पेट्रोलियम निजी क्षेत्रको लाइसेन्स खारेज गरेकोमा चेम्बरको विरोध

काठमाडौं, ९ साउन । नेपाल सरकारले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरेकोमा नेपाल चेम्बर अफ कमर्शले विरोध गरेको छ । सरकारले निजी क्षेत्रलाई पेट्रोलियम बस्तु आयात गर्नबाट वन्चित गरेकोमा चेम्वरले दुःख व्यक्त गरेको छ । हालै सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीति अनुरुप आयातकर्ता कम्पनीहरुको छनौट समेत गरिसकेको छ । यस सन्दर्भमा मन्त्रिपरिषदको निर्णयद्वारा पेट्रोलियम तथा ग्यास कारोवार नियमन आदेश २०६९ को खारेजीले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ पैठारी गर्नबाट वञ्चित गरी पुनः सरकारको एकाधिकार कायम गरेको छ । खुला बजार अर्थतन्त्रमा सरकारले व्यापार नगरी नियमन मात्रै गर्दछ । विगत ५० वर्षदेखि पेट्रोलियम पदार्थको कारोवार गर्दै आईरहेको सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमको एकाधिकारले पेट्रोलियम पदार्थको सहज तथा सरल आपूर्तिमा समय समयमा समस्या सिर्जना भईरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य समायोजन नगरी अनुचित फाईदा लिएको र करोडौं बोनस वितरण गर्ने तयारी गरिरहेको छ । निजी क्षेत्रलाई समेत पेट्रालियम पदार्थको आयात गर्ने अनुमति दिँदा भण्डारण क्षमता वृद्धि हुने, आपूर्ति व्यवस्र्था सहज र सरल हुने र प्रतिष्पर्धी मूल्यका कारण आम उपभोक्तालाई राहत पुग्ने छ । सरकारलाई पनि आर्थिक भार कम हुने हुँदा चेम्वरले अविलम्व निजी क्षेत्रलाई समेत पेट्रालियम पदार्थको आयात गर्ने सरकारको पूर्व निर्णयलाई कायम गर्न माग गरेको छ ।

उपत्यकावाट उद्योग विस्थापन गर्ने सरकारी नीति असफल, नयाँ उद्योग राजधानी केन्द्रित

काठमाडौं, ९ साउन। सरकारले काठमाडौं उपत्यकाबाट उद्योग विस्थापन गर्ने नीति लिए पनि लगानीकर्ताको आकर्षण भने यसै क्षेत्रमा बढी देखिएको छ । पछिल्लो ५ वर्षमा मुलुकमा दर्ता भएका उद्योगमध्ये अधिकांश काठमाडौं केद्रित छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा २ वर्षभित्र काठमाडौं उपत्यका भित्रका औद्योगिक क्षेत्रहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।   उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी लगानीका अधिकांश उद्योगको रोजाइमा काठमाडौं नै पर्ने गरेको छ । पूर्वाधार, बजार र सुरक्षाका दृष्टिले अरू जिल्लाका तुलनामा काठमाडौं उचित भएको भन्दै नयाँ उद्योगहरू यस क्षेत्रतर्फ केन्द्रित भएका हुन् । लगानीकर्ताको आकर्षण तथा उद्योग दर्ताको संख्यात्मक अवस्था हेर्दा सरकारलाई आफ्नै निर्णय प्रत्युत्पादक हुने व्यवसायीहरू बताउँछन् । विभागका अनुसार चालू आर्थिक वर्षमा दर्ता भएका २८९ उद्योगमध्ये काठमाडौंमा सबैभन्दा बढी १७८ ले अनुमति लिएका छन् । उत्पादनमूलक उद्योगका लागि बजार तथा श्रमिक पर्याप्त पाइनुका साथै सुरक्षाका हिसाबले काठमाडौंमा लगानीकर्ता आकर्षित भएका हुन् । चालू आवमै ललितपुरमा ५३, कास्की १७, मोरङ र रुपन्देही १०/१०, झापा तथा नवलपरासी ९/९ , चितवन ६ उद्योग दर्ता भएका छन् । यसबाहेकका अरू जिल्ला नुवाकोट, दाङ, दार्चुला धादिङलगायतका जिल्लामा बढीमा ३ वटासम्म उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७१/७२ मा ४ सय ६३ उद्योग दर्ता भएकामा काठमाडौंमा मात्र १७८ उद्योग छन् । गत आर्थिक वर्षमा काठमाडौं जिल्लामा मात्रै ७ हजार रोजगारी उद्योगले थपेको छ । २०८६ देखि हालसम्म १ हजार ८४८ उद्योग दर्ता भएका छन् जसबाट १ लाख ३ हजार रोजगारी सिर्जना भएको छ ।   टेनिङ इन्स्टिच्युट, भाषा केन्द्र, सफ्टवयर एन्ड हार्डवयर, कन्सल्टेन्सी तथा लगानी कम्पनीहरूमा लगानी बढ्दो क्रममा छ । विदेशीले लगानी गर्न खोज्दा नीति, श्रम ऐन, औद्योगिक ऐन तथा राजनीतिक अवस्था सबै विचार गरेर अघि बढे पनि नेपालीमा देखासिकी गर्ने प्रचलन बढी छ । काठमाडौंभन्दा बाहिर सुरक्षा, पूर्वाधारलगायतका समस्या भएकै कारण पर्याप्त लगानी जान नसकेको हो।

उद्योग वाणिज्य सङ्घमा ४६२ व्यवसाय दर्ता

पाल्पा, ७ साउन । रामपुर उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७२/७३ मा ४६२ जनाले आफ्नो उद्योग व्यवसाय दर्ता गराएका छन् । पाँच सय ५७ व्यवसायीले रामपुर नगरपालिकामा नवीकरण गरेका छन् । नगरपालिका र उद्योग वाणिज्य सङ्घमा दर्ता गरेर मात्र व्यवसाय चलाउनुपर्ने गरी समन्वय भएको छ । उद्योग वाणिज्य सङ्घले सिफारिस गरेपछि नगरपालिकामा दर्ता गर्ने नियम रहेको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए। यहाँका व्यवसायी, व्यापारीलाई सहज सेवा दिने उद्देश्यले वाणिज्य सङ्घले नगरपालिकासँग समन्वय गरेर नगरका विभिन्न सात स्थानमा सञ्चालित घुम्ती शिविरमा १३३ जनाले आफ्नो व्यवसाय दर्ता गराएका थिए । यस्तैगरी सङ्घले रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग, करदाता सेवा कार्यालय, कर कार्यालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराको सहयोगमा कर, पान भ्याट तथा व्यवसाय सञ्चालनसम्बन्धी विभिन्न सचेतना कार्यक्रम, उद्यमशीलता तालिम सञ्चालन गरेको छ । गत असोजमा रामपुर उद्योग वाणिज्य सङ्घका रुपमा जिल्ला प्रशासनमा दर्ता भई सञ्चालनमा आएको हो । उद्योग वाणिज्य सङ्घ यहाँ स्थापना भएपछि विभिन्न व्यवसाय, व्यापार, पसल, उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले बताए । रासस