‘सुगर निको हुँदैन, नियन्त्रण गर्न सकिन्छ’ {अन्तर्वार्ता}

पछिल्लो समय नसर्ने रोगले मानिसको ज्यान लिइरहेको छ । शारीरिकभन्दा मानसिक थकान, अस्वस्थ खानपान र जीवनशैलीका कारण नागरिक यसको सिकार भइरहेका छन् । नसर्ने तर सुस्त गतिमा मानिसको ज्यान लिइरहेको रोग मधुमेह पनि हो । जुन अहिले बच्चादेखि वृद्धवृद्धासम्मको शरीरलाई तहसनहस बनाइरहेको छ । एउटा महामारीका रुपमा प्रवेश गरिरहेको मधुमेहले नेपालीलाई कसरी प्रभावित बनाइरहेको छ भन्ने विषयमा वीर अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् ।  मधुमेह अर्थात् चिनी रोग भनेको के हो ? ग्लुकोज हाम्रो शरीरलाई आवश्यक पर्ने चिज हो । तर, शरीरमा ग्लुकोजको मात्रा चाहिनेभन्दा बढी भयो भने राम्रो हुँदैन । हामीले खाने खानाबाट शरीरलाई आवश्यक पर्ने ग्लुकोज उत्पादन हुन्छ । ग्लुकोजको पनि एउटा सर्टेन लेभल हुन्छ । खाली पेट एउटा लेभल मेन्टेन गर्नुपर्छ भने खाना खाइसकेपछि अर्को लेभल हुनुपर्छ भन्ने मापदण्ड छ । त्यो मापदण्डभन्दा माथि गयो भने त्यसलाई मधुमेह अर्थात सुगर भएको मानिन्छ । सामान्यतयाः खाली पेटमा सुगर ७० देखि १ सय १० को बीचमा हुनुपर्छ भनिन्छ । यस्तै, खाना खाइसकेपछि १ सय १० देखि १ सय ४० को बीचमा हुनुपर्छ । जुन खालीपेट र भरी पेटको मात्र छुट्याएको छ त्योभन्दा बढी सुगर भयो भने  मधुमेह लागेको भनिन्छ । मधुमेह डाइग्नोसिस गर्नलाई खालीपेट १ सय २६ भन्दा माथि खाना खाएको दुई घण्टा पछि २०० बढी काट्यो भने मधुमेह भएको मानिन्छ । १ सय ४० र २०० बिचमा र १ सय १० र १ सय २५ बिचमा भएकोलाई प्रीडाइबिटिज भनिन्छ । यो भनेको सुगर नभइसकेको तर सम्भावना बढी छ भन्ने हो ।  सुगर छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ ? कुनै पनि रोग लागिसकेपछि त्यसका विभिन्न लक्षणहरू देखा पर्छन् । सुगर लागेको व्यक्तिलाई पनि मुख सुक्दै जाने, भोक बढी लाग्ने, पिसाब धेरै लाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । पिसाब धेरै लाग्ने त्यसमा पनि रातिमा पिसाब बारम्बार लाग्ने गर्छ भने सुगरको लक्षण हुनसक्छ । कहिलेकाहीँ बाहिर पिसाब गर्यो भने पिसाबमा कमिला लाग्न थाल्छन् । सुगर लागेको व्यक्तिले खाना जति खाए पनि दुब्लाउँदै जाने, आँखा धमिलो हुने हुन्छ । सुगर लागेको व्यक्तिमा शरीरको कुनै भागमा इन्सफेक्सन भयो भने लामो समयसम्म निको नहुने हुन्छ । सामान्य घाउ चोट लाग्यो भने निको पार्न गाह्रो हुन्छ ।  सुगर कसरी लाग्छ ? धेरैजसोमा वंशाणुगत नै आउँछ । हामीले कतिपय रोगहरू जीनमै बोकेर ल्याएका हुन्छौं भने कुनै रोग हामी आफैले निम्त्याएका हुन्छौं । सन्तुलित खाना नखाने, जंक फुड बढी खाने, चिल्लो बढी खाने, अनियन्त्रित रूपमा खाने, माछा तथा मासु बढी खाने, व्यायाम नगर्ने, फलफूल नखाने, सागसब्जी तरकारीहरू नखानुले पनि यो रोग लाग्ने सम्भावना धेरै हुन्छ ।  मोटोपना पनि यसको मुख्य कारण हो । आजभोलि मान्छेले गर्ने काम शारीरिक भन्दा बढी मानसिक हुन्छ । शरीरमा पर्याप्त मात्रामा पानी पुगेको हुँदैन, शारीरिक व्यायाम पनि हुँदैन । यस्तो हुँदा पनि सुगर लाग्ने सम्भावना धेरै हुन्छ । अहिले संसारभरि नै सुगर प्रेसर, कोलेस्ट्रोल, क्यान्सर जस्ता नसर्ने रोग बढ्दै गएको छ । यसको मुख्य कारण हाम्रो आहारविहार र आचारले हो । अहिले व्यक्तिमा अनावश्यक तनाव लिनेक्रम बढेको छ । कुनै पनि काम गर्दा वा बस्दा पनि मान्छे तनाव लिएर बसेको हुन्छ । प्रतिस्पर्धाको समयमा त्योभन्दा बढी मैले कसरी गर्ने भन्ने होड एकातिर छ भने तनावले आजभोलि मधुमेहका बिरामीहरू बढ्दै गइरहेको पाइन्छ ।  प्रतिस्पर्धाले पनि मान्छेलाई रोगी बनाउँछ भन्छन्, के यो सत्य हो ? अहिले जमाना प्रतिस्पर्धाको छ । त्यसको भन्दा राम्रो मैले कसरी गर्न सक्छु भन्नेमा प्रतिस्पर्धा चल्छ । उसको भन्दा राम्रो गर्न व्यक्तिले ऊभन्दा बढी काम गर्नुपर्छ । थप काम गर्दा उसलाई निन्द्रा पर्याप्त पुगेको हुँदैन भने खानपान पनि मिलिरहेको हुँदैन । त्यसपछि अनावश्य तनावले नसर्ने रोग लाग्नलाई बढी प्रशय दिइराखेको हुन्छ । तनावले सुगरप्रेसर, कोलेस्ट्रोल जस्ता समस्याहरू बढ्न थाल्छ । यस्तो बेला पनि शारीरिक व्यायाम, ध्यान गर्ने, मौसम अनुसारको फलफूल खाने गर्यौं र आफूलाई जति रिल्याक्स बनाउन सक्यौं त्यति यस्ता रोगबाट छुटकरा पाउन सकिन्छ ।  