राजाजी डाँडाबाट सलहेस सर्किटसम्म, लहानको नयाँ पर्यटकीय सपना

काठमाडौं । सिरहाको लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजाजी डाँडा एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेको हो । सयौँ वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभागी हुन्छन् । स्थानीय जनविश्वासअनुसार सङ्कटका बेला यहाँको देवता राजाजी बाबालाई पुकार्दा कल्याण हुन्छ, चिताएको पूरा हुन्छ । लहान-१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार पौराणिककालमा यस डाँडामा राजाको दरबार रहेको र यहीँबाट राजकाज सञ्चालन हुने गथ्र्यो भन्ने किंवदन्ती रहेको मानिन्छ । अहिले जनविश्वासमा रहेका राजा सलहेस, वस्तुतः त्यही दरबारका प्रधानमन्त्री थिए ।  ‘सलहेसका गुरु नै राजाजी थिए । जसको नाममा आज यो डाँडालाई चिनिन्छ । यही भाष्य नै जनमानसमा व्याप्त रहेको छ । यसलाई विश्वास पनि गरिन्छ र त्यसको विश्वासिलो आधार पनि भेटिन्छ,’ वडाध्यक्ष जर्घामगरले भने ।  स्थानीय वृद्धहरूका कथनअनुसार यो डाँडामा पहिले इँटाका ठूलाठूला पर्खाल थिए, जुन सयौँ वर्ष पुराना हुन् ।  ‘हामीले थाहा पाउँदासम्म हजुरबुबाको पालादेखि त्यस्तै थियो,’ ७३ वर्षीय वडाध्यक्ष गर्जामगर सम्झिन्छन् । उनका अनुसार कसले र कहिले निर्माण गर्यो भन्नेमा अझै स्पष्टता छैन, जसकारण यसलाई पौराणिककालदेखिको संरचना मानिन्छ । कुनै लिखित दस्तावेज नभए पनि उनीहरूको कथा, कर्मकाण्ड तथा पुस्तौँदेखि चलिआएको पूजा परम्पराले यसको पौराणिक पक्षलाई स्पष्ट पार्दछ । आज पनि ती पुराना इँटा यथावत छन्, तर संरक्षणको अभावमा अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएका छन् । यति पुरानो संरचना र वस्तुको अनुसन्धान पुरातत्व विभागले यथाशीघ्र प्रक्रिया अघि बढाउनुपर्ने वडाध्यक्ष गर्जामगरको मत छ ।  ‘दुर्भाग्यवश, ऐतिहासिक महत्त्व हुँदाहुँदै पनि यस क्षेत्रको प्रचारप्रसार नहुँदा यो सम्पदा लामो समयसम्म ओझेलमा रह्यो । अहिले भने स्थानीय तहको पहलमा यस क्षेत्रको विकासले गति लिन थालेको छ । हालै २५ लाख रुपैयाँ लागतमा राजाजी डाँडामा गहवर मन्दिर निर्माण भइसकेको छ, जसले पर्यटकलाई थप आकर्षण गर्ने विश्वास लिइएको छ,’ उनले भने ।  राजाजी डाँडाको संरचना, सलहेससँगको सम्बन्ध र यसको पुरातात्विक सम्भावनाले यसलाई केवल सिराहा जिल्लाको मात्र होइन, सम्पूर्ण तराईको सांस्कृतिक र ऐतिहासिक धरोहर बनाउने सम्भावना देखिएको छ । पहिले यहाँ पुग्नका लागि एक घण्टाभन्दा बढी पैदल उकालो चढ्नुपर्ने बाध्यता थियो । चुरे उकाली–ओराली पार गर्दै, श्रद्धालुहरू हरेक वर्ष असारमा असारी पूजा गर्न राजाजी डाँडा पुग्थे । यसबीचमा स्थानीयको विस्वास र आस्थालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखिन थालेपछि पहिलोपटक २०७८ सालमा निवर्तमान नगरप्रमुख मुनि साहको नेतृत्वमा डाँडासम्मको ट्रयाक खोलिएको थियो । त्यसपछि चुरे फेदमा रहेको झिझरी खोला पार गरेर झण्डै पाँच किलोमिटर चुरेको उकालो हुँदै राजाजी डाँडासम्म मोटर पुग्न थालेको हो । जसले गर्दा स्थानीयलाई धार्मिक पूजापाठ गर्नलाई सहज बनाएको छ । स्थानीय देवेन्द्र यादव भन्छन्, ‘डाँडासम्म जाने मोटरबाटो बन्छ भनेर कहिल्यै सोचेका थिएनौँ । अहिले ट्रयाक खुलेपछि अब बुबाआमासँगै सजिलै डाँडा पुगिन्छ । यस बाटोलाई अझ सुधार गरी व्यवस्थित गरे झन् सहज हुने थियो । आन्तरिक पर्यटनको पनि विकास हुने थियो ।’ लहानस्थित पूर्वपश्चिम राजमार्गबाट करिब १५ किलोमिटर उत्तर चुरे क्षेत्रको उच्च बिन्दुमा अवस्थित राजाजी डाँडाबाट सिराहा, सप्तरी र उदयपुरका विभिन्न भूभागका समथल फाँट र भूदृश्यहरूको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट देखिने हरियाली, खेतबारी, गाउँबस्ती र फाँटहरूको समिश्रित दृश्यले जोकोहीलाई मोहित तुल्याउँछ । विशेषगरी गर्मीको समयमा उखरमाउलो तातोबाट राहत खोज्न मानिस यहाँ पुग्ने गर्छन् । सबैभन्दा नजिकको उच्च बिन्दु भएकाले राजाजी डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने देखिन्छ ।  यस अपूर्व सम्भावनालाई ध्यानमा राख्दै लहान नगरपालिकाले यसको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्षमा राजाजी डाँडामा २५ लाख रुपैयाँ लागतमा नयाँ गहवर मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आगामी आव २०८२/८३ मा झिँझरी खोलाबाट राजाजी डाँडासम्मको बाटोमा पैदल हिँडेर पुग्न चाहनेका लागि सिँढी निर्माण गर्न थप बजेटको व्यवस्था गरिने योजना बनाइएको छ । न गरप्रमुख चौधरी भन्छन्, ‘राजाजी डाँडा आज आस्था, इतिहास र पर्यटनको त्रिवेणी बन्दै गएको छ । समयमै संरक्षण र प्रवर्द्धन गर्न सकिए यो स्थल मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा कुनै शङ्का छैन । त्यसैले राजाजी डाँडालाई धार्मिक र पर्यटकीय हब बनाउने हाम्रो दीर्घकालीन योजना हो ।’  राजाजी डाँडा आज एक स्थान, अनेक सम्भावना बोकेको थलो बनेको छ । धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम बनेको छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सके भविष्यमा प्रदेशस्तरको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना बोकेको छ ।  यसै हप्ताको आइतबार उक्त राजाजी डाँडा पुगेर कुँदिएको शिलालेखको उद्घाटन गरी नेपाली झण्डा फर्पmराउँदै नगरप्रमुख चौधरीले भने, ‘राजाजी डाँडालाई मात्र होइन, लहानको सलहेस फूलबारी, ब्रह्मनस्थान, मानिक दह, देवी दह, हात्ती दहसँग जोडेर सलहेस सर्किट निर्माण गर्ने हाम्रो गुरुयोजना छ ।’ यस योजनाअनुसार सलहेसले फूलबारीमा फूल टिप्ने, मानिक दहमा स्नान गर्ने, ब्रह्मानस्थानमा कुस्ती खेल्ने, पकडिया गढमा न्याय दिने र अन्न भण्डारण गर्ने तथा गर्मीको समयमा राजाजी डाँडामा शीतल हावा लिने कथालाई आधार बनाइन्छ ।  ‘यी सबै धार्मिक कथन र स्थानलाई जोडेर लहानलाई पर्यटकीय नगर बनाउन सकिन्छ । त्यसकै लागि अब संरचनागत विकास सुरु गरिएको हो,’ नगरप्रमुख चौधरीले भने ।  