गर्भवती महिलाले कम्तीमा एकपटक मिडवाइफसँग परामर्श लिनुपर्छ

सुरक्षित मातृत्व, सामान्य प्रसूति र नवजात शिशुको स्वास्थ्यमा महत्वपूर्ण योगदान दिन सक्ने मिडवाइफको आवश्यकता बढ्दै जाँदा पनि धेरै नेपाली अझै किन मिडवाइफबारे अनविज्ञ छन् ।  नेपालमा मिडवाइफ उत्पादन हुन थालेको पाँच वर्ष बितिसकेको छ । तर सरकारी स्वास्थ्य प्रणालीमा अझै पर्याप्त दरबन्दी नहुँदा उनीहरूको भूमिका अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । यिनै विषयमा नेपाल मिडवाइफ्री सोसाइटीकी सचिव  अर्थात् मिडवाइफ सविता खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :   सरल भाषामा मिडवाइफबारे बताइदिनूहोस् मिडवाइफ भनेको गर्भावस्था, प्रसूति, सुत्केरी अवस्था, नवजात शिशुको हेरचाह तथा परिवार नियोजनलगायत यौन तथा प्रजनन स्वास्थ्य सेवामा विशेषज्ञता हासिल गरेको दक्ष स्वास्थ्यकर्मी हो । नेपालमा ब्याचलर इन मिडवाइफ्री साइन्स, बीएससी मिडवाइफ्री वा पीसीएल मिडवाइफ्री अध्ययन पूरा गरी नेपाल नर्सिङ काउन्सिलमा ‘रजिष्टर्ड मिडवाइफ’का रूपमा दर्ता भएपछि मात्र मिडवाइफका रूपमा काम गर्न पाइन्छ । नेपालमा दक्ष प्रसुतिकर्मी त ट्रेनिङ लिएको र कोर्स नै पुरा गरेका छन् ।  तालिम लिएका र तपाईंहरूजस्तै कोर्स पुरा गरेका मिडवाइफमा अन्तर चाहिँ के हुन्छ ? तालिम लिएर प्रसूति सेवा दिने स्वास्थ्यकर्मीलाई ‘स्किल बर्थ एटेन्डेन्ट .(एसबीए) भनिन्छ । तर मिडवाइफ भने विशेष मिडवाइफ्री शिक्षा पूरा गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको छुट्टै स्वास्थ्य व्यवसाय हो । एसबीए एउटा सीप हो भने मिडवाइफ आफैमा एउटा छुट्टै पेशागत विधा हो ।  जस्तै, चिकित्सा क्षेत्रमा एमबीबीएस र बिडीएस फरक विधा हुन्, त्यसैगरी नर्सिङ र मिडवाइफ्री पनि फरक–फरक पेशागत विधा हुन् । नर्सिङ र मिडवाइफबीचको फरक के-के हुन् ? नर्सिङ र मिडवाइफ्री दुवै स्वास्थ्य सेवा क्षेत्रका महत्त्वपूर्ण विधा भए पनि दुवैको अध्ययन र कार्यक्षेत्र फरक छन् । नर्सिङमा स्नातक तहसम्म सामान्य (जनरल) नर्सिङ वा बीएससी नर्सिङ अध्ययन हुन्छ भने स्नातकोत्तर तहमा महिला स्वास्थ्य, मेटर्निटी हेल्थलगायत विभिन्न विषयमा विशेषज्ञता लिन सकिन्छ । ती विशेषज्ञ नर्सहरूले पनि प्रसूति तथा मातृ स्वास्थ्यसँग सम्बन्धित केही मिडवाइफ्री सीप प्रयोग गर्छन् ।  तर मिडवाइफ्री भने प्रवेशदेखि अध्ययन पूरा नहुन्जेलसम्म पूर्ण रूपमा गर्भावस्था, प्रसूति, सुत्केरी अवस्था, नवजात शिशुको हेरचाह तथा यौन र प्रजनन स्वास्थ्यमा केन्द्रित विषय हो । त्यसैले मिडवाइफको सम्पूर्ण अध्ययन र अभ्यास महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित सेवामै केन्द्रित हुन्छ। मिडवाइफको भूमिका के हो ? गर्भावस्थादेखि प्रसूति, सुत्केरी अवस्था र स्तनपान व्यवस्थापनसम्म मिडवाइफको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । तर नेपालमा यी अधिकांश सेवा अझै पनि चिकित्सकहरूले नै दिइरहनुभएको छ । युरोपेली मुलुकहरू, विशेषगरी बेलायतमा, कुनै महिला गर्भवती भएपछि सबैभन्दा पहिले मिडवाइफसँग भेट हुन्छ । मिडवाइफले गर्भवती महिलाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी कुनै जटिलता छ कि छैन भन्ने पहिचान गर्छ । समस्या नभए गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मको सम्पूर्ण हेरचाह, परामर्श र फलोअप मिडवाइफले नै गर्ने हो । यदि कुनै जटिलता देखिएमा स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) कहाँ रिफर गरिन्छ र चिकित्सकको उपचार योजनाअनुसार मिडवाइफले निरन्तर सेवा प्रदान गर्नुहुन्छ । नेपालमा पनि यही मोडल विस्तारै विकास हुँदै गएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस्तो सेवा सुरु भइसकेको छ र आगामी दिनमा अन्य अस्पतालहरूमा पनि मिडवाइफ–नेतृत्वको सेवा विस्तार हुने अपेक्षा गरिएको छ । तपाईंहरूलाई बिरामीले अर्थात् गर्भवतीहरूले कत्तिको चिन्छन् ?  नेपालमा मिडवाइफ्री नयाँ स्वास्थ्य व्यवसाय भएकाले धेरै गर्भवती महिला र सर्वसाधारण अझै पनि मिडवाइफको भूमिका र सेवाबारे पूर्ण रूपमा जानकार छैनन् । नेपालमा मिडवाइफ्री शिक्षा सन् २०१६ मा काठमाडौं विश्वविद्यालय (केयू) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट सुरु भएको हो भने सन् २०२० देखि मिडवाइफहरू नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएर व्यावसायिक रूपमा सेवा दिन थालेका हुन् । त्यसैले मिडवाइफ के हो र उनीहरूले के–कस्ता सेवा दिन्छन् भन्ने विषयमा हामी अझै पनि जनचेतना र पैरवी (एडभोकेसी) गरिरहेका छौं । तर जहाँ–जहाँ मिडवाइफले प्रत्यक्ष सेवा दिइरहेका छन्, त्यहाँका गर्भवती महिला र परिवारले हाम्रो भूमिका राम्रोसँग बुझ्न थालेका छन् र उनीहरूमार्फत यो परिचय विस्तारै समुदायसम्म फैलिरहेको छ । तपाईं आवद्ध संस्थाले मिडवाइफलाई चिनाउन के–कस्ता काम गरिरहेको छ ? म मिडवाइफ्री सोसाइटी अफ नेपालको सचिवका रूपमा कार्यरत छु । हाम्रो संस्था नेपालमा मिडवाइफहरूको हक–हित, पेशागत विकास र पहिचानका लागि निरन्तर काम गरिरहेको छ । साथै मिडवाइफहरूको ज्ञान र सीप अभिवृद्धि गर्दै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवा प्रवद्र्धन गर्नु संस्थाको मुख्य उद्देश्य हो । स्वस्थ आमा र स्वस्थ शिशु सुनिश्चित गर्न मिडवाइफको भूमिकालाई सशक्त बनाउने, जनचेतना फैलाउने र नीतिगत पैरवी गर्ने काम पनि संस्थाले गरिरहेको छ । अस्पताल पुगेका महिलाहरूले तपाईंलाई खोज्नुहुन्छ कि चिकित्सकलाई ?  चिकित्सक र मिडवाइफको भूमिका फरक–फरक भए पनि दुवैले टोली (टिम) का रूपमा काम गर्छन् । तर नेपालमा मिडवाइफ सेवा अझै सबै अस्पतालमा विस्तार हुन नसकेको र धेरैलाई यसबारे जानकारी नभएकाले अस्पताल आउने अधिकांश महिलाले सुरुमा चिकित्सकलाई नै खोज्ने गर्छन् । तर एकपटक मिडवाइफबाट सेवा लिएका महिलाहरू भने अर्को पटक अस्पताल आउँदा हामीलाई नै खोज्नुहुन्छ ।  उहाँहरूले आफ्नो सकारात्मक अनुभव अरू महिलासँग पनि साझा गर्नुहुन्छ, जसका कारण नयाँ सेवाग्राहीहरू पनि मिडवाइफको सेवा लिन आउन थालेका छन् । उदाहरणका लागि, थापाथली अस्पतालमा कार्यरत दुई जना मिडवाइफले दैनिक करिब १० देखि १२ जना महिलालाई सेवा दिइरहनुभएको छ र त्यहाँका धेरै महिलाहरू पुनः आउँदा पनि मिडवाइफलाई नै खोज्ने गरेका छन् । तपाईंले पनि ६ वर्षजति मिडवाइफको रूपमा काम गर्नुभएको छ, अनुभव कस्तो रह्यो त ?  