सुगर भइसकेपछि यसले शरीरका कुन अंगमा असर गर्न सक्छ ?  सुगर आफूमा केही होइन तर यो लागिसकेपछि शरीरका अंगमा ठूलो क्षति गर्छ । यसले आँखा, मुटु, किड्नी खराब पार्छ भने नसामा पनि असर गर्छ । यसले मस्तिष्कघात गरेर प्यारालाइसिससम्म गराइदिन्छ ।  मधुमेहकै कारण अन्धोपन हुने संख्या बढेको छ । भर्खरको लक्का जवानमै मधेमहले ठूलो क्षति पु¥याएको छ ।  हातकुटा झमझम गर्ने, हातखुट्टा चाहिँ लाटो हुने, एकदम राति झमझम सुत्नै नसक्ने पनि सुगरकै कारण हुन्छ । कहिलेकाहीँ जोर्नीहरू जाम भएर चलाउने नहुने, दुख्ने, कम्मर दुख्ने, घुडा दुख्ने, गर्दन दुख्ने हुन्छ । सुगरले शरीरका सबै अंगमा असर पुर्याउँछ ।  नेपालमा सुगर रोगको अवस्था कस्तो छ ? पहिलाभन्दा अहिले सुगरका बिरामीको संख्या बढ्दो छ । नेपालमा मात्र होइन, संसारभर सुगरका बिरामीको संख्या बढ्दो छ ।  भारतको कुरा गर्ने हो भने १०० जनामा ३० जनालाई सुगर छ । नेपालमा पनि १५ देखि २० प्रतिशत बिरामी सुगरका छन् । तर वास्तविक डेटा छैन । अहिलेको बिरामीको लर्को हेर्ने हो भने सुगरका बिरामीको संख्या निकै धेरै हुने सम्भावना छ । अहिले एकातिर संख्या पनि बढेको छ भने सचेत रहनेहरूको संख्या पनि बढेको छ ।   मान्छेमा चेत पनि आएको हो ? हो, अहिले नागरिक सचेत भएका छन् । सुगरको मात्र होइन, अन्य समस्या हुँदा पनि के भएको हो भनेर सोधपुछका लागि पुग्ने गर्छन् । अहिलेको जेनजी र जेनवाई पुस्ता स्वास्थ्यमा पनि उत्तिकै सचेत छ । तर पनि खानपान जीवनशैली तनाव लगायतका विभिन्न कारण नसर्ने रोगको सिकार भइरहेका छन् ।   कुन उमेर समूहका व्यक्तिलाई बढी यो रोग लाग्छ ? डाइबिटिज विभिन्न प्रकारको हुन्छ । टाइप वान डाइबिटिज तत्काल जन्मेको बच्चामै देखिएको छ । एक किसिमको डाइबिटिज जन्मदैदेखि सुरु हुन्छ । टाइप टु पहिले ४० वर्ष काटेपछि देखिन्थ्यो भने अहिले २५–३० वर्षको उमेरमै देखिन थालेको छ । अर्को गर्भवती महिलाहरूमा पनि  मधुमेह देखिन्छ । भर्गवतीको बेला देखिएको डाइबिटिज बच्चा जन्मेको तीन–चार महिना पछि नर्मलाइज हुन्छ । तर त्यस्ता महिलालाई कालान्तरमा डाइबिटिज हुन्छ । त्यसकारण सुगर भनेको जन्मेदखि मृत्यु हुने बेला चाहिँ कुनै पनि बेला हुन सक्छ ।  तपाईंले भन्नुभएको टाइप वान/टु मध्ये नेपालीहरुलाई बढी देखिन कुन डाइबेटिस हो ? टाइप वान डाइबिटिज त कम नै छ । टाइप टु डाइबिटिज चाहिँ बढी छ । टाइप टु डाइबिटिज भनेको वयस्कलाई हुने डाइबिटिज हो । यो चाहिँ ३० वर्षमै सुरु हुन्छ । यसको संख्या बढिरहेको छ । अरु डाइबिटिज कम छ ।  अब त्यसलाई रोक्नको लागि के कस्ता कुरामा ध्यान दिनु पर्यो ? वंशाणुगत रुपमा आएको रोगलाई  रोक्न सकिँदैन तर नियन्त्रण गर्न सकिन्छ । तर सुगर हुनबाट रोक्नको लागि आफ्नो आहारलाई कन्ट्रोल गर्नुपर्छ । चिल्लो नखाने, सन्तुलित खाना खाने, कार्बोहाइड्रेट भएको भएको खाना कम खाने, प्रोटिनयुक्त खानेकुरा खाने, फ्याट कम खाने, फलफल खाने, सागपात खाने, पानी प्रशस्त पिउने, टाइममा सुत्ने, धेरै तनाव नलिने अनि आफ्नो वजन कन्ट्रोल गर्नुपर्छ । आफ्नो हाइट अनुसारको तौल नियन्त्रण गर्न सक्नुपर्छ । यो उत्तम उपाय पनि हो ।  सुगर औषधी खाँदा निको हुन्छ ? सुगरको औषधि खाँदैमा सुगर कन्ट्रोल हुने होइन । सुगरको औषधि खाएर पनि हामीले डाइटमा र शारीरिक व्यायाम गरेनौं भने नियन्त्रण गर्न गाह्रो हुन्छ  । सुगरको औषधिलाई काम गर्न दिन हामीले खानेकुरा र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।  अर्को कुरा सुगर लागिसकेपछि कन्ट्रोल हुने हो निको हुने होइन । सुगरलाई हामीले एउटा सर्टेन लेभल दायरामा राख्न सक्छौं त्यो हो नियन्त्रण । नियन्त्रण हो, निको होइन । भनेपछि एक पटक सुगर लागिसकेपछि निको हुँदैन ? सुगरको औषधि सुरु गरेको दुई–चार वर्षमा निको भए जस्तो देखिए पनि फेरि भइहाल्छ । सुगर लागिसकेका व्यक्तिले आफू प्रिपेर हुनुपर्यो कि म अब म निको हुदिनँ यसलाई नियन्त्रण गर्न सक्छु भनेर । मलाई सुगर लाग्यो– अब मेरो जिन्दगी छैन भन्ने सोच्ने होइन । हामीले खानपान, जीवनशैली तनाव कम र नियमित शारीरिक व्यायाम गर्ने हो भने २०–३० वर्ष पर धकेल्न सक्छौं । सुगर यस्तो रोग दिर्घरोग हो, जसलाई लिएर मैले औषधि खाइरहनु पर्छ भन्ने मनसाय तयार पार्नुपर्छ ।  