खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै ती कर्मचारीको माग गरेको हो । नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति गर्नका लागि कम्पनीले दरखास्त आह्वान गरेको हो । कम्पनीले ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एकरएक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायक माग गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सकिने जनाइएको छ। आवेदन दस्तुर पदअनुसार फरक-फरक निर्धारण गरिएको छ ।  

एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीबाट दुई जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कूल ५ जना निर्वाचित भएका हुन् । बैंकको संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । त्यस्तै, एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जानकारी गराएको छ । बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । बैंकले २०८० असारसम्ममा ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा, २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन र एक खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न, दुई सञ्चालक निर्वाचित

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो । उक्त सभामा संस्थापक सेयर सदस्य, सर्व साधारण सेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो । साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक र सेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा सेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।