म मिडवाइफ पासआउट हुनेबित्तिकै कर्णालीमा सेवा गर्न पुगेँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्दा त्यहाँको अवस्था काठमाडौंभन्दा निकै फरक थियो । चिकित्सकको संख्या सीमित भएकाले अस्पताल आउने अधिकांश गर्भवती महिलाको प्रारम्भिक जाँच, परामर्श र प्रसूति व्यवस्थापन मिडवाइफ, नर्स वा एएनएमले नै गर्नुहुन्थ्यो ।  मेरो जिम्मेवारी गर्भवती महिलालाई प्रसूतिको तयारी गराउने, प्रसव पीडा सहज बनाउन आवश्यक परामर्श र सहयोग गर्ने, सुरक्षित सामान्य प्रसूति गराउने तथा सुत्केरी पछिको हेरचाह गर्ने थियो । कुनै जटिलता देखिएमा भने चिकित्सकसँग समन्वय गरेर सेवा प्रदान गथ्र्यौं । टोलीमा काम गर्ने भएकाले सेवा प्रवाहमा कुनै विशेष समस्या भएन, बरु मिडवाइफको भूमिका ग्रामीण तथा दुर्गम क्षेत्रमा कति महत्त्वपूर्ण रहेछ भन्ने प्रत्यक्ष अनुभव गर्ने अवसर मिल्यो । नेपालमा सिजरियनदर बढ्दै गइरहेको छ, यसपछाडिको कारण के होला ? नेपालमा सिजेरियनको दर ठाउँअनुसार निकै फरक देखिन्छ । ग्रामीण क्षेत्रमा यो दर करिब १५ देखि १७ प्रतिशतको हाराहारीमा छ भने सहरी क्षेत्रमा विशेषगरी निजी अस्पतालहरूमा सिजेरियनको दर निकै उच्च छ । सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा यसको अनुपात अझ बढी देखिन्छ । यसका पछाडि विभिन्न कारण छन् । सहरी क्षेत्रमा धेरै महिलामा प्रसव पीडाप्रतिको डर, सानो परिवारको चाहना र प्रसूति पीडा सहन नचाहने प्रवृत्तिले पनि सिजेरियन रोज्ने क्रम बढेको देखिन्छ । तर ग्रामीण क्षेत्रमा अवस्था ठीक उल्टो छ । त्यहाँका महिलाहरू अपरेसनपछि दैनिक काम गर्न, भारी बोक्न वा श्रम गर्न गाह्रो हुन्छ भन्ने सोचका कारण सम्भव भएसम्म सामान्य प्रसूति नै चाहन्छन् । चिकित्सकीय रूपमा सिजेरियन आवश्यक परे पनि ‘नर्मल डेलिभरी नै भएको भए हुन्थ्यो’ भन्ने भावना धेरै महिलामा अझै पनि देखिन्छ । नर्मल डेलिभरीलाई प्रवर्द्धन कसरी गर्न सकिन्छ होला ? सामान्य प्रसूति (नर्मल डेलिभरी)लाई प्रवद्र्धन गर्न गर्भावस्थाको सुरुदेखि नै सही परामर्श र तयारी आवश्यक हुन्छ । सरकारले गर्भवती महिलालाई कम्तीमा आठ पटक स्वास्थ्य संस्थामा नियमित गर्भजाँच (एएनसी) गराउन सिफारिस गरेको छ । पहिलो पटक स्वास्थ्य संस्थामा पुगेदेखि नै गर्भावस्थाका सम्भावित जटिलता, सामान्य प्रसूति के हो, त्यसका फाइदा के हुन् र त्यसका लागि शारीरिक तथा मानसिक रूपमा कसरी तयारी गर्ने भन्ने विषयमा प्रभावकारी परामर्श दिन सकियो भने अनावश्यक सिजेरियनको दर घटाउन मद्दत पुग्छ । नर्मल डेलिभरीका लागि महिला कसरी तयार हुन सक्लान्, केही टिप्स छन् कि ?  नर्मल डेलिभरी आमा र शिशु दुवैका लागि सबैभन्दा सुरक्षित र लाभदायक विकल्प हो । कुनै चिकित्सकीय जटिलता देखिएमा सिजेरियन आवश्यक पर्न सक्छ, त्यसका लागि पनि मानसिक रूपमा तयार रहनुपर्छ । तर गर्भावस्था थाहा पाएदेखि नै सकारात्मक सोच राख्ने, नियमित गर्भजाँच गराउने, स्वास्थ्यकर्मीको सल्लाह पालना गर्ने र सामान्य प्रसूतिको तयारी गर्ने हो भने त्यसले नर्मल डेलिभरीको सम्भावना बढाउन मद्दत गर्छ । सकारात्मक मानसिक