चुरे क्षेत्रको डाँडामा विकासको पाइलासँगै प्राकृतिक सन्तुलन र सांस्कृतिक संरक्षणलाई ध्यानमा राख्नु आवश्यक छ । स्थानीय जनआस्था, मौलिक कथन, धार्मिक अभ्यास र पर्यटकीय सम्भावनाको सङ्गम रहेको यो क्षेत्रलाई सन्तुलित विकासमार्फत नेपालकै उदाहरणीय धार्मिक-पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने विश्वास नगरपालिकाले लिएको छ । सलहेससँग जोडिएको पौराणिक कथा, पुराना संरचना र चुरे क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई जोडेर यसलाई अद्वितीय बनाएको छ ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले घोषणा गरेको बृहत् सलहेस पर्यटकीय क्षेत्रअन्तर्गतका सलहेस फूलबारी, पकडियागढ, देवीदह र ब्रह्माण फूलबारी सांस्कृतिक सम्पदाभित्र सूचीकृत गरिसकिएको छ । यी सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत यस क्षेत्रको सांस्कृतिक पुनर्जागरण, मौलिक संस्कृतिको यात्रा र स्थानीय पहिचानको पुनर्निर्माणको अवसर देखिएको छ । सलहेस फूलबारी प्रेमको प्रतीक भई नयाँ वर्षका दिन मात्र फुल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेस फूलबारीमा वैशाख १ गते भव्य मेला लाग्ने गर्दछ । लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने यस फूलबारीमा हरेक वर्ष वैशाख १ गते फुल्ने सुनाखरी फूललाई सलहेस बाबा र मालिनीको मिलनको प्रतीक मानिन्छ । पुराना किंवदन्तीअनुसार यो फूलबारी सलहेसको दरबार क्षेत्रभित्र पथ्र्यो । अहिले पनि यहाँ लाखौँ श्रद्धालु भेला हुने फूलबारी मेला लाग्छ, जसले यसलाई जीवित सांस्कृतिक सम्पदाका रूपमा चिनाउँछ । फूलबारी मेला तराईको मौलिक सांस्कृतिक सम्पदाको जीवित उदाहरण हो, जहाँ लाखौँ श्रद्धालु जम्मा हुन्छन् । यसको संरक्षण र प्रवर्द्धनले स्थानीय पहिचान र सांस्कृतिक गर्वलाई अझ बलियो बनाउन सक्नेछ । सलहेस तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेसको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत समस्या हरण हुने जनविश्वास पनि छ । पकडियागढ लहान नगरपालिका-१८ मा अवस्थित पकडियागढ ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्णस्थल हो, जुन सलहेस सर्किटअन्तर्गत पर्दछ । हरेक वर्ष वैशाख २ गते यहाँ लाग्ने मेलामा नेपालका विभिन्न भूभागसहित छिमेकी भारतबाट पनि हजारौँ दर्शनार्थी भेला हुने गर्छन् । जनश्रुतिअनुसार, यो स्थल प्राचीन समयमा राजा कुलेश्वरको दरबार रहेको थियो । राजाकी छोरी चन्द्रावती यही फूलबारीमा डुल्ने गरेको विश्वास गरिन्छ । मेलाको विशेष आकर्षण भनेको चोहरमलले खनेको भनिने सुरुङ, जसलाई हेर्न आउनेहरूको भीड लाग्ने गर्छ । पकडियागढ परिसरभित्र रहेको सार्वजनिक पोखरी संरक्षणको अभावमा विगतमा जीर्ण अवस्थामा पुगेको थियो । फोहर र संरचनात्मक बेवास्ताका कारण त्यहाँको आगमन घट्दो थियो । तर, पछिल्लो समय मधेस प्रदेश सरकारको सौन्दर्यकरण योजनाअन्तर्गत ४० लाख रुपैयाँको लागतमा पोखरीको पूर्व र दक्षिणतर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाइट र मन्दिर परिसरमा पिसीसी ढलानजस्ता संरचना निर्माण गरिएको छ । यसले गर्दा विवाह, व्रतबन्धजस्ता सामाजिककार्य सहज भएका छन् र साथसाथै पोखरीको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको छ । देवीदह लहान नगरपालिका-१७ मा अवस्थित एक ऐतिहासिक, प्राकृतिक र धार्मिक दृष्टिले पूजनीय स्थान हो देवीदह । पूर्वपश्चिम राजमार्गबाट करिब छ किलोमिटर उत्तरमा रहेको यो दह सिराहा र सप्तरीलाई छुट्याउने बलान नदी किनारमा फेला पर्छ । स्थानीय जनश्रुतिअनुसार त्रेतायुगीन