अन्नपूर्ण हेलिकप्टरले माग्यो ७ जना पाइलट

काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिले ७ जना पाइलट मागेको छ । अन्नपूर्ण हेलिकप्टरले एएस३५० सिरिज नामको हेलिकोप्टर उडानका लागि ७ जना पाइलट मागेको हो ।  उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ । कम्पनीका अनुसार इन्स्ट्रक्टर पाइलट २ जना, पाइलट (क्याप्टन) ३ जना र ट्रेनी (प्रशिक्षार्थी) पाइलट २ जना गरी ७ जना पाइलटका लागि आवेदन खुलाएको हो।  इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र २ हजार घण्टाभन्दा बढी समयको उडान अनुभव भएको हुनुपर्नेछ । क्याप्टन पाइलटका लागि एएस३५० सिरिज हेलिकप्टर उडानका लागि लाइसेन्स, १ हजार २ सय घण्टा उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थी पाइलटका लागि पनि लाइसेन्स अनिवार्य गरिएको छ । 

नेपाल एयरलाइन्स ६७ वर्षमा : बजारमा खस्कँदो उपस्थिति, ५० अर्ब रुपैयाँ पुग्यो ऋण

काठमाडौं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तर्राष्‍ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्स दुबई र साउँदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा पछिल्ला वर्षमा सामान्य कार्यक्रम मात्र गर्दै आएको छ । स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन । निगमको ऋण दायित्व करिब ५० अर्ब रुपैयाँ पुगेको जनाइएको छ । वाइड बडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तराष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ । निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । निगमका प्रवक्ता सुवास डाँगीले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइड बडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको दाबी गरे। आन्तरिक बजारमा विमानको सङ्ख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको उनले बताए । अन्तर्राष्‍ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पहल भइरहेको प्रवक्ता डाँगीले जानकारी दिए ।

६ महिनामा बुद्ध एयरको आम्दानी साढे ७ अर्ब रुपैयाँ, यस्तो छ एक दशकको व्यवसाय

काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले ६ महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ । बुद्ध एयर प्रालिले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (सन् २०२५) मा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबर कारोबार गरेको हो ।  अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी बढेको छ । सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जबकि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको देखिन्छ ।  कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीले सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ३० करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलरमा दीर्घकालिन ऋण लिएको छ। यस्तै, अल्पकालीन ऋणतर्फ कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन, ८२ करोड ९९ लाख रुपैयाँ ओभरड्राफ्ट र ८ करोड रुपैयाँ बैंक ग्यारेन्टी लिएको छ ।  रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि इक्रा एनपी एटूप्लस र दीर्घकालिन ऋणका लागि एक्राएनपी एलए माइनस रेटिङ प्रदान गरेको छ ।  नेपालको आन्तरिक हवाई उडानमा ६० प्रतिशत बजार हिस्सा बुद्ध एयरले ओगटेको कम्पनीले जनाएको छ । १९९६ मा स्थापित बुद्ध एयरले १८ सिटे जहाजबाट उडान सुरु गरेको थियो । नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा बुद्ध एयर अग्रणी हो । ललितपुरस्थित मुख्य कार्यालयबाट सञ्चालन हुँदै आएको बुद्ध एयरको प्रमुख आधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो ।  बुद्ध एयरले काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ । यसका साथै कम्पनीले हिमाल दर्शन उडान तथा पोखराबाट अन्नपूर्ण क्षेत्रका विशेष उडान पनि सञ्चालन गर्दै आएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।