निगमलाई ठूलो जहाज किन्न मन्त्रालयकै ढिलासुस्ती, वाइडवडीको प्रस्ताव अर्थमा हरायो
काठमाडौं, ९ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि सरकारले लामो दूरीमा उडान क्षमता भएको (वाइडबडी) जहाज खरिद गर्न औपचारिक रुपमा चालू आवको बजेटमार्फत घोषणा गरेको छ । चालू आव २०७३/७४ को बजेट वक्तव्यमा निगमको लागि दुई वटा वाइड बडी जहाज खरिद गर्ने उल्लेख छ । सरकारले निगमले वाइडबडी किनेर जहाज उडाउँछु, सरकारले सहयोग गर्नुपर्यो भनेको पनि करीब १० वर्ष भैसक्यो । निगमले २०६५ सालमा नै वाइडबडी जहाजको खरिद प्रक्रिया अगाडि बढाएको थियो । निगमका वर्तमान महाप्रवन्धक सुगतरत्न कंसाकार निगममै कार्यकारी अध्यक्ष थिए । उनले वाइडबडी जहाज खरिद गर्न वैना रकमसमेत पठाउदा एक सरकारी निकायलाई अर्को सरकारी नियकाले सहयोग नगरेका कारण जहाज खरिद योजनाले मूर्त रुप लिन सकेन । तत्कालिन समयमा निगमले चालेको जहाज खरिदकै प्रक्रिया गलत भएको भन्दै अख्तियार अनुसन्धान आयोगले कंसाकारलाई जेलसम्म पुर्यायो कंसाकारलाई सर्वोच्च अदालतले न्याय त दियो तर निगमको वाइडवडी खरिदनलाई भने अहिलेसम्म कसैले न्याय दिएको छैन । निगम स्थापना भएको ५८ वर्ष भयो । हरेक वर्ष वाइड–बडी जहाजको खरिदको विषय आउँछ । ‘निगमले हरेक वर्ष वार्षिक योजना बनाउँछ, जहाज खरिदको प्रक्रिया अगाडि बढाउँछ तर एउटा सरकारी नियकाले गरेको कामलाई अर्को निकायसँग के रिस हुँदो रहेछ मुद्दा मामिलामा जाने र जहाज खरिद रोक्ने काम भैहाल्छ’ निगमका अधिकारी बताउँछन् । ‘वायुसेवा निगमले जहाज संचालन गर्ने हो, जहाज कम्पनीले ट्याक्सी चलाउने होइन’, निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले हरेक भषण तथा अन्र्तरवार्तामा नछुटाउने वाक्य हो यो । तर, विडम्वना उनको यो शव्दलाई निजी क्षेत्रका पर्यटन व्यवसायीले साथ दिन थालेको पनि २५ वर्ष भैसक्दासमेत जहाज किन्न सकेको छैन । जहाज खरिद प्रक्रियामा अनेकौ कमिशन हुने, आफ्नो पाटि व्यक्ति र संस्थालाई कमिशन नआउने भन्दै हरेक पटक जहाज खरिद रोकिने गरेको छ । सबैभन्दाठूलो कमजोरी त राजनीतिक नेतृत्वके हुने गरेको छ । निगमका महाप्रवन्धक कंसाकारका अनुसार सरकारलाई पारदर्शी काम गरेर देखाउने र एक रुपैयाँ कमिशन नलिइ जहाज खरिद गरेर राष्ट्रका लागि योगदान दिने व्यक्तिलाई विश्वास नगर्नुनै सबैभन्दा कमजोर पक्ष हो । जहाज खरिदमा एक रुपैयाँ कसैसँग कमिशन नलिइ र कसैलाई नलिइ जहजा ल्याउन सकिने यथार्य जानकारी दिँदा सरकारी नियकाकै चासो कम र अन्तरनिकाय समन्वयको सुस्ताताले जहाज आउन नसकेको कंसाकारको बुझाई छ । सरकारी सुस्तता बढेकोले जहाज आएन वायुसेवा निगमले पछिल्लो पटक गत वर्ष मंसिरमा नै वाइडबडी जहाज खरिदको योजना सरकारलार्ई दिएको थियो । निगमले बुझाएको योजना सरकारी निकायले स्वीकृत गरेको भए आगामी फागुनभित्रै एउटा वाइडवडी आउने निगमको बुझाइ छ । सरकारी सुस्ताताकै कारण चालू आवको बजेटमा सम्बोधन भएको विषयले अहिलेसम्म औपचारिक रुपमा अगाडि बढ्न