यसको मतलब रोग लाग्नु भन्दा लाग्न नदिनै राम्रो भन्ने मनसाय हरेक नागरिकले बनाउनुपर्यो ?  रोग लाग्न नदिनु सबैभन्दा राम्रो । तर लाग्यो भने पनि निराश हुनु पर्दैन । ३० वर्षदेखि औषधि खाँदै आएका व्यक्तिले पनि अंग ड्यामेज नगरेर बसिरहेका छन् । त्यो भनेको सुगर कन्ट्रोल गरेर भएको हो । सुगर कन्ट्रोल गर्न सक्यो भने त्यो अंग ड्यामेज त रोक्न सकिन्छ । अल्टिमेटली हाम्रो उद्देश्यै त्यही हो । सामाजिक सञ्जालले गर्दा पनि पछिल्लो समय विभिन्न रोगहरु निम्त्यायो भन्ने लाग्छ कि लाग्दैन ? एकदम लाग्छ । अहिले व्यक्ति अरूसँग तुलना गरेर दुःखी हुन्छ । हामी टिकटक हेर्छौं राम्रो लगाएको छ, राम्रो गाडी चढेको छ, राम्रो ठाउँ घुमेको छ भने हामीलाई पनि त्यही रहर जाग्छ । यो गलत हो । आफूले आफैलाई हेर्ने हो– मेरो औकात के हो ? मेरो शिक्षा के छ ? मैले के गर्न सक्छु ? कति समय दिन सक्छु ? आदि । अरुसँग तुलना गर्दा आफूलाई उसअनुसार नपाउँदा मान्छेलाई तनाव हुन्छ । तनावले शरीरमा रोग निम्त्याउछ । अभिभावकले आफूलाई र आफ्नो बच्चालाई सुगर हुनबाट रोक्न अहिलेदेखि नै ध्यान दिनुपर्छ । आजभोलिका बच्चाहरूमा मोटोपनाको समस्या बढ्दै गइरहेको छ । सबैभन्दा पहिले अभिभावकले यतापट्टि ध्यान दिनुपर्छ । बच्चाहरूलाई मोटोपनबाट कन्ट्रोल गर्नु पर्छ । त्यस्तै, बच्चाहरूलाई जंकफुड दिने काम पूर्ण रूपमा बन्द गर्नुपर्यो । बच्चाहरूलाई बाहिरको खाने बानी बसाइसकेपछि घरको खाना मन पर्दैन । हामी आफैले जानीजानी रोग निम्ताइरहेका छौं । हामी नसर्ने रोगको जमानामा छौं, अबको भविष्य नसर्ने रोगको जमाना हो । नसर्ने रोग कन्ट्रोल गर्न हामीले आफैले आफूलाई ध्यान दिनुपर्छ ।     

जेनजी आन्दोलनले ध्वस्त बनेको सिप्रदीको शोरुम ७० दिनमै ठडियो, ग्राहकलाई थप परिष्कृत सेवा दिने दाबी

काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड अन्तर्गतको टाटा मोटर्सको थापाथलीस्थित मुख्य शोरूम ७० दिनमै पुन:निर्माण गरी सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कम्पनीले सोमबार (आज) रुद्री पूजा र होम गरेर शोरूमको औपचारिक उद्घाटन गरेको हो ।  सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका महाप्रबन्धक शावन्तजंग सिजापतिले आन्दोलनका क्रममा आफ्नो शोरूम र केही सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिए ।  उनले विकासन्युजसँग भने, ‘हामीले सन् २०१६ मा उद्घाटन गरेको यो शोरूम आन्दोलनका क्रममा नराम्ररी प्रभावित भयो । हाम्रा केही गाडी र हाम्रो मुख्य शोरूमको पूर्वाधारमा ठूलो क्षति भयो ।’ महाप्रबन्धक सेजापतिका अनुसार शोरूमको डिस्प्लेमा राखिएका ६ वटा विद्युतीय गाडी (ईभी) पूर्ण रूपमा जलेर खरानी भएका थिए भने अन्य दुईवटा गाडीमा तोडफोड गरिएको थियो । उनले क्षति बाबजुद एउटा सकारात्मक पक्ष पनि औंल्याए ।  बजारमा विद्युतीय गाडीको ब्याट्रीमा आगो लागे पड्किन सक्छ भन्ने भ्रम फैलिएकोमा जलेका ६ वटै विद्युतीय गाडीका ब्याट्रीमा कुनै बिस्फोट नभएको उनले बताए । यसले विद्युतीय गाडीको सुरक्षाबारेको भ्रम चिर्न मद्दत पुगेको उनको भनाइ थियो । गाडीबाहेक शोरूमको ८० प्रतिशत संरचनामा क्षति पुगेको थियो । क्षतिको बाबजुद ग्राहक सेवामा भने कुनै कमी आउन नदिएको सेजापतिले दाबी गरे ।  उनका अनुसार कम्पनीका वर्कशपहरू प्रभावित नभएकोले टाटाका गाडी प्रयोग गर्ने ग्राहकहरूले सर्भिसमा निरन्तरता पाएका थिए । बिक्रीतर्फ भने मुख्य शोरूममा क्षति पुगेपछि पछाडिको सानो खाली ठाउँमा अस्थायी शेल्टर बनाएर बिक्री सेवा दिइएको थियो ।   