लुम्बिनी केबलकार चढ्न पुगे साढे ३ लाख पर्यटक, वसन्तपुरमा पर्यटकीय पूर्वाधारले बढायो आकर्षण
काठमाडौं । दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्वी र भारतीय पर्यटकको आकर्षण बढेको छ । लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ । दशकौंसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिव एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्वीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् । केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघ,संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए । वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका अपरेशन म्यानेजर सैंजूले बताए । धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको उनले जानकारी दिए । केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ । यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो । यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ । यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ । यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुरयाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ । यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए । 'यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ', उनले भने । वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताए । यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उनको भनाइ छ । 'यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिन्छ', उनले भने । रासस
हिमालय एयरलाइन्सको १० औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपालको एक प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सको १० औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनवादी गणतन्त्र चीनको राजदूतावास, नागरिक उड्डयन प्राधिकरण नेपालका उच्च पदाधिकारीहरू तथा हिमालय एयरलाइन्स (एच नाइन) का टिम सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । समारोहमा नेपालस्थित चिनियाँ राजदूत महामहिम चेन सङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोल र नागरिक उड्डयन प्राधिकरण नेपालका उपमहानिर्देशक देवचन्द्रलाल कर्ण उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार, पर्यटन प्रवर्द्धन र व्यापार सञ्जाल सुदृढीकरणमा हिमालय एयरलाइन्सले पुर्याएको योगदानको कदर गरेका थिए । हाल हिमालय एयरलाइन्सले नेपाललाई चीन, साउदी अरेबिया, कुवेत, कतार, यूएई, मलेसिया र बंगलादेशसँग हवाईमार्गद्वारा जोडेको छ । समारोहमा सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, र विविध जातजातिका भेषभूषामा प्रस्तुत गरिएका कार्यक्रमहरूले नेपालको समृद्ध सांस्कृतिक विविधतालाई उजागर गरेका थिए। सन् २०१४ मा स्थापना भई २०१६ देखि नियमित उडान सेवा सञ्चालनमा आएको हिमालय एयरलाइन्सले एसिया र मध्यपूर्वका प्रमुख गन्तव्यहरूमा विश्वसनीय अन्तर्राष्ट्रिय सेवा प्रदायकको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ । अब नयाँ दशकमा प्रवेश गर्दै हिमालय एयरलाइन्सले सेवा गुणस्तरमा सुधार, उडान सञ्जालको विस्तार र नेपाललाई दक्षिण एसियाको प्रमुख हवाई केन्द्र बनाउने राष्ट्रिय दृष्टिकोणमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।