तयारीले महिलालाई प्रसूति प्रक्रियामा आत्मविश्वासी बनाउँछ र शरीरलाई पनि त्यसअनुसार तयार हुन सहयोग पुग्छ । नर्मल जन्मेका र अप्रेसन गरेर जन्माइएका बच्चामा के फरक हुन्छ ? सामान्य प्रसूतिबाट जन्मेका शिशुले प्राकृतिक रूपमा जन्मनली (बर्थ क्यानल) हुँदै बाहिर आउने क्रममा केही महत्त्वपूर्ण जैविक लाभ प्राप्त गर्छ । यस क्रममा शिशु आमाको लाभदायक सूक्ष्मजीव (माइक्रोबायोटा) सँग सम्पर्कमा आउँछ, जसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग पुर्‍याउँछ । साथै जन्मनलीबाट निस्कँदा शिशुको फोक्सोमा रहेको तरल पदार्थ बाहिर निस्कन मद्दत पुग्छ, जसले जन्मपछि श्वासप्रश्वास सहज बनाउन सहयोग गर्छ ।  सिजेरियनबाट जन्मेका शिशुमा दम, एलर्जी तथा केही दीर्घरोगको जोखिम सामान्य प्रसूतिको तुलनामा केही बढी हुन सक्ने सम्भावना हुन्छ । चिकित्सकीय आवश्यकता परेका अवस्थामा सिजेरियन आमा र शिशु दुवैको ज्यान बचाउने सुरक्षित र आवश्यक विकल्प हो । एउटा महिलाको महिनावारी बन्द भइसकेपछि बच्चा नजन्मनुञ्जेलसम्म के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? महिनावारी रोकिएर गर्भ रहेको थाहा पाएदेखि नै नियमित गर्भजाँच (एएनसी) गराउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । सरकारले सिफारिस गरेअनुसार गर्भावस्थाभर आवश्यक सबै स्वास्थ्य परीक्षण नियमित रूपमा गर्नुपर्छ । गर्भजाँचमा सकेसम्म श्रीमान् पनि सँगै जानु राम्रो हुन्छ । यदि श्रीमान् उपस्थित हुन सक्ने अवस्था छैन भने प्रसूतिको समयमा साथ दिने परिवारका सदस्यलाई सुरुदेखि नै गर्भावस्था, प्रसूति र आवश्यक तयारीबारे जानकारी गराउनुपर्छ । यसले प्रसूतिको बेला निर्णय लिन र सहयोग गर्न सहज बनाउँछ । गर्भावस्थामा सकारात्मक सोच राख्नु, सन्तुलित र पोषिलो आहार खानु, नियमित हल्का व्यायाम वा योग गर्नु र स्वास्थ्यकर्मीको सल्लाहअनुसार सक्रिय जीवनशैली अपनाउनु पनि उत्तिकै आवश्यक छ । आजभोलि केही महिलाले गर्भवती भएपछि कुनै चिकित्सकीय समस्या नभए पनि सबै काम छाडेर पूर्ण आराम गर्ने गरेको पाइन्छ । तर आराम गर्नुपर्ने चिकित्सकीय कारण नभएसम्म दैनिक कामकाज र शारीरिक गतिविधिलाई पूर्ण रूपमा रोक्नु आवश्यक हुँदैन । बरु स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित रूपमा सक्रिय रहनु आमा र शिशु दुवैका लागि लाभदायी हुन्छ । मिडवाइफ उत्पादन भइरहे पनि अस्पतालमा दरबन्दी नहुँदा यसले तपाईंहरूजस्ता मिडवाइफलाई कस्तो समस्या पारिरहेको छ ? नेपालमा पहिलो ब्याचका मिडवाइफहरू सन् २०२० मा उत्पादन भए । तर पाँच वर्ष बितिसक्दा पनि नेपाल सरकारको स्थायी दरबन्दी र लोकसेवा प्रणालीमा मिडवाइफका लागि छुट्टै पद सिर्जना भएको छैन । करार सेवामार्फत थापाथली प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका सरकारी संस्थामा मिडवाइफहरूले सेवा दिइरहेका छन् । साथै केही गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा पनि मिडवाइफ कार्यरत छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुल दरबन्दीअन्तर्गत आठ जना मिडवाइफ अधिकृत र आठ जना पीसीएल तहका मिडवाइफको पद सिर्जना गर्ने प्रक्रिया