उनले अब नयाँ ढङ्गले सञ्चालनमा आएको शोरूमबाट पहिलेभन्दा राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए । कर्मचारीहरूको सुविधामा कुनै कटौती नभएको र उनीहरूलाई बिदा दिनु नपरेको सेजापतिले स्पष्ट पारे । ‘हामीले दुई दिनभित्रै अस्थायी शोरूमबाट काम सुरु गरिसकेका थियौं । हाम्रो काममा कुनै रोकतोक भएन । हामी त जहाँ बसेर पनि काम गर्छौं । तर ग्राहकलाई राम्रो अनुभव होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।  उनले शोरुममा आगजनी भए पनि आफूहरुको मनोबल नखस्किएको बताए । उनले अब थप ऊर्जावान बनेको सुनाए । उनले ४४ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएको सिप्रदी नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको र कमर्सियल गाडी तथा विद्युतीय गाडी दुवैमा हिस्सा राम्रो रहेको सुनाए ।  टाटा नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभी जस्ता मोडलको सफलताले कम्पनीलाई पहिलो नम्बर पुर्याएको उनको भनाइ छ । नयाँ शोरूममा ग्राहकका लागि छुट्टाछुट्टै लाउञ्ज र पहिलेभन्दा अझ ग्राहकमैत्री वातावरण सिर्जना गरिएको उनले बताए ।  सिजापतीका अनुसार भारतमा टाटा सिएराको पुनः लन्चको तयारी भइरहेको र त्यो गाडी नेपालमा पनि ल्याउने जानकारी दिए । सिप्रदीले नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा पुरस्कार प्राप्त गरेको र करिब ८०० स्थायी तथा १५०० अस्थायी कर्मचारीलाई रोजगारी दिएर राष्ट्र निर्माणमा योगदान गरिरहेको उनले उल्लेख गरे ।  हाल सिप्रदीसँग नेपालभर ३८ वटा डीसी फास्ट चार्जर रहेको र अहिले बजारमा पर्याप्त चार्जर उपलब्ध रहेकाले चार्जिङको समस्या त्यति नरहेको उनले बताए । ग्राहकको मागअनुसार आवश्यक परेका ठाउँमा चार्जिङ स्टेशन थप्न कम्पनी जहिले पनि तयार रहेको उनको भनाइ थियो ।  सेजापतिले पछिल्लो ७० दिनमा धैर्य धारण गरी अस्थायी शोरूममा आएका सम्पूर्ण ग्राहकहरूलाई टाटा मोटर्सको नयाँ शोरूममा स्वागत गर्न तयार रहेको बताए । सन् २०२२ देखि विद्युतीय सवारी (ईभी) मा आक्रामक बजार विस्तार गरिरहेको सिप्रदी नेपालमा सबैभन्दा धेरै ईभी बेच्ने कम्पनीका रूपमा चिनिन्छ । यो कम्पनी भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।  

‘तीन महिनाभित्र नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आउँछ’ {अन्तर्वार्ता}

देशकै ठूलो र पहिलो सुरुङमार्ग हो नागढुङ्गा सुरुङमार्ग । जसलाई नेपाल सुरुङ प्रवेशको ढोकाका रुपमा लिन सकिन्छ । जसको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय उक्त सुरुङमार्ग आम नागरिकको चासोको विषय बनेको छ । जबकी हरेकको प्रश्न छ, सुरुङमार्गमा कहिलदेखि गाडी गुड्छन् ? उसो त जेनजी आन्दोलनपछि बनेको सरकारले चाडपर्वको समयमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै दशैंअघि परीक्षणको रूपमा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको थियो । जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि दशैंअघि सञ्चालन गर्न निर्देशन दिइएका थिए । तर, दशैं मात्रै होइन, तिहार र छठ सकिँदा पनि यो सुरुङमार्ग सञ्चालनमा आउन सकेन । सुरुङमार्गको प्रगति र सञ्चालनको तयारी लगायत विषयमा विकासन्युजका लागि नरेन्द्र विष्टले नागढुङ्गा सुरुङमार्गका आयोजना प्रमुख सौजन्य नेपालसँग कुराकानी गरेका छन् ।  नागढङ्गा सुरुङमार्ग कहिले सञ्चालन होला भन्ने चासो र प्रतिक्षा धेरैको छ, अहिलेसम्म किन सञ्चालन हुन सकेन, प्रगति के कस्तो भइरहेको छ ? अहिले नागढुङ्गा सुरुमार्गभित्रका सबै पूर्वाधारहरुको काम सम्पन्न भइसकेको अवस्था छ । पूर्वपट्टि बलम्बु फ्लाइओभरको काम पनि सम्पन्न भएर एप्रोच सडकमा ट्राफिक सेफ्टी लगायत सडक पार्किङका कामहरु सञ्चालन भइरहेका छन् । पश्चिमपट्टि दुइटा टोलबुथ निर्माण गर्ने काम सम्पन्न भएको छ । त्यहाँ मुख्य भूस्खलन (ल्यान्डस्लाइड) पश्चिमी प्रवेशद्धारभन्दा बाहिरपट्टि त्रिभुवन राजपथतर्फ पहिरो परेका कारण जोखिम घटाउने काम गरिसकेका थियौ । तर फेरी यस वर्षको वर्षादले पहिरो गएको थियो । उक्त पहिरोलाई नियन्त्रण गर्यौं । मनसुन र वर्षादको तीव्रता अनुसार ग्राउन्ड मुभमेन्ट कति छ भनेर मनिटरिङ गरिसकेपछि हाल थप केही सुरक्षा कामहरु गर्ने तयारी गर्दैछौं । हालसम्म ९८ प्रतिशतभन्दा बढी भौतिक प्रगति सम्पन्न भइसकेको छ भने पश्चिमपट्टिको पोर्टलमा तीन वटा सवारी लेन निर्माण गर्न बाँकी छ । त्यसमा अहिले काम भइरहेको छ । पहिरो गएको ठाउँमा पनि काम गर्न बाँकी छ ।  