्नुहुन्छ, खुशीका साथ गर्नुहोस । मैले बैंकिङ जब गरेको ३० वर्ष भयो । विहान उठेर अफिस जाने भनेपछि अहिले पनि रमाईलो लाग्छ । प्रशन्न मुद्रामा अफिसमा आईपुग्छ । म जेमा रमाईरहेको छु, त्यसमा अरुलाई खुशी नमिल्न सक्छ । बैंकमा जागिर खाने मेरो सोच पनि थिएन । खाता खोल्न जादा भ्याकेन्सी खुलेको रहेछ । त्यसपछि बैंकमा जागिर खाइयो । जागिर खाँदै जाँदा मास्टर डिग्री गर्न गर्न सकिएन । त्यहाँ पनि ठेस खाइयो । प्रमोशन खान मास्टर डिग्री चाहिन्छ भनेपछि ४० वर्षको उमेरमा मास्टर डिग्री लिइयो । छोरीको एसएलसीसँगै मैले मास्टर डिग्री गरेको । महिला आरक्षणबाद, संरक्षणबादप्रति तपाईको धारणा के हो ? महिला र पुरुष भनेर छुट्याउनै मिल्दैन जस्तो लाग्छ मलाई । तर अन्तराष्ट्रिय रुपमा नै के भनिन्छ भने लैंगिक विभेद अन्त्य गर्न अझै १०८ वर्ष लाग्छ रे । मलाई वुमन सीईओभन्दा मन पर्दैन । मलाई सीईओ मात्रभन्दा खुशी लाग्छ । किनकि म प्रतिस्पर्धा गर्न सक्छु र अरुभन्दा म कमजोर छैन । म सानैदेखि दाइभाइसँग साइकल खेल्न जान्थे । डण्डिवियो खेल्न जान्थे । बन्दुक लिएर शिकार खेल्न जान्थे, खुशीका साथ । त्यो माहौलमा हुर्केकोले होला मलाई महिला र पुरुषमा विवेद जरुरी छैन । महिला अधिकार कर्मीले भन्छन्–‘नारी पुरुषबाट हेपिए, दविए, असर दिईएन ।’ के तपाईको जीवनमा यस्तो भोगाई भयो ? मेरो परिवारमा विभेद भएन । मैले काम गरेका संस्थामा पनि लैंकिग विभेद भएन । कामलाई रिवार्ड गरियो । तर, समाजमा विभेद त छ । नेपालका मात्र होइन, विदेशमा पनि छ । विभेदहरुको मुकाविला गर्दै अगाडि बढेको हुँ । सोचाईमा परिवर्तन जरुरी छ । तपाई सीईओ भएको बैंकमा पुरुषहरुले लैंगिक विभेदको महसुश गरेका छन् कि ? म कामलाई पुजा गर्छु । हामी कामलाई रिवार्ड गर्छौं । न मैले विगतमा विभेद सहेँ, न अहिले विभेद गर्छु । यो बैंकको टप १० पोष्टमा ५० प्रतिशत महिला छन् र ५० प्रतिशत पुरुष छन् । शुरुमा यो बैंकमा ६४ प्रतिशत महिला थिए । विभिन्न बैंकहरु मर्ज भएपछि महिला ४४ प्रतिशत भएका छन् । उच्च व्यवस्थापनमा ५० प्रतिशत महिला भएको सुन्दर पक्ष भन्नु र सुन्न त आनन्द आउला । अन्तिममा सेयरधनीले हेर्ने त नतिजा हो । कस्तो छ नतिजा ? बैंकको वार्षिक साधारणसभामा आएर सेयरधनीले बोल्नुहुन्छ । वर्षमा एक पटक बोल्नुहुन्छ । मेरो लागि त्यो धेरै महत्वपूर्ण छ । उहाँहरुले बैंकको प्रगतिको बारेमा बोलिरहनु भएको छ र अझ राम्रो कसरी गर्न सक्छ भनेर बोलिदिनु भएको छ । त्यो मेरो लागि महत्वपूर्ण कुरा हो । विगत ५ वर्षको ग्रोथलाई विश्लेषण गर्नुभयो भने मेगा बैंक एक नम्बरमा छ सिएजीआर (कम्पाउन्डेड एभरेज ग्रोथ रेट) मा, निक्षेप, कर्जा, नाफाको ग्रोथ बैकिङ क्षेत्रको औषतभन्दा दोब्बर बढी छ । डबल ग्रोथ थिएन भने २५ नम्बरबाट १० नम्बरमा आउन पनि सक्दैन थियो । मार्केट ग्रोथभन्दा डब्बल ग्रोथ मेगाको छ भने सेयरधनी बेखुशी हुने कुरै भएन । उहाँहरुलाई रिर्टन चाहिन्छ । हामीले १३.