बिशेष आर्थिक क्षेत्रमा ‘बन्द–हड्ताल’ गर्न नपाइने
काठमाडौं, २२ असार । बिशेष आर्थिक क्षेत्र(सेज)मा मजदुर तथा कर्मचारीहरुले बन्द हड्ताल गर्न नपाउने भएका छन् । उद्योग मन्त्रालयले तयार पारेको ‘बिशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ले सेजमा बन्द हड्ताल निषेधित गर्ने व्यवस्था गरेको हो । उद्योग मन्त्रालयले तयार पारेको प्रस्तावित ऐनको बिधेयकको दफा ४३ मा ‘उद्योगलाई हानी–नोक्सानी हुने काम गर्न नपाउनेः बिशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगमा कार्यरत कामदार वा कर्मचारीले उद्योग र उत्पादनमा प्रतिकुल असर पर्नेगरि कुनै काम कारवाही गर्न पाउने छैन’ लेखिएको थियो । तर सांसद नागेन्द्र प्रसाद थारुले त्यसमा संसोधन प्रस्ताव दर्ता गराएका थिए । उनको प्रस्तावलाई व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो । अर्थ समितिले पास गरेको प्रस्तावमा लेखिएको छ –‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगमा कार्यरत कामदार वा कर्मचारीले उद्योग र त्यसको उत्पादनमा प्रतिकुल असर पर्ने गरी कुनै बन्द, हडताल वा आन्दोलन गरी उद्योगलाई हानी नोक्सानी हुने कुनै काम कारवाही गर्न पाउने छैन ।’ सांसद थारुले भने औद्योगीक क्षेत्र भन्दा बिशेष अधिकारसहित स्थापित हुने सेजलाई बन्द हड्ताल नगरि नेपालमा औद्योगीक विकास हुनै नसक्ने बताए । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा बोल्दै अर्का सांसद अनन्त पौडेलले पनि अनावश्यक मजदुर आन्दोलनलाई निरुत्साहित पारेर उद्योेग धन्दाको विकासका लागि सेजलाई बन्द हड्ताल निषेधित क्षेत्र बनाउनु पर्नमा जोड दिए । ‘अब मजदुरलाई पनि समृद्धितर्फ डोर्याउनु पर्छ, अब उनीहरुलाई बन्द हड्ताल होइन, समृद्धिको बाटोमा अघि बढ्न प्रेरित गर्नुपर्छ ।’ उनले सेजमा स्थापना हुने उद्योगलाई राज्यले सुरुमा यथेष्ठ सुबिधा दिएरपछि मात्रै कर लगाउनु पर्ने जोड दिए । अर्की सांसद महालक्ष्मी उपाध्यायले नेपालमा उद्योग स्थापना हुनु अघि नै राज्यले उद्योगीको घाँटी थिच्ने गरेको बताउँदै सेजमा त्यस्तो अवस्था आउन नहुने बताइन् । राज्यले उद्योग धन्दाको प्रवद्र्धन गरेर पछि मात्रै करको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । उनले समग्र उद्योग प्रतिष्ठानमा एउटा मात्रै आधिकारीक ट्रेड युनियनको व्यवस्था गर्नुपर्नेमा जोड दिईन् । यसैबिच सेजमा रक्सी र चुरोटका उद्योगहरु सञ्चालन गर्न नपाइने व्यवस्था समेत प्रस्तावित ऐनमा गरिएको छ ।
अर्घाखाँची सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु
काठमाडौं, २१ असार । अर्घाखाँची ओपीसी सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु भएको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले गरेका छन् । कम्पनीले जनाएअनुसार उपभोक्तालाई अर्घाखाँची सिमेन्ट गुणस्तरिय भएको थाहा भएपनि बजारकै उत्कृष्ट ओपीसी सिमेन्ट हो भन्ने बुझाउन अभियान सुरु गरेको हो । साथै, उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ । घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्छ । निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारीमुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
उद्योग महासंघको सल्लाहकार समिति गठन
काठमाडौं, २१ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी कार्यदिशा र मार्गदर्शनका लागि महासंघकै पूर्व अध्यक्ष वासुदेव गिरीको सभापतित्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघले २३ औं राष्ट्रिय महाअधिवेशन तथा २०औँ केन्द्रिय महिला उद्यमी सम्मेलनबाट नर्वाचित कार्यसमितिलाई पूर्णता दिंदै महासंघको आगामी कार्यदिशा र मार्गदर्शनका लागि सल्लाहकार समिति गठन गरेको हो । सल्लाहकार समितिको सदस्यहरूमा आङ्गदेण्डी शेर्पा, लता प्याकुरेल, मनु के.सी, डा. विश्वकेशर मास्के, डा. पुष्पराज राजकर्णिकार, महेश कुमार अग्रवाल, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर र दिव्यदेव भट्ट रहेका छन् । यसैगरी समितिको कार्यकारी सल्लाहकार सदस्यहरूमा कृष्णराज अधिकारी र उर्मिला श्रेष्ठ (ढुंगाना) तथा सचिवमा होमराज आचार्यलाई चयन गरेको जनाएको छ । त्यस्तै, सल्लाहकार समितिको विवरणमा सभापति बासुदेव गिरी, कार्यकारी सल्लाहकार उर्मिला श्रेष्ठ कृष्णराज अधिकार र उर्मिला श्रेष्ठ लगाएत अन्य सदस्यहरु रहेका छन् । सदस्यहरुमा आङ्ग देण्डी शेर्पा, लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिका, महेश कुमार अग्रवाल, डा. विश्वकेशर मास्के, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, मनु के.सी., डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर, दिव्यदेव भट्ट र होमराज आचार्य रहेका छन् ।