सुरुङ मार्गभित्र गर्नुपर्ने सुरक्षा, भौतिक र प्राविधिक काम सम्पन्न भइसकेको हो ?  सुरुङमार्गमा २.३ किलोमिटरको एप्रोच सडक हो । पूर्वपट्टि बलम्बुबाट छिरेपछि २.३ किलोमिटरको एप्रोच सडक हुँदै पूर्वी पोर्टलमा पुग्छौं । पूर्वी पोर्टलबाट छिरेपछि २.६८८ किलोमिटरको सुरुङमार्गमा यात्रा गरिसकेपछि बाहिर पश्चिम पोर्टल धादिङको धुनिवेशी नगरपालिकामा पुगिन्छ । यसरी आयोजनाको करिब ५.५ किलोमिटर कार्यक्षेत्र रहेको छ । पश्चिमपट्टि ५०० मिटर थप एप्रोच सडक साविकको त्रिभुवन राजपथमा पनि सुरुङमार्गबाट निस्केपछि सवारी साधनका लागि थप काम गरेका छौं । त्रिभुवन राजपथमा सुरुङमार्ग २.६८८ र एप्रोच सडक करिब २.८ किलोमिटर सुरुङमार्गको कार्यक्षेत्र पर्दछ ।  नेपालमा सुरुङमार्ग निर्माण गर्न के-कस्तो चुनौती भोग्नु पर्यो ? टनेलिङ मेथोडोलोजी न्यू अस्ट्रियन टनेलिङ मेथड अथवा जसलाई प्राकृतिक भू–सामग्रीलाई आफ्नै संरचनात्मक क्षमता प्रयोग गरी सुरुङ निर्माण गर्ने आधुनिक टनेलिङ प्रविधि भनेर भनिन्छ । यो सामान्य हिसाबले ड्रिल गर्ने, ब्लास्ट गर्ने र अगाडि बढ्ने टनेलिङ मेथोडोलोजीमा आधारित रहेर टनेलिङ कार्य अगाडि बढाएका हौं । यसमा टनेल बोरिङ मेसिन जसरी सिंचाइ र हाइड्रोपावरमा प्रयोग हुन्छ । तर, यसमा लामो–लामो टनेलहरुमा प्रयोग हुने टनेल बोरिङ मेसिनको प्रयोग भएको छैन । जुन एनएटीएम प्रविधि न्यू अस्ट्रियन टनेलिङ मेथडबाट हामीले सुरुङ निर्माण कार्य अगाडि बढाएका हौं ।  मुख्य रूपमा नेपालको भौगोलिक भूगर्भीय अवस्थाले गर्दा डिजाइन गरेकोभन्दा केही फरक स्वेल टाइपहरु टनेलिङ क्रियाकलापहरु गर्दै जमिनभित्र केही फरक प्रकृतिका स्वेलहरु अथवा रकहरु आएको कारण हामीले डिजाइन गरेकोभन्दा फरक निर्माण संरचना प्रयोग गर्नुपर्ने अवस्था आयो । तर, केही मेथड चेन्ज भए पनि समग्रमा कठिनाई पार गरेर जानु पर्यो भन्ने अवस्था आएन । केही कठिनाई भए पनि त्यसलाई सुरुङको हिसाबबाट सहज रूपमा नै निर्माण सम्पन्न गरेका छौं ।  सुरुङमार्गको सुरक्षा मापदण्ड अन्तर्राष्ट्रियस्तरसँग हामीले कसरी तुलना गर्न सक्छौं ? अर्थात् भित्रतिर आपत्कालीन निस्कने बाटो र सुरक्षा उपकरणहरुको व्यवस्था कस्तो बनाइएको छ ?  यो सुरुङमार्ग यस्तो सुरुङ हो जसबाट दुई दिशामा यातायात वा आवागमन सम्भव छ । मुख्य सुरुङमार्गमा सवारीसाधन गुड्ने दुई लेन छन् । दुई लेनमा पनि विपरीत दिशा आउने र जाने दुवै दिशामा यात्रा गर्न सकिनेछ । यदि सुरुङभित्र केही आपत्कालीन अवस्था सिर्जना भयो भने उद्धार कसरी गर्ने, सुरक्षित स्थानमा कसरी सार्ने, एकै पटक विभिन्न बाटोहरू कसरी प्रयोग गर्ने लगायत यी समस्याको समाधानका लागि हामीले सुरुङभित्र नै निर्माण गरेका छौं । त्यहाँ मुख्य सुरुङमार्गको जस्तो पूर्वाधारहरु छैन् । लाइटिङ पनि कम छ । भेन्टिलेसनको सिस्टम छैन । यसलाई पूर्ण रूपमा आपत्कालीन अवस्थामा मात्रै उद्धार कार्यका लागि प्रयोग गर्छौं । मुख्य सुरुङ दुई लेनको छ । टनेलभित्र दुई–दिशामा गाडी चल्ने र बाटो छुट्याउन वस्तु अर्थात डिभाइडर राखेका छौं । यो १.५ मिटर जति सानो छ । डिभाइडर रिजनमा उठेको हुँदैन । जहाँ खाली सर्फेस फ्लस भएर डिभाइडर हुन्छ । यसलाई  निश्चित आधारमा छुट्याइएको छ । यसकारण आपतकालीन अवस्थामा यो सुरुङ प्रयोग गरेरभित्र केही उद्धार गर्नु पर्यो भने मात्रै प्रयोग गरिन्छ ।  स्थानीय बासिन्दाको पनि त्यहाँ विवाद छ, बीचमा निर्माण कार्य प्रभावित पनि भयो, स्थानीय बासिन्दाहरुको क्षतिपूर्तिको व्यवस्था कसरी गर्नुभयो ? सुरुङमार्ग वरिपरि रहेका स्थानीयहरुका केही मागहरुका कारण आयोजना केही समय प्रभावित हुन पुग्यो । यसमा स्थानीयहरुका विभिन्न मागहरु छन् । त्यस क्षेत्रमा बसोबास गर्ने स्थनीयहरुको मुख्य माग सुरुङमार्गका कारण पानीका मुहानहरु सुकेका र पानीको व्यवस्थापन गरिनुपर्ने थियो । जुन हाल त्यसका लागि आयोजनाले छुट्टै इनारहरु खनेर नियमित पम्पिङ सिस्टमबाट स्थानीयको घरघरमा पानी पुरÞ्याउने व्यवस्था गरिरहेको छ । यो अझै पनि सञ्चालनमा छ । आयोजना सम्पन्न भइसकेपछि त्यसलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा हामी छौं ।  