समयदेखि यहाँको पानीमा स्नान गर्दा रोगव्याधि हटेर जान्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै, मनमा उत्पन्न हुने शङ्काले भरिएको घाउ निको हुने विश्वास व्यापक छ । तर, बजेट अभावमा पोखरीको संरक्षण, सवर्द्धन तथा वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । यस दहको धार्मिक तथा पर्यटकीय महत्वलाई पुनस्र्थापित गर्न सरकार र स्थानीय तहबाट बजेट र पहल आवश्यक छ । मानिक दह लहान नगरपालिका-२४ मा अवस्थित मानिक दह केवल प्राकृतिक जलासयमात्र होइन, सलहेस सर्किटअन्तर्गत पर्ने एक प्राचीन धार्मिक तीर्थस्थल हो । जुन विशेषतः सलहेससँग जोडिएको पौराणिक विश्वासका कारण स्थानीय जनजीवनमा गहिरो आस्था बोकेको छ ।  जानकारका अनुसार सलहेस बाबा यही दहमा स्नान गर्ने गर्दथे भन्ने धार्मिक विश्वास छ । यही कारणले हरेक वर्ष वैशाख १ गते यहाँ बृहत्तर मेला लाग्ने गर्छ, जहाँ सिराहा, सप्तरी, उदयपुरलगायत तराईका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालुको आगमन हुन्छ । मानिक दह करिब १७ बिघामा फैलिएको विशाल जलासय हो । चारैतिर हरियाली, मन्दिर र पवित्रताले भरिएको यो स्थलले धार्मिकमात्र होइन, प्राकृतिक सौन्दर्यको अनुभव पनि प्रदान गर्छ । दहको दक्षिणी भागमा डिहबारको मन्दिर, घाट निर्माण र डिल (किनारा) मर्मतका लागि हालसम्म ७० लाख रूपैयाँ भन्दा बढी नगरको बजेट खर्च भइसकेको छ । साथै पश्चिम भागमा सलहेस मन्दिर निर्माण गरिएको छ, जसले यस क्षेत्रको धार्मिक पहिचानलाई थप मजबुत बनाएको छ । यहाँको पानीमा स्नान गरेपछि रोगव्याधि हट्ने र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वासले मानिक दहलाई स्थानीय धार्मिक आस्थाको केन्द्र बनाएको छ ।  राजदेवी मन्दिर त्यसैगरी, नगरपालिकाको १५ नं वडामा अवस्थित राजदेवी माताको मन्दिर भाकल पूरा गर्ने भगवती देवीस्थानको रूपमा परिचित छ । वैशाख पूर्णिमाका दिन बोकासहित चार प्रकारका पशुपन्छीको बलि दिइन्छ, जसमा १० हजारदेखि २० हजार बोकासम्म बलि दिने चलन छ ।  उक्त मन्दिरमा बली चढाए भाकल पूरा हुने जन विश्वास रहेको छ । स्थानीय र प्रदेश सरकारले सडक सुगम–बनाउने, धर्मशाला र पार्क निर्माण साथै मन्दिर परिसरको सौन्दर्यीकरणमा काम गरिरहेको छ । स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घसंस्थाले लहानको पर्यटकीय नगरी ‘सलहेस सर्किट’को व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन सकिने भएकाले यस क्षेत्रमा उचित ध्यान दिनुपर्ने मानवअधिकारकर्मी राजकुमार राउतको भनाइ छ ।  ‘एउटै नगरपालिकाभित्र यति धेरै ऐतिहासिक र पुरातात्विक स्थल हुनु नै लहानको धार्मिक पर्यटन सम्भावनाको प्रमाण हो,’ राउतले भने, ‘यदि लहान नगरपालिकाले यी सम्पदाको संरक्षण र समुचित विकास गर्न सके, यो नगरपालिका निकट भविष्यमा देशकै एक समृद्ध धार्मिक-पर्यटकीय गन्तव्य बन्नेछ ।’ रासस

ह्वात्तै घट्यो प्रभु हेलिकप्टरको बिजनेस, औंल्याइयो कारण