सकेको छैन । निगमले वर्षमा दुईपटक र हरेक मन्त्री तथा सचिव नयाँ आउदा निगमको कार्ययोजना बनाउने गरेको छ । कम्तिमा ५० पटक जहाज किन्ने योजना वायुसेवा निगममले पर्यटन मन्त्रालयमा हरेक पटक नयाँ मन्त्री र सचिव आउँदा जहाज खरिदको योजना बनाउने गरेको छ । निगमका अनुसार नेपालमा बहुदलीय व्यवस्थापछि आएका करीब ३० जना पर्यटन मन्त्री आएका छन् । प्राय सबै मन्त्रीले निगम सुधार र जहाज किन्ने कार्ययोजना माग्ने गरेको र निगमले पनि बनाउने गरेको छ । निगमले बनाएको जहाज खरिदको कार्ययोजना नै ५० भन्दा बढी रहेको निगमले जानकारी दिएको छ । निगमले निवर्तमान पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेललाई एउटा र तत्कालिक पर्यटन सचिव दिनेश थपलियालाई एक निगम सुधार तथा जहाज खरिद योजना पेश गरेको थियो । अहिले पर्यटन मन्त्रालयमा प्रेम राई पर्यटन सचिव छन । उनलाई चालू आवको बजेटले तोकेको जहाज खरिदको योजना दिएका निगमको भनाइ छ । पर्यटन मन्त्रालयमा प्रचण्ड प्रधानमन्त्री भएपनि आउने नयाँ पर्यटन मन्त्रीको लागि पनि नयाँ कार्ययोजना दिन निगम तयार रहेको उल्लेख छ । वाइडवडीको प्रस्ताव अर्थमै हरायो निगमले गत मंसिरमा बनाएको १८ महिनाभित्र खरीद गर्ने दुईवटा वाइडवडी जहाजको प्रस्ताव पर्यटन हुँदै अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रायलमा निगमम सरकारी नियका भएकोले नयाँ जहाज खरिद गर्दा आर्थिक भार पर्ने भएकोले रायका लागि प्रस्ताव पठाएको थियो । अर्थले राय दिनुको साटो उल्लै गत वर्षको मंसिरमा पठाएको प्रस्ताव हराएको भन्दै नयाँ प्रस्ताव मागेको छ । पर्यटन मन्त्रालयले पनि दुई साताअगाडि मात्रै पुन पर्यटन मन्त्रालयबाट अर्को प्रस्ताव पठाएको छ । निगमका लागि वाइडवडि खरिद गर्न २५ अर्ब रुपैयाँ आश्यक पर्ने र यसका लागि सरकारले रकमको जोहो गरिदिने वा सरकार जमानी बस्ने भन्ने राय दिनुपर्ने हो । निगमको विषयमा अर्थ मन्त्रालय चुप लागेकै कारण जहाज खरिद ढिलो भएको हो । निगमका अनुसार सरकारले पैसा दिँदै पर्दैन जहाज खरिद गर्न ग्रीन सिंग्नल दिए हुन्छ । निगमलाई लगानी गर्न कर्मचारी संचयकोष, नागरिक लगानी कोष, विभिन्न सरकारी तथा निजी वाणिज्य बैंक तयार रहेको पनि निगमका महाप्रवन्धक कंसाकारको भनाइ छ । अर्थलाई पुनः प्रस्ताव पर्यटन मन्त्रालयले जहाजको स्रोत जुटाउन विकल्पसहितको प्रस्ताव दोस्रोपटक अर्थ मन्त्रालय पठाएको छ । यसअघि मन्त्रालयले मंसिरमै यस्तो प्रस्ताव पठाएको थियो । अर्थ मन्त्रालयले निगमलाई पुनः प्रस्ताव पठाउन आग्रह गरेपछि पर्यटन मन्त्रालयमार्फत दोस्रो पटक दुई वाइड–बडी जहाज खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको हो । अर्थ मन्त्रालयले जहाज खरिद प्रक्रियामा सकारात्मक रहेको बताएको र पहिले पठाएको प्रस्तावको फाइलै हराएकोले नयाँ पठाउन आग्रह गरेपछि वायुसेवा निगमबाट पुनः नयाँ प्रस्ताव तयार पारेर पर्यटन मन्त्रालय हुँदै अर्थ निगम प्रवक्ता पठाएको निगमले जानकारी दिएको छ । अर्थ मन्त्रालय