अघि बढाएको छ । यसले मिडवाइफलाई सरकारी स्वास्थ्य प्रणालीमा संस्थागत रूपमा समावेश गर्ने बाटो खुल्ने र भविष्यमा रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरेका छौं । दर्ता भएको मिडवाइफको संख्या कति छ ? १ सय ९५ जना दर्ता भइसक्नुभएको छ भने यो वर्ष  ५०,६० जनाको हाराहारीमा फेरि पासआउट हुन लाग्नुभएको छ । संख्या बढ्दै छ । निजी अस्पतालहरूले मिडवाइफलाई कतिको बुझेको पाउनु भएको छ ? अहिलेसम्म अधिकांश निजी अस्पतालले मिडवाइफका लागि छुट्टै पद सिर्जना गरेर नियुक्ति गरेका छैनन् । तर पछिल्लो समय निजी अस्पतालहरू पनि मिडवाइफको भूमिकाबारे बुझ्न थालेका छन् । मिडवाइफको सहभागिताले सुरक्षित तथा सामान्य (नर्मल) प्रसूति बढाउन सकिने र गर्भवती महिलाले गुणस्तरीय तथा निरन्तर हेरचाह पाउने विषयमा उनीहरूको बुझाइ विस्तारै विकास हुँदै गएको छ । त्यसैले आगामी दिनमा निजी अस्पतालहरूले पनि मिडवाइफलाई स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा समेट्ने अपेक्षा गरेका छौं । यो विषयमा के नागरिकले बुझ्न आवश्यक छ ? मिडवाइफको अर्थ नै ‘विथ वुमन’ अर्थात् ‘महिलासँगै रहने’ भन्ने हो । मिडवाइफले गर्भावस्थादेखि प्रसूति, सुत्केरी अवस्था र नवजात शिशुको हेरचाहसम्म महिलाको शारीरिक, मानसिक र सामाजिक आवश्यकतालाई सम्मान गर्दै निरन्तर साथ र स्वास्थ्य सेवा प्रदान गर्छन् ।  त्यसैले हरेक गर्भवती महिलाले कम्तीमा एकपटक मिडवाइफसँग भेटेर परामर्श र सेवा लिनु आवश्यक छ । यसले सुरक्षित मातृत्व, सकारात्मक प्रसूति अनुभव र आमा–शिशु दुवैको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

नेपाली बजारमा प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक इमास फाइभ सार्वजनिक, मूल्य ३२ लाख ९९ हजार

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक कार इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबार (आज) देखि यसको औपचारिक बिक्री सुरु गरेको हो ।  कम्पनीले प्रोटोन इमास फाइभलाई दुईवटा भेरियन्टमा उपलब्ध गराएको छ । जसअनुसार प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने बताएको छ ।  त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर यो नयाँ इमास फाइभ बजारमा ल्याएको हो । प्रोटोन इमास फाइभको प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर र ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । जसले १३० न्युटन मिटर टर्क प्रदान गर्नुका साथै एकपटकको फुलचार्जमा २२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।  कम्पनीका अनुसार यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ । जसले १५० न्युटन मिटर टर्कका साथै सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।  रियर ह्वील ड्राइभ सिस्टम भएको यस गाडीको लम्बाई ४१३५ एमएम, चौडाई १८०५ एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । आकर्षक इन्टेरियर डिजाइन गरिएको यस ह्याचब्याकमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, र भेरियन्ट अनुसार १०.१ तथा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रीन जस्ता आधुनिक सुविधाहरू उपलब्ध कम्पनी रहेको भनाइ छ ।  