काठमाडौं । प्रभु हेलिकप्टरको आम्दानीमा व्यापक गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीको सञ्चालन आम्दानी ३७.६४ प्रतिशत घटेको छ ।  कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जबकि सन् २०२३ मा कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  यस्तै सन् २०२२ मा कम्पनीले २२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले ६४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अल्पकालीन ऋणका लागि केयर एनपी ए फोर को रेटिङ प्रदान गरेको छ भने दीर्घकालिन ऋणका लागि केयर एनपी बी रेटिङ प्रदान गरेको छ । कम्पनीको नाफा मार्जिन पनि घटेको छ । सन् २०२३ मा ५४.०८ प्रतिशत नाफा मार्जिन रहेको यस कम्पनीको सुन २०२४ मा ४५.३४ प्रतिशत कायम भएको छ । सन् २०२२ मा २७.४८ प्रतिशत थियो ।  केयर रेटिङ नेपालले सञ्चालनको अस्थिरता, अत्यधिक ऋण बोकेको पुँजी संरचना र मध्यम ऋण तिर्ने क्षमता, नगद प्रवाहमा दबाब, बैंकको ब्याजदरमा अस्थिरता र पर्यटन क्षेत्रको मौसमी चक्रीय असर लगायत कारण आम्दानीमा प्रभाव परेको उल्लेख गरेको छ ।  यस्तै, अनुभवी प्रवर्द्धक, नयाँ लगानीकर्ताको आगमनको कम सम्भावना र सरकारको पर्यटन प्रवर्द्धनको नीतिले कम्पनीलाई भविष्यमा राम्रो गर्न सक्ने सम्भावना रहेको उल्लेख छ ।  सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्स प्रालिबाट मुख्य स्वामित्व प्रभु हेलिकप्टरले खरिद गरेको थियो । कम्पनी सन् २०२२ मा प्रभु हेलिकप्टर लिमिटेड पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यस हेलिकप्टर कम्पनीमा प्रभु ग्रुपको मुख्य लगानी छ । जसको नेतृत्व देवी  प्रकाश भट्टचनले गरिरहेका छन् । 

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान, नियमित तालिका कागजमै सीमित

काठमाडौं । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सं) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिए ।  भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बार लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरुलाई काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । काठमाण्डौं  ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।  सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातायात व्यवसायी मिङ्मार शेर्पाले बताए ।  नियमित उडान तालिका कागजमै सीमित जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरूले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नहुने भएपछि निजी विमान कम्पनीहरूले नियमित उडान तालिका समावेश नगरेको हुन् । नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौं–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरू अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०/१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ । फाप्लुबाट काठमाडौंसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बीपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौं आउजाउ गर्न कठिन छ । स्थानीय बिमला राई भन्छिन्, ‘सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।’ स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।  प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्छन्, ‘मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।