यसैगरी त्यसमा थप राइट अफ वे अधिकरण गर्ने बेलामा सुरुङमार्गको ५० मिटर खण्डमा सम्पूर्ण लम्बाई हामीले जग्गा अधिकरण गर्नुपरेको अवस्था थियो । त्यसमा मुआब्जा वितरणको कार्यहरु लगभग सम्पन्न भइसकेका छन् । अब केही छिटपुट मात्रै बाँकी छन् । त्यो पनि बाँकी समस्या भएर रहेको होइन । केही जग्गा धनीहरुले कागजातहरु पेश नगरेको कारण रोकिएको हो । फ्लाइओभरतर्फ पनि सबै जग्गा अधिकरण लगायतको कार्यहरु सम्पन्न भइसकेको छ । कतिपय स्थानीयहरुको पश्चिमतर्फ र पूर्वतर्फ केही कृषि उपज जमिन क्षति भयो भनेर मागदाबी गरिएको थियो । त्यो विषयमा पनि नेपाल सरकारबाट निर्णय भएअनुसारले हामीले क्षतिपूर्ति वितरण गरिसकेका छौं । टनेलिङ गर्दागर्दै टनेलभन्दा माथि केही घरहरुमा क्षति भयो भनेर पनि स्थानीयहरुले केही समय अवरोध सिर्जना गरेका थिए । त्यसमा हामीले उहाँहरुको मागलाई सम्बोधन गर्ने प्रक्रियामा छौं । अहिले अधिकांश मागहरु सम्बोधन भइसकेको अवस्था छ । स्थानीयहरुले केही मागहरु फेरी राख्नुभएको छ । त्यसका लागि पनि नियमित छलफल गरिरहेका छौं । आयोजनाको तर्फबाट ती मागहरु पुरा गर्ने तर्फ नै हामी फोकस गरिरहेका छौं भने यसमा भौतिक मन्त्रालय र सडक विभागसँग पनि नियमित परामर्श र छलफलमा छौं ।  स्थानीयहरुले राखेका मागहरु के-के हुन् ?  अहिले स्थानीयहरुले केही छिटपुट क्षतिपूर्तिहरु र मुआब्जा रकममा चित्त नबुझेका विषयहरुलाई लिएर विभिन्न माग गरिरहनुभएको छ । अर्को आयोजनाले बनाइदिएको वाटर सप्लाई आयोजना सम्पन्न भइसकेपछि त्यसलाई दिगो सञ्चालन गर्नका लागि मोडालिटी के कस्तो हुन्छ ? के कसरी कुन बाटोमा सञ्चालन हुन्छ, भन्ने विषय उहाँहरूको छ । यो विषयमा पनि हामी नगरपालिकासँग छलफलमा गरिरहेका छौं । मुआब्जा र क्षतिपूर्तिको विषयमा पनि नेपाल सरकारले गर्नुपर्ने निर्णयहरू सम्पन्न भइसकेका छन् । केही घरहरुमा क्षति भएको भन्ने थियो । क्षति भएको विषयमा हामीले उहाँहरुलाई दिनुपर्ने उचित क्षतीपूर्तिको विषयमा निर्णय गरिसकेका छौं । जुन त्यो वितरणको प्रक्रियामा छ । अधिकांश मागहरु समाधान उन्मुख छन् भने केही समाधान हुन बाँकी छन् । जुन नियमित छलफल गरेर समाधान गर्ने प्रयास गरिरहेका छौं ।  सुरुङमार्ग दशैंभन्दा अगाडि नै सञ्चालनमा आउने भनिएको थियो, तर आउन सकेन । अब कहिलेदेखि सञ्चालनमा आउँछ ? सुरुङमार्ग सम्पन्न भइसकेपछि सुरक्षित रूपमा यात्रुहरूलाई यहाँबाट पास गराउनका लागि योग्य, सक्षम, दक्ष तथा अनुभवी सेवा प्रदायक आवश्यक पर्ने हुन्छ । जहाँ आगो लाग्ने अवस्थालाई नियन्त्रण गर्ने, निभाउने, र आगोको फैलावट रोक्ने प्रक्रिया अर्थात् फायर फाइटिङको कामहरु गर्नुपर्ने हुन्छ । भेन्टिलेसनभित्र सञ्चार गर्ने अर्थात् इन्टरनल कम्युनिकेसन नेटवर्कहरु सञ्चालन गर्नुपर्ने हुन्छ । आपत्कालीन अवस्थामा उद्धारदेखि टोल संकलनसम्मका कार्यहरु गर्नका लागि हामीले अन्तर्राष्ट्रिय अनुभवी सर्भिस प्रोभाइडर सेवाप्रदायक छनोट गरेर सुरुङमार्ग सञ्चालन गर्नुपर्छ भन्ने निर्णयमा पुगेका छौं । त्यसको लागि बोलपत्र आह्वान भइसकेको छ । जसमा नेपाली कम्पनी, परामर्शदाता तथा निर्माण व्यवसायीसँग सुरुङमार्ग सञ्चालन गरेको अनुभव छैन । त्यसकारण सुरुङमार्ग सञ्चालन लागि ५ वर्षेको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् अनुभवी कम्पनीहरुको हामीले बोलपत्र आह्वान गरेका छौं ।  तर, यसमा नेपाली बोलपत्रदाताहरुसँग उहाँहरुले जोइन्ट भेन्चरमा बिड हाल्नपर्ने प्रावधान राखेको छौं । जसले गर्दा नेपाली जनशक्तिमा पनि सुरुङ सञ्चालनको अनुभव प्राप्त होस् । नेपाली बिडरहरु पनि त्यसमा अनुभवी हुन् भन्ने हाम्रो मनसाय हो । अब यसको प्रक्रिया करिब ४५ दिनको सूचना हुन्छ । सूचना हामीले गत हप्ताको आइतबार निकालेका छौं । अब डिसेम्बरको १७ मा बोलपत्र खोल्छौं । त्यसपश्चात् मूल्यांकन गरेर छनोट भएको योग्य सेवा प्रदायकलाई परिचालन गर्नलाई वर्कआउट दिन्छौं र त्यसपछि फुल्ली उहाँहरु मोबिलाइज भइसकेपछि मात्रै सार्वजनिक रुपमा सञ्चालन गर्ने तयारी छ ।   