रघुराम विष्ट कृषि विकास बैंक संचालक समिति सदस्यमा नियुक्त
काठमाडौँ । कृषि बिकास बैंक लि. बैंक संचालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपछी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रिस्तरीय)को निर्णय अनुसारसहसचिव रघुराम विष्ट नियुक्ति भएका छन् । नवनियूक्त संचालक सदस्यलाई कृषि विकास बैंक लि. संचालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले बैंकको केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराए । उक्त अवसरमा कृषि विकास बैंक लि. संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के),संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईँ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव निर्मलप्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थित रहेको थियो ।
नेरुडे लघुवित्तको प्रबन्ध संचालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध संचालकमा सुधिरकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको संचालक समितिको बैठकले रिक्त रहेको प्रबन्ध संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । नवनियुक्त श्रेष्ठले आगामी वैशाख १६ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि संस्थाको प्रबन्ध संचालकमा मणिकुमार अज्र्याल रहेका थिए । उनले वैशाख १६ गतेदेखि लागू हुने गरी सो पदबाट राजिनामा दिने भएका छन् । अज्र्यालले राजिनामा दिएपछि रिक्त हुने उक्त पदमा श्रेष्ठलाई नियुक्त गरिने कम्पनी सचीव ऋषिप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
नेपाली कामदार तत्काल जापान जान नपाउने
काठमाडौं । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन् । नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ । भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन । आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौतापत्रका आधारमा मात्र सम्बन्धित कामदारलाई भिसा उपलब्ध हुन्छ । तर, जापानकै केही गैरनाफामूलक कम्पनीले भने नेपाल सरकारसँग मिलेर सीप र भाषा उत्तीर्ण गर्ने नेपाली इच्छुक कामदारको रोस्टर तयार गरी उनीहरूलाई जापानको रोजगारदाता कम्पनीको आवश्यकताअनुसार कामदारको मिलन(म्याचिङ) को काम छुट्टै संस्था गठन गर्ने प्रस्ताव गरिएको छ । म्याचिङका लागि जापानका विभिन्न कम्पनीले पहल थालेका छन् । नेपाल र जापानबीच श्रम समझदारी भएको एक महिना बित्नै लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल र जापानबीच संयुक्त समिति बनाएर प्रक्रियाबारे छलफल गरिने बताए । प्रक्रियाकाबारे नेपालले प्रश्न बनाएर जापानलाई पठाइसकेको छ। जापानबाट प्रतिक्रिया आइनसकेको छैन । इन्टरनेसनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउन्डेसन (आईएचएन) का अध्यक्ष यासिहारु कोमियामाले संयन्त्र निर्माण भइनसकेले तत्काल नेपालबाट कामदार जान नसक्ने बताए । ‘भाषा परीक्षा लिन नेपालमा अझै तयारी भएको छैन’, उनले भने, ‘जापानका कुनै संस्था नेपालका लागि तयार नभएका कारण प्रक्रिया ढिला हुन सक्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।