पहिरो र सडक अवरुद्धले हवाई उडानमा चाप बढ्यो, दैनिक ३४० भन्दा बढी उडान सञ्चालन

काठमाडौं । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ ।  प्रवक्ता शेर्पाले बिहीबारका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् । बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् । आज बिहानैदेखि मौसम अनुकूल रहेकाले धमाधम उडान भइरहेको उनले उल्लेख गरे । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार बुधबार मौसमका कारण केही उडान स्थगित भएकाले आजका लागि निर्धारित उडानमा चाप बढेको छ । उनका अनुसार बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाको सबै उडान रद्द गरिएको थियो । कम्पनीले आज दुईतर्फ १७० उडान निर्धारण गरेको छ भने बुधबार १५० उडान निर्धारित थियो । निर्देशक जोशीले दशैंमा यात्रु चापलाई मध्यनजर गर्दै भैरहवा र भरतपुरमा समान दुई उडान थप गरिएको जानकारी दिए । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले विगत दुई दिनदेखि हवाई उडान चाप बढेको बताए । उनका अनुसार सडक आवागमन अवरुद्ध हुँदा हवाई उडानमा चाप बढेको छ । आइतबारसम्म यस्तो चाप रहने छ । हाल काठमाडौंबाट बाहिरिने यात्रु बढी भएको र काठमाडौं फर्किने यात्रुको सङ्ख्या कम भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ । श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी ५० हाराहारी उडान गर्दै आएको छ । बुधबारदेखि शुक्रबारसम्म नियमित उडान भएमा आन्तरिकतर्फ उडान व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । हाल समग्रमा आन्तरिकतर्फ दैनिक तीनसय ४० भन्दा बढी उडान भइरहेको छ । अन्तर्राष्ट्रियतर्फ पनि आवागमन बढी रहेको दैनिक दुईतर्फी १ सय १० भन्दा बढी उडान भइरहेको छ । अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दशैं-तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई उडान सहजीकरणका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे । उनले हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले हवाई भाडा महँगो भइरहेको भन्दै राज्यकातर्फबाट हवाई भाडा नियन्त्रणका लागि इन्धनलगायतमा सहुलियत दिएर नीतिगत व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । काठमाडौंबाट बाहिरिने मुख्य नाका मुग्लिङ–नारायणगढ सडककण्डको तुइनखोलामा पहिरो गएपछि सडक अवरोध हुँदा हवाई उडानमा चाप बढेको हो । विगत तीन/चार दिनदेखि पटक–पटक पहिरो खसेकाले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ । उक्त क्षेत्रमा यही असोज ७ गते साँझ ठूलो पहिरो खसेर आवागमन अवरुद्ध भएको छ । हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।  

कात्तिक २ देखि काठमाडौं–कोलकाता सिधा उडान भर्दै बुद्ध एयर

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय तर्फको दोस्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकातामा १९ अक्टोबर (कात्तिक २) बाट पुनः सुरु गर्ने भएको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को बैशाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो । सुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीका अनुसार काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ । यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरूको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरू पनि सञ्चालन गरिरहेको छ ।  नेपाली यात्रुहरूलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको हो । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास बुद्ध एयरको रहेको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एक मात्र हुने कम्पनीले जानकारी दिएको छ । 

निजी केबलकार पनि अब सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना

काठमाडौं । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा निर्धारण गरेको छ । आइतबार बसेको बैठकले मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो । निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा पाल्पाको सत्यवती दर्शन प्रालि, इलामको सानो पाथीभरा केबलकार प्रालि, कास्कीको सिक्लेश अन्नपूर्ण केबलकार प्रालि, मौलाकालीको ड्रिम्स हिल्स प्रालि, अर्घाखाँचीको सुपा देउराली केबलकार प्रालि र सिन्धुपाल्चोकको सूर्य कुण्ड गोसाइँकुण्ड केबलकार प्रालि रहेका छन् । यसैगरी, औद्योगिक ग्राम अन्तर्गत सुनसरीको बराहक्षेत्र औद्योगिक ग्राम र डोटीको जोरायल औद्योगिक ग्राम रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको आयोजनामा झापाको दमक औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र, चितवनको शक्तिखोर औद्योगिक क्षेत्र, दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र रहेका छन् । त्यस्तै, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत दुई क्षेत्र तोकेको छ ।  काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत रहेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रहेका छन् । त्यस्तै, नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना, अमलेखगन्ज देखि चितवनको लोथर सम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना रहेका छन् । हेनूहोस् सूचना :