४५ प्रतिशत दियौं । शुरुदेखि हामीले बोनसदर बढाउँदै लगेको छौं । अहिले त मार्केटको एभरेज रिर्टन नै १३ प्रतिशत मात्र छ । हामीले ५ वर्षको रणनीति बनाएको थियौं । चौथो वर्षमा छौं । सबै इन्डिकेटरहरु पूरा हुँदैछ । बैंकको अवको बाटो के हो ? फेरि ५ वर्षे रणनीति बनाउँदै छौं । त्यसको तयारीमा छौं । हामी फरक तरिकाले काम गर्दैछौं । अहिले डिजिटल बैंकिङमा जोड दिएका छौं । वर्क फर्म होम हामीले सिक्यौं । अब बैंकिङ फर्म होम गर्दैछौं । भिडियो मार्फत ग्राहकलाई घरबाटै बैंकिङ कारोबार सिकाउँदै छौं । टिक बैंकिङ ल्याएका छौं । च्याट बोर्ड चलाएका छौं । क्युआर कोडको प्रयोगमा जोड दिएका छौं । क्यासलेड बैंकिङ, डिजिटल वल्डतिर जान्छौं । हामीले मेगा क्यापिटल खोल्यौं । इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छौं । सब्सिडायरी कम्पनीहरु विस्तार गर्दैछौं ।

सफ्टवेयर इन्जिनियरदेखि सीईओसम्म, आइटीमा अब्बल मोनाको कथा

काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी प्रोडक्ट म्यानेजमेन्ट, साइबर सेक्युरिटी र सफ्टवेयर डेभ्लप्मेन्टमा उनको विज्ञता छ । इन्टेली सफ्ट नेपालकी निर्देशक हुन्, न्याछ्यों । ५ जना पार्टनर मिलेर ६ सुरु गरेको सुरु गरेको इन्टेली सफ्टले आइटी सम्बन्धी सबै काम गर्छ । उनको मातहतमा बीस जना भन्दा बढीले काम गर्छन् । नयाँ बानेश्वरमा कार्यालय रहेको यो कम्पनीले आइटी सम्बन्धी सबै काम गर्छ । इन्टेली सफ्टसँगै न्याछ्योंले मोनल टेक कम्पनी चलाइरहेकी छिन् । कोभिड १९ को महामारीपछि घरबाटै काम गर्न सिकायो । मोनल टेकमा केहीलाई रोजगारी दिएर उनले घरबाटै काम गर्न प्रोत्साहित गरिरहेकी छिन् । आइटीमा रमाइरहेकी न्याछ्योंले यसअघि विभिन्न कम्पनीहरुमा काम गरिन् । पहिलो पटक सन् २००६ मा डिटुहकाइ कम्पनीमा उनले काम गरिन् । सफ्ट्वेयर इन्जिनियरका रुपमा यो कम्पनीमा जोडिएकी उनी पछि सिनियर सफ्टवेयरको पदमा समेत पुगिन् । पहिलो तलब थियो ? उनले ठ्याक्कै खुलाउन चाहिनन् । तर, डलरमै तलव थापेको स्वीकारिन् । साढे ५ वर्ष यस कम्पनीमा काम गर्दा उनले राम्रै नेटवर्क बनाइन् । न्याछ्योंले काम गरेको दोस्रो कम्पनी हो, लगप्वाइन्ट । इन्जिनियर म्यानेजरका रुपमा उनले यस कम्पनीमा काम सुरु गरेकी थिइन् । साढे ९ वर्ष यो कम्पनीमा यति मिहिनेत गरिन् कि पछि सीईओ बन्न सफल भइन् । ‘त्यो बेला त निजी जीवन भन्ने नै थिएन ।’ न्याछ्योंले सम्झिइन्, ‘बिहान ८ बजे अफिस गएपछि एकै पटक १० बजे फर्किनुपथ्र्यो ।’ विदेशी प्रोजेक्टहरु पर्याप्त आइरहन्थे । कर्मचारी राख्ने, प्रोजेक्ट म्यानेज गर्ने जिम्मा उनकै थियो । उनी कम्पनी प्रवेश गर्दा १५ जना स्टाफ थिए । पछि कम्पनीले स्टाफको संख्या १ सय ५० जना पुर्‍यायो । सानो कम्पनी सबैको मिहिनेतले बृहत रुप लिदै गयो । लगप्वाइन्टले आफूलाई सन्तुष्टि र पहिचान दिएको उनी बताउँछिन् । स्वीडिस सरकारबाट कमन क्राइटेरिया पाउने यो एक मात्र कम्पनी हो । सेक्युरिटी प्रोडक्टमा थ्रि प्लस पाउने पनि नेपालकै एक मात्र कम्पनी भएको उनले बताइन् । न्याछ्योंको परिवारले उनलाई एमबिबिएस पढाउने चाहेको थियो । तर, उनको रहर आइटीमै थियो । उनी प्रविधिमा विशेष रुचि राख्थिन् । कम्प्युटर इन्जिनियर बन्ने उनको चाहना थियो । सन् २००६ मा पोखरा युनिभर्सिटीबाट इलोक्ट्रोनिक्स एण्ड कम्प्युनिकेसन्स (बि.