यसका साथै हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर भेरियशन सहितको एम्बियन्ट लाइट र किलेस इन्ट्रीजस्ता फिचरले गाडीलाई प्रविधिमैत्री बनाएको छ ।  सुरक्षाका दृष्टिकोणले ६ वटा एयरब्याग, आधुनिक एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएको यो गाडीको टर्निङ रेडियस मात्र ४.९५ मिटर रहेकाले व्यस्त सहरी क्षेत्रमा चलाउन निकै सहज र उपयुक्त हुने देखिन्छ । कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले गाडीको मूल्य सार्वजनिक हुनुअघि नै ७९ जना ग्राहकले यसलाई बुकिङ गरिसकेको जानकारी दिए । यसले नेपाली बजारमा यो गाडीप्रति उच्च आकर्षण रहेको उनको भनाइ छ ।  यस्तै, कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामीले नेपाली ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधासम्पन्न सवारी साधन भित्र्याउने लक्ष्य राखेका छौं । प्रोटोन इमास ५ ले नेपाली सडकमा विद्युतीय सवारीको अनुभवलाई नयाँ उचाइमा पु¥याउनेछ ।’  यस्तै, कार्यक्रममा बोल्दै कम्पनीकी निर्देशक दीपा अग्रवालले नेपालमा इन्टेलिजेन्ट र सस्टेनेबल मोबिलिटीको नयाँ युग सुरु भएको बताइन् ।  उनले जगदम्बा मोटर्स र मलेसियाको प्रोटोन इन्टरनेशनल कर्पोरेसन बीचको यो साझेदारीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र सुरक्षाको अनुभूति गराउने विश्वास व्यक्त गरिन् ।  प्रोटोनले नेपालमा केवल सवारी साधन मात्र नभई आधुनिक र वातावरणमैत्री यातायातको समाधान ल्याउने लक्ष्य राखेको उनको भनाइ छ । उनका अनुसार विशेष गरी विद्युतीय सवारी साधन र दिगो विकासलाई कम्पनीले आफ्नो प्राथमिकतामा राखेको छ । शंकर ग्रुप अन्तर्गतको यो कम्पनीको को ७० वर्षभन्दा लामो व्यापारिक विरासत र अनुभवले प्रोटोन ब्रान्डलाई नेपालकै सबैभन्दा भरपर्दो अटोमोबाइल ब्रान्ड बनाउन मद्दत पुग्ने उनको दाबी छ ।  प्रोटोन इमास फाइभमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जरको माध्यमबाट मात्र २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।  गाडीमा सुरक्षित यात्राका लागि इन्डिपेन्डेन्ट मल्टिलिंक सस्पेन्सन, प्रिमियम इन्टेरियर र फराकिलो स्पेस रहेको छ । विश्व बजारमा यो मोडेल निकै सफल मानिन्छ र पछिल्लो १६/१७ महिनामा करिब ८ लाख युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर श्री लि झिदानले भने, ‘प्रोटोन इमास फाइभले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन इमास फाइभमा प्रयोग भएको प्लेटफर्मलाई अपनाएका छन् । प्रोटोन इमास फाइभले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँदछ । ’ उनका अनुसार प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजार हो । जगदम्बा मोटर्ससँगको सहयार्यले प्रोटोन इमास फाइभ ब्रान्डलाई भरपर्दो र नवप्रवर्तनीय विद्युतीय सवारी-साधन खोज्ने नेपाली ग्राहकहरूको लागि एक विश्वसनीय रोजाइ बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । सार्वजनिक कार्यक्रममा मलेसियाली दूतावासका चान्सरी प्रमुख मोहम्मद बुखारी बिन मुस्तफालगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न यो गाडी एक किफायती र शक्तिशाली विकल्प हुने कम्पनीको दाबी छ । जगदम्बा मोटर्सले देशभर रहेका आफ्ना डिलर नेटवर्कमार्फत यसको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने जनाएको छ ।  