उसो त हाल सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भनेर आम जनताको चासोको विषय छ । सवारी साधनहरुलाई सुरुङ मार्गबाट सुरक्षित रूपमा आगमन हुने सुनिश्चित गर्नका लागि योग्य सेवा प्रदायक परिचालन गर्नुपर्ने हुन्छ । त्यसको हामी प्रक्रियामा छौं । योग्य सेवा प्रदायक परिचालन भइसकेपछि मात्रै सवारी साधनहरुलाई सार्वजनिक रूपमा सुरुङबाट पास गराउने तयारी रहको छ । यो बीचमा सुरुङभित्रका सबै सुविधाहरुले राम्ररी फङ्सन गरेका छन् कि छैनन् । सीमित मात्रामा ट्रायल गर्न सकिन्छ कि भनेर हाल छलफल गरिरहेका छौं । तर पब्लिक्ली ओपन हुने सेवाप्रदायक फुल्ली मोबिलाइज भइसकेपछि मात्रै हो । त्यो भनेको करिब अबको तीन महिना समय लाग्छ । यो सञ्चालनका लागि वार्षिक ३० करोड खर्च हुने अनुमान हाम्रो छ ।  यसका लागि छनोट प्रक्रिया कसरी गर्नुहुन्छ, योग्यता के-कस्तो राख्नु भएको छ ?  हाम्रो मुख्य उद्देश्य भनेको सुरुङमार्ग सञ्चालन गरेको अनुभवी सेवा प्रदायक छनोट होस् भन्ने हो । जुन बोलपत्रमा स्पष्ट खुलाएका छौं । सेवा प्रदायक बिडरले यसअघि नै तीन वर्ष कुनै एउटा रोड टनेल सञ्चालन गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । जसमा हाम्रो सुरुङमार्गसँग मिल्दोजुल्दो करिब १६०० मिटर लम्बाइको सुरुङमार्ग १ वर्ष सञ्चालन गरिसकेको अनुभव हुनुपर्नेछ भनेर हामीले अनुभव क्राइटेरियामा त्यसलाई मेन्सन गरेका छौं । नेपाली बोलपत्रदाताहरुले पनि त्यसमा सहभागी हुन सक्नुहुन्छ । उहाँहरुलाई सुरुङमार्ग सञ्चालन गरेको अनुभव आवश्यक पर्ने छैन । उहाँहरुले न्यूनतम काम गरेको र यति बराबरको वार्षिक टर्नओभर भएको विवरण पेश गर्नुभयो भने उहाँहरु योग्य हुनुहुन्छ । यो बाट विभिन्न फर्महरुले जसले बोलपत्र पेश गर्नुहुन्छ, उहाँहरुको हामीले मूल्यांकन गर्छौं । त्योमध्येबाट हामी योग्य बोलपत्रदाता छनोट गर्छौँ ।  सुरुङमार्ग सञ्चालनका लागि कति जनशक्ति आवश्यक पर्छ ?  सुरुङमार्ग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसकारण करिब १५० जनाको जनशक्ति हामीले इस्टिमेट गरेका छौं । यो भनेको २४ सै घण्टा कुनै एउटा काम गर्न पर्यो ८ घण्टाको शिफ्टमा भने त्यो एउटा पार्टिकुलर काम गर्नलाई ४ जना जनशक्ति आवश्यक पर्ने जस्तो देखिएको छ । किनभने श्रम लेबर एक्ट अनुसार पनि वार्षिक हप्तामा गर्नुपर्ने १ जना व्यक्तिले गर्ने वर्किङ आवरभन्दा बढी खटाउन नमिल्ने भएको भएर यसले गर्दा संख्या धेरै देखिएता पनि एक शिफ्टमा ८ घण्टाको एक शिफ्टमा काम गर्ने त्यहाँ परिचालित हुने जनशक्ति धेरै हुँदैनन् । त्यसकारण जम्मा जनशक्ति करिब १५० जना लाग्ने हामीले अनुमान गरेका छौं ।  आयोजनाले सडक जाम र वातावरण प्रदूषण घटाउन सुरुङमार्गले कस्तो प्रभाव पार्ने अपेक्षा गरिएको छ ?  सुरुङमार्ग बनिसकेपछि नागढुङ्गा नौबिसे खण्डमा भोग्नुपरिरहेको सवारी जामको समस्या, प्रदूषण र भारी सवारी साधनहरु बीचमा बिग्रेर हुने लामो सवारी जामबाट मुक्त हुन्छौं, भन्ने हामीले अपेक्षा गरेका छौं । यसले साना सवारीसाधनहरुलाई १० देखि १५ मिनेट र ठूला सवारी साधनहरुमा करिब २७ मिनेटदेखि ३० मिनेटसम्मको समय बचत गर्छ भन्ने हाम्रो एक्सपेक्टेसन छ । त्यसैका आधारमा हामीले उहाँहरुलाई प्राप्त हुने मेन्टेनेन्स कस्ट, फ्यूल कस्ट र समयको बचतको आधारमा टोल पनि त्यसैको आधारमा हिसाब गरेर प्रस्ताव गरेका छौं । ठूला सवारीसाधनहरुको हकमा महँगो ६०० रुपैयाँ छ । पश्चिमबाट पूर्वतर्फ आउँदा भने साना सवारीसाधनको हकमा ६५ रुपैयाँ तोकेका छौं । जुन यो नेपाल सरकारबाट स्वीकृत भइसकेको छ । सुरुङमार्ग सञ्चालनमा आइसकेपछि यो दररेट लागु हुनेछ ।  नागढुङ्गा सुरुङ मार्गबाट सवारी साधन सञ्चालन गर्ने सम्बन्धी निर्देशिका यातायात व्यवस्था विभागबाट स्वीकृत भइसकेको छ । त्यसमा उल्लेख भएअनुसार यो सुरक्षाको कारणले विशेषगरी दुईपाङ्ग्रे सवारी साधनलाई सुरुङमार्गबाट पास नगराउने भनेर निर्देशिकाले निषेध गरेको छ । त्यसमा पेट्रोलियम पदार्थ बोकेका र नियमानुसार बोक्नुपर्नेभन्दा ठुला सवारीसाधन बोकेर प्रवेश गर्न खोज्ने सवारी साधनहरुलाई हामीले निषेध गरेका छौं । त्योबाहेक अरु सबै सवारी साधन र चारपाङ्ग्रे ट्रकदेखि बस, माइक्रो भ्यानलगायत सबै सवारी साधनहरु सुरुङबाट पास गर्न पाउनेछन् ।  