पठाइएको प्रस्तावमा दुई वाइड–बडी जहाज खरिदका लागि २५ अर्ब रुपैयाँ ऋण, अनुदान वा स्रोत पहिचान गरिदिनका लागि प्रस्ताव गरिएको छ । निगमले दुई वाइड–बडी खरिद गरेमा १७ प्रतिशत बजार हिस्सा पुर्याउने व्यावसायिक योजनासमेत पेस गरेको छ । निगमले दुई वाइड–बडी जहाज खरिद गरेर लामो दूरीमा जानसकेमा वार्षिक ७ देखि ९ प्रतिशत रहेको बजार हिस्सा बढाएर १७ प्रतिशत पुग्ने दाबी निगमको छ । निगमले नेपालबाट विभिन्न २६ वटा विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपनि जहाजको संख्या नै नभएकोले पनि निगम कमजोर भएको हो । निगमले आवश्यक मात्रामा जहाज थप गर्न पाए यसले आक्रामक बजार लिन सक्ने दाबी निगमको छ ।
१० दिन पछि सिम्रिकको एओसी नवीकरण, नियमित उडान विहिबारबाटै
काठमाडौं , ९ भदौं । उडान अनुमतिको इजाजतपत्र (लाइसेन्स) नवीकरण नभएर १० दिन देखि उडान बन्द भएको सिम्रिक एयरलाइन्सको उडान संचालन अनुमति (एओसी) नवीकरण भएको छ । आन्तरिक उडानको वायुसेवा कम्पनी सिम्रिकको उडान अनुमति नवीकरण गर्न मंगलबारको मन्त्रीपरिषद्ले निर्णय गरेपछि पर्यटन मन्त्रालले बुधबारै आगामी चार वर्षको लागि इजाजत नवीकरण भएको छ । सिम्रिमको उडान अनुमति नवीकरण गर्न दिने गरी मन्त्रिपरिषद्बाट निर्णय आएकोले सोही अनुसार बुधबार नै इजाजत नवीकरण गरेर प्राधिरण पठाएको पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राइले बताए । मन्त्रालयबाट इजाजत नवीकरण भएका कारण प्राधिकरणबाट पनि बुधबार नै उडान संचालन अनुमति (एओसी) नवीकरण भएको छ । ‘सिम्रिकले मन्त्रालयबाट इजाजत नवीकरण गरेर ल्याएका कारण हामीले पनि आजै नवीरकण गरेका छौं’, नेपाल नागरिक उड्डयन प्राधिकरणमा उपमहानिर्देशक राजनराज पोखरेले बताए । मन्त्रालय र नियमक निकायबाट इजाजत तथा उडान अनुमति नवीकरण भएकोले विहिबारदेखि नै उडान सुचारु हुने सिम्रिक एयरलाइन्सले जानकारी दिएको छ । सिम्रिकको उडान अनुमति मावनीय त्रुटिका कारण समयमा नै नवीकरण हुन नसक्दा विगत नौ दिनदेखि यो वायुसेवाको उडान बन्द रहेको थियो । सिम्रिकले आवश्यक सबै प्रक्रिया पूरा गरेर नवीकरण गरेको र विहिबारबाट नै नियमति उडान हुने जानकारी दिएको छ । सिम्रिकले एक विज्ञप्ती नै जारी गरेर नौ दिनदेखि रोकिएको उडान विहिबारबाटै नियमित हुने जानकारी दिएको छ । प्राधिकरणले पनि सिम्रिकलाई विहिबारबाट नै उडान सुचारु गर्न कुनै बाधा नरहेको जानकारी दिएको छ । सिम्रिकका आन्तरिक उडानमा चार वटा जहाज छन् ।
चन्द्रागिरीमा दुई घण्टा चुम्बन (फोटो फिचर)
काठमाडौं, ८ भदौ । कलंकीदेखि थानकोट चेकपोष्टसम्म करिब चार किलोमिटर सडक पार गर्न एक घण्टा लाग्यो । गाडी गुडाउनै कठिन खाल्डाखुल्टी, त्यसमाथि ट्राफिक जाम, गर्मी, धुलो र धुवाँको मुस्लोले त्यो यात्रा यति कठिन भयो कि कथामा सुनिने नर्क नै यहि हो । थकित मोडमा चन्द्रागिरीको बेस स्टेशन पुगियो । लाग्यो नर्कबाट भागेर स्वर्गमा आईपुगियो । जहाँ धुलो, धुँवा र कोलाहल छैन । सफा पीच रोड । व्यवस्थित