३२० किमि रेन्जसहित ‘प्रोटोन इमास–५’ दुई दिनमै लन्च हुँदै, यस्ता छन् फिचर्स

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक प्रोटोन इमास-५ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । औपचारिक लन्च हुन दुई दिनअघि कम्पनीले प्रि-लन्च टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरी गाडीका विशेषताहरू सार्वजनिक गरेको हो ।  नेपालकै पहिलो रियर ह्विल ड्राइभ ह्याचब्याक प्रोटोन इमास-५ को सबैभन्दा आकर्षक पक्ष यसको रियर ह्विल ड्राइभ प्रणाली रहेको जगदम्बा मोटर्सका बिजनेस हेड सुशील क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक ह्याचब्याकहरूमध्ये यो पहिलो रियर ह्विल ड्राइभ गाडी हो ।  उक्त प्रणालीले गर्दा उकालो सडकमा गाडीको पकड बलियो हुने र मोड्दा गाडी निकै स्थिर रहने टेस्ट ड्राइभरहरूको अनुभव छ । इमास- ५ दुईवटा ब्याट्री र मोटर भेरियन्टमा उपलब्ध हुनेछ । यसमा ५८ किलोवाट र ८५ किलोवाटको मोटर पावर दिइएको छ । एक पटकको फुल चार्जमा यसले २२५ कि.मि. देखि ३२० कि.मि. सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । १७५ मिमीको ग्राउन्ड क्लियरेन्स र हिल असिस्ट फिचरले गर्दा यो गाडी नेपालका विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त देखिएको छ । गाडीमा ३६० डिग्री क्यामेरा, हाइड्रोलिक फ्रंक, र इन्टेलिजेन्ट इन्टेरियर फिचर्सहरू रहेका छन् । गाडी बाहिरबाट कम्प्याक्ट देखिए पनि भित्र निकै स्पेसियस  अर्थात् खुल्ला रहेको र सिटमुनि सामान राख्ने छुट्टै ड्रअरहरू समेत रहेको छ ।  फास्ट चार्जरको प्रयोगबाट मात्र ३० मिनेटमा गाडी ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । स्वदेशी जलविद्युत्को उपयोग गरी चल्ने यो गाडी डिजेल र पेट्रोल गाडीको तुलनामा निकै सस्तो पर्ने सितल घिमिरेले बताए । उनका अनुसार मात्र ५०० रुपैयाँ बराबरको विद्युत् खर्चमा काठमाडौंबाट पोखरासम्मको यात्रा गर्न सकिन्छ । उनले यो गाडी टेष्ट ड्राइभ गरेका थिए । त्यसैगरी अभिनेत्री तथा निर्माता केकी अधिकारीले सुटिङका सामग्रीहरू बोक्न र सहरको ट्राफिकमा चलाउन यो गाडी निकै सहज र आरामदायक रहेको प्रतिक्रिया दिइन् ।  देशभर बलियो सेवा सञ्जाल जगदम्बा मोटर्सले प्रोटोनका लागि काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज लगायत देशभर १२ वटा शोरुमहरू सञ्चालन गरिरहेको छ । ग्राहकको सहजताका लागि कम्पनीले देशका विभिन्न ३५ स्थानमा थप चार्जिङ स्टेशनहरू विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ । प्रोटोन इमास- ५ आगामी दुई दिनभित्र औपचारिक रूपमा लन्च हुनेछ । लन्चको दिन नै यसको आधिकारिक मूल्य सार्वजनिक गरिने कम्पनीले जनाएको छ । उत्कृष्ट पर्फमेन्स, आधुनिक डिजाइन र किफायती सञ्चालन खर्चका कारण इमास- ५ ले नेपाली विद्युतीय गाडीको बजारमा नयाँ मानक कायम गर्ने अपेक्षा गरिएको छ ।