सुरुङमार्ग सञ्चालनमा आइसकेपछि व्यवस्थापन कसरी गर्ने योजना छ ?  सुरुङमार्गको व्यवस्थापन बोलपत्रबाट छनोट गर्ने सेवाप्रदायकले नै अप्रेसन एन्ड मेन्टेनेन्स गर्नुहुन्छ भन्ने हाम्रो एक्सपेक्टेसन हो । त्यसको नियमित मनिटरिङ नेपाल सरकारको तर्फबाट सडक विभाग र नागढुङ्गा सुरुङमार्ग आयोजनाबाट हुनेछ । उहाँहरुले गर्नुपर्ने न्यूनतम दायित्व कसरी फुलफिल गरिरहनु भएको छ ? सवारी साधनहरु त्यहाँ सुरक्षित रूपमा आवतजावत भइरहेको छ की छैन ? ट्राफिक फ्यासिलिटिज कसरी फङ्सन गरिरहेको छ भन्ने सबै कुराहरु सडक विभागको तर्फबाट मनिटरिङ हुन्छ । टोल संकलनको सन्दर्भमा सडक बोर्ड नेपालबाट नियमित अनुगमन मनिटरिङ हुनेछ । सुरुङभित्र सञ्चालन र व्यवस्थापन गर्ने र मर्मत सम्भार गर्ने जिम्मा सञ्चालन गर्ने सेवाप्रदायकको हुन्छ । त्यसरी नै हामीले तयारी गरिरहेका छौं ।  यसलाई नेपालकै पहिलो र ठूलो सुरुङमार्ग भनिएको छ, आगामी दिनहरुमा  बन्ने सुरुङमार्गका लागि नेपालका इन्जिनियरहरुका लागि के सिकाइ बन्यो ? पक्कै पनि यो नेपालकै पहिलो सुरुङमार्ग र सडक आधुनिक सुरुङमार्ग हो । यसबाट नेपालले सुरुङमार्गको युगमा प्रवेश गरेको भनेर भन्न सकिन्छ । यसले अन्य सुरुङहरुको निर्माण र सञ्चालनका लागि ढोका खोलेको छ । हाल सिद्धबाबा सुरुङमार्ग पनि ब्रेकथ्ररू भएर भित्र अन्य फ्यासिलिटिजहरु जडानको काम भइरहेको छ ।  फास्ट ट्रयाकमा ७ वटा सुरुङमार्गहरु निर्माण भइरहेका छन् । यसले पक्कै पनि नेपालमा सुरुङमार्ग सम्बन्धी विशेषज्ञहरु इन्जिनियरहरुलाई विशेष अनुभव प्रदान गरेको छ । जबकी नेपालीले विदेशी विज्ञहरुबाट कामहरु सिकेर सुरुङमार्ग निर्माण गर्न तथा छिट्टै भविष्यमा निर्माण गर्न सक्छौं । विदेशीहरुको मात्रै सहयोग लिएर मुख ताकेर बस्नुपर्ने अवस्था रहने छैन भन्ने अनुभव नागढुङ्गा सुरुङमार्गले आशा जगाएको छ । यसले नेपाली प्राविधिकलाई एउटा खुला किताब जस्तो अनुभव लिनका लागि ठूलो टेवा पुरÞ्याउनेछ भन्ने अपेक्षा लिएका छौं ।  तपाईंलाई आयोजना प्रमुखको हैसियतले यो परियोजनाको सबैभन्दा ठूलो उपलब्धि के हो जस्तो लाग्छ ?  विशेषगरी राजधानी काठमाडौं छिर्ने नाका जहाँ ८ हजारदेखि १० हजार सवारी साधन दैनिक आवतजावत गर्छन्, त्यस्तो नाकामा एउटा सुरुङमार्ग निर्माण भएको छ । यसले काठमाडौं छिर्ने सवारी साधनहरुलाई केही सहजतासँगै समयको बचत उपलब्ध गराउनेछ । यसैगरी यसले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रमा केही टेवा पुरÞ्याउनेछ । मेन्टेनेन्स र फ्यूलको नाममा हुने खर्चमा केही रिडक्सन हुनेछ । नागढुङ्गा सुरुङमार्ग हुँदै कुनै तरकारीको बोकेको सवारी साधन पास भएका छन् भने तरकारीको रुपैयाँ दुई पैसामा पनि सस्तो हुनेछ भन्ने आशा दिएको छ । यसले अन्य ठाउँहरुमा पनि हामीले सुरुङमार्ग जस्ता पूर्वाधार बनाएर नेपालको सडक सञ्जाललाई दिगो, सुरक्षित र छोटो भरपर्दो मात्रै बनाउन सकिन्छ भन्ने एउटा योजनाको टूल प्लानिङको रुपमा पनि नागढुङ्गा सुरुङमार्गलाई लिन सकिन्छ । आयोजना निर्देशक तथा प्रमुखको हैसियतले म अब छिट्टै पब्लिकलाई ओपन हुनेछ भन्ने जानकारी सबै आम नागरिकहरुलाई गराउन चाहान्छु ।  अन्त्यमा नेपाली इन्जिनियरिङ र पूर्वाधार विकासका लागि यस परियोजनाले मुख्य दिन खोजेको सन्देश के हो ? यसमा नेपाली प्राविधिकहरु पनि धेरै जना जोडिनुभएको छ । विदेशी परामर्शदाता र विदेशी निर्माण व्यवसायीले निर्माण गरेको भएता पनि यहाँ सुरुङमार्गसँग निर्माण गर्ने अन्य सबकन्ट्र्याक्टरहरु विदेशी कम्पनीहरुमा काम गर्ने अन्य इन्जिनियरहरु पनि नेपाली प्राविधिक हुनुहुन्छ । यसले नेपाली सुरुङको क्षेत्रमा विशेषगरी रोड टनेलको निर्माण र अहिले मर्मत सम्भार सञ्चालनको क्षेत्रमा एउटा नयाँ अनुभव प्रदान गर्नेछ । यसले अरु टनेलहरुमा हामीलाई सहयोग हुनेछ भन्ने हामीले आशा लिएका छौं ।