इ.) उत्तिर्ण गरिन् । डिन लिस्ट मेरिट् स्टुडेन्ट हुन् उनी । कलेजमा छात्रबृत्तिमै पढिन् । घर, परिवारबाट एकदमै राम्रो साथ पाएर नै यो स्थान सम्म पुगेको उनले बताइन् । न्याछ्योंले सन् २०१८ मा वुमन इन् आइटी अवार्ड हात पारिन् । यस्तै अमेरिकाको सिलिकन भ्यालीमा अमेरिकन संस्थाले आइटीमा एसियाका महिलाको सूचीमा उनको नामाकरण गरेको थियो । सिंगापुरमा सन् २०१९ मा पनि आइटी क्षेत्रकै सम्मान प्रदान गरेको थियो । बिभिन्न कम्पनीहरुमा अनुभव बटुलेपछि यतिखेर न्याछ्योंले आफ्नै कम्पनी हाँकिरहेकी छिन् । ‘नयाँ कम्पनी स्थापित गर्न एकदम गार्‍हो हुँदो रहेछ ।’ उनले भनिन् ‘सुरुमा काम पाउन, ग्राहक पाउँन समस्या हुन्छ ।’ नेपाली र विदेशी दुबै प्रोजेक्टहरु वेव डेभ्लप्मेन्ट, एप्लिकेशन डेभ्लप्मेन्ट, प्रोडक्ट डेभ्लप्मेन्टका क्षेत्रमा उनको कम्पनीले काम गरिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा आइटीका प्रोजेक्टहरु महंगो भएकाले सुरुमा नेपाल, भारतमा बढी कामका लागि अफर आउँथे । अहिले भने त्यो चलनमा परिवर्तन आएको न्याछ्यों बताउँछिन् । अचेल नेपालका कम्पनीहरुले पनि राम्रो सेवा दिन थालेको उनको अनुभव छ । नेपाल बाहिरबाट कामका लागि अफर आउँदा नगएका बरु स्वदेशमै केही इच्छा भएको उनले सुनाइन् । नेपालमा आईटीका क्षेत्रमा पहिला भन्दा राम्रो अवस्था भएको न्याछ्यों बताउँछिन् । लगप्वाइन्ट कम्पनीमा काम गर्दा उनी एक्लै महिला थिईन् । ‘अहिले तल्लो तहमा संख्या बढे पनि माथिल्लो पदमा महिलाको संख्या अझै न्युन छ ।’ उनी भन्छिन् । आइटीमा कमाई एकदमै राम्रो भएको उनको अनुभव छ । सुरुदेखि अहिलेसम्म उनले डलरमै तलब थापिरहेको स्वीकारिन् । आफूमा सीप भए घरमै बसेर काम गर्न सकिने, राम्रै आम्दानी गर्न सकिने उनी बताउँछिन् । सामान्यत सफ्टवेयर डेभ्लप्मेन्टले नेपालमा १ लाखदेखि तीन लाख रुपैयाँ कमाई गर्ने गरेको उनी बताउँछिन् । नयाँहरुलाई पनि जीवन धान्न गार्‍हो नभएको उनी बताउँछिन् । कामका सिलसिलामा कतिपय पुरुषहरुले महिलाको क्षमतामा विश्वास नगर्ने मानसिकता रहेको उनले बताइन् । महिलाहरुले पनि आइटीको काम सक्छन् र ? भन्ने प्रश्न गर्ने गरेको उनी बताउँछिन् । तर, आफूले भने तीतो अनुभव नभोगेको बताइन् । नेपालका ग्रामिण क्षेत्रबाट आईटी क्षेत्रमा महिलाको उपस्थिीति छैन । त्यसो हुनुमा पारिवारिक कारण समस्या रहेको उनको ठम्याई छ । अर्को कुरा अवसर कहाँ छ, त्यो थाहा नपाएर पनि यस्तो अवस्था आएको उनी बताउँछिन् । करिअर बनाउने, पढ्ने, विवाह गर्ने काम एकै पटक हँुदा झमेलाले महिलाहरु अगाडी बढ्न गार्‍हो भएको उनको ठम्याइ छ । ‘म त लक्की भएँ ।’ उनले सुनाइन् ‘बुझ्ने परिवार पाइयो ।’