पार्किङ । ढकमक्क फूल फूलेको बगँैचा सहितको चन्द्रगिरी बेस स्टेशन । चन्द्रागिरी हिलस्टेशनका तर्फबाट राजु पौडेलले स्वागत गरे । धुलाम्मे अनुहारबाट खिस्स दाँत देखाउँदै पहिला रेष्टरुम जाने अनुमति माग्यौं । चन्द्रागिरीको नरम पानीले अनुहारको धुलो पखाल्यौं, टाउको र गर्धनको धुलो पुछ्यौं । हामीलाई बेस स्टेशनको रेष्टुरेण्टमा लगेर बसाउँदै राजु पौडेलले अफर गरे–लञ्चको व्यवस्था माथि छ, यहाँँ चिया लिऊँ कि कफि ? ब्ल्याक टी पिउँदै कुरोकन्थो शुरु भयो । हामीले भन्यौं–‘यहाँसम्म आउन धेरै गाह्रो भयो । बाटो खत्तम रहेछ । यहाँ आईसकेपछि राहत मिल्यो ।’ उनले भने–‘यहाँ आएपछि मलाई कविता लेख्न मनपर्छ । चन्द्र सर (कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल) त्यहाँ उभिएर काठमाडौंको नियाल्दै बाटोबाट यता आउँदै गरेका सबै मानिसहरु चन्द्रागिरी जान आएका होलान् भन्ने ठान्नुहुन्छ ।’ चन्द्रागिरी केवुलकार सर्बसाधारणलाई खुला गर्दै अनौपचारिक रुपमा सेवा सञ्चालन गरेको साउन २५ गते करिब १० हजार जनाले केबलकार निःशुल्क चडेको सुनाउँदै दैनिक १० हजार मानिसलाई चन्द्रागिरी यात्रा गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए । हामीले केबुलकारको यात्रा शुरु गर्यौं । समुन्द्री सतहबाट १४०० मिटर उचाईमा रहेको चन्द्रागिरी बेस स्टेशनबाट २५५१ मिटरको उचाईमा रहेको टप स्टेशन पुग्न साढे दुई किलोमिटर पार गर्नुपर्छ । उक्त दुरी पार गर्न ९ देखि १४ मिनेट लाग्ने रहेछ । तिब्र गतिमा हुँदा चाँडो र विस्तारै चल्दा ढिलो पुगिने । हामी चढेको केबुलकार विस्तारै चल्यो । घना बस्तीबाट माथि उठेको केबुलकार जंगल हुँदै कुहिरोभित्र छिर्यो । ‘यात्रा’ शब्दले अर्थ एउटै हुन्छ । तर यात्राको अनुभव विलकुलै फरक । कलंकीदेखि चेकपोष्ट सम्मको अत्यास लाग्दो यात्रा र केबुलकारमा जंगल माथि उडेर कुहिरो भित्र छिर्दाको यात्राको अनुभव नितान्त फरक । सडकको यात्रामा धुलो, धुवाँ, गर्मी, ध्वानीको कोलाहल र त्यसमा पनि जाम । केबुलकारको यात्रा, शान्त, शितल, निरन्तर एउटै गतिमा । चरा उडेको देख्दा रमाउनेहरु सपनामा आफै उडेको सपना देखेजस्तो । यहाँ सपना होइन, ३८ वटा गुण्डोलाहरु (केबलकार) निरन्तर सयौं यात्रुहरुलाई विपनामा उडाई रहेका छन् । अटोमेटिक चल्ने गुण्डोलाले यात्रुलाई जमिनबाट बादलमा र बादलबाट जमिनमा पुर्याउने काम गरिरह्यो । चन्द्रागिरी कुहिरोले ढपक्क डाकेको थियो । दिउँसो १ बजेको मौसम पनि बिहानी ६ बजेतिरको जस्तो । बिहानी पनि भदौको होइन, माघमा तुषारो पर्न लागेको अवस्थामा जस्तो । हामी जुत्ता खोलेर मन्दिर जान लाग्यौं । हामीअघि एक तिर्थालु मन्दिर जाँदै थिए । मन्दिर परिसरमा बसेका फूलपाती व्यवसायीले फूल र पूजाको सामान किन्न आग्रह गरे । ‘हामीले त खाईसक्यौं, के पुजा गर्नु ?’ अघाएका तिर्थालुले भने । ‘यहाँ त दिउँसो पनि बिहानी जस्तै हुन्छ, भर्खरै घाम लाग्ने बेला जस्तो । जतिखेर पनि पूजा गर्न सकिन्छ’ फूलपाती व्यवसायीले आफ्नो कला देखाए । तस्वीरमा भालेश्वर देवता हुन् जहाँ परम्परादेखि पुजा गरिँदै आएको छ । यी देवता अहिले पनि यथावत छन् । चन्द्रागिरी हिलले सो स्थानमा प्यागोडा शैलीमा परम्परालाई टपक्क टिपेर नयाँ शिव मन्दिर बनाएको छ । नयाँ मन्दिर, नयाँ पुजारी तर प्रस्तुति पुरै परम्परागत । झल्को लाग्छ, यो मन्दिर गणतन्त्र आएपछि बनेको होइन, मल्लकाल तिर नै बनेको हुनुपर्छ । हामीले चन्द्रगिरी लेकमा प्रकृतिसँग करिब दुई घण्टा चुम्बन गर्यौं । घरी बादलसँग चुम्बन गर्यौ, घरी घामसँग । तर एउटा सपना मिस गर्ने चिन्ता थियो । पृथ्वीनारायण शाहले जसरी पहिलो पटक सोही स्थानबाट काठमाडौं उपत्यका हेरेर लोभिएका थिए, त्यसरी हामीले काठमाडौं हेर्ने मौका नमिल्ला जस्तो लाग्यो । चन्द्रगिरीबाट हिमाल देखिने, पहाड र तराई देख्न नपाईने हो कि भन्न चिन्ता थियो । अब चिन्ता हट्यो । कहीँ कहीँ बादलको घुम्टो खुल्यो । निलो आकाशसँगै काठकाडौंको घना बस्ती देखिन थाल्यो । आशा लाग्यो, अब हिमाल, पहाड र तराई पनि देख्न पाईन्छ । फोटोका क्रेजीहरुमा नयाँ उत्साह देखियो । अँह, पाईएन । फेरी कुहिरो मडारिएर आयो । तन्नेरीहरु लखर्रलखर्र केबुलकार तिर झर्न थाले । बन्दै गरेको भ्यूटावर, चिल्ड्रेन पार्क, थ्री डी हल लगायत थप पूर्वाधार नियाल्दै फर्कने क्रममा भेट्टिइन–कम्पनीको सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेल । उनका अनुसार सफ्ट लञ्च गरेपछि चन्द्रागिरी केबलकारले व्यवसायिक लञ्चको तिथिमिति तय भएको छैन । सरकारसँग ३६ हेक्टर जमिन ४० वर्षको लागि लिजमा लिएर करिव ५ हेक्टरमा जमिनमा केबुलकार, मन्दिर, रेष्टुरेन्ट, होटल, मनोरञ्जन पार्क, थ्रिडी हल, भ्यू टावर निर्माण गरिँदै छ । बेस स्टेशनको १२० रोपनी जमिन कम्पनीले आफैं खरिद गरेको छ । कम्पनीले २०६६ सालमा नेपाल सरकारसँग लिज सम्झौतामा हस्ताक्षर गरेको थियो भने पछिल्लो दुई वर्षदेखि निर्माण कार्य गरिरहेको छ । सबै पूर्वाधार निर्माण हुन अझै धेरै समय लाग्ने देखिन्छ । कम्पनीले हालसम्म साढे तीन अर्ब लगानी गरिसकेको छ भने अझै केहि लगानी थप्ने कम्पनीकी सेल्स एण्ड मार्केटिङ प्रमुख इन्दिरा पौडेलले बताइन् । कम्पनीमा आइएमई ग्रुप, भाटभटेनी ग्रुप, नवराज नेपाल, उत्तम नेपाल, उमा केसीलगायतको लगानी रहेको छ । कति पर्छ केबल कार चढेको ? केबलकार चढ्नका आम नेपालीले सात सय रुपैंयाँको टिकट काट्नु पर्छ । त्यसमा थानकोट, मकवानपुरको फाखेल र चित्लाङका बासिन्दालाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क मुलुकका पर्यटकहरुका लागि ७ सय भारतीय रुपैंयाँ शुल्क तोकिएको छ भने अन्य मुलुकका पर्यटकले २२ अमेरिकी डलर तिर्नु पर्छ । तीन फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि निःशुल्क व्यवस्था गरिएको छ भने तीन देखि चार फिट उचाईकाहरुले ४० प्रतिशत छुट प्राप्त गर्नेछन् । जेष्ठ नागरिकले पनि २५ प्रतिशत छुट पाउँछन भने फरक क्षमता भएकाहरुका लागि ४० प्रतिशत सहुलियतको व्यवस्था गरिएको पौडेलले जानकारी दिईन् ।